जीप दुर्घटना हुँदा पाँचजना घाइते

काठमाडौं । दैलेखको गैरागाउँमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

महाबु गाउँपालिका–२, ऐराडीदेखि दैलेख सदरमुकाम जाँदै गरेको कर्णाली प्रदेश ००१ च ०३२१ नम्बरको जीप आज (आइतबार) बिहान दुर्घटनामा परेको थियो । 

दुर्घटनामा चालकसहित पाँचजना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । 

पोखरामा बस दुर्घटना : चालक घाइते

कास्की । पोखरा २८ आरुपाटा र अर्चले जोड्ने बाटो नजिक बस दुर्घटना हुँदा चालक घाइते भएका छन्  । लेखनाथ पोखरा रुटमा चल्ने ग १ ख ८६८० नम्बरको बसमा चालकबाहेक अरु यात्रु भने थिएनन् ।  बस आरुपाटाबाट अर्चले आउँदै गर्दा माथिल्लोबाटोबाट तल खसेको हो । बस ब्रेक फेल भएका कारण दुर्घटना भएको हो । चालकलाई  उपचारका लागि अस्पताल लगिएको स्थानीय जीवन ढकालले जानकारी दिए । गाडीमा चालक र सहचालक सवार थिए।

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको परिचय खुल्यो, एक बेपत्ता

काठमाडौं । त्रिशुलीमा यात्रुवाहक ट्याक्सी खसेर दुर्घटना हुँदा मृत्यु भएका पाँच जनाको परिचय खुलेको छ। काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान ७ बजे चितवनको इच्छाकामना गाउँपालिका ५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले ट्याक्सीमा चालकसहित ६ जना सवार रहेकोमा दुर्घटनामा पाँच जनाको मृत्यु भएको र एक जना बेपत्ता रहेको जानकारी दिए।  मृत्यु हुनेमा ट्याक्सी चालक गोरखाको गोरखा नगरपालिका-७ का ३५ वर्षीय अर्जुन शिर्मल, ट्याक्सीमा सवार सोही वडाका ४१ वर्षीया हरिमाया रोकाय, ७० वर्षीया जुनकिरी रोकाय, २८ वर्षीया अन्जना रोकाय र ९ वर्षीय आगमन नगरकोटी छन्। सोही वडाका १८ वर्षीय दिवस रोकाय बेपत्ता छन्। उनको खोजीका लागि दुर्घटनास्थलमा टोली खटिइरहेको डिएसी भण्डारीले जानकारी दिए।पाँच जनालाई मृत अवस्थामा नदीबाट निकालिएको छ।

अपडेट  : ट्याक्सीसँगै त्रिशूलीमा खसेका पाँच जनाको शव फेला

काठमाडौँ । चितवनको इच्छाकामना–५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट ट्याक्सीसँगै त्रिशूली नदीमा खसेकामध्ये पाँच जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको ट्याक्सीमा आज बिहान त्रिशूली नदीमा खसेको थियो ।  पशुपतिबाट आफ्नो बुवाको अन्तिम संस्कार सकेर फर्किएका परिवारका सदस्य दुर्घटनामा परेका हुन् ।प्रहरीका अनुसार ट्याक्सीबाट पाँच जनालाई मृत अवस्थामा निकालिएको हो ।  मृत्यु हुनेमा एक बालिका, २ पुरुष र २ जना महिला रहेका छन् । मृतकको पहिचान खुलिसकेको छैन । ट्याक्सीमा ६ जना सवार रहेको हुन सक्ने जानकारी आए पनि यकिन हुन नसकेको प्रहरीको भनाइ छ । 

मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्याक्सी खस्यो, उद्दार कार्य जारी

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ स्थित मुग्लिन बजार नजिकै नाग्दिखोलबाट त्रिशुलीमा ट्याक्सी खसेको छ। इलाका प्रहरी कार्यालय मुग्लिन बजारले दिएको जानकारी अनुसार केहीबेर अघि करिब ७ बजेतिर ट्याक्सी खसेको हो । प्रहरीका अनुसार राजमार्गबाट ट्याक्सी करिब २ सय मिटर तल त्रिशुली नदीमा खसेको छ । काठमाण्डौबाट गोरखातर्फ आईरहेको ट्याक्सीमा ५ जना रहेको र अहिले दुर्घटनामा परेकाहरुको स्थानीय र प्रहरीद्वारा उद्दार गरिरहेको छ ।  दुर्घटनामा पर्नेहरु सबै गोरखा नगरपालिका ७ को स्थानीयहरु रहेको साथै बाँकी विवरणहरु खुलिनसेको प्रहरीले बताएको छ ।

चितवनको रामनगरमा बिहानै दुर्घटना :  आठ जना घाइते

चितवन । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।  बिहान  ५ बजे  भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पहाडी   ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो ।   दुर्घटनामा स्थानीय कमलबहादुर  न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी  चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा,  भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह,  भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ , भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल,  भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी,  भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र  गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् ।  उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ । 

अझै भेटिएनन् कर्णाली पुलबाट हामफालेका युवा

काठमाडौं । कर्णाली पुलबाट हामफालेका एक युवा अझै फेला पार्न नसकिएको प्रहरीले जनाएको छ । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका एक व्यक्ति फेला नपरेका हुन् ।  होलीको दिन हाम फालेका ती व्यक्ति खोज्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन भएको छ । ७ नम्बर वैद्यनाथ बाहिनी अत्तरिया कैलालीबाट सशस्त्र प्रहरी निरीक्षक (सई) को कमाण्डमा ७ जनाको गोताखोर टोली प्रहरी साढे २ बजे देखि घटनास्थलमा परिचालन भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्दं थापाले जानकारी दिए ।  सोमबार कर्णाली पुलमाथिबाट हाम फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ का ३० वर्षका लोकेन्द्र शाही अहिलेसम्म पनि वेपत्ता छन् । इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार फोटा खिच्न भन्दै युवाहरुको समूह कर्णाली पुलमा पुगेको थियो । तर पछि उनीहरु एक पछि अर्को गर्दै नदीमा हाम फालेका थिए । उनीहरु हाम फालेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल भएको छ ।

कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

जनकपुरधाम । धनुषामा कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् । आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २ ०२ ००४ प ६९४७ मोटरसाइकललाई बी एल १२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए । कार चालक दुर्घटनापछि फरार भएको र उनको खोजी जारी रहेको डिएसपी अवाले बताए ।

ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्य, २ घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ। मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिएका छन् ।  मृत्यु हुने सबै पुरुष रहेका छन्। उनीहरुको सनाखत हुन बाँकी छ। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। 

करेन्ट लागेर एक जनाको मृत्यु

स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ ।  करेन्ट लागेर ५२ वर्षीय स्थानीय हर्कबहादुर थापाको मृत्यु भएको हो ।  अर्जुनचौपारी गाउँपालिका– ६ भेडाबारीस्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।  घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट २ को मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध

दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै राजमार्ग अबरुद्व पारेका हुन् । हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन बन्द छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।  शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा बस्ने २४ वर्षका प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।

कमेडी च्याम्पियनका निर्देशक भण्डारी रिहा

काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । टेलिभिजन रियालिटी शो ‘कमेटी च्याम्पियन’ का निर्देशक भण्डारी शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि हाजिरी जमानीमा हिरासतमुक्त भएका हुन् ।  जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले घाइतेका परिवारसँग राखेर छलफल गरी सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि भण्डारी हाजिर जमानीमा छुटेको जानकारी दिए ।  दुर्घटनामा कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । एसपी विष्टले दुर्घटनाका घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्ने बताए । बिहीबार निर्देशक भण्डारीले चलाएको बा १ २६ ३५९ नम्बरको कार नगरकोटबाट फर्किंदै गर्दा भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।  कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार रहेकोमा बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ । 

वालिङमा जीप दुर्घटना  : ९ जना घाइते

स्याङ्जा । वालिङ नगरपालिका-११ स्थित छत्तिवनमा जीप दुर्घटना हुँदा चालकसहित ९ जना घाइते भएका छन्। घाइते हुनेमा जीप चालक ४१ वर्षीय ज्ञानप्रसाद पंगेनी, १९ वर्षीया नम्रता खत्री, ३२ वर्षीया सुकमाया सुन्धौली उनका छोरा १३ का संगम सुन्धौली ७७ वर्षीय रनबहादुर मगर, ७५ वर्षीया लाटी मगर, ३६ वर्षीया हुमकला पंगेनी, ३० वर्षीया विन्दु खवास र १७ वर्षीया करिना खवास छन्। घाइते नौमध्ये ४ जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा र अन्य ५ जनालाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए। वालिङ नगरपालिका(११ छत्तिवनको भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग २ च ७४७९ नम्बरको जीप शनिबार दिउँसो दुर्घटना भएको थियो। जीप सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ। 

पोखराबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना

काठमाडौं । तनहुँमा पर्यटक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं आउँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस आज बिहान साढे ६ बजे तनहुँको म्याग्दे गाउँपालिका ६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाणका अनुसार घाइतेहरूमा चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली छन्। जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उनीहरूको उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए । बसमा २६ यात्रु सवार थिए। बसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खाणले जानकारी दिए ।

चट्याङ लागेर एक जनाको मृत्यु, ७ जना घाइते

धनगढी । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । शुक्रबार राति ९ बजेतिर जयपृथ्वी नगरपालिका ६ को नौरामा चट्याङ लागेर ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो ।  बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भरतबहादुर शाहले चट्याङ लागेर मृतक सिंहकी छोरी शान्ति सिंह, धिरेन्द्रबहादुर सिंह, उनकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, पञ्चादेवी सिंह, उनको छोरा नितेश सिंह र छोरी लक्ष्मी सिंह घाइते भएको जानकारी दिए । जिल्ला अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । घाइते सबै जना खतरामुक्त रहेको प्रहरीले जानकारी दिएको छ । सिंहको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका  मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो, भने दुईजना घाइते भएका थिए ।