१५ वर्षीय साली बलात्कार गरेको आरोपमा पक्राउ
काठमाडौं, वैशाख २ । सालीलाई बलात्कार गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिका १२ का ३६ वर्षीय रत्नबहादुर घलेलाई १५ वर्षीय साली बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
घलेले गत वैशाखदेखि फागुनसम्ममा ती बालिकालाई पटक–पटक बलात्कार गरेको प्रहरीले जनाएको छ । घलेलाई जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थपी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । –नागरिक दैनिकबाट
दाङमा हलचल मच्छाएका एसएसपी धीरजप्रताप काठमाडौंमा
काठमाडौं, चैत्र २८ । नेपाल प्रहरीका कुशल अधिकृत एसएसपी धीरजप्रताप सिंहले महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको जिम्मेवारी पाएका छन् । प्रहरी संगठनमा जुझारु, इमानदार र कुशल अधिकृतका रुपमा पहिचान बनाएका सिंह यस अघि प्रदेश एकाई प्रहरी कार्यालय ( वाग्मती अञ्चल प्रहरी प्रमुख) को जिम्मेवारीमा थिए । दाङमा प्रहरी प्रमुख (एसपी) छदाँ उनले अफिम खेतीबिररुद्ध अभियान, नक्काली सिम प्रयोग गरि लूटपाट गर्ने ग्याङको सफाया गर्नेदेखि लिएर गुन्डागर्दी बिरुद्द आपरेशन संचालन गरेर शान्ति सुव्यवस्था कायम गर्नेमा ठूलो योगदान पुर्याएका थिए । दाङमा छदै एसपीबाट एसएसपीमा बढुवासँगै सरुवा भएर उनी तत्कालिन वागमती अञ्चल प्रहरी प्रमुख बनेका थिए । दाङ जानु भन्दा पहिलो उनी पर्सा प्रहरी प्रमुख थिए । नेपालको प्रमुख व्यापारिक नाकाबाट हुने सुन तस्करदेखि अवैध सामानको ओसारपसार विरुद्ध सक्रिय रुपमा अपरेशन संचालन गरेका थिए सिह र सफल पनि । एसपी धीरज भनेपछि अवैध काराेबार गर्नेकाे साताे जाने वातावरण बनेकाे थियाे वीरगंजमा । धेरै हदसम्म तस्करीकाे धन्दा पनि नियन्त्रण भएकाे बताइन्छ । प्रहरी संगठनमा चरम राजनीतिकरण र गुटबन्दी सक्रिय रहेका बेला नागरिकको जीऊ धनको सुरक्षा र शान्ति र अमनचैन कायम गर्न सधै लागि पर्ने सिंह महानगरीय प्रहरी अपराध महाशाखाका लागि उपयुक्त पात्र भएको जानकारहरु बताउँछन् । हत्या, हिंसा र संगठित अपराधविरुद्द सक्रियतापूर्वक अभियान चलाउन अनुभव बटुलेका सिंहका लागि काठमांडौमा शान्ति सुरक्षा अवस्था सुदृढ़ बनाउन चुनौती रहेको छ । यद्यपि राजधानीको अनुभव उनका लागि नयाँ भने होइन । पछिल्लो समयमा संगठित अपराधको हब बन्न थालेको काठमाडौको शान्ति सुरक्षाको अवस्था मजबूत बनाऊन उनले दाङ र बिरगंजमा छदाँ बटुलेको अनुभवले महत्व राख्ने सुरक्षा विद बताउँछन् । फाइल फाेटाे
सेयर बजारमा चलखेल बढ्योः मुल्य तलमाथि गर्न अर्थमन्त्री र गर्भनरको बहाना !
काठमाडौं, चैत २६ । नानाभाँती बहाना र हौवा पिटाएर सेयर मुल्य तलमाथि गराई नाफा लिन पल्केको एउटा समुहले फेरि एकपटक अर्थमन्त्री र गर्भनरको नाम भजाएर आईतबार सेयर मुल्य बढाएको छ । ससाना र कम ज्ञान भएका लगानीकर्तालाई आफ्नो स्वार्थअनुरुप सेयर बेच्न र किन्न बाध्य पार्ने यो समुहले आईतबार अर्थमन्त्री र गर्भनरले बजार सुधारको भाषण गरेको हल्ला फैलाएर मुल्य बढाउने खेल खेलेको छ । दुई साताअघि अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारलाई अनुपात्दक क्षेत्र भनेको हौवा पिटाएर मुल्य घटाउन यही समुह छलफल भएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।
बलिउडकी चर्चित अभिनेत्री अनुष्कालाई ‘दादा साहेब फाल्के’ अवार्ड
काठमाडौं, चैत्र २५ । बलिउडकी चर्चित अभिनेत्री अनुष्का शर्मालाई उनको अभिनयको उच्च प्रशंसा गर्दै ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो । अभिनेत्रीका रुपमा दर्शकको मन जित्न सफल भएर बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल अनुष्कालाई निर्माताको रुपमा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित गर्न लागिएको हो । अनुष्का शर्मा तथा उनका भाई कर्नेश शर्मा मिलेर क्लीन स्लेट फिल्म नामक प्रोडक्सन कम्पनीबाट उनी २५ वर्षकै हुँदा फिल्म ‘एनएच १०’ निर्माण गरेका थिए । जुन फिल्म बलिउडमा सफल हुनुको साथै फिल्मले समीक्षकको प्रशंसा पनि बटुलेको थियो । उनले गरेको कामको प्रशंसा स्वरुप ‘दादा साहेब फाल्के फाउण्डेशन’ले सम्मान गर्न लागेको हो । अनुष्काले आफ्नै प्रोडक्सन कम्पनीबाट ‘एनएच १०, ‘फिल्लौरी’ र ‘परी’ जस्ता फिल्म निर्माण गरिसकेकी छिन । २९ वर्षीया अनुष्काले आफूलाई बलिउडकै सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्रीका साथै सफल निर्माताको पहिचान समेत बनाउन सफल भएकी छिन । केही समय अघि क्रिकेटर विराट कोहलीसँग विवाह गरेकी सफल अभिनेत्री अनुष्का यतिबेला फिल्म ‘सुईधागा’को छायाँकंनमा व्यस्त छन् । अनुष्काले उनको करियरको सुरुवात २००७ मा मोडलको रुपमा गरेकी थिइन । २००८ मा उनले फिल्म ‘रब ने बना जोडी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन । गएको वर्ष उनले भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीसँग विवाह गरेकी थिइन ।
नियमित विद्यार्थीलाई मासिक रु २००
म्याग्दी । बेनी नगरपालिका–९गलेश्वरस्थित जडभरत आधारभूत विद्यालयमा विद्यार्थीलाई नगदसहितको सुविधा थप गरिएपछि विद्यार्थीलाई टिकाइराख्न र बीचैमा छाड्ने दर घटाउन सहज भएको छ । विद्यालयले वार्षिक न्यूनतम एक सय ६० दिन हाजिर हुने विद्यार्थीलाई वार्षिक रु दुई हजार ४०० दिन थालेपछि विद्यार्थी नियमित भएका छन् । प्रतिविद्यार्थी मासिक रु दुई सयसहित पाठ्य साम्रगी उपलब्ध गराउन थालिएपछि बीचमा नै विद्यालय छाड्ने विद्याथी पनि ह्वात्तै घटेको शनिबार विद्यालयमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । विद्यालयले आयोजना गरेको वार्षिक परीक्षाको नतिजा सार्वजनिक तथा नगद सुविधा हस्तान्तरण कार्यक्रममा वक्ताले सामुदायिक विद्यालयमा सुविधा थप गरी अंग्रेजी माध्यममा अध्ययनअध्यापन, शिक्षकलाई समयानुकूल तालीमका साथै विद्यार्थीलाई अनुशासन र आचरणमा सुधार आउने विभिन्न कार्यक्रम सञ्चालन गर्न सकेमा निजी विद्यालयसँग प्रतिष्पर्धा गर्न सकिने बताएका थिए । विद्यालयमा मोना यूकेका उपाध्यक्ष खिम शेरचनको पहलमा रु २० लाखको अक्षय कोष स्थापना भएको छ । सोही कोषको ब्याजबाट विद्यार्थीलाई मासिक रु दुई सय प्रदान गरिएको हो । विद्यालयमा न्यून आय भएका मजदूरका छोराछोरी मात्र अध्ययन गर्छन् । रासस
प्रहरीमाथि खुकुरी प्रहार
झापा । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन्। भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय भद्रपुरको टोलीले घटनास्थलबाटै पक्राउ गरेको छ । राईको खुकुरी प्रहारबाट महेशपुर प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रकाश खवास र प्रहरी जवान पूण्यप्रसाद पोखरेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । खवासको टाउकोमा र पोखरेलको देब्रे हात र टाउकोमा गम्भीर चोट लागेको छ । घाइते प्रहरीको मेची अञ्चल अस्पातल भद्रपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको छ । रासस
संघीय संसदको पहिलो अधिवेशन अन्त्य, के के भयो त संसदमा ?
काठमाडौं, चैत्र २० । गएको फागुन २१ गतेदेखि ,शुरु भएको संघीय संसदका पहिलो अधिवशेन मंगलबार अन्त्य भएको छ । राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र सभामुख कृष्णबहादुर महराले पढेर सुनाउदै संसदको पहिलो अधिवेशन अन्त्य भयो जानकारी गराएका थिए । ३० दिनसम्म चलेको संसदमा जम्म ९ दिनमा ११ वटा बैठक बसेका थिए । राष्ट्रपति, उपराष्टपति, प्रधानमन्त्रीले विश्वासको मत लिने, सभामुख, उपसभामुखको निर्वाचन, प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४” प्रधानमन्त्रीको सम्बोधनदेखि बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा शिक्षा अध्यादेश, २०७४ पारित लगायतका महत्वपूर्ण कार्य गर्दै आजबाट समाप्त भएको हो । यी हुन संसदको पहिलो अधिवेशनमा भएका प्रमुख गतिविधिः १.संघीय संसदको पहिलो अधिवेशन संगै प्रतिनिधि सभाको पहिलो बैठक २०७४ साल फागुन २१ गते सोमबार प्रारम्भ भई आज २०७४ साल चैत २० गते मंगलबारसम्म जम्मा ३० दिन चालु रह्यो । जसमध्ये ९ दिनमा ११ पटक बैठक बसी जम्मा १५ घण्टा ३० मिनेट ससंदीय काम कारवाहीमा व्यतित भयो । साथै २०७४ साल चैत १५ गते संघीय संसदको संयुक्त सदनको एउटा बैठक बसी २० मिनेट समय व्यतित भयो । २. २०७४ फागुन २१ गतेको बैठकमा प्रतिनिधि सभाले आफ्नो नियमावली नबनाएसम्म सभाको बैठक सञ्चालनको लागि “प्रतिनिधि सभाको अन्तरिम कार्यविधि, २०७४” सर्वसम्मतिबाट पारित भएको थियो । ३. २०७४ फागुन २२ गतेको बैठकबाट १३ सदस्यीय प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको गठन भएको थियो । २०७४ चैत १२ गतेको बैठकले उक्त समितिमा सदस्यको नाम हेरफेर गर्नुका साथै प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको कार्यक्षेत्रमा संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति नियमावलीको मस्यौदा गर्ने कार्य समेत थप गरिएको थियो । ४. २०७४ फागुन २६ गतेको बैठकमा प्रतिनिधि सभाको सभामुख पदको लागि भएको निर्वाचनमा सभामुख पदमा मा० श्री कृष्णबहादुर महरा निर्विरोध निर्वाचित हुनुभएको थियोे भने २०७४ चैत २ गतेको बैठकमा प्रतिनिधि सभाको उपसभामुख पदको लागि भएको निर्वाचनमा मा० श्री शिवमाया तुम्वाहाङ्फे बहुमतबाट निर्वाचित हुनुभएको थियो । ५. २०७४ फागुन २७ गते सम्माननीय प्रधानमन्त्रीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिन प्रस्तुत गर्नुभएकोमा उक्त प्रस्ताव २०८ मतले पारित भएको थियो भने विपक्षमा ६० मत परेको थियो । ६. २०७४ चैत १५ गतेको बैठकमा सम्माननीय राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभयो । ७. सम्माननीय राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशनको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन प्रति २०७४ चैत १६ गतेको बैठकमा माननीय श्री खगराज अधिकारी प्रस्तावक र माननीय श्री देवप्रसाद गुरुङ समर्थक भई प्रस्तुत भएको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । ८. यस अधिवेशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा २०७४ फागुन २८ गते यू.एस.बंगला एयरको उडान नं. ग्द्यन् द्दज्ञज्ञ को विमान दुर्घटना सम्बन्धमा विशेष प्रस्ताव र पूर्व प्रतिनिधिसभा सदस्य खुमबहादुर खड्काको निधन भएकोमा शोक प्रस्ताव पारित भएको थियो । ९. यसै अवधिमा सदनको विभिन्न बैठकहरुमा सम्माननीय प्रधानमन्त्रीले २०७४ चैत्र २ र चैत्र २० गते गरी दुई पटक र अर्थ मन्त्रीले २०७४ चैत्र १६ गते सार्वजनिक महत्वको विषयमा वक्तव्य दिनुभयो । १०.यस अधिवेशन अवधिभर “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४”, “राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४” र “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४” बैठकबाट पारित भएका छन् ।
बोनस एवं हकप्रद सेयर सूचीकृत
काठमाडौँ, चैत २० : नेपाल स्टक एक्सचेञ्जमा मंगलबार सिटिजन्स् बैंक इन्टरनेशनल सहित नेपाल बंगलादेश बैंक, ज्योति विकास बैंक, सहयोगी विकास बैंक र स्वावलम्बन लघुवित्तको बोनस तथा हकप्रद सेयर सूचीकृत भएको छ । पाँच वटै कम्पनीको गरि कुल दुर्इ करोड ३७ लाख ९९ हजार तीन सय ३२४ दशमलव ४३ कित्ता बोनस तथा हकप्रद सूचीकरण भएका छन् । मंगलबार सूचीकृत गराउने कम्पनीमध्ये सिटिजन्स् बैंकको सबैभन्दा बढी एक करोड ११ लाख १५ हजार चार सय ६७ कित्ता बोनस सेयर रहेको छ । त्यसैगरि नेपाल बंगलादेश बैंकको ८६ लाख ८८ हजार पाँच सय ७ कित्ता बोनस तथा एक हजार पाँच सय ५४ कित्ता हकप्रद सेयर सुचीकृत भएको छ । ज्योति विकास बैंकको २३ लाख दुर्इ हजार आठ सय ७२ दशमलव ४३ कित्ता बोनस, सहयोगी विकास बैंकको ८ लाख ४९ हजार चार सय ४७ कित्ता बोनस तथा स्वावलम्बन लघुवित्तको ८ लाख ४१ हजार चार सय ७७ कित्ता बोनस सेयर पनि मंगलबार नै नेप्सेमा सूचीकृत भएका छन्। स्रोत: मेरो लगानी
यूनाइटेड स्प्रिट्स नेपाल अब नेपाली युवाहरुको पूर्ण स्वामित्वमा
काठमाडौं । भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेड अन्तर्गतको युनाइटेड स्प्रिट्स नेपाल प्रालि नेपाली युवाको पूर्ण स्वामित्वमा आएको छ । नेपालका युवा उद्यमी राजेशवीर सिंह तुलाधारले उक्त कम्पनीको पूर्ण स्वामित्वमा लिएका हुन । तुलाधारको स्वामित्वमा आएसँगै उक्त कम्पनी नेपाल लिकर्स प्रालिको नामबाट सञ्चालन भएको जानकारी कम्पनीले दिएको छ । नेपालीको स्वामित्वमा कम्पनी आएपछि यसबाट राष्ट्रिय पूँजी र लगानीका क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने कम्पनीले जनाएको छ । मोरङको टंकिसिनबारीमा अवस्थित यस कम्पनीले एन्टिक्विटी, सिग्नेचर, म्याकड्वेल्स नम्बर वान ह्विस्की, गोल्डेन ग्रेप ब्रान्डी, ब्लु रिबान्ड जिन लगायतका विभिन्न १७ ब्रान्डका मदिराको उत्पादन गर्दै आएको छ । युवा उद्यमी तुलाधर स्व. भक्तवीर सिंह तुलाधरका सुपुत्र हुनु । उनका बुवाले भारतको युनाइटेड स्प्रिट्स् इण्डिया लिमिटेडसँगको व्यवसायिक साझेदारको रुपमा ४० बर्षअघि उक्त व्यवसाय शुरु गरेका थिए ।
पालुङटारलाई ४ नं प्रदेशको नमूना नगर बनाउने माओवादी नेता श्रेष्ठको उद्घोष
गोरखा, चैत्र १७ । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पालुङटारलाई ४ नम्बर प्रदेशको नमुना नगर बनाउने उद्घोष गर्नुभएको छ । शनिबार गोरखाको पालुङटार नगरपालिका ६ गाइखुर, कालामाटामा आयोजित ताल पोखरी मेलालाई सम्बोधन गर्दै श्रेष्ठले पालुङटारमा रहेको बिमानस्थल सुचारु गर्ने, ताल पोखरी, तालदेवि मन्दिर, चेपे, मर्स्यादी, लिग लिग कोट लगायतका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । प्रस्तावित स्मार्ट सिटिको रुपमा रहेको पालुङटारलाई व्यवहारमा कार्यान्वयन गरेर सम्मुनत स्मार्ट सिटि बनाउने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले कृषी क्याम्पस स्थापना गर्ने, औद्योगिक करिडोर स्थापना गर्ने र सडक बाटोको स्तरिकरण र निर्माणको लागि आफैले अगुवाई गर्ने बताउनुभयो । स्थानीय सरकार , प्रदेश सरकार र केन्द्र सरकार सङ्ग समन्वय गरेर विकास निर्माणको काम अघि बढाउछु श्रेष्ठले भन्नुभयो स् खुसी गोर्खाली समृद्ध गोरखा जिल्ला अभियानमा समर्पित छु । विकासका लागि स्थानीय सामाजिक सस्था, बुद्दिजिवी र जनप्रतिनिधिको साथको अपेक्षा राखेको बताउदै श्रेष्ठले भन्नुभयो स् विकास सबैको लागि हो । विकास सहर केन्द्रित भयो । सहरको विकास सङ्गै अब नगर र गाउँ को सबै कुना कन्दराको विकास हुन्छ । गोरखा जिल्लाको समग्र विकासमा निरन्तर कृयाशिल रहेको बताउदै श्रेष्ठले बोलेको कुरा पूरा गरेको स्मरण पनि गराउनुभयो । प्रत्येक बर्ष चैत्र पुर्णिामाको दिन ताल पोखरी युवा क्लबको आयोजनामा हुने मेलामा गोरखा जिल्लाको सबैभन्दा ठुलो धन राशि को १५ औ खुल्ला भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता र विविध सास्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।
सबै जनतालाई स्वच्छ खानेपानी पुर्याउँछु : मन्त्री बिना मगर
धनगढी, चैत १७ । खानेपानी मन्त्री बिना मगरले स्वच्छ र सफा खानेपानी देशका सबै जनताको पहुँचमा पुर्याउन आफू प्रतिवद्ध रहेको बताउनु भएको छ । प्रेस सेन्टर नेपाल र प्रेस चौतारी नेपालले धनगढी विमानस्थलमा आज संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा धेरै जनता आधारभूत रुपमा खानेपानीको सुविधा उपभोग गर्नबाट वञ्चित रहेको बताउनुभयो । ‘स्वच्छ खानेपानीको प्रयोग संविधानमै मौलिक अधिकारका रुपमा ईंगित गरिएकाले यो दायित्व पुरा गर्न चुनौति पनि छ,’ उहाँले भन्नुभयो, ‘तर सबै चुनौतिको सामना गर्दै स्वच्छ, सफा खानेपानी सबै जनताको पहुँचमा पुर्याउन म प्रतिवद्ध छु ।’ सबै जनतालाई खानेपानी पुर्याउने दायित्व बोकेको खानेपानी मन्त्रालय गम्भीर ढंगले यो दायित्व वहन गर्न लागि परेको मन्त्री मगरले बताउनुभयो । उहाँले निर्माणाधिन मेलम्ची आयोजनाको पानी काठमाण्डौंमा छिट्टै वितरण गर्ने गरि आयोजना निर्माणको कामले तीव्रता पाएको जानकारी दिनुभयो । आफ्ना दिवंगत श्रीमान प्रकाश दाहाल र क्यान्सरका कारण दिवंगत हुनुभएकी ज्ञानु दाहालको स्मृतिमा आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर १ मा सर्वसाधारणको क्यान्सर जाँच अभियानका लागि मन्त्री मगर धनगढी आईपुग्नुभएको हो । भरतपुर क्यान्सर अस्पतालको सहयोगमा कञ्चनपुर क्षेत्र नम्बर १ मा महिलाका लागि पाठेघर र ब्रेष्टको क्यान्सर चेकजाँच अभियान संचालन गर्न लागिएको मन्त्री मगरले जानकारी दिनुभयो । कञ्चनपुर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य बिना मगर मन्त्री नियुक्त भएपछि पहिलो पटक ७ नम्बर प्रदेश आउनुभएको हो ।
आगलागीबाट एक बालकको मृत्यु
इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । लामखुट्टे धपाउनका लागि बालिएको घुरबाट अचानक भएको आगलागीमा परी सुरजको जलेर मृत्यु भएको हो । आगलागी भएको घरमा सुरज एक्लै सुतेको कारण भाग्न नसकेकाले उनको जलेर मृत्यु भएको सुनसरीको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । आगलागीमा विन्देश्वरको तीन वटा फुसको घरसमेत जलेर नष्ट भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ता कपडा, भाडाकुँडालगायतका सामग्री जलेर नष्ट हुँदा करिब रु दुई लाख ५० हजार बराबरको क्षति भएको स्थानीय पवन रौनीयारले जानकारी दिनुभयो । स्थानीयवासी, नेपाल प्रहरी र इनरुवा नगरपालिकाबाट गएको बारुण यन्त्रणले आगलागी नियन्त्रणमा लिएका थिए । आगलागी पछि मरिक परिवार शोकमा डुब्नुका साथै घरबारविहीनसमेत भएका छन् । रासस
केन्द्रीय समिति ३ सय, पोलिटब्यूरो १ सय, यस्तो छ पार्टी एकताको तयारी
काठमाडौं, नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता करिब अन्तिम चरणमा पुगेका छ । दुबै पार्टीको संगठनात्मक एकीकरणदेखि अन्य विषयमा तयारी गर्न बनेका कार्यदलको औपचारिक प्रतिवेदनलाई एकता संयोजन समितिमा छलफल भएपछि अन्तिम स्वरुप दिइने बताइएको छ । कसरी हुन्छ छ त पार्टी एकता ? केन्द्रीय कमिटी : ३०० देखि ३५० एकीकृत पार्टीको केन्द्रीय कमिटी तीन सयदेखि साढे तीन सय सदस्यसम्मको बन्ने भएको छ । एमालेका २०६ र माओवादीका ९९ सदस्यलाई एकीकृत पार्टीमा समेट्ने विषयमा नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको छ । यद्यपि, दुवै पार्टीबाट थप केही नेताहरू समेटेर बढीमा ३५० सदस्यसम्मको केन्द्रीय कमिटी बनाउने तयारी छ । पोलिटब्युरो : १०० नजिक एकीकृत पार्टीको पोलिटब्युरोमा भने सयको हाराहारीमा सदस्य रहनेछन् । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् औसतमा सयजनाको पोलिटब्युरो बनाउने तयारी छ । स्थायी समिति : ३५ हाराहारी स्थायी समिति भने ३५ जनासम्मको बनाउने गरी छलफल चलिरहेको नेताहरूले बताए । यो पोलिटब्युरोको एकतिहाइ संख्या हो । तर, यो संख्यामा केही तलमाथि हुन सक्ने बताइएको छ । प्रदेश र जिल्ला कमिटी जम्बो एमालेका प्रदेश संगठन कमिटी ५० देखि १ सय १५ सदस्यसम्मका छन् । माओवादीका कमिटी पनि जम्बो भएकाले एकीकृत कमिटी कम्तीमा दुई सय सदस्यीय हुने स्थिति रहेको कार्यदलका एक नेताले बताए । जिल्ला कमिटी पनि कम्तीमा डेढ सयदेखि २ सय ५० सदस्यसम्मको हुने ती नेताको भनाइ छ । दुवै दलले गत फागुन ७ गते पार्टी एकतासम्बन्धी सात बुँदे प्रारम्भिक सहमति गरेका थिए । त्यही सहमतिको आधारमा एकतासम्बन्धी प्राविधिक काम गर्न एमाले नेता माधव नेपाल र माओवादी नेता रामबहादुर थापाको संयोजकत्वमा दुई कार्यादल बनेका थिए । नेपाल नेतृत्व र थापा नेतृत्वको समितिले कार्यदलभित्र पनि उपसमिति बनाएर काम गरेका थिए । पार्टीको राजनीतिक दस्ताबेज निर्माणसँग सम्बन्धित समितिका सदस्य देव गुरुङका अनुसार आइतबारबाट उपसमितिले तयार गरेको प्रतिवेदनमा छलफल सुरु भएको छ । पार्टीको मार्गदर्शक सिद्धान्त, कम्युनिस्ट आन्दोलनको इतिहास, नेपालको कम्युनिस्ट आन्दोलनका उपलब्धि र चुनौती, अरू पार्टीहरूलाई हेर्ने दृष्टिकोण लगायतका विषय राजनीतिक प्रतिवेदनमा समेटिनेछ । पार्टीको मूल राजनीतिक सिद्धान्त ‘माक्र्सवाद–लेलिनवाद’ हुनेछ । त्यस बाहेक एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद र माओवादीले भन्दै आएको माओवादको सिद्धान्तलाई पार्टीको महाधिवेशनसम्म वैचारिक छलफलमा लैजाने तयारी छ । एमाले हिँडेको शान्तिपूर्ण आन्दोलनको बाटो र माओवादी हिँडेको सशस्त्र आन्दोलनको बाटो दुवैबाट प्राप्त उपलब्धिलाई कम्युनिस्ट आन्दोलनको समग्र उपलब्धिको राजनीतिक प्रतिवेदनमा संश्लेषण गर्ने छलफल भइरहेको छ । संविधानसभाबाट संविधान जारी भएपछि मूल राजनीतिक आन्दोलन सकिएको र दुवै पार्टी शान्तिपूर्ण रूपमा प्रतिस्पर्धात्मक अभ्यास गर्ने विन्दुमा पुगेकाले अब एउटै राजनीतिक कार्यदिशा भएको ठहर छ । त्यस्तै संगठनात्मक प्रतिवेदन गर्न बनेको कार्यदलको उपसमितिले पनि प्रतिवेदन करिब टुंग्याएको छ । पार्टीको केन्द्रीय संरचना र भ्रातृ संगठनहरूको एकतासम्बन्धी सैद्धान्तिक खाकाहरू तयार गरिरहेको छ । कार्यदलका सदस्य बेदुराम भुसालका अनुसार राज्यको संरचनाअनुसारकै पार्टीका संगठनात्मक ढाँचाहरू तयार हुनेछन् । जसअनुसार केन्द्रीय कमिटी हुनेछ । त्यस मातहत पोलिटब्युरो र स्थायी समिति रहनेछन् । दुईजना अध्यक्ष हुने विधि यसअघि नै निर्धारित भइसकेको छ । पार्टीमा निर्वाचन, अनुशासन र लेखासम्बन्धी काम गर्ने तीनवटा आयोग बन्नेछन् । प्रदेश कमिटी, जिल्ला कमिटी, नगर र गाउँ कमिटीको संरचना हुनेछ । प्रदेश कमिटीमा पनि आयोगहरू राख्ने अवधारणा ल्याएको छ । केन्द्रीय कमिटीको संख्या कति बनाउने भन्ने चाहिँ टुंगो भइसकेको छैन । कार्यदलले टुंगो लगाएपछि प्रतिवेदनहरू वाम एकता संयोजन समितिमा पेस हुनेछ । संयोजन समितिले एकतासम्बन्धी अन्तिम प्रस्तावलाई अनुमोदन गर्नेछ।
क्रिकेटर सन्दीप लामिछाने गायक बनें, ‘प्रतिक्षा’ एल्बम सार्वजनिक गर्दै, भिडियाेसहित
काठमाडौं, चैत ११ । नेपाली क्रिकेटमा चर्चाको शिखरमा रहेका १७ वर्ष लेग स्पिनर सन्दीप लामिछान अव नयाँ परिचयका साथ आउदै छन् । इन्डियन प्रिमियर लिग (आइपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) जस्ता टिममा अनुबन्धन भएका सन्दीप अब गायकका रुपमा आउने भएका छन् । सनदीपले आफू ‘प्रतिक्षा’ नामको सोल एल्बम सार्वनिक गर्ने तयारीमा रहेको बताए । भर्खरै सन्दीपको गीत सार्वजनिक भएको छ । आफ्नो फेसबुकमा उनले “उदास थियो यो मेरो मन” बोलको गीतको ट्रेलर सार्वजनिक गरेका छन् । फेसबुकमा गीत सार्वजनिक गर्दै सन्दीपले लेखेका छन्, ‘गायन सधैं मेरो दोश्रो शोख हो, मेरो शोखलाई यो गीतमार्फत तपाईसामु प्रस्तुत गरेको छु । मेरो एल्बम ‘प्रतिक्षा’ तपाईमाझ प्रस्तुत गर्दैछु ।’
नेपालमा लगानी गर्न राजदूतको आग्रह
काठमाडौं, चैत १० । बेइजिङस्थित नेपाली राजदूतावासले शुक्रबार नेपालमा जलविद्युत् आयोजनामा लगानीका अवसर विषयक कार्यशाला आयोजना ग¥यो । चीनका लगानीकर्ता र नेपालका जलविद्युत् उत्पादक कम्पनी तथा चिनियाँ सञ्चारकर्मीका साथै दुवै देशका उच्च सरकारी अधिकारीको सहभागितामा भएको उक्त कार्यशालामा चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले तीनवटै तहका निर्वाचन सम्पन्न भएपछि नेपालमा राजनीतिक स्थायित्व र सुशासनको युग प्रारम्भ भएको बताउँदै ढुक्क भएर लगानी गर्न चिनियाँ उद्यमीहरुलाई आग्रह गर्नुभयो । नेपाल सरकारले उद्योग र लगानी मैत्री नीति अवलम्बन गरेको जानकारी दिँदै उहाँले नेपालका उपलब्ध अवसरको भरपूर उपयोग गर्न आग्रह गर्नुभएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । कार्यशालामा जलविद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीलाई सुदृढ तुल्याउन भएका कानुनी व्यवस्था, लगानीको स्वरुप, स्रोत र साधनको परिचालन, लगानीका प्रक्रियागत एवं कानुनी प्रावधानबारे विस्तृतरुपमा जानकारी दिइएको थियो । कार्यशालामा नियोग उपप्रमुख सुशीलकुमार लम्सालले नेपालका जलविद्युत् परियोजना आकर्षक एवं लाभदायी क्षेत्रकारुपमा रहेको जानकारी दिँदै चिनियाँ लगानी प्रवद्र्धनमा राजदूतावासले सहजकर्ताको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
ताजा अपडेटः नेप्से परिसूचक ०.८१ प्रतिशतले घट्यो
काठमाडौं । बुधवार नेप्से परिसूचक ० दशमलव ८१ प्रतिशत घटेको छ । कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १ घण्टाको व्यापारमा १० दशमलव १४ अंक घटेर १ हजार २ सय ४५ दशमलव ३३ विन्दुमा पुगेको हो । यस व्यापार अवधिमा ९७ कम्पनीको ६ सय ५५ पटकको व्यापारमा रू। ३ करोड ८६ लाख बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका सबै समूहको परिसूचक घटेपछि शेयर बजार ओरालो लागेको हो । बीमा समूहको परिसूचक १ दशमलव १६ प्रतिशत र लघुवित्तको १ दशमलव शून्य ६ प्रतिशत घटेको छ । साथै, बैङ्किङ समूहको परिसूचक शून्य दशमलव ८७ प्रतिशत, जलविद्युतको ० दशमलव ७६, विकास बैङ्कको ० दशमलव ५३, वित्त कम्पनीको ० दशमलव ५१, होटलको शून्य दशमलव ४२, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३९ र अन्य’ समूहको शून्य दशमलव २ प्रतिशत घटेको हो ।