उच्च शिक्षा शीघ्र कार्यान्वयन गर्न सुझाव
काठमाडौँ, मङ्सिर १६। व्यवस्थापिका–संसद्, महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समिति अन्तर्गतको ‘शिक्षा उपसमिति’ ले उच्च शिक्षा नीति शीघ्र कार्यान्वयन गर्न सुझाव दिएको छ ।
सांसद प्रा.डा गणेशमान गुरुङको संयोजकत्वमा गठित ११ सदस्यीय उपसमितिले तयार गरेको प्रतिवेदन मूल समितिमा प्रस्तुत गर्दै सो नीति कार्यान्वयन भए उच्च शिक्षामा देखिएका विकृति समाधान हुने उल्लेख छ ।
सो प्रतिवेदन संशोधनसहित आज पारित गर्दै समितिले आगामी सोमाबारको बैठकमा शिक्षामन्त्रीलाई आमन्त्रण गरी निर्देशन दिने सभापति रञ्जु कुमारी झाले जानकारी दिएको छ ।
उपसमितिका संयोजक गुरुङले आवश्यकता र नक्साङ्कनका आधारमा नयाँ विश्वविद्यालय खोल्ने प्रक्रियाको थालनी र शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत छुट्याउने व्यवस्था गर्नसमेत सुझाव दिइएको छ भने ।
‘राज्यमाथिको आर्थिक भार घटाउन र जनशक्ति छनोटमा एकरूपता ल्याउन हाल सञ्चालनमा रहेका विश्वविद्यालय सेवा आयोग/पदपूर्ति समितिको विघटन र सबैका लागि विश्वविद्यालय सेवा आयोग गठन गरिनुपर्दछ’ – उपसमितिले दिएको प्रतिवेदनमा उल्लेख छ ।
उपसमितिले वार्षिक शैक्षिक क्यालेन्डर कार्यान्वयनमा ल्याउन, शिक्षक–विद्यार्थीको राजनीति अन्त्य गर्न, अनुदान वितरण न्यायिक बनाउन मनलागी र मनपरी दिइने सम्बन्ध अन्त्य गर्नका लागि स्वायत्त बोर्ड गठन गर्नसमेत सुझाव दिएको छ ।
बैठकमा सांसद गिरिराजमणि पोखरेल, राजेन्द्र पाण्डे र बद्री पाण्डेलगायतले प्रतिवेदन कार्यान्वयनमा जोड दिएको थियो ।
त्रिविका उपकुलपतिलाई एमालेनिकट विद्यार्थीहरुको अवरोध
काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् । बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए । उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।
पश्चिम नेपालको बदलीले काठमाडौँसम्म असर
काठमाडौं । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बदलीको अवस्था रहेको छ । बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु लाग्नुका साथै तराईका थोरै स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । नेपालको पश्चिमी भूभागमा अबको केही दिन पुनः चिसो बढ्ने भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालको पश्चिमी क्षेत्रमा बदलीको अवस्था रहने, बादल लाग्ने र हल्का वर्षा तथा हिमपातसँगै चिसो बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलका आइतबारदेखि पश्चिम नेपाल विशेषगरी कर्णाली क्षेत्रमा यसको केही असर देखिने छ । सोमबार भने अझै बढ्ने देखिएको उनले बताइन् । त्यसको असर लुम्बिनी प्रदेशसम्म नै पर्ने र केही असर काठमाडौँसम्म आइपुग्ने उनले बताइन् । यसअघि यही मङ्सिर २९ गते यो वर्षकै अत्यधिक चिसो भएको थियो । त्यस दिन काठमाडौँको तापक्रम दुई डिग्रीमा झरेको थियो भने जुम्लाको तापक्रम माइनस ७ दशमलव दुईमा झरेको थियो ।
मुग्लिन-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द
काठमाडौं । मुग्लिङ-नौबिसे सडकखण्ड आज (आइतबार)देखि पाँच दिनसम्म दैनिक ३ घण्टा बन्द हुने भएको छ। सो सडक खण्डको पोखरेभिर र विशालटारमा चट्टान काटेर मोड सुधार गर्नुपर्ने भएकाले आजदेखि पाँचदिनसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गर्न लागिएको नागढुङगा-मुग्लिन सडक आयोजनाले जनाएको छ। नागढुङगा-मुग्लिन सडक योजना पश्चिम खण्डका इञ्जिनियर विजय दरइका अनुसार जिल्ला सुरक्षा समितिको बैठकले सडक बन्द गरेर मोड सुधारको काम गर्ने निर्णय गरेको हो। सडक बन्द हुने अवधिभर भारी र हलुका सवारी साधनलाई रोकिने स्थानसमेत तोकिएको छ। दरइका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ। यसैगरी चितवनतर्फबाट नौबिसे छिर्ने भारी सवारी चालिसे र हलुका सवारी घाटबेँसीमा रोकिने छ। यसैगरी विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु छिर्ने भारी सवारीसाधन मझिमटार र हलुका सवारीसाधन चरौंदी बजारमा रोकिने छ। त्यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारीसाधन बेनिघाट बजार र हलुका सवारीसाधन विशलालटारमा रोकिने उनले जानकारी दिए। एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने मिलाएर छाडिने उनले बताए। सवारी साधन रोक्दा र चलाउँदा लेन अनुशासन पालना गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले सबैमा अनुरोध गरेको छ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।