वेल्डिङ गर्दा आगलागी भएपछि एक जनाको मृत्यु

काभ्रे । काभ्रेको तेमाल गाउँपालिका ९ सिन्धुटारमा रहेको मुक्पाटार चोपाटार खानेपानी योजनाको पाइप वेल्डिङ गर्ने क्रममा वेल्डिङ मेसिनमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगोले जलेर मकवानपुर छतिवन गाउँपालिका ७ माईमाछा बस्ने ३२ वर्षीय रामकाजी क्षेत्रीको आइतबार दिउँसो मृत्यु भएको हो । 

जलेर गम्भीर घाइते भएका उनको मेथिनकोट अस्पताल भकुण्डे उपचारपछि बर्न अस्पताल कीर्तिपुर काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

तामाकोसीमा नुहाउन गएका दोलखाका २ युवा बेपत्ता

काठमाडौं । दोलखाको तामाकोसी नदीमा डुबेर दुई युवा बेपत्ता भएका छन् । स्थानीय गौरीशंकर गाउँपालिका ८ का २७ वर्षीय जयबहादुर तामाङ र २५ वर्षीय सिमबहादुर तामाङ तामाकोशी नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।  प्रहरीका अनुसार उनीहरु शुक्रबार दिउँसो ३ बजे नै नुहाउने क्रममा नदीमा बेपत्ता भएका हुन् । प्रहरीलाई भने यो खबर आज बिहान नौ बजे मात्रै दिइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक शरण महर्जनले बताए ।  खबर पाए लगत्तै प्रहरी टोली बेपत्ता युवाको खोजीमा परिचालन भएको उनले जानकारी दिए । स्थानीय मेलामा गएका उनीहरु नुहाउन भन्दै नदीमा गएका थिए। तर उनीहरु साँझसम्म पनि घर नफर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा दुबैले लगाउने कपडा नदीको डिलमा फेला परेको छ ।

धनकुटामा माइक्रोबस पल्टियो, १९ जना घाइते

काठमाडौं । काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। धनकुटा नगरपालिका–९ मूलघाट रुद्रबारी सडकखण्डमा गएराति २ बजे माइक्रोबस सडकबाट तल खस्दा यात्रुहरु घाइते भएका हुन् । घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाउ उपचार भइरहेको छ।सामान्य घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीव्र गतिको कारण माइक्रो दुर्घटनामा परेको अनुमान प्रहरीले गरेको छ। तर, चालकले भने साँधुरो सडकमा ट्रकले च्यापेका कारण माइक्रो पल्टिएको बताएका छन्। दुर्घटनापछि माइक्रोबसका चालक भक्तपुर सूर्यबिनायकका ४६ वर्षीय हरिशरण आलेमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

सिन्धुपाल्चोक बस दुर्घटनामा मृत्यु भएका तीनमध्ये दुईजनाको सनाखत

काठमाडौं । सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटनामा परी मृत्यु भएका तीनमध्ये दुई जनाको सनाखत भएको छ । दुर्घटनामा परी निधन हुनेमा दोलखाको भीमेश्वर नगरपालिकाका शिव श्रेष्ठ र सोही ठाउँका मानबहादुर थामी रहेका छन् । मृतक एकको भने सनाखत हुन बाँकी छ । दोलखाबाट जन्ती बोकेर आएको बा४ख ५६१६ नम्बरको बस सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा शुक्रबार बिहान दुर्घटना भएको थियो । दुर्घटनामा परी ५२ जना घाइते भएका छन् । सिन्धुपाल्चोकका विभिन्न अस्पताल एवं स्वास्थ्य केन्द्रमा घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा जन्ती सवार बस दुर्घटना  : तीनजनाको मृत्यु, ५२ घाइते

चौतारा । सिन्धुपाल्चोकको पिस्कर–५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । ५२ जना घाइते छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५, धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उनले बताए । उनका अनुसार, बस भीरमा खसेकाले उद्धारमा केही समस्या भएको छ । रासस

सल्यान बस दुर्घटना : उपचारका क्रममा एकजनाको मृत्यु

दाङ । सल्यानमा बुधबार भएको बस दुर्घटनामा परी घाइते भएका एकजना यात्रुको उपचारका क्रममा बुधबार राति मृत्यु भएको छ । बुधबार बिहान करिब ११ बजेतिर दाङबाट रुकुम जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुर उपमहानगरपालिका–४ निवासी ४६ वर्षीय विकको उपचारका क्रममा बुधबार राति राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले जानकारी दिए । दाङबाट पूर्वीरुकुममतर्फ जाँदै गरेको रा१ख २०८५ नम्बरको यात्रुबाहक बस सल्यान बाघचौर नगरपालिका–२, ठिनबाङ्ग खोलाको पुलबाट खसेको थियो । विक सो दुर्घटनाग्रस्त बसका बसधनी हुन् ।  बस दुर्घटनामा परी २२ जना घाइते भएका थिए । तीमध्ये गम्भीर घाइते चारलाई कोहलपुर अस्पताल पठाइएको थियो । अरु घाइतेको दाङमा उपचार भइरहेको छ । सो दुर्घटनामा परी गम्भीर घाइते रहेका तीनजना यात्रुको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अधिकांश उपचारपछि घर फर्किसकेका छन् । रासस

पोखरामा जिप र माइक्रोबस ठोक्कियो, ८ चिनियाँ नागरिक घाइते

पोखरा । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । शहीदचोकबाट मुस्ताङचोक तर्फ जाँदै गरेको बा १३ च ५१३७ नम्बरको स्कार्पियो जिप र ड्याम साइडबाट रत्नचोक तर्फ जाँदै गरेको हाइस माइक्रोबस आज बिहान ४ः४० बजे राष्ट्र बैंक चोकमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार १३ जना चिनियाँ नागरिकहरुमध्ये ८ जना घाइते भएका हुन् ।घाइतेहरुको अवस्था मध्यम रहेको र उनीहरुलाई गण्डकी मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ  स्कार्पियो चालक धादिङको नेत्रावती–१ बोराङ बस्ने ४३ वर्षीय राज कुमार अधिकारी र माइक्रो बस चालक पोखरा–९ पृथ्वीचोक बस्ने ४१ वर्षीय तुल बहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार स्कार्पियोमा चालकमात्र थिए। दुर्घटनामा पार्किङमा रोकिराखेको बा २१ प ११५२ नम्बरको स्कुटर र श्याम सुन्दर बरालको घरमा रहेको मनि चेन्जरको सटर र वालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

बस दुर्घटनामा अछामका एक युवकको मृत्यु

मंगलसेन। भारतको पुना (पुणे)बाट नेपालको धनगढी आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । पुणेबाट बसमा घर आउन लागेका कमबलजार नगरपालिका–२ बजुडाका ४० वर्षीय लालबहादुर खड्काको निधन भएको हो । बसमा सवार रहेका २३ जना घाइते भएका र उनीहरुको पुणेको मालीगाउँका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइतेहरुको विवरण खुल्न सकेको छैन । धनगढी आउँदै गरेको यात्रुवाहक बस भारतको नासिकस्थित मालीगाउँमा सोमबार बिहान करिब ९ बजे दुर्घटना भएको थियो । आइतबार पुणेबाट सुदूरपश्चिमका यात्रु ल्याएर आएको उक्त बसमा एकसय १० जना यात्रु रहेको र अर्को सवारी साधनभन्दा अगाडि जाने बेलामा दुर्घटना भएको बताइएको छ ।

आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ तल्लो पौदीस्थित सर्वोदय माविको सल्लाघारीमा लागेको आगो निभाउने क्रममा लडेर ५८ वर्षका महले घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए । गुल्मी अस्पतालमा उपचारको क्रममा घाइते घर्तीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही ठाउँमा आगो निभाउने क्रममा ५२ वर्षका रेशम थापा पनि घाइते भएका छन् । थापाको गुल्मी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

टिपर दुर्घटनामा चालकको मृत्यु

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ मन्थलीघाट नजिक आज टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रामेछापको गोकुलगङ्गा गाउँपालिका–३ रस्नालुका २३ वर्षीय पवित्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए । दुर्घटनामा दोलखाको तामाकोशी गाउँपालिका–६ का २१ वर्षीय सहचालक मनोज फुयाँल घाइते भएका छन् । मन्थली नगर अस्पतालमा उनको उपचार भइरहेको छ । बालुवा लिएर भटौलीबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको प्रहरीले जानकारी दिएको छ ।

ट्रक दुर्घटना अपडेटः मृतक बालकको सनाखत, घाइते ८ जनाको पहिचान

काठमाडौं । धादिङको निलकण्ठमा आइतबार ट्रक दुर्घटनामा मृत्यु भएका बालकको सनाखत भएको छ।  दुर्घटनामा मृत्यु हुनेमा १० बर्षका  बालक सन्तोष रम्तेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ।  प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका अन्य सबैको पहिचान भएको छ । घाइते हुनेहरुमध्ये ट्रक चालक ३५ वर्षीय विष्णु सिर्मल तथा ट्रकमा सवार १३ बर्षीय कृष्ण रम्तेल र १४ बर्षीय सुदीप मजरकोटीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए। दुर्घटनामा मृतक सन्तोष रम्तेलका बुवा ४० बर्षीय राम रम्तेल, ३५ बर्षीय हिरा रम्तेल, ११ बर्षीय सुजन रम्तेल, १० बर्षिय प्रितम मजरकोटी र १० बर्षीय बिमल मजरकोटीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । सामान्य घाइतेहरुको जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई काठमाडौं रिफर गरिएको छ।  उनीहरु एकै परिवारको सदस्य रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बिहान सवा ९ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा ३ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो ।

ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु, ९ घाइते

काठमाडौं । धादिङको निलकण्ठ नगरपालिकामा मालवाहक ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अरु ९ जना घाइते भएका छन् । मृतक र घाइतेहरुको पहिचान खुल्न बाँकी छ।  जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आइतबार बिहान सवा नौ बजेतिर निलकण्ठ नगरपालिका–५ खाल्टेको पतेनीबाट बेँसीतर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक दुर्घटनामा परेको थियो । रासायनिक मल बोकेर पतेनी बेँसीतिर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको उद्धार गरेर अस्पताल लगिएको छ। दुर्घटनाको कारण र विस्तृत विवरणा आउँन बाँकी रहेको प्रहरीले जनाएको छ। 

बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  कीर्तिपुर नगरपालिका–३ बस्ने ५२ वर्षीय सानु वाहकको मृत्यु भएको हो । बा.प्र ०१–००६ ख ५७७८ नम्बरको बसले बा.९६ प ६०१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। बस चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

नैनीतालमा जीप दुर्घटना हुँदा मृत्यु हुने ७ जना बर्दियाका नागरिक

कञ्चनपुर । भारत उत्तराखण्डको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा भएको जीप दुर्घटनामा परी मृत्यु हुनेहरु बर्दिया बबईका भएको खुलेको छ। बेतालघाट थानाका इन्चार्ज अनिस अहमदकाअनुसार उनीहरु सबै बर्दियाका नागरिक हुन्।  उनीहरु बेतालघाट भन्दा १८ किलोमिटर पूर्वी क्षेत्रमा मल्लागाउँ उच्चाकोटमा खानेपानी आयोजनामा पाइप बिछ्याउने काम गरिरहेका नेपाली कामदारहरु थिए । जो दिनभर काम गरेर सोमबार साँझ घरतर्फ हिडेका थिए।  जीप ५ मिटर पनि हिड्न नपाउँदै दुर्घटना भएको थियो ।  २ जना भने गाडीमा चढेकै थिएनन् । थोरै हिड्ने बित्तिकै गाडि दुर्घटना हुन पुग्यो गाडीमा ९ जना कामदार र चालक  लुगाकपडा र भाडाकुँडासहित घर फर्किन लागेका थिए । गाडी भिरालोमा उभिएका कारण नियन्त्रण हुन नसकी दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।  दुर्घटनामा परि चालक सहित ८ जनाको मृत्यु भएको छ। जसमध्ये ७ जना नेपाली रहेका छन् । युके ०४ सीसी ०४९५ नम्बरको बाेलेरो जीपका चालक उच्चाकोट निवासी राजेन्द्र कुमारसँगै नेपाली कामदारहरु बिश्राम चौधरी, अन्तराम चौधरी, गोपाल बस्नेत, उदय चौधरी, विनोद चौधरी, तिलक चौधरी र धिरज चौधरी रहेका छन् ।  घाइते शान्ति चौधरी र छोटु चौधरीको तिवारी राजकीय अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ । मृतकहरुको शव पोष्टमार्टमका लागि डिएसबी अस्पताल नैनीतालमा राखिएको छ।

डियुटीमा रहेका ट्राफिकलाई बसले ठोक्यो, घटनास्थलमै मृत्यु

बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा राति डियुटीमा खटिएका ट्राफिक प्रहरी जवानको बसको ठक्करबाट मृत्यु भएको छ ।  काठमाडौंबाट काँकरभिट्टाको लागी हिंडेको बागमती प्रदेश ०१००ख ६१२३ नम्बरको बसको ठक्करबाट अमलेखगञ्जमा कार्यरत प्रहरी जवान मुनटुन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । अमलेखगञ्ज चोकमा शुक्रबार राति सवा ११ बजे डियुटीमा खटिएका ट्राफिक प्रहरी यादवलाई बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए ।  रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचको लागि रोक्न खोज्दा बसले ठक्कर दिएको बताइएको छ ।पर्साको छिपहरमाई गाउँपालिका मिर्जापुर निवासी मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको  छ। 

दुई यात्रुवाहक बस ठोक्किँदा २२ जना घाइते

दाङ । दाङमा दुईवटा यात्रुवाहक बस ठोक्किँदा बसमा सवार रहेका २२ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले दुईजनाको अवस्था गम्भीर रहेको जानकारी दिए । गम्भीर रुपमा घाइते हुनेमा गढवा गाउँपालिका–२ का लक्ष्मण थारू र राप्ती गाउँपालिका–२ लालमटियाका ७८ वर्षीय चन्द्र कमल थापा छन् । थारू दुर्घटनामा परेको एक बसका चालक हुन । लमही अस्पतालमा सामान्य उपचारपछि घाइतेहरुलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । लमही नगरपालिका– ३ वनगाउँमा दुईवटा बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । लमही अस्पतालमा सामान्य घाइतेको उपचार भइरहेको छ । बुटवलबाट सुर्खेत जाँदै गरेको लु १ ख ७३६३ नम्बरको बस र तुलसीपुरबाट बुटवल जाँदै गरेको रा १ ख २५८१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएका हुन् ।