भारतीय दूतावास अगाडि विद्यार्थीले गरे प्रदर्शन

काठमाडौं, फागुन २७ । भारतले गरेको अत्याचारको विरोधमा विद्यार्थीहरुले भारतीय दूतावास अगाडि प्रदर्शन गरेका छन् ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले कञ्चनपुरका गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि त्यसकै विरोधमा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले भारतविरुद्ध चर्का नाराबाजी गरेका थिए ।

‘पुस्तकालयमा किताब राख्ने ठाउँ छैन’

काठमाडौँ, फागुन २० । भृकुटीमण्डपमा रहेको काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयमा किताब राख्ने ठाउँ नहुँदा समस्या परेको छ । विसं २०६० असोजमा स्थापित उक्त पुस्तकालयमा पुस्तक धेरै र राख्ने ठाउँ थोरै छ । पुस्तकालयमा ४० हजारभन्दा बढी पुस्तक छन् । यसका ५७ संस्थापक सदस्य तथा एक हजार नौ सय दुई पाठक छन् । पाठकले सुरुमा रु एक हजार र वार्षिक रु दुई सय तिरेर सदस्य बन्न पाउँछन् । पुस्तकालय समाजको १३ औँ साधारणसभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा पुस्तकालयका अध्यक्ष एवम् पूर्वमन्त्री डा नारायण खड्काले ठाउँको अभावले सङ्घसंस्था र व्यक्तिले दिएको किताब राख्ने ठाउँ नभएको बताए । डा. खड्काले निम्नवर्गलाई ध्यानमा राखी पुस्तकालय खोलिएको बताउँदै यस्ता पुस्तकालयलाई राज्यले विशेष चासो दिनुपर्ने बताए । राष्ट्रपतिका परराष्ट्रविज्ञ डा. मदन भट्टराईले बौद्धिक वर्गका लागि पुस्तकालय स्थापना भएको बताउँदै राज्यले पुस्तकालयलाई हेर्ने सोच सकारात्मक हुनुपर्नेमा जोड दिए । पूर्वसचिव सुरेशमान श्रेष्ठले सार्वजनिक पुस्तकालयको विकासका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् । शिक्षा मन्त्रालय पुस्तकालय समन्वय शाखाका प्रमुख यादवचन्द्र निरौला, पुस्तकालय समाजका उपाध्यक्ष याङ्किला शेर्पा, महासचिव तीर्थराज वन्तलगायतले विश्व नयाँ युगमा प्रवेश गरेसँगै पुस्तकालयको महत्व बढ्दै गएको बताएका छन् ।

प्रहरी र विद्यार्थीबीच आर आर क्याम्पसमा झडप, केही विद्यार्थी घाइते

काठमाडौं, फागुन २० । स्ववियु निर्वाचनकाे नयाँ  पुनः गर्ने या नगर्ने भनि बसेको वैठकमा विवाद उत्पन्न भएपछि राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्य लक्ष्मी (आरआर)मा प्रहरी र विद्यार्थीबीच झडप भएको छ । झडपमा केही विद्यार्थी घाइते समेत भएका छन् । क्याम्पस हातामा विद्यार्थी र प्रशासनबीच भएको वैठकमा प्रशासनले प्रहरी बल प्रयोग गरेर दमन गर्ने खोजेकाले यो झडप भएको विद्यार्थी अमृत रेग्मीले बताए । निर्वाचनका उम्मेदवार नै क्याम्पसभित्र छिर्न नदिई प्रशासनले एकतर्फी रुपमा निर्वाचनको नयाँ मिति घोषणा गरेकाले त्यसको विरोध गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएको क्रान्तिकारीका स्ववियु सभापति उम्मेदवार धु्वराज वाग्लेले जानकारी दिएका छन् । क्याम्पसमा स्ववियु चुनावको नयाँ मिति घोषणा भएपछि नेविसंघ र अखिल क्रान्तिकारीले विरोध गरेका हुन् । निर्वाचन प्रमुख हरिप्रसाद पराजुली भने अहिलेसम्म सम्पर्कविहीन रहेका छन् । विद्यार्थीले पढ्न पाउने अधिकारलाई कुण्ठित पार्दै क्याम्पस प्रशासनले गस्ती लुकाएर राखेको आरोप विद्यार्थीले लगाएका छन् । आक्रोेशित भिडले क्याम्पस प्रमुखको राजिनामा माग्दै क्याम्पस हातामा नारा लगाएका थिए ।

परिवार गुमाएकाले छात्रवृत्ति पाउने छन् : जिशिअ

धनगढी, फागुन २० – वैदेशिक रोजगार प्रबर्द्धन बोर्डले दिने वैदेशिक रोजगार छात्रवृत्तिका लागि कैलालीमा ३३ वटा आवेदन परेको छ । मृतकका परिवारले आज जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टलाई संयुक्त रुपमा आवेदनउने क्रममा आवेदन बुझ्दै जिशिअ विष्टले परेका आवेदनलाई सम्बन्धित निकायमा सिफारिस गरी प्रक्रिया अगाडि बढाउने बताए । उनले परिवारजन गुमाएकाहरुलाई छात्रवृत्ति पाउने भन्दै नागरिकले राज्यबाट पाउने सुविधाका लागि सहयोग गर्न आफू तयार रहेको बताएका छन् । सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको सहयोगमा जिल्ला शिक्षा कार्यालयमा वैदेशिक रोजगारको शिलशिलामा विदेशमा ज्यान गुमाएका व्यक्तिका परिवारले आवेदन पेश गरेका हुन् । सुरक्षित आप्रवासन (सामी) परियोजनाका जिल्ला संयोजक पञ्चराम चौधरीले मृतक परिवारका विद्यार्थीहरुले सहज रुपमा छात्रवृत्ति पाउने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले मृतक परिवारका बालबालिकाको शिक्षा सहज हुने समेत विश्वास व्यक्त गरे । १८ वर्ष मुनिका बालकालिकाले सरकारी, सामुदायिक, संस्थागत र निजी विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका विद्यार्थीले छात्रवृत्ति पाउने व्यवस्था भएपनि प्ले ग्रुपका बालबालिकालाई वैदेशिक रोजगार छात्रवृत्ति सञ्चालन कार्यविधिले अझै समेट्न सकेको छैन ।

सानोठिमी क्याम्पसमा विजय जुलुस

भक्तपुर, २० फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय अन्तर्गतको महत्त्वपूर्ण क्याम्पस सानोठिमी क्याम्पसमा अखिल९क्रान्तिकारी० र नेविसंघले संयुक्त विजय रर्याली गरेका छन्। आज सानोठिमी क्याम्पसवाट शुरु भएको जुलुस मगरगांउ,गठ्ठाघर हुँदै पुन क्याम्पसै आएर समापन भएको थियोे ।जुलुसपछि आयोजित सभामा अखिल९क्रान्तिकारी०का उपाध्यक्ष अनिल शर्मा,प्रवक्ता सुरेन्द्र बस्नेत र महासचिव वीरेन्द्र बस्नेत लगायतले सम्वोधन गरेका थिए। गत फागुन १८ गते भएको स्ववियु निर्वाचनमा क्रान्तिकारीका रमेश खड्काले नेतृत्व गरेको पुरै प्यानलले जितेको थियोे । स्ववियु अध्यक्ष रमेश खड्काले अनेरास्ववियुका लालबहादुर रोकायालाई ४६६ मतका साथ पराजित गरेका थिए । रोकायाले ३११ मत प्राप्त गरेका थिए । सचिव पदमा नेविसंघका राबहादुर केसि र कोषाध्यक्षमा अखिल९क्रान्तिकारी०का पार्वता शर्मा निर्वाचित भएकी छिन् ।

क्याम्पस प्रशासनकै मिलेमतोमा धाँधली भएको भन्दै तेजगंगा क्याम्पसमा तालाबन्दी

काभ्रे,फागुन २० । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा धाँधली भएको आरोप लगाउँर्दै नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तेजगंगा बहुमुखी क्याम्पस पनौतीमा तालाबन्दी गरेका छन् । उनीहरुले क्याम्पस प्रमुख र प्रशासनको मिलेमतोमा धाँधली गरेको आरोप लगाएका छन् । खसेको मतभन्दा धेरै मतगणना गरेर एमालेको विद्यार्थी संगठन अनेरास्वियुको प्यानललाई विजयी गराएको भन्दै दुई विद्यार्थी संगठनले पुन मतगणनाको माग गर्दै क्याम्पस प्रमुख अम्वुभवानी कार्कीको कार्यकक्षमा शुक्रबार बिहान तालाबन्दी गरेका हुन् । बुधबार भएको स्ववियु चुनावमा खसेको मतभन्दा बढी मत भेटिएको थियो । खसेको मत परिणामबारे पनि निर्वाचन समितिले यकिन गर्न नसकेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । १ सय २४ मत प्राप्त गरेका राजेश थापाको प्यानललाई निर्वाचन समितिले विजयी भएको घोषणा गरेको थियो । पराजित संयुक्त प्यानलका उम्मेदवार सुवास बस्नेतले १ सय १४ मत प्राप्त गरेका थिए । संयुक्त प्यानलबाट सचिव पदकी उम्मेदवार रिता लामाले मत परिणामबारे जानकारी माग्दा समेत निर्वाचन समितिले जानकारी नदिइ एकलौटी परिणाम घोषणा गरेको संयुक्त रुपमा जारी विज्ञप्तिमा जनाइएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष सुन्दर खड्काले निष्पक्ष छानबिनको माग गर्दै तालाबन्दी गरेको बताए । खसेको मत संख्याका बारेमा निर्वाचन समिति र विद्यार्थी संगठनकाबीच विवाद छ । पटक पटक बदर मतबारे जानकारी माग्दा बेवास्ता गरेर एकपक्षीय रुपमा नतिजा सार्वजनिक गरेको भन्दै जिल्ला प्रशासन कार्यलयमा पुनः मतगणना गर्न उनीहरुले माग गरेका छन् ।

कक्षा ११ को परीक्षा स¥यो

भक्तपुर, फागुन २० । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचनका कारण कक्षा ११ को अन्तिम परीक्षा सरेको छ । आज राष्ट्रिय परीक्षा बोर्ड परीक्षा समितिको बैठकले २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको बोर्डका सदस्य–सचिव डिल्ली रिमालले जानकारी दिए । बोर्डले आगामी वैशाख २४ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन गर्ने गरी सार्वजनिक गरेको परीक्षा तालिका परिवर्तन गरी आगामी असार १ गतेदेखि ११ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको उनले जानकारी दिए । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ ३ गतेसम्म लिनेगरी निकालेको थियो । अर्यालका अनुसार कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ । कक्षा १२ को परीक्षा आउँदो वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ । रासस

थापाथली इन्जिनियरिङ र सानोठिमी शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारीको प्यानलै विजयी

काठमाडौं, फागुन १९ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको नतिजा आउने क्रम जारी छ । अहिले विहान प्राप्त जानकारी अनुसार सानो ठिमी शिक्षा क्याम्पस र थापाथली इन्जिनियरिङ क्याम्पसमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले प्यानलै विजयी हासिल गरेको छ । त्रिविको कार्यतालिका अनुसार ती क्याम्पसहरुमा बुधबार स्ववियु चुनाव भएको थियो । सानो ठिमी शिक्षा क्याम्पस भक्तपुरमा क्रान्तिकारीका रमेश खड्का अध्यक्षमा विजयी भए यस्तै थापाथली इन्जिनियरिङमा क्रान्तिकारीबाटै प्रज्ज्वल खत्री सहितको प्यानलै जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । त्रिवि अन्तर्गतको केही ठूला क्याम्पसमा भने स्ववियु चुनाव स्थगन भएको छ । रत्न राज्य लक्ष्मी क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन सयुक्त क्याम्पस, मीनभवन क्याम्पस, शंकरदेव क्याम्पस अस्कल क्याम्पस र सरस्वती क्याम्पसमा चुनाव स्थगित भएको छ । अन्य क्याम्पसमा भने बुधबार चुनाव भएको हो ।

पुष्पलता क्याम्पसमा सभापतिमा अखिल क्रान्तिकारीका संगिता भुजेल विजयी

लमजुङ, फागुन १८ । पश्चिम लमजुङको मध्यनेपाल नगरपालिका–११ स्थित दुईपिप्लेमा रहेको पुष्पलता जनएकता बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सिंगो कार्यसमितिमा सबै महिला चयन भएका छन् । क्याम्पसको स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) की संगिता भुजेल, उप–सभापतिमा नेविसंघकी बिना श्रेष्ठ, सचिवमा अनेरा स्ववियुकी निशा कुमाल, सह–सचिवमा अनेरा स्ववियुकै बिनिता श्रेष्ठ, कोषाध्यक्षमा नेविसंघकै सञ्जु कडेँल क्षेत्री र सदस्यहरुमा निशा थापा मगर, सुष्मा श्रेष्ठ, आरती श्रेष्ठ, सिर्जना श्रेष्ठ, निशा श्रेष्ठ र रोशनी कुमाल सवर्ससम्मत चयन भएको स्थानीय शिक्षक अजित थापाले जानकारी दिए ।

दोलखामा एमाले अखिलद्वारा आक्रमण

दोलखा, फागुन १८ । जारी स्ववियु निर्वाचन अनुसार प्रताप स्मृति कलेज सिंगटीमा मतदान शुरु हुनेबित्तिकै एमाले अखिलले मतदान स्थलमा आक्रमण गरेको छ । अखिलले आक्रमण गरेपश्चात अखिल क्रान्तिकारी र नेविसंघले प्रतिरोध गरेपश्चात दोहोरो झडप भएको छ । झडपमा झण्डै २ दर्जन विद्यार्थीहरु घाइते भएको बताइएको छ । प्रताप स्मृति कलेजमा अखिल क्रान्तिकारी प्रचण्ड र नेविसंघको संयुक्त प्यानल बनाएर चुनाव लडिरहेको छ भने एमाले अखिल र अन्य संगठनहरुको एउटा प्यानल बनेको बताइन्छ । नेकपा माओवादी केन्द्रका दोलखा संयोजक विशाल खड्काका अनुसार एमाले अखिलले पराजित हुने निश्चित भएपछि भाड्न खोजेको बताए । अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतका अनुसार प्रताप स्मृतिमा अखिल क्रान्तिकारीले जित्ने निश्चित भएपछि अखिलले चुनाव भाड्न खोजेको बताए ।

लमजुङ क्याम्पसमा झडप, प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते

लमजुङ, फागुन १६ । लमजुङको सुन्दरबजार नगरपालिका–७ स्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थान, लमजुङ कयाम्पसमा विद्यार्थीबिच झडप हुँदा प्रहरीसहित एकदर्जन भन्दा बढी घाइते भएका छन् । क्याम्पसमा अध्ययनरत नेविसंघ र अनेरास्ववीयूका विद्यार्थीबिच झडप भएको हो । नजिकिँदो स्ववियू निर्वाचनका विषयमा विद्यार्थी संगठनबिच भएको विवादले उग्र रुप लिएपछि उनीहरुबीच झडप भएको हो । झडपमा नेपाल विद्यार्थी संगठनका १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय सुन्दरबजारले जानकारी दिएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । विद्यार्थीको झडपलाई छुट्याउने क्रममा एक जना प्रहरी जवान समेत घाइते भएका छन् ।

अब अमेरिकामा नेपाली विषयको पढाइ हुने

काठमाडौँ, फागुन १६ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ । वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताउनुभयो । हाल नेपाल भ्रमणमा रहनुभएका आयुक्त गुरुङका अनुसार वासिङ्टन सरकारको उक्त निर्णयले त्यहाँका शैक्षिक संस्थामा हाललाई उच्चमाध्यमिक तहमा नेपाली विद्यार्थीका लागि नेपाली विषय अध्ययनको सुरुवात भएको छ । अमेरिकाका विद्यार्थीलाई शैक्षिक संस्थामा अनिवार्य अङ्ग्रेजी विषयपछि दोस्रो कुनै एक विषय छनोटको प्रावधान छ । जसमा विश्वका धेरै भाषा सूचीकृत भए पनि हालसम्म नेपाली भाषा सूचीकृत नभएको उहाँले जानकारी दिनुभयो । रासससँग कुरा गर्दै आयुक्त गुरुङले उक्त कार्यले अमेरिकामा बस्ने भावी नेपाली पुस्ताले नेपाली भाषा पढ्न, जान्न पाउने र नेपाली भाषा संस्कृतिको जगेर्ना हुनाका साथै अमेरिकाका अन्य राज्यमा पनि नेपाली भाषा अध्ययनका लागि दबाब बढ्ने बताउनुभयो । “वासिङ्टन राज्यमा हाल १० हजारभन्दा बढी नेपाली भाषी छन्, जसमध्ये छ हजार भुटानी शरणार्थी छन् भने करिब पाँच हजार नेपाली छन्”–उहाँले भन्नुभयो । स्याङ्जामा २०१२ सालमा जन्मनुभएका गुरुङ काठमाडौँमा अध्ययन तथा वीर अस्पतालमा १३ वर्ष जागिरपछि उज्ज्वल भविष्यको खोजीमा सन् १९९३ मा अमेरिका जानुुभएको थियो । हाल अमेरिकामा विभिन्न सङ्घसंस्थामार्फत नेपाली भाषा संस्कृतिको जगेर्ना तथा समाज सेवामा समर्पित गुरुङले वासिङ्टनका शैक्षिक संस्थामा आगामी दिनमा नेपाली विद्यार्थीलाई सङ्गठित गरी अध्ययन सुरु गराउने योजनामा रहेको बताउनुभयो । रासस

नेपाली कला संस्कृतिकाे अध्ययनका लागि जापानी विद्यार्थी नेपालमा

काठमाडौं, फागुन १४ । नेपालको कला संस्कृतिको अध्ययनका लागि जापानी विद्यार्थीहरु नेपालमा आईपुगेका छन् । नेपाली कलासंस्कृतिको अध्ययनसँगै जापानी कला, संस्कृतिबारे नेपाली समुदायलाई जानकारी गराउने उद्देश्यले जापानका विभिन्न विश्वविद्यालयमा अध्ययनरत् १० जना विद्यार्थीहरुको एउटा टोलि नेपाल भ्रमणमा आएका हुन् । करिब दुई साता नेपाल बसाइको क्रममा उनीहरुले नेपालका ग्रामीण क्षेत्रमा पुगेर त्यहाँको कला, संस्कृति र रहनसहनको अध्ययन गर्ने र आफ्नो देशको संस्कृतिबारे स्थानीय वासिन्दासँग अन्तरक्रिया बताइएको छ । एसिएसन एसोसिएसन फर एजुकेसन एन्ड कल्चर एक्सचेन्ज नामक संस्थाको पहलमा भएको यो कार्यक्रममा सहभागी जापानी विद्यार्थीहरुले ग्रामीण क्षेत्रका जनताको जीवनस्तर उकास्नका लागि सीपमूलक तालिमसमेत दिने बताइएको छ । विगत पाँच वर्षयता यो कार्यक्रमअन्तर्गत् जापानी विद्यार्थी तथा जापानका विश्वविद्यालयमा अध्ययनरत् अन्य देशका विद्यार्थीहरु नेपाल आउन थालेको संस्थाका नेपाल प्रमुख क्षितिज भट्टराईले जानकारी दिए ।

मातृभाषाको पढाइले बीचमै विद्यालय छाड्ने विद्यार्थी घटे

कञ्चनपुर, फागुन १४  । राना थारु मातृ भाषामा पढाइ हुन थालेपछि कञ्चनपुरको देखतभूलीमा रहेको राष्ट्रिय बहुभाषिक विद्यालयमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्यामा कमी आएको छ । घरमै बोलिने मातृ भाषामा विद्यार्थीलाई पढाउन थालिएपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्य प्रतिशतमा झरेको छ । विगतमा बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या पाँच प्रतिशतभन्दा बढी हुने गरेको थियो । विद्यालयका प्रधानाध्यापक छविलाल जोशीले भने, “विद्यालयमा पढाइने पाठ्यपुस्तकलाई शिक्षकले राना थारु भाषामा अनुवाद गरी पढाउन थालेपछि बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या शून्यमा झरेको छ ।” विद्यालय नआउने विद्यार्थीको घरमै गएर शिक्षकले विद्यालय आउन प्रेरित गर्ने कार्यले समेत विद्यार्थीले बीचमै विद्यालय छाड्ने क्रम हट्दै गएको उनले बताए । भाषाको कठिनाइले विद्यालय आए पनि बीचमै कक्षा छाडेर भागेर जाने विद्यार्थी समेत हाल कक्षामा सहभागी भई पढ्दै आएका छन् । विद्यालयमा पढाउने नौ जना शिक्षकमध्ये छ जना राना समुदायकै भएकाले पनि विद्यार्थी विद्यालयमा नियमित हाजिर हुन थालेका हुन् । विद्यार्थी समयमै विद्यालय पुग्ने र पढाइप्रतिको लगाब बढ्न थालेपछि नतिजामा समेत सुधार देखिएको विद्यालयका शिक्षकको भनाइ रहेको छ । “आधारभूत तहका बालबालिकालाई घरायसीमैत्री वातावरणमा मातृभाषामै पठनपाठनको कार्य हुँदै आएकाले निजी विद्यालयमा पठनपाठन गर्दै आएका बालबालिका समेत यस विद्यालयमा भर्ना गराएका छौँ” स्थानीय अभिभावक भीम रानाले भने । बचपनदेखि बालबालिकाले बोल्दै आएको भाषामै पढ्न पाएपछि चाँडै कक्षामा पढाएको कुरा सिक्ने र पढ्नका लागि अभिरुची देखाउने गरेको उनले बताए । पाँच वर्षअघि पाठ्यक्रम विकास केन्द्रले विद्यालयलाई राना थारु भाषामा छापिएका पाठ्यपुस्तक उपलब्ध गराए पनि त्यसपछिका वर्षमा पाठ्यपुस्तक उपलब्ध नहुँदा विद्यालयका शिक्षकले आफैँ पाठ्यपुस्तक अनुवाद गरी पढाउँदै आएका छन् । विसं २०१४ मा स्थापना भएको यस विद्यालयमा अध्ययनरत ३७६ विद्यार्थीमध्ये ९७ प्रतिशत विद्यार्थी राना समुदायका रहेका छन् ।

१० हजारका दरले दुई सय नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौं, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि प्लस टुसम्म अध्ययनरत २ सयजना नेपालीलाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । शिक्षामन्त्री धनीराम पौडेलले शुक्रबार काठमाडौंममा आयोजित एक समारोहमा छात्रवृत्ति रकमको चेक हस्तान्तरण गर्दै नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे । उनले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उनले बताए । पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए । विगत चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि १० हजार रुपैयाँका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । गएको वर्ष उक्त कार्यक्रमबाट १ सय ५० जना विद्यार्थी लाभान्वित भएका थिए ।

शैक्षिक सामग्रीको प्रयोगले सिकाइ उपलब्धिमा सुधार

पाल्पा, फागुन १२ । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोगले शिक्षण सिकाइ कार्य प्रभावकारी बन्दै गएको छ । कक्षाकोठामा पाठअनुसार शिक्षकले दिनहुँ प्रयोग गर्ने शैक्षिक सामग्रीले शिक्षाको गुणस्तरमा वृद्धि ल्याएको छ । हिजोआज धेरैजसो विद्यालयमा शैक्षिक सामग्रीलाई अनिवार्य रुपमा कक्षाकोठामा प्रयोग गर्न थालिएपछि रुचिपूर्वक विद्यार्थीले सिकाइ सिक्ने गरेको पाइएको छ । जिल्लाको पूर्वी भेगका रामपुर र गाडाँकोट स्रोतकेन्द्रका विद्यालयमा अनिवार्य रुपमा कक्षाकोठामा शैक्षिक सामग्रीको प्रयोग हुँदै आएको छ । शैक्षिक सामग्रीकै प्रयोगले यहाँका विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार भएको स्थानीय शिक्षक बताउँछन् । कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर पठनपाठन गराउन थालेपछि विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धिमा सुधार भएको रामतुल्सी माध्यमिक विद्यालयका शिक्षक लेखनाथ शर्मा मरासिनीले बताउनुभयो । शैक्षिक सामग्री देखाउँदै अध्यापन गराउँदा विद्यार्थीलाई सिकाउन र बुझाउन पनि सजिलो हुने गरेको पनि उहाँले बताउनुभयो । पाठअनुसार आवश्यक पर्ने विभिन्न शैक्षिक सामग्रीको प्रयोग गर्दै शिक्षकले सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अध्यापन गराउँदा पढाइमा उत्प्रेरणा जाग्दै गएको रामतुल्सी मावि कक्षा ९ मा अध्ययनरत छात्रा अस्मिता पाण्डे बताउनुहुन्छ । कक्षाकोठामा सबैले देख्ने ठाउँको भित्तामा पाठ प्रसङ्गअनुसार शैक्षिक सामग्री राखेर शिक्षण गरिँदै आएको दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटा बताउनुहुन्छ । आवश्यक परेमा शिक्षक र विद्यार्थी मिलेर आफैं पनि शैक्षिक सामग्री निर्माण गरी शिक्षण कार्य गर्दै आएको उहाँले बताउनुभयो । कक्षाकोठामा शैक्षिक सामग्री प्रयोगमा ल्याइएपछि यस क्षेत्रका विद्यालयमा विद्यार्थीको वार्षिक सिकाइ उपलब्धिमा सुधार हँुदै गएको गाडाँकोट स्रोतकेन्द्रका स्रोतव्यक्ति शेषकान्त भट्टराई बताउनुहुन्छ ।