प्रहरीमा महिलालाई ५० प्रतिशत आरक्षण दिने तयारी
पर्सा, असार २ । मुस्लिम धर्मावलम्बीको सबैभन्दा ठूलो पर्व इद उल फित्रअर्र्थात् इद पर्व पर्सामा धुमधामले मनाइँदै छ । एक महिना लामो कठिन रमजान व्रत समापनका अवसरमा मनाइने यो पर्वमा मुस्लिम धर्मावलम्बीले आज बिहान जिल्लामा रहेका इदगाह, मस्जिदलगायतका पवित्र स्थानमा पुगी इदको नमाज पढेर एकअर्र्कासंग इदको शुभकामना अदानप्रदान गरेका थिए । यसै क्रममा इदको नमाज पढ्न पर्साको जगरनाथपुर गाउँपालिकास्थित इदगाहमा पुग्नुभएका प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले इस्लाम धर्मावलम्बीको महान् पर्व इदुल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभयो । उहाँले रासससंग भन्नुभयो, “यो पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी दिगो शान्तिसहित सामाजिक आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गर्न सकोस् । ” प्रदेश सरकारले थालनी गरेको ‘बेटी पढाइ बेटी बचाइ’ अभियान अब प्रदेश सरकारको मात्र नभई यसलाई समाजले आत्मसात् गरेकाले यो सफल हुने विश्वास व्यक्त गर्दै मख्यमन्त्री राउतले यो अभियानका लागि प्रदेश नं २ का स्थानीय तहले बजेट विनियोजन गरेको र समाजले पनि यसलाई सफल बनाउन स्वःस्र्फुतरुपमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेकाले अब यो जनताको अभियान बन्दै गएको बताउनुभयो । उहाँले यो अभियानलाई अझै प्रभावकारी बनाउन प्रदेश सरकारले ल्याउन लागेका प्रहरी ऐनमा महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गर्न लागिएको जानकारी दिदैं शान्ति सुरक्षा कायम राख्न महिलाहरु सक्षम छ भन्नुभयो । मुख्यमन्त्री राउतले पढेलेखेका महिलालाई प्रदेशको उच्च ओहदासम्म पु¥याउन प्रदेश सकारले आरक्षणको व्यवस्थासमेत गर्न लागिएको बताउनुभयो ।
बाइक र कारको कर बढ्यो, अझै महंगिने
सरकारले बाइक र कारमा लाग्ने अन्तश्ल्क कर बढाएको छ । योसँगै मोटरसाइकल र कारको मूल्य बढ्ने भएको छ । मंगलबार संसलमा आर्थिक वर्ष २०७५÷७६ को बजेट प्रस्त्त गर्दै अर्थमन्त्री युवराज खतिवडाले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको घोषणा गरेका ह्न । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ । सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा युवराज खतिवडाले पटक–पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए । उनले सिसी, सिलिण्डर, क्षमता, ध्वनी उत्सर्जन, प्रदुषणलाई आधार बनाएर सरकारले अर्थशास्त्रीय दृष्टिकोणले अटोमोबाइल क्षेत्रलाई हेर्ने बताएका थिए । उनले खुला आयात नीतिको फाइदा उठाएर अनावश्यक रुपमा हुने आयात नियन्त्रण गर्ने संकेत गरेका थिए ।
गोलभेडा र भ्यान्टा खाँदा मृगौलाको पत्थरी ? यस्तो छ वास्तविकता
तरकारीको स्वाद बढाउन होस् वा सलाद, अचारका लागि गोलभेडाको प्रयोग दैनिक जीवनमा धेरै नै हुन्छ । भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल्सले भरिपूर्ण गोलभेडा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । गोलभेडा भिटमिन सीको राम्रो स्रोत हुनुका साथै जैविक सोडियम, फस्फोरस, क्याल्सियम, पोटासियम, म्याग्नेसियम र सल्फरको राम्रो स्रोत हो । गोलभेडामा रहेको गलूटाथीयोनले शरिरको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ भने प्रोस्टेट क्यान्सरबाट पनि शरिरलाई सुरक्षित राख्छ । कतीले गोलभेडा, पालुङ्गो र भ्यान्टा खाँदा पत्थरीको खतरा हुने मान्यता राख्छन् । आउनुहोस्, यसको वास्तविकताबारे जानकारी लिऔंः गोलभेडा र पत्थरीबीचको सम्बन्ध के ? मृगौलामा अक्जालेट र क्याल्सियम जस्ता तत्व जम्मा भएर एक ठोस् ढुङ्गाजस्तो बनेपछि पत्थरी हुन्छ । जब तपाईं अत्यधिक मात्रामा अक्जालेट भएका खानेकुरा खानुहुन्छ तब मृगौलामा पत्थरीको आशंका बढ्ने गर्छ । गोलभेडामा पनि अक्जालेटको मात्रा हुन्छ तर यो सिमित मात्रामा हुने भएकाले यसको सेवनले मृगौलामा पत्थरी हुँदैन । गोलभेडा खाँदा अपनाउनुस् यस्ता सावधानीः सामान्य अवस्थामा गोलभेडा खाँदा तपाईंलाई कुनै प्रकारको रोगको खतरा हुँदैन । तर यदि तपाईं गोलभेंडाको अत्यधिक सेवन गर्नुहुन्छ भने यसको बियाँ निकालेर प्रयोग गर्नुहोस् । यसका साथै, यदि तपाईंलाई पहिले पनि पत्थरीको समस्या भइसकेको छ वा अल्ट्रासाउन्डमा साना पत्थरी देखिएको छ भने तपाईंले गोलभेडा, भ्यान्टा र खुर्सानीको सेवन कम गर्नुपर्ने विशेषज्ञ सुझाउँछन् । यस्ता रोगीले बियाँ निकालेर प्रयोग गर्न सक्छन् । यसका साथै, धेरैले गोलभेडाको अचार बनाउन सिलौटो प्रयोग गर्दछन् । कुनै पनि मसला, अचार, फलफूल वा तरकारी पिस्नका लागि सिलौटोको प्रयोग नगर्नुहोस् । यसले तपाईंलाई पत्थरी हुन थप सघाउ पुर्याउँछ । गोलभेडा खाँदा शरिरलाई हुने फाइदाः गोलभेडामा भोक लाग्ने हर्मोनलाई कम गर्ने क्षमता हुन्छ । यसले तपाईंको तौल कम हुनुका साथै थुप्रै रोगबाट पनि राहत प्रदान गर्छ । गोलभेडामा भिटामिन सी, बिटाक्यारोटिन, लाइकोपिन, भिटामिन ए र पोटाशियमको प्रचुर मात्रा पाइन्छ जसले मुटुरोगको खतरा कम हुन्छ । गर्मीमा यसको सेवनन शरिरका लागि निकै फाइदाजनक हुन्छ । यी खाद्य पदार्थले पनि हुँदैन पत्थरीः गोलभेडाका साथै खुर्सानी, भ्यान्टालगायतका बियाँ भएका आहारले पत्थरीको आशंका बढाउने धेरै मानिसको आशंका छ । यस्तै, दुधमा क्याल्सियमको मात्रा धेरै हुने भएकाले यो पनि पत्थरीको कारण हुनसक्ने बताउँछन् । तर यस्तो होइन । दुधमा क्याल्सियमको मात्रा धेरै भएपनि मृगौलाको पत्थरीमा यसको कुनै सम्बन्ध हुँदैन । जबकी वास्तवमा क्याल्सियमको कमीले मृगौलामा पत्थरीको समस्याको खतरा अत्यधिक हुने गर्दछ । यी खानेकुरा सेवन गर्दा सावधानी अपनाउन्सः चिया, कफी, पालुङ्गो, धेरै नुनिला खानेकुरा, फास्ट फुड, बदामलगायतका खानेकुरा पत्थरीका कारण बन्न सक्छन् । यसका साथै सी–फूड र टेबल साल्टेड रेड मीटमा युरिक एसिड उच्च मात्रामा हुन्छन् जुन पत्थरीको कारण बन्ने गर्दछ । यसका साथै कम मात्रामा पानी पिउँदा पनि पत्थरी हुने सम्भावना उच्च हुन्छ ।
आँखा उपचारका लागि सिटी क्लिनिक
पाल्पा । कालीगण्डकी आँखा उपचार केन्द्र रामपुर, पाल्पाले आँखाका बिरामीलाई प्रभावकारी सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको छ । रामपुर नगरपालिका–७, किसानबारीको कार्यालयबाट सेवा दिइरहेको केन्द्रले कार्यालय समय बाहिर पनि नागरिकलाई थप सेवा दिन सिटी क्लिनिक सेवा शुरु गरेको अध्यक्ष हुतराज पोखरेलले बताउनुभयो । बुधबार नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य एवं पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष चकोरमान शाक्यले बेझाड बजारमा सिटी क्लिनिक भवनको उद्घाटन गर्नुभयो । उहाँले संसार देख्न वञ्चित रहेका नागरिकलाई विकट र दुर्गममा पुगेर सेवा दिने मुख्य उद्देश्य राखेर शुरु भएको पाल्पा लायन्स लाकौल आँखा अस्पतालले राम्रो सेवा दिँदै आएको बताउनुभयो । सिटी क्लिनिकमार्फत हरबखत यहाँका नागरिकलाई स्तरीय सेवा प्रवाह गर्न आँखा उपचार केन्द्रलाई अनुरोध गर्नुभयो । आँखा उपचार केन्द्रबाट वर्षेनि हजारौँ मानिसले सेवा लिइरहेका छन् भने आँखाका रोगीलाई अन्यत्र धाउनुपर्ने बाध्यता हटेको छ । रासस
फोरम नेपालकाे ८७ सदस्यीय समाजवादी ट्रेड यूनियन महासंघ घोषणा
काठमाडौं, वैशाख १८ । संघीय समाजवादी फोरम नेपालको श्रमिक संगठन समाजवादी लोकतान्त्रिक टे«ड यूनियन महासंघको एकीकरण घोषणा भएको छ । राष्ट्रिय लोकतान्त्रिक ट्रेड यूनियन महासंघ स्वतन्त्र र समाजवादी टे«ड यूनियन महासंघ नेपालबीच महासंघ एकीकरण भयो । मंगलबार राजधानीमा आयोजित एक समारोहमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले श्रमिक हकहित र संरक्षणको लागि संघर्षरत समाजवादी टे«ड यूनियन महासंघ एकीकृत भएको घोषणा गरेका हुन् । एकीकरणपछिको ट्रेड यूनियन महासंघको अध्यक्षको जिम्मेवारी नवराज दाहालले पाएका छन् । महासंघको सहअध्यक्षमा जोगीलाल यादव, वरिष्ठ उपाध्यक्षमा अर्जुन लम्साल छन् । उपाध्यक्षमा विन्देश्वर राय यादव, सुनितादेवी बराल, प्रेम भुजेल, सपना अर्याल र हेमन्त माण्डव छन् । त्यस्तै, महासचिवमा डिबी सरोज राई रहेका छन् । उपमहासचिवमा हरिश दाहाल, दयाराम राई, शैलेन्द्र बैद्य र बलराम चौधरी चुनिएका छन् । सचिवमा यज्ञकुमार राई, कुलमाया गोले, बासुदेव यादव, गोपाल राई, राजेन्द्र भुषाल र रामविलास यादव छन् । शोभा मण्डललाई कोषाध्यक्षको जिम्मेबारी दिइएर सत्तासी सदस्यीय टे«ड यूनियन महासंघ एकीकरण घोषणा भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको विशिष्ठ अतिथिमा पार्टीका वरिष्ठ नेता अशोक कुमार राई र सहअध्यक्ष राजेन्द्र श्रेष्ठको उपस्थिति थियो ।
नेपालमा मात्र ३१२ प्रजातिका फूल वनस्पति पाइने
काठमाडौँ । विभिन्न प्रजातिका फूल फुल्ने वनस्पतिमध्ये ३१२ प्रजाति नेपालमा मात्र पाइने गरेको छ । वनस्पति विभागले दिएको जानकारीअनुसार पाँच हजार ३०९ फूल फुल्ने वनस्पतिमध्ये नेपालमा मात्र ३१२ प्रजाति पाइने गरेको हो । जसमध्ये गुराँस ३१ किसिमका छन् । यसैगरी लेउ एक हजार एक, झ्याउ ढुसी दुई हजार ४६७, लाइकेन्स ७९२, झ्याउ एक हजार २१३, उनीउ ५८०, फूल नफुल्ने छ हजार ५३ र सल्लो ३३ रहेका छन् । विभागका सूचना अधिकारी शिशिर पन्थीले नेपालमा पाइने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिका रुपमा प्रयोग गर्न सकिने बताउनुभयो । “औषधि तथा तेल उत्पादन गर्न सकिने वनस्पतिलाई विभागले विशेष प्राथमिकता दिएको छ,”– उहाँले भन्नुभयो । नेपालमा रहेका वनस्पतिमध्ये ६० वनस्पति संकटापन्न अवस्थामा रहेको र १६ प्रजातिका वनस्पतिको संरक्षण र संवद्र्धनमा विभाग लागेको उहाँको भनाइ छ । रासस
ट्रकमा जीप ठोक्किदाँ १२ जनाको मृत्यु, ५ घाइते
नयाँदिल्ली, वैशाख १५ । भारत उत्तर प्रदेशको लखीमपुरको राष्ट्रिय राजमार्ग अन्तर्गग २४ सड्कखण्डमा शनिबार दिउँसो भएको दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भने घटनामा अन्य पाँच जना घाइते भएका छन् । प्रहरीका अनुसार खचाखच भरिएको जीप सड्कमा रोकिराखेको ट्रकमा ठोक्किदाँ सो घटना भएको हो । घटनामा परि दुई वर्षकी शिशु बचेकी छन् तर उनकी आमाको भने मृत्यु भएको छ । जीप यात्रुहरु लिएर शाहजहांपुरबाट सीतापुर जादै थियो । लखीमपुरको थाना पस गाउँमा भएको घटना विहान ९ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ । घाइते ८ जनालाई शाहजहांपुर जिल्ला अस्पतालमा उपचारका लागि पठाइएको थियो । तीमध्ये तीन जनाको अस्पतालमा मृत्यु भएको हो । बाँकीको उपचार भइरहेको छ बताइएको छ । के कारणले घटना भयो एकन नभएपनि ड्राइभर निदाउँदा उक्त घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
युवा विदेशिएपछि गाउँमा जनशक्ति अभाव
तेह्रथुम । रोजगारीका लागि युवा विदेशिन थालेपछि जिल्लामा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको चरम अभाव भएको छ । पढाइ, रोजगारी र अन्य अवसर खोज्दै युवा गाउँबाट पलायन भइरहेका छन् । युवाशक्तिले गाउँ छाडेपछि कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव भएको छ । वर्षेनी काम गर्ने जनशक्ति अभावकै कारण खेतीयोग्य जमिन, खेतबारी र बगान क्षेत्र जंगलमा परिणत भइरहेका छन् । एकपछि अर्काे गर्दै गाउँका लाठे र बलवान पाखुरेहरु रोजगारीका लागि विदेशिँदा गाउँका खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको छथर गाउँपालिका–२ का नारायण सुब्बाले बताउनुभयो । काम गर्ने मानिसको अभाव हुँदा खेतीयोग्य जमिन बाँझिएका छन् । “दुई वर्षअघिसम्म रु १५० मा पाइने एकजना खेताला अहिले रु ५०० दिन्छुभन्दा पनि पाइँदैन”, उहाँले भन्नुभयोे । आफ्नै देशमा रोजगारीको अवसर नपाउँदा अर्धशिक्षित तथा शिक्षित युवासमेत गाउँमा भेटिन छाडेका छन् । वैशाख पहिलो साता जिल्लाका अधिकांश गाउँमा मकै गोड्ने काम चलिरहेको छ । हिउँदे धान गोड्ने र अलैँची गोडमेल तथा चिया टिप्ने काम पनि चलिरहेको छ तर कामदारको अभावले किसानले समस्या व्यहोरिरहनुका साथै खेतीयोग्य जमिनको क्षेत्रफल पनि वर्षेनी घटदै गइरहेका छन् । गाउँमा हुने चाडपर्व, बिहे, भोजलगायत शुभकार्यमा समेत युवाको संलग्नता कम हुँदा पहिलेजस्तो रौनक नभएको आठराई गाउँपालिका–४ का वडाध्यक्ष श्यामकुमार भटराईले बताउनुभयो । उहाँले भन्नुभयोे, “अब त गाउँमा कसैको मृत्यु भयो भने मलामी जाने मान्छेको पनि अभाव छ, लास बोकेर घाटसम्म लैजाने युवा गाउँमा छैनन्, गाउँमा बूढापाका र केटाकेटीमात्रै भेटिन्छन् ।” खेतीपातीको काममा युवाको ध्यान जान नसकेको चर्चा गर्दै वडाध्यक्ष भटराईले भन्नुभयो, “खेतीपातीमा धेरै दुःख गर्नुपर्छ, मेहनत गर्नुपर्छ तर अहिलेको पुस्तामा मेहनत गर्ने क्रम पहिलेभन्दा धेरै घट्यो ।” ओयाक्जुङका चन्द्र मादेम्बाले भन्नुभयो, “लेखपढ जानेका केही बाँकी थिए, ती शहरतिर लागे, नपढेका केटा ठिटा सबै विदेश छन्”, । कामदार अभावले जिल्लामा एक हजार ४०० रोपनी जमिनमा लगाएको चिया बगान झाडीमा परिणत भएको छ । कामदार अभावले चिया उत्पादनमा पनि समस्या सिर्जना भएको सिंहदेवी चिया उत्पादक सहकारी सोल्माका अध्यक्ष खेमबहादुर मगरले बताउनुभयो । उहाँले भन्नुभयो, “बगान छ, गाउँमा काम गर्ने मान्छे पाइँदैनन्, मुना टिप्ने बेला समयमा मुना टिप्न नपाएर बगान सबै झाडी भइसकेको छ ।” गाउँमा युवा नहँुदा सामाजिक कार्यमा समेत अप्ठ्यारो परेको आठराई गाउँपालिका–३, ह्वाकुका लेखक भानुभक्त सिटौलाले बताउनुभयो । युवा जनशक्ति धमाधम विदेशिन थालेपछि स्थानीयस्तरका विकास निर्माणका काम पनि प्रभावित भएका छन् । भवन निर्माण, सडक निर्माणलगायत अन्य पूर्वाधार विकासका काममा मजदूर अभाव छ । जिल्लामा निर्माण भइरहेका सडकमा भारतीय र पश्चिम नेपालका युवाले आएर काम गरिरहेका छन् । निर्माण क्षेत्रमा कामदार अभाव रहेको निर्माण व्यवसायी कमल ढुंगानाले बताउनुभयो । अहिले जिल्लामा सञ्चालित उद्योग र निर्माणका काममा तराई क्षेत्र र भारतको विहारबाट कामदार ल्याएर काम लगाउनु परेको उहाँले गुनासो गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरका युवा भए सस्तो पनि हुने थियो, काम गर्न पनि सजिलो हुन्थ्यो तर गाउँमा युवा नै छैनन्, जिल्ला बाहिरबाट मगाइएका जनशक्ति महँगो पर्ने हँुदा विकास निर्माणका कामको लागत र ढिलाइ दुवै हुने गरेको छ ।” दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाको जनसंख्या एक लाख एक हजार ५७७ मात्र छ । वर्षेनी युवा रोजगारी खोज्दै विदेश जाने प्रवृत्ति नरोकिए अबको पाँच वर्षमा गाउँमा युवा नभेटिने नागरिक समाजका अध्यक्ष तुलसी संग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो, तस्थानीय चुनावपछि जनप्रतिनिधिको स्थानीय सरकार बनेकाले अब युवालाई स्वदेशमै रोजगार बनाउने कार्यक्रम बनाउनुपर्नेमा स्थानीय सरकारले अहिले युवालाई स्वदेशमै रोक्ने किसिमका ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । “गाउँमै बसेर काम गर्ने रहर त छ, तर वातावरण बनिसकेको छैन”, फेदाप गाउँपालिका–२, ओयाक्जुङका श्याम योगीले भन्नुभयो, “म दुई महिना भयो विदेशबाट गाउँ फर्किएको तर यही बसेर काम गर्ने ठाउँ नै पाइनँ ।” अर्ध शिक्षित युवाका लागि कृषि क्षेत्रमा आकर्षित गर्न सक्ने कार्यक्रम स्थानीय सरकारले ल्याइदिए सहज हुनेथियो भन्दै उहाले जोड दिनुभयो, “कुनै काममा लगानी पनि गरिएला, तर उत्पादनको बजार सुनिश्चित छैन, लगानी नै डुब्ला भन्ने डर मात्रै हुन्छ ?” जिल्लाबाट दैनिक ३० जनासम्मले राहदानी लिने गरेका छन् । जिल्लामा राहदानी लिनेको संख्या वर्षेनी वृद्धि हुँदै गएको जिल्ला प्रशासन कार्यालयको तथ्यांकले देखाउँछ । सो कार्यालयका अनुसार आर्थिक वर्ष २०७१÷७२ मा ८५७, २०७२÷७३ मा ९३१ र २०७३÷७४ मा एक हजार ९४ जनाले राहदानी लिएका छन् । चालू आवको हालसम्मको अवधिमा पनि कार्यालयले ८२० जनालाई जिल्लाबाटै राहदानी दिएको छ । यसबाहेक द्रुत गतिको सेवामार्फत दुई हजार ९२ जनालाई राहदानीका लागि सिफारिस दिइएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताउनुभयो । जिल्लाबाट विदेशिएकामध्ये अधिकांश युवायुवती मलेसिया, कतार, दुबई, साउदी अरबलगायत देशमा रोजगारीका लागि जाने गरेका छन् । रासस
सामुदायिक विद्यालयमा ४८ थान ल्यापटप हस्तान्तरण
सोलुखुम्बु । हाँको छेस्काम माध्यमिक विद्यालयलाई लाखौँ मूल्यको ल्यापटप निःशुल्क प्राप्त भएको छ । कम्प्युटर कक्षा सञ्चालनका लागि एक विदेशी नागरिकले उक्त ल्यापटप सहयोग गरेको विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद राईले बताउनुभयो । उहाँका अनुसार क्यानडाका नागरिक मेरी कृष्टिलेरोसले विद्यालयलाई ४८ थान डेल कम्पनीको ल्यापटप हस्तान्तरण गर्नुभएको हो । विगत लामो समयदेखि विद्यालयलाई विभिन्न प्रकारका शैक्षिक सामग्री उपलब्ध गराउँदै आउनुभएका क्यानेडियन नागरिक मेरी कृष्टिलेरोसले यस शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्ने गरी कम्प्युटर उपलब्ध गराएको प्रधानाध्यापक राईले बताउनुभयो । जिल्लाको सबैभन्दा विकट क्षेत्रमा कम्प्युटर कक्षाको व्यावहारिक ज्ञानसमेत विद्यालयबाट नै प्राप्त गर्ने भएपछि विद्यार्थीले खुशी व्यक्त गरेका छन् । कम्प्युटर कक्षाका लागि ६ कक्षादेखि माथिका विद्यार्थीले सहभागिता जनाउने विद्यालयले जनाएको छ । रासस
कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, पर्यटन र पूर्वाधार प्राथमिकतामा
सुर्खेत, वैशाख १० । कर्णाली प्रदेश सरकारको तीनमहिने नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदैछ । दिउँसो एक बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने र त्यसलाई पारित गर्ने कार्यसूची छ । सरकारका प्रवक्ता भूमिव्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीका अनुसार पर्यटन, कृषि, ऊर्जा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारिएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सोही बैठकले मुख्यमन्त्री सहायता कोष विधेयक, जलश्रोत उपयोग विधेयक र प्रदेश सडक बोर्ड विधेयकको मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको थियो ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट
ललितपुर, वैशाख १० । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको घरमा बम विस्फोट भएको छ । आइतबार साँझ यादवको ललितपुरको हात्तिबन स्थित घरमा बम विस्फोट भएको हो । लतिलपुर प्रहरीका प्रमुख एसएसपी गणेश ऐरले बम विस्फोट भएको पुष्टि गरे । प्रहरीका अनुसार एउटा बम आक्रमणकारीले विस्फोट गराएको र घर नजिकै एउटा शंकास्पद वस्तु फेला परेको छ । उक्त शंकास्पद वस्तु डिस्पोज गर्न यतिबेला सेनाको टोली घटना स्थलमा पुगेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डिएसपी नरेन्द्र चन्दले जानकारी दिए । कस्तो बम विस्फोट गराइएको भन्ने खुलेको छैन । बम विस्फोटबाट कम्पाउण्ड र झ्यालको सिसामा क्षति पुगेको छ ।
राष्ट्रिय योजना बनाउन पुस्तक बहुउपयोगी : सभामुख महरा
काठमाडौं, वैशाख ८ । सभामुख कृष्णबहादुर महराले नेपाल साधन, श्रम र सीपको दृष्टिकोणले धनी भएकाले समृद्धिका लागि अब ठिक ढंगले योजना बनाएर अघि बढ्न आवश्यक रहेको बताउनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीको “नेपालको कृषि, अर्थतन्त्रः विकास चुनौती र अवसरहरु” नामक कृतिको शनिबार राजधानीमा लोकापर्ण गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुलुक लामो राजनीतिक संक्रमणपछि विकास र समृद्धितर्फ केन्द्रित रहेको बताउँदै सभामुख महराले समृद्धि हासिल गर्ने सन्दर्भमा राष्ट्रिय योजना बनाउन पुस्तक ज्यादै उपयोगी सावित हुने विश्वास व्यक्त गर्नुभयो । आयुक्त एवं लेखक डा जोशीले आठ वर्षको अवधिमा तयार गरिएको पुस्तकमा कृषि क्षेत्रका चुनौती, आर्थिक वृद्धिदर, रोजगारी तथा गरिबी निवारण र खाद्य सुरक्षा प्रवद्र्धन सम्बन्धी विषयबस्तु समेट्ने प्रयास गरेको जानकारी दिनुभयो । पुस्तकका समीक्षक एवं गरिबी निवारण कोषका उपाध्यक्ष यमबहादुर थापाले कृषिका आयामलाई एउटा उपन्यासका रुपमा तयार गरिएको पुस्तक कृषि क्षेत्रको गीताको रुपमा जीवन्त रहने धारणा व्यक्त गर्नुभयो । अर्का समीक्षक डा माधव कार्कीले नेपालको ६२ वर्षको कृषि क्षेत्रका कथा र सूचना समेटिएको बौद्धिकसँगै व्यावहारिक दस्तावेजका रुपमा रहेको उक्त पुस्तकमा कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्ने उपाय देखाइएको छ भन्नुभयो । समारोहमा डा सुशील पाण्डेले विभिन्न क्षेत्रमा काम गरेको अनुभवलाई डा जोशीले एउटै पुस्तकमार्फत प्रस्तुत गर्नुभएबाट नेपाल र नेपालको अर्थतन्त्र एवं कृषि क्षेत्रकोबारे जान्न खोज्नेलाई गतिलो खुराक मिलेका बताउनुभयो । दिगो अनुन्धान तथा विकास केन्दबाट प्रकाशित ३७४ पृष्ठको उक्त पुस्तक चौंध खण्डमा विभाजन गरिएको छ । प्रथम पञ्च वर्षीयदेखि चौधौं योजनामा कृषि क्षेत्रका विकासका लागि अवलम्बन गरिएका नीतिगत तथा रणनीति, कार्यान्वयनको अवस्था, आर्थिक वृद्धिदर, कार्यक्रमका लक्ष्य तथा उपलब्धि, कार्यान्वयनमा देखिएका अवरोधको लेखाजोखा उक्त पुस्तकमा गरिएको छ । विभिन्न समयावधिमा नेपालको आर्थिक एवं कृषि क्षेत्रका उपक्षेत्रको वृद्धिदर, नेपालका मुख्य बालीको उत्पादकत्व र उत्पादन साधनको प्रयोगस्तर, चारदशकयता वन, सिँचाइ, कृषि र भूमिसुधारमा सरकारी स्रोत एवं वैदेशिक सहायता विनियोजनको वृद्धिजस्ता विषयमा पुस्तकमा सुक्ष्म विश्लेषण गरिएको छ । नेपालको जलवायु परिवर्तनबाट कृषि क्षेत्रमा पर्नसक्ने असर, कृषि अनुसन्धानको वर्तमान अवस्थाका साथै भूमि वितरण स्तरको कारणले खाद्य सुरक्षा र जीविकोपार्जनमा पर्नसक्ने असरहरुबारे पनि उल्लेख गरिएको छ ।
१५ वर्षीय साली बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं, वैशाख २ । सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट
गुणस्तरीय स्वास्थ्य सेवा दिन मुख्यमन्त्री पोखरेलको आग्रह
बुटवल, वैशाख १ । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई बढी जिम्मेवार र जवाफदेही बनाउनु पर्ने बताउनुभएको छ । प्रदेश नम्बर ५ मा आजदेखि शुरु भएको ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ जनजनमा स्वास्थ्य पहँुच हाम्रो अभियान कार्यक्रमको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले सरकारी अस्पतालमा भएका साधन स्रोत र जनशक्तिको अत्यधिक सदुयोग गरेर जनतालाई सेवा दिन निर्देशन दिनुभयो । मुख्यमन्त्री पोखरेलले गरीब जनतालाई सेवा दिने सरकारी अस्पतालका उपकरणलाई यो वा त्यो बहानामा प्रयोगविहीन नगर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशस्तरीय अस्पतालले सम्पूर्ण सेवा दिने वातावरण मिलाउनु पर्ने बताउँदै उपचारको अभावमा बाहिर जानुनपर्ने वातावरण मिलाउन आग्रह गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी स्वच्छ भए स्वास्थ्य सेवा पनि गुणस्तरीय हुने बताउँदै स्वास्थ्य रहन नियमित व्यायाम पहिलो आधार रहेको विचार व्यक्त गर्नुभयो । प्रदेशका प्रमुख सचिव शंकर पाठकको अध्यक्षतामा भएको अभियान शुभारम्भ कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्रालयका सामाजिक शाखा प्रमुख डा उमाशंकर चौधरीले अभियान सञ्चालनको उद्देश्यका सम्बन्धमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा योगसमेत गराइएको थियो नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गतको यो अभियान आज प्रदेश नम्बर ५ सहित सबै प्रदेशमा शुरु गरिएको छ ।
पहिलोपटक राजनीतिक अभियान बन्दै विद्यार्थी भर्ना अभियान
काठमाडौँ । विगतमा सरकारी औपचारिकतामा सीमित विद्यार्थी कार्यक्रम नयाँ शैक्षिक सत्र २०७५ मा पहिलोपटक राजनीतिक अभियानका रुपमा मनाइँदैछ । विगतमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्थाहरुले मात्र भर्ना कार्यक्रम मनाउँदै आएका थिए भने यसपटक प्रधानमन्त्रीदेखि उच्च राजनीतिक तहबाट अभियानमा सहभागिता हुन लागेको हो । नयाँ वर्षको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशको रारामा हुने पर्यटन महोत्सवका अवसरमा विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ भने वैशाख ५ गते मन्त्री, सांसद, सचिव र विशिष्ट व्यक्तिहरुले विभिन्न प्रदेश पुगेर अभियानमा सहभागिता जनाउनुहुनेछ । वैशाखको अन्तिम साता घरदैलो कार्यक्रम पनि हुनेछ भने भर्ना तथा पाठ्यपुस्तक वितरणको अनुगमन पनि हुनेछ । विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ को मूल नाराका साथ देशभर भर्ना अभियान सञ्चालनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले समन्वयात्मक रुपमा काम शुरु भएको छ । विसं २०६१ देखि विद्यार्थी भर्ना कार्यक्रम शुरु भएको हो । शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयले अभियानको कार्ययोजना तयार गरेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि अभियान सफल बनाउन स्थानीय तहलाई पत्राचार गरेको छ । आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य हुने विश्वव्यापी मान्यता र नेपालको संविधानको मौलिक हकको व्यवस्थालाई ध्यान दिँदै सरकारले समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि गुणस्तरीय आधारभूत शिक्षा सुनिश्चितताको दायित्वका निर्वाह गर्न लागेको शिक्षा, विज्ञान तथा प्राविधि मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बताउनुभयो । विद्यालय शिक्षाको तथ्याङ्कअनुसार प्राथमित तह उमेर समूह (५–९) वर्षका विद्यार्थीको खुद भर्नादरको राष्ट्रिय औसत ९७ दशमलव २ प्रतिशत छ । यो आँकडाले उक्त उमेर समूहका अझै २ दशमलव ८ प्रतिशत विद्यार्थी विद्यालय बाहिर छन् । शैक्षिकसत्र २०६१ मा सो तहमा भर्नादर ८० प्रतिशत थियो । गैरसरकारी संस्थाहरुले यो प्रतिशत अझ बढी हुन सक्ने जनाउँदै आएका छन् । भर्नामा आउने र बीचैमा कक्षा छाड्ने प्रवृत्तिमा पनि सुधार भएको छैन । आधारभूत तह (५–९) वर्षका विद्यार्थीको खुद भर्नादर ९२ दशमलव २ प्रतिशत छ । तराईका रौतहट, धनुषा, सर्लाही, बारा, पर्सा, मोरङ, रुपन्देही, पर्वत, जुम्ला, हुम्ला, प्यूठान, बझाङ, रोल्पा, सुर्खेत, दैलेख, बर्दिया, दार्चुला र कपिलवस्तुलगायतका जिल्लामा तुलनात्मक रुपमा बढी बालबालिका विद्यालय बाहिर छन् । सरकारले शैक्षिकसत्र २०७५ का लागि निःशुल्क पाठ्यपुस्तकका लागि रु दुई अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । सरकारले यही चैत २५ गतेभित्र सबै जिल्लामा पाठ्यपुस्तक उपलब्ध गराउने संकल्प गरेको छ । कलाकारसँग शिक्षामन्त्रीको छलफल यसैबीच, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण सफलमा सघाउन आज राष्ट्रियस्तरका कलाकारसँग अन्तरक्रिया गर्नुभएको छ । मन्त्री पोखरेलले एक व्यक्तिले एकजना विद्यार्थी भर्ना गर्न पनि आग्रह गर्दै भन्नुभयो, “कलाको क्षेत्रबाट विद्यार्थीलाई विद्यालयसम्म ल्याउन सहयोग गर्नुहोस् । यो राष्ट्र निर्माणका लागि महत्वपूर्ण अवसर पनि हुनेछ ।” कार्यक्रममा कलाकारहरु मनोज गजुरेल, सीताराम कट्टेल (धुर्मुस), केदार घिमिरे (माग्ने बुढा), रमित ढुङ्गाना, प्रदीप बम्जन, रोजी श्रेष्ठ, टंक आचार्यलगायतले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस