एनआरएनए मध्यपूर्व संयोजक पदमा आरके शर्माको उम्मेदवारी घोषणा
युएई, असोज ८ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदको मध्य पूर्व संयोजक पदमा कतारका आरके शर्माले उम्मेद्बारी घोषणा गरेका छन । शर्मा बर्तमान आईसीसी सदस्य समेत हुन ।
शर्माले १४ बुँदे प्रतिबद्दता सहितको घोषणा पत्र सार्वजनिक गर्दै आफ्नो उम्मेद्बारी घोषणा गरेका हुन । ईराक, जोर्डन र लेबनान लगायतका दुताबास नभएका मुलुकहरुमा नियमित भ्रमण गरी समस्या समाधानमा जोड दिने शर्माले घोषणा पत्रमा बताएका छन । उनले मध्यपुर्बबाट पर्यटन प्रबर्दनमा लागिपर्ने प्रतिबद्दता जाहेर गरेका छन । शर्माले मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउने पहल गर्ने लगायतका घोषणा पत्रमा समेटिएका छन ।
एनआरएनको अन्तरास्ट्रिय सम्मेलन आगामी अकोटोबर १४ देखि १६ तारिकसम्म काठमाडौं हुँदैछ । सम्मेलनमा विश्वभरका ७५ भन्दा बढी मुलुकका एनआरएनहरुको उपस्थिती हुनेछ ।
शर्माको घोषणा पत्र
आदरणीय गैरआवासीय नेपाली दाजुभाई, दिदीबहिनी तथा पत्रकार मित्रहरु,
विश्वभरी छरिएर रहेका नेपालीहरुको आशा र भरोसाको केन्द्र गैरआवासीय नेपाली संघको विश्व सम्मेलन काठमाडौंमा हुदै गरेको सर्वविदितै छ । विगत लामो समयदेखि एनआरएन अभियानमा सहभागी हुदै आएको एनआरएनए कर्मिको हैसियतमा मैले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्ने उक्त सम्मेलनमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, मध्यपूर्व क्षेत्रीय संयोजक पदमा उम्मेदवारी दिने निर्णय गरेको छु ।
विगतदेखि एनआरएन संस्थामा प्रत्यक्ष रुपमा संलग्नता जनाएर खाडी राष्ट्र, यूरोप संघीय मुलुक, एसिया प्रशान्त तथा नेपाल लगायत विश्वभर हुने गरिएका गैरआवासीय नेपाली संघको विभिन्न गतिविधीहरुमा प्रत्यक्ष रुपमा सरिक भई आफ्नो स्वविवेकले आर्थिक, भौतिक तथा नैतिक सहयोग प्रदान गर्दै गैरआवासीय नेपाली संघको नेपालीका लागि नेपाली भन्ने मूलमन्त्रलाई व्यवहारमा सावित गर्न व्यक्तिगत रुपमा भूमिका खेल्दै आएको सन्दर्भमा कतार लगायत खाडी मुलुक तथा विश्वभर छरिएर रहनुभएका सम्पुर्ण गैरआवासीय नेपालीजनले विगतदेखि दिनुभएको माया र सद्भावका कारण मलाई एनआरएनए अभियानमा सकृयताका साथ अगाडि बढ्न थप उर्जा मिलेको छ ।
मेरा एजेण्डाहरु
१ मध्यपूर्वका एनआरएनए एनसीसीहरु र एनआरएन आईसीसीबीच सुमधुर र थप अर्थपूर्ण सम्बन्ध स्थापित गर्दै मध्यपूर्वका एजेण्डाहरुलाई आईसीसीका एजेण्डा बनाउने दिशामा काम गर्न आईसीसी र एनसीसीहरुबीच पुलको रुपमा समन्वयकारी एवं सहयोगी भूमिका खेल्नका लागि पूर्ण प्रतिबद्ध रहनेछु । एनआरएनए आईसीसीको विधानले तोकेका सबै काम सही ढंगले गर्न प्रतिबद्ध रहनेछु ।
२) युरोप, अमेरिका र ओसियाना क्षेत्रको तुलनामा मध्यपूर्वका एजेण्डा र समस्याहरु फरक छन् । खासगरी युरोप, अमेरिका र ओसियाना क्षेत्रका नेपालीहरुलाई प्रतिनिधित्व गर्ने दोहोरो नागरिकताको विषय एकहदसम्म संविधानमा समेटिइसकेको छ । त्यसैले अब सिङ्गो एनआरएनको आईसीसीको ध्यान नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने क्षेत्र मध्यपूर्वमा केन्द्रीत हुन जरुरी छ । मध्यपूर्वका नेपालीका सम्पूर्ण समस्या र एजेण्डालाई ठोसरुपमा लिपिवद्ध गरी नीति निर्माणका लागि अगाडि बढाउन बिशेष पहल सहयोग गर्नेछु ।
३) मध्यपूर्व नेपालको सबैभन्दा ठूलो श्रम बजार हो । वैदेशिक रोजगारीका नाममा नेपालबाट ठूलो श्रम मध्यपूर्वमा बाहिरिने गरेको छ । उपयुक्त सीप र दक्षताको अभावमा मध्यपूर्वमा काम गर्ने नेपालीहरुले सस्तोमा आफ्नो श्रम बेच्न बाध्य छन् । उनीहरुको सिप अभिवृद्धि गरी सीप अनुसारको उचित पारिश्रमिक दिलाउने दिशामा एनसीसीहरुसँग समन्वय गरेर कार्यक्रमहरु अगाडि बढाउन पहल गर्नेछु । यसका लागि मध्यपूर्वमा रहेका नेपाली दूतावासहरु तथा सम्बन्धित सरकारी निकायहरुसँग छलफल गरी उनीहरुमार्फत उचित कार्यक्रम ल्याउनका लागि पहल गर्नेछु । साथै मध्यपूर्वमा भित्रिने श्रमलाई नेपालमा नै उपयोग गर्न सकिने वातावरणका लागि आईसीसीसँग समन्वय गरेर उचित नीति निर्माणका लागि पहल गर्नेछु ।
४) स्वास्थ्य र सुरक्षासम्बन्धि जनचेतनाको अभावमा वैदेशिक रोजगारमा कतार लगायत खाडी राष्ट्रमा कार्यरत कैयन नेपालीहरुले अकालमा ज्यान गुमाउनुपरेको छ । सम्पुर्ण गैरआवासीय नेपाली जनहरुमा स्वास्थ्य तथा सुरक्षा सचेतना प्रदान गर्न व्यवहारिक रुपमा नै आफुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । साथै मध्यपूर्वका नियम कानुन र श्रमबारेका अधिकार तथा कानुनको जनचेतनाको अभावमा धेरै नेपालीहरुले समस्या भोग्दै आएका छन् । यसबारे जनचेतनामुलक कार्यक्रमहरु गर्न एनसीसीहरु, नेपाली दूतावास र अन्य सम्बन्धित निकायहरुको सहभागितामा विशेष पहल गर्नेछु ।
५) मध्यपूर्वमा नेपालीहरुले आर्जन गरेको कमाई उत्पादनमुलक काममा लगाउन र सही सदुपयोगका लागि उचित कार्यक्रमहरु ल्याउन पहल गर्नेछु । बर्षौसम्म मध्यपूर्वमा काम गरेर पनि स्वदेश फर्कने बेलासम्म सबै रकम अनुत्पादकमुलक र विलासितामा खर्च भइसकेको हुने समस्या रहेकाले त्यसलाई उत्पादनमुलक काममा लगाउँदा नेपाल फर्किसकेपछि पनि त्यो लगानीले आय आर्जन गरिरहने खालका कार्यक्रम ल्याउनु मेरो प्राथमिकता हुनेछ ।
६) मध्यपूर्वका राष्ट्रहरुले विश्वका विभिन्न क्षेत्रमा लगानी गर्दै आएको सर्वविदितै छ । यो सन्दर्भमा मध्यपूर्वका राष्ट्रहरुबाट नेपालमा वैदेशिक लगानी भित्राउने उचित पहल गर्न नेपाल सरकारका सम्बन्धित निकाय तथा मध्यपूर्वका राष्ट्रका सम्बन्धित निकाय, तथा विज्ञहरुसँग समन्वय गर्दै विशेष भूमिका खेल्नेछु ।
७) खाडी राष्ट्रमा रहेका नेपालीका सबै समस्याको उचित पहिचान गर्दै समस्या समाधानार्थ प्रत्यक्ष निगरानी राख्न आईसीसी र एनसीसीहरुसँग समन्वय गर्दै विशेष कार्यदल गठन गर्न भूमिका खेल्नेछु । मध्यपूर्वमा रहेका नेपालीहरुका समस्या समाधान र विभिन्न अवशरहरुको सदुपयोगका लागि यस क्षेत्रमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरुसँग समन्वय गर्दै सहकार्यको वातावरण बनाउन पहल गर्नेछु ।
८) हाल एनआरएनएको परिभाषाले २ बर्षसम्म विदेशमा रहेका नेपालीहरुलाईमात्र एनआरएनको मान्यता प्रदान गरिेको छ । यसले मध्यपूर्वमा रहेका धेरै नेपालीहरु नसमेटिने भएकाले अन्तर्राष्ट्रिय मान्यता अनुसार १८३ दिन विदेशमा विताएका नेपालीहरुलाई एनआरएनको मान्यता दिलाउन आईसीसी मार्फत सम्बन्धित निकायहरुसँग पहल गर्नेछु ।
९) मध्यपूर्वका एनआरएन एनसीसीहरुमा प्राय एकै प्रकृतिका समस्याहरु र त्यसको समाधानका लागि पनि उस्तै खालका उपायहरु अबलम्बन आवश्यक भएकाले एनसीसीहरु र त्यसका पदाधिकारीहरुलाई थप सकृय बनाउन सबैलाई जिम्मेवारी प्रदान गर्ने कार्यक्रमहरु ल्याउन एनसीसीहरुसँग सामुहिक छलफल र बैठक गर्नेछु । कार्यसम्पादनको मूल्यांकन गर्दै प्रोत्साहन गर्ने कार्यक्रमहरु अगाडि बढाउन भूमिका खेल्नेछु ।
१०) लेबनान, जोर्डन तथा इराकमा नेपाली दूतावासहरु नभएको हुनाले ती क्षेत्र हेर्ने दूतावासहरुलाई मासिक रुपमा ती क्षेत्रमा पुगेर नेपालीका समस्याहरु समाधान गर्न तथा सेवा पुर्याउन कार्यक्रम ल्याउन सम्बन्धित निकायसँग पहल गर्नेछु ।
११) मध्यपूर्वका पर्यटकहरुलाई नेपाल भित्र्याउन तथा मध्यपूर्वबाट अन्य देशमा घुम्न जाने पर्यटकहरुलाई नेपाल घुम्न जानका लागि प्रोत्साहन गर्न पर्यटन सम्बन्धी विशेष दख्खल राखेका गैर आवासीय नेपाली विज्ञहरुलाई समेटेर विशेष कार्यदल गठन गरी एनआरएन अभियान अन्तर्गत नै सूचारु गर्न विशेष जोड दिएर लाग्नेछु ।
१२) मध्यपूर्वमा रहेका एनसीसीहरुमार्फत एनआरएन कार्डको व्यवस्था गरी सदस्यहरुलाई कार्डमार्फत एयरलाइन्स, होटल, रेष्टुरेण्ट, ग्रोसरी स्टोर, अस्पताल लगायतका विभिन्न क्षेत्रमा डिस्काउन्ट र सुविधा प्राप्त गर्ने व्यवस्थाका लागि पहल गर्नेछु । यो प्रावधानले स्वतस्फूर्त एनआरएनएको सदस्यता लिनेहरुको संख्या बढ्ने तथा सदस्यहरुले प्रत्यक्ष रुपमा तुरुन्तै फाइदा लिनसक्ने वातावरण बन्नेछ ।
१३) मध्यपूर्वमा रहेका नेपालीहरुले कुनै समस्या पर्दा वा आपतकालिन अवस्था आउँदा त्यसबारे सिधा जानकारी दिनसक्ने व्यवस्था गर्न एनसीसीहरुमार्फत हटलाइन टेलिफोन सेवा उपलब्ध गराउन पहल गर्नेछु
१४) नेपाली संस्कृति र पर्यटन प्रबद्र्धनका लागि नेपाल हाउस स्थापना गर्न, यसक्षेत्रमा रहेका नेपालीका परिवारलाई दृष्टिगत गरी नेपाली स्कुलहरु स्थापना गर्न र नेपाल हाउसमार्फत नेपाली उत्पादनको प्रवद्र्धनको लागि भूमिका खेल्नेछु ।
माथि उल्लेखित बुंदाहरु मेरा प्राथमिकतामा परे पनि तत्कालिन अवस्थामा आइपर्ने सबै काममा मेरो सकृय भूमिका रहनेछ । एनआरएनएको र मध्यपूर्वमा रहेका नेपालीहरुको हितमा काम गर्न एनआरएनए आईसीसीका तर्फबाट मध्यपूर्व क्षेत्रीय संयोजकको भूमिका पूरा गर्ने अवसर प्रदान गर्नुहुनेछ भन्ने मैले अपेक्षा गर्दछु ।
धन्यवाद सहित
आरके शर्मा (राजेन्द्रकुमार शर्मा)
उम्मेदवार
क्षेत्रीय संयोजक (मध्यपूर्व)
गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्
अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए
काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।
यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन
काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

