भारतमा ग्यास सिलिण्डर विस्फोटन, ४ वटा घर भत्किदाँ ७ जनाको मृत्यु
काठमाडौं, असोज ३१ । भारतको बैग्लोरमा खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ । भने चार वटा घर भत्किएका छन ।
सोमबार एउटा घरको दोस्रो तलामा भएको एलपीजी ग्यास सिलिण्डर विस्फोटनमा परि सात जनाको मृत्यु हुँदा दुई जना नावालक अनाथ भएका छन । उनीहरुलाई सरकारले पालन पोषण गर्ने बताएको छ ।
बीचको घरमा सिलिण्डर पड्किदा सँगै रहेका वरिपरिका अन्य तीनवटा घर पनि भत्किएको प्रहरीले जनाएको छ ।
खाना पकाउने क्रममा उक्त विस्फोटन भएको हुन सक्ने भारतीय अधिकारीहरुले जनाएका छन ।
सप्तरीमा मतगणना जारी, सप्तकोशीमा माओवादी र खडकमा काँग्रेस अगाडि
राजविराज,असोज ३ । प्रदेश नं २ को तेस्रो चरणको स्थानीय तह निर्वाचन सकिएपछि सप्तरीमा आज बिहानदेखि विभिन्न स्थानीय तहको मतगणना शुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार विहान ९ बजेसम्मको प्रारम्भिक मतगणनामा खडक नगरपालिकामा नेपाली काँग्रेस पहिलो, नेपाल लोकतान्त्रिक फोरम दोस्रो र नेकपा (एमाले) तेस्रो स्थानमा रहेका छन् । काँग्रेसले ११४, नेपाल लोकतान्त्रिक फोरम ६३ र एमालेले ५७ मत प्राप्त गरेको बताइएको छ । यस्तै, सप्तकोशी नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले १८७ मत ल्याएर पहिलो स्थानमा, नेकपा (एमाले) पछ्याउँदै १६५ मत लिएर दोस्रो, नेपाल लोकतान्त्रिक फोरम भने १८ मत ल्याएर तेस्रो स्थानमा रहेको छ । यसैबीच, जिल्लाको विष्णुपुर गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र सुरुंगा नगरपालिकामा मतगणना विहान शुरु भएको जिल्ला निर्वाचन कार्यालयका अधिकृत महेश ठाकुरले बताए ।
पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौं, असोज १ । चालु आवमा पाँच हजार कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । छयासी हजार ८९५ मध्ये चार हजार ८१२ कर्मचारीले सम्पत्ति विवरण नबुझाएको निजामती किताबखानाका सूचना अधिकारी राजेन्द्र पराजुलीले जानकारी दिए । उनका अनुसार ८२ हजार ८३ कर्मचारीले मात्र सम्पत्ति विवरण बुझाएका छन् । सो संख्या निजामती, स्वास्थ्य र संसद् सेवाका कर्मचारीको हो । निजामती किताबखानाले गत भदौ २८ गतेसम्म कर्मचारीको सम्पत्ति विवरण बुझाउन समय तोेकेको थियो । अघिल्लो आवमा भने ७८ हजार ५८ कर्मचारीले विवरण बुझाएका थिए । किताबखानामा आव सुरु भएको ६० दिनभित्र कर्मचारीले अनिवार्य रुपमा निजामती सेवा ऐनअनुसार सम्पत्ति विवरण बुझाउनुपर्ने हुन्छ । गत साउन १ देखि भदौ २८ गतेभित्र कर्मचारीले गत आवको सम्पत्ति विवरण बुझाएका थिए । किताबखानाले विशेष र काबु बाहिरको स्थितिका लागि भने अझै ३० दिन समय तोकेको उनले बताए । सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ५० अनुसार रु पाँच हजार जरिवाना गरिन्छ । रासस
कांग्रेस नेता प्रदीप पौडेल पक्राउ,शेरबहादुरकाे फोनले समेत काम गरेन
काठमाडौ, भदौ ३१ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल पक्राउ परेका छन् । जापानी अध्यागमनको उनलार्इ नियन्त्रणमा लिएकाे हाे । कांग्रेसको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी हुन पौडेल जापान गएका थिए । हिजो अपराह्न टोकियोस्थित नारिता बिमानस्थल पुगेका उनीहरुमध्ये धनराज गुरुङलाई प्रवेश अनुमति दिइएपनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको हो । धनराज गुरुङपछि इमिग्रेसन पुगेका उनीहरुले जापानबाट फर्किने कुरामा आश्वस्त पार्नेगरी जवाफ दिन नसकेपछि सबैभन्दा अन्तिममा इमिग्रेसन पुगेका पौडेल पनि उनीहरुसँगै नियन्त्रयणमा परेको उनीहरुले जानकारी दिएका छन् । आज साँझ पाँच बजे अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको भए पनि अहिलेसम्म पौडेल नियन्त्रयणमा परेकोबारे जनसम्पर्क समितिले औपचारिक रुपमा जानकारी गराएको छैन् । पौडेललाई रिहा गर्न टोकियोस्थित नेपाली राजदूतावास र नेपालबाट नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा समेतले फोन गरेर कोसिस गरेपछि सफल हुन सकेको छैन् ।
दोर्जे डोल्मा गुरुङको पोल्टामा मिसेस ग्लोबल २०१७ को ताज
काठमाडौं, असोज १ । सन् २०१७ को ‘मिसेस ग्लोबल नेपाल’को उपाधी मिसेस दोर्जे डोल्मा गुरुङको पोल्टामा गएको छ । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको यो बर्षको ‘मिसेस ग्लोबल नेपाल मा उनले अन्य १८ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित् बिभिन्न गिफ्ट ह्याम्पर पनि हातपारिन । त्यस्तै मिसेस ग्लोबल नेपाल २०१७ को फस्ट रनरअपमा सोनिया शर्मा अधिकारी , सेकेन्ड रनरअपमा रिना लामा र थर्ड रनरअपमा सोनिया लामिछाने घोषित भईन । बिबाहित गुरुङ नारीमा हुने प्रतिभालाई प्रस्फुटन गराउन र विवाहित महिलाहरुमा केन्द्रित बौद्धिकता,सौन्दर्य, आन्तरिक प्रतिभा र सांस्कृतिक सचेतनाका साथ साथै प्रतियोगीहरुको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरिएको यस् “मिसेस ग्लोबल नेपाल २०१७” प्रतियोगिताको अन्य टाईटलहरुमा बेस्ट ट्यालेन्टमा रिना लामा, बेस्ट क्याटवाकमा सुजा राउत, बेस्ट पर्सानालिटीमा सुनिता थापा, बेस्ट फोटोजेनिकमा सोनिया लामिछाने, बेस्ट स्माईलमा अन्जना पौडेल, बेस्ट स्किनमा सोनिया शर्मा अधिकारी, बेस्ट ड्रेस्समा रेखा बस्नेत श्रेष्ठ, बेस्ट हेयरमा पुष्पा राई, बेस्ट कम्प्लेक्सनमा आर्जु गुरुङ, मस्ट कन्फिडेन्समा सुनिला कायस्थ, मस्ट डिसिप्लिनमा मिरा राजबंशी गोर्खाली, मस्ट चार्मिङमा तारा थापा, मस्ट ईन्टलजिन्ट दोर्जे डोल्मा गुरुङ, मस्ट एक्टिभमा अनिशा श्रेष्ठ, मस्ट स्मार्टमा सन्तोषी पाण्डे जोशी, मिसेस पंचलमा सुनिता तमाङ, बेस्ट फिगरमा मिना श्रेष्ठ, मस्ट पपुलरमा सुनिता तामाङ र मिसेस पब्लिक चईस एवार्ड मा तारा थापाले हात परेका थिए । एमजोन ईन्टरटेन्मेन्टले यो सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको छ । कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी कला सुब्बा हुनुहुन्थ्यो। त्यस्तै अन्य निर्णायकहरुमा मोडेल दिक्पाल कार्की, मोडेल तथा फेसन डिजाईनर क्षितिजा शाक्य हुनुहुन्थ्यो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका निर्देशक कमल खतिवडा कोरियोग्राफर हिमानी सुब्बाले श्रेष्ठले मायाको चिनो प्रदान गर्नुभएको थियो । यस् प्रतियोगितालाई कोरियोग्राफी हिमानी सुब्बाले गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो । प्रतिस्प्रधीहरुलाई टि एम्बर्स ब्युटी सलोन एन्ड एकेडेमीको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले अफिसियल फोटोग्राफी गरेको थियो भने लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो ।
सगरमाथा आरोहीका लागि अनलाइन चिकित्सक सेवा सुरु
सोलुखुम्बु, भदौ २९ । तपार्इं सगरमाथा क्षेत्रको भ्रमण गर्दै हुनुहुन्छ र उच्च हिमाली क्षेत्रमा जाँदा स्वास्थ्य समस्या आउँछ कि भनेर चिन्तित हुनुहुन्छ ? त्यसो हो भने अब तपाईंको चिन्तालाई अनलाइनमा रहेका चिकित्सकले समाधानको बाटो देखाउने भएका छन् । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा प्रदान गरिरहेको एभरेस्ट लिङ्क नामक कम्पनीले लुक्लाबाट माथि लागेपछि सगरमाथा आधार शिविरसम्मकै बाटोमा वाइफाइ सेवा सञ्चालन गरी त्यसमा अनलाइन चिकित्सकको समेत व्यवस्था गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाका अनुसार पर्यटकीय मौसमका बेला राजधानीका दुई र खुम्बुको एक गरी तीनवटा अस्पतालसँगको सहकार्यमा यस्तो सेवा निः शुल्क रुपमा शुरु गरिएको हो । तीन वर्षअघि बाट सगरमाथाको आधार शिविरसम्म नै तीव्र गतिको र भरपर्दो इन्टरनेट शुरु गरेको एभरेस्ट लिङ्कको राउटरसँग जोडिने बित्तिकै लग इन पेजमा इमरजेन्सी कलको संकेत आउने र त्यसमा कल गर्दा अस्पतालका चिकित्सकको मोबाइलमा भिडियो कल पुग्ने कार्यकारी अधिकृत शेर्पाले बताउनुभयो । चिकित्सकको मोबाइलमा भिडियो कल पुगेपछि चिकित्सकसँग आफूलाई भएको स्वास्थ्य समस्याका बारेमा भन्ने र चिकित्सकले सल्लाह सुझाव दिने व्यवस्था गरिएको छ । उच्च हिमाली क्षेत्रमा लेक लागेका कारण यात्रुको स्वास्थ्यमा विभिन्न समस्या देखापर्न सक्छन् । यस्तो अवस्थामा के गर्ने र के नगर्ने भन्ने सुझाव पाएमा मात्र पनि धेरैको ज्यान जोगाउन सहज हुने पर्यटक गाइड भूपाल मगरले बताउनुभयो । वर्षमा औसत ३५ हजार विदेशी र स्वदेशी समेत गरी एक लाखको हाराहारीमा पर्यटक पुग्ने सगरमाथा क्षेत्रमा चार हजार मिटरभन्दा बढी उचाइमा पुगेपछि धेरैलाई स्वास्थ्यमा समस्या देखिने गर्छ । यस्तो अवस्थामा त्यहाँका स्थानीय, धेरैपटक गएका भुक्तभोगी आदिको अनुभवका आधारमा उपचार तथा व्यवहार गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थामा अनलाई चिकित्सकबाट निःशुल्क सेवा पाउँदा धेरैको ज्यानको जोखिम घट्ने स्याङ्बोचेमा व्यवसाय गर्ने डिल्ली मगरले बताउनुभयो । यदि बिरामी अति जोखिममा परेको छ भने हिमालयन उद्धार सङ्घसँग सहकार्य गरी तत्काल उद्धारको व्यवस्थासमेत एभरेस्ट लिङ्क कम्पनीले नै गर्नेछ । इन्टरनेट व्यवसायसँगै सामाजिक उत्तरदायित्व पूरा गर्नका लागि सगरमाथा क्षेत्रमा अनलाइन चिकित्सकको व्यवस्था गरिएको कम्पनीको भनाइ छ । कम्पनीले सगरमाथा क्षेत्रका २१५ होटल, लज तथा अन्य व्यवसायमा सेवा दिइरहेको छ । डाटा खरिदको व्यवस्था रहेको सो इन्टरनेट विदेशीले प्रति १०० एमबी कार्डको रु २०० तिर्नुपर्छ भने स्वदेशीलाई ५० प्रतिशत छुटको व्यवस्था छ । सो क्षेत्रमा नेपाल टेलिकम तथा एनसेलको सेवा भरपर्दो नभएकाले एभरेस्ट लिङ्ककै प्रयोग बढी हुन्छ । कम्पनीले अहिले सोलुखुम्बुको अति विकट क्षेत्र महाकुलुङ गाउँपालिकामा पनि सेवा विस्तार गरिरहेको छ ।
सेलेब्रेटी प्रचण्ड : बाराका गाऊँ गाऊँमा सर्वसाधारणको भीड (भिडियाेसहित)
कलैया, भदौ २४ । भोजपुरी सिनेमा का ‘हीरो, हिरोइन’ थिएनन् त्यहाँ । तर त्यहाँ तछाडमछाड चलेको देखिन्थ्यो । मानौ कुनै चर्चित सेलेब्रेटी आइरहेका छन् । बाराका बिभिन्न गाऊँमा पुगेका छन् प्रचण्ड । दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनका क्रममा बाराका बिभिन्न गाऊँमा पुगेका प्रचण्डलाई हेर्न चाहनेहरु बाटो बाटोमा लाईन लागेका देखिन्थे । प्रचण्ड आज बिहान कलैया उप–महानगरपालिकाका बिभिन्न वडामा जनतामाझ पुगेका हुन् । प्रचण्डले जनतामाझ छोटो कुरा गरे । मधेशी जनताको सच्चा पहरेदार माओवादी भएको उनको भनाइ थियो । नेपाली भोजपुरी र हिदी भाषामा समेत कुरा गरे प्रचण्डले । प्रचण्ड बारापछि सरर्लाही र रौतहट जाने कार्यक्रम छ । भिडियाेमा https://www.facebook.com/settings?tab=videos&view https://everestdainik.com/wp-content/uploads/2017/09/video-1504941336.mp4
बडादशैंको टीकाको साइत ११ः५५ बजे
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँको साइत सार्वजनिक गरेको छ । विसं २०७४ असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र आरम्भ हुनेछ । त्यस दिन बिहान ९ बजेर ४१ मिनेटमा घटस्थापना गर्न शुभ साइत रहेको समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए । आगामी असोज ९ गते सोमबार पचली भैरव यात्रा परेको छ । असोज ११ गते बुधबार दशैँ घर वा कोठामा फूलपाती भित्र्याइन्छ । फूलपाती कुल परम्पराअनुसार भित्र्याइने भएकाले यसको साइत नदिइने समितिले जनाएको छ । फूलपातीका दिन तुलजा भवानी यात्रा बिहान ७ बजेर ३१ मिनेटमा गरिनेछ । त्यसै दिन बिहान ८ बजेर ११ मिनेटमा तुलजा भवानीलाई स्थिरासन गराउने साइत छ । असोज १२ गते बिहीबार महाअष्टमी, त्यसै दिन राति कालरात्रि पूजा हुनेछ । असोज १३ गते शुक्रबार महानवमी, असोज १४ गते शनिबार विजया दशमी परेको छ । विजया दशमीका दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने साइत शुभ रहेको छ । सोही दिन मध्यान्ह ११ बजेर ५५ मिनेटपछि साइतमा टीका लगाउनेका लागि उत्तम रहेको अध्यक्ष गौतमले बताए। ‘राज्यको नेतृत्व गर्नेका लागि साइतको आवश्यकता हुन्छ, राष्ट्रको नेतृत्व गर्नेका लागि प्रभू शक्ति, मन्त्र शक्ति र उत्साह शक्ति चाहिन्छ, यी शक्ति प्राप्तिका लागि साइतमा टीका ग्रहण गर्नुपर्छ, सर्व साधारणका लागि टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा देवीका प्रसादका रुपमा मान्यजनबाट आशीर्वादसहित टीका लगाउनु शुभ हुन्छ,’ उनले भने । विजया दशीकै दिन बिहान ७ बजेर ५५ मिनेटमा पुनः तुलजा भवानीको यात्रा गराउने साइत छ । यात्रापछि स्थिरासनको साइत बिहान ९ बजेर ५ मिनेटमा गरिनेछ । विजया दशमीकै दिन खड्गयात्रा समेत हुनेछ । असोज १८ गते बुधबार आश्विन शुक्ल चतुर्दशीका दिन सबै बलि पूर्ति गर्नुपर्छ । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैँ पर्व समापन हुन्छ । नेपाल राज्यभर दशैँ महान् पर्वका रुपमा मनाइन्छ । विदेशमा रहेका नेपालीले पनि एक आपसमा जम्मा भई दशैँ मनाउने गर्छन् । यही पर्वका अवसरमा लामो समय सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइन्छ । रासस
सुन बोक्ने गाडी
महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले सोमबार बिहान क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुन ल्याउन प्रयोग गरिएको बा १७ च ६४२७ नम्बरको टाटा सफारी गाडी । तस्बिर : नवीन पौडेल, काठमाडौ
मलेसियामा ८ नेपाली सम्पर्कविहीन
राजविराज ,भदौ १९। रोजकारीका लागि मलेसियामा रहेका ८ नेपाली बेपत्ता भएका छन् । तमिल मूलका व्यक्तिले छुरा प्रहरा गरेको घटनापछि हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाका नीरेन्द्र यादवसहित ८ नेपाली बेपत्ता भएका हुन् । नीरेन्द्रका जेठान वैद्यनाथ यादवले दिएको जानकारीअनुसार सर्लाही र सुनसरीका २–२ जना तथा महोत्तरकिा ३ जनासहित नीरेन्द्र मलेसियाको कन्तार भन्ने स्थानमा बस्दै आएका थिए । उनीहरु पेनाङस्थित जाम्बुलमा रहेको जीयूएच सर्किट इन्डिस्ट्रिज पीजी एसडीएन बीएचडीमा कार्यरत थिए । गत २९ अगस्त साँझ पौने सात बजेदेखि नीरेन्द्य्रसहित उनका साथी सम्पर्कविहीन भएको वैद्यनाथले बताए । उनीहरु बस्दै आउको कन्तारस्थित डेरा नजिकै डिस्कोमा हल्ला बढी भएपछि उनीहरु गुनासो गर्न त्यहाँ पुगेका थिए । डेरा फर्किएलगत्तै केही तमिल मूलका युवा आएर झ्याल–ढोका फोरी छुरा हानेको उनीहरुसँग बस्दै आएका नेपालीको भनाइ उद्धृत गर्दै वैद्यनाथले बताए । त्यो दिनदेखि उनीहरु बेपत्ता छन् । ‘फोनको स्विच अफ छ ।नीरेन्द्रका साथीभाइलाई फोन गर्दा कुनै अत्तोपत्तो नरहेको जानकारी दिएका छन्,’ वैद्यनाथले भने, ‘परराष्ट्र मन्त्रालयले खोजीमा सक्रियता देखाओस् ।’ –कान्तिपुरबाट
मौसमी भाइरलको सङ्क्रमण बढेपछि स्वास्थ्य शिविर सञ्चालन
जाजरकोट, भदौ १७ । मौसममा आएको परिवर्तनका कारण जाजरकोटमा मौसमी भाइरलको सङ्क्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा जिल्लाका स्वास्थ्य संस्थाहरुमा बरामीको सङ्ख्या अत्यधिक बढेको छ । जिल्लामा अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड लगायतका मौसमी रोगका बिरामीको सङ्ख्या उच्च छ । मौसमी भाइरलको सङ्क्रमण बढेपछि जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटबाट बिहीबार गएको स्वास्थ्यकर्मीसहितेको टोलीले शुक्रबार दिउँसोदेखि त्रिवेणीनलगाड नगरपालिका–५ स्थित सरस्वती प्रावि मुलीमा शिविर सञ्चालन गरी उपचार शुरु गरेको छ । शिविरमा ९० जनाको स्वास्थ्य उपचार गरिएकोमा तीमध्ये २० जना सिकिस्त बिरामी फेला परेको स्वास्थ्यचौकी लहँका अहेव हेमन्त रावलले जानकारी दिनुभयो । सिकिस्त बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा उपचार भइरहेको रावलले बताउनुभयो । आज इन्द्रधनुष प्राथमिक विद्यालय पोख्रामा थप केन्द्र विस्तार गरी उपचार कार्य शुरु गरिएको छ । बिहानैबाट शुरु भएको बिरामीको स्वास्थ्य उपचार कार्य अहिले जारी रहेको रावलले बताउनुभयो । उपचार गर्दागर्दै औषधि सकिएका कारण थप औषधि लिन लहँ स्वास्थ्य चौकीमा कार्यालय सहयोगीलाई पठाएको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयबाट थप स्वास्थ्यकर्मीको टोली गएर आज बिहानैदेखि मुलीमै उपचार कार्यमा लागेको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यसमिति सदस्य प्रशान्त शर्माले जानकारी दिनुभयो । सो शिविरमा अहिलेसम्म ६० जनाको उपचार भइसकेको डा सञ्जय थापाले बताउनुभयो । डाक्टर थापासहित चार जना स्वास्थ्यकर्मीको टोली उपचारमा खटिएको छ । अहिलेसम्म थर्ममिटर र कम्पासकै भरमा उपचार भएको छ, खकार, रगत जाँच गर्ने उपकारण नभएका कारण अनुमानकै भरमा उपचारमा जुटेको रावलले बताउनुभयो । मौसममा सुधार नआएका कारण उपचारमा समस्या उत्पन्न भएको छ भने गाउँमै उपचार गर्न पाएपछि स्थानीय खुशी भएका छन् । राससबाट बिहीबार ‘गाउँलेले उपचार नपाउँदा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको थियो ।
भ्रष्टाचारीलाई चुनावमा उठाउन कांग्रेसको जोडबल जारी, माओवादी केन्द्र अलमलमा
काठमाडौं, भदौ १७ । भ्रष्टाचार मुद्दामा दोषी ठहरिएकालाई निर्वाचनमा सहभागी गराउनुपर्ने सत्तारुढ कांग्रेसका सांसदहरूको अडानले संसद्मा विचाराधीन निर्वाचनसम्बन्धी कानुन अलपत्र परेको छ । सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेसका १९ सांसदको संशोधन प्रस्तावले प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी कानुन शुक्रबारको राज्यव्यवस्था समितिबाट टुंगो लाग्न सकेन । भ्रष्टाचारमा दोषी ठहरिएकालाई समेत सजाय कटाएको तीन वर्षपछि निर्वाचनमा उठ्न पाउनुपर्ने कांग्रेस सांसदहरूको संशोधन छ । सोही संशोधनमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच विवाद बढेपछि २६ दिनदेखि बस्न नसकेको संसद्को राज्यव्यवस्था समितिको बैठक शुक्रबार बसेको हो । बैठकमा उपस्थित कांग्रेसका कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, आनन्दप्रसाद ढुंगानालगायत संशोधनमाथि मौन बसेका छन् । डेढ घन्टा बसेको बैठकसमेत निष्कर्षमा पुग्न सकेन । त्यसपछि दुई घन्टा स्थगित भएर पुनः सुरु बैठकमा कांग्रेस नेतासमेत रहेका सभापति दिलबहादुर घर्तीले समिति बैठक १९ गते बिहान ८ बजेसम्मका लागि स्थगित गरे । बैठकमा समितिले सहमतिसहित प्रतिवेदन बुझाउने सभापति घर्तीले बताए । उनले भने, ‘शीर्ष तहमा समेत यसबारे छलफल भएको छ । सहमति जुटाएर समितिले आगामी संसद्मा विधेयक प्रस्तुत गर्नेछ ।’ कांग्रेसका कारण अड्कियो : एमाले बैठकमा एमालेका सांसदहरूले सत्तापक्षकै कारण प्रदेश तथा प्रतिनिधिसभाको घोषित निर्वाचन नहुने खतरा बढेको आरोप लगाएका छन् । उनीहरूले सरकारले नै ल्याएको विधेयकलाई सत्तापक्षकै सांसदले अड्काउनु आश्चर्यको विषय भएको बताए । एमाले सांसद गंगालाल तुलाधरले निर्वाचनमा उम्मेदवार बन्नेहरूको अयोग्यतासम्बन्धी विधेयकमा भएको व्यवस्थामा सत्तापक्षकै सांसदले संशोधन हालेर अडान लिइरहेकोमा आपत्ति जनाए । उनले भने, ‘दोषी ठहर भएका व्यक्तिलाई सजाय कटाएको ३ वर्षपछि नै उठ्न योग्य बनाउनेबारे सत्तापक्षकै सांसदले संशोधन हालेका छन् । यस्तै विवादित विषयले निर्वाचन ऐन पारित हुन सकेको छैन । यसले निर्वाचन गराउन सत्तापक्ष नै तयार नभएको महसुस भइरहेको छ । यसमा हाम्रो आपत्ति छ ।’ अर्का सांसद रामेश्वर फुँयालले कांग्रेस सांसदले राखेको संशोधन नै गतिरोधको मुख्य कारण रहेको बताए । उनले भने, ‘सत्तापक्षकै अकर्मन्यताका कारण निर्वाचन नहुने खतरा बढिरहेको छ । हामी घोषित मितिमै निर्वाचन हुनुपर्ने पक्षमा छौँ । छिटो विधेयक टुंगो लगाउनुपर्ने पक्षमा एमाले छ । स्थानीय तहको निर्वाचनसम्बन्धी कानुन र राजनीतिक दलसम्बन्धीको कानुनमा जे व्यवस्था छ त्यही व्यवस्था यो विधेयकमा आएको छ । दुईवटा कानुनलाई बेवास्ता गर्दै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दोषी ठहर भई सजाय कटाएको तीन वर्षपछि नै उठ्न पाउने प्रावधान राख्न हुन्न ।’ एमाले सांसद यज्ञराज सुनुवार, गौरीकुमारी वलीलगायतले भ्रष्टाचारमा दोषी ठहर भएकालाई तीन वर्षपछि नै उम्मेदवार बनाउने गरी आएको संशोधन प्रस्ताव आपत्तिजनक रहेको बताए । माओवादी केन्द्र अलमलमा कांग्रेसका १९ जना सांसदले राखेको संशोधन प्रस्तावप्रति सत्तारुढ माओवादी केन्द्र अलमलमा परेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा नै भ्रष्टाचारीलाई सजाय मुक्त भएको तीन वर्षलगत्तै निर्वाचनमा उठाउने पक्षमा रहेपछि सत्तारुढ माओवादी केन्द्रमा अन्योल देखिएको हो । माओवादी केन्द्रकी प्रमुख सचेतक रेखा शर्माले शुक्रबारको राज्य व्यवस्था समिति बैठकमा कांग्रेसका सांसदहरूको संशोधन प्रस्तावबारे केही बोलिनन् । माओवादी केन्द्रका अन्य सांसदले समेत यसबारे स्पष्ट धारणा राखेनन् । कांग्रेसभित्र विवाद भ्रष्टाचार ठहर भएकालाई निर्वाचनमा उठ्न दिने कि नदिने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा पक्ष आफ्ना पार्टीका सांसदले राखेको संशोधनको पक्षमा छन् । कांग्रेस नेता खुमबहादुर खड्काको दबाबले सभापति देउवा भ्रष्टाचारीलाई निर्वाचनमा उठाउने पक्षमा उभिएको स्रोतको दाबी छ । नेता रामचन्द्र पौडेल पक्षधर भने भ्रष्टाचारमा दोषी ठहर भएकालाई तीन वर्षपछि निर्वाचनमा उठाउन नहुने पक्षमा उभिएका छन् । उनीहरूले नेतृत्वलाई दबाबसमेत दिएका छन् । कांग्रेस सांसद धनराज गुरुङले भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्तिलाई निर्वाचनमा उठाउने पक्षमा पार्टी नरहेको बताए । उनले कांग्रेसका १९ सांसदले व्यक्तिविशेषको स्वार्थले संशोधन प्रस्ताव राख्दैमा त्यो पार्टीको संशोधन नहुने बताए । तर, कांग्रेसकै अर्का सांसद भरतबहादुर खड्काले जेलमा बसेर सुध्रिन सक्ने बताउँदै सजाय कटाइसकेका व्यक्तिलाई निर्वाचनमा उठ्न नपाउने प्रावधान राखेर जीवनभर सजाय दिन नहुने बताए । खड्काले भने, ‘अपराध गरेर सजाय काटेपछि मानिस सुध्रिन सक्छ । उसलाई जीवनभर भेदभाव गर्ने हो भने अर्को समस्या पैदा हुन सक्छ । उसको मनोविज्ञान बुझ्नुपर्छ भनेर हामीले संशोधन हालेका हौँ ।’ कांग्रेसका राधेश्याम अधिकारी, तारामान गुरुङ, बुद्धिराम भण्डारी, तप्तबहादुर विष्ट, सुशीला चौधरी, चम्पादेवी खड्का, विन्दादेवी आले राना, पद्मनारायण चौधरी, भरतबहादुर खड्का, पुस्कर आचार्य, मीनाक्षी झा, किरण यादव, अमृतलाल राजवंशी, तेजुलाल चौधरी, दिनेशप्रसाद परसैला यादव, सुरेन्द्रप्रसाद यादव, राजु थापा, इन्द्रबहादुर बानियाँ र नरबहादुर चन्दले भ्रष्टाचारमा दोषी ठहर भई सजाय भुक्तान गरेका व्यक्तिले विधेयकमा व्यवस्था भएको ६ वर्षपछि उठ्न पाउने भन्ने स्थानमा ३ वर्षपछि उठ्न पाउनुपर्ने राख्नुपर्ने संशोधन हालेका छन् । -नयाँ पत्रिकाबाट
सुनसरीबाट एघार फरार अभियुक्त पक्राउ
इनरुवा, भदौ १५ । जिल्ला प्रहरी कार्यालयले बुधबार एघार फरार अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र माताहतबाट खटिएको प्रहरीे टोलीले जिल्ला अदालतबाट कैद तथा जरिवाना सजाय पाई फरार रहेका कुटपिट र लुटपाट मुद्दाका तीनजना, जालसाजीका दुईजना, लेनदेनका दुईजना, गाली बेइज्जतीका एकजना, ज्यान मार्ने उद्योगका एकजना, बहुविवाहका एकजना र चोरी मुद्दाका एकजना गरी जम्मा ११ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । पक्राउ परेका सबै जनालाई आज जिल्ला अदालतमा उपस्थित गराइएको गराइएकोे छ ।
कृषि क्षेत्रमा ५६ करोडको क्षति
विराटनगर, भदौ १४ । बाढीका कारण मोरङको कृषि क्षेत्रमा करिब रु ५६ करोड बराबरको क्षति भएको छ । गत साउन २७ र २८ गतेको अविरल वर्षापछि बाढी आउँदा जिल्लाको दुई हजार ५२० हेक्टरको धानबाली पुरिँदा रु २४ करोड २० लाख ७९ हजारको क्षति भएको अनुमान गरिएको छ, भने सात हजार ९५० परिवार प्रभावित भएका छन् । तीन सय १७ हेक्टरमा रु नौ करोड १३ लाख ६८ हजार मूल्यको तरकारीबाली र ३१३ हेक्टरमा निर्माण गरिएको माछा पोखरीमा बाढी पस्दा रु १६ करोड २६ लाख ६८ हजारको माछाको माउ र भुरा क्षति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । एक सय १० हेक्टरमा रु एक करोड २७ लाख ६७ हजार मूल्यको जुटखेती, २४ हेक्टरमा रहेको केरा, कागती र मेवाखेती नष्ट हुँदा रु ७१ लाखको क्षति भएको छ । करिब दुई हजार किसानको घरमा पानी पस्दा सञ्चित गरी राखिएका रु एक करोडभन्दा बढीको ४९० मेट्रिक टन धान र गहुँ क्षति भएको छ । माउ र भुरा बाढीले बगाउँदा माछापालनमा समस्या भएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख मनोज यादवले जानकारी दिए । विराटनगरमा वर्षासँगै पाँच दिनसम्म विद्युत् सेवा अवरुद्ध हुँदा गणेश कोल्डस्टोरमा राखिएको एक हजार मेट्रिक टन आलुमा टुसा पलाएको र मेसिनमा समेत क्षति पुग्दा रु ५० लाख बराबरको नोक्सान भएको बताइएको छ । रासस
तामाकोसीको सेयर पाउनेहरु काे काे ?
दोलखा ,भदौ १० । मुलुककै बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखाबासीका लागि छुट्याएको १० प्रतिशत सेयरका लागि आगामी पुस महिनाबाट आवेदन सुरु गर्ने भएको छ । जिल्ला समन्वय समिति दोलखाको समन्वयमा सरोकारवाला निकायबीच भएको छलफलपछि आगामी पुसभित्र सेयर आवेदन सुरु गर्ने सहमति भएको हो । दोलखाबासीलाई न्यूनतम ३० कित्ता र अधिकतम ३ सय कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने निर्णय गरिउको समन्वय समितिका प्रमुख डबल पाण्डेले जानकारी दिए । आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित दोलखाबासीलाई १० प्रतिशतले हुन आउने १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको सेयर दिने तामाकोसी आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जनाकारी गराए । दोलखाबासीलाई सेयर निष्कासनपछि साधारण सेयर (आईपीओ) निष्कासन गर्नेसमेत उनले जानकारी दिए । सर्वसाधारणलाई १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँबराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन हुने सो आयोजनाले जनाएको छ ।,राजधानी दैनिकबाट
भाइको हत्या गरि दाजुले गरे आत्मसर्पण
काठमाडौं, भदौ ९ । बुधबार दिउँसो ३ बजे ४६ वर्षीय गौतम मानन्धर झोँछेस्थित आफ्नो घरको चौथो तलामा सुतिरहेका थिए। गौतमका दाजु राजु रन्थनिँदैं भाइको कोठाभित्र छिरे। अनि, निदाइरहेका गौतमको टाउकोमा हम्मरले अन्धाधुन्द प्रहार गरे। भाइ मरेको निश्चित भएपछि कोठा बन्द गरी आफू पनि मर्न निस्किए। पोखरामा गएर मर्ने योजना बनाएका थिए। तर, त्यसपछि आफू कता गइरहेको छु भन्ने समेत मेसो पाएनन्। घुम्दाघुम्दै एयरपोर्ट पुगेपछि मात्र थाहा पाए, उनी काठमाडौंमै रहेछन्। यसपछि उनको मुड फेरियो र प्रहरीसँग आत्मसमर्पण गर्ने निधो गरे। आफ्नै भाइको हत्या अभियोगमा बुधबार राति १० बजे पक्राउ परेका ५१ वर्षीय राजुले दिएको प्रारम्भिक बयानका आधारमा जनसेवा प्रहरी वृतका डीएसपी सन्तोष आचार्यले घटनाको वेलिविस्तार यसरी लगाए। एयरपोर्टमा आइपुगेपछि राजीवले झोंछेकै एक स्थानीयलाई फोन गरी ‘जसरी पनि भेट्नु छ’ भन्दै बोलाएका थिए। राजीवले ती स्थानियलाई भेटेर घटनाबारे जानकारी गराए। ती स्थानीयले आत्तिँदैं विशाल बजारस्थित जनसेवा वृतलाई खबर गरे। जतिबेला राजु सोही क्षेत्रमा पुगिसकेका थिए। ‘भाइको हत्यापछि उनी विक्षिप्त अवस्थामा पुगेछन्’, जनसेवा वृतका डीएसपी आचार्यले भने। गौतम अविवाहित हुन्। उनी आमा र दाजु भाउजूसँगैं बस्दै आएका थिए। परिवारका दुई सन्तानमध्ये गौतम कान्छा हुन्। प्रहरीका अनुसार गौतमले परिवारलाई लामो समयदेखी ‘टर्चर’ दिँदै आएका थिए। ‘सम्पत्तिको विवाद भन्दा पनि दाजुका हरेक काममा असन्तुष्टी राख्ने, किचकिच गर्ने , दाजु भाउजू र आमालाई धम्काउने गर्दा रहेछन्। आफूले भनेजस्तो हुनुपर्ने उनको माग हुँदो रहेछ’ , डीएसपी आचार्यले भने। आठ, दश वर्षयता दाजुभाइको सम्बन्ध नराम्रो भए पनि बुधबारको घटना हुनु केही घन्टा अघि भने सम्पत्तिकै विवाद देखिएको थियो। प्रहरीका अनुसार, गौतमले जग्गा किन्न भन्दै एक जनासँग आठ लाख रुपैयाँ लिएका थिए, जुन राजीवलाई थाहा थिएन। तर पैसा दिने मान्छे पैसा माग्दै राजीवसँग आएपछि भाइप्रती थप रुष्ट बनेका थिए। डीएसपी आचार्यले भने, ‘घटनाको थप अनुसन्धान भइरहेको छ। त्यसैले थप कुराहरु खुल्दै जालान्।’ राजुले आफ्नै घरमा कफी सप र किराना पसल सञ्चालन गर्दै आएका थिए। यता गौतमको ज्ञानेश्वरमा एक्युरियम पसल थियो। राति १० बजेमात्र घटना बाहिर गौतम लागु औषध दुव्र्यसनी थिए। उनी प्राय दिउँसो १२-१ बजेमात्र उठ्थे र दुई बजेतिर पसलतिर जाँन्थे। उनी सुत्ने कोठामा समेत हतपती कोही छिर्दैन थियो। उनको कुनै ठेगान नहुने भएकाले परिवारले उनी सुत्ने कोठाबाहिर रहेको टेबलमा बिहान बेलुकाको खाना लगेर राखिदिन्थ्यो। त्यसैले गौतम के गर्छन्, कता जान्छन्, परिवारले वास्ता गर्दैन थियो। प्रहरी बुधबार राति १० बजे घरमा पुगेपछि मात्र राजुको परिवारका अन्य सदस्यले गौतमको हत्या भएको चाल पाएका थिए। प्रहरी राजुको घरमा पुग्दा परिवारका अन्य सदस्य मस्त सुतिरहेका थिए। अन्नपुर्ण पाेष्टमा खबर छ ।