चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा
काठमाडौँ, चैत १० । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ ।
रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुहुनेछ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्नुहुने कार्यक्रम रहको छ ।
रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नुहुनेछ ।
साञ्जेन जलविद्युत् आयोजना निर्माणका लागि रसुवाबासीको माग
रसुवा, चैत ४ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ । सो आयोजना प्रभावित क्षेत्रका बासिन्दा रामबहादुर तामाङका अनुसार निर्माण कार्यमा आइपर्ने बाधा अड्चन हटाई छिटो आयोजना सम्पन्न गराउन सहयोग गर्न तथा स्थानीय बासिन्दाले पाउने सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन दबाब दिन सङ्घर्ष तथा अनुगमन समिति गठन गरिएको हो । उत्तरी रसुवाको चिलिमे र सिम्बुमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनमा सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ । अन्य संरचना निर्माण कार्य जारी छ ।
ऊर्जामन्त्री शर्मा सम्मानित
काठमाडौँ, चैत २ । मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो । सङ्गठनका काठमाडौँ अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो । सो अवसरमा ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो । जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो – “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।” मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै सङ्गठनले आजै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ । विद्युत्भार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस
नेप्सेमा १६ अङ्कले वृद्धि
काठमाडौँ, फागुन २१ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४४ दशमलव २ प्रतिशत कम हो। गत साता एक सय ६१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २८ हजार ६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङ्कले बढेर २८८ दशमलव ७८ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकम (रु २१ करोड नौ लाख ४० हजार) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (रु चार लाख नौ हजार कित्ता) तथा कारोबार सङ्ख्या (दुई हजार तीन सय ६० वटा) का आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।
राजधानीमा ‘स्वाइन फ्लु’का बिरामी भेटिए, यस्ताे छ बच्ने उपाय
काठमाडौं, फागुन १९ । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाइन फ्लु विरामी भेटिएका छन् । ज्वरो आएपछि उपचार गराउन आएका एक व्यक्तिमा स्वाइन फ्लुको लक्षण देखा परेको हो । अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा सो रोगको भाइरस पुष्टि भएको जानकारी दिए । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिएपनि यसपटक निकैअगाडि सो रोगको भाइरस देखिएको डा. पुनले बताए । उनले भने–‘दुई हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शंका लागेर जाँच गर्दा स्वाइन फ्लुको भाइरस भएको पुष्टि भएको हो ।’ खोकी लागिरहने, घाँटी खस्खसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुनसक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकले सुझाव दिएका छन् । स्वाइन फ्लु सरुवा रोग भएकाले यो एकअर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शंका लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताए । पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौंमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउनसक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरे ।
राप्रपाको केन्द्रीय सदस्य पदमा निर्वाचित रेखा खुशीयाली मनाउँदै
काठमाडौं, फागुन १८ । भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी अभिनेत्री रेखा थापाले फिल्म पत्रकारहरुसँग छुट्टै खुसीयाली मनाइन् । उनी महिलातर्फ सर्वाधिक दोस्रो मत ल्याएर विजयी भएकी थिइन् । उनलाई फरक राजनीतिक आस्था राख्ने कलाकारहरुले पनि चुनाव जितेकोमा बधाई दिए । त्यसो त गत माघमै उनलाई राप्रपाले सदस्यमा मनोनित गरेको थियो तैपनि पहिलो राजनीतिक विजयको स्वाद गजबकै हुन्छ । पत्रकारहरुले उनलाई आसन्न स्थानीय निर्वाचनमा कुनै राम्रो सहरको मेयर पदमा उठ्न सुझाए । उनले छिट्टै चुनावमा ओर्लिने बताइन् । तर, उनलाई स्थानीयभन्दा संसदीय चुनावमा चाहना रहेछ । ढिलै होस् सांसद नै बन्ने गरी चुनाव लड्ने उनले बताइन् । स्मरण रहोस्, उनलाई दोस्रो संविधानसभाको चुनावमा माओवादीले पर्सा क्षेत्र नं.१ बाट टिकट दिने लगभाग पक्का जस्तै भएको थियो । तर, मतदाता नामावलीमा नाम दर्ता नगराएकीले उनी टिकट पाउनबाट वञ्चित भएकी थिइन् । सायद उनी उक्त तुष राप्रपाबाट मेटाउन चाहन्छिन् ।
आयू बढाउन खानुस् यी फलफूल–तरकारी
फागुन १५ । हरेक दिन नयाँ तथा ताजा फलफूल– तरकारी खाएमा आयू बढ्ने एक अध्ययनले देखाएको छ । इम्पीरियल कलेज लन्डनका अनुसन्धानकर्ताहरुले २० मानिसमा गरेको अध्ययनपछि यो निचोड निकालेका हुन् । हरेक वर्ष ७८ लाख मानिसहरु खानाको सन्तुलन नमिलाउनाका कारण मृत्यु हुने अध्ययनले देखाएको छ । त्यस्ता ताजा फलफूल तथा तरकारीहरु जसको प्रयोगले हृदयरोगमा कमी आउन सक्छ । एक पटकमा ८० ग्राम केरा, एउटा नास्पाती, मटर, पालकको तीन चम्चा बराबरको फल, तरकारी या दिनभरमा १० पटकसम्ममा खाने गरेमा मानिसको आयु बढ्ने बताइएको छ । हरियो तरकारी पालक, पहेलो खुर्साली, फूलगोभीलगायतका तरकारीहरु खानाले क्यान्सर हुनबाट बचाउन सक्छ । त्नाशपाती, खट्टे फल, सलाद, हरियो पत्तेदार तरकारी, काउली खानेहरुको हृदय रोग तथा दिलको ढड्कनको खतरा पनि कम हुने असामयिक मृत्यु हुने खतरा घट्ने इंटरनेशनल जर्नल अफ एपिडेमियोलॉजीमा प्रकाशित छ । जो दिनभरीमा कुनै फल या तरकारीहरु खाँदैनन तिनीहरुलाई बढी ह्रदय रोग, क्यान्सर, अकालमा मृत्य हुने खतरा बढी हुन्छ । फलफूल या रेसादार तरकारी खानेहरुमा कोलस्ट्रोल लेबलमा हुने र ब्लड प्रेसर पनि कम हुने अनुसन्धानमा संलग्न डाक्टरहरुले बताएका छन् । त्यस्ता फलफूल तथा तरकारीहरुले रोगसँग लड्ने प्रतिरक्षा प्रणालीलाई शक्तिसाली बनाउने र रक्त धमनिया पनि राम्रो बताउने बताइएको छ ।
व्यावसायिक च्याउखेतीतर्फ महिला आकर्षित
मोरङ, फागुन १४ । मोरङ पथरी शनिश्चरेका महिला अहिले व्यावसायिक च्याउखेतीतर्फ आकर्षित भएका छन् । च्याउखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु यसतर्फ आकर्षित भएका हुन् । समूह बनाएर नै उनीहरु च्याउखेती गर्दै आएका छन् । सुरुमा समूह बनाएर काम गर्नै समस्या परेको पथरी शनिश्चरे– १२ की पार्वतीदेवी यादव बताउँछन् । पाँच/पाँच जनाको समूहमा च्याउखेती सुरु गरेका उनीहरुले सुरुमा यसकोे बजार पाउन समस्या परेको भएपनि पछिल्लो यसले राम्रो बजार पाउन थालेको च्याउखेतीमा संलग्न स्थानीय रतनीदेवी यादवले बताए । सुरु सुरुमा च्याउ बिक्री नभएर रु। एक सयमा प्रतिकेजी बेच्नुपरेको थियो, उनले भने – विस्तारै विस्तारै च्याउ स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने सर्वसाधारणले बुझेपछि गाउँकै हाटबजारमा प्रतिकिलो रु दुईसयमा बिक्री हुने गरेका छन् । गएको पुस महिनाबाट सुरु गरेको च्याउखेतीबाट अहिलेसम्म दुई क्वीन्टल भन्दा बढी बिक्री गरेको कृषक फूलावती चौधरीले बताए । सुरुमा च्याउखेतीबाट फाइदा हुन्छ भन्ने विश्वास लागेको थिएन तर साथीहरुले धेरै कर गरेपछि च्याउखेती सुरु गरें, अर्का कृषक नरमाया चौधरीले भनिन् – च्याउखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेका छन् । जिल्ला कृषि विकास कार्यलय मोरङका प्रमुख मनोज यादवकाअनुसार जिल्लामा २५ हजार कृषक च्याउ उत्पादनमा प्रत्यक्ष रुपमा संलग्न छन् । यसबाट वार्षिक दुई सय २० मेट्रिक टन च्याउ उत्पादन हुने गरेको छ ।
स्ववियु चुनावमा कुन-कुन संगठनले गराउलान उम्मेदवारी दर्ता !
काठमाडौं, फागुन १४ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको आज उम्मेदवारी दर्ता गर्ने दिन रहेको छ । ०६५ सालदेखि हुन नसकेको निर्वाचन ८ वर्षपछि फागुन १८ गते हुँदैछ । त्रिवि स्ववियु निर्वाचन कार्यालयले निर्वाचनका लागि आज देशभर स्ववियु चुनावमा भाग लिने संगठनले उम्मेदवारी दर्ता गर्नुपर्ने जनाएको छ । त्यस्तै भोलि १५ गते दिउँसो १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । र भोलि नै दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । भोलि नै ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरिनेछ । स्ववियु चुनावमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त ३ सय भन्दा बढी, आंगिक ६० र नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत ११ क्याम्पसमा निर्वाचन हुनेछ । स्ववियु निर्वाचनको लागि कडा सुरक्षा व्यवस्था मिलाईएको छ । विद्यार्थी भर्ना प्रक्रिया बन्द गरिएपनि अवैधानीक तरिकाले भर्ना गरेको भन्दै कतिपय क्याम्पसहरुमा तालाबन्दी अझै खुलेको छैन् । विवादका कारण राजधानीको त्रिचन्द्र र अस्कल क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको छ । त्यस्तै मिनभवन क्याम्पसमा फोरम लोकतान्त्रिकका विद्यार्थीहरुले शुक्रबार राति लेखा शाखामा आगजनी गरिदिएका छन् । त्यहाँ पनि स्ववियु चुनाव अनिश्चितजस्तै भएको छ । त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरमा सात विद्यार्थी संगठनहरुले शुक्रबार तालाबन्दी गरेका छन् । त्यस्तै पाटन संयुक्त क्याम्पसमा पनि तालाबन्दी भएको छ । उक्त क्याम्पसहरुमा पनि तालाबन्दी अझै खुलेको छैन् । डोल्पाको डोल्पो क्याम्पसमा पनि तीन दिनदेखि तालाबन्दी छ । त्यहाँ पनि उम्मेदवारी दर्ता आज प्रभावित हुने देखिएको छ । त्यस्तै मधेशका ८ जिल्लामा पनि मधेश केन्द्रीत दलहरुले तालाबन्दी गरेका छन् ।
बीबीएस दोस्रो वर्षको परीक्षाफल प्रकाशित
काठमाडौं, फागुन ११ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत असार–साउनमा सन्चालित व्यवस्थापन संकायतर्फको चार वर्षीय बीबीएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल बुधबार प्रकाशन गरिएको छ । त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षामा मर्यादाविपरीत काम गर्ने क्रमांक नम्बर ७०३९०८४३ का परीक्षार्थीलाई आगामी दुई वर्षका लागि त्रिविबाट सन्चालन हुने कुनैपनि परीक्षामा सम्मिलित हुन नपाउने गरी निष्काशन गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.educationkhabar.com, www.tu.ntc.net.np मा हेर्न सकिने र नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने कार्यालयले जनाएको छ ।
मोबाइल ब्याङकिङ सेवा पुर्याउनुपर्नेमा जोड
काठमाडौँ, फागुन ११ । नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ग्रामीण भेगमा मोबाइल ब्याङकिङ सेवा पुर्याउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन् । पुँजीमा पहुँच बढाउँदै नेपालको गरिबी घटाउन क्रियाशील बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभागअन्तर्गतको परियोजना ‘सक्षम’ र व्यापारीक प्रतिष्ठान आइएमई समूहको ‘आइएमई डिजिटल’ बीच आज यहाँ आयोजित मोबाइल ब्याङकिङ सेवासम्बन्धी सम्झौता समारोहमा उहाँले त्यस्तो आवश्यकता औँल्याएको हो । नगदरहित कारोबारले पारदर्शिता सुनिश्चित गर्ने बताउँदै गभर्नरले अनौपचारिक माध्यमबाट हुने कारोबार नियन्त्रणमा समेत मोबाइल ब्याङकिङ प्रणालीले सघाउने वास्तविकता प्रस्ट्याए । सूचना तथा सञ्चार प्रविधिको वर्तमान युगमा विद्युतीय कारोबार सुरक्षित एवम् भरपर्दो हुने भएकाले केन्द्रीय बैंकले त्यसको प्रवद्र्धनलाई प्रोत्साहन गर्ने बताए । देशका सम्पूर्ण जिल्लामा पाँच हजार पाँचसय ‘एजेन्ट’ बाट वित्तीय सेवा प्रवाह गर्दै आएको आइएमईका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल र मध्य तथा सुदूरपश्चिमका सबै जिल्लामा सेवारत सक्षम परियोजनाका टोली नेता बलजित बोहोराले सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यस अवसरमा अध्यक्ष ढकालले मुलुकको वित्तीय सेवालाई सबल र सुदृढ तुल्याउन निजी क्षेत्रको प्रतिबद्धता दोहोर्याउँदै त्यसनिम्ति सरकारसँग हातेमालो गरेर अनौपचारिक कारोबार र वित्त प्रवाहलाई निरुत्साहित गर्न आफू दृढ रहेको बताए ।
संविधान संशोधन प्रस्ताव भोलीदेखि संसदमा, एमाले सकारात्मक
काठमाडौं, फागुन १० – संविधान संशोधन प्रस्ताव भोली बुधबारदेखि संसदमा अघि बढ्ने भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबारदेखि संसदमा संविधान संशोधन प्रस्ताव अघि बढ्ने बताए । आज बसेको सर्वदलीय बैठकमा एमालेले संशोधन प्रस्तावमा आफ्नो अडान कायमै रहेको बताएपनि निर्वाचनको विषयमा भने सरकारलाई पुरै सहयोग गर्ने बताएको थियो । बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने चुनाव गर्नका लागि सरकारलाई पूर्णरुपमा सहयोग गर्न एमाले तयार रहेको र मोर्चाले पनि चुनावमा भाग लिने बताउनुभयो । संविधान संशोधन प्रस्तावबारे एमालेको अडान यथावत रहेको उहाँको भनाई थियो । सरकारले आफूहरुका माग अटेर गरि स्थानीय चुनावको मिति घोषणा गरेको भन्दै मधेसी मोर्चाका नेता भने बैठकमा गएनन् ।
निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल क्रान्तिकारीको ईकाई समिति गठन
कृष्ण कँडेल/बागलुङ, फागुन ९ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ । भेलामा अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु एकजुट भएर गुणस्तरिय र व्यवहारिक शिक्षाका पक्षमा अभियान चलाउनुपर्ने बताए । उनले आसन्न स्ववियु निर्वाचनमा आफ्नो नेतृत्व स्थापित गर्ने गरि संगठनलाई समावेशी बनाएर लैजान आग्रह गरे । घर्तीले स्ववियुमा २८ बर्षे उमेर हद, समानुपातिक समावेशी स्ववियुका लागि मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले स्थापित गरेको भन्दै त्यसको कार्यान्वयनको नेतृत्व पनि क्रान्तिकारीले नै गर्ने दावि गरे । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, अखिल क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस मुलईकाई समितिका उपाध्यक्ष विकास कँडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका पुर्ण अर्यालले मन्तव्य राखेका थिए । भेलाले प्रतिभा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मुलईकाई समिति गठन गरेको छ । समितिको सचिव अञ्जना अर्याल र कोषाध्यक्ष ओममायाँ बुढा मनोनित भएका छन् । सदस्यमा मनिसा गुरुङ, खिमा कुँवर, होमकुमारी अदै, रेखा थापा, हरिमला सुवेदी, लक्ष्मी भण्डारी, लिला पाण्डे र लोकमायाँ पाण्डे रहेका छन् । उपाध्यक्ष, सहसचिव र बाँकी सदस्य पछि थप गरिने क्रान्तिकारीले जनाएको छ । भेलाले यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन दर्ता गर्ने निर्णय गरेको अध्यक्ष प्रतिभा पौडेलले जानकारी दिए । प्रतिभा पौडेलको अध्यक्षता, टंक पौडेलको स्वागत मन्तव्य र अनिल कुमार विश्वकर्माको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।
त्रिशूलीमा बोलेरो जीप खस्यो, दुई बेपत्ता, चार घाइते
रत्ननगर (चितवन), फागुन ९। चितवनको कविलासस्थित सडकबाट एउटा बोलेरो जिप आज बिहान त्रिशूली नदीमा खस्दा दुईजना बेपत्ता भएको र अन्य चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी गोर्खा ताकु–६ बस्ने ६५ वर्षीया विष्णुमायाँ गुरुङ र उनका नाति १३ वर्षीय कविन गुरुङ बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । आज बिहान करिब ३ बजेको समयमा चितवनको खैरहनीबाट गोरखा जाँदै गरेको ना३ख ७५४३ नंको बोलेरो कविलास–४ स्थित सत्र किलो भन्ने स्थानबाट त्रिशूली नदीमा खस्दा सो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरुमा चितवन कालिका नगरपालिका–५ का ३३ वर्षीय शिव खड्का (चालक), गोर्खा ताकुकै ४० वर्षीय भीमबहादुर गुरुङ, सोही ठाउँका २८ वर्षीय टीका गुरुङ र अर्का ५ वर्षीय न्युटल गुरुङ घाइते भएको र अहिले उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जनाइएको छ । कोठाको सामान लिएर जाँदै गरेका उनीहरु दुर्घटनामा परेका हुन् । बोलेरो पानी भित्रै रहेकाले निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । रासस
पत्रकारिताले सत्यको धरातल छाड्न हुँदैनः सञ्चारमन्त्री
काठमाडौँ, फागुन ७ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता क्षेत्रले आफ्नो सत्यको धरातल छाड्न नहुने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ५६ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा उनले उत्तेजक समाचारले कसैलाई अमर बनाउँदैन भन्दै रासस र सरकारी स्वामित्वका अन्य माध्यमले सकारात्मक विषय निरन्तर पस्कन सक्ने भएकाले त्यस अर्थमा यी संस्थाको औचित्य र सान्दर्भिकता रहेको बताए । सहर र केन्द्रका मात्र नभई भित्री सहर र गाउँका समाचार ल्याउन पत्रकारलाई सुझाव दिँदै मन्त्री कार्कीले भने– “पार्टीहरुले आफ्नो सान्दर्भिकता जोगाइराख्न सत्यसँग तादात्म्य भइरहनुपर्छ र पत्रकारिताले पनि आफ्नो सत्यको धरातल छाड्नु हुँदैन । कुनै दल र समूहलाई खुसी पार्न सत्यलाई तोडफोड गर्ने पत्रकारको विश्वसनीयता हुँदैन ।” उहाँले आलोचनात्मक समाज निर्माण एवं योग्यता र असल काममा आधारित राजनीति स्थापित गर्न सही पत्रकारिताले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । सार्वजनिक संस्थालाई बचाउन चुनौतीपूर्ण भएको जनाउँदै मन्त्री कार्कीले राससले आफ्नो पूँजीको सदुपयोग गर्दै राम्रा काम गर्ने जनशक्तिलाई उचित जिम्मेवारी दिन निर्देशन दिए । सांसद रामचन्द्र पोखरेलले राससका पत्रकारलाई अन्तर्राष्ट्रियस्तरमा तालिम प्रशिक्षणको अवसर दिलाउन तथा संस्थाको बजेट वृद्धिको कार्ययोजना ल्याउन रासस व्यवस्थापनलाई सुझाव दिए । पोखरेल पूर्वराससकर्मी पनि हुनुहुन्छ । राससका अध्यक्ष कुलचन्द्र वाग्लेले सरकार, जनता र सेवाग्राहीबीचको सन्तुलन मिलाएर राससले आफ्नो सेवालाई क्रमशः विस्तार र आधुनिकीकरण गर्ने जानकारी दिए । सरकारका विभिन्न निकायमा खर्च नहुने अरबौँ बजेटको केही अंश मात्र राससलाई दिइए आफूहरु आत्मनिर्भर हुने दृढता व्यक्त गरे । उनले राससको समाचार प्रयोग गरेर स्रोत उल्लेख नगर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्नेमा जोड दिए । प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णबहादुर कार्कीले रासस नेपाली पत्रकारिताको जग र विश्वविद्यालय हो भन्दै यसको विकल्पमा अर्को कुनै संस्था देखा नपर्नुले राससले आफूलाई थप प्रतिस्पर्धी बनाउनुपर्ने जोड दिए। उनले भ्रमपूर्ण समाचार सम्प्रेषण गरेर जनतालाई दिग्भ्रमित गर्ने विकृति देखिएको समयमा जिम्मेवार मिडिया संस्थाको अगुवाइ राससले गर्न सकोस् भन्ने कामना गरे । रासस सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले राससलाई आत्मनिर्भर बनाई नयाँ शैलीका समाचार प्रस्तुत गर्न सकेमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी संस्थाको रुपान्तरण गर्न सकिने बताए । राससका नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले सूचना र निरन्तर शिक्षाका क्षेत्रमा अझै धेरै गर्न बाँकी रहेको जनाउँदै प्रतिलिपि अधिकार र बौद्धिक सम्पतिको अधिकारको उपभोग गर्न रासस अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ, रासस शाखाका अध्यक्ष विष्णुप्रसाद नेपाल, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, राससका अध्यक्ष प्रेमप्रसाद उपाध्याय, रासस कर्मचारी सङ्घका अध्यक्ष मनोजकुमार लामिछाने र रासस कर्मचारी कर्मचारी युनियनका अध्यक्ष कालिका खड्काले वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै संस्थाको गुणस्तर सुधार र कर्मचारीको हक हितका विषयमा ध्यानाककर्षण गराउनुभएको थियो । समारोहको सञ्चालन राससका प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेतले गरेको थियो । राज्यको समाचार समितिका रुपमा विसं। २०१८ फागुन ७ मा स्थापित राससमा हाल कुल १९८ सञ्चार माध्यम ग्राहक छन् ।
उत्तर कोरियाली नेता किमका दाजु मारिए
फागुन ४ । उत्तर कोरियाली नेता किम जोङ अनका दाइलाई मलेसियाका प्रहरीले मारेको पुष्टि भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जोङका सौतेनी दाइलार्इ मारेको पुष्टि गरेको हो। प्रहरीका अनुसार क्वालालम्पुरको विमानस्थलमा ४५ वर्षीय किम जोङ नामलाई निशाना बनाइएको थियो । बिबिसीले मलेसियाको प्रधानमन्त्री कार्यालय निकट स्रोतलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि भएको बताएको छ। अहिले उनको शवको जाँचबुझ भइरहेको मलेसियाली प्रहरीले जनाएको छ। मलेसियाका एक वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नाम गरेका व्यक्तिको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ। मृत्यु भएका भनिएका किम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन् ।