नेपालकाे पहिलाे अाठ लेनकाे कलंकी–कोटेश्वर सडकखण्ड पूरा हुँदै

ललितपुर, पुस २८ । तपाई कलंकीको जाममा कतिपटक पर्नुभएको छ ? एक दुई वा त्योभन्दा बढी पनि हुनसक्छ । यदि तपार्इं काठमाडौँ उपत्यका बाहिर ओहोरदोहोर गरिरहनुहुन्छ भने दशौँपटकसम्म पनि जाममा पर्नुभएको हुनसक्छ । तर अब भने त्यो समस्याबाट मुक्ति पाउनु हुने भएको छ ।

चिनियाँ सरकारको सहयोगमा नेपालमा पहिलो पटक आठ लेन सडक कोटेश्वर–कलंकी–चक्रपथ विस्तारको काम भइरहेको छ । छ महिनामा नै सक्ने योजनाका साथ काम अघि बढेको हो । सडक पूरा भएपछि कलंकीको जाम हटेर काठमाडौँ उपत्यका बाहिर सहजरुपमा ओहोरदोहोर गर्न सकिन्छ ।

यो सडकखण्डमा ७५ प्रतिशतभन्दा बढी काम सकिएको काठमाडौँ चक्रपथ सुधार योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार कोटेश्वरदेखि धोबीघाटसम्मको साइड लेनको कालोपत्र गर्ने कार्य सकिएको छ । रेटेनिङ वाल, सवारी कुद्ने पुल र आकाशेपुल निर्माण सम्पन्न भइसकेको छ । केहि ठाउँको कार्य भने अन्तिम चरणमा पुगेको छ ।

कोटेश्वरदेखि धोबीघाटसम्म दुवैतिर मुख्य लेनमा कालोपत्र गर्ने कार्य भइरहेको छ । खसीबजारदेखि कलंकीसम्मको ‘अण्डर पास’ को काम पनि भइरहेको छ । फुटपाथ र सर्भिस मार्गको काम अघि बढेको छ, उहाँले भन्नुभयो, “तीव्र गतिमा काम भइरहेकाले केही समयमा नै सकिनेछ ।”

चिनियाँ सरकारको सहयोगमा निर्माणाधीन यो सडक निर्माणको ठेक्का चिनियाँ कम्पनी सङ्घाई कन्स्ट्रक्सन गु्रपले पाएको छ । पछिल्लोपटक भएको सम्झौताअनुसार आगामी जुलाईसम्म यसको निर्माण कार्य सक्नुपर्ने हुन्छ । भूकम्प र नाकाबन्दीका कारण यसका निर्माण कार्य सम्पन्न गर्न एक वर्षको अवधि थप गरिएको थियो, इञ्जिनियर अर्यालले भन्नुभयो, “अब जुलाईमा नै सक्ने गरेर काम अघि बढेको छ ।”

यो परियोजनाको निर्माणका काममा पूरै प्राविधिक जनशक्ति चिनियाँ नागरिक नै छन् । अदक्ष कामदारमा भने नेपाली र चिनियाँ दुवै छन् । यो सडकखण्डको निर्माणमा करिब ६० जना नेपाली र २०० चिनियाँ कामदार खटिएका छन्, उहाँले भन्नुभयो, “हामीले मुख्य गरेर अरु निकायसँग समन्वयको काम नै गरिरहेका छौँ ।”

पाइप लाइन, विद्युत्का पोल, सडक छेउका घर टहरालगायतका कारणले गर्दा काममा भने केहि ढिलाइ हुने गरेको छ । सडकमा बिच्छ्याइएका मेलम्ची र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका पाइप समय–समयमा सडकले गर्दा फुट्ने गरेको छ । सातदोबाटो, खसीबजार, महालक्ष्मीस्थानमा सडक छेउमा घर–टहरा छन् । आठ लेनको सडकको बाहिर पर्ने सर्भिस सडक पर्ने ठाउँमा भएका यी घर–टहराले गर्दा काम अघि बढ्न सकेको छैन, इञ्जिनियर अर्यालले भन्नुभयो, “हामीले पटक–पटक भन्दा पनि स्थानीयवासीले घर भत्काउन अटेर गरिरहेका छन् ।”

मुख्य लेन, सहायक मार्ग र सर्भिस मार्ग गरेर १० लेनको सडक निर्माण भइरहेको हो । चक्रपथ छिर्ने विभिन्न सडकहरु यो सडकखण्डमा पर्छ । यी सडकमा चक्रपथ बाहिर निस्कने सडक कुन निकायले कालोपत्र गर्ने भन्ने टुंगो लागेको छैन । परियोजनासँग यी सडकमा काम गर्ने सम्झौता थिएन । यी सडक नसुुध्रँदा त्यसको असर सडक निर्माण पछि पर्नेछ, उहाँले भन्नुभयो, “यी सडक कच्ची हुँदा नयाँ सडकमा समेत धुलो र हिलो फैलनेछ ।”

यो सडकको रु एक अर्ब लगानीमा यो सडकको निर्माण कार्य भइरहेको छ ।

कान्छा सांसद बने केसी

म्याग्दी, मंसिर २६ । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । प्रदेश नं ४ क मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन् चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क) मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । विसं २०४१ असार २४ गते जन्मनुभएका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य छन् । उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहनुभएका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए । दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेका थिए । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी पनि हुन् । मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्षसमेत हुन् । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए । स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरेका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए । म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

टेलिसेन्टर प्रभावकारी भएन

कलैया, मंसिर २६ । बारा जिल्ला हुलाक कार्यालयले सर्वसाधारणलाई सूचना प्रविधिमा पहुँच पु¥याउने उद्देश्यले जिल्लाको तीन ठाउँमा सञ्चालन गरेको टेलिसेन्टर सेवा प्रभावकारी हुन सकेको छैन । कार्यालयका प्रमुख अदालतप्रसाद कुर्मीका अनुसार आवश्यक कर्मचारीसहित सिमरा, निजगढ र अमलेखगञ्ज गरी तीन ठाउँमा टेलिसेन्टर सञ्चालनका लागि फोटोकपी, फ्याक्स, कम्प्युटर, प्रिन्टर, टेलिफोन, इन्टरनेटको व्यवस्था गरिएकामा नगन्य संख्यामा सेवाग्राही सेवा लिन आउने गरेकाले सो सेन्टर प्रभावकारी हुन नसकेको हो ।

निःशुल्क मुटु शिविर सम्पन्न

म्याग्दी, मंसिर १६ । जलजला गाउँपालिका–३ मल्लाजमा शुक्रबार सम्पन्न निःशुल्क मुटु शिविरमा ८०० जनाले सेवा लिएका छन् । काठमाडाँैको मनमोहन कार्डियो थेरासिक सेन्टर, गंगालाल हृदयरोग केन्द्र, जयन्ती मेमोरियल ट्रस्ट र अमेरिकाको युनीभर्सिटी अफ कोलराडोको सहयोगमा मल्लाज स्वास्थ्य चौकीमा सो शिविर सञ्चालन गरिएको हो । जलजला गाउँपालिकाको मल्लाज, बाँसखर्क, लेकफाँट, शालीजाका साथै म्याग्दीको बेनीका ८०० जना सर्वसाधारणले सेवा लिएका शिविरका संयोजक विमला न्यौपानेले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण, इसिजी, इकोका साथै निःशुल्क औषधि वितरण र परामर्श सेवा दिइएको थियो । शिविरमा वरिष्ठ चिकित्सक भगवान कोइराला, गंगालाल हृदयरोग केन्द्रका कार्यकारी प्रमुख डाक्टर ज्योतेन्द्र शर्मा र अमेरिकी चिकित्सकको टोलीले सेवा दिएका थिए । मुटुरोगको उपचार गराइरहेका पुराना बिरामीको उपचारमा निरन्तरता र नयाँ बिरामी पहिचानका साथै मुटुरोग न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको संयोजक न्यौपानेले बताउनुभयो । गाउँमै विशेषज्ञ चिकित्सकको उपस्थितिमा सेवा पाउँदा सर्वसाधारणलाई राहत मिलेको छ । पछिल्लो समय नेपालमा मुटु, मिर्गौला, उच्च रक्तचाप, चिनीलगायत नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको छ । अस्वस्थ्य खानपान र विलाशी जीवनशैलीका कारण नसर्ने रोगको समस्या बढेको चिकित्सकले बताएका छन् । शिविरमा उपचारका लागि आएका बिरामीलाई मुटुरोगबाट बच्ने उपायको विषयमा परामर्श दिइएको थियो ।

‘वामगठबन्धनको दुई तिहाइ सपना मात्र’

राजविराज, मंसिर १५ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव मनिषकुमार सुमनले अगामी निर्वाचनमा वामगठबन्धनले दुई तिहाइ मत ल्याउन नसक्ने बताएका छन् । सप्तरी क्षेत्र नं २ को (ख) प्रदेशसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका नेता सुमनले आज रासससँग कुरा गर्दै उनले वामगठबन्धनले सदयौंदेखि मधेसमा बसोवास गर्ने मधेसी जनतालाई हेप्ने र ठग्ने काम गरेकाले मंसिर २१ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभामा निर्वाचनमा मधेसी जनताले वामगठबन्धनलाई भोट नदिने जिकिर गरे। नेता सुमनले वामगठबन्धनका पार्टीहरु मधेसीको हक अधिकार विपरीत संविधान जारी गरेको र जारी भएको संविधान पनि संशोधन प्रक्रियामा विपक्षमा उभिएकाले उनीहरुलाई मधेसी जनताले भोट नहाल्ने र २ नं प्रदेशमा हरेक सिटमा मधेसी गठबन्धनको बहुमत आउने दाबी उनले गरे । वाम गठबन्धनले बहुदलीयलाई दबाएर एकदलीय शासन ल्याउन खोजेको आरोप लगाउँदै नेता सुमनले विभेद्कारी शक्ति परास्त नभएसम्म र मधेशमैत्री संविधान नबन्नेसम्म मधेशी जनताको आन्दोलन जारी रहने बताए । मधेशी जनताको चाहनाअनुसार नै राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपालबीच तालमेल भई मधेशी गठबन्धन बनेको भन्दै मधेशी जनताले राजपा र फोरमलाई मतदान गरेर आफ्नो ताकत देखाउन पनि आग्रह गरे ।

साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं, मंसिर १३ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को आयोजनामा हुने साफ महिला पन्ध्र वर्षमुनि (यु–१५) फुटबल प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्ने भएको छ । महासंघले बुधबार सार्वजनिक गरेको खेल तालिकानुसार नेपालले बंगलादेशको ढाकास्थित वीरश्रेष्ठ शहीद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम कमलापुरमा आगामी पुस २ गते बंगलादेशसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी नेपालले आफ्नो दोस्रो खेलमा पुस ४ गते भारतको सामना गर्नेछ भने तेस्रो तथा अन्तिम खेल पुस ६ गते भुटानसँग खेल्नेछ । राउण्ड रोविन लिगअनुसार हुने उक्त खेलमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले पुस ९ गते फाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानका गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कान्ति लोकपथ राष्ट्रिय राजमार्गः चेतनाथ संजेल

नवीन लुईटेल ललितपुर, मंसिर ४ । राजधानीलाई तराईसँग जोड्ने कान्ति लोकपथ द्रुतमार्ग छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता बाम गठबन्धनका एक उम्मेद्वारले ब्यक्त गरेका छन् । तराई जोड्ने वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएका दक्षिणकाली–हेटौंडा र बनेपा–सिन्धुली राजमार्गले ठूला यात्रुवाहक र मालवाहक सवारी थेग्न नसक्ने हुनाले पनि कान्ति लोकपथलाई छिटो भन्दा छिटो निर्माण सम्पन्न गराउने प्रतिबद्धता ल्लितपुर क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेद्वार चेतनाथ सञ्जेलले गरेका छन् । माल्टामा मतदाताहरुमाझको घरदैलो कार्यक्रममा बोल्दै उनले कान्ति लोकपथलाई छिटो भन्दा छिटो सम्पन्न गरेर जनतालाई सहयोग गर्ने वचन दिए । उनका अनुसार ठेकेदार कम्पनी र आयोजनाले सडक विस्तार कार्य तीव्र गति नदिँदा निर्धारित समयमा योजना सकिने सम्भावना टरेको हो र । कान्ति लोकपथ आयोजनामा भएको ढिलासुस्ती र अपारदर्शिताको छानवीन गर्न पहल गर्ने मेरो प्राथमितामा छ , उनले भने र्, यो लोकपथलाई तत्काल राष्ट्रिय प्राथमिकताको राजमार्गका रुपमा शिघ्र कार्यान्वयनमा ल्याउने प्राथमिकता छ । कान्ति राजमार्गलाई कछुवाको गतिबाट छिटो हिडाउन म पहल गर्नेछु , उनले भने र्, सडक विस्तारका क्रममा देखीएका समस्या समाधान गर्दै लैजानुपर्छ , सडक विस्तारका क्रममा भत्काइएका घरलाई क्षतीपुर्ति दिनुपर्छ । हेटौंडाको बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म कान्ति लोकपथको लम्बाइ ९० किलोमिटर छ । आफ्नो क्षेत्रको सडक स्तरोन्नती गर्ने, भट्टेडाँडामा सुविधा सम्पन्न अस्पताल बनाउने उनको योजना छ । यसैगरी उनले कृषिलाई वैज्ञानिक र व्यावसायीकरण गर्ने, खाडी मुलुकमा रोजगारीका लागी गएका नेपाली युवालाई देशमै राखेर कामको सिर्जना गर्ने, बिजुली नपुगेका घरमा बिजुली पु¥याउने, पर्यटनको संभावनालाई मुर्त रुप दिने लगायतका योजना अघि सारेका छन् । परम्परागत जात्रा, मठ मन्दिर आदीको संरक्षणमा जोड दिने प्रतिबद्धता छ ।        

कैलालीका मुक्त कमैया र सुकुम्वासी भन्छन्ः लालपूर्जा दिनेलाई भोट दिन्छौं

लोकेश धामी कैलाली, कार्तिक २९ । आसन्न चुनाव नजिकिँदै जाँदा कैलाली जिल्लाका मुक्त कमैया र सुकुम्वासीले आफूहरूको उचित पुनःस्थापनाको पहल गर्नेलाई भोट दिने बताएका छन् । विगत चुनावका बेला नेताहरुले स्थायी बसोबासको व्यवस्था गरिदिन्छौं भनी आशावादी बनाएका भएपनि अहिले आएर धोका दिएकाले आसन्न चुनावमा भने जसले समस्या समाधान गर्छु भनेर प्रतिबद्धता जनाउँछन्, उसैलाई भोट दिने उनीहरुले बताएका हुन् । अहिले पनि जिल्लाका अधिकांश सुकुम्बासी तथा मुक्त कमैयाले जग्गाको लालपुर्जा पाउन सकेका छैनन्, जसले गर्दा राज्यबाट पाउने खानेपानी लगायतका सेवा सुविधाहरु पाउन सकेका छैनन् । वर्षौंदेखि आफ्ना समस्या समाधानका लागि नेताहरुलाई आग्रह गर्दा पनि अहिलेसम्म कुनै सुनुवाई नभएकाले मुक्तकमैया र सुकुम्बासीहरुलाई मंसिरमा हुने चुनावमा कस्ता व्यक्तिलाई भोट दिने वा नदिने भन्नेबारे सचेत भएका छन् । चुनावको खुममा मात्रै घरदैलोमै आएर आफूहरुको समस्या समाधानका लागि बाचा गर्ने तर पूरा गर्ने राजनीतिक दलका नेताहरुप्रति अहिले भने कैलालीका मुक्त कमैया तथा सुकुम्बासीहरु सचेत भएका हुन् । धनगढीको पुरानो हवाई मैदानको जग्गा ओगटेर बसेका झण्डै ५६ मुक्त कमैया र १२ परिवारले अझंैसम्म जग्गाको लालपुर्जा पाएका छैनन् । विगत चुनावमा उम्मेद्वारहरुले धेरै आश्वासन दिएको भएपनि अहिलेसम्म समस्या समाधान हुन नसकेको भन्दै अब वर्षौंदेखिको समस्या हल गर्ने नेतालाई भोट दिने विगत लामो समयदेखि पुरानो एअरपोर्टमा बस्दै आएकी झुमा टमटाले बताइन् । आश्वासन दिने तर जितेर गएपछि नेताहरुको बिर्सिने परिपाटीले गर्दा यहा“का मुक्त कमैया तथा सुकुम्बासी निकै हैरान छन् । मुक्त भएको १७ वर्ष भइसक्दा पनि अझैसम्म जग्गा नपाएको उनीहरुको गुनासो छ । विगत लामो समयदेखि एकै ठाउँमा बसोबास गर्दा पनि स्थायी बसोबासको ठेगान नहुँदा सुकुम्बासी तथा मुक्त कमैया निकै समस्यामा छन् । यस पटकको निर्वाचनमा उनीहरु समस्या समाधान गर्ने शर्तमा उम्मेदवारलाई भोट हाल्ने तयारीमा रहेको पुरानो एअरपोर्टकै मुक्त कमैया रामु चौधरीले बताए । अहिलेसम्म यो बस्तीमा शुद्ध खानेपानी प्रवन्ध हुन सकेको छैन । मुख्य बजारसंगै जोडिएको यो सुकुम्बासी तथा मुक्त कमैया टोलमा बत्ति पनि भर्खरै जडान गरिएको छ । तर, मुक्त कमैयाले भने नेताहरुको आश्वासनले लालपुर्जा पाइहालिन्छ भनेर पक्की घर निर्माण गर्न थालिसकेका छन् । नेताहरुबाट पाएको बचन भने पूरा हुन नसकेको उनीहरुको गुनासो छ ।

नयाँ ढंगबाट तरकारी बजार संचालन गर्ने

बनेपा, कात्तिक २२ । चार वर्षअघि बनेपामा स्थापना भएको तरकारी बजारलाई नयाँ व्यवस्थापनले नयाँ ढङ्गले सञ्चालन गर्ने भएको छ । काभ्रे कृषि बजार मल्टी पर्पोज प्रालिले आज बनेपामा पत्रकार भेटघाटको आयोजना गरी कृषि क्षेत्र र तरकारीका लागि विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ । नौ रोपनी क्षेत्रफलमा रहेको उक्त तरकारी बजारमा १२३ वटा स्टल रहेका छन । एकचालीस जना शेयर सदस्य रहेको मल्टी पर्पोज प्रालिले तरकारी बजारका लागि रु तीन करोड ५० लाख लगानी गरेको सो प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए । “तरकारी बजारबाट वार्षिक रु ३० अर्बको कारोबार हुन्छ,” उनले भने । कृषकले उत्पादन गरेको तरकारीको उचित मूल्य सिधै पाउने र बिचौलियालाई विस्थापन गरिने योजना बनाइने उनले बताए । काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला, पनौती, ढुंखर्क, रविओपी, सिपाली, रोशी, मंगलटार, पाँचखाल, मण्डन देउपूर लगायत ठाउँबाट बजारमा दैनिक तरकारी संकलन हुने गर्दछ । संकलित तरकारी स्थानीय बजार हुँदै कालीमाटी, बल्खुलगायत ठाउँमा पुग्ने गरेको छ । कृषि बजारमा दैनिक १० टन तरकारी संकलन हुने गर्छ । काठमाडौंस्थित कालीमाटी बजारको कूल खपतको ११.५३ प्रतिशत तरकारी काभ्रेपलाञ्चोकबाट संकलन हुने गरेको कालीमाटी थोक तथा खुद्रा बजारको आव २०७३–७४ को तथ्यांकमा उल्लेख छ ।

निर्वाचन पर्यवेक्षण: सय सदस्यीय युरोपेली टोलीको खर्च ४२ करोड

काठमाडौं, कात्तिक २२ ।  युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा गरिन् । सरकारको निमन्त्रणामा इयुबाट एक सयजनाको पर्यवेक्षण टोली आउँदै छ, जसका लागि इयुले ३५ लाख युरो करिब (४२ करोड रुपैयाँ) बजेट उपलब्ध गराएको छ । ‘हामी अनुगमनमा खटिएका छौँ, सात प्रदेशका ६३ जिल्लामा हामी पुग्नेछौँ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख पर्यवेक्षक जोभ्कोले भनिन्, ‘हाम्रो अनुगमनका लागि इयुले ३५ लाख युरो छुट्याएको छ ।’ उनले १० र २१ मंसिरमा हुने निर्वाचन नेपालको लोकतान्त्रिक विकासको महत्वपूर्ण चरण भएको तथा इयुको उपस्थितिले निर्वाचन समावेशी र पारदर्शी पुष्टि हुने पनि जिकिर गरिन् । जोभ्कोले तीन दिनयता प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, प्रमुख दलका शीर्ष नेता तथा परराष्ट्रसचिव शंकरदास बैरागीलगायतसँग भेटेर निर्वाचन तयारीबारे जानकारी लिएकी छिन् । इयुको १० जनाको मुख्य टोली र ३८ जनाको टोलीले विधिवत् रूपमा मंगलबारदेखि काम थालेको उनको भनाइ छ । आसन्न निर्वाचनमा इयु, कार्टर सेन्टरसहित चारवटा अन्तर्राष्ट्रिय संस्थाले पर्यवेक्षण गर्ने इच्छा व्यक्त गरेका छन् । निर्वाचन पर्यवेक्षणको नाम ‘मिसन नेपाल’ युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन नेपाल नाम दिइएको छ । इयुका अनुसार मिसनमा एक सयभन्दा बढी पर्यवेक्षक रहनेछन् । निर्वाचन विश्लेषकहरूको मुख्य टोली ८ कात्तिकदेखि नै काठमाडौंमा छ । मुख्य टोलीले निर्वाचन प्रक्रियासँग सम्बन्धित राजनीतिक, निर्वाचन एवं निर्वाचन प्रक्रियासम्बन्धी कानुनी मुद्दाहरूको विश्लेषण गर्नेछ । टोलीलाई बन्दोबस्ती तथा सुरक्षासम्बन्धी विज्ञहरूले सहयोग गर्ने जोभ्कोले बताइन् । इयु प्रमुख पर्यवेक्षक जोभ्कोसहित इयु सदस्य राष्ट्र र नर्वेका गरी ३८ दीर्घकालीन पर्यवेक्षक १७ कात्तिकमा नेपाल आइपुगेका हुन् । सबै प्रदेशमा परिचालित भएका उनीहरूले आ–आफ्ना क्षेत्रमा निर्वाचन प्रक्रियाको पर्यवेक्षण गरी काठमाडौंमा रहेको मुख्य टोलीलाई प्रतिवेदन पेस गर्नेछन् । जोभ्कोका अनुसार इयु सदस्य राष्ट्रका साथै नर्वे र स्विट्जरल्यान्डका बीसजना अल्पकालीन पर्यवेक्षक पहिलो मतदानको दिनभन्दा केही दिनअघि मिसनमा संलग्न हुनेछन् । अरू २४ जना दोस्रो मतदानका लागि आइपुग्नेछन् । उनीहरूले मतदान, मतगणना र मतपरिणाम तालिकीकरणको पर्यवेक्षण गर्नेछन् । मिसनमा युरोपेली संसद् सदस्य एवं काठमाडौंस्थित युरोपेली दूतावासका कूटनीतिक कर्मचारीको समेत संलग्नता हुनेछ । पर्यवेक्षकलाई कसले गर्छ अनुगमन ? निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनका लागि आउने विदेशी पर्यवेक्षकका लागि आयोगले आचारसंहिता जारी गरेको छ । गृह, परराष्ट्र, अर्थ मन्त्रालय तथा निर्वाचन आयोगका कर्मचारी सहभागी भएको पर्यवेक्षण समिति र एकाइले विदेशी अनुगमनकर्ताहरूको अनुगमन तथा व्यवस्थापन गर्ने ढकालले बताए । ‘पर्यवेक्षकहरूले कहाँ पर्यवेक्षण गर्न जाने हो, त्यसबारे आयोगलाई लिखित रूपमा जानकारी दिनुपर्छ, त्यसपछि समितिले त्यसबारे निर्णय गर्नेछ र आवश्यक सुरक्षाको प्रबन्ध पनि गर्नेछ,’ ढकालले भने, ‘आयोग र सरकारको रोहवरमा विदेशी पर्यवेक्षकले पर्यवेक्षण गर्नुपर्छ । उनीहरूले आचारसंहिता लागू नगरे देश निकालाका लागि सिफारिस गर्ने अधिकार हामीसँग छ ।’ टोलीको कार्यादेशमा के छ ? इयुका अनुसार मिसनलाई निर्वाचन प्रक्रियाका सबै पक्षको पर्यवेक्षणका साथै निर्वाचन कुन हदसम्म अन्तर्राष्ट्रिय तथा क्षेत्रीय प्रतिबद्धता एवं राष्ट्रिय कानुनअनुरूप सञ्चालन भएको छ भनी मूल्यांकन गर्ने कार्यादेश छ । इओएम नेपालस्थित इयु नियोग, इयु सदस्य राष्ट्र तथा इयुका सबै संस्थाबाट स्वतन्त्र छ । इयुले कानुनी कार्यढाँचा र यसको कार्यान्वयन, निर्वाचनसम्बन्धी प्रशासनिक कार्य, दलहरूका चुनावी अभियानसम्बन्धी गतिविधिहरू, राज्यका संस्था र नागरिक समाजको भूमिका, आमसञ्चारमाध्यमको आचरण, मतदान, मतगणना र तालिकीकरण, निर्वाचन सञ्चालनको वातावरण, गुनासो र उजुरी प्रक्रियाको पर्यवेक्षण गर्नेछ । पर्यवेक्षक टोलीले दोस्रो निर्वाचन मितिको केही दिनपछि नै प्रारम्भिक प्रतिवेदन र सम्पूर्ण निर्वाचन प्रक्रियाको अन्त्यमा सिफारिससहितको अन्तिम प्रतिवेदन प्रकाशित गर्नेछ । प्रमुख पर्यवेक्षक जोभ्कोले निर्वाचन प्रक्रियामा मात्रै आफ्नो सरोकार रहेको, तर परिणामसँग सरोकार नभएको बताइन् । -नयाँपत्रिकाबाट

राज्य दमन: रोहिंग्या समुदायको जोखिमपूर्ण निर्वास यात्रा, फाेटाेफिचर

म्यान्मारको रखाइन प्रान्तमा पछिल्ला केही महिना यता लगातार हिंसा भड्किएको छ । हिंसाबाट बचेर अहिलसम्म लाखौं रोहिंग्या समुदायका मानिसहरु बंगलादेश पुगेका छन र यो सिललिा चलिरहेको छ । अन्तराष्ट्रिय शाणार्थी नियोगका अनुसार प्रत्येक मिनेटमा सयौं रोहिंग्या मुस्लिमान समुदायका मानिसहरु बंगलादेशमा रहेको शाणार्थी शिविरमा पुग्ने गर्छन र तिनीहरुको अवस्था दर्दनाक हुने गेरको छ । शाणार्थी शिबिरको अवस्था नाजुक छ र अझै नाजुक बन्दै छ । शिविरको चारैतिर पानी र दलदले हिलो छ । नदीको पानी जमीनतिर फैलिदै छ । र अवस्था विग्रिदै छ । म्यान्मारको नदी पार गरेर शाणार्थी शिबिरमा पग्ने खोज्ने शाणार्थीहरुका लागि थप जटिल अवस्था सृजना गरेको छ । र सयौं मानिस जोखिममा पर्ने गरेका छन । हजारौं वालबालिका कुष्पोषणाको सिकार बनेका छन ।    

यमनी विद्रोहीद्वारा प्रहार गरिएको क्षेप्यास्त्र ध्वस्त पारिएको साउदी अरेबियाको दाबी

रियाद, कात्तिक १९ । यमनको हुथी विद्रोही समूहले प्रहार गरेको मिसाइल साउदी अरबले रियाद विमानस्थल नजिकको आकाशमै ध्वस्त पारिदिएको छ । यमनी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेको क्षेप्यास्त्रलाई साउदी हवाई सेनाले निस्तेज पारेको हो । आकाशमै ध्वस्त पारिएको क्षेप्यास्त्रका केही टुक्रा विमानस्थल आसपास खसेका थिए । यसले साउदीको नियमित हवाई सेवामा कुनै असर नपरेको साउदी अरेबियाले जनाएको छ । साउदी अरेबियाले यसअघि पनि हुथी विद्रोहीका मिसाइल खसालेको दाबी गर्दै आएको थियो । तर यसअघि कुनै पनि मिसाइल घना बस्ती भएको क्षेत्र नजिक खसेका थिएनन् ।

सत्ताको दुरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न कांग्रेसलाई ओलीको चुनौती

झापा, कात्तिक १७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दललाई चुनाबमा राज्यशक्तिको दूरुपयोग नगरी स्वच्छ प्रतिस्पर्धा गर्न चुनौती दिएका छन । एमाले अध्यक्ष ओलीले निर्वाचनपछि मुलुक समृद्धिको दिशामा जाने र जनचाहना अनुसारको शासनसत्ता सञ्चालन हुने बताएका छन । झापाको दमकमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले भने– “अबको एकमात्र राजनीतिक उद्देश्य समृद्धि हो, निर्वाचनपछि जनचाहनाअनुसारको शासनसत्ता सञ्चालन हुन्छ र मुलुक समृद्धिको दिशामा जान्छ ।” अध्यक्ष ओलीले वाम गठबन्धन यही स्वार्थ पूर्तिका लागि मात्र भएको छ भन्दै मुलुकमा रहेको बेरोजगारी अन्त्य र गरिब, विपन्न एंव उत्पीडितको हकअधिकारको संरक्षण गर्ने गरी वाम गठबन्धनले यही सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने बताए । उनले नेपाली काँग्रेसलगायतका दललाई चुनावमा स्वच्छ प्रतिस्पर्धा गर्न, गलत लाञ्छना लगाउने काम नगर्न र सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताको उल्लङ्घन नगर्नसमेत आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्तबाट सबैप्रति धन्यावाद ज्ञापन

काठमाडौं, कातिक १६ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादलले दोस्रो चरणअन्तर्गत आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि राजनीतिक दलको उल्लासपूर्ण सहभागितामा उम्मेदवारी मनोनयन दर्ता भएकोमा खुशी प्रकट गर्दै सवैप्रति धन्यवाद ज्ञापन गरेका छन । पत्रकारसँग कुराकानी गर्दै उनले उम्मेदवारी दर्तामा देखिएको मीत्रभाव र उत्साहलाई निर्वाचन आचारसंहिता पालनामा पनि कायम राख्न राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिए ।

निर्वाचन सार्ने कुनैपनि गतिविधि नगर्न सरकार र कांग्रेसलाई एमाले अध्यक्ष ओलीको चेतावनी

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कुनै पनि खालका गतिविधि नगर्न सरकार र सत्तारुढ कांग्रेसलाई चेतावनी दिएका छन । अध्यक्ष ओलीले लोकतन्त्रको मसिहा ठान्ने कांग्रेसले लोकतान्त्रिक प्रक्रियाबाट वाम गठबन्धन बन्दा आत्तिन नहुने बताए । बाम गठबन्धन लोकतान्त्रिक प्रक्रियामार्फत् बनेको तर्क गर्दै त्यसबाट नआत्तिन पनि नेपाली कांग्रेसलाई सचेत गराए । बुधबार जनमोर्चा नेपाल र जागरण परिषदका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले लोकतन्त्रलाई सुदृढ बनाउँदै मुलुकलाई समृद्ध बनाउन बाम गठबन्धन गर्नुपरेको पनि दावी गरे । अध्यक्ष ओलीले नेकपा एमालेले देश र जनताको हितप्रति समर्पित भएर बाम दलहरुलाई एकतावद्ध बनाउने अभियानको नेतृत्व लिएको दावी पनि गर्नुभयो । उहाँले कुनै निजी वा वैयक्तिक स्वार्थ लेनदेनको आधारमा वाम गठबन्धन नबनेको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले पार्टीमा विलय भएको जनमोर्चा नेपाल र जागरण परिषदका नेता, कार्यकर्तालाई उचित जिम्मेवारी दिने आश्वास पनि दिनुभयो ।

वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा उच्च हुँदा वैज्ञानिकको चिन्ता

काठमाडौं, कात्तिक १३ । गतवर्ष विश्वको वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा अहिलेसम्मकै उच्च रहेको पाइएको छ । विश्व मौसम संघ डब्लुएमओका अनुसार सन् २०१६ मा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा ४ सय ३ दशमलव ३ पिपिएम पुगेको हो । सन् २०१५ मा वायुमण्डमा कार्बनडाइअक्साइडको मात्रा ४ सय पिपिएम थियो । यो वृद्धि गएको १० वर्षको औषत वृद्धिको ५० प्रतिशत उच्च रहेको डब्लुएमओले जनाएको छ । मानवीय गतिविधि साथै एल निनोको प्रभावका कारण कार्बनडाइअक्साइडको मात्रा गएको ८ लाख वर्ष यताकै उच्च भएको हो । डब्लुएमओले ५१ वटा देशमा गरेको अध्ययनबाट निष्कर्ष निकालेको हो । कार्बनडाइअक्साइडको मात्रा बढेसँगै विश्वको तापमान बढ्न नदिने लक्ष्य पूरा गर्न कठिन भएको छ । यस्तै वायुमण्डलमा तापक्रम वृद्धि गराउने मिथेन ग्यासको मात्रा पनि उच्च दरमा बढेकोमा वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।