‘स्कुल जान दुई घण्टा हिँड्नुपर्छ’

‘स्कुल जान दुई घण्टा हिँड्नुपर्छ’

मीना घोरसाइने

काभ्रे, माघ १८ । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् ।

“विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको सामना गरेरपनि त्यहाँसम्म जानुपर्ने बाध्यता छ ।”

बालुवापाटी गाविसका २, ७, ९ वडाका विद्यार्थी आर्थिक अबस्थाका कारण सहरसम्म गएर पढ्ने अवस्था नभएकाले टाढा भएपनि नगरकोटसम्म गएर पढ्न बाध्य भएका हुन् ।
बालुवापाटी–२ स्थित श्री सेतीदेवी प्रावि करिब आठ वर्षदेखि बन्द भएकाले त्यहाँका साना बालबालिकासमेत नगरकोटसम्म पढ्न जान बाध्य भएका हुन् ।

गाउँमा विद्यालय नहुँदा आठ वर्षीय बालुवापाटी–९ की आयुशा ढकाल नगरकोटमा रहेको सनराइज बोर्डिङ स्कुलमा पढ्न जान्छिन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलमा पुग्न ढिला भए स्कुलको ढोका नै बन्द हुने भएकाले घर फर्कनुपर्दा समय त्यसै खेर जाने बताइन् ।

हाल सो क्षेत्रमा विदेशीको सहयोगमा सञ्चालित सामुदायिक शिक्षा नामक विद्यालयमा एलकेजीसम्म पढाइ हुँदै आएको र अर्को वर्षदेखि कक्षा एकसम्म पढाइ हुने भएको छ । सो विद्यालयलाई सरकारी विद्यालयको रुपमा परिणत गर्ने पहल भइरहेको नगरहोम नेपाल नामक संस्थाका सदस्य उद्धव ढकालले बताए ।

गाउँमा विद्यालय नहुँदा अभिभावकसमेत चिन्तित छन् । हुनेखाने परिवारले छोराछोरीलाई सहरमा पढ्न पठाउने गर्छन् भने नहुनेले टाढाभएपनि पढ्न पठाउन बाध्य छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउन बाध्य भएको बालुवापाटी–२ की भागिरथी घोरसाइनको भनाई छ ।

गाविसको तथ्याङ्कअनुसार उक्त गाविसमा जम्मा ८७ प्रतिशत जनजातिको बसोबास छ भने अन्य ब्राह्मण क्षेत्री १३ प्रतिशतमात्र छन् ।

त्यस्तै उक्त जातिहरुको शिक्षामा पहुँच जनजातिको जम्मा प्रतिशतमध्ये १३ प्रतिशत मात्र छ भने ब्राह्मण क्षेत्रीको जम्मा प्रतिशतमध्ये सात प्रतिशतको मात्र शिक्षामा पहुँच रहेको छ । गाउँमै विद्यालयको अभावका कारण त्यस्तो अवस्था भएको गाविसका गाविस सचिव मकुन्द गजुरेल  बताउँछन् ।

साथै गाउँमै भएको सेतीदेवी प्रावि विगत लामो समयदेखि बन्द रहेको र उक्त विद्यालयमा कार्यरत दुई शिक्षकको दरबन्दी अझै खारेज भइनसकेकाले उक्त विद्यालयलाई पुनःसञ्चालन गरेर शिक्षकलाई त्यही काम गराउने वातावरण तयार गर्न पहल भइरहेको उनी बताउँछन् ।

सबै शिक्षकको काज फिर्ता गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचार गराइरहेका बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।  सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ। शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन्। मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

त्रिविमा प्राध्यापक पदपूर्तिको विज्ञापन खारेज गर्न अखिलको माग

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेकोमा हाल प्रचलनमा रहेको कार्यविधि विपरित भएको भन्दै अनेरास्ववियुले विरोध गरेको हो ।  शिक्षक नियुक्तिको सिफारिससम्बन्धी कार्यविधि २०७५ को पछिल्लो संशोधनलाई बेवास्ता गर्दै निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक बनाउन खोजिएको आरोप अनेरास्ववियुले लगाएको छ । त्रिविको कार्यकारी परिषदले २१ असोज २०८० मा उक्त कार्यविधि संशोधन गरेर सेवा आयोगमा पठाएको तर सेवा आयोगले संशोधित कार्यविधिलाई बेवास्ता गरेर निश्चित सहप्राध्यापकलाई मात्र प्राध्यापक पदपूर्ति गर्ने बदनियत राखिएको अनेरास्ववियु त्रिवि जिल्ला कमिटीका अध्यक्ष सिद्धान्त भट्टले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यो सूचनाले विश्वविद्यालय पुनः भर्ती केन्द्र र स्वार्थ केन्द्रको रुपमा स्थापित हुने अनेरास्ववियुले आशंका व्यक्त गरेको छ । यस्तो छ, विज्ञप्ति

सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम

 काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका सामुदायिक क्याम्पसस्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रदर्शनी मार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस प्रथम भएको छ । मार्क्सवादी ज्ञान केन्द्रले आज नेपाल ल क्याम्पसमा आयोजना गरेको प्रतियोगितामा सानोठिमी क्याम्पस दोस्रो भएको छ । यसैगरी, पाटन संयुक्त क्याम्पस तेस्रो र पब्लिक युथ क्याम्पसले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु १० हजार, रु सात हजार पाँच सय र रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सान्त्वना स्थान प्राप्त गर्नेले रु दुई हजार पाँच सय पुरस्कार प्राप्त गरेको छ । विजेता टोलीलाई मार्क्सवादी ज्ञान केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस विज्ञ मनहरि तिमिल्सिनाले पुरस्कार वितरण गरे । प्रतियोगितामा नेपाल ल क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस, महेन्द्ररत्न क्याम्पस, नेपाल कमर्स क्याम्पससहित आठ क्याम्पसका विद्यार्थी सहभागी थिए ।प्रतियोगीलाईर्दशन, समाजिक इतिहास विज्ञान लगायतका विभिन्न विधाबाट प्रश्न सोधिएको थियो । पठन संस्कृतिको विकास गर्न यस किसिमको कार्यक्रम गरिएको आयोजकले जनाएको छ । संस्थाका महासचिव इन्द्रराज भट्टराईले सहजिकरण गरेको कार्यक्रममा प्रतियोगितामा सहभागी विद्यार्थीका साथै संस्थाका सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारीहरु, आजीवन सदस्यहरु र सुभचिन्तकहरुसँगै विभिन्न क्याम्पसमा विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

कोरियन भाषा परीक्षा आजदेखि सुरु

काठमाडौं । ईपीएस कोरिया शाखाले लिने कोरियन भाषा परीक्षा आजदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको उक्त शाखाले जनाएको छ ।  परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा एक हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिइन्। उनका अनुसार पहिलो सिफ्टमा करिब ४७ हजार पाँच सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । परीक्षार्थीहरू परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ ।सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए । 

लोकप्रिय