चलचित्र झमक बहादुर निर्माण हुने

काठमाडौं, बैसाख १ । नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो ।

नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्धन्द्धलाई देखाउन खोजिएको यस चलचित्रलाई यूबी फिलमस् ग्यालरीले निर्माण गर्न लागेको हा े।

चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा, सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहने छ।

काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन् । भोमन कटुवालकोे निर्देशन रहने यो चलचित्रलाई तारादेबी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन्।

मानव संसाधन नीति ल्याउन माग

काठमाडौँ, चैत १६ । संस्थागत विकासमा मानव संसाधन महत्वपूर्ण भएकाले यससम्बन्धी नीति ल्याउन सरोकारवालले सरकारसँग माग गरेका छन् । आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका महत्वपूर्ण माध्यम नै मानव संसाधन भएकाले सरकारले रोजगारीका लागि विदेशिने युवालाई स्वदेशमा नै रोजगार उपलब्ध गराउने विषयलाई सो नीतिमा समेट्नुपर्नेमा उनीहरुले जोड दिए । ग्रोथ सेलर नामक संस्थाद्वारा आज यहाँ आयोजित मानव संसाधन सम्मेलनका सहभागी वक्ताले मानव संसाधनको विकास तथा विस्तारका लागि सरकारी र निजी क्षेत्र मिलेर अगाडि बढ्नुपर्छ भन्नुभयो । दुईदिने सो सम्मेलनमा सरकारी र तथा निजी क्षेत्रमा काम गर्ने करिब १५० जनाको सहभागिता छन् । सम्मेलनमा सरकारका उच्च पदस्थ कर्मचारीले आफ्ना अनुभव साटासाट तथा छिमेकी मुलुक भारत र चीनका विज्ञले समेत अनुभव प्रस्तुत गर्नुहुनेछ । त्यस्तै पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणसम्बन्धी जारी राखेका कामका बारेमा कार्यकारी अधिकृत प्राडा गोविन्द पोखरेलले समेत जानकारी दिनुहुने छ । काठमाडाै‌ँ विश्वविद्यालयका व्यवस्थापन सङ्कालयका डिन प्राडा सुवास केसीले सम्मेलनको शुभारम्भ गर्दै बेरोजगारी समस्या समाधान गर्न मानव संसाधनसम्बन्धी नीति आवश्यक भएकोमा जोड दिनुभयो । भारतका मानव संसाधनविज्ञ टिभी रावले युवाशक्तिलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने खालका मानव संसाधनमा विशेष ध्यान दिनुपर्छ भन्नुभयो ।

आर्थिक समस्याका कारण उपचार नभएपछि मृत्यु कुर्दै

गुल्मी, चैत १४ । आर्थिक समस्याका कारण गुल्मीमा एक व्यक्ति मृत्युलाई कुर्दै बसेका छन् । जिल्लाको चन्द्रकोट गाउँपालिका–८, तुराङका २९ वर्र्षीय मेघबहादुर कुमाल आजभन्दा १३ वर्षअघि भारतको जोधपुरमा मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका थिए । घाइते बनेका उनलाई चन्दा उठाएर त्यहाँ रहेका नेपालीको सहयोगमा घर पठाइएको थियो । खुट्टा र ढाडमा गम्भीर चोट लागेर घर फर्किएका कुमाललाई आर्थिक अभावका कारण उनकी श्रीमती माया कुमालले उपचार गर्न सकिनन् । उनको पूरै घरबास बेचे पनि उपचार सम्भव नभएपछि दिन प्रतिदिन गल्दै गएका उनका श्रीमान्को शरीर अहिले कुहिँदै जान थालेको छ । ओछ्यानमै दिसा पिसाब गरेर लडिरहेका कुमालको उद्धारका लागि छिमेकी गाउँ बलिथुमका समाजसेवी लब्सन महतले सञ्चारमाध्यमसँग आग्रह गर्नुभएको छ । तीन महिना पनि खान नपुग्ने जमिन नभएका कुमाल परिवारमा बिहान बेलुकाको चुलो जलाउन पनि मुस्किल छ । श्रीमान्लाई दिसा पिसाब गराउनेदेखि अर्काको मेलापात गरेर मायाले श्रीमान्को रेखदेख गरिरहेकी छन् । श्रीमान् विस्तारामा सुतेरै माछा मार्ने जाल बुन्छन् । उनको ढाँडको घाउ पाकेर घरै दुर्गन्धित हुने गरेको छ । गहभरि आँसु पार्दै मेघलाल भन्छन् – “म मरे पनि मेरो छोरा पढाइदिने मान्छे कोही भइदिए धन्य हुने थिएँ ।” श्रीमती माया भने कुहेको शरीर भए पनि श्रीमान्लाई सधैँ बाँचेको देख्न चाहन्छिन् ।

ढुङ्गा प्रहा गरेर देउरानीले गरिन जेठानीको हत्या

बैतडी, चैत १४ । देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको खनालले बताउनुभयो । हत्या गर्ने चैतीलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । रासस

उथलपुथल जिन्दगी माइला लामाको

किशोरवयमा राजनीतिको रंग ७ फागुन ०२९ मा कठमाडौंको भीमढुंगामा जन्मिएको हुँ । बुबा त्यसवेला गृह मन्त्रालयमा काम गर्नुहुन्थ्यो । हामीलाई घर व्यवहार चलाउन त्यति ठूलो समस्या थिएन, यद्यपि हामी त्यत्ति धेरै सम्पन्न थिएनौँ । बुबाको जागिर, खेतिपातीले सामान्य रूपमा हाम्रो परिवारको जीवन चल्थ्यो । सिंहदरबारबाट मेरो घरको दूरी नाप्ने हो भने त्यस्तै पाँच–सात किलोमिटर होला । काठमाडौंको रिङरोडनजिकै जन्मिएर पनि हामीले सहरको अनुभूति गर्न पाएका थिएनौँ, राज्य हामीसँगै छ भन्ने अनुभूति गर्न पाएका थिएनौँ । राज्यसँग कार्यक्रम नभएकाले हो वा समुदायका हिसाबले हामी जनजाति बस्तीका कारण हो । त्यसवेला लाग्थ्यो, जिन्दगी सिक्दै–सिकाउँदै अगाडि बढ्ने यात्रा हो । जिन्दगी निरन्तर चलिरहने चुनौती र सम्भावनाको यात्रा पनि हो । सार्थक जिन्दगी कसरी बिताउने भन्ने प्रश्न हो । सार्थक जिन्दगीले चुनौती पनि बोकेर आएको हुन्छ । त्यसो भयो भने जिन्दगीको अर्थ खोज्न सकिन्छ । यस हिसाबले हेर्दा मेरो बाल्यकाल धेरै कष्टपूर्ण पनि रहेन, सुखद त हुनै सकेन । स्कुल पढ्दै गर्दा म वाम राजनीतितर्फ आकर्षित भएँ । हामीलाई टोपबहादुर रायमाझी, भोला कुँवर (अहिले बेलायतमा) लगायतले राजनीतिमा लाग्न उत्प्रेरित गरे । त्यसवेला पञ्चायतविरुद्ध सीधा राजनीतिभन्दा पनि गीत–संगीतका माध्यमबाट हामी राजनीतिक प्रचारको काम गथ्र्याैं । ०४६ सालको जनआन्दोलनको तयारीको प्रभाव मेरो जीवनमा पनि पर्यो। त्यहाँबाट सुरु भएको मेरो राजनीतिक जीवन उथलपुथलपूर्ण रहि नै रह्यो । ०४६ साल सेरोफेरोमा संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समिति भन्ने संरचना बनेको थियो । बाबुराम भट्टराईलगायत नेता त्यसमा हुनुहुन्थ्यो । राजा–वाम र कांग्रेस गठबन्धन धोका हो, बहुदल सम्पूर्ण रूपमा प्राप्ति होइन भनेर त्यसले नारा अगाडि सारेको थियो । म त्यही नाराभित्र गोलबद्ध थिएँ । मैले त्यति धेरै बुझेको थिइनँ, तर राजा, वाम र कांग्रेस गठबन्धन गलत छ भन्ने मेरो मनमा थियो । बहुदलले सबैलाई न्याय र समानता दिन सक्दैन भन्ने छाप परेको थियो मेरो मस्तिष्कमा । यस हिसाबले हेर्दा जिन्दगी भोगाइको प्रतिबिम्ब पनि हो भन्ने मलाई लाग्छ । पढाउँदै राजनीति गर्दै १७–१८ वर्षको भएपछि मैले सपना देख्न थालेको थिएँ, समाजलाई आदर्शपूर्ण बनाउन सकिन्छ भन्ने । युवा अवस्थामा त्यस्तो कल्पना गर्नु नाजायज थिएन । म काठमाडौंभित्रै जन्मे–हुर्केको मान्छे, राजनीतिक गतिविधिमा संलग्न हुन थालेपछि ग्रामीण, दूरदराजका बस्ती बुझ्ने–जान्ने मौका पाएँ । त्यसवेला लग्थ्यो, जिन्दगी दुखैदुःखको पोको हो । घन्टौँ मात्र होइन, दिनभरि हिँड्नुपर्ने अवस्था थियो । जनताको त्यो दुःखजिलो जीवन देख्दा क्रान्ति नभई नहुँदो रहेछ भन्ने लाग्थ्यो । जनताको अभावयुक्त जीवन देखेर छिटोभन्दा छिटो क्रान्तिलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्थ्यो । म एउटा सपनाका साथ आन्दोलनमा जोडिन पुगेको थिएँ । त्यसवेला सपनामा, आकांक्षामा रमाउन जान्नु पनि पर्ने रहेछ भन्ने आभास हुन्थ्यो । एउटा संयोग जुर्यो। ०४९ सालमा पार्टीले एउटा अभियान चलायो । अभिायनअन्तर्गत नुवाकोट जानुपर्ने अवस्था आयो । तुप्चे गाविस पुगेँ । माओवादी नेता पोष्टबहादुर बोगटीको गाउँ । पार्टीको प्रभाव राम्रै थियो । त्यहाँका जनताको आग्रह र आफ्नै आर्थिक आवश्यकताका कारण मैले स्कुल थालेँ । अन्य समय पार्टीको काममा खटिन्थेँ । यस अर्थमा, जिन्दगी एउटा सम्झौता पनि हो भन्ने लाग्छ । त्यहाँ रहँदा नुवाकोट र रसुवामा पार्टी संगठन निर्माणमा भूमिका खेलेँ । सांस्कृतिक कार्यक्रमका माध्यमबाट जागरण अभियान चलायौँ । एकातिर शिक्षण पेसा अर्काेतिर राजनीति, दुवैलाई सँगसँगै अगाडि बढाउनु चानचुने थिएन । लाग्थ्यो जिन्दगी एउटा चुनौती हो । तर, जतिसुकै अप्ठ्यारा र जटिलता आए पनि सामना गरेर अगाडि बढँे । कहिले राति अबेरसम्म काम गथेँ । शुक्रबार प्रायः छुट्टी भएपछि सांस्कृतिक काममा लाग्थेँ । शनिबार दिनभरि पाट्र्टीको काम गरेर एकैचोटि आइतबार कक्षा लिन स्कुल पुग्थेँ । राजनीतिमा लागे पनि मेरो मान्यता आफ्ना विद्यार्थीलाई उकृष्ट बनाउनुपर्छ भन्ने भइरहन्थ्यो । दुवै कर्तव्यलाई इमानदारीसाथ पूरा गर्ने काममा म सक्रिय रहेँ । चुनौती धेरै नै थियो । तर, त्यो दुःख र चुनौतीले सन्तुष्टि पनि दिइनै रहेको थियो ।  ल्यान्डमाइनले जब हुत्यायो ०५२ मा जब जनयुद्धको तयारीका क्रममा पार्टीले मलाई पूर्वी क्षेत्रमा खटायो । म काभ्रे गएँ । सुरुवाती चरण जनमत सिर्जना गर्ने समय थियो । हामी किन लड्दै छौँ, लडेर हामी के गर्दै छौँ भन्ने जनतालाई बुझाउनु थियो । त्यो वेला हाम्रो पार्टी सानो थियो, कार्यक्रम गर्न जाँदा कांग्रेस, एमालेले लखेट्थे पनि । हाम्रो कार्यक्रममा आएर होहल्ला गर्ने, गोदगाद पनि गर्थे । भीषण युद्धको यात्राभित्र पनि हामीले उज्यालो सपना देखेका थियौँ, जनतामा देखिएको अभावबाट मुक्ति । जनताको जीवनले सधँैभरि हामीलाई अगाडि बढ्न उत्प्रेरित गरिरहेको थियो । दिनहरू अन्यन्त भयावह थिए । कति वेला मरिन्छ, कति वेला छेउमै बम पड्किन्छ, कति वेला घेरामा परिन्छ कुनै ठेगान हुँदैनथ्यो । कति वेला हामी आफैं योजना बनाएर लडाइँमा जान्थ्यौँ, कति वेला अकस्मात आइलाग्थ्यो । विजयी हुने ठानिएको क्षेत्रमा हारियो र हार्ने ठानिएको क्षेत्रमा विजय पनि भइयो । हामीले पलपल मृत्युसँग पौँठेजोरी खेल्यौँ । कति वेला नयाँ जीवन पाइयो । जनयुद्धका १० वर्षको अवधि सम्झँदा एक खालको गर्वको अनुभूति हुन्छ । त्यस वेलाका कतिपय क्षण असाध्यै कहालीलाग्दा पनि छन्, सम्झँदा अहिले पनि आङ सिरिंग हुन्छ । तथापि, जुन लक्ष्यका साथ अगाडि बढ्न खोजेका थियौँ, त्यो पूरा हुन सकेन । त्यसमा पीडा छ, चिन्ता पनि । पार्टीले ०५४ सालमा देशभरका अगुवा फाइटरलाई ट्रेनिङको व्यवस्था गरेको थियो । पिपुल्स वार गुप्रका विनोदजीले तालिम दिनुभएको थियो । उहाँ पिपुल्स वारको केन्द्रीय समितिमा हुनुहुँदो रहेछ । पछि उहाँ युद्धमा मारिनुभयो भारतमै । त्यो तालिमले हाम्रो मनोबललाई धेरै माथि उठायो । त्यसपछि हामीले लडाइँका मोर्चा जित्दै पनि गयौँ । पछिका दिनमा आफैँले पनि आफ्नो क्षेत्रमा थप तालिम सञ्चालन गरेँ । ०५४ फागुनको एक दिन ठूलो दुर्घटनाले मलाई चपेटमा लियो । ‘ल्यान्डमाइन’मा आएको प्राविधिक गडबडीका कारण म भयानक दुर्घटनामा परेँ । त्यो साँच्चै भयावह थियो । मान्छे मर्नलाई साँच्चै कति गाह्रो हुँदो रहेछ भन्ने मलाई त्यसवेला अनुभूति भयो । धेरै समयसम्म आकाशतिर उडेको जस्तो भयो । सास फेर्न अधिक कठिन भयो । उकुसमुकुस, एकदमै छट्पटी । मेरो रेखदेखमा रहेका साथीका अनुसार म नौ दिनपछि मात्र होसमा आएको थिए । होसमा आउँदा मेरो दृष्टि थिएन । पूर्णतः कान नसुन्ने भएको थिएँ । होसमा आएको दिन पहिलोपटक डाक्टरले हातमा कोरेको याद छ, सायद उनले डटपेनले कोरेका थिए । उनले ‘तिमीलाई कस्तो छ ?’ भनेर सोधेका थिए । मैले ‘ठीक छु’ भनेर बताएँ । तर, जब मैले आँखा खोल्ने कोसिस गरेँ, केही पनि देखिनँ । रुसी योद्धा निकोलाई आत्रोभस्कीको उपन्यास ‘अग्निदीक्षा’ पढेको थिएँ । रुसी क्रान्तिपछि चलेको गृहयुद्धमा आधारित उक्त उपन्यासको ‘प्रोटागोनिस्ट’ पावेल कोर्चागिनको असाध्यै याद आयो । लाग्यो म ऊजस्तै भएँ । अनेक प्रश्नले एकसाथ झम्टे । म बन्दुकलाई प्रेम गर्ने मान्छे, गीत–संगीतमा खेल्ने मान्छे । आँखा नदेखेपछि म बन्दुक कसरी चलाउँला ? म कसरी युद्धमा जाउँला ? धेरै साथी सहिद भइसकेका छन्, मैले बदला लिनु थियो । जनता विजयीको पर्खाइमा थिए । अटेसमटेस आए प्रश्न । साहै्र पीडा भयो । सँगसँगै ‘पावेल’ ले मलाई सान्त्वना दिएको थियो । अडिग हुन पेरित गरेको थियो । मैले सोचेँ, ‘बन्दुक चलाउन नसकुँला, तर कलम त चलाउन सक्नेछु । गीत–संगीतबाट योगदान गर्न मेरो आँखाले मलाई रोक्नेछैन ।’ आफैँलाई सम्हालेँ । यस हिसावले हेर्दा जिन्दगी परिवेशले निम्ताउने छट्पटाहट हो, संयमतता पनि हो । मेरो उपचारमा संलग्न डा. सरोज धिताललगायत डाक्टरले अथाह मिहिनेत गर्नुभयो । उहाँहरूको पे्रमपूर्ण उपचारले भयावह अवस्थालाई क्रस गर्न सक्यौँ । बिस्तारै आँखाको ज्योति र्फिर्कंदै गयो, सुन्ने क्षमता पनि खुल्दै गयो । ती दिन सम्झँदा अहिले पनि अचम्म लाग्छ । चमत्कारझैँ पो भयो । अहिले पनि डा. धितालसँग दाजुभाइको नाता छ । गर्व पनि लाग्छ । हामी प्रत्यक्ष युद्धमा सामेल भयौँ, तर उहाँहरूले अप्रत्यक्ष भए पनि कुनै न कुनै रूपमा सहयोग गरेर योगदान दिनुभयो । अनेक घुम्ती आए जिन्दगीमा जिन्दगीमा अनेक ‘टर्निङ प्वाइन्ट’ आए । कलेज जीवनमा शिव श्रेष्ठले मलाई सांस्कृतिक क्षेत्रमा लाग्न असाध्यै उत्प्रेरित गर्नुभयो । उहाँ गाउनुहुन्थ्यो । मणि थापा, धुव्र ज्ञावालीलगायतको सहयोगले कलाकारितामा अगाडि बढ्न प्रेरित गर्यो । कमरेड विप्लवसँगको भेट पनि अविस्मरणीय छ । उहाँसँग ०४७–०४८ सालदेखि सहकार्य छ । कार्यकर्ता अप्ठ्यारोमा पर्दा पनि त्यसको सहज निकास खोज्न सक्ने व्यावहारिक सहकार्यले मलाई प्रेरित गर्यो । ०५१ मा काभ्रे गएपछि कमरेड आलोकसँग सहकार्य गर्ने मौका मिल्यो । त्यो सहकार्यले मलाई असाध्यै ऊर्जा प्रदान गर्यो । उहाँबारे पछि प्रश्नहरू पनि उठे । तर, उहाँ पूर्वमा भएका माओवादी केन्द्रीय नेतामा आँटिलो, मिहिनेती र राम्रो योजनाकार हुनुहुन्थ्यो । उहाँसँगको सहकार्यले मलाई परिपक्व बनायो । राजनीतिमा अघि बढ्न कमरेड प्रचण्डको पनि उत्तिकै योगदान छ । उहाँसँग ०४९ मा भेट भएको हो । त्यसवेला सरस्वती क्याम्पसमा सातदिने जनविद्यालय सञ्चालन गरिएको थियो । त्यसवेला उहाँले एउटा अपिल गर्नुभयो, ‘तपाईंहरूको काँधमा यो देशको भविष्य छ । तपाईंहरूको हातमा कापी–कलम मात्र होइन, गोलाबारुद्ध पनि जरुरी छ । बन्दुक पनि तपाईंहरूले सम्हाल्नुपर्छ ।’ त्यसले मलाई उद्वेलित गर्यो । त्यो भेटघाटमा प्रचण्डले मेरो आत्मविश्वास भर्ने काम गर्नुभएको थियो ।  आफैँभित्र पनि संघर्ष हो जीवन ०६३ सालमा हाम्रो पार्टी शान्ति प्रक्रियामा आएको थियो । सोही वर्षको पुस महिनामा देशभरका नेता–कार्यकर्ताको एउटा केन्द्रीकरण थियो चितवनमा । माओवादीभित्र बिस्तारै नेता तथा कमान्डरहरूमा अलिक भोगबिलासी, सुखसयल चाहने, कार्यकर्तालाई अलिक डोमिनेसन गर्न खोज्ने, आफूलाई सर्वेसर्वा ठान्न खोज्ने, जनतालाई नगन्ने, महँगा सामानको प्रयोग तथा सुविधाप्रति आसक्ति देखाउने प्रवृत्ति विकास हुन थालेको थियो । तिनै प्रवृत्तिलाई इंगित गरेर मैले त्यहाँ एउटा नाटक प्रस्तुत गरेको थिएँ । त्यसको सन्देश थियो, मान्छेका कमजोरी हुन्छन्, कमजोरी सुधारेर अगाडि बढ्ने होे । कमजोरीबाट मान्छेलाई सिध्याउने होइन । नेताहरूले सनकका भरमा मनपरी गर्न पाइन्न । आफ्नो सनक संगठन, जनता र कार्यकर्तामा लाद्न पाइँदैन भन्ने नाटकको सन्देश थियो । तर, प्रचण्ड असाध्यै रिसाउनुभयो । उहाँले ‘गलत गर्नुभयो’ भन्नुभयो । उहाँसँग मेरो विवाद पनि भयो । वास्तवमा मैले त्यो प्रचण्डलाई नै भन्न खोजेको थिइनँ । तर, बहसका क्रममा मैले भने, ‘चोरको खुट्टो थुत भन्दा तपाईंले त उचालेजस्तो गर्नुभयो नि दाइ ।’ ०६५ मा खरिपाटीमा भएको राष्ट्रिय भेलामा मैले एउटा गीत बनाएको थिएँ । त्यो गीत प्रस्तुत गरेपछि प्रचण्ड–बाबुराम एकदमै अनपेक्षित ढंगले प्रस्तुत हुनुभयो । त्यसवेला सामना सांस्कृतिक परिवारको नेतृत्व गर्थें म । नेतृत्वको अनिच्छाका बाबजुद हामीले देशव्यापी अभियान बनायौँ । त्यसवेला मैले केही नेता कति पाखण्डी र ढोगी हुँदा रहेछन् भन्ने देखेँ । बाहिर जनवादको कुरा गर्ने तर आफूले गरेको खराबीका बारेमा कसैले प्रश्न उठायो भने उसलाई निर्मम दमन गर्ने, आफ्नै पार्टीभित्र भएको खराबीका बारेमा सहयोद्धाले प्रश्न उठाउन पाउँदैन भन्ने नेता देखेँ । तर, त्यसबाट मलाई जिन्दगी अन्तरसंघर्ष हो भन्ने बुझ्न मद्दत पुग्यो ।  गोलचक्करजस्तो जिन्दगी समग्र आन्दोलनको पाटोबाट हेर्दा जिन्दगी एउटा गोलचक्करजस्तो पनि देखिन्छ । सुरुमा जे सोचिएको थियो, त्यसअनुसारको वातावरण अहिले छैन । आकाश–पातालको फरक छ । सपना थियो, एउटा यस्तो समाज हुनेछ, जहाँ विभेद हुँदैन, अभाव हुँदैन । तेरो र मेरो भन्ने हुँदैन । ठूलो र सानो हुँदैन । धनी र गरिब हुँदैन । कुनै प्रकारको अन्याय हुँदैन । त्यस्तो आदर्श समाजको परिकल्पना थियो हामीसँग । तर, त्यसको ठीक उल्टो भइदियो । बाहिर समाजको कुरा त छोडौँ, पार्टीभित्रै अन्याय, अत्याचारजस्तो देखिएपछि हामीले विद्रोह ग-यौँ । यस हिसाबले हेर्दा जिन्दगी एउटा संघर्ष पनि हो भन्ने लाग्छ । केहीले हाम्रो सपनालाई धुलिसात पारेका कारण अहिले राजनीतिप्रति वितृष्णा छ । त्यसलाई बदल्नु हाम्रा लागि चुनौतीपूर्ण छ । केही नेताले विकृत बनाए । तर, हामीले कम्तीमा आफ्नो जीवनलाई गलत दिशामा जान दिएका छैनौँ । हामी निरन्तर विद्रोहको पक्षमा छौँ । आशावाद पनि हो जिन्दगी । त्यो सम्भव छ । सिंगो संसारलाई त्यो दिशामा लैजान सकिन्छ । कतिपय समाजवाद परिकल्पना मात्र हो भन्छन् । तर, त्यसलाई वास्तविकतामा परिवर्तन गर्न सकिन्छ भन्ने आशा पनि अझै जीवित छ हामीमा । किनकि, आशावाद पनि हो जिन्दगी । प्रस्तुति : रामकृष्ण अधिकारी तस्बिर : कृष्ण पौड्याल नयाँ पत्रिकाबाट

एसिया कप छनौटका लागि नेपाली राष्ट्रिय फुटबल टोली विदाई

काठमाडौं, चैत ११ । एसिया कप छनौटको आफ्नो पहिलो खेल खेल्न शनिबार फिलिपिन्स जाने राष्ट्रिय फुटबल टोलीको विदाई गरिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको कार्यक्रममा खेलाडीलाई शुभकामना दिँदै युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले नेपाली टोली नेपाल र नेपालीलाइ फेरी पनि जितको खुशी दिनेमा आफू ढुक्क रहेको बताए । फुटबलका संरचना विकासको लागि आगामी बजेटमा ठूलो रकम खर्चको तयारी भएको बताउँदै श्रीपाइलीले संरचना निर्माणको लागि आफूले निकै पहल गरेपनि लामो विधी प्रक्रियाका कारण काम चाँडो हुन नसकेको स्वीकारे । एन्फाका अध्यक्ष नरेन्द्र श्रेष्ठले विभिन्न कारणले कुनै देशसँग नेपाली टोलीले अभ्यास खेल्न नपाए पनि तर फिलिपिन्ससँग ढुक्क खेल्न आग्रह गरे । कप्तान विराज महर्जनले नेपाल भन्दा फिलिपिन्स बलियो देश भएपनि आफुहरु जित्नकै लागि मैदान उत्रने बताए । आउँदो मंगलबार फिलिपिन्सँग हुने खेलको लागि चैत २ गते २० सदस्यीय नेपाली घोषणा भएको थियो । नेपालले ३ देशसँग ६ खेल खेल्ने छ भने समूहको विजेता वा उपविजेता बनेमा नेपालले सन् २०१९ मा युएईमा हुने एसिया कप खेल्न पाउने छ ।

चिनियाँ रक्षामन्त्री तीनदिने नेपाल भ्रमणमा

काठमाडौँ, चैत १० । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुग्नुभएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका रक्षामन्त्री चाङले प्रधानमन्त्री निवास बालुबाटारमा आजै केहीबेरपछि शिष्टाचार भेट गर्नुहुनेछ । रक्षामन्त्री बालकृष्ण खाँण र चाङबीच सिंहदरबारस्थित रक्षा मन्त्रालयमा आजै भेटवार्ता हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणका क्रममा उहाँले शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गर्नुहुनेछ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिसँग रक्षामन्त्री चाङले भोलि भेटवार्ता गर्नुहुने कार्यक्रम रहको छ । रक्षामन्त्री चाङले वसन्तपुर क्षेत्रका क्षतिग्रस्त सम्पदाहरुको अवलोकनसमेत गर्नुहुनेछ ।

करछली गर्ने एनसेलविरुद्ध धर्ना

काठमाडौं, चैत ८ । करछली गर्ने एनसेलले तत्कार रकम सरकारी कोषमा दाखिला गर्नुपर्ने माग गर्दै सार्वजनिक संस्थान कर्मचारी संगठनहरु धर्नामा बसेका छन् । एनसेलले ‘करछली गरेको ३३ अर्ब रुपैयाँ’ तत्काल सरकारी कोषमा दाखिला गर्न उनीहरले सरकारलाई दबाब दिएका छन् । मंगलबार राजधानीस्थित माइतीघर मन्डलामा धर्ना दिँदै सो संगठनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको छ । सो संगठनले एनसेलबाट पुँजीगत लाभकरमात्रै नभइ क्षतिपूर्ति र जरिवाना पनि असुलन गर्न पनि सुझाव दिएको छ ।

देउवाले भने : अब चुनाव हुन्छ निश्चिन्त रहनुहोस्

भक्तपुर, चैत ७ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्धारित समयमै स्थानीय निर्वाचन हुने बताएका छन् । तोकिएको समयमै निर्वाचन हुने ठोकुवा गर्दै त्यसमा कुनै शंका नगर्न सबैलाई आग्रह गरेका छन् । नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको सातौँ पुण्य स्मृति दिवसको कार्यक्रम भक्तपुरमा सभापति देउवाले निर्वाचन नभए संविधान कार्यान्वयन अवरुद्व हुने बताए । सभापति देउवाले भने, ‘चुनावको माहोल यति अगाडि बढीसक्यो कि अब निश्चिन्त रहनुहोस्, चुनाव हुन्छ ।’ गाउँगाउँमा चुनावको माहौल बनेको बताउँदै नेता देउवाले निर्वाचन हुन्न कि भन्ने शंका नगर्न र निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सबै मिलेर निर्वाचनलाई सफल पार्नुपर्नेमा जोड दिँदै उनले निर्वाचन पश्चात् संविधान कार्यान्वयन हुने र गणतन्त्रको उपलब्धि मजबुद हुने उल्लेख गरे । नेता देउवाले चुनाव नभए संवैधानिक संकट आउने र यसले प्रजातन्त्र खतरामा पर्ने औल्याएका छन् । देउवाले पहाड, हिमाल र तराईलाई फुटाएर विभाजन गरेर यहाँका बासिन्दाको एकता भाड्ने षडयन्त्र भइरहेको बताउँदै देउवाले यसलाई चिर्न पनि कांग्रेसले निर्वाचनलाई सफल पार्नु जरुरी रहेको बताए । निर्वाचनको वातावरण बनाउन नेकपा एमाले र मधेसवादी दलसँग निरन्तर वार्ता भैरहेको बताएका छन् ।

यी हुन् पाँच उपमहानगर सहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत (नामावलीसहित)

काठमाडौं, चैत ५ । सरकारले पाँच उपमहानगरसहित १७८ नगरपालिकामा कार्यकारी अधिकृत खटाएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले खटाइएका कार्यकारी अधिकृतको सूचि सार्वजनिक गर्दै उनीहरुलाई समयमै खटाइएको क्षेत्रमा काम गर्न निर्देशन पनि गरेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपुसचिवहरुलाई उपमहानगरपालिका र नगरपालिकाकाको कार्यकारी अधिकृत बनाइ पठाएको हो । मन्त्रालयले पठाएका कार्यकारी अधिकृतमा भरखरै अधिकृतमा नाम निकालेका शाखा अधिकृत पनि छन् । उनीहरुलाई निमित्त कार्यकारीको जिम्मेवारी दिइएको छ । भने उपसचिवमा नाम निकालेका र नियुक्ति पत्र नबुझेका उपसचिवहरुलाई पनि कामुको जिम्मेवारी दिएर विभिन्न नगरपालिकामा खटाइएको छ । मन्त्रालयले शुक्रबार ४८१ गाउँपालिकाका लागि अधिकृत तोकेको थियो । नयाँ संरचनाअनुसार ४ महानगरपालिका, १३ उपमहानगरपालिका र दुई सय ४६ नगरपालिकामध्ये सरकारले हाल पाँच उपमहानगरसहित १७८ नगरपालिकाका कार्यकारी अधिकृत तोकेको हो । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना रलिइ हाजिर हुन सबै अधिकृतहरुलाई निर्देशन पनि दिएको छ । हेर्नुस् कसले कहाँको जिम्मेवारी पाए

बुटवलमा शैक्षिक मेला सुरु

रुपन्देही, चैत ४ । बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ । विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो । वान अप प्रालि काठमाडौले आयोजना गरेको उक्त मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिएका छन् । यसअघि काठमाडौ, पोखरा, चितवनमा यस्तै मेलाको आयोजना गरिइसकेको छ । मेलामा एकै स्थानबाट विभिन्न शैक्षिक परामर्शदाताको सेवा पाउन सकिने व्यवस्था गरिएको छ । मेलामा अष्टे्«लिया, अमेरिका, जापान, न्यूजिल्यान्ड, भारतका विभिन्न कलेजका प्रतिनिधिसँग सिधै कुरा गर्न सकिने व्यवस्था मिलाइएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।

साञ्जेन जलविद्युत् आयोजना निर्माणका लागि रसुवाबासीको माग

रसुवा, चैत ४ । निर्माणाधीन साञ्जेन जलविद्युत् आयोजना समयमै सम्पन्न गर्न स्थानीय बासिन्दाले माग गरेका छन् । निर्माण कार्यलाई तीव्रता दिन समुदायस्तरको समिति समेत गठन भएको छ । सो आयोजना प्रभावित क्षेत्रका बासिन्दा रामबहादुर तामाङका अनुसार निर्माण कार्यमा आइपर्ने बाधा अड्चन हटाई छिटो आयोजना सम्पन्न गराउन सहयोग गर्न तथा स्थानीय बासिन्दाले पाउने सेयर जारी गर्ने प्रक्रिया अगाडि बढाउन दबाब दिन सङ्घर्ष तथा अनुगमन समिति गठन गरिएको हो । उत्तरी रसुवाको चिलिमे र सिम्बुमा निर्माण भइरहेको १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनमा सुरुङ मार्ग निर्माण सम्पन्न भएको छ । अन्य संरचना निर्माण कार्य जारी छ ।

एचआइभी सङ्क्रमित बढ्दै

पाल्पा, चैत २ । पाल्पामा एचआइभी सङ्क्रमितको सङ्ख्या २ सय ९५ पुगेका छन् । तीमध्ये १ सय ५७ पुरुष र १ सय ३८ महिला रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार, सङ्क्रमित मध्ये १८ वर्ष मुनिका ३८ जना छन् । सङ्क्रमितमध्ये ९१ पुरुष र ८० महिला गरी कुल एक सय ७१ जनाले निःशुल्क औषधि सेवन गरिरहेका छन् । औषधि सेवन गर्नेमा १८ वर्षमुनिका २७ बालबालिका रहेका छन् । उनीहरुले जिल्लाको एकमात्र मिसन अस्पताल पाल्पाबाट निःशुल्क रुपमा औषधि सेवन गरिरहेको सूचना अधिकारी ज्ञवालीले बताए । गत आर्थिक वर्षमा जिल्लामा २ सय ६५ जना एचआइभी सङ्क्रमित रहेको थिए । गत वर्षको तुल्नामा चालु आर्थिक वर्षमा २७ जना सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये ४१ जनाले समाजमा खुलेर बसिरहेका छन् । बाँकी सङ्क्रमित अझैपनि घरपरिवार, आफन्त र समाजका डरले रोग लुकाएर बस्न बाध्य भएको सूचना अधिकारी ज्ञवालीले बताए । जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले एचआइभी न्यूनीकरण र उनीहरुलाई समाजमा आत्मसम्मानपूर्वक बँच्नका लागि विभिन्न तालिम, गोष्ठी, जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।

ऊर्जामन्त्री शर्मा सम्मानित

काठमाडौँ, चैत २ । मुलुकमा चर्को रुपमा रहेको विद्युत्भार कटौतीलाई अन्त्य गरेर २४ सै घन्टा विद्युत् उपलब्ध गराउन नेतृत्वदायी भूमिका खेलेको भन्दै नेपाल औषधिगत बिक्री प्रबन्धक सङ्गठनले ऊर्जामन्त्री जनार्दन शर्मालाई सम्मान गरेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रममा उहाँलाई आगामी दिनमासमेत देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्न र मुलुकको ऊर्जा क्षेत्रमा विशेष योगदान दिन आग्रह गर्दै तामपत्रबाट सम्मान गरेको हो । सङ्गठनका काठमाडौँ अध्यक्ष दीपेन्द्र लम्सालले मुलुकमा केही पनि हुँदैन भन्ने चरम निराशाका बीच गरे केही त हुँदोरहेछ भन्ने सन्देश दिन सफल भएको र त्यसले समाजमा सकारात्मक प्रभाव पारेकाले सङ्गठनले ऊर्जा मन्त्रीलाई सम्मान गरेको बताउनुभयो । सो अवसरमा ऊर्जामन्त्री शर्माले विद्युत्भार कटौतीको विषय सामान्य विषय भएको बताउँदै इमान्दार प्रयास गर्ने हो भने मुलुकलाई केही दिन सकिन्छ र केही हुन्छ भन्ने सन्देश त्यसले दिएको छ भन्नुभयो । जलविद्युत् क्षेत्रको विकासका लागि सबैको सार्थक र सकारात्मक प्रयासको जरुरी छ, उहाँले भन्नुभयो – “सरकार केही ठूला र मझौला आयोजना अगाडि बढाउने गृहकार्यमा जुटेको र त्यसको सकारात्मक परिणाम केही दिनभित्रै देखिने छ ।” मन्त्री शर्माले मुलुक र जनताको साथ र सहयोग पाएको खण्डमा केही वर्षभित्रै विद्युत् उत्पादनमा चामत्कारिक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभयो । यस्तै सङ्गठनले आजै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पनि सम्मान गरेको छ । विद्युत्भार कटौती कम गर्न उल्लेख्य योगदान र सार्थक पहल गरेको भन्दै उहाँलाई प्राधिकरणकै कार्यकक्षमा सम्मान गरिएको सङ्गठनले जनाएको छ । रासस

चिकित्सकहरु भन्छन्– गर्भावस्थामा डिप्रेसनकाे औषधी लिनु आमा र बच्चा दुबैका लागि खतरनाक

काठमाडौं, गर्भावस्थामा डिप्रेसन अर्थात मानसिक अवसादको अवस्थालाई हटाउन कतिपय महिलाहरुले डिप्रेसनको औषधी लिने गर्दछन् । पेटमा बच्चा रहेपछि महिलाहरुको शरीरमा हर्मोनमा आउने परिवर्तनले उनीहरुको मन, चित्त, संवेग र संवेदनामा नै परिवर्तन आउने हुँदा कतिपय महिलाहरु शुरुको चरणमा र बच्चा पाएकापछि डिप्रेसनमा पुग्ने गर्दछन् । यस्तो बेला कतिपयले डिप्रेसन निको पार्न दिइने औषधी खाने गर्दछन् । तर सावधान, चिकित्सकहरु भन्छन्– यस्ता औषधी लिनु खतरनाक हुन्छ आमा र बच्चा दुबैका लागि । हालैमात्र हल्याण्डमा एउटा अनुसन्धान गरियो । स्वेन्सा विश्वविद्यालयका शोधकर्ताहरुले ५ लाख भन्दा बढी नवजात शिशुमा यो शोध गरेका थिए । यसबाट गर्भावस्थामा डिप्रेसनको औषधी लिने आमाबाट जन्मेका बच्चाहरु अविकसित अवस्थामा जन्मिने खतरा बढी रहने पाइयो । यसमा मुख्य गरी डिप्रेसन र एन्जाइटीको गम्भीर अवस्थामा लिइएका औषधीहरुले बढी समस्या तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ पर्ने देखियो । किन हुन्छ खतरा ? गर्भावस्थाको बेला पहिलो त्रैमासिकमा बच्चाको शरीरका अंगहरु निर्माण हुन्छ । everestdainik.comयस्तो बेला जुन महिलाहरुले डिप्रेसन, मानिसक तनाव या यस्तै समस्या अन्त्य गर्न एन्टीडिप्रेसन या एन्टी साइकोटिक औषधीहरु नियमित रुपमा लिनेगर्दछन्, उनीहरुको बच्चामा यसको सोझो असर पर्छ । यसबाट बच्चा मुटुसम्बन्धी रोग र असन्तुलित व्यवहारका साथै अविकसितरुपमा जन्मिन सक्छ । यसप्रकारका समस्या भएर जन्मिने हरेक १०० मध्ये ९० बच्चामा यी समस्याहरु जन्मजात या जेनेटिक हुन्छन् । यो बाँकी १० प्रतिशतमा एन्टी डिप्रेसनजस्ता औषधीको सेवन मुख्यरुपमा जिम्मेवार हुन्छन् । के गर्ने त ? औषधी खानुपर्ने अवस्था देखिएपनि त्यसको विकल्पमा अन्य उपाय अपनाउन चिकित्सकहरु सल्लाह दिन्छन् । यसका लागि पौष्टिक आहार खाने, सकेसम्म परिवारको वातावरण राम्रो बनाउने र ध्यान गर्नुपर्ने उनीहरुको सल्लाह छ । यदि गर्भ बस्नु अगाडिदेखि यस्तो औषधी खाइरहेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु जरुरी छ । चिकित्सकले पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा यस्ता औषधी बन्द गर्ने या यसको मात्राका बारेमा तपाईलाई सही सल्लाह दिन सक्छन् ।

नेप्सेमा १६ अङ्कले वृद्धि

काठमाडौँ, फागुन २१ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६ दशमलव ४ अङ्कले बढेर अन्तिम दिन एक हजार ३२९ दशमलव ४१ अङ्कमा पुगेको छ । गत साताको नेप्से परिसूचक ३१ दशमलव ८९ अङ्कले घटेको थियो । यस साता नेपाल स्टक एक्सचेन्जमा एक सय ५० कम्पनीका कारोबार भएको छ । जसअनुसार १५ हजार सात सय ३४ कारोबारबाट रु एक अर्ब ५३ करोड ३१ लाख ६४ हजार बराबरका ३३ लाख २० हजार पाँच सय १० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४४ दशमलव २ प्रतिशत कम हो। गत साता एक सय ६१ कम्पनीको कारोबार भएको थियो । जसअनुसार २८ हजार ६८ कारोबारबाट रु दुई अर्ब ७४ करोड ७४ लाख ५६ हजार बराबरका ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयर खरिद बिक्री भएका थिए । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३ दशमलव ७६ अङ्कले बढेर २८८ दशमलव ७८ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकम (रु २१ करोड नौ लाख ४० हजार) को आधारमा कुमारी बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्या (रु चार लाख नौ हजार कित्ता) तथा कारोबार सङ्ख्या (दुई हजार तीन सय ६० वटा) का आधारमा पनि कुमारी बैंक लिमिटेड नै अग्रस्थानमा छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।