चिरिबाबुले उद्घाटन गरे स्नान कक्षसहितको स्मार्ट शौचालय

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन गरेका छन् ।ललितपुरको जावलाखेलमा एरोसान सस्टेनेबल स्यानिटेसनले निर्माण गरेको अत्याधुनिक शौचालयको उद्घाटन गरेका हुन् ।


मेयर महर्जनले अहिलेसम्म तीन वटा स्मार्ट शौचालय बनाएको बताए। उनले शुल्कबाट सञ्चालित हुने शौचालय ललितपुरका मंगलबजार, पाटन ढोका र जावलाखेलमा बनाएको उनले बताए।

शौचालय बनाएपछि त्यसको वरिपरि दुर्गन्ध हुन्छ भन्ने धारणालाई आफूहरूले चिरेको बताउँदै अब थप शौचालय बनाउँदा यस्तो कुरा नआउने बताए । यी शौचालयमा एक स्नान कक्ष समेत रहेको महर्जनले बताए। स्नान कक्षमा महिला र पुरुषको लागि अलग अलग रुम रहेको र सबै सुविधा उपलब्ध रहेको बताइएको छ।

अत्याधुनिक शौचालयमा स्वचालित फल्स, सेन्सरजडित हात धुने स्थान, स्वचालित धारा, स्मार्ट हात सुकाउने व्यवस्था, सेन्सरयुक्त बत्तीहरूको सुविधा रहेको छ।

भरतपुर मेयर कप फुटबल लिगको तयारी पुरा

चितवन । भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने भरतपुर मेयर कप अन्तर विद्यालय फुटबल लिगको तयारी पुरा भएको छ ।  मेयर कपको सह आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले तयारी पुरा भएको जानकारी दिएको हो । मेयर कप फुटबल भोलि (शुक्रबार) देखि सुरु हुँदैछ । प्रतियोगिताको शुक्रबार भरतपुर ७ कृष्णपुरस्थित मिनी रंगशालामा भव्य कार्यक्रमका बीच उद्घाटन हुँदैछ । कृष्णपुरमा अस्थायी प्याराफिट पनि थप गरिएको छ ।     जेठ १९ गतेसम्म चल्ने प्रतियोगितामा भरतपुर महानगरपालिका भित्र १२ सामुदायिक तथा १२ संस्थागत गरी २४ विद्यालय सहभागी छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ ।  सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्नेछन् ।बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ ।   लिगको उद्घाटन खेलमा समूह ए का स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् । खेल दिउँसो दिउँसो ४ः३० बजे सुरु हुनेछ । कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । लोगो अनावरण तथा खेल सामग्री वितरण भरतपुर मेयर कप फुटबल लिगको लोगो अनावरण गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमकाबीच प्रतियोगिताको लोगो अनावरण गरिएको हो । सोही कार्यक्रमकाबीच प्रतियोगितामा सहभागी हुने विद्याल्य तथा प्रशिक्षकलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजले महानगरपालिकासँग भएको सम्झौता अनुसार नै खेल सामग्री सहयोग गरेको हो । महानगर प्रमुख रेनु दाहाल र सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास ९वाइबी० पौडेलले संयुक्त रुपमा स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री हस्तान्तरण गरे ।  यस्तै भरतपुर महानगरपालिका र एफसी चितवनबीच पनि बुधवार सम्झौता भएको छ । एफसी चितवनले लिगमा सहभागी हुने खेलाडीहरुको बीमा गरिदिने सम्झौतामा उल्लेख छ ।    सो मेयर दाहालले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताईन् । खेलाडि उत्पादनका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास थियो । यस्तै उनले आगामी वर्ष भलिवललगायत अन्य खेललाई पनि समेट्ने बताईन् ।  चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको बताए । स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको उनको भनाइ थियो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनले विश्वास व्यक्त गरे ।        

सरकार गठन आह्वानविरुद्ध सर्वोच्च जाँदै कोशीका मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान गरिएकोविरुद्ध मुख्यमन्त्री केदार कार्की कानूनी प्रक्रियामा जान लागेका छन्‌। सरकार गठन आह्वान असंवैधानिक भएको दाबी गर्दै कार्की सर्वोच्च अदालत जान लागेका हुन्‌। प्रदेश प्रमुख परशुराम खापुङले बुधबार बेलुकी प्रदेशमा सरकार गठन निम्ति दावी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखले सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको भन्दै मुख्यमन्त्री कार्की अन्तरिम आदेश माग गर्न काठमाडौं आउँन लागेका हुन् । उनले आजै सर्वोच्चमा अन्तरिम आदेश माग गर्दै मुद्दा दर्ता गर्ने तयारी गरेका हुन्‌ । मुख्यमन्त्रीको सचिवालय स्रोतका अनुसार कार्की अदालत खुलेसँगै सर्वोच्चमा मुद्दा दर्ता गर्ने तयारीमा छन् । यता एमाले-माओवादीको गठबन्धले आजै नयाँ सरकार गठनका निम्ति दाब पेश गर्ने भएका छन्। बिहान ११ बजे प्रदेश प्रमुख समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी रहेको एमाले संसदीय दलका नेता हिक्मत कार्कीले जानकारी दिएका छन्‌ ।एमालेका ३९ र माओवादी केन्द्रका १३ सहित ५२ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित नयाँ सरकार गठन निम्ति दाबी पेश गर्ने कार्कीले बताए। एमाले-माओवादी गठबन्धनले एमाले संसदीय दलका नेता समेत रहेको हिक्मत कार्कीलाई प्रदेशको छैटौँ मुख्यमन्त्री बनाउन दाबी पेस गर्न लागेका हुन्‌ । प्रदेश प्रमुख खापुङ आजै सांसदहरू हस्ताक्षर सनाखत गराएर मुख्यमन्त्री नियुक्ति र शपथ गराउने तयारीमा छन् ।खापुङले बुधबार साँझ संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

कोशीका मुख्यमन्त्री कार्की बर्खास्तः एमाले र माओवादीले नयाँ सरकार बनाउने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका छन् ।  सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले मङ्गलबार राति १२ बजेसम्ममा प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेकोमा प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको लागि खापुङले बैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दावी पेश गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् । एमाले र माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि लिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । त्यसलाई चिर्न दुई दलले समावेदनमार्फत प्रदेशसभाको विषेश अधिवेशन आह्वान गराएर समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्रीलाई निर्देशन दिने संकल्प प्रस्ताव वैशाख ७ गते पारित गराएका थिए । मुख्यमन्त्री कार्कीले भने संकल्प प्रस्ताव बाध्यकारी नभएको भन्दै विश्वासको मत लिने प्रस्ताव नै प्रदेशसभामा राखेनन् ।  प्रदेशसभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भएपनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयको सो पत्र तथा प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको माग सम्बन्धमा प्रदेश प्रमुख खापुङ महान्यायधीवक्ता डा। दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।  नयाँ सरकार गठनको आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयले बुधबार साढे ३ बजेदेखि झण्डै ६ घण्टा अलमल गर्यो । प्रदेश प्रमुख खापुङले बेलैमा सरकार गठनको आव्हान गरेको खण्डमा बुधबार नै मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारीमा एमाले–माओवादी थिए । तर, अब बिहीबार मात्र दावी पेश हुने भएको छ । नयाँ सरकार गठनको आव्हान अनुसार बिहीबार बिहान १० बजेसम्ममा नयाँ मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्दै एमाले र माओवादी प्रदेश प्रमुखसमक्ष जाने तयारी गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसारकै सरकार गठनको आव्हान भएको हुँदा दिउँसो सबै सांसदको सनाखत गर्ने प्रदेश प्रमुखको कार्यालयको तयारी रहेको छ । जसका लागि एमालेले आफ्ना सबै सांसदलाई बिहान ११ बजेसम्ममा संसद सचिवालयमा भेला हुन निर्देशन दिएको छ ।  यस्तै, माओवादी केन्द्रले पनि सबै आफ्ना सांसदहरुलाई परिचयपत्रका साथमा १० बजे संसद सचिवालय आउन भनेको छ । प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रुपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरि शपथ गराउनेछन् ।

कोशीमा नयाँ सरकार गठनको प्रक्रिया थाल्न एमाले र माओवादीको माग

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरुले बुधबार कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न माग गरेका छन् ।  उनीहरुले कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् । भेटमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने समय गुजारेको भन्दै एमाले र माओवादी नेताहरुले अर्को सरकार गठनका लागि आह्वान गर्न आग्रह गरेका छन् । प्रदेश प्रमुखलाई भेट्न एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो लगायत नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए । जवाफमा प्रदेश प्रमुखले कानुनी परामर्श लिएर प्रक्रिया सुरु गर्ने आश्वासन दिएका छन् । संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई दिएको समर्थन एमाले र माओवादी केन्द्रले गत २६ चैतमा फिर्ता लिइसकेका छन् ।  समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको भन्दै एमाले र माओवादी नेताहरुले मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने माग गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने संविधानको १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले समर्थन फिर्ता लिएका आधारमा विश्वासको मत लिनुपर्ने संविधानको व्यवस्था नभएको भन्दै विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडानमा छन् । एमाले र माओवादी सांसदको प्रस्तावमा प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने नभए राजीनामा दिनुपर्ने संकल्प प्रस्ताव पनि पारित गरेको थियो । यो संकल्प प्रस्ताव अनुसार पनि मुख्यमन्त्रीले २५ वैशाखसम्म विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने विपक्षी दलहरुको तर्क छ । मुख्यमन्त्रीले विश्वासको मत नलिएको र राजीनामा पनि नदिएको कारण नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखलाई आग्रह गरिएको एमालेका एक नेताले एभरेष्ट दैनिकलाई जानकारी दिए ।

कुकुरको झुण्डले आक्रमण गर्दा ६ वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम । जनकपुरमा कुकुरको झुण्डले आक्रमण गर्दा एक ६ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाको शहिदनगर नगरपालिकाको यदुकोहा घर भई जनकपुर बस्दै आएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको कुकुरको आक्रमणमा परेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मंगलबार साँझ डेरा नजिकै आँप टिप्न गएको बेला उनलाई आधा दर्जनको संख्यामा रहेका कुकुरले एकसाथ आक्रमण गरेका थिए । कुकुरको आक्रमणबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

गण्डकी सरकारविरुद्धको रिटको पेसी २७ गतेलाई तोकियो

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आउँदो वैशाख २७ गतेलाई तोकिएको छ ।  प्रदेश सरकारले पाएको विश्वासको मतको विषयलाई लिएर नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।   गण्डकीका मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय पोखरा समेतलाई विपक्षी बनाइएको छ ।

गण्डकीमा एमालेका २ मन्त्री थप

पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रिमण्डल विस्तार गरेका छन्। विश्वासको मत लिएको भोलिपल्टै उनले मन्त्रिमण्डल विस्तार गरेका हुन्। मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थपेका हुन्। अधिकारीले यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्‍याएका छन् । कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।

गण्डकीमा थपिँदै दुई मन्त्री

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । उनले आफ्नो दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । स्रोतका अनुसार, थपिएका मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ ।

क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या

बरहथवा । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले  जानकारी दिए । जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भने, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।” कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ । जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो ।  यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ ।   कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुने लगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।  

पार्टी फुटेपछि बल्ल मन्त्रिको जिम्मेवारी लिए अहिरले

काठमाडौं । लुम्बिनी प्रदशमा जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरले कृषिमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । मुख्यमन्त्री जोखबहादुर महरासँग भएको छलफलपछि उनले सोमबार मन्त्रालयमा गएर काम सुरु गरेका हुन् । २५ चैतमा मन्त्री नियुक्त भएका अहिरलाई मुख्यमन्त्रीले ६ वैशाखमा कृषि मन्त्रालयको जिम्मेवारी सुम्पिएका थिए । सरकार गठनका क्रममा जसपालाई दुई वटा मन्त्रालय दिने लिखित सहमति भए पनि एउटा मन्त्रालय मात्र दिएको भन्दै जसपाले सरकार छाड्ने निर्णय गरेपछि अहिरले ९ वैशाखमा राजीनामा दिए । मुख्यमन्त्रीले असन्तुष्टि सम्बोधन गर्दै जाने वचन दिएपछि फेरि पदभार सम्हाल्न तयार भएको उनले बताए । ‘ जनता समाजवादी पार्टी आइतबार साँझ विभाजन भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ । मन्त्री अहिरले आफु कुन पक्षमा बस्ने भनेर अहिले कुनै निर्णयमा नपुगेको बताएका छन् ।

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल

सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार कर्णाली सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्य न्यायाधिवक्तामा हमालले पद तथा गोपनियताको शपथ पनि लिएका छन् । उनलाई प्रदेश प्रमुख तिलक परियारको रोहवरमा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश लोहितचन्द्र शाहले शपथ ग्रहण गराएका हुन् । दैलेखको दुल्लु नगरपालिका–३, मालिकामा जन्मिएका हमाल अहिले वीरेन्द्रनगर–५ मा बस्दै आएका छन् । २०४३ सालदेखि वकालतमा लागेका हमाल २०७३ मा वरिष्ठ अधिवक्ता बनेका हुन् ।

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल

काठमाडौँ । नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन अपिल गरेको छ।जर्जियाको राजधानी त्बिलिसीमा आयोजित एसियाली विकास बैंक (एडीबी)को बोर्ड अफ गभर्नरको ५७ औँ वार्षिक बैठकलाई सम्बोधन गर्दै अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका आकाङ्क्षा सम्बोधन गर्न ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्। उनले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गरे । सचिव मरासिनीले दक्षिण एसियालाई उदयीमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यापार अभिवृद्धिका लागि अन्तरआबद्धता, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए। “कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ । पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिमा सङ्कुचन पैदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ”, उनले भने, “आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ । म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु ।”  सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए । नेपालमा लगानी अनुकूल वातावरण निर्माणका लागि केही समयअघि काठमाडौँमा तेस्रो लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिँदै उनले  पर्यटन, जलविद्युत् र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानी आउने वातावरण बनाउन एडिबीले महत्त्वपूर्ण भूमिका खेल्नसक्छ भन्ने विश्वास आफूहरुले गरेको उल्लेख गरे। एसियाली विकास बैँकले नेपाललाई निरन्तर सहयोग गर्दै आएको स्मरण गर्दै सचिव मरासिनीले विकास यात्रामा भरपर्दो साझेदार भएकामा कृतज्ञता व्यक्त गरे । पछिल्लो दशकमा नेपालले सामाजिक समावेशीकरण र आर्थिक विकासलाई सँगै अगाडि बढाएको उनको भनाइ थियो।रासस  

विश्वासको मत लिन बोलाइएको गण्डकीको बैठक आधा घण्टा स्थगित

काठमाडौं । गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।आज मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन लागेका छन् । सो प्रयोजनका लागि बोलाइएको बैठक  आधा घण्टाका लागि स्थगित भएको हो। मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरूले धारणा राखेका छन् ।त्यसपछि सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन् । आधा घण्टापछि अधिकारीले विश्वासको मत लिने छन् ।

वैशाख २६ पछि मात्रै एमालेले सोडारीलाई विश्वासको मत दिने

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई नेकपा एमालेले वैशाख २६ गतेअगाडि विश्वासको मत नदिने भएको छ । वैशाख १५ गते भएको बझाङ प्रदेशसभा १ को निर्वाचनमा नेकपा एमालेबाट विजयी भएका दमनबहादुर भण्डारी बुवाको किरियामा रहेकाले २६ गतेयता उनी प्रदेश सभामा आउँदैनन् । सोही कारण तत्काल विश्वासको मत दिन नसकिने एमाले संसदीय दलका नेता राजेन्द्र रावलले बताएका छन् ।

मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक

चितवन। भरतपुर महानगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको खेल तालिका सार्वजनिक भएको छ । सह-आयोजक तथा प्राविधिक सहयोगी संस्था चितवन जिल्ला फुटबल संघले बैशाख २८ देखि हुने लिगको तालिका सार्वजनिक गरेको हो । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२/१२ विद्यालय रहेका छन् । सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्य उत्कृष्ट ४ विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए । बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रि(क्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन बैशाख २८ गते भरतपुर ७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउसँसो ४स्३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप ईंग्लिश बोर्डिङ स्कुल र ओम शानति एकेडेमी भिड्नेछन् । कृष्णपुरसँगै भरतपुर १९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्री कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्त्वपूर्ण कदम हुने बताए । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उनको भनाइ थियो । मुख्य प्रायोजक सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी)ले स्कुलस्तरका खेलाडीहरुलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताए । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीहरुलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उनको भनाइ थियो । यसैबीच सोही कार्यक्रममार्फत प्रशिक्षकहरुलाई नियुक्तिपत्र पनि प्रदान गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक नियुक्त गरिएको छ । उनीहरुलाई नियुक्तिपत्र प्रदान गरिएको हो । नियुक्त भएका प्रशिक्षकहरुले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हाल्ने खेल संयोजक एवं चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताए । नियुक्त भएका प्रशिक्षकहरुलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।