आँखा अस्पतालले तीस हजार बिरामीलाई सेवा दिँदै
झापा, पुस ९ । हुलका हुल नेपाली बिरामी भएपछि उपचारका लागि दिनहुँ काँकरभिट्टा हुँदै भारतका विभिन्न अस्पताल धाइरहेका बेला सन्तोष तामाङ भने पाँच वर्षीय छोरा प्रशान्तलाई बोक्दै बिर्तामोडस्थित मेची आँखा अस्पताल पसे ।
भारत आसामको तीनचुके जिल्लाका सन्तोष आँखाका बिरामी छोरालाई उपचारका लागि यहाँ आएको छ। भारतका विभिन्न अस्पतालमा रोग निको नभएपछि उनी १३ हजार भारतीय रुपैयाँ भाडा तिरेर मेची आँखा अस्पताल आइपुगेको छ ।
‘दुई वर्षदेखि छोराको उपचार गराउँदै आएको छु,’ उनले भने– ‘भारतमा निको नभएपछि उपचार गराउन यहाँ आएको हुँ ।’ यस क्रममा उनले छोराको उपचारका लागि रु तीन लाख खर्च गरिसकेको छ ।
यस्तै भारत सिक्किमका सुनिता भण्डारी गुरुङ ८ वर्षीय छोरा विजयका साथ अस्पतालमा भेटिए । उनी तीन वर्षदेखि लगातार छोराको उपचार गराउन नेपाल धाउँदै आएको छ ।
‘अढाइ वर्षको हुँदादेखि नै आँखाको समस्या छ, भारतीय अस्पतालमा जति उपचार गरेपनि रोगको पत्तो लागेन,’ उनले भजे– ‘यहाँ ल्याएपछि एकैदिनमा रोग पत्ता लाग्यो ।’
छोराको रोग निको हुँदै गएको गुरुङको भनाइ छ । छोरालाई नियमित चेकजाँच गराउन आउने गरेको उनले बताए ।
विर्तामोडस्थित सैनिक मोडमा रहेको मेची आँखा अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी भारतीय नागरिक हुन्छन् ।
अन्य रोगको उपचारका लागि दिनहुँ सयौं नेपाली भारतका विभिन्न अस्पताल जाने गरेपनि आँखाको उपचार गर्न भने सोही सङ्ख्यामा भारतीय झापा आउने गरेका छन् ।
पहिला पहिला रोगले थलिएर बस्ने नेपाली अहिले आँखामा सामान्य समस्या देखिँदा समेत अस्पताल धाउने गरेका छन् । घरआँगनमै उपचार सहज भएपछि उनीहरु रोग लाग्ने वित्तिक्कै अस्पताल दौडिने गरेका हुन् ।
‘आँखामा कचेरा आएपछि नजिकैको अस्पतालमा जचाउन आइहाले,’ १ वर्षीय छोरा सम्भवलाई काखी च्यापेर आउनुभएका धुलाबारीका सिर्जना कडरियाले भने– ‘कचेरा झिक्न नियमित अस्पताल आउने गरेकी छु ।’
‘दैनिक एक हजारदेखि एक हजार तीन सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्’ अस्पतालका नेत्ररोग विशेषज्ञ डा.पवन महतले भनेण्– ‘उपचार गर्न आउनेमा नेपाली र भारतीय बराबरीको सङ्ख्यामा छन् ।’
सन् १९९६ मा लायन्स क्लब अफ विर्तामोडले नेदरल्यान्डमा रहेको ‘आईकेयर’ फाउन्डेसनको सहयोगमा यहाँ १५ दिनको आँखा शिविर सञ्चालन गरेको थियो ।
उक्त शिविरमा पाँच हजार ७३८ जनाले सेवा पाए । शिविरमै यति धेरै बिरामीको चाप देखेपछि नेदरल्यान्डको आईकेयर फाउन्डेसनले अस्पतालका रुपमा सेवा दिन मद्दत गर्ने बताएपछि सोही वर्ष विर्तामोडमा आँखा अस्पताल सञ्चालन भएको लायन्सक्लब अफ विर्तामोडका संस्थापक अध्यक्ष तथा अस्पतालका पूर्वअध्यक्ष भरतलाल गिरीले बताए ।
स्थापनाको दुई दशकमा २० लाख ७० हजारभन्दा बढी बिरामीले आँखाको उपचार पाइसकेका छन् । सुरुवातमा एकजना चिकित्सकबाट सेवा प्रारम्भ गरेको सो अस्पतालमा हाल १३ चिकित्सकसहित एक सय २० जना कर्मचारी रहेका छन् ।
अस्पतालले शनिबार समेत सेवा प्रदान गर्दैआएको छ । तीन बिगाहा १६ कठ्ठा ६ धुरमा फैलिएको सो अस्पताल रु २५ करोडको लागतमा स्थापना भएको अस्पतालका प्रशासन प्रमुख सुरज रौनियारले जानकारी दिए ।
अहिले अस्पतालसँग पाँचवटा अत्याधुनिक भवन रहेका छन् । ती भवनको उद्घाटन तत्कालीन राष्ट्रपति डा रामवरण यादवले सन् २००९ मा गरेको छ । अस्पतालले बिहानदेखि राति ८ बजेसम्म सेवा प्रदान गर्दै आएको छ ।
‘बालबालिकाका लागि छुट्टै सेवा प्रदान गर्दै आएका छौँ,’ नेत्ररोग विशेषज्ञ डा महतले भने । ‘शल्यक्रिया गरेबापत बिरामीबाट रु दुई हजारदेखि रु ३२ हजारसम्म सेवा शुल्क लिने गरेको छ ।
‘न्यून शुल्कमा गुणस्तरीय उपचार पाउनथालेपछि भारतीय बिरामीको चाप बढ्दै गएको छ,’ उनले भने ।
अस्पतालले मेची अञ्चलका विभिन्न जिल्लामा समेत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । दुई सय ५० श्ययाको अस्पताल सञ्चालन गर्न विभिन्न उपकरणको अभाव रहेको अस्पतालका प्रशासन प्रमुखले बताए ।
‘एउटै मेसिन किन्न रु ५० लाखदेखि रु ६० लाखसम्म खर्च लाग्छ,’ उनले भने– ‘यति धेरै महँङ्गा उपकरण किन्न अस्पताल आफैलेसक्ने अवस्था छैन, सरकारले सहयोग गरे हामी थप सेवा प्रदान गर्न तयार छौँ ।’
सो अस्पतालसहित हाल जिल्लामा हाल मेची नेत्रालय, काँकरभिट्टा आँखा अस्पताल र दृष्टि आँखा अस्पतालबाट आँखाका बिरामीले सेवा उपभोग गर्दै आएका छन् ।
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

