भिरबाट लडेर बैतडीमा किशोरीको मृत्यु
बैतडी । घाँस काट्ने क्रममा भिरबाट लडेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको सिगास गाउँपालिका-८ पुतलीपुरकी १४ वर्षीया नारुली बोहरा छन्।
सोमबार स्थानीय छोटेधार थाँचर भिरबाट लडेर उनको मृत्यु भएको सिगास गाउँपालिका-८ का वडाअध्यक्ष कर्ण बहादुर ऐरले जानकारी दिए।
मृतक किशोरी शिबलिङ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्यनरत थिइन्।
‘क्रिकेट मेरी आमा हुन्, ठूलो गल्ती भयो’– पृथ्वी शा
काठमाडौं । भारतीय क्रिकेट बोर्डको डोपिङ परीक्षणमा असफल भएपछि क्रिकेट खेल्न प्रतिबन्ध लागेका खेलाडी पृथ्वी शाले गल्ती स्वीकार गरेका छन् । बिसिसीआईको निर्णयपछि ट्विट गर्दै पृथ्वी शाले यो गल्तीबाट आफूले ठूलो पाठ सिकेको बताए । “म पूर्ण इमान्दारितासाथ यो निर्णय स्वीकार्छु” उनले भनेका छन, “अहिले यसअघिको टुर्नामेन्टमा लागेको चोटबाट निको हुँदैछु । म मैदानमा मजबूत बनेर फर्किनेछु ।” यो पनि पढ्नुहोस् भारतीय क्रिकेटर पृथ्वीमाथि ८ महिना प्रतिवन्ध पृथ्वीले आफूमाथिको सजायले अरुलाई समेत गल्ती नगर्न प्रेरित गरेको बताए । बिमार हुँदा हामीले औषधी पाउने भएपनि प्रोटोकलको पालना गर्नुपर्ने उनले स्वीकारोक्ती गरेका छन् । “क्रिकेट मेरो जीवन हो र भारत तथा मुम्बईका लागि खेल्नुभन्दा ठूलो अरु कुनै सम्मान हुन सक्दैन । म यसमा अझै बलियो बन्ने छु ।” उनले लेखका छन् । पृथ्वी शा ले खोकीको प्रतिबन्धित औषधी सेवन गरेपछि उनको युरिन सेम्पल लिइएको थियो । गत फेब्रुअरीमा सम्पन्न भएको शैयद मुश्ता अली ट्राफीका बेला उनले यो अन्जानमैं सेवन गरेका स्वीकार समेत गरेका छन् । पृथ्वी शामाथि नोभेम्बर १५, २०१९ सम्म खेल्न प्रतिबन्ध लगाइएको छ । चोट लागेका कारण अन्तर्राष्ट्रिय क्रिकेटबाट टाढा रहेका पृथ्वीलाई वेष्टइण्डिजसँगको खेलका लागि पनि छनौट गरिएको थिएन । पृथ्वीले अहिलेसम्म भारतका लागि दुईवटा टेष्ट खेलेका छन् । यी टेष्टमा उनले एउटा शतक र अर्को अर्धशतक बनाएका थिए ।
सिरियामा दश दिनमा १०० भन्दा बढी गैरसैनिकको मृत्युु
काठमाडौं, साउन ११ । संयुक्त राष्टसंघीय मानवअधिकार आयोगकी प्रमुख मिशेल बेचलेटका अनुसार पछिल्ला दश दिनमा सिरियामा एक सय जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा २६ जना बालबालिका रहेका छन् । उनका अनुसार सिरिया र रुसी सेनाको संयुक्त हवाई आक्रमणको निशानामा अस्पताल, स्कुल र बजार क्षेत्र परेका छन् । बेचलेटका अनुसार सिरिया र रुसी सेनाको यति ठूलो आक्रमण र नरसंहारको बारेमा विश्व चुप छ । अन्तर्राष्टिय जगतको नजर बेचलेटका अनुसार संसारका शक्तिशाली देशहरुले त्यहाँ नेतृत्व असफलताको विषय उठान गरिरहेका छन् । उनका अनुसार विद्रोहीहरुको कब्जामा रहेको भनिएको इदलिवमा मर्नेहरुको संख्या बढ्नसक्ने तर्फ कसैको ध्यान गएको देखिँदैन । उनका अनुसार धेरै मानिसहरु यो आक्रमणको शिकार भएका छन् । बेचलेटका अनुसार जानीबुझी सामान्य नागरिकहरुमाथि हमला गर्नु युद्ध अपराध हो । जसले यो आक्रमणका लागि जानी जानी आदेश दिइरहेका छन् उनीहरु पनि यो अपराधका लागि जिम्मेवार छन् । के-के भैरहेछ ? विगत आठ वर्षदेखि सिरियाको इदलिव शहरका अलावा उत्तरी हमा र पश्चिमी अलेपो विद्रोहीको गढ शहरको रुपमा चिनिने गरिन्छ । तिनै शहरहरु आक्रमणको निशानामा परेका छन् तर अघिल्लो वर्ष सेप्टेम्बरमा रुस र टर्कीको नेतृत्वमा भएको शान्ति सम्झौतापछि यस क्षेत्रमा बमबाढी नगर्ने सहमति भएको थियो । यो सम्झौता पछि २७ लाख जनाले हवाई हमलाबाट मुक्ति पाएका थिए । तर पछिल्लो हप्ता संयुक्त राष्टसंघले भनेको छ, ‘अप्रिल महिनायता सिरियामा ३५० जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ लाख ३० हजार सिरियालीहरु घर छोड्न वाध्य भएका छन् । त्यसमध्ये पछिल्ला १० दिनमा त्यहाँ १०३ जनाको मृत्यु भइसकेको छ ।’ त्यसमध्ये २६ जना बालबालिका त्यसको निशानामा परेका छन् । स्थिति थप भयावह हुँदै गइरहेको छ । रुसी वायुसेना समर्थित सिरियाली सरकारले भने अलकायदासँग सम्बन्धित जिहादीहरुले शान्ति सम्झौता उल्लंघन गरेका कारण आक्रमण गनुपरेको प्रतिक्रिया दिँदै आएको छ । रुसमाथि भने गत हप्ता ३१ व्टा हमलाको नेतृत्व गरेको आरोप लागेको थियो । सञ्चारमाध्यामहरुमा आएका ती रिपोर्टहरुको रुसले खण्डन गर्दै आएको छ । सिरियामा विगत आठ वर्षदेखिको यो द्वन्द्वका कारण लाखौंले ज्यान गुमाइसकेका छन् । – बीबीसीबाट साभार
टाइफाइडको प्रकोपको कारण दिनहुँ बिरामीको संख्या बढ्दै
डोल्पा, असार २३ । हिमाली जिल्ला डोल्पामा टाइफाइडका बिरामी दिनप्रतिदिन बढ्न थालेका छन् । प्रत्येक दिन पाँचसम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । एक सातायता टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला अस्पतालका श्यया बिरामीले भरिभराउ भएका छन् । बिरामीको चाप बढ्दै गएका कारण १५ श्ययाको अस्पतालमा २१ सम्म बिरामी राखेर उपचार गराइरहेको जिल्ला अस्पताल डोल्पाका डा सिजन रावलले जानकारी दिए । एक महिनामै दुई पटक टाइफाइडको प्रकोप फैलिएपछि सबैका लागि चिन्ताको विषय बनेको छ । ‘अहिलेजस्तै पहिलोपटक प्रकोप फैलिँदा सूचना सन्देश प्रवाह तथा उपचारपछि नियन्त्रणमा आएको थियो, अहिले फेरि उस्तै प्रकोप बढेको छ’, रावलले भने, ‘यता प्रकोप बढ्दै जाँदा अस्पतालमा औषधिको अभाव हुन थालेको छ, आजभोलि जस्तै दिनप्रतिदिन बिरामी आउन थाले तीन दिनभित्र औषधि सकिन्छ ।’ ठुलीभेरी नगरपालिकामा पर्ने वडा नं २ र ३ का सर्वसाधारण धेरै उपचारका लागि आउने गरेको बताउँदै दुषित पानी प्रयोगका कारण दिनप्रतिदिन प्रकोप फैलिँदै गएको डा रावलको भनाइ छ । अस्पतालको क्षमताभन्दा धेरै बिरामी भर्ना गर्नुपरेपछि भुइँमा सुताएरै बिरामीको उपचार गरिरहेको अस्पतालले जनाएको छ । बिरामीको चापका कारण उपचारमा खटिएका स्वास्थकर्मी नै थला परेका छन् । ‘भाइरल’को रूपमै टाइफाइडको प्रकोप फैलिएपछि अस्पतालकै कर्मचारीसमेत बिरामी पर्न थालेको स्टाफ नर्स तारा बोहोराले बताए । यार्सा ‘सिजन’ सकिएर यार्सा पाटनबाट मानिस फर्किएसँगै टाइफाइडका बिरामी बढेको जिल्ला अस्पतालले बताएको छ। प्रशासनले बोलायो आकस्मिक बैठक भाइरलको रूपमा दिनप्रतिदिन टाइफाइडका बिरामी बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले आकस्मिक बैठक राखेको छ। प्रकोप नियन्त्रणका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवालासहितको बैठक राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बैठकमा स्वास्थ, खानेपानी, नागरिक समाज, सञ्चारलगायतका विभिन्न सङ्घसंस्थामा आवद्ध व्यक्तिलाई बोलाएर छलफल भइरहेको छ । रोग नियन्त्रणका लागि कुन–कुन निकायले के–कस्तो भूमिका खेल्ने भन्ने विषयलाई विशेष जोड दिइएको छ । यसअघि फैलिएको टाइफाइडको प्रकोप नियन्त्रणका लागि आपतकालीन बैठक राखिसकेको जिल्ला प्रशासन कार्यालयले आइतबार पनि आपतकालीन बैठक बोलाएको हो । बैठकमा दूषित पानीको प्रयोग रोक्न पानी शुद्धीकरण गरेर खानुपर्ने, सामान्य लक्षण देखिनेबित्तिकै उपचार गराउनुपर्ने, सूचना तथा सन्देश प्रवाह गर्नुपर्नेलगायतका कुरामा विशेष जोड दिइएको छ । रासस
शेयरबजारः ३ अंकले आरालो लाग्यो नेप्से परिसूचक
काठमाडौं, जेठ २९ । बुधबार नेप्से ३ दशमलव ५० अंकले घटेर १ हजार २ सय ७२ दशमलव ४८ को बिन्दुमा पुगेको छ । यसदिन १ सय ७४ कम्पनीको १८ लाख ७१ हजार ८०४ कित्ता शेयर खरिदबिक्री भई ५० करोड २६ लाख ८२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ५० अंकले घटेर २ सय ७२ दशलमव ३६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । यस दिन सबैभन्दा बढी कारोबार ग्लोबल आईएमई बैंकको प्रमोटर शेयरको भएको छ । जसको कारोबार ७ करोड १२ लाख ६२ हजार रुपैयाँ बराबरको भएको छ । यस दिन सर्वा्िधक कमाउनेमा साल्ट ट्रेडिङ्ग कर्पोरेटको भएको छ । जसको शेयर मूल्यमा १० प्रतिशतले बढेको छ । साथै धेरै गुमाउनेमा नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ७ दशमलव ९ प्रतिशतले घटेको छ ।
प्रहरीको सरुवा–बढुवा प्रदेश सरकारले गर्नेगरी विधेयकमा व्यवस्था गरिएको छः गृहमन्त्री
काठमाडौं, जेठ ८ । प्रतिनिधिसभाको बैठकले ‘प्रहरी समायोजन विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रतिनिधिसभाको आजको बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । विधेयमाथिको सैद्धान्तिक पक्षको छलफलमा दिलेन्द्रप्रसाद बडू, जनार्दन शर्मा, प्रेस सुवाल, मीना पाण्डे र देवेन्द्रराज कँडेलले भाग लिएका थिए । छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री थापाले मुलुक सङ्घीय व्यवस्थामा प्रवेश गरिसकेकाले शान्ति सुरक्षाको जिम्मेवारी लिएको प्रहरीलाई थप व्यवस्थित गर्ने ढङ्गले विधेयक ल्याइएको भन्दै यसले प्रदेशको अधिकारलाई हस्तक्षेप नगर्ने प्रस्ट पारे । उनले भने, “विधेयकले प्रदेशलाई अधिकार प्रत्यायोजन गरेको छ, केन्द्रको नियन्त्रण र निर्देशन चल्नेछैन, प्रहरीको सरुवा बढुवालगायतको काम प्रदेश सरकारले नै गर्नेगरी विधेयकमा व्यवस्था गरिएको छ ।”
२ अंकले घट्यो शेयर बजार
काठमाडौं, जेठ २ । शेयर बजारमा आज कारोवार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.२९ अङ्कले घटेर एक हजार ३१८.७१ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.८१ अङ्कले घटेर २८१.४४ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार आज कूल १७३ कम्पनीको २९ लाख ९२ हजार ६६३ किक्ता शेयर रु ९४ करोड ७६ लाख ५६ हजार ५१६ मूल्यमा खरीद बित्री भए । कारोवार भएका कूल ११ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । नेप्सेका अनुसार विकास बैंक २१.२५, वित्त २.८४, निर्जीवन बीमा २७.२७, उत्पादन ९९.७४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको हो । यस्तै बैंकिङ ८.२४, होटल १२.५६, जलविद्युत् १.१३, अन्य ०.३१, लघुवित्त ५.२३ र जीवन बीमा १२.४० अङ्कले घटेको छ । कारोवारका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा पुगेको छ । लगातार उकालो लाग्दै आएको शिवम्को शेयर प्रतिकित्ता रु ५७२ मा रु १३ करोड ४१ लाख आठ हजार ४१५ मा कारोवार भयो । यस्तै नेपाल बैंक लिमिटेडको प्रतिकित्ता रु ३१९ मा रु छ करोड ८१ लाख २१ हजार ३००, एनसिसी बैंकको प्रतिकित्ता रु २६० मा रु पाँच करोड २१ हजार ३९९ मा कारोवार भयो । कृषि विकास बैंकको रु चार करोड ८१ लाख २० हजार ९३३, एशिएन लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड ६८ लाख ८९ हजार ६००, प्रिमियर इन्स्योरेन्स कम्पनीको रु तीन करोड ५७ लाख २९ हजार २२८ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहेको छ । नेप्सेका अनुसार शिवम् सिमेन्टका शेयरधनीले आज पनि दश प्रतिशतले कमाए । मल्टीपर्पोज फाइनान्स कम्पनी ९।६६, कर्णाली डेभलपमेन्ट बैंक ९.१८, आइएमई जनरल इन्स्योरेन्स ७.०८, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ६.३५ र महालक्ष्मी विकास बैंकका शेयरधनीले ५।२१ प्रतिशतले कमाएका छन् । त्यस्तै कृषि विकास बैंक ३.८८, कर्पोरेट डेभलपमेन्ट बैंक ३.८०, प्रोग्रेसिभ फाइनान्स ३.७७, ग्लोबल आइएमइ समुन्नति स्किम ३.७६ र उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ३.७४ प्रतिशतले गुमाएका छन् ।
आरोहणका क्रममा कञ्चनजंगा २ भारतीय पर्वतारोहीको मृत्यु
काठमाडौं, जेठ २ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगा आरोहण गर्न गएका दुई पर्वतारोहीको ज्यान गएको छ । यस्तै, एकजना सम्पर्कविहीन भएको पर्यटन मन्त्रालयले जनाएको छ । पर्यटन मन्त्रालयका प्रवक्ता सुरेन्द्र थापाका अनुसार मृत्यु हुनेहरू दुवै जना भारतीय नागरिक हुन्। आरोहणको व्यवस्थापनको जिम्मा लिएको पीक प्रमोशन कम्पनीका अध्यक्ष केशव पौडेलका अनुसार मृत्यु भएका आरोहीहरू पश्चिम बङ्गालका कुन्तल करार र विप्लव वैद्य हुन् । नेपाल र भारतको सीमामा अवस्थित ८,५८६ मिटर अग्लो कञ्चनजङ्घाको शिखरमा बुधवार १० नेपालीसमेत ३६ जना पुगेको पर्यटन विभागले जनाएको छ । शिखरमा पुगेर फर्कँदै गर्दा वैद्यको थकाइका कारण चौथौ शिविरभन्दा माथिको क्षेत्रमा ढलेपछि मृत्यु भएको पौडेलले बीबीसी नेपालीलाई बताए । करारको आरोहणकै क्रममा मृत्यु भएको हो। शेर्पाहरूले उद्धारको प्रयास गर्दागर्दै दुवै जनाको मृत्यु भएको उनले बताए । पौडेलका अनुसार बुधबार राति ८ बजे आफू शिखरमा पुगेको जानकारी दिएपछि चिलेका पर्वतारोही भने सम्पर्कविहीन भएका छन् । पर्यटन विभागका प्रवक्ता थापा तथा पीक प्रमोशनका अध्यक्ष पौडेलका अनुसार सम्पर्कविहीन पर्वतारोहीको खोजी तथा मृतकहरूको शव तल ल्याउने प्रयास भइरहेको छ । उनका अनुसार उद्धारकर्ताहरू करारको शव भएको ठाउँमा बिहीवार बिहानसम्म पुगेका थिएनन्। दुइटै शव दोस्रो शिविरमा ल्याएर त्यहाँबाट शुक्रवारसम्म काठमाडौं ल्याउने आफ्नो कम्पनीको योजना भएको पौडेलले बताए।
नेपाल र भियतनामबीच कस्ता–कस्ता बुँदामा भयो सम्झौता?
काठमाडौं, वैशाख २९ । नेपालल र भियतनामबीच विभिन्न १६ बुँदामा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भियतनामको औपचारिक भ्रमणणका क्रममा दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा शनिबार भियतनामको प्रेसिडेन्सिल हाउसमा द्विपक्षीय सम्झौता भएको हो । दुवै देशका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । सम्झौतामा सरकारी र कूटनीतिक राहदानी भएका व्यक्तिलाई एकअर्काको देशमा आवत जावत गर्दा भिसा नचाहिने उल्लेख छ । यस्तै भियतनामले नेपाली सामान आयात गर्ने र भियतनामका व्यवसायीले नेपालमा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने सहमति भएको छ । यस्तै पर्यटकलाई दुवै देशको भ्रमणका लागि प्रेरित गर्ने, दुवै देशका पार्टी, सरकार, संसदीय संस्था र नागरिकलाई एकअर्का देशमा मैत्रीपूर्ण भ्रमण गराउने सहमति पनि भएको छ । दुवै देशले क्षेत्रीय र अन्तर्राष्ट्रिय मुद्दाहरुमा समान धारणा बनाउने, फौजदारी कानुनको कार्यान्वयन तथा अपराधविरुद्ध सहकार्य गर्नका लागि सम्झौता गर्ने सहमति पनि भएको छ । सम्झौतामा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र भियतनामका तर्फबाट नग्येन क्वयकले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी व्यापार तथा लागानी संरचनासम्बन्धी सम्झौतामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र भियतनामका तर्फबाट त्यहाँको उद्योग मन्त्रालयका उपमन्त्री दाङ आओङ एनले हस्ताक्षर गरे ।
२ विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक (नामसहित)
काठमाडौं, वैशाख २७ । शिक्षक सेवा आयोगले माध्यमिक तह अन्तर्गत (खुल्लातर्फ) विभिन्न विषयको लिखित परीक्षाको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको छ । आयोगले आज एक सूचना जारी गर्दै मावि तहको नेपाली र कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग सम्बन्धी नतिजा सार्वजनिक गरेको हो । साविक पाँच विकास क्षेत्रमध्ये पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलको नेपाली विषयको र मध्यमाञ्चल तथा पश्चिमाञ्चल क्षेत्रको कार्यालय संचालन तथा लेखा विषयको पुनर्योग नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न यहाँ क्लिक गर्नुस्
‘लु’ का कारण पश्चिम तराईको जनजीवन प्रभावित
बाँके, वैशाख २७ । नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा ‘लु’ चलेको छ । ‘लु’ का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको तापक्रम अधिकतम ४३ र न्यूनतम ३७ डिग्री सेल्सियस आसपास रहेको छ । यस वर्षको सबैभन्दा बढी तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । आइतबार ३७ डिग्री सेल्सियस रहेको तापक्रम बिहीबारसम्म आइपुग्दा ४३ डिग्री सेल्सियस पुगेको उक्त कार्यालयका मौसम विज्ञान सहायक योजना बस्ताकोटीले जानकारी दिए । ‘तातो हावा र तापक्रम वृद्धिले बढी गर्मी महसुस भइरहेको छ,’ उनले भने । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको छ । तापक्रम बढ्नाका साथै चल्ने तातो हावा, हुरी, धुलोसँगै ग्रामीण बस्तीमा आगलागीको जोखिम बढेको छ । तातो हावाहुरीकै कारण आँप, तथा अन्य हरियो तरकारीखेती प्रभावित भएको छ । कामदारको दैनिक जीवन कष्टकर बन्न थालेको छ । तातो हावाकै कारण दिउँसो बाहिर हिँडडुल गर्नसमेत गाह्रो भएको छ । तापक्रम उच्च भएपछि बालबालिका बिरामी हुन थालेका छन् । वैशाख महिनाभर नेपालगञ्जलगायत पश्चिम तराईमा पानी परेको छैन । गर्मीका कारण घाउखटिरा, आउमासी, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढ्न थालेको सम्बद्ध चिकित्सकहरुले जनाएका छन् । यहाँका अस्पताल तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप बढ्दै गएको बताइएको छ । गर्मी बढेसँगै विभिन्न स्वास्थ्य समस्या देखिने भएकाले चिकित्सकले सजगता अपनाउन सुझाव दिएका छन् । गर्मी तथा वर्षायाममा बढी मात्रामा देखिने समस्या खाना विषाक्त हुनु हो । काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने खाद्य पदार्थले खाद्यान्न विषक्त हुने र यसबाट वान्ता हुने, पखाला लाग्ने र ज्वरो आउनेजस्ता समस्या देखापर्नसक्छ । अत्यधिक गर्मीमा वायु मण्डलले तातो हावा फ्याँक्दा ‘लु’ लाग्नसक्ने र यसका कारण शरीरबाट पसिना धेरै निस्केर शरीरमा पानीे कम हुन्छ । पानी कम भएपछि अङ्गहरुले तापक्रमलाई व्यवस्थित राख्न नसक्दा कमजोरी हुनेलगायत अन्य शारिरिक समसया देखा पर्ने भएकाले यसबाट बच्न पर्याप्त पानी पिउन भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रूपानन्द अधिकारीले सुझाव दिए । ‘बिहान ११ बजेदेखि दिउँसो ३ बजेको समयमा घाममा ननिस्कने, निस्कनै परेमा छाताको प्रयोग गर्नुपर्ने, पानीको बोतल साथैमा राखी पटकरपटक पानी पिउनुपर्ने खानामा शाकाहारी खानेकुरा, झोल पदार्थ र फलफूल प्रशस्त मात्रामा खानुपर्ने र कडा घाममा नशालु पदार्थ सेवन नहुने जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत रामबहादुर चन्दले बताए । रासस
एक महिला आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिइन्
लहान, बैशाख २० । सिरहा नगरपालिका–१४ खिरौनामा शुक्रबार बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएकी हुन्। मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । यता स्थानीयवासीले घरपरिवारकै सदस्यबाट मनिषाको हत्या भएको हुनसक्ने आशंका गरेका छन्। गत फागनु १७ गते रामेश मण्डलसँग मनिषाको विवाह भएको थियो । बिहेका बेला दिएको दाइजो कम भएको भन्दै सासु तारा मण्डलले मनिषालाई पटक–पटक शारीरिक यातना तथा कुटपिट गर्दै आएको माइती पक्षको आरोप छ । रासस
‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड’को उत्कृष्ट पाँच सार्वजनिक
काठमाडौंं, वैशाख १२ । दोस्रो ‘योङ माइन्डस् इन्टरटेनमेन्ट अवार्ड २०७६’ को उत्कृष्ट पाँच मनोनय सूची सार्वजनिक भएको छ। आयोजक योङ माइन्डस् इन्टरटेनमेन्ट प्राली ४८ बिधामा उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरेको हो । नेपाली गीत, संगीत तथा त्यसका श्रष्ठाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने उद्देश्यले आयोजना हुन लागेको यो अवार्डमा आयोजकले निःशुल्क आवेदन भन्ने ब्यवस्था गरेको थियो । प्रोत्सान र जुरी अवार्डसहित कुल ४८ बिधामा बितरण गरिने अवार्डमा २०७५ वैशाखदेखि फागुन मसान्तसम्म बजारमा आएका गीत–संगीतको सहभागिता रहेको छ । अवार्ड वितरण मिति केही दिनमा एक कार्यक्रमसहित घोषणा गर्ने आयोजक आयोजक योङ माइन्डस् इन्टरटेनमेन्टका मुनाल सिसिर कोइरालाले बताए । अवार्डमा मोटिङको ब्यवस्था पनि गरिएको छ । भोठिङका लागि ३५००५ मा भोटिङ कोड लेखेर एसएमएस गर्नु पर्नेछ ।
सर्वोच्चको अन्तरिम आदेश, पब्जीमाथि प्रतिबन्ध नलगाउने
काठमाडौं, बैशाख ०६ । सर्वोच्च अदालतले इन्टरनेटमा खेलिने खेल पब्जी प्रतिबन्ध लगाउने सरकारी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले पब्जी प्रतिबन्ध लगाउने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिँदै प्रतिबन्ध लगाउनुको कारण १५ दिनभित्र पेश गर्न आदेश दिएको छ । पब्जी प्रतिबन्ध लगाउँदा इन्टरनेट प्रयोग र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकार हनन भएको भन्दै त्यसलाई बदर गर्न माग गरी अधिवक्ता प्रवीण सुवेदीसहित ६ जनाले सर्वोच्चमा वैशाख ३ गते रिट दायर गरेका थिए । शुक्रबार रिट निवेदकको पक्षबाट अधिवक्ताहरु प्रविण सुवेदी, विकास थापा, अनुराग सुवेदी, आवेश अधिकारी र रितेश पौडेलले बहस गरेका थिए । पब्जी खेल्दा विकृति देखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
भीमदत्तमा शिक्षाका समस्या अध्ययनका लागि समिति गठन
कञ्चनपुर, चैत ५ । जिल्लाको भीमदत्त नगरपालिकाले शैक्षिक क्षेत्रका समस्या अध्ययनका लागि समिति बनाएको छ । नगर शिक्षा समितिको बैठकबाट नगर शिक्षा समितिका सदस्य जीत बहादुर बमको संयोजकत्वमा समिति बनाएको हो । समितिलाई नगर क्षेत्रका विद्यालयहरुमा जनशक्ति र पूर्वाधारसंग सम्बन्धित समस्या अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । नगर शिक्षा समितिका संयोजक भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको समितिको छैठौ बैठकमा समिति गठन गर्ने निर्णय गरिएको छ । नगर शिक्षा समितिका संयोजक नगर प्रमुख विष्टले अध्ययन प्रतिवेदनका आधारमा शैक्षिक क्षेत्र सुधारका लागि आवश्यक नीति तथा योजना बनाइने बताए । समितिमा भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य द्रोपती जोशी, नगर शिक्षा समितिका सदस्य पदमा साउँद र गंगा पन्त तथा भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन् । भीनपा शिक्षा, युवा तथा खेलकूद शाखाका विद्यालय निरीक्षक ईश्वरी ठगुन्नाले समितिलाई नगर क्षेत्रका विद्यालयहरुका विभिन्न समस्या अध्ययन गरी प्रवितेदन पेश गर्ने जिम्मेवारी दिइएको बताइन् । ‘शिक्षा क्षेत्रका विविध समस्या समाधानका लागि समिति गठन गरिएको छ, अर्को बैठकमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ’ विद्यालय निरीक्षक ठगुन्नाले भनिन् । भीमदत्त नगरपालिकामा ५५ सामुदायिक र ६५ संस्थागत विद्यालय छन् । शिवधाम क्षेत्रमा गुरुकुल विद्यालय सञ्चालनमा छ । यसैगरी चालु आर्थिक वर्षको शैक्षिक क्यालेण्डर बनाउन शिक्षा, युवा तथा खेलकूद शाखा प्रमुख उप सचिव पदमराज जोशीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा नगर शिक्षा समितिका सदस्य दिपक भट्ट, स्रोत व्यक्तिद्वय हरिराज विष्ट र भवानी प्रसाद पन्त सदस्य छन् । भीनपाको शिक्षा, युवा तथा खेलकूद शाखाले चालु आर्थिक वर्षको फागुनसम्म विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । जैविक मार्ग म्याराथन मार्च, विद्यालयहरुसित भौतिक पूर्वाधार, आइसिटी, प्रयोगशाला निर्माणका लागि सम्झौता, विद्यालयहरुलाई अनुमति प्रदान, कक्षा ८ को परीक्षा सञ्चालन, विद्यालय अनुगमन लगायतका कार्यक्रम गरिएका छन् । आगामी वैशाखमा दोस्रो मेयर कप भलिबल प्रतियोगिता सञ्चालनका लागि तयारी सुरु गरिएको छ ।
२०७६ सालमा कुन महिनामा कति दिन विवाह साइत?
काठमाडौं, चैत ३ । आगामी २०७६ सालमा ६६ दिन विवाहको साइत जुरेको छ । ६ वटा महिनामा एकदिन पनि विवाह गर्ने साइत जुरेको छैन । पाञ्चाङ्ग निर्णायक समितिको सहमतिमा प्रकाशित पात्रोअनुसार साउन, भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा एक दिन पनि बिहेको लगन छैन । नयाँवर्षमा वैशाख, जेठ, असार, मंसिर, माघ र फागुन महिनामा कुल ६६ दिन विवाहको साइत तोकिएको छ । यसमा सबैभन्दा धेरै जेठ महिनामा १७ दिन लगन जुरेको छ । वैशाख र फागुनमा ११–११ दिन बिहेको साइत परेको छ । विवाहको सिजन मानिने मंसिर महिनामा भने ८ दिनमात्रै विवाहको साइत रहेको पात्रोमा उल्लेख छ । वैशाख महिनाको ३ गतेदेखि ८ गतेसम्म लगातार लगन जुरेको छ । त्यसपछि वैशाख १८, २३, २४, २९ र ३१ गते विवाहको साइत जुरेको छ । जेठ महिनामा २ गतेदेखि ५ गतेसम्म बिहेको साइत जुरेको छ । त्यसैगरी जेठ ९, १४, १५, १६, २१, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ गते बिहेको लगन जुरेको छ । असार महिनामा १, ९, १०, ११, २१, २२, २३, २४, २५, २६ गते साइत तोकिएको छ । असारपछि साउन, भदौ, असोज र कात्तिक महिनामा एकदिन पनि बिहेको साइत छैन । तथापि असोजमा दशैंको टीकाको दिन बिहे गर्ने प्रचलन छ । मंसिर महिनालाई विवाहको खास महिना मानिन्छ । तर, मंसिर महिनामा ३, ६, १२, १४, १९, २०, २१ र २५ गते विवाहको साइत परेको छ । पुस महिनामा विवाहको साइत परेको छैन । माघमा २, ४, १५, १६, १७, २१, २६, २७, २९ गते साइत जुरेको छ । त्यस्तै फागुनमा ४, ५, १३, १४, १५, १९, २५, २७, २८, २९ र ३० गते विवाहको साइत जुरेको छ । चैतमा पनि लगन छैन । २०७६ सालमा विवाहपञ्चमीकै दिन विवाहको लगन राखिएको छैन । सामान्यतः विवाह पञ्चमीको दिन विवाह गर्न साइत हेराइरहनुपर्दैन भन्ने मान्यता छ । तर, यसवर्ष मंसिर १५ गते परेको विवाह पश्चमीको दिन विवाहको साइत उल्लेख छैन । तोयानाथ पञ्चांगले पात्रोमा साइत उल्लेख नभएको दिन विवाह गर्नु उचित नहुने बताएको छ । त्यसैगरी साइत हेर्नु नपर्ने भनी चिनिएका दिनमध्ये अक्षय तृतीया र माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमीमा विवाहको साइत पनि परेको छ । तर, असोज शुक्ल नवरात्री अर्थात महानवमीको दिन पनि विवाह गर्नु उचित नहुने तोयानाथ पात्रोको दाबी छ ।