क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या

क्षमता भन्दा बढि कैदीबन्दी भएपछि व्यवस्थापनको समस्या
सांकेतिक तस्बिर ।

बरहथवा । जिल्ला कारागार मलङ्गवा सर्लाहीमा क्षमताभन्दा धेरै कैदीबन्दी पुगेपछि व्यवस्थापनमा समस्या भएको छ । सञ्चालनको साढे तीन महिनामै कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा धेरै भएको कारागार प्रशासनले जनाएको हो ।

जिल्ला कारागार मलङ्गवा सर्लाहीमा एक सय ६० जना पुरुष र ५० जना महिला गरी दुई सय १० जनाको क्षमता रहेको छ । कारागारमा महिला, पुरुष कैदीबन्दी गरेर दुई सय ४३ जना पुगेको कारागारका जेलर मनोजकुमार मिश्रले  जानकारी दिए ।

जेलर मिश्रका अनुसार महिला सेलतर्फ २३ जना कैदीबन्दी छन् । पुरुषतर्फ दुई सय २० जना पुगेका छन् । पुरुषतर्फ कैदीबन्दी धेरै भएपछि कोठा नपुगेर बरण्डालगायतका स्थानमा व्यवस्थापन गर्नुपरेको उनले बताए । “महिला सेलतर्फ कम छन्”, जेलर मिश्रले भने, “तर, पुरुषतर्फ क्षमताभन्दा ६० जना धेरै भइसकेका छन् । हामीले बरण्डालगायतका ठाउँमा पङ्खा लगाएर सुत्ने व्यवस्था गरेका छौँ ।”

कैदीबन्दीको सङ्ख्या धेरै हुँदा बस्ने ठाउँको अभावसँगै ट्वाइलेट, बाथरुमलगायतका ठाउँमा कैदीबन्दीलाई सकस हुन थालेको छ । नित्यकर्मका लागि निकै समय लाइन बस्नुपर्ने बाध्यता रहेको कैदीबन्दीले बताउने गरेको जेलर मिश्रले बताए । ठाउँ अभावका कारण कोचमकोच गरेर सुत्नुपर्ने अवस्था छ । कैदीबन्दीको सङ्ख्या बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप समस्या हुने जेलर मिश्रको भनाइ छ ।

जिल्ला कारागार मलङ्गवा सर्लाही ११ वर्षपछि गत माग ७ गतेदेखि सञ्चालनमा आएको थियो । तत्कालीन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारागारको उद्घाटन गरेका थिए । जीर्ण भएका कारण बन्द गरेर ०६९ माघदेखि निर्माण सुरु गरेको कारागार विभिन्न कारणले निर्माण सम्पन्न हुन ११ वर्ष लागेको थियो । 

यसैबीच कारागारलाई सुधारगृहका रुपमा सञ्चालन गर्ने सरकारको नीतिअनुसार कैदीबन्दीलाई क्षमता र इच्छाअनुसार काम गर्ने वातावरण बनाइएको जेलर मिश्रले बताए । दुई पैसा आम्दानीसमेत हुने तथा व्यवस्थापनमा सहज हुनेगरी कारागारमा विभिन्न काममा कैदीबन्दीलाई जोड्ने गरिएको उनको भनाइ छ । 

 कारागारमा रहेका कैदीबन्दीले बत्ती काट्ने, गलैँचा बुन्ने, कपडा सिलाउने, मुढा बनाउने, कपाल काट्ने, कपडा धुने लगायतका काम गर्ने गरेका छन् । यसरी उनीहरुले परिवारमा आर्थिक सहयोग गरिरहेको जेलर मिश्रले बताए ।  

मधेसमा भैयादुजको उत्सव: दिदीबहिनीको निम्तामा दाजुभाइको सम्मान

महोत्तरी । महोत्तरीसहित तराई-मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइहरूले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ । सामान्यतया पाँच दिनको हुने यमपञ्चक यस वर्ष धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार सुरु भएको दीपावली आज ‘भैयादुज’ मनाएर सकिने छ । मिथिलामा भरद्वितीया र भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीहरूले दाजुभाइहरूलाई सामान्यतया आफ्नै घरमा आउन निम्ता गर्छन् । यद्यपि, दिदीबहिनीहरू माइतीमा आएर पनि पर्व मनाउने प्रचलन छ । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । विवाहित बहिनीहरूले भने दाजुभाइहरूलाई निम्ता गर्ने चलन छ । निम्ता मान्न जाने दाजुभाइहरूले नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीहरूले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो) ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइहरूलाई बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइहरूको गोडा कोपरामा राखेर तातोपानीले धुइन्छन् । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइहरूलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीहरूले सप्तरङ्गी टीका लगाइदिन्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूहरूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । सत्ययुगमा राजा वलिका बहिनीहरू गङ्गा र यमुनाले देवतासँगको युद्धअघि दाजुभाइको सौर्यवृद्धि, युद्धमा विजय, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएको कथा नै यो पर्वको आधार रहँदै आएको मिथिला लोकपरम्पराका जानकार संस्कृतिविद् जलेश्वर–५ का ध्रुव राय बताउँछन् । मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीहरूले दाजुभाइहरूको गङ्गा र यमुनाको जस्तै वेग र कीर्ति होस् भन्दै गीतबाट भाव व्यक्त गर्छन् । यसै क्रममा सुकेको केराउको दाना दाजुभाइहरूलाई चबाउन दिइन्छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइहरूको शरीर बज्रसमान कठोर होस् भन्ने रहेको रायको भनाइ छ । मिथिलाभरिका सबै गाउँ सहरका दिदीबहिनीहरूले बुधबार ओखलमा गोबरसँगै कुटिएको केराउका दाना (बजरी) गोबरबाट झिकेर धोई पखाली ल्याइएकामा आज ती केराउका दाना आ–आफ्ना दाजुभाइहरूलाई मिठाई, लड्डु वा पेडासँगै ‘बजरी’ खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । दिदीबहिनीहरूले ‘बजरी खैया भैया बजर होइहा, दान नदिहा दरिद्र होइहा’ अर्थात् ‘बजरी खाएर अमर बन्नु, दान नदिए दरिद्र बन्नु’ भन्ने भनाइका साथ दाजुभाइहरूलाई आँगनमा बसाइँ माला, फूल, चन्दन लगाई बजरी खुवाएर भैयादुज पर्व मनाउने गर्छन् । यो विधि सकिएपछि दाजुभाइहरूले आफ्नो गच्छे र क्षमताअनुसार दिदीबहिनीहरूको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा उपहार तथा कोसेली दिने चलन छ । त्यसपछि दिदीबहिनीहरूले दाजुभाइहरूलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

मधेश प्रदेशमा मोहम्मद जयन्तीको अवसरमा सार्वजनिक बिदा

जनकपुर। मधेश प्रदेश सरकारले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव मोहम्मद जयन्तीको अवसरमा शुक्रबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ। मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले बिहीबार जारी गरेको सूचनामा यो निर्णय उल्लेख छ। सूचनाअनुसार, "२०८१ चैत २२ गते मधेश राजपत्रमा प्रकाशित २०८२ सालको थप बिदासम्बन्धी सूचनालाई आधार मानेर भदौ २० गते शुक्रबार मोहम्मद जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो।" मधेश प्रदेशका जिल्लाहरूमा मुस्लिम समुदायको बाक्लो बसोबास रहेको छ। यद्यपि, केन्द्र सरकारले यो अवसरमा मुस्लिम समुदायका कर्मचारीहरूलाई मात्र बिदा दिएको छ। अन्य प्रदेशका केही स्थानीय तहले पनि मोहम्मद जयन्तीमा सार्वजनिक बिदा घोषणा गरेका छन्।

सप्तरीमा एक हप्तामा आठ जनाको शव फेला

सप्तरी । सप्तरीमा गत एक हप्तामा आठ जनाको शव फेला परेको छ । तीमध्ये पाँच महिला र तीन पुरुष रहेका छन् । पछिल्लो घटनामा कञ्चनरूप नगरपालिका–७ धरमपुरस्थित पेट्रोलपम्प नजिक आइतबार राति ४० देखि ४५ वर्ष उमेरकी एक महिलाको शव फेला परेको छ ।  सोही दिन कञ्चनरूप–६ घोघनपुरस्थित चन्द्रनहरमा डुबेको अवस्थामा एक पुरुषको शव भेटिएको थियो । स्थानीय ४६ वर्षीय सत्रुधन सदा आइतबार दिउँसो नुहाउने क्रममा नहरमा डुबेर मृत फेला परेका थिए ।  त्यसअघि, तिलाठी कोइलाडी गाउँपालिकामा खेतमा धान गोड्ने क्रममा लडेर ६५ वर्षीया पवनदेवी यादवको मृत्यु भएको थियो । गाउँपालिका–६ बभनगामाकी उनको शव खेतमै भेटिएको थियो । भदौ ४ गते शम्भुनाथ नगरपालिका–६ लतियाहीकी ३२ वर्षीया रामकुमारी चौधरी मृत अवस्थामा फेला परेकी थिइन् । उनको आमा भिलु चौधरी हुन् ।  यस्तै, भदौ २ गते अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चौकमा खेतमा खनिएको खाल्डोको पानीमा डुबेर ७२ वर्षीया सजनी सदाको शव फेला परेको थियो । उनी सितापुरका लालु सदाकी पत्नी थिइन् ।  यसैगरी, कञ्चनरूप नगरपालिका–५ पिपरामा शनिबार राति करेन्ट लागेर ५० वर्षीय बद्री सरदार र उनकी ४५ वर्षीया श्रीमती विमलादेवी सरदारको मृत्यु भएको अवस्थामा शव फेला परेको थियो ।  त्यस्तै, भदौ १ गते तिरहुत गाउँपालिका–४ डिमनमा सुनसरीको दुहवी नगरपालिका–११ तन्मुनाका ५० वर्षीय जगदीश मेहता झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । उनी बस्दै आएको घरनजिकै सजिवनको रुखमा गम्छाको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए ।  जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार भदौ १ देखि ८ गतेसम्म जिल्लामा आठ जनाको शव फेला परेको छ । 

जनकपुरमा गोली चल्यो

काठमाडौँ । प्रहरीले जनकपुरको मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको छ । गोली प्रहार गरेर दुई जना लागु औषध कारोबारीलाई पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्यूरोका एक जना अधिकृतले  बताए । प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु शाह घाइते भएका छन् । उनको दायाँ खुट्टामा गोली लागेको छ । लागु औषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टिमले २ राउन्ड गोली चलाएको थियो ।  प्रहरीले पप्पु र अर्की एक जना महिलालाई पक्राउ गरेको छ । आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्युरोका ब्युरोका अधिकृतले बताए । 

लोकप्रिय