आम हडतालले फरक पार्दैन, जनत हिँडेरै भोट हाल्न जान्छन्– प्रमुख आयुक्त
बिराटनगर, जेठ २९ । राष्ट्रिय जनता पार्टीले असार १० गतेदेखि अनिश्चितकालिन आम हडतालको घोषणा गरेपनि यसले निर्वाचनमा असर नगर्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसादव यादवले दावी गरेका छन् ।
बिराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले जनताले चुनाव चाहेको र निर्वाचनको माहौल बनिसकेको अवस्थामा हिँडेरै भएपनि मतदाता मतदानस्थल पुग्ने विश्वास व्यक्त गरे । मधेसका दलहरु समेत चुनाव आउन वातावरण बनोस् भनेर पटक पटक मिति सारिनुका साथै कानुन समेत संशोधन गरिएको उनको जिकिर थियो ।
आधुनिक कृषि उपकरणको अधिकृत विक्रेता
बीरगंज जेठ ६ । त्रिशक्ति ट्रेडर्सको अयोजनामा आज वीरगंजमा आधुनिक कृषि उपकरण सम्वन्धि डिलर्स मिट सम्पन्न भएको छ । विगत १५ वर्षदेखी नेपालका किसानहरुलाई आधुनिक कृषि उपकरणको विक्रि वितरण गरी सेवा पु¥याउदै आएको त्रिशक्ति टेड्रसले भारतमा निर्मित अन्तराष्टिय स्तरका कृषि उपकरणहरु नेपालमा भित्राउदै कृषि क्षेत्रमा आधुनिकिकरण गर्न क्रियाशिल रहेको छ । विगत २ वर्षदेखी राधिका कम्पनिको हाइड्रोलिक बुमको कारोवार गर्दै आएको त्रिशक्ती टेड्रसले आज सोही सम्बन्धमा वीरगंजको होटल मकालुमा कार्यक्रमको अयोजना गरेको हो । कार्यक्रममा राधिका हाइड्रोलिकका किशोर भाई पटेल, आशिष भाई भट्टले नेपालमा रहेको विक्रेताहरुलाई कम्पनिको उत्पादका सम्बन्धमा जानकारी गराउनु भएको थियो । यसैगरी कार्यक्रममा सतवन्त एग्रो पन्जावका त्रिलोचन सिंह, निर्मल प्रोडक्टका रामजी दास लगायतका व्यक्तिहरुले रोटाभेटर, मडलोडर मेशीनका सम्बन्धमा विक्रेताहरुलाई जानकारी दिएका थिए । चाचान समुहका प्रबन्ध निर्देशक सजन चाचानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिशक्ति टेड्रस वीरगंजका धुव्र साह, कृषि बैज्ञानिक डा विश्वेश्वर प्रसाद यादव लगायतले कृषि उपकरण र गुणस्तरीयताको बारेमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा चाचान समुहका सुशान्त चाचानको सहभागीता रहेको थियो । कार्यक्रममा झापा, मोरंग, सुनसरी, सप्तरी, सिरहा, बारा पर्सा, रौतहट, चितवन, मकवानपुर जिल्लाका विक्रेता, कृषि प्राविधिक, अगुवा कृषकहरुको सहभागिता रहेको थियो ।
हत्याका अभियुक्त पक्राउ
भक्तपुर, वैशाख २४ । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । कौशलटार, सागबारीमा नेपाली सेनाका कर्णेल आनन्दसिंह भाटका घरमा भाडामा बस्दै आएका आफ्नै मामाका छोरा ३२ वर्षीय सरोज सुवेदीलाई कोइरालाले आज बिहान ७ः३० बजे कोठामै गएर खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । अभियुक्त कोइरालाको चौतर्फी खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइँदै गरेको बताइएको छ । झापा तामुङ्दुवा– ३ घर भई सागबारीमा बस्ने एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । घरमा सुवेदीका श्रीमती, बच्चा र काम गर्ने महिला भएकै बेलामा बिहानै आएका कोइरालाले कोठामा बसिरहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।
तरकारीमा परनिर्भरता घट्दै
भीमदत्तनगर, २३ वैशाख । कञ्चनपुरको भीमदत्तनगरमा प्रशस्त मात्रामा स्थानीय उत्पादन हुन थालेपछि तरकारीमा परनिर्भरता घट्दै गइरहेको छ । स्थानीय किसान व्यावसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षित हुँदै गएपछि तरकारी आयातमा कमी आएको हो । “एक ‘दशक अगाडि सब्जीमण्डिमा ९० प्रतिशत तरकारी भारतबाट आयत गरिन्थ्यो,” कञ्चनपुर मण्डि व्यवसायी सङ्घका अध्यक्ष विशाल सुनारले भन्नुभयो–“अहिले मण्डिमा ७० प्रतिशत तरकारी स्थानीय किसानद्वारा उत्पादित छ ।” हाल सीमावर्ती भारतीय बजार वनबासा, खटिमा, बरेलीलगायतका स्थानबाट भीमदत्तनगरमा आलु र प्याज मात्रै आयात गरिँदै आएको अध्यक्ष सुनारले बताउनुभयो । फर्सी, लौका, गोलभेँडा, घिरौला, काँक्रा, करेला, रामतोरिया, हरियो खुर्सीनी, मुलालगायत तरकारी अहिले स्थानीय किसानले उत्पादन गरी बिक्रीका लागि मण्डिमा ल्याउने गरेका छन् । मण्डिमा दैनिक १२ देखि २० टन तरकारी भित्रिन्छ । “करिब २५ देखि ३० प्रतिशत तरकारी अन्यत्र जिल्लामा खपत गरिन्छ,” उहाँले भन्नुभयो । भीमदत्तनगर क्षेत्रमा उत्पादन भएको तरकारी बिक्री वितरणका लागि काठमाडौँ, पोखरा, बुटवल, नारायणघाट, धनगढी र सुदूरपश्चिमका पहाडी जिल्लामा पठाउने गरेको कञ्चनपुर मण्डि व्यवसायी सङ्घका महासचिव विश्रामसिँह धामीले बताउनुभयो । “पछिल्ला वर्षमा यहाँ बाह्रैमास तरकारी उत्पादन हुँदै आएको छ,” उहाँले भन्नुभयो । वर्षातका बेला मात्रै स्थानीय उत्पादनमा सामान्य गिरावट आउने गरेको छ । सो समयमा भारत र यहाँका पहाडी जिल्लाबाट तरकारी आयात गरिन्छ । “खुल्ला सिमानाका कारण प्रक्रिया नपु¥याएर लुकिछिपी समेत यहाँ तरकारी भित्रिने गरेको छ,” धामीले भन्नुभयो । अखाद्य तरकारी भित्रिन नदिन स्थानीय प्रशासनले ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । कञ्चनपुरमा व्यावसयिक रुपमा तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि हुँदै गइरहेको छ । अध्यक्ष सुनारका अनुसार भीमदत्त नगरपालिका क्षेत्रमा मात्रै एक सय ५० बिगाहादेखि दुई सय बिगाहामा तरकारी खेती गरिँदै आएको छ । भारतीय नागरिकले यहाँ आएर स्थानीयवासीको जग्गा भाडामा लिई नदी तथा खोलाको बगरमा तरकारी खेती गर्दै आएका छन् । कञ्चनपुरको अन्य क्षेत्रमा पनि किसान क्रमिक रुपमा व्यावसायिक तरकारी खेतीतर्फ आकृर्षित हुँदै गएका छन् । यहाँको झलारी, बेलौरी, कृष्णपुर, पुर्नबासलगायत क्षेत्रका किसानले व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका छन् । “उत्पादित तरकारीका लागि बजारको समस्या छैन,” भीमदत्त नगरपालिका–१९ बागफाँटामा तरकारी खेती गर्दै आएका भारतीय नागरिक ख्यालीराम बर्माले भन्नुभयो– “तरकारी बेच्न मण्डिसम्म गए पुग्छ ।” तीन बिगाहामा तरकारी खेती गर्दै आएका बर्मा पछिल्लो समय नेपाली नागरिकले तरकारी खेतीतर्फ बढी जोड दिएको बताउनुहुन्छ । उहाँ नेपालमा १४ वर्षदेखि तरकारी खेती गर्दै आउनुभएको छ ।
चार लाख घुससहित दुई जना रंगेहात पक्राउ
काठमाडौँ, २० वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा नौकुण्ड गाउँपालिका–१ र २ को कार्यालयको संयुक्त जिम्मेवारी निर्वाह गर्दै आएका वडा सचिव राजेन्द्रकुमार आचार्य र सोही कार्यालयका कार्यालय सहयोगी श्लोक लामालाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय बासिन्दालाई केरुङ नाका भई चीन प्रवेशका लागि अध्यागमन कार्यालयबाट प्रवेशाज्ञा लिनका लागि आवश्यक पर्ने सिफारिसका लागि सेवाग्राहीसँग सचिव आचार्यले रु एक लाख तिस हजार र कार्यालय सहयोगी लामाले रु तीन लाख बीस हजार घुस लिँदै गरेको अवस्थामा धुन्चेस्थित गोसाइकुण्ड गाँउपालिका–६ को कार्यालयबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
३१ गते स्थानीय चुनाव : मनाङको नारफू गाउँपालिकामा आजै नेपाली कांग्रेसका तर्फबाट निर्वाचित
काठमाडौँ, बैशाख १९ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ताकै दिन मनाङको नारफू गाउँपालिकामा नेपाली कांग्रेसका मिङ्मार छिरिङ लामा भने निर्विरोध निर्वाचित भएका छन् । ३ वडा रहेको उक्त गाउँपालिकाको अध्यक्षमा अरु कसैको उम्मेदवारी मनोनयन दर्ता नभएपछि लामा निर्विरोध भएका हुन् । वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन कार्यक्रमअन्तर्गत मिङमार मुलुककै गाउँपालिकामध्येमा पहिलो निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचित मिङ्मारलाई निर्वाचन अधिकृतले निर्विरोध निर्वाचित घोषणा गरेका छन्।
विद्युत खरिद सम्झौता (पीपीए) छुट्टै गर्ने निर्णय
काठमाडौं, बैशाख १९ । नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ। उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको आजको कारोबारमा खबर छ। अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रर्वधक कम्पनीहरुले १ देखि २ घण्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रुपैयाँ, २ देखि ३ घण्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घण्टाको ९.४० तथा ४ देखि ६ घण्टाको प्रतियुनिट १०.५५ रुपैयाँ पाउनेछन् ।
दुई नेपाली युवालाई ‘ब्लड मनी’ बुझाउन साउदी अदालतकाे आदेश
रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई सार्खु ८ मकवानपुरका २७ बर्षीय दिनेश गोले र मध्यबिन्दु ४ नवलपरासीका कार्यरत ३६ बर्षीय थानेश्वर भुषाललाई साउदी अदालतले ‘ब्लड मनी’ बुझाउन अादेश दिएको छ। निश्चित समयभित्र अदालतले तोकेको ब्लड मनीको व्यवस्था हुन नसके दुई युवाको ज्यान समेत जान सक्ने भन्दै परिवारका सदस्यले विभिन्न निकायमा हार गुशार गरिरहेका नागरिक दैनिकमा खबर छ । स्वदेशमा रहेका परिवारलाई पैसा कसरी जुटाउने भन्ने समस्या भएको छ । दिनेशलाई अदालतले तीन लाख रियाल (करिब ९० लाख रुपैयाँ) ब्लड मनी मागेको छ । भुषालको मुद्दामा दमामको अदालतले एक लाख ५० हजार रियाल (करिब ४५ लाख रुपैयाँ) ब्लड मनी तिर्नुपर्ने फैसला सुनाएको हो । साउदीको आरआर भन्ने स्थानमा रहेको खलिफ अल फला कम्पनीमा कार्यरत दिनेश गोले र साउदीको दमामस्थित हसिन अल हार्बी कम्पनीमा कार्यरत थानेश्वर भुषालको मुद्दामा फैसला सुनाउँदै साउदीका छुट्टाछुट्टै अदालतले ब्लड मनी बुझाउन भनेका हुन् ।
शुल्क वृद्धि १५ दिनभित्रमा फिर्ता हुने भएपछि आन्दोलन स्थगित
काठमाडौँ, वैशाख १५ । निजी विद्यालयको शुल्क वृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत संयुक्त विद्यार्थी सङ्गठनले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेका छन् । शुक्रबार सिंहदरबारमा शिक्षामन्त्री धनीराम पौडेल र आन्दोलनरत विद्यार्थीबीच चार बुँदे सहमति भएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको अनेरास्ववियु (क्रान्तिकारी)का सचिवालय सदस्य डिवी साउदले जानकारी गराए । उहाँका अनुसार शिक्षा मन्त्रालयले शिक्षा नियमावली र निर्देशिका विपरीत विद्यालयले लिइएको शुल्क १५ दिनभित्र फिर्ता गराउने, शिक्षा नियमावली २०५९ र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ कडाइका साथ कार्यान्वयन गराउने तथा शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन नगर्ने विद्यालयको दर्ता खारेजी गर्ने सहमति भएको छ । यसैगरी मन्त्रालयलाई सुझाव दिनका लागि विद्यार्थी सङ्गठनसमेतको संलग्नतामा मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक संवाद समिति समेत गठन गर्ने सहमति भएको छ । साउदले शुल्क वृद्धिको विरोधमा लगाइएका ताला शनिबार खोलिने जानकारी गराउनुभयो । छलफलमा मन्त्रालयका प्रवक्ता डा हरिप्रसाद लम्साल, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेल, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका अध्यक्ष नविना लामा, अनेरास्ववियु क्रान्तिकारीका उपाध्यक्ष रन्जित तामाङलगायतको उपस्थिति रहेको थियो । मङ्गलबारदेखि निजी विद्यालयले वृद्धि गरेको शुल्क फिर्ता गर्न माग गर्दै विद्यार्थी सङ्गठन आन्दोलित भएका थिए । उनीहरुले शुल्क फिर्ताको माग गर्दै आज शिक्षा विभाग, जिल्ला शिक्षा अधिकार तालाबन्दी गरेका थिए ।
राप्रपाद्वारा स्थानीय निर्वाचन लक्षित तीन समिति गठन
काठमाडौँ, वैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तीन वटा समिति गठन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा राजधानीमा बसेको बैठकले कार्यक्रम, आर्थिक परिचालन र प्रचारप्रसार गरी तीन वटा समिति गठन गरेको हो । कार्यक्रम समितिको संयोजकमा पार्टी प्रवक्ता भुवन पाठक, आर्थिक परिचालन समितिको संयोजकमा सांसद कमला शर्मा र प्रचारप्रसार समितिको संयोजकमा नेता किरण गिरी रहनुभएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए। यसअघि राप्रपाले अध्यक्ष थापाको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरिसकेको छ ।
रुपान्तरित दुई कार्यालयका कर्मचारीको निवृत्तीभरण रोकियो
काठमाडौँ, वैशाख १३ । सङ्घीय संरचनाअनुसार रुपान्तरण भएका कार्यालयबाट अवकाश पाएका निजामती कर्मचारीको निवृत्तीभरण रोकिएको छ । जिल्ला विकास समितिबाट जिल्ला समन्वय समिति र पुनरावेदन अदालतबाट उच्च अदालतमा रुपान्तरण भएका कार्यालयबाट अवकास पाउने कर्मचारीको निवृत्तीभरण रोकिएको छ । निजामती किताबखानाले यी दुई कार्यालयबाट रुपान्तरणपछि अवकास पाएका कर्मचारीको निवृत्तीभरण रोकेको छ । सामान्य प्रशासन मन्त्रालयले साविक नाम भएका दुई कार्यालयको नाम रुपान्तरण भएको जानकारी किताबखानालाई नदिँदा निवृत्तीभरण रोकिएको हो । सङ्घीय संरचनाअनुसार रुपान्तरण भएका कार्यालयको नाम दर्ता र कर्मचारीको नामसहित पद दर्ता किताबखानामा जानकारी नपठाउँदा धेरै कर्मचारीको निवृत्तीभरण रोकिएको छ । वैशाख ५ गते तनहुँ जिल्ला समन्वय समितिबाट अवकास लिएर आएका नायब सुब्बा तीर्थराज वाग्लेले किताबखाना पटकपटक धाउँदा निवृत्तीभरण अझै पाउन सकेका छैनन् । ‘निवृत्तीभरणका लागि किताबखानामा जाँदा खारेज भइसकेको कार्यालयबाट निवृत्तीभरण हुँदैनन् भनेर फिर्ता पठाइदिनुभयो’ उहाँले भन्नुभयो– ‘नयाँ रुपान्तरण भएको कार्यालयको नाममा नपठाइदिन निवृत्तीभरण रोकिएको छ ।’ । किताबखानाका महानिर्देशक केशवप्रसाद आचार्यले ती दुई कार्यालयका अवकास प्राप्त कर्मचारीलाई कुन कार्यालयको नामबाट निवृत्तीभरण दिने भन्ने अन्यौल रहेकाले रोकिएको जानकारी गराउनुभयो । ‘पहिलेको कार्यालयको नामबाट दिने कि नयाँ नामबाट दिने भन्नेमा अन्यौल रहेको छ’’ उहाँले भन्नुभयो–‘‘त्यसैले ती दुई नयाँ कार्यालयका अवकास प्राप्त कर्मचारीको निवृत्तीभरण बनाउन सकिएको छैन ।’
संसदको अवरोध खुलाउन प्रमुख दलका शिर्ष नेतृत्वमा छलफल
काठमाडौं, बैसाख १३ । ब्यवस्थापिका संसदलाई आफ्नो कार्यसुचीमा अघि बढ्न दिनेबारे प्रमुख दलका शिर्ष नेताहरुबिच छलफल हुँदैछ । सरकारले मधेसी मोर्चाको माग संवोधन गर्ने नाममा मधेसमा स्थानीय तहको संङख्या बढाउन लागेको भन्दै प्रमुख प्रतिपक्षि एमालेले संसद अवरुद्ध गर्न थालेपछि सरकारले सहमतीका लागि वार्तामा बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, प्रमुख प्रतिपक्षि एमालेका शिर्ष नेताहरु सहभागी हुनेछन् । हिजो मंगलवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको पाँच दलको बैठकमा दाहालले निर्वाचनमा मधेसी मोर्चाको समेत सहभागितका लागि संविधान संशोधन अनिवार्य भएकाले संसदको कारवाही नरोक्न एमालेलाई आग्रह गरेका थिए । एमालेले भने मोर्चाको माग संवोधन गर्न बजेट भन्दा पछि दोश्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै विरोध गरेको छ । ब्यवस्थापिका संसदको बैठक आज वुधवार बिहान ११ बजे बस्दैछ ।
कलाकार प्रदीप सिंहको निधन
बैशाख ९ । पुराना कलाकार तथा चलचित्र निर्माता प्रदीप सिंहको निधन भएको छ । मृगौला रोगबाट लामो समयदेखि पीडित रहेको कलाकार सिंहको उपचारका क्रममा भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमा शुक्रबार साँझ निधन भएको पारिवारिक श्रोतले बताएको छ । ५८ वर्षीय सिंहको गत वर्ष मृगौला प्रत्यारोपण गरिएको थियो । २०४१ सालमा ‘२५ औं बसन्त’ नामक नेपाली चलचित्रबाट अभिनय यात्रा सुरु गरेका सिंहले ‘देउता’, ‘रहर’, ‘मीतज्यू’, ‘अन्याय’ लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरेका छन् । चलचित्र क्षेत्रमा झण्डै ३३ वर्ष विताएका कलाकार सिंहको पछिल्लो चलचित्र अभिनेत्री निशा अधिकारी अभिनित ‘पद्यिनी’मा अभिनय गरेका छन् । कलाकार संघको सदस्य भएर कलाकारको हकहितको लागि सक्रिय सिंहले केही चलचित्रमा निर्माताको रुपमा समेत काम गरेका छन् । काठमडौंको बौद्ध निवासी सिंहका दुई छोरी, १ छोरा र श्रीमती छन् । उनको पार्थिव शरीर सोमबार मात्र राजधानी ल्याइने कलाकार संघले जनाएको छ ।
शान्तिवाटिकामा नयाँ शक्तिसहित ६८ दलको धर्ना सुरु
काठमाडौँ, वैशाख २ । अागामी वैशाख ३१ गते सरकारले घोषणा गरेपछि स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै नयाँ शक्ति पार्टीसहित ६८ दलले रिले अनशनसहितको धर्ना सुरु गरेका छन् । काठमाडौँको रत्नपार्कस्थित शान्ति वाटिकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले संयुक्त विरोधस्वरुप आजदेखि अनशनको सुरुवात गर्नुभएको हो । लोकतान्त्रिक राज्य व्यवस्थामा दललाई दलीय चुनाव चिन्हबाट नदिइ सरकारले अलोकतान्त्रिक व्यवस्था लादेको भन्दै त्यसको विरोधस्वरुप वैधानिकरुपमा दर्ता भएका सबै दललाई दलीय चुनाव चिन्ह प्रदान गरेर संविधान संशोधनमार्फत चुनाव गर्नुपर्ने माग राख्दै दलहरुले धर्ना सुरु गरेका हुन् । शान्तिवाटिकामा रिले अनशनको सुरुवात गर्दै नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले २५/३० वर्षअघि यही रत्नपार्कबाट बहुदलीय व्यवस्थाका लागि आन्दोलन गरेको स्मरण गर्दै अहिले गणतान्त्रिक व्यवस्थामा पनि पूर्ण लोकतन्त्रको स्थापना गर्ने उद्देश्य राखेर शान्तिपूर्ण सङ्घर्ष सुरु गरिएको बताउनुभयो । त्यस्तै अनशनमा सहभागी अन्य राजनीतिक दलका नेताले सम्बोधन गर्दै लोकतन्त्रको रक्षा र तीन दलीय निरङ्कुशताका विरुद्ध आफूहरुको शान्तिपूर्ण सङ«घर्ष जारी रहने बताएका छन् ।
चलचित्र झमक बहादुर निर्माण हुने
काठमाडौं, बैसाख १ । नेपाली समाजमा नेपालीपनको झल्को दिने चलचित्र झमक बहादुरको निर्माण हुने भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा निर्माण पक्षले यो चलचित्र निर्माणको घोषणा गरेको हो । नेपाली समाजमा अझै पनि विकृतिका रुपमा रहेको धनी र गरिबबीचको द्धन्द्धलाई देखाउन खोजिएको यस चलचित्रलाई यूबी फिलमस् ग्यालरीले निर्माण गर्न लागेको हा े। चलचित्र झमक बहादुरमा खलनायकको भूमिकामा चर्चा कमाएका नायक अनुप बिक्रम शाही, मीन बहादुर तामाङ, यादव प्रसाद देवकोटा, सुजाता थापा, कल्याण अधिकारी, नियोना गुरुङ, राजु कमेडी, प्रबिन श्रेष्ठ र बाल कलाकार सुमिना दाहालको मुख्य भूमिका रहने छ। काठमाडौँ र पोखरामा छायांकन हुने यो चलचित्रलाई राजेन भूजेलले लेखेका हुन् । भोमन कटुवालकोे निर्देशन रहने यो चलचित्रलाई तारादेबी गुरुङ, आर्जन खड्का र जेनी रेग्मीले निर्माण गर्न लागेका हुन्।
अमेरिकी गोप्य सूचनाको आधारमा त्रिभुवन विमानस्थलबाट इरानी नागरिक पक्राउ
काठमाडौं – अमेरिकी दूतावासको गोप्य सूचनाका आधारमा अध्यागमन विभागले गम्भीर अपराधमा संलग्न भएको आशंकामा एक इरानी नागरिकलाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले अमेरिकी राहदानीवाहक इरानी नागरिकलाई बिहीबार पक्राउ गरेको हो । अमेरिकी राहदानीमा ती इरानीको नाम अब्दुल लातिफ तासिन सलमान लेखिएको छ । कागजपत्रमा उनको इरानी नाम हमिद छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ । नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो ।सलमानले हराएको अमेरिकी राहदानी (स्टोलन लस्ट ट्राभल डकुमेन्ट पासपोर्ट) मा किर्ते गरी आफ्नो फोटो टाँसेको आशंकामा दिल्ली विमानस्थल अध्यागमनले इन्ट्री रिफ्युज गरेको स्रोतले बताएको छ । सलमानले बिहीबार भारत जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय भने सहजै पार गरेका थिए । उनले हराएको अमेरिकी राहदानी प्रयोग गरेका थिए । अमेरिकाले सलमानले हराएको अमेरिकी राहदानी ट्र्याकिङ गरिरहेको थियो । त्यही क्रममा उनी नयाँदिल्ली अध्यागमनको नियन्त्रणमा परेका हुन् । भारतबाट इन्ट्री रिफ्युज भएर काठमाडौं आएलगत्तै विमानस्थल अध्यागमन कार्यालयले सलमानलाई अध्यागमन विभागमा बुझाएको थियो । अध्यागमन विभागको हिरासतमा रहेका सलमानलाई शुक्रबार अमेरिकी दूतावासका अधिकारीले बयान लिएका छन् । अध्यागमन अधिकारीले बयान लिनुअघि नै अमेरिकी दूतावासका अधिकारीले सलमानको बयान लिएको जानकारी स्रोतले दिएको छ । अमेरिकी दूतावासका अधिकारीले सलमानको लगेज र आवश्यक कागजपत्रसमेत अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएका छन् ।अमेरिकी दूतावासले आतंकवादी संगठन आईएसमा आबद्ध भएको आशंकामा सलमानमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको विशेष ब्युरोले समेत ती इरानीको गतिविधिप्रति चासो राखेको छ । अध्यागमन विभागका महानिर्देशक गंगाराम गेलालले इरानी नागरिक सलमानलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । महानिर्देशक गेलालले भने, ‘इरानी नागरिक अध्यागमनको नियन्त्रणमा छन् । उनको कागजपत्रको अनुसन्धान भइरहेको छ ।’महानिर्देशक गेलालले इरानी नागरिक सलमानलाई प्रवेशाज्ञा (भिसा) र प्रस्थान अनुमति दिने विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि पनि छानबिन हुने बताए । केही दिनअघि टर्कीको इस्तानबुलबाट नेपाल आएका सलमानले टर्की विमानस्थलमा इरानको राहदानीमा प्रस्थान अनुमति लिएका थिए । काठमाडौं ओर्लिएपछि उनले इरानको राहदानी लुकाएर अमेरिकी राहदानीमा प्रवेशाज्ञा (भिसा) लिएका थिए ।’विमानस्थलपिच्छे उनले राहदानी फेरेका छन् । उनको गतिविधि शंकास्पद देखिएको छ’, विमानस्थलका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘उनी कुनै आतंकवादी संगठनमा आबद्ध भएको आशंकामा अमेरिकी दूतावासले गम्भीर अनुसन्धान गरिरहेको छ ।’ भारतीय अध्यागमनले इरानी नागरिक सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै फिर्ता गरेको थियो । सलमानले साउदी अरेबियाको जाली राहदानीसमेत लिएका थिए । अमेरिकी दूतावासका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनलाई सलमान भारतबाट इन्ट्री रिफ्युज भएको अग्रीम जानकारी दिएका थिए । ‘प्राविधिक रूपमा हामी कमजोर छौं । उनको राहदानी शंस्कास्पद भएनभएको छुट्ट्याउन सकेनौं’, विमानस्थल अध्यागमन कार्यालयका एक अधिकारीले भने, ‘भारतबाट इन्ट्री रिफ्युज भएपछि मात्र सलमानको राहदानी शंकास्पद भएको थाहा भयो ।’ विगतमा इरानीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी युरोप र अमेरिका छिर्ने प्रयस गर्दै आएका थिए ।नेपालबाट भारत गएका सलमानको अमेरिकी राहदानी शंकास्पद भएको भन्दै नयाँदिल्ली विमानस्थल अध्यागमनले फिर्ता (इन्ट्री रिफ्युज) गरेको थियो । File Photo