क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या

क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या
सांकेतिक तस्बिर ।

बरहथवा । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले  जानकारी दिए ।

जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भने, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।”

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ ।

जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो । 

यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ । 

 कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुने लगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।  

रौतहटमा मोहर्रम पर्व मनाउनेले आक्रमण गर्दा १९ सुरक्षाकर्मी घाइते

रौतहट । रौतहटको राजपुर नगरपालिकाको कुडिया गाउँमा मोहर्रम पर्व मनाउनेहरुको आक्रमणमा परि १९ जना सुरक्षाकर्मी घाइते भएका छन् । राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा उश्रृङ्खल गतिविधि भई धकेलाधकेलको स्थिति सिर्जना भएपछि प्रहरी प्रशासनले माइकिङ गरेर शान्त रहन आग्रह गरेको थियो ।  सोही क्रममा सुरक्षाकर्मीमाथि केही उश्रृङ्खल युवाहरुले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् ।  स्थिति नियन्त्रणमा लिन १२० भन्दा बढि प्रहरी टोली खटिएका थिए । आफुहरुमाथि लगातार आक्रमण भएपछि प्रहरीले अश्रुग्याँस र ब्याक हवाई फायर गरेका थिए । त्यसपछि स्थितिलाई नियन्त्रण आएको प्रहरीले जनाएको छ ।  घटना बिहीबार साँझ साढे ६ बजेदेखि करिब आठ बजेसम्म कुडियामा भएको हो । ढुङ्गा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मी घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ ।

४ मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुँदै कांग्रेस

जनकपुरधाम । नेपाली कांग्रेस अर्थसहित चार मन्त्रालय लिएर मधेश सरकारमा सहभागी हुने निश्चित भएको छ । मुख्यमन्त्री सतिश सिंहले अर्थसहित चार मन्त्रालय दिने भएपछि कांग्रेस बिहीबार सरकारमा सहभागी हुन लागेको हो । यसअघि मुख्यमन्त्रीले अर्थ मन्त्रालय आफैंसँग राख्ने भनेपछि कांग्रेस सरकारमा सहभागी हुन बार्गेनिङ गरिरहेको थियो । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मन्त्रीका लागि रौतहटका सुनिल यादव, पर्साका जनार्दन क्षेत्री, धनुषाका शेषनारायण यादव र सर्लाहीका कौशल किशोर रायको नाम मुख्यमन्त्रीलाई पठाएको जानकारी दिए । मुख्यमन्त्री सिंहले बिहीबार नै लोसपालाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन् ।  केन्द्रमा बनेको कांग्रेस–एमाले गठबन्धनमा मधेशमा जनमत नेतृत्वकै सरकारलाई निरन्तरता दिने सहमति भएपछि २२ असारमा कांग्रेस र लोसपाले मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएका थिए ।

प्रदेश प्रमुखको कार्यालय पुगे जनमतका सतिश सिंह, मुख्यमन्त्रीमा दाबी पेश गर्दै

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्न जनमतका सतिश कुमार सिंह प्रदेश प्रमुख कार्यालय पुगेका छन्।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिश कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । सिंह नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, नेकपा माओवादी केन्द्रका संसदीय दलका भरत साह, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव, नेकपा एसका संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने समेत प्रदेश प्रमुख कार्यालय पुगेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ। जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

अत्यधिक गर्मीका कारण विद्यालयमा बिदा दिन सुरु

रौतहट । अत्यधिक गर्मीको कारण रौतहटको जनजीवन अत्यन्त प्रभावित भएको छ । गर्मीका कारण स्थानीय सरकारहरूले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिन सुरु गरेका छन् । रौतहटमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन आग्रह गरेको थियो । उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि जिल्लाको गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् । गर्मीका कारण पठन पाठनमा समस्या देखिएकाले तत्कालका लागि बर्खे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको गौर नगरपालिका प्रमुख शम्भू साहले बताए । उनले ‘गर्मी तथा लू का कारण बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पर्न सक्ने भएकाले विद्यालयमा बिदा दिइएको बताए ।

लोकप्रिय