आरआरमा स्थगित स्ववियु निर्वाचन आगामी मङ्गलबार

काठमाडौँ, चैत १२ । फागुन २३ गते स्थगित भएको प्रर्दशनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी मङ्गलबार हुने भएको छ ।

क्याम्पस प्रमुख डा. निर्मलकुमार सुवालले सूचना प्रकाशित गर्दै स्थगित भएको निर्वाचन आगामी मङ्गलबार हुने जानकारी गराएका हुन् ।

सर्वोच्च अदालतले चैत २ गते सो क्याम्पसमा स्ववियु निर्वाचन गर्न काठमाडौँका प्रजिअ र क्याम्पस प्रशासनका नाममा आज अन्तरिम आदेश जारी गरेपछि आरआरमा निर्वाचन हुन लागेको हो ।

“सर्वोच्चले चैत २ गते मतदानको मिति तोकी तत्काल निर्वाचनसम्बन्धी बाँकी कार्य सम्पन्न गर्न यस क्याम्पस समेतको नाममा अन्तरिमा आदेश जारी गरेको छ ।

क्याम्पसले मङ्गलबार बिहान ८ देखि साँझ ५ बजेसम्म अन्तिम नामावलीमा प्रकाशित भएका मतदातालाई मतदानमा सहभागी हुन अनुरोधसमेत गरेको छ ।

क्याम्पसमा स्ववियु निर्वाचनको माग गर्दै अनेरास्ववियुका तर्फबाट अध्यक्षका प्रत्यासी तपेन्द्रबहादुर शाहीले गत फागुन २३ गते रिट निवेदन दायर गरेका थिए ।

विद्यार्थी मतदान गर्न लाइनमा बसे पनि स्थानीय प्रशासनले स्थानीय निर्वाचन आचारसंहिता लागेको जनाउँदै निर्वाचन स्थगन गरिएको थियो ।

प्राथमिकतामा विद्यालय पुनःनिर्माण !

काठमाडौँ, चैत ९ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासङ्घले विद्यालयको पुनःनिर्माणमा ढिलाइ भएको भन्दै त्यसलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेको छ । पुनःनिर्माणका लागि अभिभावकहरुको श्रमदान आवश्यक परेकाले सरकारका तर्फबाट तिनलाई आह्वान गर्न आग्रह गरेको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी दुई वर्षअघिको भूकम्पबाट तीन हजार दुई सय विद्यालय ध्वस्त भए पनि हालसम्म करिब पाँच सय विद्यालय मात्र बनेकाले तीव्र गतिमा पुनःनिर्माण महाअभियान थाल्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष कृष्ण थापाले करिब १० लाख बालबालिका अहिले पनि अस्थायी सिकाइ केन्द्र र कतिपय टहरामा कक्षा चलाउन बाध्य भएको तर्फ सरकार र दातृ निकाय गम्भीर हुनुपर्ने बताए ।

परीक्षाफल प्रकाशित

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ । उक्त परीक्षाको परीक्षाफल www.edusanjal.com, www.educationsansar.com, www.educationkhabar.com र www.tu.ntc.net.np मा हेर्न सकिनेछ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

एसइई परीक्षामा शिक्षा राज्यमन्त्रीसहित टोली अनुगमन

भक्तपुर, चैत ६ । चैत्त ३ गतेदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भएका यहाँका विद्यालयमा आज शिक्षा राज्यमन्त्री धनमाया विकसहितको टोलीले अनुगमन गरेको छ । राज्यमन्त्री विकले एभरेस्ट मावि, मेधा मावि, शान्ति निकेतन मावि र चाणक्य मावि, सचिव शान्तबहादुर श्रेष्ठले आदर्श मावि सानोठिमी र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले खरिपाटीस्थित श्रीकृष्ण मावि परीक्षा केन्द्रको अनुगमन गर्नुभयो । प्रवेशिका परीक्षाको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम (एसइई)को परीक्षा सञ्चालन कसरी भइरहेको छ भन्नेबारेमा जानकारी लिन टोलीले फरक फरक विद्यालयमा अनुगमन गरेको जिल्ला शिक्षा अधिकारी अर्जनु श्रेष्ठले जानकारी दिनुभयो । टोलीमा राज्यमन्त्री विक, शिक्षा मन्त्रालयका सचिव श्रेष्ठ, विभागका महानिर्देशक पौडेल, जिल्ला शिक्षा अधिकारी श्रेष्ठसहित हुनुहुन्थ्यो ।

लण्डनमा साझाको पुस्तक प्रदर्शनी

काठमाडौं, चैत ५ । साझा प्रकाशनले लण्डनमा पहिलोपटक पुस्तक प्रदर्शनी गरेको छ । लण्डनमा रहेको नेपाली दूतावासको आयोजनामा शुक्रबारदेखि तीन दिनका लागि सो पुस्तक प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा साझा प्रकाशनबाट प्रकाशित दुईसय शीर्षकका तीन हजारभन्दा धेरै पुस्तक राखिएकोमा धेरैजसो पुस्तक प्रर्दशनीको पहिलो दिनमै सकिएको साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जनकारी दिएका छन् । पुस्तक प्रशर्दनको क्रममा उपस्थित बेलायतका लागि नेपाल राजदूत दुर्गाबहादुर सुवेदीले साझा प्रकाशनलाई पहिलेको जस्तै सम्बृद्ध बनाउन युरोपका हरेक देशमा प्रदर्शनी गर्नुपर्ने बताएका छन् । विदेशमा रहेका नेपालीहरु पुस्तक पढ्न निकै आतुर रहेको भन्दै उनले साझा उकास्ने एउटा उपाय पुस्तक प्रदर्शनी पनि भएको बताएका छन् । साझा प्रकाशन वचाउ अभियान अन्तगरत २६ बुँदे कार्ययोजना अन्तरगत नै बेलायतमा पुस्तक प्रदर्शनी गरिएको र यस्ता कार्यक्रमलाई निरन्तरता दिने महाप्रबन्धक शर्माले जानकारी दिएका छन् ।

विद्यालय प्रदर्शनी २०७३ अायाेजना सुरु

काठमाडौँ, चैत ५ । नयाँ शैक्षिक सत्रको पूर्व सन्ध्यामा इनेपालीखबर डटकमले दुई दिने विद्यालय प्रदर्शनी, २०७३ को आयोजना गरेको छ । आर्मी अफिसर्स क्लबमा भएको प्रदर्शनीमा खाद्य, पोषण, पठन सीप र अभिभावक जागरुकताबारे कार्यशालासमेत हुनेछ । सो प्रदर्शनीको आज उद्घाटन गर्दै सरकारका पूर्व सचिव महाश्रम शर्माले बालबालिकाको भविष्यलाई उनीहरुको चाहना बमोजिम डोर्याउन प्रदर्शनीले भूमिका खेल्ने भन्दै गुणस्तरीय शिक्षाका लागि सरकार र गैरसरकारी क्षेत्रको साझा पहल आवश्यक भएको बताउनुभयो । सो डटकमका अध्यक्ष कपिल काफ्लेले प्रदर्शनीमा बालबालिकाले सिक्ने र सिकाइबारे अनुभव आदानप्रदान हुने बताउनुभयो ।

साहसी बालिकालार्इ सलाम

खोटाङ, चैत ५ । दुवै हात नभएकी खोटेहाङ गाउँपालिका–२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसइई) दिइरहेकी छिन् । भगवती दिनानाथ मावि खोटाङ बजारमा कक्षा–१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन् । शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भएपनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताउनुभयो । १७ वर्षीया सम्झना इन्द्रेणी पोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन् । भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन् । परीक्षा केन्द्र नजिकै सिम्पानी बजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहनुभएको छ । “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं ” आमा सावित्राले भन्नुभयो । सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिनुभयो । जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो । समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताउनुभयो । गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताउनुभयो ।

बुटवलमा शैक्षिक मेला सुरु

रुपन्देही, चैत ४ । बुटवलमा वृहत शैक्षिक मेला सुरु भएको छ । विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई लक्षित गरी आजदेखि सो मेला सुरु भएको हो । वान अप प्रालि काठमाडौले आयोजना गरेको उक्त मेलामा देशका २५ वटा प्रतिष्ठित कन्सलटेन्सी, ४१ वटा कक्ष रहने आयोजक वान अप प्रालिका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिएका छन् । यसअघि काठमाडौ, पोखरा, चितवनमा यस्तै मेलाको आयोजना गरिइसकेको छ । मेलामा एकै स्थानबाट विभिन्न शैक्षिक परामर्शदाताको सेवा पाउन सकिने व्यवस्था गरिएको छ । मेलामा अष्टे्«लिया, अमेरिका, जापान, न्यूजिल्यान्ड, भारतका विभिन्न कलेजका प्रतिनिधिसँग सिधै कुरा गर्न सकिने व्यवस्था मिलाइएको छ । मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ ।

एसइई परीक्षा दिन गएकी छात्रा आमा बनेर फर्किइन

कालिकोट, चैत ३ । कालिकोटको कालिका माध्यमिक विद्यालय पिलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन गएकी एक छात्राले परिक्षा केन्द्रमै छोरीलाई जन्म दिएकी छिन् । दाहा–८ की १९ वर्षकी बेलपुरा शाहीले परीक्षा सुरु हुन आधा घण्टा बाँकी हुँदा परिक्षा केन्द्रमै सुत्केरी भएकी हुन् । सरस्वती मावि दाहामा अध्यायनरत छात्राले परीक्षा केन्द्रमै सुत्केरी भएकी हुन् । सुत्केरी भएपश्चात पनि परिक्षा दिएकी शाहीलाई लेख्न ढिलाइ भएपछि २० मिनेट समय थप गरिएको केन्द्राध्यक्ष सनम शाहीले बताएका छन् । जिल्लाका ३० गाविसमा १७ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद तिवारीले बताए । बिहीबार अंगे्रजी बिषयको परीक्षामा २ हजार १७ छात्र र २ हजार ८८ छात्रा सामेल भएका छन् ।

एसइइ परीक्षामा एकै जिल्लाबाट नौ बोरा चिट बरामद !

काठमाडौं, चैत ३ । आजदेखि सुरु भएको एसइइको परीक्षामा सहभागी विद्यार्थीहरुको साथबाट बरामद गरिएको चिटले एकै दिनमा नौ वटा बोरा भरिएको छ । परिक्षालाई अमर्यादित र चिट चोरिएको पाइएमा कारवाही गर्ने भनिरहेका बेला महोत्तरीका विभिन्न स्कुलहरुमा परिक्षा हलमा पुगेका प्रहरी र शिक्षकको टोलीले चिट भने बोराका बोरा चिट बरामद गरिएको हो । कक्षा १० को माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा चलिरहँदा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट नौ बोरा चिट बरामद भएको प्रहरी र शिक्षकहरुले बताएका छन् । कुल २८ वटा परीक्षा केन्द्रबाट ९ बोरा चिट बरामद गरिएको हो । परीक्षा केन्द्रको मूल गेटमा खटिएका प्रहरी र शिक्षक टोलीले गरेको संयुक्त चेक जाँचमा विद्यार्थीबाट नौ बोरा गाइड, पुस्तक तथा फ्लेप बरामद भएको जिल्ला शिक्षा कार्यालय महोत्तरीले जनाएको छ ।

शिक्षा मन्त्री पौडेलले गरे ‘सेकेण्डरी एडुकेशन इक्जाम’को अनुगमन

काठमाडौं, चैत ३ । शिक्षा मन्त्री धनिराम (डिआर) पौडेलले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइइ) सञ्चालन भएका केही परीक्षा केन्द्रहरुको बिहिबार आकस्मिक अनुगमन गरेका छन् । बिहिबारदेखि नै सुरु भएको परीक्षाको पहिलो दिन मन्त्री पौडेलले काठमाडौं र ललितपुरका केही परीक्षा केन्द्रमा पुगी परीक्षाको अनुगमन निरिक्षण गरेका हुन् । मन्त्री पौडेलले काठमाडौंको शिवपुरी मावि बालुवाटार, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, नन्दी मावि, नक्साल, पाटनढोका मावि ललितपुरका परीक्षा केन्द्रमा पुगी एसइइ परीक्षाको स्थलगत अनुगमन गरेका हुन् । त्यसक्रममा उनले शान्तीपूर्ण र मर्यादित ढंगले परीक्षा सञ्चालन गर्न केन्द्राध्यक्ष, निरिक्षक र जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्री पौडेलले परीक्षामा सहभागी विद्यार्थीहरुलाई परीक्षा राम्रो होस् भनने कामना गरे । साथै उनीहरुको उज्वल भविष्य बनाउन मिहेनेत गर्न सुझाव दिए । पूर्व जानकारी नदिई मन्त्री पौडेल परीक्षा केन्द्रहरुको अनुगमनमा निस्किएका हुन् । पूर्व जानकारी विनै शिक्षा मन्त्री अनुगमनमा आउँदा आफूलाई खुशी लागेको पद्मकन्या विद्याश्रम मावि, डिल्लीबजारकी केन्द्राध्यक्ष रीता तिवारीले बताइन ।

परीक्षाको लागि केन्द्राध्यक्ष तोक्न जिल्ला शिक्षा कार्यालयलाई सकस

विराटनगर, चैत्र २ । राजनीतिक भागबण्डा नमिलेपछि भोलि बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षाका लागि बुधबार मध्यान्हसम्म मोरङमा केन्द्राध्यक्ष तोक्न सकेको छैन । यसकारण परीक्षाको आवश्यक तयारी प्रभावित हुँदै गएको छ । मोरङमा हरेक वर्ष राजनीतिक भागबण्डाकै आधारमा परीक्षा केन्द्राध्यक्ष नियुक्त गर्ने परम्परा छ । मोरङमा ६७ परीक्षा केन्द्र तोकिएको छ । त्यसका लागि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र मधेसवादी दल निकट शिक्षक संघ संगठन र निजी विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले भागबण्डामा केन्द्राध्यक्ष माग गरेपछि जिल्ला शिक्षा कार्यालयले परीक्षाको अघिल्लो दिनसम्म केन्द्राध्यक्ष तोक्न नसकेको हो । जिल्ला शिक्षा कार्यालय स्रोतका अनुसार एमाले निकट शिक्षक संगठनले २४, कांग्रेस निकटले १९, माओवादी केन्द्र निकटले १४, मधेसी दल निकटले १० र प्याब्सन, एनप्याब्सनले ७ वटा केन्द्राध्यक्ष आफ्नो भागमा पर्नुपर्ने माग गरेपछि समस्या चुलिएको हो । स्रोतका अनुसार ६७ परीक्षा केन्द्रका लागि शिक्षक संघ संगठनले ७४ केन्द्राध्यक्ष माग गरेपछि समयमा नियुक्त गर्न नसकिएको हो । केन्द्राध्यक्ष तोक्नका लागि अहिले बैठक भइरहेको जिल्ला शिक्षा अधिकारी देवेन्द्रराज खनालले बताए । ‘म अहिले केही बोल्दिनँ’ उनले भने, ‘केहीबेरमै केन्द्राध्यक्षको टुङ्गो लगाएर सम्बन्धित केन्द्रमा आजै पठाउने तयारी भइरहेको छ ।’ प्रत्यके केन्द्राध्यक्षले परीक्षा अवधीभरिमा करिब ९ हजार भत्ता पाउने व्यवस्था छ । आफूले भनेअनुसारको केन्द्राध्यक्ष भए उक्त परीक्षा केन्द्रमा आफू अनुकूल परीक्षा सञ्चालन गर्न सकिने भएका कारण केन्द्राध्यक्षमा भागबण्डाको लडाइँ हुने गरेको सम्बद्ध स्रोतको भनाइ छ । मोरङमा यसपाली कूल २० हजार ७ सय ६ जना परीक्षार्थी सहभागी हुँदैछन् । त्यसमध्ये नियमिततर्फ १७ हजार ९ सय ८३, ग्रेड वृद्धितर्फ १ हजार ९ सय ५७ र एक्जामटेडतर्फ ७ सय ६६ परीक्षार्थी सहभागी हुँदैछन् ।

शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन

काठमाडौँ, चैत २ । त्रिभुवन विश्वविद्यालयमा देखिएको समस्या समाधान गर्ने बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विश्वविद्यालयका पदाधिकारीबीच छलफल भएको छ । आयोगको कार्यालय टङ्गालमा मंगलबार भएको छलफलमा आयोगका पदाधिकारीले विश्वविद्यालयसँग सम्बन्धित गुनासा र विसङ्गति नियन्त्रण एवं न्यूनीकरण गर्नका लागि व्यवस्थापकीय चुस्तता र शैक्षिक गुणस्तर सुधार गर्नेतर्फ लाग्न विश्वविद्यालयलाई निर्देशन दिइएको छ । शैक्षिक उन्नयनमा त्रिविविले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै आयोग पदाधिकारीले त्रिविवि र मातहतका निकायमा आर्थिक अनुशासन र पारदर्शिता कायम राख्दै विवादरहित तवरले काम गर्न र शैक्षिक गुणस्तर कायम राख्नसमेत ध्यानाकर्षण गराएको आयोग प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । त्रिविविमा हुनसक्ने विकृति तथा विसङ्गति उपर आयोगको निरन्तर निगरानी रहने र व्यवस्थापकीय सुधार गरी शैक्षिक एवम् व्यावसायिक गतिविधिका लागि केन्द्रित रहनुपर्नेमा आयोग पदाधिकारीले जोड दिइएका छन् । छलफलमा त्रिविविका पदाधिकारीको उपस्थिति रहेको थियो ।

सार्वजनिक शिक्षामा स्थानीय तहले लगानी बढाउनु पर्ने

काठमाडौँ, चैत २ । सार्वजनिक शिक्षा सुदृढीकरणका लागि देशभित्रबाटै स्थानीय स्रोत जुटाई बढाउनुपर्ने निष्कर्षसहित नागरिक शिक्षा सम्मेलन सम्पन्न भएको छ । सामुदायिक विद्यालयप्रति अभिभावकको आकर्षण बढाउन शिक्षामा कार्यरत विभिन्न संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजनामा भएको सम्मेलन उद्घाटन गर्दै शिक्षामन्त्री धनीराम पौडेलले संविधानतः शिक्षा मौलिक अधिकार भएपनि बजेट अभावका कारण सो हकको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए । शिक्षाका लागि अधिकारका रुपमा स्थापित गर्न नयाँ ढङ्गले नक्साङ्कन र योजना तर्जुमा गर्नुपर्ने बताउँदै उहाँले शिक्षामा लगानी बढाउन अर्थ मन्त्रालय उदार नभएकाको टिप्पणी गरे । शिक्षाविद् केदारभक्त माथेमाले सार्वजनिक शिक्षामा पर्याप्त बजेट नहुँदा र शिक्षकहरुमा उत्तरदायित्व कम हुँदा गुणस्तर खस्किएको बताए । शिक्षाविद् प्रा.डा.मनप्रसाद वाग्लेले मुलुक सङ्घीयतामा गइसकेकाले स्थानीय निकायको अधिकारअन्तर्गत माध्यमिक शिक्षा परेकाले स्थानीय स्रोट जुटाई तथा विभिन्न प्रगतिशील कर लगाएर शिक्षामा लगानी बढाउनुपर्ने सुझाव दिए । सांसद्हरु डा गणेशमान गुरुङ र बद्री पाण्डेले संविधानः मौलिक हक बनेको माविसम्मको निःशुल्क शिक्षाका लागि सरकार तयार हुनुपर्नेमा जोड दिए । कार्यक्रममा एक्सन एड र स्विस संस्था नोराडको अध्ययनमा आधारित नागरिक शिक्षासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको थियो । डोटी र कैलालीका विभिन्न २५ सामुदायिक विद्यालयमा भएको शिक्षकको सुविधान कम हुँदा पनि उनीहरुले राम्रोसँग नपढाएको उल्लेख छ ।

धुर्मुस सुन्तलीको प्रेरणाबाट बालबालिका विद्यालय जान थाले

गौशाला, चैत २ । हाँस्य कालाकारद्वय सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को उच्च जनचेतना र प्रेरणाले महोत्तरीको बर्दिवासका ६० मुसहर परिवारका बालबालिका विद्यालय जान थालेका छन् । जिल्लाको रातो खोलाका बगरमा बालुवा चाल्ने, ढुङ्गा सङ्कलन गर्ने र जङ्गलबाट दाउरा बोक्ने काममा व्यस्त रहने बर्दिवास नगरपालिका–२ स्थित मुसहरबस्तीका बालबालिका धुर्मुस सुन्तलीको प्रेरणाले स्कुल जान थालेका छन् । धुर्मुस सुन्तलीले सो बस्तीमा सामूहिक आवास बनाउनुका साथै ढिलै भए पनि शिक्षित भए बालबालिकाको भविष्य उज्ज्वल हुने मुसहर बस्तीका अभिभावकलाई बुझाएपछि अभिभावकले आ–आफ्ना बालबालिकालाई स्कुल पठाउन थालेका हुन् । धुर्मुस र सुन्तली फाउन्डेसनले मुसहर बस्तीमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि मुसहर समुदायका अभिभावकले छोराछोरीलाई स्कुल पढाउन उत्साहित भएका छन् । ६० घरपरिवारका ३७५ जना बसोबास रहेको सो बस्तीका ६४ जना बालबालिका जनता उच्च माध्यमिक विधालय बर्दिवासमा पढ्न जान थालेका छन् । विद्यालयका तथ्याङ्कअनुसार, शिशु कक्षामा २४ जना, कक्षा १ मा १७ जना, कक्षा २ मा १६ जना, कक्षा ३ मा छ जना गरी जम्मा ६४ जना बच्चा धुर्मुस र सुन्तलीको प्रेरणाले स्कुल पुगेका हुन् । सो बस्तीमा शिक्षाप्रतिको चेतना बढेका कारण बालबालिकाले नवयुग बाल क्लब गठन गरेर आफू बस्ने मुसहरबस्तीको सरसफाइ अभियानमा जुटेका छन् । कालाकारद्वय धुर्मुस र सुन्तलीको जोडीले मुसहरबस्तीका दयनीय अवस्था हेरेपछि उत्थानका लागि जनचेतना जगाउन विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । फाउन्डेसनले जनचेतनामूलक कार्यक्रम गरेर यहाँका बालबालिकालाई शिक्षित तुल्याउन विद्यालय पठाउनुपर्ने सन्देश प्रवाह गरेका थिए । बर्दिवास नगरपालिका, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, बर्दिवास उद्योग वाणिज्य सङ्घलगायतका सङ्घसंस्थाले पनि मुसहरबस्तीको विकासका लागि सहयोगी हात बनेर बालबालिकालाई पठनपाठनमा सहयोग गरिरहेका छन् । बर्दिवास नगरपालिकाले मुसहरबस्तीका बालबालिकाको अध्ययन अध्यापनमा सहजताका लागि रु सात लाखमा सामुदायिक भवनसमेत निर्माण गरिदिएका छन् । जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले सरकार र स्थानीय सामाजिक परिवर्तनमा योगदान पुर्याउने सामाजिक सङ्घसंस्थाले मुसहर बस्तीको शिक्षा स्तर बढाउन थप गम्भीर बने यहाँका बालबालिकाको उपस्थिति यस विद्यालयका कक्षा कोठामा उल्लेख्य देखिने आफूलाई विश्वास भएको बताउनुभयो । दुई लाख ३४ हजार ४९० जनसङ्ख्या रहेको मुसहर समुदायमा सात प्रतिशत मात्र साक्षर रहेको छ भने शिक्षाको हिसाबले महिलाको अवस्था निकै दयनीय रहेको छ ।

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

काठमाडौँ, फागुन ३०। आगामी चैत ३ गतेदेखि सुरु हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १ सय ८२ परीक्षार्थी सहभागी हुने भएका छन् । विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । शिक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव एवम् परीक्षा समितिका संयोजक शन्तबहादुर श्रेष्ठले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र सुरक्षासँग सम्बन्धित केन्द्रीय निकायसँग समन्वय भइसकेको बताएका छन् । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीका अनुसार यो परीक्षामा एक हजार ९२३ केन्द्र र केन्द्राध्यक्ष, दुई हजार ६४६ सहायक केन्द्राध्यक्ष, २२ हजार ४६१ निरीक्षक, ११ हजार ७१६ सहयोगी र २८ हजार ८४५ सुरक्षाकर्मी गरी जम्मा ६७ हजार ५९१ जनशक्ति परिचालन हुनेछन् । परीक्षामा अमर्यादित र अनियमित व्यवहार गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही र परीक्षा रद्दसमेत गरिने रेग्मीले बताए परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ । परीक्षा चैत १४ गतेसम्म चल्नेछ ।