‘मिटर ब्याज’को अवैधधन्दाले सामाजिक र आर्थिक अपराधको जोखिम बढायो
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘मिटर ब्याज’को अवैधधन्दा मौलाउँदै गएको छ । छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढाएको छ ।
गैरकानूनी मानिएको मिटर ब्याजमा गरिएको ठूलो लगानी अशुल हुन नसकेपछि लगानीकर्ताको भागाभाग भएको छ । मिटर ब्याजमा भएको लगानीका कारण बेनीमा केहीको घर र जग्गा नै सखाप भएको छ । मासिक चर्को ब्याज रकम रहेको यो प्रथाबाट लगानी उठ्न नसकेपछि कतिपय घर छोडेर सम्पर्कविहीन भएका छन् । एकै जनाले रु एक करोडदेखि चार करोडसम्म डुबाएर भागेको पीडितले बताएका छन् । “मिटर ब्याजको धन्दाले आफन्तजन, साथीभाइ, परिवारमा विलाप निम्त्याएको छ,” पीडित निरु खत्रीले भन्नुभयो – “भएको घरजग्गा सखाप मात्र भएको छैन कतिको परिवार नै विखण्डनको अवस्था पुगेको छ।”
कारोबारमा ठगिएका र ठगी गर्ने दुवै पक्ष जनप्रतिनिधि, सामुदायिक प्रहरी र प्रहरीमा धाउने क्रम बढेको छ । दैनिक एकदुई जना मानिस आर्थिक कारोबारसँग सम्बन्धित गुनासो लिएर आउने गरेको सामुदायिक प्रहरी शाखा बेनीका अध्यक्ष श्यामलाल न्यौपानेले बताउनुभयो । “सापटी लगेको पैसा फिर्ता भएन, छलफल गराई दिनुप¥यो भनेर रुँदै आउँछन्,” न्यौपानेले भन्नुभयो, “छलफल गर्दै जाँदा मिटर ब्याजमा जोडिन्छ । लेनदेनको मुद्दामा हामीले केही गर्न नमिल्ने भएकाले अदालत जान सुझाउँछौँ ।”
मिटर ब्याजको कारोबारमा यहाँ तीन वटा समूहको संलग्नता देखिएको छ । पहिलो समूहले बढी ब्याजको लोभमा आफूसँग भएको पैसा दोस्रो समूहमा पर्ने मध्यस्थकर्ताको काम गर्नेलाई दिन्छन् । दोस्रो पक्षले पहिलो पक्षबाट लिएको भन्दा बढी ब्याजदरमा तेस्रो पक्षलाई ऋण दिन्छन् । मध्यस्थकर्ताको भूमिका खेल्ने व्यक्ति सीमित छन् । पहिलो पक्ष लगानी डुबेर र तेस्रो पक्ष बढी ब्याजदरको ऋण लिँदा ठगिएर पीडित भएका छन् । मासिक दुईदेखि पाँच प्रतिशत ब्याजदरमा सापटीका रुपमा पहिलो पक्षबाट ऋण लिने मध्यस्थकर्ताको भूमिका खेल्नेले तेस्रो व्यक्तिलाई ऋण दिँदा अग्रिम बीस प्रतिशत रकम कटौती गरिदिने र हरेक महिना पूरै साँवा रकमको दशदेखि २३ प्रतिशतसम्म ब्याज अशुली गर्ने गर्छन् ।
बैंक, वित्तीय संस्था र सहकारी संस्थाले भन्दा बढी ब्याज दिने तथा पाउने प्रलोभनमा विशेष गरेर पैसा भएका तर आर्थिक कारोबारसम्बन्धी ज्ञान नभएका मानिस पर्ने गरेका छन् । सामान्य मजदूरदेखि बजारका सम्पन्न व्यक्ति यस्तो कारोबारमा संलग्न छन् । विदेशबाट आएको विप्रेषण, ढुकुटी बुझेर, बैंकमा घरजग्गा धितो राखेर मिटर ब्याजमा लगाउने भेटिएका अध्यक्ष न्यौपानेले बताउनुभयो । यस्तो अवैध कारोबारको नेतृत्व गर्ने र ठगिनेमा पुरुषभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा जाने, जुवातास खेल्ने, जडीबुटी व्यापारी र घरजग्गा कारोबारी व्यापारीले मिटर ब्याजको ऋण लिने गरेको पाइएको छ । मासिक रुपमा ब्याज र भनेको समयमा ऋण तिर्न नसकेपछि विवाद बढेर ठगीको मुद्दाका रुपमा प्रहरी तथा अदालत पुग्ने गरेका छन् ।
सहमतिमा ऋण लेनदेन गरेर समयमै फिर्ता नभएपछि ठगी ग¥यो भनेर गुनासो गर्न आउने गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । “ठगीको मुद्दाका रुपमा प्रहरीमा आउँछन्, बुझ्दै जाँदा मिटर ब्याजमा लगानी भएको देखिन्छ,” गुरुङले भन्नुभयो । लेनदेनको मुद्दा हेर्ने अधिकार अदालतलाई मात्र छ । स्थानीय तह र प्रहरीले लेनदेनको मुद्दा आएमा अदालत जान सुझाउने गरेका छन् । चेक र रेमिटमार्फत कारोबार गर्नेले त्यसैलाई आधार बनाएर मुद्दा हाल्ने गरेका छन् ।
जिल्ला अदालत म्याग्दीमा आव २०७३७४ मा ४२ वटा लेनदेनसम्बन्धी मुद्दा परेकामा २८ वटाको फैसला भएको थियो भने १४ वटाको यो वर्षका लागि जिम्मेवारी सरेको थियो । चालु आवको साउनदेखि हालसम्म लेनदेन सम्बन्धी २२ वटा मुद्दा दर्ता भएकामा एउटा मात्र फैसला भएको अदालतले जनाएको छ । सदरमुकाम बेनीबजारभित्र मिटर ब्याजको धन्दा चलाउने सक्रिय रहेको र यसबाट धेरै महिला पीडित भएको बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले बताउनुभयो । “तमसुक, भरपाई बिनै लाखौँको लेनदेन गरेका छन्,” उपप्रमुख बरुवालले भन्नुभयो, “आधार प्रमाण नहुँदा पीडित कानूनी प्रक्रियामा जान सकेका छैनन् ।”
नगरपालिकाले प्रहरी, वडा कार्यालय, आमा समूह र टोल सुधार समितिमार्फत बैंकिङ शिक्षासम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उपप्रमुख बरुवालले जानकारी दिनुभयो । मिटर ब्याजको अवैध धन्दाले आपसी विश्वासका आधारमा परम्परागत रुपमा गरिँदै आएको ढुकुटी पनि संकटमा परेको छ । मानिस बढी ब्याज पाउने लोभमा मिटर ब्याजमा लगानी गर्दा बैंक, वित्तीय र सहकारी संस्थाको निक्षेप संकलनलाई असर पर्ने गरेको छ ।
यसैगरी, कर्जा लिएर मिटर ब्याजमा लगाउनेले समयमै ब्याज र किस्ता तिर्न नसक्दा पनि बैंकिङ क्षेत्रको कारोबारलाई असर पुगेको छ । मिटर ब्याजमा लगानी गरेको पैसा फिर्ता नआएपछि श्रीमान्–श्रीमतीबीच विवाद भई उत्पन्न पारिवारिक विवादले सम्बन्ध विच्छेदसम्मको रुप लिएको देखिएको छ । परिवारमा एउटाले गरेको लगानी फसेपछि ऋण तिर्न र मुद्दाबाट जोगिनका लागि व्यवहारमा सँगै बसे पनि कानूनी हिसाबले सम्बन्ध विच्छेद गर्नेहरु पनि भेटिएका छन् । रासस
अब साझा बस अस्पतालदेखि अस्पतालसम्म
काठमाडौं । साझा यातायातले भोलि बुधबारबाट ‘सेमी लो फ्लोर’ बस सञ्चालनमा ल्याउने भएको छ । युरो ४ मापदण्डको वातावरणमैत्री र कम उचाइका यात्रु पनि सजिलै चढ्नसक्ने उक्त बस नेपालमै पहिलो पटक साझा यातायातले सञ्चालन गर्ने भएको हो । शारीरिक अपाङ्गता भएका, कम उचाइ भएका र जेष्ठ नागरिकको सहज बस यात्राका लागि यस्तो प्रकारको बस उपयोगी र सजिलो हुने साझा यातायातले बताएको छ । “शारीरिक अपाङ्गता भएका, फरक क्षमता भएका, कम उचाइ भएका, अशक्त र जेष्ठ नागरिकलाई सहज रुपमा यात्रा गर्न विशेष गरी यस्तो प्रकारको बस उपयोगी र सजिलो हुन्छ,” साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले भने । बिरामीहरूलाई एक अस्पतालबाट अर्को अस्पतालसम्म पुर्याउन यातायात व्यवस्था कार्यालयबाट सोहीअनुसारको रुट स्वीकृति लिएर बस सञ्चालन गरिएको उनले बताए । बिरामीहरूलाई मध्यनजर गर्दै लगनखेलको पाटन अस्तपाल, जाउलाखेल, कुपण्डोल, त्रिपुरेश्वर आँखा अस्पताल, वीर अस्पताल, जमल, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज कान्ति बाल र शिक्षण अस्पताल हुँदै बाँसबारी गङ्गालाल अस्पताल रुटमा बस सञ्चालन हुने पाण्डेयले बताए । चालकसहित ४१ सिट क्षमता रहेको यस ‘सेमी लो फ्लोर’ बसमा दुई सिटको बीचमा रहेको प्यासेजको क्षेत्रफल फराकिलो भएकाले अपाङ्गता भएका यात्रुका लागि ह्विलचियरसमेत बसभित्र नै अटाउने सुविधा रहेको छ । सरकारले तोकेको यात्रा शुल्कबराबरको टिकट दिइने, सिसिटिभिको व्यवस्था रहेको र २० यात्रु उभिन सक्ने यस बसले १ पटकमा ८० भन्दा बढी यात्रु ओसार्न सक्ने क्षमता रहेको साझा यातायातले जानाएको छ । ललितपुर पुल्चोकस्थित साझा यातायातको कार्यालयमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भोलि नै यस बसको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको पाण्डेयले जानकारी दिए । बाह्खरीबाट
सांसदहरुका लागि यस्ता छन् नियम, अमर्यादित व्यवहार गरे १५ दिन निलम्बन
काठमाडौं, फागुन २२ । संसद् बैठकभित्र अभद्र, अशिष्ट र अमर्यादित व्यवहार गर्ने सांसद १५ दिनसम्म निलम्बनमा पर्न सक्ने भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा पहिलो बैठकबाट पारित ‘प्रतिनिधिसभा अन्तरिम कार्यविधि २०७४’ अनुसार सांसदलाई बैठकस्थलमा मोबाइल चलाउन बन्देज लगाउनेलगायत दर्जनौं नियमले बाँधेर मर्यादित बनाइने भएको छ । अन्तरिम कार्यविधि सर्वसम्मत रुपमा पारित भएको छ । कार्यविधिअनुसार सभामुखको आसनको अवहेलना गर्ने वा सभाको कार्यमा जानीजानी बाधा पुर्याउने, अभद्र व्यवहार गर्ने वा संविधान वा कार्यविधिको जानीजानी उल्लंघन वा अवहेलना गर्ने सदस्यको नाम सभामुखले सुरुमा सुनाउनेछन् । ‘नाम तोकिएको सदस्यलाई बैठकबाट निलम्बन गरियोस् भनी कुनै सदस्यद्वारा प्रस्ताव पेस भएमा सो प्रस्ताव सभामुखले निर्णयार्थ तुरुन्त बैठकमा प्रस्तुत गर्नेछन्, प्रस्तावउपर कुनै संशोधन वा स्थगन प्रस्ताव ल्याई छलफल गर्न पाइनेछैन,’ कार्यविधिमा भनिएको छ, ‘प्रस्ताव पारित भएमा त्यस्तो सदस्य निलम्बन भएको मानिनेछ र त्यसरी निलम्बित सदस्य त्यसपछिको १५ दिनसम्म सभा र समितिको बैठकमा उपस्थित हुन पाउनेछैन ।’ निलम्बन भएको सदस्य तुरुन्त बैठकस्थलबाट बाहिर जानु अनिवार्य गरिएको छ । अन्तरिम कार्यविधिमा सभामुखको आसनतर्फ पिठ्युँ फर्काएर बस्न नहुने, कुनै सदस्यले बोलिरहेको समयमा बाधा पुग्ने वा बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने कुनै काम गर्न नहुने उल्लेख छ । ‘बैठकको कार्यसँग प्रत्यक्षरुपले सम्बन्धित विषयबाहेक अन्य विषयको पुस्तक, समाचारपत्र वा अन्य कागजपत्र पढ्न नहुने र बैठक कक्षमा मोबाइल फोन तथा अन्य कुनै विद्युतीय उपकरण प्रयोग गर्न नहुने’ व्यवस्था कार्यविधिमा गरिएको छ । प्रस्तावको अवस्थामा बाहेक सभामुखको आचरणबारेमा प्रश्न उठाउन नपाउने, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा वाधा पार्ने मनसायले दुरुपयोग गर्न नहुनेतर्फ कार्यविधिले सचेत बनाएको छ । ‘अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द र सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुनेगरी बोल्न नहुने’ भन्दै नियमले बाँधेको छ । –नागरिक दैनिकबाट
गल्छी–स्याफ्रुबेंसी सड्क बन्द नहुने
नुवाकोट, फागुन १७ । सडक विस्तारका कारण दैनिक छ घण्टा बन्द हुँदै आएको गल्छी–स्याफ्रुबेंसी सडकखण्डमा ११ दिन सवारी साधन आवतजावत गर्न बन्द नहुने भएको छ । नुवाकोट र धादिङ दुवै जिल्लामा बुधबारदेखि शुरु भएको महोत्सवलाई लक्ष्य गर्दै उक्त सडकखण्ड महोत्सव अवधिभर सञ्चालन हुने योजनाले पक्षले जनाएको छ । महोत्सवमा आउनेहरुलाई सहज आवतजावत गर्न यही फागुन १६ गतेदेखि २६ गतेसम्म यातायात बन्द नगर्ने सहमति भएको छ । सडक स्तरोन्ततिका लागि यही फागुन १ गतेदेखि प्रत्येक दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म यातायात सञ्चालनमा लगाइएकामा हाललाई खुला भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँंवरले जानकारी दिनुभयोे । विसं २०७३ कात्तिक २२ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार राष्ट्रिय गौरवका रुपमा शुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम छ महिना थपसहित गरी २७ महिना ९२०७५ फागुन ५० मा सम्पन्न गर्नुपर्ने सम्झौता छ । उक्त सडकको कार्यप्रगति गत माघ मसान्तसम्म आर्थिकतर्फ २१।३ र प्राविधिकतर्फ १४।३५ प्रतिशत भएको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिनुभयो ।
मुस्ताङको भ्रमण गर्ने पर्यटकको संख्या बढ्यो
मुस्ताङ, माघ २५ । हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङको भ्रमण गर्ने बाह्य पर्यटकको संख्या वृद्धि भएको छ । सन् २०१७ मा १३ हजार ४ सय ५८ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण क्षेत्र कार्यालय जोमसोमले जनाएको छ । यो संख्या सन् २०१६ को तुलनामा ३४ प्रतिशतले बढी भएको कार्यालयले जनाएको छ । सन् २०१६ मा भारतीय र तेस्रो मुलुकका गरी कूल ३९ हजार १७ जनाले मुस्ताङ भ्रमण गरेका थिए भने सन् २०१७ मा ५२ हजार ४ सय ७५ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । ती मध्ये २४ हजार ९ सय ७० जना भारतीय र २७ हजार ५ सय ५ जना तेस्रो मुलुकका पर्यटक भएको बताइएको छ । ४ हजार १ सय १७ जना विदेशी पर्यटक त माथिल्लो मुस्ताङसम्मै पुगेको कार्यालयले जनाएको छ । मुस्ताङ पुग्नेमध्ये ९० प्रतिशत पर्यटक मुक्तिनाथ मन्दिरसम्म पुग्ने गरेका छन् ।
प्राविधिक शिक्षाप्रति अाकर्षण: विद्यार्थीहरुको संख्या ह्वात्तै बढ्यो
खोटाङ । जिल्लाका विद्यार्थी प्राविधिक शिक्षाप्रति आकर्षित हुन थालेका छन् । प्राविधिक शिक्षा हासिल गरेलगत्तै आफ्नो शैक्षिक योग्यताका आधारमा सरकारी तथा गैरसरकारी कार्यालयमा रोजगारी पाउने भएपछि पछिल्लो समय जिल्लामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ह्वात्तै बढेको हो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो दुई वर्षको अवधिमा दुईवटा प्राविधिक शिक्षा अध्ययन हुने शिक्षालय सञ्चालनमा आएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेल प्राविधिक शिक्षालयमा विभिन्न विषय र पञ्च माविमा बाली विज्ञान विषयको पढाइ हुने गरेको छ । स्थापना भएको दुई वर्षमै ६५ जनाले सरकारी जागिरमा नाम निकालेपछि दिक्तेल प्राविधिक शिक्षालयमा अहिले २०० विद्यार्थी अध्ययनरत छन् । सबओभरसियर, वन प्राविधिक, कृषि तथा पशु प्राविधिक, ब्युटिसियन, मोबाइल मर्मत लगायतमा पढाइ हुने शिक्षालयले सिटिइभिटीको मान्यता प्राप्त गरेको छ । विसं २०७२ बाट सञ्चालनमा आएको दिक्तेल प्राविधिक शिक्षालयमा अध्ययन गरेर लोक सेवा आयोगको परीक्षा दिएकामध्ये ५१ वन प्राविधिक र १४ जनाले सबओभरसियरमा नाम निकालेर सरकारी जागिरे भएका छन् । प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले सरकारी सेवामा धमाधम नाम निकालेपछि अहिले स्नातकोत्तर गरेर बसेका व्यक्ति पनि प्राविधिक शिक्षा अध्ययन गर्न थालेका छन् । प्राविधिक शिक्षाप्रति विद्यार्थीको आकर्षण बढ्दै गएपछि पछिल्लो समय विद्यार्थीको चाप धान्न गाह्रो भएको दिक्तेल प्राविधिक शिक्षालयका प्रमुख सीताराम राईले बताउनुभयो । “यस शिक्षालयमा अध्ययन गर्ने विद्यार्थी कोही पनि बेरोजगार बसेका छैनन्,” उहाँले भन्नुभयो, “अध्ययन पूरा गरेलगत्तै खाली बस्नु नपर्ने भएपछि माथिल्लो योग्यता भएका विद्यार्थी पनि प्राविधिक शिक्षा लिन आउने गरेका छन् ।” आव २०७३÷७४ मा शिक्षा मन्त्रालय शिक्षा विभागबाट बाली विज्ञान विषयमा कक्षा १२ सम्म पढाउने अनुमति पाएको पञ्च माविमा अहिले करिब २५० जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ९ र १० सम्म बाली विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले २०७३ साल असोज ६ गतेको मन्त्रिस्तरीय निर्णयअनुसार बाली विज्ञान विषयमा उच्च मावि सञ्चालन गर्ने स्वीकृति पाएको हो ।
कांग्रेस र मधेसी गठबन्धनको कुरा मिल्यो, यस्तो छ सिट बाँडफाँट
काठमाडौं, माघ १० । राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस र मधेस केन्द्रित दुई दलबीच तालेमल गर्ने सहमति भएको छ । वाम गठबन्धनसँग सहमति नभएपछि मधेसी गठबन्धनका नेताहरु कांग्रेससँग वार्ता गर्न बालुवाटार पुगेका थिए, जहाँ राष्ट्रियसभामा तालमेल गर्ने सहमति भएको छ । प्रदेश २ का ८ सिट मध्ये तीन दलले २/२ सिट लिनेछन् । प्रदेश २ को मत हेर्दा कांग्रेस र मधेसी दलहरु मिल्दा पनि वाम गठबन्धनलाई कुनै घाटा छैन । तीन दल एक ठाउँमा उभिँदा पनि एमाले र माओवादीले एकएक सिट जित्नेछन् । तर, मधेसी दलहरुको समर्थनले कांग्रेसलाई अन्य प्रदेशमा केही सिटमा सहयोग पुग्नसक्छ । राजपा नेता मनिष सुमनले प्रदेश २ मा तालमेल गर्ने सहमति भएको स्वीकार गरे ।
यसकारण रोज्दैछन् उच्च अधिकृत नै स्वैच्छिक अवकाश
काठमाडौं, माघ १०। समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन् । २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वैच्छिक अवकाशमा जान इच्छुक देखिएका हुन् । त्यसमध्ये करिब १० सहसचिवले निवेदन दिइसकेको स्रोतले जनाएको छ । सरकारले स्वैच्छिक अवकाशमा कार्यालय सहयोगी, ड्राइभर, नायब सुब्बा, खरदार, अधिकृत तहका कर्मचारी बढी आकर्षित हुने अनुमान गरेको थियो । यो खबर आजको नयाँ पत्रिकाबाट लिएका हौं । सिडिओहरू पनि अवकाश रोज्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकासमेत स्वेच्छिक अवकाशमा जाने भएका छन् । नियमित बढुवाबाट भर्खरै सहसचिव भएका, सचिव बन्ने सम्भावना नभएका र ५५ वर्षभन्दा माथि उमेर भएका सहसचिव अवकाशको पक्षमा हुन् । अनिवार्य अवकाशको नजिक रहेका कर्मचारी उत्साहित सरकारले घोषणा गरेको स्वैच्छिक अवकाशमा एक वर्षभित्र अनिवार्य अवकाशमा जान लागेका कर्मचारी धेरै उत्साहित छन् । सबै तहका त्यस्ता कर्मचारीले निवेदन दिन थालेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । जसमा सचिवहरूसमेत पर्छन् । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले सबै कार्यालयमा निवेदन दिने क्रम चलिरहेको बताए । तर, अहिलेसम्म कतिजनाले निवेदन दिए भन्ने विवरण भने नखुलेको उनको भनाइ छ । प्रवक्ता न्यौपानेका अनुसार मन्त्रालयले अब हरेक कार्यालय प्रमुखसँग सम्पर्क गरेर १५ दिनमा निवेदन दिनेको विवरण संकलन गर्ने तयारी गरेको छ । सचिवहरूकै निवेदन दर्ता संस्द सचिवालयबाट १४ कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन् । त्यसमध्ये दुई सचिव र एक उपसचिवसमेत छन् । सचिवद्वय वीरेन्द्रबहादुर कार्की र हिमलाल सुवेदी स्वैच्छिक अवकाशमा जान लागेका हुन् । सचिव सुवेदी आगामी असोजमा ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन् । कार्की भने एक वर्षअघि मात्र सचिव बढुवा भएका थिए । यस्तै, सहसचिव रघुनाथ शर्माले पनि अवकाशका लागि निवेदन दिने बताएका छन् । उनी पनि आगामी जेठमा उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका सहसचिव रघुनाथ शर्मा र भर्खरै मात्र बढुवा भएका सहसचिव वंशीराज शर्मा पनि अवकाशमा जाने तयारीमा छन् । संसद् सचिवालयका अनुसार अहिलेसम्म स्वैच्छिक अवकाशको निवेदन दिनेमध्ये प्राविधिक अधिकृत चारजना, दुईजना सचिव, एकजना उपसचिव, कार्यालय सहयोगी र चालक छन् । यसकारण रोजिँदै छ स्वैच्छिक अवकाश स्थानीय विकास, भौतिक पूर्वाधार, सडक विभाग, सिँचाइ मन्त्रालयका प्राविधिक समूहतर्फका उपसचिव र सहसचिव तहका कर्मचारी समायोजनतर्फ बढी आकर्षित भएका छन् । अहिले अवकाशमा जाँदा सात वर्षको एकमुष्ट पेन्सन सुविधा पाउने र सेवाबाट बाहिरिएपछि विभिन्न आयोजना तथा परियोजनामा काम गर्न पाइने भएका कारण उनीहरू अवकाशप्रति आकर्षित भएका हुन् । सामान्य प्रशासन मन्त्रालयका अनुसार स्वैच्छिक अवकाशमा जान करिब २२ हजार कर्मचारी योग्य छन् ।
अब यस्तो हुनेछ प्रधानमन्त्री कार्यालय
काठमाडौं, माघ १० । संघीय नेपालको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारको संरचनामाथि लामो समयदेखि छलफल जारी छ । तर, यी तीनै तहबीच समन्वय गर्दै संघीय सरकारकै नेतृत्व गर्ने कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको कार्यालय कस्तो बन्दै छ ? प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एक महिना लामो छलफलपछि संघीय नेपालको प्रधानमन्त्री कार्यालयको संरचनाको प्रारम्भिक खाका तयार पारेको छ । ‘संघीयतामा विभिन्न तहले आफ्नो अधिकार प्रयोग गरेका हुन्छन् तर त्यसको जवाफदेहिता पनि प्रधानमन्त्रीले नै लिनुपर्ने भएकाले त्यसैअनुरूपको सशक्त संरचनाका लागि गृहकार्य भएको हो,’ एक उच्च अधिकारीले भने, ‘त्यो जिम्मेवारी अहिलेको प्रधानमन्त्री कार्यालयबाट क्षमता र जनशक्ति दुवै हिसाबले सम्भव छैन ।’ प्रस्तावित खाकाअनुसार प्रधानमन्त्री कार्यालयअन्तर्गत कम्तीमा एक जना मन्त्री रहनेछन्, जसले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार र कर्मचारी प्रशासनबीच समन्वयको भूमिका खेल्नेछ । अन्तरप्रदेश समन्वय गर्न संविधानले नै एउटा समन्वय समितिको परिकल्पना गरेको हुँदा उक्त समितिको सचिवालय पनि प्रधानमन्त्री कार्यालयमै रहनेछ । सदाचार र भ्रष्टाचार हेर्न एउटा बेग्लै इकाई रहनेछ । हालको प्रधानमन्त्री कार्यालयमा रहेको प्रशासन सुधार महाशाखाअन्तर्गत रहेको सुशासन इकाई प्रभावकारी नभएको भन्दै सदाचार र भ्रष्टाचार अनुगमनका लागि बेग्लै इकाईको प्रस्ताव गरिएको स्रोतले बतायो । प्रधानमन्त्री कार्यालय मातहत ठूला र महत्वपूर्ण आयोजना तथा कार्यक्रमको अनुगमनका लागि एउटा छुट्टै इकाई रहनेछ । मलेसियाको इम्प्लिमेन्टेसन कोअर्डिनेसन युनिट र भारतमा प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको प्रोजेक्ट मनिटरिङ युनिट (पीएमयू) कै स्वरूपमा त्यस्तो इकाई राख्ने गृहकार्य भइरहेको स्रोतको दाबी छ । जसबाट विशेष गरी राष्ट्रिय गौरवलगायत ठूला परियोजना अनुगमन प्रभावकारी हुने अनुमान गरिएको छ । त्यसबाहेक परराष्ट्र मामिला हेर्न परराष्ट्र इकाई पनि रहनेछ । प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय सुरक्षा मामिलाका सम्बन्धमा सल्लाह र सुझाव दिन बेग्लै सुरक्षा इकाई पनि रहनेछ । त्यसको नेतृत्व सुरक्षा सल्लाहकारले गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्रीलाई सीधै ‘रिपोर्टिङ’ गर्ने गरी गुप्तचर इकाईको पनि प्रस्ताव गरिएको छ । नयाँ संरचनामा कर्मचारी प्रशासन हेर्न एउटा बेग्लै विभाग रहनेछ । मन्त्रिपरिषदको कामकारबाही र प्रशासनिक काम हेर्न मन्त्रिपरिषद् सचिवालय र प्रधानमन्त्रीको राजनीतिक भेटघाटदेखि सल्लाह–सुझाव सबैमा सहयोग पुर्याउन राजनीतिक सल्लाहकारसहितको निजी सचिवालयलाई दह्रो बनाउनसमेत प्रस्ताव गरिएको छ । यसका लागि प्रधानमन्त्री कार्यकारी प्रमुख भएका क्यानडा, अस्ट्रेलिया, मलेसिया र भारतको शासन पद्धतिलाई आधार बनाइएको ती अधिकारीले जानकारी दिए । ती मुलुकमा प्रधानमन्त्री कार्यालयमा रहने कर्मचारीलाई तुलनात्मक हिसाबले सक्षम मानिन्छन् । कतिपय मुलुकमा कुनै विशेष क्षेत्रमा विज्ञता हासिल गरेका कर्मचारीलाई अवकाशपछि पनि नियुक्ति दिएर राख्ने गरिन्छ । त्यसरी नियुक्त हुने सल्लाहकारलाई कानुनी रूपमै उत्तरदायी बनाउन आवश्यक कानुन निर्माण गर्न पनि प्रस्ताव गरिएको छ । –कान्तिपुर दैनिकबाट
सरकारलार्इ चुनाैति दिदै आन्दोलनकारीले घोषणा गरे धनकुटालार्इ प्रादेशिक राजधानी
काठमाडौं, पुस २३ । धनकुटामा प्रदेश राजधानीको माग गर्दै आन्दोलन गरिरहेका आन्दोलनकारीले आइतबार जिल्लामा रहेका सरकारी कार्यालयमा प्रदेशिक सरकारका विभिन्न मन्त्रालयका साइनबोर्ड राखेको छन् । विगत पाँच दिनदेखि प्रदर्शनमा उत्रिएका जिल्लाबासीले क्षेत्रीय र जिल्लास्तरीय सरकारी कार्यालयमा विभिन्न मन्त्रालयको साईनबोर्ड राख्दै सांकेतिक रुपमा राजधानी कायम गरिएको घोषणा गरेका हुन् । सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका जिल्लाबासीले धनकुटा बजारका विभिन्न भागमा नारा जुलुश गर्दै सरकारी कार्यालयमा विभिन्न ११ मन्त्रालयको साईनबोर्ड टॉगेका हुन । यस क्रममा क्षेत्रीय प्रशासन कार्यालयलाई प्रदेश प्रमुखको कार्यालय, सामुदायिक भवनलाई प्रदेशसभा भवन, आवास तथा सहरी विकास डिभिजनमा प्रदेशसभा सचिवालय, सरकारी वकिलको नवनिर्मित भवनमा स्वास्थ्य शिक्षा तथा सामाजिक विकास, प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, मालपोतमा कृषि भुमि व्यवस्थापन सहकारी र पशु मन्त्रालय, जिल्ला समन्वय समितिको आवास भवनमा पुर्वाधार विकास मन्त्रालय तथा प्राविधिक कार्यालयमा उद्योग मन्त्रालय, सिंचाई डिभिजनमा सिंचाई मन्त्रालयको साईनबोर्ड राखिएका छन् । प्रतिनिधिसभा सदस्य राजेन्द्र राई तथा प्रदेशसभा सदस्य निरन राईको नेतृत्वमा रहेको समूहले जिल्लालाई स्वस्घोषित राजधानी घोषणा गरेका हुन् । राणाकालिन गौडादेखि पूर्वाञ्चल विकास क्षेत्रको केन्द्र रहेको धनकुटामा पर्याप्त पूर्वाधार, उपयुक्त हावापानी, सामरिक दृष्टिले सबल रहेकोले राजधानी कायम गरिनुपर्ने प्रनिनिधिसभा सदस्य राईले बताउनुभयो । एक महिनादेखि जारी आन्दोलनले पछिल्लो समय आमहड्तालको रुप लिएको छ । राजधानी माग्दै धनकुटाबासीले काठमाडौंमा पनि दवावमुलक गतिविधि गर्दै आएको प्रादेशिक राजधानी अभियान समितिका संयोजक सांसद निरन राईले बताउनुभयो । यसैबीच, धनकुटामा प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले विगत पॉच दिनदेखि आह्वान गरेको आमहड्ताल क्रमश खुकुलो बन्दै गएको छ । मोटरसाईकल समेत रोकेर बन्द गरिएपनि आज कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा मोटरसाईकल र छिटपुट सवारी साधन सञ्चालनमा आएका छन् । आजदेखि बिहान ८ देखि अपरान्ह ४ बजेसम्म यातायात बन्द गरिने समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले जानकारी दिनुभयो । हिजो सॉझ ५ देखि आज बिहान ८ बजेसम्म यातायात खुलाईएको थियो । तर बिहान ८ बजेदेखि पुनस् यातायात बन्द रहेको छ । यसैगरी बजार पसल, कलकारखाना पनि बन्द रहेका छन् ।
माओवादी नेता महराको पहलमा दाङ–काठमाडौं हवाइ सेवा सुरु
काठमाडौं, पुस २३ । नेकपा माओवादी केन्द्रका नेता एवं दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद कृष्णबहादुर महराको विशेष पहलमा आइतबारबाट काठमाडौं–दाङ सिधा हवाई सेवा सुरु भएको छ । लामो समयदेखि बन्द रहेको काठमाडौं–दाङ हवाई सेवा सुचारु गर्ने विषय गएको चुनावकाे एउटा प्रमुख एजेण्डा बनेको थियो । विभिन्न राजनीतिक दल, संघसंस्था वा उद्योगी–व्यवसायी, सबैको चुनावी एजेण्डामा परेको दाङको टरिगाउँ विमानस्थलमा आज देखि हवाई सेवा सञ्चालनमा आएको छ । माओवादी नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, दाङ क्षेत्र नम्बर ३ बाट निर्वाचित एमाले सांसद हिराचन्द्र केसी, सल्यानबाट निर्वाचि प्रदेशसभा सदस्य तथा एमाले नेता प्रकाश ज्वाला र तुल्सिपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डे पहिलो फ्लाइटका यात्री बनेर काठमाबाट दाङका पुगेका छन् । लामो समयको छलफल र गृहकार्यपछि हप्तामा दुई दिन निजि विमानले उडान भर्ने सहमति भएको नगर प्रमुख पाण्डेले बताए । दाङ तुल्सिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डे र समिट एयरका सिइओ मनोज कार्कीको बिच गत बिहीबार विमान संञ्चालनमा ल्याउन काठमाडौँमा सहमति भएको थिए । हवाई सेवा सञ्चालनमा आएपछि दाङमा खुसिहालि छाएको छ । स्थानिय वासीहरुको भनाई अनुसार कृष्णबहादुर महराले चुनावी दौरानका क्रममा बोलेका वाचा पुरा गर्ने कामको सुरुवात भएको बताएका छन ।
भीषण आगलागी : दुईजनाको मृत्यु, स्थिति नियन्त्रण बाहिर
विरगञ्ज, पुस ५ । पर्साको वीरगञ्ज महानगरपालिका २२ स्थित सुपर ग्यास उद्योगमा भीषण आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना मजदुर घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ । बिहानदेखि ग्यास भण्डारणको ट्याङकीबाट ग्यास लिक भई आगलागी सुरु भएको हो। आगो नियन्त्रणका लागि प्रयोग भएको दमकल पनि जलेपछि आगो नियन्त्रणमा कठिनाइ भएको छ। उद्योगमा आगो लागेपछि ठूलो आवाजमा ग्यास सिलिन्डर पड्किएको आवाज आएको थियो । अहिले पनि आगो नियन्त्रणमा आएको छैन। आगो नियन्त्रणमा लागि बारा र रौतहटबाट प्रहरी टोली घटनास्थल पुगेको पर्साका प्रहरी इन्चार्ज एसपी गणेश रेग्मीले बताए। घटनामा दमकलका दुई कर्मचारी अझै सम्पर्कविहीन भएको उनले जानकारी दिए।
माडी पुगेर प्रचण्डले भने-‘देश सम्बृद्धिको दिशामा अघि बढ्यो’
चितवन, मंसिर २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश समृद्धिको दिशामा अघि बढेको बताएका छन् । माडीको बरुवामा बुधबार आयोजित विजयी सभालाई सम्बोधन गर्दै उनले निर्वाचनको समयमा वाम गठबन्धनको पक्षमा देखिएको जनलहर समृद्धि, सुशासन र एकताका लागि भएको बताए । देश र जनतालाई अहिले विकासको आवश्यकता छ भन्दै उनले जनतामाझ आफूले गरेका प्रतिबद्धता पुरा गरिछाड्ने बताए । आफूले निर्वाचनको समयमा माडीलाई मणि बनाउने सपना देखेको बताउँदै अब त्यो सपना साकार हुने प्रतिबद्धता व्यक्त गरे । माडीमा रिङरोड निर्माण गर्ने, पर्यटकीय केन्द्र बनाउने, चितवन र माडीको विकासका लागि सधै प्रतिबद्ध रहने, कृषि, पर्यटन र पूर्वाधार विकासका दृष्टिकोणले जनताले अनुभूति गर्ने गरी काम गर्ने अध्यक्ष प्रचण्डले बताए । माडी क्षेत्रमा नदी कटान नियन्त्रणका लागि रिभर म्यानेजमेन्ट मास्टर प्लानअन्तर्गत काम गर्ने बताउँदै उनले जंगली जनावरबाट हुने क्षति न्यूनीकरणका लागि पर्खालसहितको मेसजाली निर्माण गर्ने बताए । निर्वाचित भएपछि भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर ३ मा पर्ने विभिन्न वडामा घरदैलो गरी मतदातालाई धन्यबाद दिएका प्रचण्डले बुधबार माडीका विभिन्न वडामा घरदैलो गर्दै मतदाताहरूलाई धन्यवाद दिए ।
महोत्तरीमा १३ प्रतिशत मत बदर
गौशाला, मंसिर २७ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लामा प्रत्यक्षतर्फ १५ हजारभन्दा बढी मत बदर भएको छ । जिल्ला निर्वाचन अधिकारी पिंकी रायका अनुसार मंसिर २१ गते महोत्तरीमा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा १५ हजार २८० मत बदर भएको हो । कूल तीन लाख १७ हजार ६७९ मतदाता रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा जिल्लाको सबै क्षेत्रमा दुई लाख १४ हजार ७९९ मत खसेको थियो । जसमध्ये १५ हजार २८० मत बदर भएको जिल्ला निर्वाचन अधिकारी रायले बताए । चार प्रतिनिधि र आठ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको महोत्तरीमा सम्पन्न निर्वाचनमा ७.१४ प्रतिशत मत प्रतिनिधिसभामा र ५.८६ प्रतिशत मत प्रदेशसभामा गरी जम्मा १३ प्रतिशत मत बदर भएको निर्वाचन अधिकारी रायले बताए ।
मतदान सकिएपछि लेखराज भट्टले भने– ७ नं. प्रदेशको आर्थिक राजधानी अतरिया
अतरिया, नेकपा माओवादी केन्द्र प्रदेश नंंं ७ का इन्चार्ज तथा कैलाली जिल्लाको निर्वाचन क्षेत्र नं. ४ बाट वाम गठबन्धनका उम्मेदवार लेखराज भट्टले अतरियालाई प्रदेश नंं ७ को आर्थिक राजधानी बनाउने प्रतिबद्धता गरेका छन् । मतदान सम्पन्न भएपछि विज्ञप्ती जारी गर्दै नेता भट्टले निर्वाचनबाट नयाँ राजनीतिक राज्यव्यवस्थाको सुत्रपात गरेको भन्दै विकास निर्माणमा आफूले गरेको प्रतिबद्धता पुरा गर्ने बताएका हुन । पढ्नुस नेता भट्टको विज्ञप्ती नयाँ संविधान घोषणापछि आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । नेपालमा पहिलो पटक कार्यान्वयनमा आइरहेको प्रदेश सभाका सदस्य निर्वाचित गर्न समेत आजै निर्वाचन भएको छ । यसले नेपालमा नयाँ राजनीतिक र राज्य व्यवस्थाको अभ्यास सुरु गरेको छ । मतदानमा सक्रिय, शान्तिपूर्ण र उत्साहजनक सहभागिता जनाएर सबै मतदाताले संघीयता र नयाँ राजनीतिक बाटोलाई संस्थागत गर्न भूमिका निर्वाह गरेका छन् । समृद्ध राष्ट्र निर्माणको विशाल योजनासहित बनेको वाम गठबन्धनप्रति आकर्षित हुँदै बहुसंख्यक मतदाताले वाम गठबन्धनका पक्षमा मतदान गर्नुभएको प्रारम्भिक रिपोर्टिङ्ग प्राप्त भएको छ । यसले नेपालमा स्थायी सरकार, आर्थिक विकास र समृद्धिको सपना पूरा हुने निश्चित भएको छ । तपाईको उत्साह र समर्थनले कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रबाट म प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेशसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारको विजय हुनेमा हामी ढुक्क छौं । म उम्मेदवार रहेको कैलालीको ४ नम्बर निर्वाचन क्षेत्रसहित ७ नम्बर प्रदेशभरि नै मतदानमा सहभागिता जनाउने तथा वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्ने सबै मतदातालाई धन्यवाद ज्ञापन गर्न चाहन्छु । मतदान सकिएपछि मतगणना कार्य अगाढि बढ्दैछ । अब हामी सबै अन्तिम मतपरिणामको पर्खाइमा हुनेछौं । अन्तिम मतपरिणाम घोषणा भएपछि पूर्वप्रतिवद्धता बमोजिम अत्तरियालाई प्रादेशिक आर्थिक राजधानी बनाउने र अन्य क्षेत्रमा विकास निर्माणका कार्य अगाडि बढाउन हामी प्रतिवद्ध छौं । विकास निर्माण कार्य अगाडि बढाउन भविष्यमा समेत निरन्तर सहयोग र समर्थन प्राप्त हुने आशा गर्दै सबै मतदातालाई पुनः धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
विभिन्न पार्टी परित्याग गरि १४ जना माओवादी केन्द्रमा प्रवेश
महोत्तरी, मंसिर १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ववडा अध्यक्ष मोहन धृङचिङसहित विभिन्न पार्टी परित्यागगारी १४ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । गौशाला नगरपालिका–१ रामनगरमा आयोजित चुनावी सभामा नेपाली कांग्रेसबाट बिमलकुमार राना, राजपाबाट भोला ठाकुर, श्याम ठाकुर, कमल यादव, अबिलाश पाशवान, भवानी महतो र अन्य विभिन्न पार्टीमा आवद्ध रामकलेश महतो, बिरबहादुर बिक, निरज बराइली, सनमान रसाइली सहित १४ जना आज नेकपा माओवादी केन्द्र प्रवेश गरेका हुन । पार्टी प्रवेश गर्नेहरूलाई पूर्वस्वास्थ्य मन्त्री एवं महोत्तरी जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका वाम उम्मेदवार गिरिराजमणि पोखरेलले टीका र माला लगाएर स्वागत गरेका थिए ।