डायलासिस सेन्टर स्थापना गर्न एक करोड सहयोग
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि लायन्स क्लबले एक करोड ११ लाख ६८ हजार पाँच सय सहयोग गरेको छ ।
लायन्स क्लब अन्तर्राष्ट्रिय गुठी (एलसीआईएफ)ले नेपालमा सञ्चालित विभिन्न परियोजनालाई सहयोग गर्ने क्रममा जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर स्थापनाका लागि उक्त रकम सहयोग गरेको हो ।
जिल्लाकै ठूलो उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि लायन्स क्लब अफ तनहुँ खैरेनीटार, लायन्स क्लब अफ तनहुँ म्याग्दे र लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले पहल थालेका थिए । तीनवटै लायन्स क्लबले लायन्स क्लब नेपाल इन्टरनेसनल तीन सय २५ एललाई उक्त अस्पतालमा डायलासिस सेन्टर सञ्चालनका लागि अनुरोध गरेको लायन्स क्लबका डिष्ट्रिक क्याबिनेट सचिव सुजित हीराचनले जानकारी दिए । उनका अनुसार अब अस्पतालमा डायलासिस सेन्टर स्थापनाका लागि प्रक्रिया थालिनेछ ।
जिल्लामा दमौली अस्पतालमा मात्रै डायलासिस सेन्टर रहेको र मिर्गौला पीडितलाई सास्ती भइरहेकाले क्लबले अस्पतालमा डायलासिस सेन्टर स्थापनाको प्रक्रिया अगाडि बढाएको थियो ।
मिर्गौला पीडित बिरामीका लागि आवश्यक उपचार गर्न अस्पतालमा छ थान मेसिन राख्ने तयारी गरिएको हिराचनले बताए । उनले भने, “यो भेगमा डायलासिस सेवा अति आवश्यक भइसकेको छ । यहाँका बिरामीलाई दमौली, पोखरा जानुपर्ने बाध्यता छ । यही डायलासिस सेन्टर स्थापना गर्न सकिए उहाँहरुलाई सहज हुन्छ ।” रासस
कांग्रेस र नाउपाका सांसदले रोष्ट्रम घेरेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
काठमाडौं । प्रतिपक्षको नाराबाजीपछि सुदुरपश्चिम प्रदेश सभा बैठक आधा घण्टाको लागि स्थगित भएको छ। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ती पार्टीको रेशम चौधरी पक्षधर सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेराउ गरेपछि सभाभुख भीम भण्डारीले बैठक आधा घण्टाको लागि बैठक स्थगित गरेका हुन्। नागरिक उन्मुक्ति पार्टीकी समानुपातिक सांसद इन्दिरा गिरीलाई असंवैधानिक रुपमा गरेको कारबाहीलाई सभामुख सदर गरेको र प्रदेश सरकार गठनका सन्दर्भमा प्रदेश प्रमुख नजिर मियाले असंवैधानिक काम गरेको भन्दै उनीहरुले नाराबाजी गरेका थिए।
पाटनमा यार्सा टिप्न पुगेकाको दुर्घटना बीमा
मुगु । यार्सा टिप्न मुगुका विभिन्न पाटनमा जाने सङ्कलकहरुको सुरक्षाका लागि दुर्घटना बीमा गरिएको छ । यार्सागुम्बा पाइने पाटन अन्तर्गत मुगुम कार्मारोङ्ग गाउँपालिकाले सङ्कलकहरुको दुर्घटना बीमा गरेको हो । ठूलो सपना बोकेर पाटन पुगेका, जाँदै गरेका र फर्कने क्रममा पालिकाका सिमानाभित्र कोही घाइते भएमा उपचारमा सहयोग पुगोस् र कसैको मृत्यु भइहाले आश्रित परिवारलाई सहयोग पुगोस् भनेर गाउँपालिकाले आथिक वर्ष २०७६÷७७ देखि दुर्घटना बीमा शीर्षकमा बजेट छुट्याउँदै आएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवाशचन्द्र रावलले जानकारी दिए । ‘यो बीमा प्राप्त गर्न वैधानिक तरिकाले पालिकाको प्रवेश शुल्क तिरेरको हुनुपर्छ । वनमा प्रवेश शुल्क लिँदा गाउँपालिकाले सङ्कलकको आवश्यक व्यक्तिगत विवरणसँगै लिने गरेको छ’, उनले भने । पाटनमा सुरक्षाका लागि खटिने सुरक्षाकर्मी, स्वास्थ्य टोली र हेराला वन सुरक्षा युवादस्तालाई पनि यस बीमा कार्यक्रममा समेटिएको रावलले बताए । उनका अनुसार पालिकाले बीमाका लागि चालु आवमा रु पाँच लाख बजेट विनियोजन गरेको छ । गत वर्ष यस योजनाबाट दुईजनाको परिवार लाभान्वित भएको रावलको भनाइ छ । उनका अनुसार बीमाबापत पीडित परिवारले न्यूनतम रु ५० हजार र अधिकतम रु एक लाख ५० हजारसम्म रकम पाउनेछन् । पालिकाको सीमित बजेटले थोरै भए पनि पीडामा पर्ने व्यक्ति र परिवारलाई राहत पुगोस् भनेर यो प्रयास सुरु गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए । यो कार्यमा सङ्घीय र प्रदेश सरकारले पनि लगानी गर्नुपर्ने उनको भनाइ छ । ‘यार्सा खरिदकर्ताले राजस्व नेपाल सरकारलाई तिर्छन् । पाटनमा यार्सा टिप्नु भनेको बाघको मुखबाट दात निकाल्नु सरह हुन्छ । यार्सा टिप्न जाने हजारौँ सङ्कलकको जीवन र आश्रित परिवारको भरणपोषणका लागि राज्यको दायित्व निर्वाह गर्नुपर्छ’, अध्यक्ष लामाले भने, ‘कर्णाली प्रदेश सरकारले कर्णालीवासीको दुर्घटना बीमा कार्यक्रम लागू गरेको धेरै भए पनि यार्सा सङ्कलक भने यसबाट लाभान्वित हुन सकेका छैनन् ।’ बीमा प्राप्तिका जटिल प्रक्रिया हुँदा गरिब तथा विपन्न परिवार यस कार्यक्रममा समभागी हुन नसकेका अध्यक्ष लामाको भनाइ छ । आगामी दिनमा यार्सा सङ्कलकको अनिवार्य बीमा गर्ने नीति सरकारले नै लिनुपर्नेमा उनले जोड दिए। मुगुका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्वा सङ्कलनका लागि यही जेठ १५ गतेदेखि वन प्रवेश खुल्ला गरिँदैछ । बर्सेनि पाटनमा सयौँ यार्सा सङ्कलक बिरामी तथा घाइते हुँदै आएका छन्भने दर्जन बढीले ज्यान गुमाउने गरेका छन् । पालिकाको बीमा योजनाले पीडित र आश्रित परिवारलाई ठूलो राहत पुग्ने स्थानीय कार्मा सेराफ लामाले बताए । समयानुसार बीमा रकम समायोजन हुनुपर्ने उनको भनाइ छ ।
व्यास नगरपालिकाको मत पुनः मतगणना गर्न अदालतको आदेश
दमौली । तनहुँको व्यास नगरपालिकामा खसेको मत पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गरेको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो । उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले विसं २०७९ जेठ १२ गते निर्वाचन आयोग समेत पाँचजनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए।स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए। प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गरेका थिए ।
सोडारीलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने एमालेको निर्णय
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई एमालेले विश्वासको मत दिने भएको छ । आज बसेको एमाले संसदीय दलको बैठकले विश्वासको मत लिने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । मुख्यमन्त्री सोडारीले भोलि विश्वासको मत लिँदै छन् । आज एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप पनि लगाएको छ । एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने निश्चित भएको छ।विश्वासको मत दिए पनि एमालले सरकारमा भने तत्काल सहभागी नहुने जनाएको छ । २१ र २२ गते प्रदेशसभा बैठक आह्वान गरिए पनि एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको थियो।
भरतपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना
चितवन । भरतपुर अस्पतालमा नवनिर्मित रक्तसञ्चार केन्द्र औपचारिक रुपमा सञ्चालनमा आएको छ । केन्द्रको एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले भरतपुर अस्पताल आउने विरामीलाई रगत पाउन झन्झटिलो प्रकृया अब भने अन्त्य भएर जाने विश्वास व्यक्त गरिन्। अस्पतालले रक्तसञ्चार केन्द्र स्थापना गर्ने जमर्को गरेकोमा खुसी व्यक्त गरिन्।आगामी दिनमा स्तरोन्ती गर्ने, सेवा विस्तार गर्ने योजना बनाउन जोड पनि दिइन्। भरतपुर मेडिकल सिटी भएकाले छिमेकी जिल्लालगायत भारतबाट पनि विरामी आउने भएकाले रगतको धेरै माग रहेकाले यो केन्द्रले रक्तसञ्चारको कामलाई थप व्यवस्थित गर्दै लैजाने उहाँले उल्लेख गरिन्।अहिले भरतपुर अस्पतालमा भइरेको पूर्वाधार विकास आशा लाग्दो ढङ्गबाट अगाडि बढिरहेको पनि उनको भनाई थियो । कार्यक्रममा भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेल, मेडिकल सुपरिटेन्डेन्ट श्रीराम तिरारी, नेपाल रेडक्रस सोसाईटी चितवनका अध्यक्ष हरि पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए। रक्तसञ्चार केन्द्र सञ्चालनमा आएसँगै भरतपुर अस्पताल उपचार गर्न आउने विरामीले सहजै रगत पाउने विश्वास गरिएको छ । अहिले २०० पोका भण्डार गर्ने क्षमतासहित सञ्चालनमा आएको केन्द्र अस्पतालको बी ब्लकमा रहेको छ ।
एमाले तनहुँमा कँडेल निर्वाचित
तनहुँ । नेकपा एमालेको तनहुँ जिल्ला अध्यक्षमा हरिराज कँडेल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी विष्णुभक्त सिग्देललाई ८८ मतान्तरले हराउँदै उनी निर्वाचित भएका हुन् । मंगलबार सकिएको मतगणनामा कँडेलले २ सय ९२ ल्याउँदा सिग्देलले २ सय ४ मत पाएका थिए। जिल्ला अध्यक्षमा निर्वाचित भएका कँडेल स्थायी कमिटी सदस्य खगराज अधिकारी निकट हुन् । त्यसबाहेक अन्य पदाधिकारीमा पनि अधिकारी समूहले पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहलाई पराजित गरेको छ। जिल्लाका केन्द्रीयस्तरका नेताहरु किरण गुरुङ, टुकराज सिग्देल, भगवती न्यौपानेले खगराजकै समूहलाई समर्थन गरेका थिए । उपाध्यक्षमा खगराज समूहका राजेश्वर ढकालले २ सय ७९ मत पाएर विजयी भए भने पृथ्वीसुब्बा समूहका श्रीराम कार्कीले २ सय १४ मत प्राप्त गरे । सचिवमा प्रदीपराज अधिकारी विजयी हुँदा अनिल पाण्डे पराजित भए । खुल्ला उपसचिवमा आरके पोखरेललाई हराउँदै खिमबहादुर कुमाल विजयी भए । त्यस्तै, महिला उपसचिवमा सुनिता नेपाली विजयी हुँदा बसुन्धरा घर्ती पराजित भइन् । विजयी सबै अधिकारी प्यानलकै हुन् । ५ सय ८५ प्रतिनिधि रहेको अधिवेशनमा ५ सय ६० मत खसेको थियो ।
३ बजे प्रदेशसभा बैठक बस्दै
हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज मङ्गलवार दिउँसो ३ बजे बस्ने भएको छ। प्रदेशसभा सचिवालय हेटौँडाका अनुसार बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची छ। संसदमा पेस भएको उक्त सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। उनका अनुसार बैठकमा विशेष समयको व्यवस्था समेत रहेको र उक्त समयमा सांसदहरूले धारणा राखे। वैशाख ३१ गतेबाट सुरु भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा दलगत रूपमा सांसदहरूले शुभकामना व्यक्त गरे भने प्रदेश उच्च शिक्षा ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गरिएको थियो।
पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन
काठमाडौं । नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ। रेग्मीको आज बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको कांग्रेस नेता शेखर कोइरालले जानकारी दिए। रेग्मी राष्ट्रिय सभाका पूर्वसदस्य हुन्। उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने छ।उनी शिक्षण पेसा हुँदै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए ।
स्कुल बसमा अगजनीप्रति भरतपुर महानगरको गम्भीर आपत्ति
चितवन । चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनीप्रति महानगरले गभ्भीर ध्यानाकार्षण भएको जनाएको छ । सोमबार भरतपुर महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै आइतबार विहान ८ः२५ बजेको समयमा भरतपुर वडा नम्बर २० चनौली बजारबाट अन्दाजी १ किमी दक्षिणतर्फ रहेको दद्राहनी पुल नजिकै भएको आगजनीको घोर निन्दा गरेको छ । मोटर साईकलमा आएका ६ जनाको अज्ञात समूहले आइतबार विहान हेभन बोर्डिङ स्कुल भरतपुर–५ को बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको विद्यार्थी बोक्ने बसमा आगजनाी गरेको थिए । महानगरपालिकाले विद्यालय शान्ति क्षेत्र घोषणा भइसकेको अवस्थामा समेत शान्ति क्षेत्रको अवधारणा र मर्म विपरित विद्यार्थीलाई भयभित पार्ने कार्य हुनु दुखद र निन्दनीय कार्य भएको जारी विज्ञप्तीमा भनिएको छ । कही कसैबाट यस्ता प्रकारका गतिविधि नगर्न नगराउन सबै पक्षको ध्यानाकार्षण गर्दै शान्तिपूर्ण तरिकाले पठनपाठन गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सहयोग पुराउन भरतपुर महागनर सम्बन्धित सबै पक्षलाई यसै प्रेस विज्ञप्तीमार्फत आह्वान पनि गरेको छ ।
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात
भरतपुर मेयर कप फुटबल : गौरीगन्ज र विश्वप्रकाशको विजयी सुरुवात भरतपुर । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा जारी भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगमा आज दुई खेल सम्पन्न भएको छ। कृष्णपुरको मैदानमा भएको समूह ए को खेलमा गौरीगन्ज माविले ढड्डाघारी माविलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलमा गौरीगन्ज १-० ले विजयी भएको हो। गौरीगन्जको जितमा रोहन गुरुङले निर्णायक गोल गरे । उनी नै म्यान अफ दि म्याच भए । यो जितपछि गौरीगन्ज तालिकामा ३ अंंकसहित शिर्ष स्थानमा छ।लिग अन्तर्गत शारदानगर माविको मैदानमा भएको समूह सी को खेलमा विश्वप्रकाश माविले जित हात पारेको छ। विश्वप्रकाशले ईडेन गार्डेनलाई २-० ले हरायो। विश्वप्रकाशको जितमा कप्तान साहिल परियार र आदित्य बरामले एक-एक गोल गरे। साहिलले खेलको तेस्रो मिनेटमा नै गोल गर्दै अग्रता दिलाए। २५ औं मिनेटमा आदित्यले गोल गरेपछि विश्वप्रकाशले २-० को जित हात पार्यो। विश्वप्रकाशका अभय कुमाल म्यान अफ दि म्याच घोषित भए। यो जितपछि समूह सी मा रहेको विश्वप्रकाशले स्पष्ट ३ अंंक बटुलेको छ। उता वर्षाका कारण समूह बी को ग्रीनल्याण्ड पब्लिक स्कुल र सिद्धार्थ माविबीचको खेल भने स्थगित भएको छ। अमर मावि पटिहानीमा हुने भनिएको खेल वर्षाले मैदान हिलाम्य भएपछि स्थगित गरिएको सह आयोजक चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए। यो खेल सोमबार दिउँसो ४ः३० बजे कृष्णपुरमा हुनेछ। सोमबार नै अन्य दुई खेल पनि हुनेछ। समूह बी पारिजात इङलिस बोर्डिङ र आदिकवि भानु मावि भिड्नेछन्। यो खेल दिउँसो ४ः३० बजे अमर मावि पटिहानीमा हुनेछ। यस्तै सोही समयमा शारदानगरमा जनप्रिय इङलिस बोर्डिङ र लक्ष्मी माविबीच खेल हुनेछ।लिग जेष्ठ १९ गतेसम्म चल्नेछ। प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन्। सहभागी २४ विद्यालयलाई छ समूहमा विभाजन गरिएको छ।
गण्डकी सरकारलाई सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश : 'दीर्घकालीन निर्णय नगर्नू'
काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले नवनियुक्त मुख्यमन्त्री अधिकारी नेतृत्वको सरकारलाई नियमित काम बाहेक दीर्घकालीन असर पर्ने निर्णय नर्गन आदेश दिएको हो । साथै अदालतले विश्वासको मतको बारेमा संबैधानिक ब्याख्याको आवश्यकता रहेको भन्दै जेठ ८ गते पूर्ण सुनुवाई गर्ने मिति तोकेको छ । उक्त दिन अन्तरिम आदेश जारी हुने नहुने टुंगो लाग्ने छ । यस्तै सर्वोच्चले प्रदेश सभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि जारी गरेको छ।प्रदेश सरकारले पाएको विश्वासको मतको संबिधान विपरीत रहेको भन्दै कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा रिट दर्ता गराएको थियो । वैशाख २३ गते प्रदेशसभामा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको मतबारेको प्रस्तावमा सभामुख कृष्ण धितालले ६० सदस्यमा ३० सांसदको समर्थनलाई विश्वासको मत प्राप्त भनी गरेको घोषणाविरुद्ध रिट दायर भएको थियो । संविधानको धारा १८८ (३) अनुसार बहुमतको लागि ३१ सांसदको मत चाहिन्छ । तर, सभामुख धितालले भने आफ्नो मत सुरक्षित रहेको भन्दै अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।
कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : अधिवेशन वैशाख ३१ गते बोलाउन सिफारिश
मोरङ । हिक्मत कुमार कार्की नेतृत्वमा गठन भएको कोशी प्रदेश सरकारले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बिहिवार पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद बैठकले बैशाख ३१ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो । यसैगरी कोशी प्रदेश सरकारको प्रवक्तामा मन्त्री राम बहादुर मगरलाई तोक्ने निर्णय गरेको छ। मन्त्रिपरिषद बैठकले पूर्व मुख्य न्यायाधिवक्ता चुडामणि आचार्यको संयोजकत्वमा ७ सदस्यीय संघियता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकिकृत अध्ययन कार्यदल निर्माण गर्ने निर्णय भएको सरकारका प्रवक्ता मन्त्री राम बहादुर मगरले जानकारी दिए।
कोसीका मुख्यमन्त्री कार्कीले लिए शपथ, मन्त्रिपरिषद्मा दुई मन्त्री नियुक्त
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले उनलाई शपथ गराएका हुन्। एमाले संसदीय दलका नेता कार्कीलाई बिहीबार प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए। उनलाई समर्थन गर्ने ५२ जना सांसदले सनाखत गरेका थिए। मुख्यमन्त्री कार्कीले बिहीबार नै मन्त्रिपरिषद् विस्तार गरेका छन्। एमालेबाट रामबहादुर मगर र माओवादी केन्द्रबाट गणेश उप्रेती लाई विनाविभागीय मन्त्री नियुक्त गरेका छन् । मगर इलाम र उप्रेती मोरङबाट निर्वाचित सांसद हुन्। दुई दलले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता गरी वैशाख ७ गते प्रदेश सभाबाट संकल्प प्रस्ताव पारित गरी विश्वासको मत लिन भनेका थिए। तर, कार्कीले संकल्प प्रस्तावको संवैधानिक हैसियतमाथि प्रश्न उठाउँदै विश्वासको मत लिएनन्। उनले सरकार गठन प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई बङ्गुरको पाठा वितरण
चितवन। भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो बर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिइन्। अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८ का जागृति कोशिस कृषक महिला समुहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो। निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको हो। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनुभयो । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ । भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यावसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बंगुर वितरण गरिएको बताइन्। उनले बंगुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिइन्। बंगुरको पाठा पाएपछि समूहकी सदस्या मिना बोटेले महानगरले बंगुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गरिन् । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास मेयर दाहालले व्यक्त गरिन् । आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्सहान गर्नुपर्ने उनको भनाइ छ । बंगुरका पाठा पाउनेहरु बोटे र दलित समुदायका रहेका छन् ।
जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्छ : प्रमुख रेनु दाहाल
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जेष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्नुपर्ने बताएकी छिन्।भरतपुर वडा नम्बर २५ ले आयोजना गरेको जेष्ठ नागरिक र एकल महिला सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले जेष्ठ नागरिकसँग रहेका राम्रा ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गर्न सके जेष्ठ नागरिकप्रतिको सम्मानमा कमी नआउने उल्लेख गरेकी हुन् । कार्यक्रममा वडा नम्बर २५ का ३०० जनाभन्दा बढी जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान गरिएको थियो । हिजोका दुःख संघर्ष अहिलेका पीडिले थाहा नपाउदा अहिलेको पुस्ताले जेष्ठ नागरिकलाई गर्ने सम्मानमा कमी आएको उनको भनाइ थियो । आगामी दिनमा जेष्ठ नागरिकलाई आदार सम्मान गरी पालपोषण गर्ने छोरा बुहारी, छोरा छोरीलाई यस्तै कार्यक्रम आयोजना गरी सम्मान गर्नुपर्नेमा जोड दिइन् । नेपालमा पनि बुवा–आमालाई अहिले पनि भगवानकै ठाँउमा राखेर पुज्नेहरु छन्–मेयर दाहालले भनिन् । तर, केही व्यक्तिहरुले भने वृद्धि बुवा–आमालाई वृद्धआश्रममा गएर छाड्ने परिपाटी दुखद भएको बताइन् । बुवा–आमालाई हामीले सम्मान दिएनौ भने हाम्रा सन्ततीले त्यही सिको गर्ने उनको भनाई थियो । ‘मेयर स्वास्थ्य कार्यक्रम अन्तर्गत १६ हजार बढी जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण भएको छ,उनले भनिन्,‘अब घर–घरमै पुगेरसम्बन्धित रोगको औषधि वितरण गर्नेछौ । यो नै महानगरको जेष्ठ नागरिकप्रतिको सम्मान हो ।’ जेष्ठ नागरिकलाई सम्मान गर्ने वातावरण निर्माण गर्न समाजिक अभियान, सकारात्मक सोच र चिन्तनको विकास गर्न जरुरी रहेको उनले बताइन्।जेष्ठ नागरिकको सम्मानको लागि महानगरपालिकाले नीतिगत निर्णय गरी विभिन्न कार्यक्रमहरु अगाडि बढाएको मेयर दाहालले उल्लेख गरिन्। बुवा–आमालाई हेला–होचो गर्ने अवस्थालाई न्युनिकरण गरी सबै घरमा खुसीयाली ल्याउन महानगरपालिकाले प्रयास गरिरहेको उनले औल्याइन् । समाजमा देखिएका गलत सोच र विकृतिलाई निरुत्साहित गर्दै सुन्दर र सुसंस्कृत सहर निर्माण गर्न सबैले हातेमालो गर्नुपर्ने प्रमुख दाहालको भनाई थियो । कार्यक्रममा भरतपुर २४ नम्बरका अध्यक्ष रामु गोदार, वडा नम्बर २५ का अध्यक्ष छविलाल सापकोटा, प्रभात माविका प्रधानध्यापक होमनाथ भण्डारीले मन्तव्य व्यक्त गरेकी थिइन्।

