कक्षा १२ मा पार्टी विशेषको प्रश्न

काठमाडौं , वैशाख १६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पोल्टिकल साइन्स विषयको प्रश्नपत्रमा पार्टी विशेषको प्रश्न साेधेकाे छ ।

प्रश्न नम्बर ५ मा सोधिएको छ, नेकपा एमालेको भूमिकाबारे चर्चा गर्नुहोस् । त्यसकै विकल्पमा अर्को प्रश्न छ, नेपाली कांग्रेसको भूमिकाबारे चर्चा गर्नुहोस् भनिएको अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा विद्यार्थी समस्यामा

धनुषा, वैशाख १४ । धनुषासहित आसपासका जिल्लामा नयाँ शैक्षिकसत्र सुरु भइसकेपनि हालसम्म सामुदायिक विद्यालयमा पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका छन् । शैक्षिक सत्र सुरु भएको १४ दिन बित्न लागे पनि अहिलेसम्म सबै पाठ्यपुस्तक उपलब्ध हुन नसकेका कारण विद्यार्थी समस्यामा परेका हुन् । धनुषाको साविक घोडघास गाविसस्थित गङ्गुली–६ मा पर्ने राष्ट्रिय निम्न माध्यमिक विद्यालयका विद्यार्थी पुस्तक अभावका कारण दिनहुँ विद्यालयमा खेलेर बिताउने गर्छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीका सम्पूर्ण पुस्तक उपलब्ध नहुँदा धेरै विद्यार्थी त विद्यालय नै आउन छोडेको प्राध्यापक धनीराम ठाकुरले बताउनुभयो । कक्षा ६ का पाँचवटा, कक्षा ९ का चारवटा, कक्षा १० का चारवटा लगायत ४० प्रतिशतभन्दा बढी विषयगत पुस्तकको हाल धनुषामा अभाव रहेको नेपाल पुस्तक व्यवसायी सङ्घ, धनुषाका अध्यक्ष गौतम ढुङ्गेलले बताउनुभयो । अध्यक्ष ढुङ्गेलका अनुसार जसरी पुस्तक आउने गरेको छ, सोही आधारमा नै विद्यार्थीलाई उपलब्ध गराउने गरिएको छ । पुस्तकको विषय जटिल भएका कारण यो विषयलाई धनुषाका प्रजिअमार्फत समाधान खोज्न आफूहरुले पहल गरिरहेको उहाँको भनाइ थियो । सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किँदै गएका बेलामा प्रत्येक वर्ष यस्तो समस्याले शैक्षिकस्तर झनै कमजोर हुने खतरा रहेको जनकपुर उपमहानगरपालिका–१४ घर भएका अभिभावक देवकुमार महतो बताउनुहुन्छ । उहाँले भन्नुभयो – “खै कसरी पढाउने सामुदायिक विद्यालयमा प्रत्येक वर्ष पुस्तक अभाव देखाएर बच्चाले तीन–तीन महिना पढ्नै पाउँदैनन् । विगत केही वर्षदेखि सबै शैक्षिकसत्रमा पुस्तक अभाव हुन्छ खै कहिले समाधान गर्ने सरकारले ?” जनक शिक्षा सामग्री केन्द्रका कर्मचारी र शिक्षकमा कमिसनको लालचसमेत बढेको पीडा विद्यार्थीले भोग्नु परिरहेको पुस्तक व्यवसायीको आरोप छ । स्थानीय तह निर्वाचनको मतपत्र छाप्नमा कर्मचारी व्यस्त भएका कारण केहीदिनभित्रै समस्या समाधान हुने जनक शिक्षा सामग्री क्षेत्रीय कार्यालय, जनकपुरले जनाएको छ ।

प्याब्सन केन्द्रिय कार्यलय डिल्लीबजारमा तालाबन्दी

काठमाडौ,बैशाख १४ । आन्दोलनरत विद्यार्थी संघसंगठनले चर्को शुल्क असुल्ले बिद्यालयहरुको संरक्षक रहेको प्याब्सन केन्द्रिय कार्यलय डिल्लीबजारमा तालाबन्दी गर्दैछ । बिहान ११ बजे तालाबन्दी गर्ने कार्यक्रम रहेको बिद्यार्थी नेताहरुले जानकारी दिएक छन् । यसअघि हिजो संयुक्त विद्यार्थी संघसंगठनले घोषित आन्दोलनको कार्यक्रम अनुसार चर्को शुल्क असुल्ने बिभिन्न शैक्षिक सस्थाहरुको लेखा र प्रसासनिक साखामा तालाबन्दी गरेको थियो । पठनपाठन भने शुचारु रहने छ् ।

एक दर्जन विद्यालयमा तालाबन्दी

भीमदत्तनगर, वैशाख १३ । निजी विद्यालयले शुल्क वृद्धि गरेको भन्दै पाँच विद्यार्थी सङ्गठनले आज कञ्चनपुरको भीमदत्तनगरमा एक दर्जन विद्यालयमा तालाबन्दी गरिदिएका छन् । वृद्धि गरिएको शुल्क घटाउनुपर्ने, अवैधानिक ढङ्गबाट सञ्चालित शैक्षिक संस्था खारेज गर्नुपर्ने, मापदण्डअनुसारका स्कुल बसहरू सञ्चालन गर्नुपर्ने मागसहित दबाब दिँदै आएका विद्यार्थी सङ्गठनले यहाँका एक दर्जन विद्यालयका लेखा र प्रशासन शाखामा अनिश्चितकालसम्मका लागि तालाबन्दी गरेका हुन् । सनराइज बोर्डिङ स्कूल, ग्लोबल एकेडेमी, इन्टरनेशनल हायर सेकेन्ड्री स्कुल, वेस्र्टन एकेडेमी, मर्निङ ग्लोरीलगायतका एक दर्जन विद्यालयमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन कञ्चनपुरका सहसचिव नरेन्द्र कार्कीले बताए । नेपाल विद्यार्थी सङ्घ कञ्चनपुरका नेता इन्द्र साउदले शुल्क वृद्धि घटाउनुपर्नेलगायतका मागसहित मङ्गलबार कञ्चनपुरका जिल्ला शिक्षा अधिकारीको समेत ध्यानाकर्षण गराएको जानकारी दिए ।  

चर्काे शुल्क असुलेको भन्दै मुलुकभरका जिशिका घेराउ

काठमाडौं, वैशाख १२ । संयुक्त विद्यार्थी संगठनले मंगलबार मुलुकभरका जिल्ला शिक्षा कार्यलय घेराउ गरेका छन् । निजी शैक्षिक संस्थाले मापदण्डविपरित चर्को शुल्क असुलेको भन्दै विभिन्न ९ वटा विद्यार्थी संगठनले मंगलबार बिहान ११ बजेदेखि एक घण्टा शिक्षा कार्यालय घेराउ गरेका हुन् । सो विषयमा सरकारको ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अनेरास्ववियुका सचिव आरसी लामिछानेले बताए । यस्तै, उनीहरुले भोलि मापदण्ड मिचेर बढी शुल्क लिने नीजि शैक्षिक संस्थाहरुको लेखा र प्रशासनमा तालाबन्दी गर्ने र पर्सी १४ गते प्याब्सन र एन प्याब्सनको जिल्ला तथा केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने लगायतको कार्यक्रम पनि सार्वजनिक गरेका छन् । यसअघि मापदण्ड विपरित संस्थागत विद्यालयले बढाएको शुल्क तीन दिन भित्र फिर्ता गर्न शिक्षामन्त्रालयले पहल गर्ने प्रतिबद्धता जनाएपनि कार्यान्वयन गर्न नसकेको उनीहरुले आरोप लगाएका छन् ।

छात्रवृत्तिका लागि ६ लाखको अक्षयकोष

पोखरा, वैशाख १२ । स्थानीय रामबजारको रञ्जित परिवारले यहाँका दुई सामुदायिक विद्यालयमा छात्रवृत्तिका लागि रु.छ लाख अक्षयकोष स्थापना गरेको छ । रामबजारस्थित कालिका माविमा रु.चार लाख र पोखरा बसपार्कस्थित सहारा आधारभूत विद्यालयमा रु.दुई लाखको अक्षयकोष स्थापनाका लागि मंगलबार रकम हस्तान्तरण गरिएको छ । सो ठाउँ निवासी बैकुण्ठ, शिव, सुदर्शन र विजय रञ्जितले आफ्ना पिता स्व हरिगोपाल र आमा गणेशमायाका नाउँमा उक्त रकम विद्यालयलाई अक्षयकोषका लागि हस्तान्तरण गरेको हो । रञ्जित चार दाजुभाइले आफ्ना पिताको ४५ औँ दिनको तिथि पारेर मंगलबार गरिब तथा जेहेन्दार विद्यार्थीलाई थप अध्ययनका लागि विद्यालयलाई उक्त रकम प्रदान गरेको साहिँला छोरा फोटो पत्रकार सुदर्शनले जानकारी दिए । अक्षयकोषबाट प्राप्त ब्याजबाट कालिका माविमा कक्षा ९ देखि १२ कक्षासम्म र सहारा विद्यालयमा कक्षा ९ मा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ ।

बालबालिकालाई शैक्षिक सामग्री सहयोग

दमौली, वैशाख १० । तनहुँको तीनवटा इँटा उद्योगमा काम गर्ने मजदुरका दुईवटा विद्यालयका ८६ जना बालबालिकालाई शनिबार शैक्षिक सामग्री वितरण गरिएको छ । माछापुच्छ्रे, पोखेरेली र मनकामना इँटा उद्योगमा काम गर्ने कामदारका ती बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । एकीकृत हरित विकास नेपालको संयोजन र ग्लोबल फेयरनेस इनिसिएटिभको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित बेटर ब्रिक–नेपाल परियोजनामार्फत ती उद्योगमा काम गर्ने बालबालिकालाई सामग्री वितरण गरिएको हो । राधा मावि र पसले आधारभूत विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई अङ्ग्रेजी माध्यमका पाठ्यपुस्तक, विद्यालय पोसाक एवम् स्कुल ब्याग तथा अन्य शैक्षिक सामग्रीसमेत हस्तान्तरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी टोपबहादुर श्रेष्ठले ती सामग्री वितरण गर्नुभएको हो । कार्यक्रममा वक्ताहरूले उक्त सहयोगले बालबालिकाको विद्यालयसम्मको पहुँच विस्तार गर्दै पढाइलाई निरन्तरता दिन सहयोग पुर्याउने बताएका थिए ।

चुनावमा उम्मेदवार बन्न प्रधानाध्यापकबाट राजीनामा

कञ्चनपुर, चैत २९ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कालिका माविका प्रधानाध्यापक मधु बोहराले स्थानीय तहको चुनावमा उम्मेदवार बन्नका लागि विद्यालयबाट राजीनामा दिएका छन् । नगरपालिकाको उपमेयर पदमा उठ्न विद्यालयबाट राजीनामा दिएका उनले महिलाले पनि नेतृत्व लिएर अघि बढ्न र निर्णय लिन सक्छन् भन्ने सन्देश दिन चुनावमा उत्रेको बताइन् । नेपाली काँग्रेस पार्टीबाट टिकट पाउने आशामा ढुक्क भई चुनाव प्रचारमा खटिएकी उनले विकास अभियानको नेतृत्व लिन पार्टीसँग टिकट मागेको बताए । टिकट पाएर चुनाव जिते शिक्षामा व्यवस्थापकीय सुधार, स्वास्थ्य सेवालाई भरपर्दो, यातायात र सञ्चार सेवालाई सहज बनाउन लागिपर्ने उनको भनाइ छ । पहिलो पटक चुनावमा भाग लिन लाग्नुभएका बोहराले कुनै कारणवश टिकट नपाए राजनीतिसँगै सामाजिक कार्यमा क्रियाशील रहने बताए । विसं २०४५ मा निजी स्रोतको कोटामा विद्यालयमा प्रवेश गरेका बोहराले विसं २०४९ देखि नेपाल शिक्षक सङ्घमार्फत राजनीतिमा प्रवेश गरेकी हुन् । यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्न विद्यालयको प्रधानाध्यापक पदबाट राजीनामा दिई तोयप्रसाद शर्मासमेत भोट माग्न लागेका छन् ।

७५ हजारले कोरिया भाषा परीक्षामा आवेदन, कृषि क्षेत्रमा मात्रै ५४ हजारले दिए आवेदन

काठमाडौं, चैत २० । दक्षिण कोरियामा रोजगारीका लागि जान यसपालि करिब ७५ हजारले भरेका छन् । मुलुकभरबाट गत ९ गते कोरिया भाषा परीक्षाका लागि बिहान १० बजेदेखि हिजो अपरान्ह ४ बजेसम्ममा करिब ७४ हजार ८ सय २५ जनाले अनलाइन मार्फत आवेदन भरेका छन् । ईपिएस शाखाका अधिकृत शोभाकर भण्डारीका अनुसार ग्लोवल बैंकमा भने ७५ हजार ९ सय २५ जनाले परीक्षा दस्तुर बुझाएका छन् । उनीहरुले गएराती १२ बजेसम्म ईपिएसको आवेदन दर्ता गर्न पाउने भएकाले आवेदकको संख्या अझ बढने उनको भनाइ छ । २०१६ मा ८ हजार कोटाका लागि ६३ हजार र २०१५ मा ५१ हजारले आवेदन दिएका थिए । कोरिया सरकारले २०१८ का लागि १० हजार भन्दा बढी कोटा नेपाललाई छुट्याएको छ । यसपालिका आवेदकमध्ये कृषि क्षेत्रमा आवेदन दिनेको संख्या अत्याधिक छ । कुल आवेदकमध्ये ५४ हजार ७ सयले कृषि क्षेत्रमा आवेदन दिएका छन् । कृषिमा आवेदन दिने महिलाको संख्या ८ हजार भन्दा बढी छ । त्यस्तै, औद्योगिक उत्पादन क्षेत्रमा २४ हजार ले आवेदन दिएका छन् । यो क्षेत्रमा आवेदन दिनेमा २२ हजार ४ सय पुरुष छन् । ईपिएस शाखाले आवेदन दिंदा गल्ति गरेका आवेदकहरुलाई २० गतेदेखि २५ गतेसम्म विवरण सच्याउने म्याद दिएको छ ।

राजनीति गर्ने शिक्षक कारबाहीमा

गुल्मी, चैत १८ । जिल्ला शिक्षा कार्यालय गुल्मीले सक्रिय राजनीति गर्ने १३ जना शिक्षकलाई कारबाही गर्ने भएको छ । सामुदायिक विद्यालय अन्र्तगतका ती १३ जना शिक्षकलाई सक्रिय रुपमा राजनीति गरेको हुनाले उनीहरुलाई आवश्यक कारबाही गर्न प्रक्रिया अघि बढाईएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । खनालकाअनुसार कारबाही गर्ने जानकारी पाएपछि अहिले पाँच जना शिक्षकले जागिरबाट अवकाश लिइसकेका छन् भने अन्य शिक्षकलाई उनीहरुको गल्तीका आधारमा स्पष्टीकरण सोधिएको बताइएको छ । ‘हामीले कार्यालयमा आएका विभिन्न उजुरी र स्थानीय बासिन्दाले उपलब्ध गराएको भिडियो लगायतलाई आधार मानेर कारबाही प्रक्रिया अघि बढाएका छौं’ खनालले भने । जिल्ला शिक्षा कार्यालयले श्रोत व्यक्तिहरुमार्फत गोप्य रुपमा सक्रिय राजनीतिमा संलग्न शिक्षकहरुको नामावली संकलन गर्न निर्देशन दिए पनि श्रोत व्यक्तिहरुलाई उक्त नामावली संकलनमा समस्या परेको छ । जसका कारण जिल्ला शिक्षा अधिकारीले स्थानीय विकास अधिकारी मार्फत गाउँपालिका र नगरपालिकाका वडा सचिवहरुमार्फत गोप्य रुपमा त्यस्ता शिक्षकहरुको नामावली संकलन गर्न सुरु गर्न थाल्नु भएको छ । ‘एउटाले भोको पेटले राजनीति गरिरहेको छ, अर्कोले सरकारी तलब खाएर राजनीति गरेको छ, हामीले सुरु गरेको यो अभियानलाई राजनीतिक दलहरुले पनि राम्रो मान्नु भएको छ,’ जिल्ला शिक्षा अधिकारी खनालले भने । जिल्ला शिक्षा कार्यालय गुल्मीले शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुको कार्यकारी पदमा रहेका अधिकांश शिक्षकहरु जागिर छोड्ने की राजनीतिमा फर्कने भन्ने दोधारमा रहेका छन्।

नेपालमा नयाँ विषयमा पठनपाठन सुरु

काठमाडौँ, चैत १७। पाटन कलेज फर प्रोफेसनल स्टडिजले स्नातक तहमा कम्प्युटर साइन्स एन्ड सफ्टवेयर इञ्जिनियरिङ र विजनेस एड्मिनिस्ट्रेसन विषयको अध्यापन सुरु गरेको छ । बेलायतको प्रसिद्ध विश्वविद्यालय युनिभर्सिटी अफ बेडफोर्डसायरबाट सम्बन्धन लिएर उक्त कलेजले यसै शैक्षिकसत्रबाट ती विषयका पठनपाठन सुरु गरेको हो । एक सय ३० वर्ष पुरानो सो विश्वविद्यालय विश्वको उत्कृष्ट आठ सय विश्वविद्यालयअन्तर्गत पर्छ । कलेजले ती विषयका पठनपाठन बारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तीनवर्षे अध्ययन अवधि रहेको ती विषयमा विद्यार्थीको अध्ययन अवधि ३६० क्रेडिट आवर रहेको र सो कार्यक्रम पूरा गर्नका लागि रु १० लाख शुल्क लाग्नेछ । सूचना प्रविधिमा आधारित रही पठनपाठन हुने ती विषयका विद्यार्थीले चाहेको खण्डमा पहिलो वर्ष नेपालमा र बाँकी दुई वर्ष बेलायमै गई अध्ययनसमेत गर्न सकिने व्यवस्था भएको कलेजका अध्यक्ष पङ्कज जालानले जानकारी दिए । उनका अनुसार कजेलमा अध्ययन पूरा गरिसकेपछि विद्यार्थीका लागि रोजगारीका अवसर वा आफैँ व्यवसाय गर्न विशेष परामर्शको व्यवस्था मिलाइएको जानकारी दिए । बेलायतको युनिभर्सिटी अफ बेडफोर्डसायबाट अध्ययन गरेका ९२ प्रतिशत विद्यार्थीले छ महिनामै रोजगारी सुरु गर्र्ने गर्छन् । कलेजका प्राज्ञिक निर्देशक डा राजिव क्षेत्रीले विश्वविद्यालयको सो कार्यक्रम सञ्चालन गर्ने आफ्नो कलेज पहिलो भएको जानकारी दिँदै सो कार्यक्रम चीन, युरोप, दक्षिणपूर्र्वी एसियाका देशमा सञ्चालनमा रहेको बताए । कलेजका व्यवस्थापक योगेश क्षेत्रीले कलेजमा प्राज्ञिकबाहेक विद्यार्थीका व्यक्तित्व विकास गर्न लर्निङ जोन, प्रोजेक्ट रुमलगायतको व्यवस्था गरिएको र बेलायत अध्ययन गरी फर्किएका अनुभवी व्यक्तिले अध्ययन गराउने जानकारी दिए ।

स्कूलका विद्यार्थीहरुलाई दिवा खाजा प्रभावकारी, १० वटा विद्यालयलार्इ भाँडावर्तन वितरण

सिन्धुपाल्चोक, चैत १६ । दिवा खाजाको वातावरण मिलाई रहेको नेत्रज्याेति कृषि सहकारी संस्थाले एक अन्तरकृया कार्यक्रम गरेर १० वटा विद्यालयलाई भाँडावर्तन वितरण गरेको छ । ठूलो सिरुवारी गाउँ विकास समितिका १० वटा सामुदायिक विद्यालयहरुलाई स्थानीय स्तरमा उत्पादन भएका सामग्रीहरु प्रयोग गरेर विद्यालय दिवा खाजा व्यवस्थापन गर्नको लागि आवश्यक भाँडावर्तन वितरण गरिएको हो । नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडको आयोजनामा विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा स्थानीय स्तरमा उत्पादन भएको सामग्री कोदोको रोटी, गहुँको रोटी, मकै, भट्मास र जाउलो खुवाउनको निमित्त उक्त परिकार निर्माण गर्न आवश्यक पर्ने भाँडा सामग्री खाद्य स्टोरको लागि बाक्सा र विद्यार्थीको आधारमा प्लेट, चम्चा, किचेनका सामानहरु समेतका सामग्रीहरु वितरण गरिएको हो । जिल्ला शिक्षा अधिकारी निर्मलकुमार घिमिरे, जिल्ला शिक्षा कार्यालय आयोजना कार्यान्वयन इकाई प्रमुख तथा जिल्ला पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदी, विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवार, समाजसेवी शान्ता थापा क्षेत्री, राष्ट्रिय अनलाईन पत्रकार संघका केन्द्रीय महासचिव सागर श्रेष्ठ लगायतको विषेश उपस्थितिमा नेत्रज्योती कृषि सहकारी संस्थाले प्रत्येक विद्यालयका प्रधानाध्यापक तथा विव्यस अध्यक्ष र खाजा सहयोगीहरुलाई सेतीदेवी माविको प्राङ्गणमा भाँडावर्तन वितरण गरेको हो । यसअघि गणेश आधारभूत विद्यालयमा विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया समेत भएको थियो । अन्तरक्रिया कार्यक्रम पश्चात भाँडावर्तन वितरणको कार्यक्रम गरिएको हो । अन्तरक्रिया कार्यक्रममा बोल्दै जिशिअ घिमिरेले बैशाख ५ गतेभित्र सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्रका पाठ्यपुस्तकहरु ल्याइसक्न सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई निर्देशन दिए । जिल्ला शिक्षा कार्यालयबाट प्रत्येक विद्यालयको खातामा पाठ्यपुस्तक वापतको ७५ प्रतिशत रकम निकासा भइसकेको हुँदा त्यो निकासाको रकम निकालेर अहिलेको परीक्षा सकिने बित्तिकै शिक्षा मापदण्ड अनुसार पाठ्यपुस्तक खरिद गर्न शिक्षकहरुलाई निर्देशन गरेका छन् । नेत्रज्योती कृषि सहकारी संस्था, नेत्रज्याेति मार्ग, डडुवाले आयोजना गरेको विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले त्यस्तो बताए । विश्व खाद्य कार्यक्रमको विषेश सहयोगमा साविक ठूलोसिरुवारीका १० वटा सामुदायिक विद्यालयमा शिशु कक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई स्थानीय स्तरमै उत्पादन भएका खाद्यान्नहरु प्रयोग गरेर नेत्रज्याेति कृषि सहकारी संस्थाले खाजा खुवाइरहेको कार्यक्रमका विषयमा गणेश आधारभूत विद्यालय जंगलछापमा गरिएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै घिमिरेले जिल्ला शिक्षा अधिकारी लगायत सबै विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुको दाता भनेको विद्यार्थी र अभिभावक हुन् । त्यसैले अभिभावकको मन जितेर उनीहरुको छोराछोरीलाई मनोरञ्जनात्मक तरिकाले शिक्षा दिनुपर्ने बताए । उनले कर्मचारीहरुको दाता भनेकै नागरिक हुन् र मालिक नै नागरिक हुन् उनीहरुले तिरेको करबाट उठेको रकमले हामीहरुले तलव खाइरहेका छौं । त्यसैले पनि जनता तथा अभिभावकहरु हाम्रा मालिक हुन् । उनीहरुको अनुकूलतामा विद्यालयले काम गर्नुपर्ने बताए । विद्यालय दिवा खाजा सम्बन्धमा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षकहरुलाई कार्य व्यस्ता भार काम गर्नको लागि र स्थानीय बालबालिकाहरुलाई चाउचाउ बिस्कुट तथा कुपोषण सम्बन्धी खालका सामग्रीहरु प्रयोग गर्नुभन्दा गाउँमै उत्पादन भएका सामग्रीहरुबाट खाजा निर्माण गरेर खुवाउँदा पौष्टिक आहार प्राप्त हुने भएकोले यो कार्यक्रम परीक्षणको रुपमा लागू गरिएको बताए । सहकारी संस्थाले प्रत्येक विद्यालयमा खाजा सहयोगी राखेर खाजा व्यवस्थापन गरिरहेको र प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरेर कृषि उत्पादनलाई बढाउनको निमित्त विषेश योगदान गरिरहेकोले उक्त योगदानलाई सबैले सम्मान गर्नुपर्ने उनले बताए । सहायक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा कार्यालय पोषण समितिका सम्पर्क व्यक्ति कृष्ण सुवेदीले सहकारी संस्थाले सधैंभरी काम गर्नको लागि ठेक्का लिएको होइन, यहिँका बालबच्चाहरुलाई उनीहरुकै अभिभावकहरुबाट उत्पादन भएको खाद्यान्न सामग्रीहरु प्रयोग गरेर बनाइएको खाजाबाट बढी पौष्टिक आहार हुन सक्छ भनेर यो कार्यक्रम परीक्षणकालको रुपमा लागू गरिएको, र विशेषगरी विश्व खाद्य कार्यक्रमले नेत्रज्योती कृषि सहकारी संस्थालाई प्रत्येक विद्यालयमा १–१ जना खाजा सहयोगी राखेर खाजाको व्यवस्थापन गरेको हुँदा विद्यालयका शिक्षक तथा प्रअहरुलाई यस सम्बन्धमा कुनैपनि समस्या नपर्ने गरी काम गर्न सहजता मिलेको बताए । उनले यो कार्यक्रम सफल हुँदा विद्यालयका शिक्षक तथा सहयोगीलाई मार नपर्ने गरी खाजाको लागि अर्को कर्मचारीको व्यवस्थापन समेत गर्दा राम्रो हुन्छ कि भन्ने विषयमा यो परीक्षण गरिएको पनि प्रष्ट पारे । विश्व खाद्य कार्यक्रमका रुद्र सुनुवारले सहकारीको माध्यमबाट यो कार्यक्रम लागू गर्न सके सहजता र शैक्षिक स्तरमा उन्नति हुन्छ कि भनेर परीक्षणको रुपमा सहकारीलाई यो कार्यक्रमको व्यवस्थापन गर्न सहयोग गरेको बताए । नेत्रज्याेति कृषि सहकारी संस्थाका सचिव नेत्रबहादुर बस्नेतले विगतमा भएका खाजा व्यवस्थामा परिवर्तन भएको, चाउचाउ, विस्कुट खुवाउने प्रक्रिया हटेर गाउँमै उत्पादन भएका कोदो, मकै तथा धानबाट निर्मित सामग्रीहरु प्रयोग गरी खाजा खुवाउने व्यवस्थामा तीव्रता आएको यसरी पौष्टिक खाजा खान पाउँदा विद्यार्थीहरु पनि आकर्षित भएको बताए । कार्यक्रममा सेतीदेवी माध्यमिक विद्यालयका विव्यस अध्यक्ष देवी दुलाल, प्रअ हरिविक्रम नेपाल, डडुवा भवानीशंकर माविका बद्रीप्रसाद नेपाल, गणेश आधारभूत विद्यालयका शान्ति गिरी, कुण्डला माविका विव्यस अध्यक्ष दिवाकर फुयाँल, लेखापाल गोविन्द ढुङ्गेल, झमलादेवी आधारभूत विद्यालयका लालबहादुर श्रेष्ठ, बाघभैरव आधारभुत विद्यालयका हरि ढुङ्गेल लगायत विद्यालयका प्रअ तथा विव्यस अध्यक्षहरुले आ–आफ्नो तर्फबाट खाजाको प्रभावकारीता विषयमा धारणा राखेका छन् । नेत्रज्योति कृषि सहकारी संस्थाका अध्यक्ष शिव केसीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा १० वटा विद्यालयका प्रधानाध्यापक, पोषण सम्पर्क व्यक्ति तथा सहकारी संस्थाका खाजा सहयोगीहरुको उपस्थिति रहेको थियो । विद्यालय दिवा खाजा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेत्रज्योती कृषि सहकारी संस्था लि.का सचिव नेत्रबहादुर बस्नेतद्वारा प्रस्तुत प्रतिवेदन नेत्रज्योति कृषि सहकारी संस्था लि.ले नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा विभाग जिल्ला शिक्षा कार्यालय सिन्धुपाल्चोक, विश्व खाद्य कार्यक्रमको सहयोगमा २०७३ भाद्र १ गतेदेखि विद्यालय दिवा खाजाको लागि प्रत्येक विद्यालयमा खाजा सहयोगीको व्यवस्था गरेर स्थानीय स्तरमा उत्पादन भएको खाद्यान्न प्रयोग गरी दिवा खाजा वितरण गरिरहेको छ । विश्व खाद्य कार्यक्रमको सहयोगमा प्रत्येक विद्यालयमा विद्यार्थी उपस्थिति विवरण अनुसार खाजा निर्माण गरेर खुवाउनुका साथै विद्यालयलाई कृषि क्षेत्रको प्राथमिकतामा राख्दै प्रत्येक विद्यालयमा करेसाबारी निर्माण गरी करेसाबारीको लागि आवश्यक पर्ने सामग्रीहरु समेत विद्यालयलाई उपलब्ध गरार्इ सकिएको छ। सिन्धुपाल्चोक जिल्लामा प्रति महिना रु १०० र ३ माना चामल अभिभावकबाट संकलन गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई प्रधानाध्यापकबाट दिवा खाजा व्यवस्थापन गरिएको उदाहरणहरु देखिएको छ । तर हाम्रो सदरमुकाम नजिकै रहेको साँगाचोक स्रोतकेन्द्र अन्तर्गत साविक ठूलोसिरुवारी गाविसको १० वटा विद्यालयमा सरकारले प्रति विद्यार्थी रु १५ का दरले उपलब्ध गराइएको र उक्त रकमबाट बाह्य सामग्रीको प्रयोग गरी चाउचाउ बिस्कुट खुवाइरहेको प्रथालाई हटाएर स्थानीय स्तरमै उत्पादन भएको सामग्रीहरुको व्यवस्थापन गरी विश्व खाद्य कार्यक्रमको सहयोगमा खाजा सहयोगी राखेर व्यवस्थापन गर्दा समेत केही विद्यालयहरुले यसलाई असहयोग गरेको देखिन आएको छ । यसरी उपलब्ध भएको रकमलाई पनि सदुपयोग गर्न नसक्नुमा हामी आफै गाउँवासीहरुको कमजोरी रहने हामी सबैले महसुस गरेका छौं । त्यसैले पनि नेत्रज्योती कृषि सहकारी संस्था लिमिटेडले यसको सदुपयोगताको लागि विभिन्न कदमहरु चाल्दै आएको छ । यस खाजा कार्यक्रमको निरन्तरता र व्यवस्थापनको लागि सहकारीले आफ्नो बुताले भ्याएसम्म आवश्यक व्यवस्थापनमा लागिरहन्छ । अरु जिल्लाहरु भन्दा सिन्धुपाल्चोकमा रहेका ५४२ विद्यालय मध्ये ११२ विद्यालयमा मात्र यो व्यवस्था लागू गरिएको छ । जम्मा राष्ट्रभरीकै २९ जिल्लाका केही विद्यालयमा लागू भएको यो कार्यक्रम १० वटा जिल्लामा खाद्यान्न सामग्री, पीठो, चामल उपलब्ध गराइएको छ भने २९ जिल्लाको केही विद्यालयमा नगद प्रवाह गरिएको छ । त्यहि नगद प्रवाह गरिएको जिल्ला मध्ये सिन्धुपाल्चोक पनि एक हो । सिन्धुपाल्चोक जिल्लामा साविक ७९ गाविस मध्ये जम्मा १५ वटा गाविस छानिनुमा ठूलोसिरुवारी पनि भाग्यमानि मान्नुपर्छ । किनभने जिल्लामा रहेका ७९ गाविसहरु र ५४२ विद्यालयहरु मध्ये ठूलोसिरुवारीको १० वटा विद्यालय पक्कै पनि दूर्गम र पिछडामा थिएन । सदरमुकामको नजिकै रहेको र जिल्लाको हिमाली क्षेत्र र सिमान्तकृत क्षेत्र भन्दा हामी दूर्गम होइनौं । एउटा विद्यालयबाट अर्को विद्यालयमा जान झण्डै ६ घण्टा पैदल यात्रा गर्नुपर्ने वाध्यता रहेको यसै सिन्धुपाल्चोकमा हेर्ने हो भने- हामी ६ घण्टामा त गाविसभरीको पूरै विद्यालयमा घुम्न सक्ने अवस्थामा छौं । यहि जिल्लामा विहान बेलुका पेटभरी खान नपाउने अवस्थाका बालबालिकाहरु पनि हुन सक्छन् । त्यस्ता दूर्गम र पिछडा बालबालिकालाई समेत बेवास्ता गर्दै ठूलोसिरुवारीमा आएको खाजा कार्यक्रमलाई आफ्नो अनुकूलमा अनियमितता गरेर व्यक्तिगत फाइदा उठाउन खोज्नु महा अपराध हुन जान्छ । त्यसैले पनि सहकारी संस्थाले खाजा व्यवस्थापनमा बढी चासो लिएको हो । यस्तो अवस्थामा रहेको यहाँको १० वटा विद्यालयका बालबालिकालाई जिल्ला शिक्षा कार्यालयले व्यवस्थापन गरेको दिवा खाजामा हेलचक्राइँ गर्न कुनैपनि हालतमा सहकारीले नदिने अठोटका साथ यो कार्यक्रममा समावेश भएको हो । कार्यक्रमको सुरुवातमा सहकारी संस्थाका केही कमी कमजोरीहरु हुन सक्छ । जानेर होस, नजानेर होस् भएका उक्त कमी कमजोरीहरुलाई सुधार गर्दै स्थानीय खाजा व्यवस्थापनमा विद्यालय शिक्षकहरु र व्यवस्थापन समितिको संलग्नतालाई टाढा राखेर उनीहरुलाई विद्यालयको शिक्षा स्तारोन्नतीको लागि मात्र तल्लीन रहने कार्यलाई अझ सहजता पुर्याउनको निमित्त सहकारीले यो खाजा व्यवस्थापन गरेको हो । माथि उल्लेखित रहेका विषयहरुलाई ध्यानदृष्टिले विचार गर्ने हो भने हामी हाम्रा बालबालिकालाई पौष्टिक आहार खुवाउँदै विद्यालयमा पठाउनबाट किन वञ्चित गराउँदैछौं भन्ने विषयमा अनविज्ञ नै रहेको मान्नुपर्छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सरकारले यसरी सुविधा दिँदादिँदै पनि नीजि विद्यालयमा घरबाट खाजा बोकेर फि तिरेर बालबालिका पढाइरहेका हामीले देखेका छौं । सामुदायिक विद्यालय र नीजि विद्यालयहरु बीच हुने प्रतिष्पर्धामा सामुदायिक विद्यालयलाई अगाडि ल्याउनको निमित्त विभिन्न खालको योजनाहरु अगाडि ल्याइएको छ । यो योजना अन्तर्गत अब सहकारीले आगामी शैक्षिक सत्रमा भर्ना अभियान तीव्र रुपले सञ्चालन गर्ने योजना राखेको छ । शिक्षा कार्यालयको मापदण्ड र नीतिभित्र रहेर सहकारीको प्रत्येक शेयर सदस्य र सबै नागरिकको बालबालिकालाई नजिकको सामुदायिक विद्यालयमा अध्ययन गराउनको निमित्त सहकारीले विशेष कार्ययोजना अगाडि ल्याउन लागेको छ । यो कार्ययोजनालाई सहयोग पु¥याउन सबैसित हार्दिक अपिल समेत गरेको छ । आगामी दिनमा दिवा खाजालाई अझ व्यवस्थित मर्यादित रुपले नमूनाको रुपमा अगाडि लैजान यहाँहरुको सल्लाह र सुझावको अपेक्षा समेत राखेका छन् ।

आरआरमा स्ववियु निर्वाचन सम्पन्न

काठमाडौं, चैत १५ । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा कुल मतदाता तीन हजार ५ सय ८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेको स्ववियुका निवर्तमान सभापति राजकुमार हमालले जानकारी दिए । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो । निर्वाचन गराउन ठूलो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । साँझ ६ बजेबाट ६ स्थानमा मतगणना भइरहेको छ । तीन घन्टाभित्र निर्वाचन परिणाम घोषणा गर्ने तयारी रहेको छ । ८ वर्षपछि यहाँ स्ववियु निर्वाचन भएको हो । निर्वाचनमा अनेरास्ववियुबाट तपेन्द्रबहादुर शाही र नेपाल विद्यार्थी संघबाट उत्तमबहादुर साउदको प्यानलबीच प्रतिस्पर्धा भएको छ ।  

नयाँ शिक्षा नियमावली आवश्यक छ : पौडेल

बेँसीसहर, चैत १४ । शिक्षामन्त्री धनीराम पौडेलले नयाँ शिक्षा ऐनअन्तर्गत नयाँ नियमावली आवश्यकता रहेको बताएका छन् । सदरमुकाम बेसीसहरमा आज आयोजित ‘दिगो विकासका लक्ष्य र स्थानीय तहबारेमा सांसद तथा सरोकारवालासँग अन्तक्र्रिया’ कार्यक्रममा मन्त्री पौडेलले कर्मचारी र अभिभावकले अहिले शिक्षा व्यवस्थापन नियमावलीको औचित्य र आवश्यकता महसुस गरेकाले पनि चाँडोभन्दा चाँडो नियमावली ल्याउनका लागि मन्त्रालय लागेको जानकारी दिए । अर्को प्रसङ्गमा उनले केन्द्रमा निहित अधिकार स्थानीय तहमा आएकाले गाउँ तथा नगरको विकास समृद्धिका लागि अब हुने स्थानीय तहको निर्वाचन महत्वपूर्ण हुने बताए । सक्षम नेतृत्वका लागि निर्वाचनमा सहभागी हुने राजनीतिक दल गम्भीर हुनुपर्नेमा पनि उनकाे जाेड थियाे । उनले भने, “अबको निर्वाचित नेतृत्वले स्रोत जुटाउने, सहभागिता बढाउने र परिचालन गरी गाउँ समृद्ध बनाउन सक्नुपर्छ ।” जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय मञ्च नेपालद्वारा आयोजित कार्यक्रम महालक्ष्मी उपाध्याय (डिना) को अध्यक्षता संचालन भएको थियो ।

एनसेलविरुद्ध अनेरास्ववियुको प्रदर्शन

काठमाडौँ, चैत १४। दूरसञ्चार कम्पनी एनसेललाई कर तिर्न दबाब दिँदै अनेरास्ववियुले आज प्रदर्शन गरेको छ । ‘कर असुली नगर्दासम्म एनसेल प्रयोग नगरौँ’ भन्दै कर तिर्न दबाब दिँदै प्रदर्शन गरिएको अनेरास्ववियुका कावा अध्यक्ष रश्मि आचार्यले जानकारी दिएका छन् । प्रदर्शनी मार्गमा लामबद्ध उभिएर विद्यार्थीले ‘कर छली, राज्यलाई क्षति’, ‘कर तिरौँ, राज्यलाई समृद्धि बनाआै,’ ‘एनसेललाई कर तिराआै, राज्यलाई समृद्धि बनाऔँ’, ‘कर नतिर्ने एनसेल बहिष्कार गरौँ’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । उनले एनसेललाई कर नतिर्दा राज्यलाई नोक्सान भएकाले कर नतिरुन्जेलसम्म आन्दोलन जारी राखिने उनले बताए । सङ्गठनले सरकारलाई पुँजीगत लाभकर नतिर्ने ‘एनसेल’ प्रयोग नगर्न सबैमा आग्रह गरेको छ । एनसेललाई कर तिराउन दबाब दिनका लागि सङ्गठनले अर्थमन्त्रीलाई समेत ज्ञापनपत्र बुझाइसकेको छ ।

किन फिर्ता भयो शिक्षा नियमावली : शिक्षामन्त्री पौडेल

काठमाडौँ, १३ चैत । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रिपरिषद्मा दर्ताका लागि पठाइएको शिक्षा नियमावली किन फिर्ता भयो भन्ने प्रश्न गरेका छन् । शिक्षा पत्रकार सञ्जालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले भने, “प्रधानमन्त्रीसँग सल्लाह गरेर नै हामीले नियमावली मन्त्रिपरिषद्मा पठाएका हौ, तर मुख्य सचिवले नियमावली मन्त्रिपरिषद्मा दर्ता नै नगरी फिर्ता गरेको सुनेको छु । आखिर किन त्यस्तो भयो, उहाँलाई नियमावली फिर्ता गर्ने अधिकार नै छैन ।” मन्त्री पौडेलले नियमावली नहुँदा शिक्षाको काममा समस्या उत्पन्न भएकाले यसलाई फिर्ता लिइनेमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् । अर्थमन्त्रालयले स्वीकृत गरेपछि मन्त्रालयले यही चैत ७ गते नियमावली मन्त्रिपरिषद्मा स्वीकृतका लागि पठाएको थियो । तर मुख्य सचिव डा सुवेदीले पहिले बनेको नियमावलीले स्थानीय तहलाई नसमेटेको भन्दै फिर्ता पठाएको छ । मन्त्री पौडेलले सङ्घीय संरचनाअनुसार नियमावलीलाई संशोधन गर्ने गरी अहिले मन्त्रिपरिषद्मा स्वीकृतिका लागि पहल गर्ने बताएका छन् । मन्त्री पौडेलले भने, “शिक्षा ऐन आठौँ संशोधन पनि संविधान जारी गरेपछि सङ्क्रमणकालका रुपमा ल्याएका थियौँ । ” नियमावली नहुँदा शिक्षामा धेरै नै काम अड्किएको भन्दै सङ्क्रमणकालका लागि मात्र भएपनि नियमावली ल्याउन थालेका उनले बताए । मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले पुरानो नियमावली नभएको अवस्थामा नयाँ नियमावली आवश्यक रहेको बताए । शिक्षाविद् डा मनप्रसाद वाग्लेले नियमावली नभएको अवस्थामा मन्त्रालयले आन्तरिक कानुन बनाएर काम गर्नुपर्ने धारणा व्यक्त गरे । उच्चमाध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)का वरिष्ठ उपाध्यक्ष युवराज शर्माले शिक्षालाई सङ्घीयतामा लैजाँदा सुधारभन्दा पनि विकृत निस्कने डर भएको बताए । नेपाल शिक्षक महासङ्घका महासचिव तिलक कुँवरले नियमावलीमा कानुनसँग बाझिएका कुरा हटाएर मन्त्रिपरिषद्ले पास गर्नुपर्ने बताए ।