शिक्षकहरु नै राजनीतिमा लागेपछि …

ललितपुर, फाल्गुन ७ । राजनीतिक पार्टीका विभिन्न तहका कार्यसमितिमा सामुदायिक विद्यालयका २.६७ प्रतिशत शिक्षक प्रत्यक्ष संलग्न रहेको पाइएको छ ।

तीन ठूला दल एमाले, कांग्रेस र माओवादी केन्द्र पार्टीमा संलग्न शिक्षकहरूको अध्ययन गर्ने क्रममा यस्तो तथ्य देखिएको हो । अध्ययन प्रतिवेदनअनुसार सबभन्दा बढी एमालेमा आबद्ध शिक्षक १.४० प्रतिशत, कांग्रेसमा ०.४४ र माओवादी केन्द्रमा ०.८३ प्रतिशत छन् ।

संशोधित शिक्षा ऐनअनुसार शिक्षक, कर्मचारीले राजनीति गरे वा राजनीतिक दलको सदस्य रहेको पाइएमा उनीहरुलाई पदबाट हटाइने नियम छ ।

तर ललितपुरमा भने शिक्षकहरुले न त पद त्याग नै गरेका छन्, न त राजनीतिक दलका परिचयपत्र नै । दलका नेताहरुले कार्यक्रम गरेको ठाउँहरुमा शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित हुन्छन् त्यसको पछिल्लो ज्वलन्त उदाहरण प्रमुख प्रतिपक्षी एमालेलगायत ९ दलीय गठबन्धनले राजधानीमा गरेको शक्ति प्रदर्शनमा विद्यालयका शिक्षकहरू ब्यानर र झन्डासहित उपस्थित थिए । यसले विद्यार्थीकाे भविष्य कता जाने भन्ने अन्याैलता छाएकाे छ ।

यस्ता छन् अनेरास्ववियुका नयाँ नियमहरु

स्ववियु निर्वाचन नजिकिँदै जाँदा विभिन्न विद्यार्थी संगठनको संयुक्त बैठक बसी अनेरास्ववियुले संयुक्त वक्तव्य निकालेको छ । अनेरास्ववियुको कार्यालयमा बसेको सो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्नको लागि यो वक्तव्य जारी गरिएको छ । १. त्रिभुवन विश्वविद्यालयले २०७३ फागुन १४ गते घोषणा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनुपर्छ भन्नेमा पूर्ण सहमति भएको छ । स्ववियुका सन्दर्भमा देखिएका केही अन्यौलताहरु हटाउदै फागुन १ गतेदेखि सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउन त्रिभुवन विश्वविद्यालयलाई अनुरोध गर्दछौं । २. स्ववियु निर्वाचनको सन्दर्भमा त्रिभुवन विश्वविद्यालयले जारी गरेको आचारसंहिता पूर्ण रुपमा पालना गर्न गराउन प्रतिबद्धता व्यक्त गरिएको छ । आचारसंहिता विपरीत केही क्याम्पसहरुमा एकमुष्ठ र फर्जी भर्ना गरिएको पाइएकाले त्यस्ता भर्नाहरु छानविन गरी तत्काल बदर र सम्बन्धित प्रशासनलाई कारवाही गर्न माग गर्दछौं । आचारसंहिता प्रत्येक क्याम्पसहरुमा नियमित अनुगमन गर्नको लागि सबै संगठनका महासचिव/महामन्त्री वा तोकिएका प्रतिनिधिहरु रहेको अनुगमन समिति गठन गरिएको छ । ३. आचारसंहिता वा कहींकतै विवाद भएमा केन्द्रीय तहबाटै तत्काल समाधान गरिनेछ । देशका कतिपय क्याम्पसहरुमा केही असहज स्थिति देखिएको भन्ने रिपोर्ट आएकाले सम्बन्धित क्याम्पसहरुले छलफल गरी निकास निकाल्न अनुरोध गर्दछौं । ४. सम्पूर्ण विद्यार्थीहरुलाई निर्वाचनमा भाग लिन, आफ्नो विचार स्वतन्त्रता, मताधिकार र निर्वाचित हुन पाउने अधिकारको उपयोग गर्न हार्दिक अपील गर्दछौं ।

म्याग्दीको दुर्गम कुइनेमङ्गले पूर्ण साक्षर गाविस घोषणा

म्याग्दी, माघ २५ । म्याग्दीको अत्यन्त दुर्गम कुइनेमङ्गले गाविसलाई साक्षर गाविस घोषणा गरिएको छ । १५ देखि ५९ वर्ष उमेर समूहका ९६ प्रतिशत सर्वसाधारणले अङ्क अक्षर चिन्न र पढ्न सक्ने भएपछि सोमबार एक विशेष समारोहबीच सो गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । सो अवसरमा सांसद् रेशम बानियाँले शैक्षिक जागरणबाट मात्रै सामाजिक परिर्वतन सम्भव भएको बताउँदै दुर्गम क्षेत्रमा देखिएको शैक्षिक जागरणले अन्य क्षेत्रलाई पनि पाठ सिकाएको छ भन्नुभयो । उहाँले सो गाविसमा माध्यामिक विद्यालय सञ्चालनका लागि शिक्षकको दरबन्दी र भौतिक पूर्वाधार विकासमा आफूले सकदो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गाविस सचिव जीतबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ र नेपाली काँग्रेस म्याग्दीका सभापति खमवीर गर्वुजाले साक्षरता अभियानले तीव्रता पाइरहेकाले जिल्लालाई छिट्टै साक्षर जिल्ला घोषणा गरिने बताउनुभयो । स्वास्थ्य बिमा गरेकालाई निःशुल्क उपचार सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बिमा) गरेका म्याग्देलीले आगामी फागुन १ गतेदेखि निःशुल्क सेवा पाउने भएका छन् । सरकारले लागू गरेको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्ला स्वास्थ्य कार्यालय र सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति म्याग्दीले सहयोगी परिचालन गरी सुरु गरेको दर्ता अभियानमा स्वास्थ्य बिमा गरेकालाई फागुन १ गतेदेखि निःशुल्क सेवा दिने गरी सोमबार पोखरामा सम्झौता भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डाक्टर गुणराज लोहनी र म्याग्दीका मेडिकल सुपरिटेन्डेन्ट डा.रोशन न्यौपानेबीच बिमा सेवामा आवद्ध भएकालाई बेनी अस्पताल म्याग्दी र प्राथमिक स्वास्थ्य केन्द्र दरबाङबाट निःशुल्क सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बिमा दर्ताको प्रमाणपत्र लिएर आउने बिरामीलाई समान्यदेखि जटिल रोगको उपचारका साथै औषधिसमेत निःशुल्क उपलब्ध गराउने सम्झौतामा उल्लेख भएको डा रोशन न्यौपानेले बताउनुभयो । “बिमा कार्यक्रममा सहभागी भएकाले निःशुल्क सेवा पाउनु हुनेछ, त्यसैले सबैलाई स्वास्थ्य विमामा सहभागी हुन अनुरोध गर्दछु” डा.न्यौपानेले भन्नुभयो । म्याग्दीमा स्वास्थ्य बिमाप्रति आर्कषण बढेको छ । बिमा सेवामा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रति परिवार दुई हजार ५०० र पाँच जनाभन्दा बढी भएमा प्रति सदस्य ४२५ रुपैयाँका दरले थप रकम तिरेर सदस्य बनी स्वास्थ्य सेवा लिन पाइने व्यवस्था रहेको छ ।

निजी विद्यालयहरु बिना अनुमति कक्षा थप्छन्

तेह्रथुम, माघ २५ । जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर वर्षेनी थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन् अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यावसायिक उद्देश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ । त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा विद्यालय बन्द गर्नसमेत अनुमति लिनुपर्नेमा अधिकांश निजी विद्यालयले सुरुवातमा विद्यालय सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । निजी विद्यालयले थप कक्षा सञ्चालनका बारेमा अभिभावकले चासो नदिँदा र नियमक निकाय पनि मौन बसिदिँदा गाउँ–गाउँमा ठगी धन्दा मच्चाइरहेका छन् । अझ केही विद्यालय त बिना अनुमति पनि सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता विद्यालयलाई कारबाही गर्नेबारे जिल्ला शिक्षा कार्यालयले चासो नदिएको गुनासो बढेको हो । हरेक शैक्षिक सत्रको समापनपछि निजी विद्यालयले कक्षा सञ्चालनका लागि लिएको अनुमतिको विवरण हेरेर सचेत गराउने गरेको जिल्ला शिक्षा अधिकारी, कृष्णप्रसाद पोखरेलले बताउनुभयो । शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सचेत गर्दै आएको छौँ, जिशिअ पोखरेलले भन्नुभयो– “अहिलेसम्म त्यस्तो बढी कक्षा सञ्चालन गरेको उजुरी परेको छैन । अभिभावक वा अन्य कोहीले त्यसबारे उजुरी दिए हामी त्यस्ता विद्यालयलाई कारबाही गर्छौं ।” जिल्लामा हालसम्म २३ वटा निजी विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये सातवटा विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन् । बाँकी पाँचवटाले निमावि तह र अन्य ११ वटा विद्यालय प्रावि तहका मात्र कक्षा सञ्चालन अनुमति लिएका छन् । तर ती विद्यालयमा माथिल्लो कक्षासम्म पनि पढाइ भइरहेको छ । निजी विद्यालयले कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्छ, तर विद्यार्थी सङ्ख्यालाई मात्र आधार मान्दा पनि न्यूनतम २३ जना विद्यार्थी पनि नपुर्याउने विद्यालयको थप कक्षाको अनुमति दिइएको छैन, जिशिअ पोखरेलले बताउनुभयो । यता प्याब्सन जिल्ला अध्यक्ष गजेन्द्र कन्दङ्वाले भने निजी विद्यालयलाई अनुमति लिएर मात्र कक्षा बढाउन गर्न निर्देशन गरेको बताउनुभयो । उहाँले निजी विद्यालय सञ्चालकले न्यूनतम मापदण्डसमेत नपु¥याएको पाइए कारबाही गरिने जानकारी दिनुभयो ।

अभिभावक गुमाएका बालबालिकालाई शैक्षिक सहयोग

रोल्पा, माघ २३ । जोखिम अवस्थामा रहेका बालबालिका एवम् सशस्त्र द्वन्द्वबाट पीडित परिवारका लागि शैक्षिक सहयोग, वैकल्पिक स्याहार र आयआर्जन क्रियाकलापमा सहयोग गरिएको छ । द्वन्द्व प्रभावित बालबालिकाको संरक्षण गर्ने उद्देश्यका साथ सञ्चालित परियोजनाबाट अप्ठेरो वा कठिन अवस्थामा रहेका बालबालिका र युवा तथा सशस्त्र द्वन्द्वबाट पीडित एवं आधारभूत आवश्यकता पूरा गर्न कठिन अवस्थाका बालबालिकाको परिवारलाई लक्ष्य गरी कार्यक्रम सञ्चालन गरिएको जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयको सहयोगमा जिल्ला बालकल्याण समितिमार्फत जिल्लामा तीन सय ४४ बालबालिकालाई शैक्षिक सहयोग गरिएको हो । यसैगरी ५६ बालबालिकालाई वैकल्पिक स्याहार, दुई जनालाई उपचार खर्च र १५ अभिभावकलाई आयआर्जनमा सहयोग गरिएको जिल्ला बालकल्याण समितिका परियोजना अधिकृत इन्द्रा शाहीले जानकारी दिए । शैक्षिक सहयोगबापत प्रतिविद्यार्थी रु पाँच हजार उपलब्ध गराइँदै आएको तथा आयआर्जनका लागि प्रतिपरिवार रु १५ हजार र वैकल्पिक स्याहारबापत रु पाँच हजार पाँच सय सहयोग गरिएको छ । अघिल्लो वर्ष सोही परियोजनाबाट दुई सय ३२ बालबालिकालाई शैक्षिक सहयोग गरिएको बताइएको छ । सशस्त्र द्वन्द्वमा देशमै सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति पुगेको रोल्पामा नौ सय ४६ को मृत्यु र ३३ जना अझै बेपत्ता रहेको स्थानीय शान्ति समितिका पूर्व संयोजक खेम बुढाले जानकारी दिए । द्वन्द्वका क्रममा जिल्लामा अभिभावक गुमाएका बालबालिका चार सय १६ जना रहेको बालकल्याण समितिले जनाएको छ ।

शिक्षाबिना विकास असम्भव : राष्ट्रपति

बुटवल, माघ २२। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षाबिना देश विकास हुन नसक्ने बताएकी छिन् । रुपन्देहीको ग्रामीण क्षेत्रमा रहेको हरैया माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले शिक्षा क्षेत्रको विकासका लागि राज्यले लगानी वृद्धि गनुपर्नेमा जोड दिइन् । शिक्षाले नै देशमा आमूल परिवर्तन ल्याउन सक्ने तथा राष्ट्रिय विकासको प्रमुख आधार शिक्षा भएकोले मुलुकको दिगो विकासका लागि शिक्षामा लगानी वृद्धि गर्न आवश्यक रहेकामा उनले बताइन् । शान्ति, विकास र आपसी भातृत्वलाई शिक्षाले प्रभाव पार्ने भएकाले बालबालिकालाई यसै किसिमको शिक्षा प्रदान गर्नुपर्ने राष्ट्रपति भण्डारीले बताइन् । देशको अधिकांश विद्यार्थीहरूको पढ्ने सामुदायिक विद्यालयको गुणस्तर सुधार गरी रोजगारमूलक शिक्षा प्रदान गर्न आवश्यक रहेको उनले बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, ‘राज्यले कूल बजेटको जम्मा ४.५ प्रतिशत रकम मात्र शिक्षा क्षेत्रमा बिनियोजन गरेको अवस्थामा व्यावहारिक र जीवनोपयोगी शिक्षामा राज्यले लगानी बढाउन आवश्यक छ ।’’

अस्थायी शिक्षकका माग सम्बोधन गर्न पहल

काठमाडौँ, माघ २१। शिक्षामन्त्री धनीराम पौडेलले अस्थायी शिक्षकको माग सम्बोधनका आफ्नो तर्फबाट पहल गरिरहेको बताएका छन् । अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले ध्यानाकर्षण गराउँदा मन्त्री पौडेलले मागलाई सम्बोधन गराउन राजनीतिक सहमतिको प्रयास गरिने बताए । समितिले प्रक्रिया पूरा गरी स्थायी गराउन कानुनी प्रबन्ध गरिनुपर्ने माग अघि सारेको छ । मन्त्री पौडेलले भने ‘शिक्षा ऐन संशोधनका लागि राजनीतिक सहमतिमा पुग्न आवश्यक छ, मेरोतर्फबाट सक्दो कोसिस गर्नेछु ।’ विद्यमान ऐनमा विज्ञापन हुने दरबन्दीमा ५० प्रतिशतलाई आन्तरिक प्रतिस्पर्धाबाट प्राथमिकताका साथ अस्थायीलाई स्थायी गरिने र परीक्षामा सामेलन नहुनेलाई तोकिएको सुविधा दिई बिदाइ गर्ने उल्लेख छ । मन्त्रीसमक्ष समितिका अध्यक्ष नारायणप्रसाद दाहालले माग पूरा नभएसम्म दबाबमूलक कार्यक्रम जारी राख्ने बताएका थिए । समितिका सञ्चार संयोजक लक्ष्मीकुमारी सत्यालले तीन दिनदेखि केशरमहलस्थित नेपाल शिक्षक महासङ्घमा आफूहरुले सञ्चालन गरेको रिले अनसन जारी रहने जानकारी दिएकी थिइन् । रासस

‘स्कुल जान दुई घण्टा हिँड्नुपर्छ’

मीना घोरसाइने काभ्रे, माघ १८ । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् । “विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको सामना गरेरपनि त्यहाँसम्म जानुपर्ने बाध्यता छ ।” बालुवापाटी गाविसका २, ७, ९ वडाका विद्यार्थी आर्थिक अबस्थाका कारण सहरसम्म गएर पढ्ने अवस्था नभएकाले टाढा भएपनि नगरकोटसम्म गएर पढ्न बाध्य भएका हुन् । बालुवापाटी–२ स्थित श्री सेतीदेवी प्रावि करिब आठ वर्षदेखि बन्द भएकाले त्यहाँका साना बालबालिकासमेत नगरकोटसम्म पढ्न जान बाध्य भएका हुन् । गाउँमा विद्यालय नहुँदा आठ वर्षीय बालुवापाटी–९ की आयुशा ढकाल नगरकोटमा रहेको सनराइज बोर्डिङ स्कुलमा पढ्न जान्छिन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलमा पुग्न ढिला भए स्कुलको ढोका नै बन्द हुने भएकाले घर फर्कनुपर्दा समय त्यसै खेर जाने बताइन् । हाल सो क्षेत्रमा विदेशीको सहयोगमा सञ्चालित सामुदायिक शिक्षा नामक विद्यालयमा एलकेजीसम्म पढाइ हुँदै आएको र अर्को वर्षदेखि कक्षा एकसम्म पढाइ हुने भएको छ । सो विद्यालयलाई सरकारी विद्यालयको रुपमा परिणत गर्ने पहल भइरहेको नगरहोम नेपाल नामक संस्थाका सदस्य उद्धव ढकालले बताए । गाउँमा विद्यालय नहुँदा अभिभावकसमेत चिन्तित छन् । हुनेखाने परिवारले छोराछोरीलाई सहरमा पढ्न पठाउने गर्छन् भने नहुनेले टाढाभएपनि पढ्न पठाउन बाध्य छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउन बाध्य भएको बालुवापाटी–२ की भागिरथी घोरसाइनको भनाई छ । गाविसको तथ्याङ्कअनुसार उक्त गाविसमा जम्मा ८७ प्रतिशत जनजातिको बसोबास छ भने अन्य ब्राह्मण क्षेत्री १३ प्रतिशतमात्र छन् । त्यस्तै उक्त जातिहरुको शिक्षामा पहुँच जनजातिको जम्मा प्रतिशतमध्ये १३ प्रतिशत मात्र छ भने ब्राह्मण क्षेत्रीको जम्मा प्रतिशतमध्ये सात प्रतिशतको मात्र शिक्षामा पहुँच रहेको छ । गाउँमै विद्यालयको अभावका कारण त्यस्तो अवस्था भएको गाविसका गाविस सचिव मकुन्द गजुरेल  बताउँछन् । साथै गाउँमै भएको सेतीदेवी प्रावि विगत लामो समयदेखि बन्द रहेको र उक्त विद्यालयमा कार्यरत दुई शिक्षकको दरबन्दी अझै खारेज भइनसकेकाले उक्त विद्यालयलाई पुनःसञ्चालन गरेर शिक्षकलाई त्यही काम गराउने वातावरण तयार गर्न पहल भइरहेको उनी बताउँछन् ।

एमालेलाई अस्थायी शिक्षकको ध्यानाकर्षण

काठमाडौँ, माघ १८ । अस्थायी शिक्षक आन्दोलन, केन्द्रीय समिति, २०५५ ले सोमबार नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आफूहरुलाई प्रक्रिया पूरा गरी स्थायी गराउन ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलाई भेटी समितिका अध्यक्ष नारायणप्रसाद दाहालले मागपत्र बुझाउनुभएको थियो । समितिले स्थायी हुँदा अस्थायीको सेवावधि गणना गर्न, अवकाशप्राप्त अस्थायी शिक्षकलाई स्थायीसरहको औषधोपचार र उपदान दिन तथा स्वेच्छिक अवकाश लिन चाहनेलाई स्थायीसरहको सुविधान दिन पनि माग गर्दै आएको छ । समितिका केन्द्रीय सदस्य लक्ष्मीकुमार सत्यालले अन्य दललाई पनि सो मागपत्र बुझाइने जानकारी दिनुभयो । हाल मुलुकमा करिब २५ हजार अस्थायी सरकारी शिक्षक छन् । रासस

विद्यार्थीको सहयोगका लागि जुट्यो २० लाख

गुल्मी, माघ १० । गुल्मीको एक विद्यालयले अक्षयकोष स्थापनाका लागि आर्थिक संकलन अभियानलाई तीव्रता दिएको छ । कुर्घा गाविस–७ गुर्जाङमा रहेको खड्कदेवी प्राथमिक विद्यालयले सञ्चालन गरेको अभियानबाट हालसम्म स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्तिबाट रु २० लाख सङ्कलन प्राप्त भएको विद्यालयका प्रधानाध्यापक कुलराज शर्माले जानकारी दिए । विद्यार्थीको लागि निःशुल्क रुपमा दिवा खाजा, पोसाक र कपि कलमको सुविधा र सहयोग गर्ने लक्ष्यसहित विद्यालयले रु ३० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्य पूरा नहुञ्जेलसम्म आर्थिक सङ्कलन अभियान जारी राख्ने समेत प्रधानाध्यापक शर्माले जानकारी दिए ।

पूर्वविद्यार्थीले स्थापना गरे छात्रवृत्ति कोष

म्याग्दी, माघ ७। पाल्पामा महेन्द्ररत्न उच्चमावि बरङ्जाका पूर्वविद्यार्थीहरुले मिलेर स्कुलमा छात्रवृत्ति कोषको स्थापना गरेका छन् । सोही स्कुलबाट एसएलसी तथा दसजोड दुई उत्तीर्ण गरेका उनीहरुले चारलाख बराबरको छात्रवृत्ति कोषको स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुन मगरले जानकारी दिए । उनका अनुसार कोषलाई बढाएर १० लाख रुपैयाँ पु¥याउने लक्ष्य रहेको र कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ ।

केयुको उपकुलपतिमा पूनः माकाजु नियुक्त

काठमाडौं, माघ ७ । सरकारले काठमाण्डौं विश्वविद्यालय (केयु)को उपकुलपतिमा पुनः रामकण्ठ माकाजुलाई नियुक्त गरेको छ । केयुको कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले शुक्रबार उनलाई चारवर्षे कार्यकालका लागि नियुक्त गरेका हुन् । उपकुलपति छनौट समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । समितिले पूर्व उपकुलपति माकाजूसहित पूर्व रजिस्ट्रार भक्तमान तुलाधर, रजिस्ट्रार एवं कार्यवाहक उपकुलपति भोला थापा, पूर्व डिन मनप्रसाद वाग्ले र बायोटेक्नोलोजी विभागका प्रमुख जनार्दन लामिछानेको नाम सिफारिस गरेको थियो । यसअघि पनि उनी उपकुलपति थिए । मकाजुलाई उपकुलपतिमा नियुक्त भएपनि पत्र भने बुझ्न बाँकि छ । यसअघि मकाजुको ४ बर्षे कार्यकाल सकिएपछि मंसिर २६ गतेयता उपकुलपति पद रिक्त थियो ।

कक्षा १२ का विद्यार्थीले गरे ड्रोनको सफल परीक्षण

बेनी (म्याग्दी), माघ ५  । न्यु वेस्ट पोइन्ट आवासीय माविका विद्यार्थीले ड्रोन निर्माण गरी सफल परीक्षण गरेका छन् । विद्यालयले आयोजना गरेको अञ्चलस्तरीय बृहत् हस्तकला चित्रकला र रोबोटेक प्रदर्शनीमा कक्षा १२ का विद्यार्थीले ड्रोन बनाएर उडाएका हुन् । प्रदर्शनीमा विद्यार्थीले ड्रोन उडाउनुका साथै चित्रकला, हस्तकलाअन्तर्गत काठ, माटो, सिलाइबुनाइ, धातुमा कोरिएका चित्रकला, कागजका विभिन्न वस्तु, फोटो प्रदर्शनी, घर भवन मन्दिर र विभिन्न वस्तु तथा स्थलका मोडेल, फोटो फ्रेम, फोटो समेत प्रदर्शनी गरेका थिए । त्यसका साथै अटोमेटिक कार, सेन्सर लाइट, सेन्सर जडित पानी तान्ने मोटर, धुवाँ तथा मानव डिटेक्टिभ सेन्सरलगायतका विद्यार्थीद्वारा निर्माण गरिएका सामग्रीको प्रदर्शनी गरिएको थियो । फाइल तस्वीर

स्ववियु निर्वाचन विद्यार्थीको उपलब्धि हो : अध्यक्ष महर

पोखरा, पुस २८। नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन जुनसुकै हालतमा हुनुपर्ने बताए । नैतिकतामा आधारित मानवतावादी शिक्षा वर्तमानको आवश्यकता भएकोमा जोड दिँदै उनले आर्थिक रुपमा विपन्न विद्यार्थीले पैसाको अभावमा गुणस्तरीय एवम् प्राविधिक शिक्षाको अभाव भोग्न नपर्ने अवस्था सिर्जना गर्नु राज्यको दायित्व भएको बताए ।

अधिकृतदेखि सहायकसम्मको जागिर खुल्यो

 काठमाडौं, पुस २६ । बैङ्कमा जागिर खाने सोचमा हुनुहुन्छ भने तपाईका लागि राम्रो अवसर आएको छ । साना किसान विकास बैंकमा अधिकृत देखि सहायक श्रेणीसम्मको ११ पदमा आवेदन खुलेको छ । तह ६ देखि तह चार सम्मका लागि आवेदन खुलेको हो । काठमाडौं, बुटवल, पोखरा, नेपालगञ्ज, जनकपुर हेटौडा । विर्तामोडका लागि ११ पदमा आवेदन खुलाएको बैङ्कले जनाएको छ । अधिकृत ६ तहका लागि वाणिज्यशास्त्र व्यवस्थापन वा अर्थशास्त्र विषय लिएर मास्टर्स(स्नातकोत्तर) पास गरेकोले आवेदन दिन सक्ने बैङ्कले जानकारी दिएको छ । त्यस्तै तीन वर्ष सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव भएकाले आवेदन दिन सक्ने बताइएको छ । कम्प्युटर सम्बन्धि आधाभूत तालिम लिएको हुनुपर्ने योग्यता तोकिएको छ । त्यस्तै चौथो तहमा आवेदन दिन वाणिज्यशास्त्र वा अर्थशास्त्र विषयमा विए पास गरेको हुनुपर्ने एक वर्षको अनुभव भएको र कम्प्युटरको तालिम लिएकाले आवेदन दिनसक्ने बैङ्कले जनाएको छ । इच्छुक व्यक्तिले बैंकको कार्यालयमा आवेदन दिन सक्ने बैंकले जनाएको छ । पढ्नुस् सूचना

शाखा अधिकृतमा ३० गुणाभन्दा बढीले दिए आवेदन

काठमाडौं, पुस १९ । लोकसेवा आयोगले निजामती सेवातर्फको राजपत्रांकित तृतीय श्रेणी (शाखा अधिकृत) का लागि पाँच सय तीन जनाको आवेदन मागेकोमा अहिलेसम्म ३० गुणा बढीले आवेदन फाराम भरेका छन् । आयोगले मंसिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थिए । शाखा अधिकृत पदका लागि पाँच सय तीन जना मागेको मध्येमा १५ हजारले आवेदन भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए । आज राति १२ बजेसम्म आयोगले तोकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ । गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्नेछन् ।