२०७६ सालमा कुन महिनामा कति दिन विवाह साइत?
काठमाडौं, चैत ३ । आगामी २०७६ सालमा ६६ दिन विवाहको साइत जुरेको छ । ६ वटा महिनामा एकदिन पनि विवाह गर्ने साइत जुरेको छैन । पाञ्चाङ्ग निर्णायक समितिको सहमतिमा प्रकाशित पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा एक दिन पनि बिहेको लगन छैन ।
नयाँवर्षमा वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनामा कुल ६६ दिन विवाहको साइत तोकिएको छ । यसमा सबैभन्दा धेरै जेठ महिनामा १७ दिन लगन जुरेको छ । वैशाख र फागुनमा ११–११ दिन बिहेको साइत परेको छ । विवाहको सिजन मानिने मंसिर महिनामा भने ८ दिनमात्रै विवाहको साइत रहेको पात्रोमा उल्लेख छ ।
वैशाख महिनाको ३ गतेदेखि ८ गतेसम्म लगातार लगन जुरेको छ । त्यसपछि वैशाख १८, २३, २४, २९ र ३१ गते विवाहको साइत जुरेको छ । जेठ महिनामा २ गतेदेखि ५ गतेसम्म बिहेको साइत जुरेको छ । त्यसैगरी जेठ ९, १४, १५, १६, २१, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ गते बिहेको लगन जुरेको छ ।
असार महिनामा १, ९, १०, ११, २१, २२, २३, २४, २५, २६ गते साइत तोकिएको छ । असारपछि साउन, भदौ, असोज र कात्तिक महिनामा एकदिन पनि बिहेको साइत छैन । तथापि असोजमा दशैंको टीकाको दिन बिहे गर्ने प्रचलन छ । मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । तर, मंसिर महिनामा ३, ६, १२, १४, १९, २०, २१ र २५ गते विवाहको साइत परेको छ ।
पुस महिनामा विवाहको साइत परेको छैन । माघमा २, ४, १५, १६, १७, २१, २६, २७, २९ गते साइत जुरेको छ । त्यस्तै फागुनमा ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको साइत जुरेको छ । चैतमा पनि लगन छैन ।
२०७६ सालमा विवाहपञ्चमीकै दिन विवाहको लगन राखिएको छैन । सामान्यतः विवाह पञ्चमीको दिन विवाह गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ । तर, यसवर्ष मंसिर १५ गते परेको विवाह पश्चमीको दिन विवाहको साइत उल्लेख छैन । तोयानाथ पञ्चांगले पात्रोमा साइत उल्लेख नभएको दिन विवाह गर्नु उचित नहुने बताएको छ ।
त्यसैगरी साइत हेर्नु नपर्ने भनी चिनिएका दिनमध्ये अक्षय तृतीया र माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमीमा विवाहको साइत पनि परेको छ । तर, असोज शुक्ल नवरात्री अर्थात महानवमीको दिन पनि विवाह गर्नु उचित नहुने तोयानाथ पात्रोको दाबी छ ।
तमु ल्होसारको अवसरमा उप राष्ट्रपतिले दिए यस्ताे शुभकामना
काठमाडौं, उप राष्ट्रपति नन्दकिशाेर पुनले सबै चाडपर्वको आफ्नै मौलिक विशेषता रहेको बताएका छन् । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवं सांस्कृतिक चाडपर्व रहेको उल्लेख गरेका हुन । उनले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी समिश्रण एवं साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहार्दका लागि संसारभरि नै सुपरिचित रहेको बताए । उपराष्ट्रपति पुनले विविधताबीच राष्ट्रिय एकता हुनु नेपालीको विशेषता हो भन्दै हाम्रा मौलिक धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै हाम्रो राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिने बताए । तमु ल्होसारले नेपालीकाबीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने तथा मौलिक संस्कृतिको संरक्षण एवं प्रवद्र्धनमा योगदान दिने विश्वास उनले व्यक्त गरेका छन् ।
पाकिस्तानका पूर्वराष्ट्रपति जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध
इस्लामाबाद, पुस १३ । पाकिस्तानका पूर्वराष्ट्रपति आसिफ अली जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारीअनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनामाथि अनुसन्धान गरिएको छ । उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको जनाइएको छ । ‘अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,’ मन्त्री चौधरीले भने । जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् । जर्दारीकी श्रीमती पूर्व प्रधानमन्त्री बेनेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउँदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो । (रासस/एएफपी)
आमासँग खुसी पनि साट्न पाएनन् रविले !
काठमाडौं, पुष ११ । संसारभरिका नेपालीको मायालु बनेका रवि । नेपाल आइडल फिनालेका दिनहरु आउँदै गर्दा झनै चर्चामा आए उनी । सबैको अपेक्षा रवि नै नेपाल आइडल बन्ने थियो । र, यही अनुरुप उनले उपाधि पनि जिते । केहीले भने यो उपाधिलाई क्षेत्रीयतासँग पनि नजोडेका होइनन । तर जुन क्षेत्रको कुरा आलोचकहरुले गरेका थिए, त्यो क्षेत्र बाहिरका प्रशंसक नै रविको पक्षमा खुलेर देखिएपछि आलोचना गर्नेहरुको मुख बन्द भएको थियो । राजधानीबाट रवि आफ्नो गृह क्षेत्र पुगे । सुदूरपश्चिम प्रदेशले उनको भव्य स्वागत र सम्मान गर्यो । धनगढीबाट रवि सोझै अतरिया हुँदै कञ्चनपुर लागे । बाटैमा पर्छ उनको घर । तर रविलाई प्रसंसकले यसरी पछ्याएका थिए कि उनी घर जानु भन्दा पनि कृष्णपुर हुँदै लागे महेन्द्रनगर महेन्द्रनगरमा जनसागर नै ओर्लियो । रविलाई हेर्न, उनलाई बधाई भन्नेहरुको ओइरो । भीमदत्त नगरपालिकाले सम्मान गर्यो रविलाई । रवि यही खुशीको माहौलमा थिए । खुशी, खुशी र खुशी…। तर उनको खुशी… यही खुशीबीच आज बिहानै रविले अकल्पनीय समाचार सुने । अकल्पनीय, अविश्वसनीय…। जीवनमा पहिलोपटक यसरी खुशी पाएका थिए रविले । भन्थे– बुवाले धेरै दुख गरे, नेपाल फर्काउन निकै कोशिस गरे तर सकिनँ । अब भने नेपाल फर्काउँछु । रविको योजना बुवालाई नेपाल फर्काएर हाँसीखुसी जीवन बिताउने थियो । जीवनमा आमाको पीडा त उनले बाल्यकालदेखि नै भोग्दै आए । तर कान्छी आमा आएपछि उनको पीडामा कान्छी आमाको मायाले साथ दिएको थियो । आर्थिकरुपमा जे जस्तो भएपनि टुहुरो भनेर हेपिनु परेको थिएन । तर आज बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा उनकी आमाको मृत्यु भयो करेन्ट लागेर । सेती अञ्चल अस्पताल धनगढी पुर्याउँदा बिहान पौने ९ बजे चिकित्सकहरुले मृत घोषित गरे । रविले खुसी त के अन्तिम समयमा सास छँदै आमाको मुहार सम्म हेर्न पाएनन् । जीवनमा कतिखेर के आइपर्छ भन्न सकिन्न । रविको जीवनमा पनि यस्तै भए । अब परिवारको थप जिम्मेवारी पनि उनको काँधमा थपिएको छ । एकातिर नेपाल आइडलले ल्याएको जिम्मेवारी, अर्कोतर्फ आमा नहुँदा र बा भारत भएकोले घरको दायित्व । रविको जीवनको यो संघर्ष जति दारुण छ, त्यति लोभलाग्दो उनको कला । अब यो कलाले उनको पीडामा मल्हम लगाउन सकोस जीवनका पीडा बिर्सेर संघर्षपथमा अघि बढन साहस देओस हार्दिक श्रद्दासुमन रविको आमाप्रति
‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन
म्याग्दी, पुष ९ । मङ्गला गाउँपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन दिई व्यावसायिक रुपमा कृषकलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान सञ्चालन गरेको छ । गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब संकलन गरी आइतबारदेखि विद्यालयस्तरमा नै ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान थालिएको हो । सो गाउँपालिकाको वडा नं ५ अर्मनस्थित शिशुकल्याण माविमा अगुवा कृषक, शिक्षक, विद्यार्थी र जनप्रतिनिधिको रोहवरमा उक्त अभियान शुरु गरिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । “जङ्गलमा खेर गएको वनमारा, बजार क्षेत्रबाट सङ्कलन गरिएको सड्ने फोहर, पातपतिङ्गर र पिसाब मिलाएर जैविक मल उत्पादन गरी बिक्री गर्ने गरी अभियान सञ्चालन गरेका हौँ,” उनले भने । तरकारी खेतीमा रासायनिक मलको प्रयोगलाई निरुत्साहित गर्दै उर्वराशक्ति बढाउन कृषि विज्ञ वीरेन्द्रप्रकाश पोख्रेलले कृषकलाई अनुरोध गरे । सो अवसरमा जिल्लामा मानवमूत्र सङ्कलनको अवस्था, यसबाट आयआर्जन, कृषकको जीवनस्तरमा आउने परिवर्तन लगायतका विषयमा तयार पारिएको वृतचित्र प्रदर्शन गरिएको थियो । मङ्गलाका कृषकले मानवमूत्र सङ्कलन गरेर तरकारी खेतीमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन् । हरेक किसानलाई पिसाबबाट आम्दानीको हिसाब गर्ने बनाएर उनीहरुको आर्थिक स्थितिमा सुधार ल्याउन अभियान सञ्चालन गरिएको अध्यक्ष रोकाले बताए । उनले सार्वजनिक स्थान र विद्यालयका शौचालमा पिसाब सङ्कलन गर्न मिल्ने गरी पूर्वाधार निर्माण गरिने जानकारी दिए । त्यसैगरी गाउँपालिकाले सानो लगानीमा समेत पर्याप्त आम्दानी गर्न मिल्ने क्षेत्रको पहिचान गरिरहेको छ । कृषकलाई उक्त अभियानका लागि साथ दिनसमेत अनुरोध गरिएको छ । मानव मलमूत्रसँगै पशु मलमूत्र पनि सँगसँगै सङ्कलन गरी भकारो सुधार कार्यक्रमलाई प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । रासस
फेसबुकबाट प्रेम नगर्नुस्, नत्र…..
मुम्बई । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ बर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चारमाध्यमसँगको कुराकानीमा बताए। सामाजिक सञ्जाल फेसबुक चलाउने क्रममा एक जना पाकिस्तानी किशोरीसँग ‘मायाजाल’ मा परेपछि उनलाई भेट्न सन् २०१२ मा अफगानिस्तान हुँदै पाकिस्तान पुगेका भारतीय इन्जिनियर हमिद नेहाल अन्सारीले बताए। तर सामाजिक सञ्जालमार्फत आफूले प्राप्त गरेको ठेगाना पछ्याउँदै अन्सारी पाकिस्तानी किशोरीको घरमा पुग्दा त्यहाँ पाकिस्तानी प्रहरी तैनाथ थिए र उनलाई त्यहीँबाट पक्राउ गरियो। उनलाई पछि जासूसी गरेको र नक्कली कागजात बनाएको अभियोगमा छ बर्षको जेल सजाय तोकियो। “अपरिचित व्यक्तिसँग भावनामा नडुब्नुस् र फेसबुकलगायतका सामाजिक सञ्जालमार्फत् ‘माया जाल’ मा नफस्नुस्,” अन्सारीले आफू रिहा भई भारत फर्केको तीन दिनपछि एएफपीसँगको कुराकानीमा भने। पाकिस्तानी जेलमा छ बर्षको बसाइपछि मङ्गलबार घर फर्किएका इन्जिनियर अन्सारीले भारतीय सीमानामा पुगेपछि भावुक मुद्रामा आफ्नी आमासँग गलामा गला जोडेको र जन्मभूमिलाई पुरै घोप्टो परेर ढोगेको श्रब्यदृश्य स्थानीय सञ्चारमाध्यमहरूले उच्च महत्वका साथ प्रशारण गरेका छन्। उक्त दृष्य सामाजिक सञ्जालमा पनि भाइरल’ बनेको छ। “निर्वासित हुन पाउनु मेरो जीवनका लागि सबैभन्दा खुशीको क्षण भएको छ,” तेत्तीस बर्षीय अन्सारीले मुम्बईस्थित आफ्नो घरबाट फोनमा बताए। उनले भने, “अब मैले एउटा व्यवसाय शुरु गर्छु। विवाह गर्छु। आफ्नो र परिवारको सुखमा रमाउँछु। मलाई थप सामाजिक बन्नु छैन।” क्षेत्रीय प्रतिस्पर्धी भारत र पाकिस्तानबीच सन् १९४७ मा बेलायतबाट उनीहरू स्वतन्त्र भएपछि तीन ठूला युद्ध भएका छन्। उनीहरूले फरक फरक समय र परिस्थितिमा एक अर्काका नागरिकलाई जासूसी आरोपमा पक्राउ गर्ने र थुन्ने बिषय सामान्यजस्तै देखिँदै आएको छ। एएफपी
७ वर्षअघि भएकाे थियाे छाेरीकाे बलात्कारपछि हत्या, अझै मरेकाे छैन दाेषी पक्राउ पर्ने अास
कपिलवस्तु — प्रत्येक वर्ष असोज लाग्यो कि आँशु बग्न थाल्छन् । वाणगंगा नगरपालिका ६, बैदौलीकी पहिया थारूको मनमा छोरीको सम्झना गाढा हुन्छ । एकोहोरो बर्बराउँछिन् । भक्कानो फुटेको सुन्ने र देख्ने कोही हुन्न । जाडो बढेपछि छोरीको सम्झना मधुरो हुँदै जान्छ । बल्लतल्ल टाढिन्छिन् । घाउ पुरिंदैन । अर्को साल असोज आउँछ, परिवारमा पीडा बल्झाएर जान्छ । पहियाकी १४ वर्षीया छोरी शिवरानी गाउँ नजिकै आयोजित साँस्कृतिक कार्यक्रम हेर्न गएकी थिइन् । तर, रातिसम्म उनी फर्किनन् । परिवारले बिहानसम्म बाटो हेरे । दोस्रो दिन छोरीको शव फेला पर्यो । परिवारमाथि बज्रपात खस्यो । उनको ०६८ असोज १३ गते राति हत्या भएको खुल्यो । अर्को दिन बिहान वाणगंगा सिंचाइ आयोजनाको नहरमा शव फेला परेको थियो । ‘राति नआएपछि साथीकोमा बसी होला भन्ने लाग्यो,’ बाबु फुल्चन्दले भने, ‘बिहान शव देखेपछि छाँगाबाट खसेँ, हातखुट्टा लुला भए, सबै गुम्यो ।’ शिवरानी स्थानीय महेन्द्र उमावि कोपवामा ७ कक्षामा पढ्थिन् । प्रहरीले अनुसन्धान क्रममा बलात्कारपछि हत्या भएको ठहर्यायो । इलाका प्रहरी गोरुसिंगेका तत्कालीन निरीक्षक शिशु शर्माले बलात्कारपछि हत्या भएको परिवारलाई जानकारी गराएका थिए । घटनालगत्तै शर्माको सरुवा भएपछि थप अनुसन्धान अलपत्र पर्यो । त्यसपछि घटना अनुसन्धानका लागि प्रहरीले विभिन्न समिति बनाए पनि प्रभावकारी बन्न सकेको छैन । ‘प्रत्यक्ष/अप्रत्यक्ष दबाबका कारण घटनाको राम्रो अनुसन्धान हुन सकेन,’ एक स्थानीयले भने, ‘प्रहरीले निष्पक्ष भएर काम गरे तत्काल दोषी पक्राउ पर्छन् ।’ बाबु फुल्चन्दका अनुसार नहरमा शव घोप्टो पारेर फालिएको थियो । घाँटीमा डोरीको स्पष्ट डाम थियो । हत्याको प्रमाण हुँदाहुँदै पनि संलग्नलाई पक्राउ नगरेको परिवारको दुखेसो छ । गाउँमा अहिले पनि त्रासको माहोल छ । घटनाबारे खुलेआम कुरा गर्न पीडित डराउँछन् । घरभित्र बसेर मात्र कुरा गर्छन् । कारबाही नै भएन : परिवार शिवरानीको परिवार विपन्न छ । उनीहरू कसैविरुद्ध केही बोल्न सक्दैनन् । प्रशासनमा पहुँच छैन । २/३ पटक घटनाका विषयमा छलफल हुँदा गाउँका कोही संलग्न छैनन् भनेर टारियो । उनीहरूको पक्षमा कोही चुइक्कसम्म बोल्दैनन् । ‘हामी एक्लो हुन्छौं,’ शिवरानीका ८० वर्षीय हजुरबुबा पोगेले भने, ‘त्यही भएर सबै चुप छन् ।’ यति ठूलो पीडामा पनि कसैले पक्षमा नबोलेको उनले बताए । ‘यहाँबाट सर्न सकिंदैन,’ उनले भने, ‘त्यसैले चुप लागेर पीडा सहँदै बसेका छौं ।’ यसबारे पटक(पटक कुरा उठ्छ । फेरि सेलाउँछ । ‘हत्यारालाई कारबाही भएको हेर्न मन छ,’ पोगेले भने, ‘त्यसपछि मात्र मर्ने इच्छा छ ।’ उनका अनुसार घटनापछि गाउँका ३/४ जनालाई प्रहरीले पक्राउ गरेर त्यसै दिन छाडेको थियो । त्यसपछि कसैलाई पक्राउ गरेको छैन । कारबाहीको माग गर्दै धेरै निकाय धाए तर जति हारगुहार गर्दा पनि कसैले नसुनेको उनले बताए । अब कारबाही : प्रहरी उक्त घटनापछि कर्तव्य ज्यानको मुद्दा अदालतमा दर्ता गरिएको थियो । प्रतिवादी फेला नपरेको जनाउँदै थप प्रक्रिया अघि नबढाइएको प्रहरी प्रमुख उपरीक्षक अच्युतमप्रसाद पुडासैनीले बताए । ‘म पनि नयाँ आएको हुँ,’ उनले भने, ‘घटना मेरो नोटिसमा परेको छ ।’ इलाका प्रहरी गोरुसिंगेबाट मिसिल मगाएको उनले बताए । ‘गहन रूपले अध्ययन गरी अपराधीलाई कठघरामा पुर्याउँछु,’ उनले भने, ‘पीडितलाई न्याय दिन्छु ।’ पीडितले न्याय नपाउँदा न्याय मरेजस्तो भएको वाणगंगा ६ का वडाध्यक्ष शुकदेव थारूले बताए । जसरी पनि आरोपीलाई पक्राउ गरी मुद्दा अघि बढाउनुपर्ने उनले बताए । कारबाही र पीडितलाई न्यायको अनुभूति दिन प्रहरी तदारुकताका साथ लाग्नुपर्ने नागरिक समाजका अध्यक्ष दोलखबहादुर पछाईले बताए । Source: kanripurdaily/Manoj Paudel
‘नेपाल नेक्स्ट सुपरस्टार–२०१८’को उपाधी धिरज र करिस्नालाई
काठमाडौं, असोज २३ । यसवर्षको रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को उपाधि पुरुषतर्फ धिरज रसाईली र महिलातर्फ करिस्ना श्रेष्ठले जितेका छन्। थ्रिडी नेपाल र एमपी इभेन्टस् एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा रुस्लान ‘नेपाल नेक्स्ट सुपरस्टार’ २०१८ को प्रथम संस्करणमा १३ पुरुष र १२ महिला प्रतिस्पर्धीहरुलाई पछि पार्दै प्रतियोगितामा पुरुषतर्फ धिरज र महिलातर्फ करिस्नाले नेपाल नेक्स्ट सुपरस्टारको उपाधी जित्न सफल भएका हुन् । सोमबार साँझ काठमाडौंको न्यूरोड, बिशाल बजारस्थित सासा इभेन्ट भेन्यूमा सम्पन्न उक्त कार्यक्रम फेशन शोको शैलीमा टप ८, टप ५ र अन्तिम चरण गरि प्रतिस्पर्धीहरु स्टेजमा विभिन्न प्रस्तुतीहरुका साथ स्टेजमा उत्रिएका थिए । प्रतियोगिता अन्तर्गत बेष्ट वाक बिधाको उपाधी धिरज रसाईली र विभूति तण्डुकार, बेष्ट पर्सनालिटि संक्षम संग्रैला र रोशिका दहाल, मोस्ट कन्फिडेन्ट पुष्पा नेपाली र दिवस लामिछाने, मोस्ट फोटोजेनिक असिम अली र विभूति तण्डुकार, बेस्ट स्माईल कल्पना बिष्ट र सौरभ शाह, मोस्ट ट्यालेन्ट दिपेश लामा र करिस्ना श्रेष्ठ, पब्लिक च्वाइस अवार्डमा गणेश खत्री र मनिषा लिम्बु, मोस्ट ह्यान्डसम बिबेक जोशी, मोस्ट क्रियटिभ लोमन रेग्मी र करुना शाह, मोस्ट ब्यूटिफुल पुजा एरी, मल्टिमिडिया च्वाईस दिपक बुढाथोकी र करिस्ना श्रेष्ठ, मोस्ट डिसिप्लेन अर्जुन विश्वकर्मा र गरिमा शर्माले विभिन्न विधाहरुमा अवार्डहरु हात पार्न सफल भएका छन् । सनिस शाक्यको कोरियोग्राफीमा कुल २५ जना प्रतियोगीहरुलाई १ महिनासम्म बिभिन्न तालिम तथा कार्यशालाहरु मार्फत प्रशिक्षण गरिएको थियो । प्रतियोगिताको संयोजन जवान रञ्जित र सुनिल गुभाजुले गरेका हुन् । कार्यक्रमको प्रमुख आतिथिमा सिनेकर्मी तथा चलचित्र निर्देशक अनिल पाण्डे र निर्णायकको भूमिकामा उत्तम बनेपाली, सुमित सिग्देल र शिवराज कार्की हुनुहुन्थ्यो । सबैको कडा परिश्रम र राम्रो टिम वोर्कका कारण प्रतियोगिता निकै सफल भएको र आगामी दिनमा पनि ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई अझै भब्य बनाउन एमपी इभेन्टसले ‘नेपाल नेक्स्ट सुपरस्टार’ लाई हरेक बर्ष सिक्वेन्सको रुपमा आयोजना गर्ने आयोजक मदन पौडेलले बताए । मिडिया पार्टनरमा अर्थ संसार डट रहेको थियो । हेर्नुहोस् भिडियो–
मलेसियामा एक किशोरको उद्धारमा गएका ६ जनाको डुबेर मृत्यु
मलेसिया, असोज १८ । मलेसियाको एउटा खानीमा भएको पोखरीमा हराएका एक किशोरको उद्धार गर्न गएका ६ गोताखोरको पानीमा डुबेर मृत्यु भएको छ। बुधवार दिउँसो साथीहरूसँग माछा मार्न गएका ती १७ वर्षीय किशोर पोखरीमा खसेपछि उनको खोजी गर्न उद्धारकर्मीहरू परिचालित थिए । अधिकारीका अनुसार उद्धारकर्मीहरू पोखरीभित्र एउटा भुमरीमा फसेका र अकस्मात् शक्तिशाली जलप्रवाहले उनीहरूका उपकरणलाई छुट्यार्इ दिएका थिए। हराएका किशोरको खोजी अभियान बिहीवार फेरि थालिएको छ । उक्त घटना सेलाङ्गोर प्रान्तको सेपाङ जिल्लामा भएको हो । प्राप्त विवरणका अनुसार माछा मार्न सुरु गर्न लाग्दा ती किशोर पोखरीमा खसेका थिए । ती उद्धारकर्मीहरूले सुरक्षाका लागि आवश्यक सबै उपाय अवलम्बन गरेको सेपाङका प्रहरी प्रमुख अब्दुल अजिज अलीले बताए । शक्तिशाली जलप्रवाहले सबै उद्धारकर्मीलाई पानीमा फन्फनी घुमाइदिएको उनले मलेशियाको सरकारी समाचार संस्था बेर्नामालाई बताएका छन् । त्यसो हुँदा उनीहरूले बोकेका उपकरण छुट्टिएका थिए । अग्नि नियन्त्रण र उद्धार विभागका महानिर्देशक मोहम्मद हम्दान वाहिदलाई उद्धृत गर्दै न्यू स्ट्रेट टाइम्स पत्रिकाले लेखेको छ, ‘त्यहाँ भुमरी परेको थियो र उद्धारकर्मीहरूले त्यसबाट उम्कन संघर्ष गरेको देखिएको किनारामा रहेको टोलीले बताएको छ।’ ती उद्धारकर्मीहरू ३० मिनेटजति भुमरीमा फसेका थिए। अरू सहकर्मीले बाहिर निकाल्दा उनीहरू सबै अचेत थिए । कृत्रिम श्वासप्रश्वास गर्दा पनि उनीहरू बौरिएनन् । ‘६ जना कर्मचारीको मृत्यु भएको यो पहिलोचोटी हो’, उनले बेर्नामालाई भने, ‘यो हाम्रा लागि अन्त्यन्तै दुःखद दिन हो ।’ वाहिदका अनुसार प्रारम्भिक अनुसन्धानले बाढी रोक्न बनाइएको पर्खालले वर्षापछि आएको भेल रोक्न नसकेको देखाएको छ । बुधवार दिउँसो सो क्षेत्रमा ठूलो पानी परेको र त्यसका कारण पानीको वेग बढेको अनुमान गरिएको छ । बीबीसीबाट
प्रतिनिधि सभाको अन्तिम बैठक [LIVE]
काठमाडौं, असोज ११ । संघीय संसद्को दोस्रो अधिवेशन आजबाट अन्त्य हुँदै छ । आज दिउसो एक बजे बस्ने प्रतिनिधि सभा बैठक र दुई बजे बस्ने राष्ट्रिय सभा बैठकमा अधिवेशन अन्त्यको घोषणा हुने छ । प्रतिनिधि सभाको आजको बैठकमा दलका शिर्ष नेताहरुले सम्वोधन गर्ने कार्यसूचि राखिएको छ । गत बैशाख २३ गतेबाट शुरु भएको अधिवेशन करिव पाँच महिनामा अन्त्य हुन लागेको हो । संसदको दोस्रो अधिवेशनले बजेट पारित, मौलिक हकसम्बन्धी कानुन निर्माण गरेपनि नागरिकता संशोधन, चिकित्सा शिक्षा, लेखापरीक्षण, भुक्तानी तथा फछ्र्योट, बिमासम्बन्धी महत्वपूर्ण विधेयक भने अलपत्र पर्ने भएका छन् ।
अब सार्वजनिक काममा व्यक्तिको जग्गा प्रयोग गर्दा क्षतिपूर्ति दिनुपर्ने
काठमाडौं, साउन ११ । सर्वोच्च अदालतले सार्वजनिक सरोकारको कामका लागि व्यक्तिको जग्गा प्रयोग गर्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेकोे छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले गत साउन १६ गतेको आदेशको पूर्ण पाठ सार्वजनिक गर्दै सार्वजनिक हितका लागि व्यक्तिको जग्गा प्रयोग गर्र्दा सरकारले क्षतिपूर्ति दिनुपर्ने उल्लेख छ । आदेशमा सडक विस्तार गर्ने कार्य सार्वजनिक हितको कार्य भएको हुँदा सरकारले व्यक्तिको जग्गा लिँदा क्षतिपूर्तिको विषयमा नीतिगत निर्णय गरेर मात्र सडक विस्तारको कार्य गर्नु, गराउनु भनिएको छ । दोलखा जिल्ला, भीमेश्वर नगरपालिका भई हाल काठमाडौँ कागेश्वरी नगरपालिका–११ बस्ने सान्त्वना सुवेदी, सिन्धुपाल्चोक घर भई हाल बूढानीकण्ठ नगरपालिकामा बस्ने सुनिता पौडेलले शहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र कामपा वडा नं ४ को कार्यालय, बालुवाटार तथा काठमाडौँ उपत्यका विकास प्राधिकरणलाई विपक्षी बनाई दायर गरेको रिट निवेदनमाथिको फैसलामा सो कुरा उल्लेख छ । आदेशमा हक सुविधाअनुसार पालन गर्न वा नगर्न सकिने विषय हुँदै नभएको र प्रत्याभूत हकको उपेक्षा गरी सम्पत्ति उपर सहजै आक्रमण गर्न सकिन्छ भन्ने कदापि सोचिनु नहुने उल्लेख छ । संविधानमा व्यक्ति तथा नागरिकको सम्पत्ति र आवासका हक प्रत्याभूत गरिएको हुनाले नागरिकको ती हकको हरदम संरक्षण गरिनुपर्ने आदेशमा उल्लेख छ । सरकारी निकायलाई व्यक्तिको सम्पत्ति जबर्जस्ती उठाउने तर क्षतिपूर्ति दिन्न भन्नु लोकतान्त्रिक अभ्यास नहुने नभएको उल्लेख गर्दै फैसालमा सरकारलाई आर्थिक वा अन्य कारण देखाइ नागरिकको हकको संरक्षण गर्नुपर्ने आधारभूत दायित्वबाट पन्छिने छुट नहुने फैसलामा उल्लेख छ । -रासस
नेकपा साङ्गठनिक एकीकरणः प्रस्ताव तयार गर्ने जिम्मा अध्यक्ष ओली र प्रचण्डलाई
काठमाडौै, भदौं २९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले साङ्गठिनक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो । अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताए । उनले भने, ‘अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ, उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।’ शुक्रबार बिहान दुई अध्यक्षबीच एकीकरणका विषयमा थप छलफल हुने उनले जानकारी दिए । -रासस
विद्युतीय पुस्तकालय स्थापना
लहान, भदौ १७ । एघारौँ पुस्तकालय दिवसका अवसरमा सिरहाको धनगढीमाई नगरपालिकाले विद्युतीय पुस्तकालय स्थापना गरेको छ । कम्युनिस्ट आन्दोलनका मूर्धन्य व्यक्तित्व जयगोविन्द साहको स्मृतिमा ‘जयगोविन्द साह स्मृति पुस्तकालय’नाम राखिएको सो पुस्तकालय सिरहा जिल्लाकै पहिलो विद्युतीय पुस्तकालय भएको बताइएको छ । धनगढीमाई नगरपालिका–९ मा स्थापना गरिएको पुस्तकालय नगर प्रमुख हरिनारायण चौधरीले शनिवार उद्घाटन गरे । पुस्तकालयले पठनीय संस्कृतिको विकास गर्नुका साथै पुस्तक अध्ययनबाट प्राप्त ज्ञान समाज रुपान्तरणमा सहयोग मिल्ने उनले बताए । पुस्तकालयमा दर्शन, साहित्य, विज्ञान, कला लगायतका विभिन्न विषयका १३२ पुस्तकसहित तीन थान कम्प्युटर राखिएको छ । अनलाइन मार्फत ती कम्प्युटरबाटै विभिन्न पुस्तक हेर्न सकिने र पाठकको मागअनुसार आगामी दिन क्रमशः अन्य पुस्तक र कम्प्युटर थप्दै जाने नगरपालिकाले जनाएको छ । पुस्तकालयले आगामी दिनमा शिक्षा, राजनीतिक, संस्कृतिलगायत विविध विषयमा नियमित रुपमा छलफल कार्यक्रम गर्ने जनाएको छ ।
ज्योतिलार्इ ‘मिस ब्युटी क्विन नेपाल २०१८’ को उपाधि
काठमाडौं । पाचौं सिजनको ‘मिस ब्यूटी क्विन नेपाल २०१८’ को ताज ज्योति प्रसाईंले हात पार्न सफल भएकी छन् । उनले १५ जना अन्य प्रतिस्पर्धीलाई पछि पार्दै ‘मिस ब्युटी क्विन नेपाल २०१८’ को सौन्दर्य प्रतियोगीताको ताज पहिरिएकी हुन् । उनले शीर्ष उपाधिसँगै ‘बेस्ट ट्यालेन्ट’ पनि जितिन् । यस्तै फस्ट रनरअप, मिस पब्लिक चईस तथा मस्ट स्मार्टको उपाधि जयश्री मल्लले हात पारिन् भने सेकेन्ड रनरअपको उपाधिसँगै बेस्ट पर्सानालिटीको टाईटल वर्षा महर्जनले हात पारिन् । त्यस्तै थर्ड रनरअपको उपाधि सहित बेस्ट हेयरमा मनिषा थापाले जितिन् । एमाजोन ईन्टरटेन्मेन्टले मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेशा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ आयोजना गरेको यस सौन्दर्य प्रतियोगिताको अन्य सब–टाईटलको बेस्ट स्किनमा सेल्गुइ लिम्बु, मस्ट एक्टिभ रन्जिता बिष्ट, बेस्ट स्माईल तथा मस्ट पपुलर ॠषिका थापा, मस्ट चार्मिङ निशा पौडेल, बेस्ट डिसिप्लिन आरती आले मगर, मस्ट एट्रक्टिभ अस्मिता राइ, बेस्ट फोटोजेनिक पुजा अधिकारी, बेस्ट ड्रेस सेल्गी लिम्बुले उपाधी जितिन् । विजेताले उपाधिसँगै आर्टिस्ट नेपाल, जाभिरा कस्मेटिक, पायस कस्मेटिक, भिएलसिसी, ट्रान्सिट लेडीको तर्फबाट विभिन्न गिफ्ट ह्यापर प्राप्त गरे। विगत ६ वर्षदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको संस्था एमाजोन ईन्टरटेन्मेन्टले यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको संचालन चर्चित कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिईन । हेर्नुहोस् केही तस्वीरहरु-
हैट ! नेइमार…
यस विश्वकपमा अर्जेन्टिनाका लियोनेल मेस्सी र पोर्चुगलका क्रिश्चियानो रोनाल्डो घर फर्किसकेपछि प्रतियोगिता सुरु हुनुअघि खुबै चर्चामा रहेका तीन सुपरस्टारहरूमध्ये नेइमारको टीम मात्र प्रतियोगिताको अगिल्लो खेल खेल्न रुसमा बसिराखेको छ। प्रतियोगिता सुरु हुनुभन्दा अगाडि विश्वकै सर्वाधिक महँगा फुटबलर नेइमार निकै चर्चित थिए। तर लीग चरणमा स्फूर्तिका पर्याय मानिने नेइमार केहि सुस्त देखिए। नकआउट चरणमा पुग्दापुग्दा नेइमार लयमा फर्किए र उनले मेक्सिको विरुद्ध एक गोल गरे र अर्को गोल गर्न सघाए। नेमारको जीवनः स्टार्डम, सम्पत्ति र सेक्स रसिया विश्व : ब्राजिल र स्विट्जरल्यान्ड भिड्दै, आज जम्लान नेमार ? काे हुन् सुपरस्टार मेस्सीलाई घर फर्काउने १९ वर्षीय अम्बापे ? तर अहिले नेइमार यस जीतका साथसाथै एउटा अर्को कारणले पनि चर्चित रहेका छन्। ब्राजिलको दैनिक समाचारपत्र ‘ग्लोबो’ले लेखेको छ’ “नेइमारले ब्राजिललाई खुसी पारे तर सारा संसारलाई रुष्ट पारिदिए।” नेइमार, अर्थात यस्तो फुटबलर जसले एउटै खेलमा उत्कृष्ट फुटबल प्रतिभारा वाहियात नौटंकी सँगसँगै प्रस्तुत गरे। प्रसंशा पनि आलोचना पनि सँगसँगै सोमवार राउण्ड-सिक्सटीनमा मेक्सिको विरुद्ध खेल्ने क्रममा नेइमार साँच्चिकै नेइमार अवतारमा प्रकट भए। ब्राजिलको बेल्जियम विरुद्ध २-० को जीतमा उनको निर्णायक भूमिका रह्यो। नेइमार आलोचित हुनुका कारण यस्ता छन् मेक्सिकोमाथिको जितसँगै ब्राजिलले बनायो यस्ता रेकर्ड, नेइमारले पछि पारे मेसी र रोनाल्डोलाई तर उनी मैदानमा गोल गर्नु भन्दा अन्य कारणले पनि चर्चामा रहे। उनी खेल अवधिभरि कुनै न कुनै रूपमा दर्शकहरूको ध्यान आकर्षणका केन्द्र बनिरहे। उनी घरि कुनै खेलाडीसँग भिड्ने गर्थे भने कहिले गम्भीर चोट लागेको नाटक गरेर लड्थे। यसले बेलाबेला मैदानमा ठुलै दुर्घटना भएको जस्तै लाग्थ्यो। मैदानमा चटक उनका तटस्थ समर्थकहरूले उनको खेलको प्रसंशा त गर्दछन् साथै उनको यस बानीको आलोचना समेत हुने गर्दछ। ब्राजिल र मेक्सिकोबीचको खेलमा पनि खेल समाप्त हुनुभन्दा २० मिनेट पहिले नेइमारकै कारण केही मिनेट खेल रोक्नुपर्ने स्थिति आयो। भएको के थियो भने मेक्सिकन खेलाडी मिगुअल लायुनको गोडा नेइमारको गोलीगाँठामा पऱ्यो। नेइमार असह्य पीडा भएजस्तै जोरजोरले कराउन थाले। अाज नेइमारको अग्नि परीक्षा, उत्तीर्ण होलान् कि अनुत्तीर्ण ? नेइमारको बहिनी राफेला दाइकाे खुसीयाली मनाउँदा मनाउँदै घाइते ! यो देखेर मेक्सिकोका खेलाडी, रेफ्री र अन्य अधिकारीहरू तुरन्त त्यहाँ पुगे। एकछिन् मैदानमा विवाद नै होला जस्तो लाग्यो। म्याच सिद्धिएपछि लायुनसँग सम्बन्धित प्रश्नमा उनका म्यानेजर टाइटेले भने, “लायुनले नेइमारमाथि नराम्ररी टेकेका थिए, मैले आफैँ स्क्रीनमा देखेको।” त्यसमा नेइमारले गजबको प्रतिक्रिया दिए, “हेर्नुस् मलाई लाग्छ यो सब मलाई होच्याउन गरिएको थियो।” “मलाई प्रसंशा या आलोचनाको कुनै पर्वाह छैन, किन भने यस्ता कुराले तपाईंको प्रवृत्तिलाई नै प्रभावित गर्न सक्छन्। पछिल्ला दुई म्याचहरूमा मैले ‘प्रेस’सँग कुरा गरेन किनभने म कुरा गर्न चाहन्नथे।” नेइमार भन्छन्, “मैले खेल्नुपर्छ, आफ्नो टीमको लागि र साथीहरुका लागि।” कस्तो छ अरुको प्रतिक्रिया एस्टर भिल्लाका पूर्व स्ट्राइकर डियोन डब्लिन भन्छन्, “म नेइमारको यस नौटंकीप्रति लज्जित छु।” विश्वकप फुटबलः ३२ वर्षपछि बेल्जियम अन्तिम आठमा, जापानको सपना यसकारण ध्वस्त २०१० को विश्वकप जितका ‘नायक’ इनिएस्टाले संन्यास लिए ! उनी भन्छन्, “उनी संसारका महान खेलाडी हुन्, तर जब उनी मैदानमा यसरी गुल्टिन्छन् साँच्चै दुःख लाग्छ। अचम्मको कुरा तपाईं फुटबल खेल्नुस् न त्योभन्दा राम्रो गर्न सक्नुहुन्छ।” दोहोरो लोकप्रियता सकारात्मक होउन् या नकारात्मक तर नेइमारका बारेमा प्रतिक्रियाहरू भने थुप्रै आउने गर्दछन्। इन्स्टाग्राममा उनका १० करोड फलोअर छन्। उनले पछिल्लोपल्ट गरेको पोस्टमा १५ मिनेटभित्र १० लाख लाइक आएका थिए। ट्विटरमा उनको एउटा अर्को तस्बिर सेयर भैराखेको छ जसमा उनी स्विट्जरल्याण्ड विरुद्धको म्याचमा लडेका छन्। यो तस्बिर र यससँग सम्बन्धित भिडियो, मेमे र जिफहरू सामाजिक संजालमा भाइरल हुन बेर लागेन। एउटा पोस्टमा र फरक-फरक तरिकाले पीडाले कराइरहेका आठ तस्बिर राखिएका छन् र सँगै प्रश्न समेत गरिएको छ- तपाईंलाई कति दुःखिराखेको छ? कोस्टारिकासँगको म्याचमा समेत नेइमारसँग एउटा घट्ना घटेको थियो। उक्त म्याचमा रेफ्रीले तनाव कम गर्ने उद्देश्ले नेइमारको पाखुरामा हातले छोएका थिए, नेइमारले तुरन्त उनको हात हटाइदिए, र भने “मलाई नछोऊ!” विश्वकप फुटबलः पहिलो क्वाटरफाइनल खेल्ने टिम को-को ? शुक्रबार भिडन्त विश्वकप फुटबलः नकआउट चरणमै नपुगी घर फर्किने १५ टिम को-को ? जारी विश्वकप फुटबलमा कसको कीर्तिमान के ? हेर्नुहोस्, तथ्य/तथ्यांक
पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार, ५ जनाको मृत्यु
अमेरिका स्थित मेरिल्याण्डमा एक बन्दुकधारीले स्थानीय पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार गर्दा पाँचजनाको ज्यान गएको छ । घटनामा अरु तीनजना घाइते भएका छन् । मेरिल्याण्डको एनापोपिलसमा रहेको क्यापिटल गज्याट पत्रिकाको कार्यालयमा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली चलाउने व्यक्तिलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ । आक्रमणकारीले सिसाको ढोका बाहिरबाट समाचार कक्षमा आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमण भएका बेला कार्यालयमा धेरै मानिस थिए । पत्रिकाका संवाददाता फिल डेविसका अनुसार अवस्था निकै डरलाग्दो थियो । उनले भने, ‘धेरै मानिसलाई गोली लागेको र आफू आफ्नो डेस्कमुनि बसेको तथा आक्रमणकारीले रिलोड गरेको सुन्नु जतिको डरलाग्दो केही हुने रहेनछ ।’ पक्राउ परेका आक्रमणकारीसँग घटनाका बारेमा सोधपुछ भइरहेको र अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ । आक्रमणकारीले प्रहरीलाई अनुसन्धानमा सहयोग नगरेको र उसले आफ्नो औँठा छाप पनि बिगारेको प्रहरी अधिकारीले सिबिएस न्युजसँग भनेका छन् । आक्रमणकारी २० वर्षको हाराहारीको रहेको र प्रहरी समक्ष आफै आत्मसमर्पण गरेको खबरमा उल्लेख गरिएको छ । घटनास्थलबाट १७० जना भन्दा धेरै मानिस सुरक्षित रुपमा बाहिर निस्कन सफल भएका थिए । -एजेन्सी