ओलीमाथि नेपालका आरोपै आरोपः भजनमण्डलीमा रमाउने अहंकारी, पार्टी फुटाउने खोजे कोही पनि पछि नलाग्ने

ओलीमाथि नेपालका आरोपै आरोपः भजनमण्डलीमा रमाउने अहंकारी, पार्टी फुटाउने खोजे कोही पनि पछि नलाग्ने

काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपालले पार्टी फुटाउन खोज्ने अपराधी भएको बताउँदै फूटाउन खोज्नेको पछि कोही नलाग्ने बताएका छन् ।

डिसी नेपालसँगको अन्तर्वार्तामा नेता नेपालले प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अहंकारका कारण पार्टी चरम संकटमा पुगेको आरोप लगाए ।

प्रचण्डलाई फकाएर आफूलाई एक्ल्याउने प्रयास गरेपनि सफल नभएपछि प्रचण्डलाई एक्ल्याउन फेरी आफूलाई प्रयोग गर्न खोजेको उनले बताए ।

अहंकार र भजनमण्डलीको स्तुतीगान सुन्ने बानी परेको कारण केप ीओली बैठकबाट भाग्ने गरेको समेत उनको जिकिर छ ।

चरम व्यक्तिवाद

नेता नेपालले ओलीमा चरम व्यक्तिवाद भएका कारण समस्या निम्तिएको बताए । “उहाँमा व्यक्तिवाद छ। उहाँमा अहंकार छ। मपाईँवाद छ। म नै सर्वेसर्वा हुँ भन्ने उहाँको सोच छ। अरुसँग भएका योग्यता, क्षमता, खुवी, अनुभवलाई २ पैसाको पनि महत्व दिनुहुन्न। उहाँलाई छलफलमा विश्वास छैन।” नेता नेपालको भनाई छ, “उहाँलाई कमिटीको वैठकमा विश्वास छैन। उहाँलाई व्यापक वहसहरुमा रुचि छैन। वहस, विवाद, छलफलबाट एउटा निकासमा पुगिन्छ। ‘वादेवादे जायदे तत्वबोध’ भनिन्छ।”

ओलीले दासत्वलाई संरक्षण गरेको नेता नेपालको आरोप छ । ‘उहाँमा रहेको व्यक्ति पूजाको प्रवृति रहेको छ। फोटोको संस्कारलाई मान्यता दिनुहुन्छ।’ नेपाल भन्छन्, ‘फोटोको विज्ञापन, फोटाको प्रचार प्रसारहरु, त्यसले के हुन्छ भने मान्छेमा अहंकार जन्म हुन्छ। आफ्नो अपरिहार्यता जन्म हुन्छ। म नै सर्वेसर्वा हुँ भन्ने हुन्छ।’

उनले यसलाई बा संस्कृतिको नाम पनि दिएका छन् । अर्को भाषामा भन्दा ‘बा’ संस्कृति छ। उहाँ ‘बा’ भएको शब्दलाई रुचाउनु हुन्छ।” नेपालको आरोप छ, “उहाँको उमेरको भन्दा पनि बढी मान्छेले बा भनिदियो भने उहाँ दंग पर्नु हुन्छ।”

उपयोगितावादी चरित्र

केपी ओलीले उपयोगितावादको रणनीति प्रयोग गरेको बताउँदै नेपालले एकविरुद्ध अर्को खेलाएर आफ्नो स्वार्थ सिद्द गर्ने प्रवृत्तिको बिरोध गरेका छन् । “एकले अर्कोलाई खेलाई राख्ने, उपयोग गर्ने, उपयोगितावाद भयो।’ उनले अगाडि भनेका छनः

पहिले उहाँको लडाई मसँग भयो। त्यसपछि प्रचण्ड जीसँग भयो। कहिले प्रचण्डजी लाई विश्वास जितर मलाई एक्लो बनाउने कोसिस भयो । अहिले मलाई फकाएर प्रचण्ड जिलाई एक्ल्याउने कोसिस जारी छ। प्रचण्ड र मलाई नसकिएपछि वामदेवलाई पनि फकाउन सकिन्छ कि भन्ने छ । एउटै चीज मलाइ, प्रचण्डलाई र वामदेवलाई दिने भन्नुहुँदो रहेछ। सबैलाई एउटै पदको लोभ देखाउने हामी पदका लोभि त हौइनौं।

पदको लडाई त हैन यो । यो त पार्टी कस्तो बनाउने भन्ने सम्बन्धको लडाई हो । यो कस्तो नीति अवलम्बन गर्ने भन्ने कुराको लडाई हो । भ्रष्टाचारलाई निमिट्यान्न पारौं भन्ने हाम्रो भनाइ हो । भ्रष्टाचारको भागवण्डा पाएनौं भन्ने लडाई होइन। जनता रोग भोकले सडकमा छटपटाइरहेका छन् । त्यसको सम्बोधन कसरी गर्ने भन्ने कुराको लडाइ हो यो

बैठकबाट एलर्जी

अध्यक्ष ओलीले बैठकका लागि आनाकानी गर्दा समस्या जन्मिएको नेपालको ठहर छ । सचिवालयको बैठक बोलाउन दर्जनौपटक बिन्ती बिसाउँदा समेत त्यसको वास्ता नभएपछि लिखित निवेदन दिनुपरेको उनले अन्तर्वार्ताका क्रममा स्मरण गरेका छन् ।

अध्यक्ष प्रचण्डले बारम्बार बैठक बसाल्न अनुरोध गर्दा समेत ओलीले नटेरेको उनले बताए । कोरोनाका कारण उत्पन्न समस्याका बारेमा समेत आफूले र नारायणकाजीले विशेष छलफल गरौं र बैठक गरौं भनेर प्रस्ताव राखेको उनले सुनाए ।

“प्रचण्डजीले अनेकौंपटक प्रयास गर्दाखेरी पनि हाम्रो अध्यक्ष र प्रधानमन्त्री केपी ओलीजी बैठक बोलाउन तयार हुनु भएन।’ उनले भनेका छन, “मैले पनि पटकपटक बैठकको नियमित आयोजना गरौं, हप्तामा एकपटक अनिवार्यरुपमा गरौ, सिस्टम नै बसालौं, नौजना त हो नि, एक घण्टामात्र बसेर छलफल गरे सकिँदैन ? औपचारिक नै गर्नु पर्ने भन्ने हुन्छ ? भने।”
तर अध्यक्ष ओलीले भने बैठकबाट भाग्न खोजेको उनको भनाई छ । ओलीलाई बैठकबाट एलर्जी भएको उनको तर्क थियो ।

ओलीले मौखिकरुपमा जतिपटक अनुरोध गर्दा पनि बैठक बस्न नमानेपछि लिखित पत्र लगेर गएको उनले बताए । तर लिखित पत्र लेख्दा समेत ओलीले उल्टै अहंकार देखाएको नेपालको भनाई छ । ‘प्रतिवेदनभन्दा पहिला दुई पानाको बैठकको निम्ति आग्रह पत्र लिएर गएका थियौं। निवेदन दर्ता गर्न गर्यौं। आग्रह गर्न गर्यौं।’ उनले अगाडि थपे, ‘कस्तो विडम्बना ?एउटा पार्टीभित्र, पार्टीको सचिवालयको बैठक प्रत्येक हप्ता बस्नु पर्नेमा, त्यो सचिवालयको बैठक बोलाउनका लागि ५ जना बरिष्ठ व्यक्तित्वहरु, दशकौंसम्म पार्टी हाँकेका नेताहरु, ३ जना मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिहरु थियौं त्यहाँ। उपप्रधानमन्त्रीहरु छन् त्यहाँ । सब लाइन लागेर गएका छन् त्यहाँ । जस्तो महाराजाको दरवारमा गएजस्तो। हजुर बैठक बोलाइदिनु पर्यो भनेजस्तो। उहाँले, हुँ‘ तोक लगाइदिन्छु। जवाफ पाइयो। मैले भने, तपाईँको यो अहंकार तोक लगाउने ? मिति तोकौं ।

प्रकृयाबाट हुन्छ भन्नुभयो । मैले फेरि पनि भनें तपाईँमा यत्रो अहंकार जागेको ? हामीले कल गरेको आधारमा बोलाउनु पर्नेमा प्रचण्ड थाकिसक्नु भयो । मैले महासचिव विष्णु पौडेललाई पनि कतिचोटि भनेको छु । यो पार्टी एकताको कामको कागजपत्र तयार गरेर एक कपी मलाई दिनुस् भनेर।

पार्टी एकताको काम १ महिनामा सकिन्थ्यो १ महिनामा । पारदर्शी तरिकाले गर्ने हो भने, मापदण्डका आधारमा गर्ने हो भने, आजसम्म एउटामात्र रेकर्ड हो र यो । मेरो भनाइ के हो भने कुनै पनि चीजको विधि बनाउँदाखेरी, विधान बनाउँदाखेरी, मापदण्ड तयार गर्दाखेरी, बहसहरु गरौं । त्यो भयो भने काम गर्ने बाटोमा विवाद हुँदैन ।

सामन्ती शैली

पार्टीको बैठकमा २ वटा ज्यूदै नेताको फोटो टाँसियो । सबैले देख्नुभयो। त्यसको पहिलो विरोध गर्ने मान्छे मै हो। हाम्रो

कम्युनिष्ट पार्टीमा जिम्मेवारीका हिसाबले कोही ठूलो सानो भएपनि सबै समान हुने नेपालले बताए । तर अध्यक्ष ओलीले भने सामन्ती रवाफ देखाएको नेपालको आरोप छ । पार्टीको

सचिवालय बैठकको एउटा दृश्य उनले यसरी सुनाएका छन्ः

पार्टीको बैठकमा देख्नु हुन्छ। ठूलठूला २ वटा कुर्सी हुन्छन्, अनि अरु हामी सबै उहाँहरुका द्वारपाल जस्ता। एउटा वैठकको व्यवस्थापन कस्तो भएको थियो भने, २ वटा विशाल कुर्सीहरु छन्। एउटाको छेउमा माधवकुमार नेपाल बसेको छ। अर्काको पछाडि झलनाथ खनाल ।

पछाडि ५ जना अरु सिपाहीजस्ता छन् । बलिया हवल्दारहरु बस्या छन् । ती बलिया हवल्दारहरु, वामदेव गौतमदेखि लिएर रामबहादुर थापा बादलहरु छन् । इश्वर पोखरेलदेखि नारायणकाजी श्रेष्ठसम्म बस्या छन् । त्यो देख्दा मलाई त खपिनसक्नु भयो। संसारको शक्तिशालि नेतामा पर्नुहुन्छ सी जिन पिङ । उहाँको पार्टीको बैठक हेर्नुहोस् त तपाईँ ।
एउटै साइजको कुर्सी हुन्छ। हामीले पटक पटक उठाएका छौं । ‘नोबडी सुप्रिम इन आवोर पार्टी, वी अल आर इक्वल’। तर, ‘यु आर द फस्र्ट एमङ्ग द इक्वल, बिकज अ पर्सन हु टेक द रेस्पोन्सिविलिटी इज द फस्र्ट पर्सन’, समानहरु भित्रको पनि पहिलो व्यक्ति, हामी समान हौं। राजनीतिक इतिहासको कुरा गर्नुहुन्छ भने हामी अझै सिनियर हौंला नि त।

धम्की र अधिनायकवादी

नेता नेपालले केपी ओलीले आफ्ना गलत कुरा स्वीकार्नुभन्दा उल्टै धम्की दिने गरेको बताए । विधि र पद्धतीको कुरा उठाउँदा म कडा कदम चाल्छु भनेर धम्क्याउने गरेको उनको अनुभव छ । यो कडा कदमलाई उनले यसरी ब्याख्या गरेका छनः

मैले बुझेको पहिलो कुरा पार्टी फुटाइदिने, दोश्रो कुरो संसद विगठन गरिदिने । तेस्रो भनेको प्रतिपक्षीलाई मिलाएर जाने, प्रतिपक्षभित्र पनि फाटो ल्याइदिने, र संकटकाल लगाउने। भन्नेले त गणतन्त्र सिध्याइदिने पनि भन्छन् मलाइ त्यस्तो त लाग्दैन । तर, उहाँले गलत कदम चाल्न सक्नु हुन्छ।

राजा आऊ देश बचाउन भन्ने नारा लागिरहेको बेलामा संविधानमा भएको संघीय लोकतान्त्रिक गणतन्त्र भन्ने शब्द हटाउनु गल्ती भयो । म पनि नेपालको नाम नेपाल मात्र लेख्नुपर्छ भन्ने पक्षमा थिएँ । मैले सुरुदेखि नै नेपालमात्र राखौं नामको अगाडि धेरै कुरा नजोडौं पनि भनेँ।

तर, राखियो । राखिसकेको छ भने यो कुन बेलामा गर्ने त्यो बहसको विषय हैन ? यसले भोलि विवाद ल्यायो भने पार्टीले डिफेन्स गर्नु पर्दैन ? त्यो कुरा पार्टीलाई थाहा छैन । हामीले

पत्रिका पढेर थाहा पाउँछौं हामीले पत्रिकाबाट थाहा पाएपछि हामीले किन जिम्मा लिन्छौं । हामीले निर्णय प्रकृयामा सहभागी भएपछि बल्ल जिम्मा लिन्छौं । मैले धेरैपटक भन्दै आएको छु।

हो मैले मिडियाबाट नै थाहा पाएँ । मैले सोधे पनि । उहाँले भारतीय प्रधानमन्त्रीको विशेष दुतको रुपमा आउनु भएको भन्ने जवाफ दिनुभयो मैले भने यस्ता नचाइने कुरा नगर्नुहोस् ।

उहाँले आफूले पनि रअका प्रमुख प्लेनबाट झरेपछि थाहा भएको भन्नुभयो। यो नक्कली कुरा नगर्नुस भने ।

उहाँको परराष्ट्रमन्त्रीले एक हप्ता पहिलादेखि नै थाहा थियो भन्ने, उहाँले थाहा पाएन भन्ने ? मोदीजी ले पनि राजनीतिक व्यक्तित्व नपठाएर कहीँ अरु पठाउँछन् ? त्यो पनि इन्टेलिजेन्सको मान्छे कसैले पठाउँछ ?

भित्र भएको कुरामा पनि मैले सबै पारदर्शी गरेको छु भनेर उहांले मलाई भन्नुभएको छ । सबै लिखत छ । मैले भने किन लुकाको ? पार्टीको विदेश विभाग प्रमुख म हुँ । मसँग छलफल गर्नु भो ? म किन डिफेन्स गर्छु ? मलाई अन्धकारमा राखिन्छ भने मैले डिफेन्स गर्नु पर्ने कारण के छ ? मैले डिफेन्स गर्न सक्छु।

पार्टी चलाउने मान्छेको तरिका के हुनु पर्छ भने सरोकारवाला सबैलाई विश्वासमा लिने । परेका बेला उहाँहरुले डिफेन्स गर्नुहुन्छ । उहाँले त आफ्नो गुटको मान्छेलाई मात्र विश्वासमा लिनुहुन्छ। त्यहाँ त आदेश दिएपनि भै गो।

जो मान्छेहरु ‘बा’ संस्कृतिमा हुर्केका हुन्, जो भजनमण्डलीमा बसेका हुन् उनको काम नै के हुन्छ र ? म केपी ओलीको विरोधी पनि होइन। यति बुझिराख्नुहोस्, म व्यक्ति विशेषलाई केन्द्रमा राख्दिन । मेरो विचारमा आन्दोलन हुन्छ, मेरो लागि देश हुन्छ, मेरो लागि जनता हुन्छ।

पार्टी विभाजनको मतियार

नेकपा पार्टी नफुटनेमा नेपाल ढुक्क देखिए । “किन फुट्छ पार्टी ? म पार्टीभित्रको बरिष्ठ नेताको पहिलो पदबाट हटेर अपमानको घुट पिएर चौथो नम्बरमा झर्दाखेरी पार्टी फुटाएँ ? अपमानको घुट मैले पिएको हैन” उनले प्रतिप्रश्न गरेका छन् ।

यद्यपी नेकपा एमाले नाम दल दर्ताभएपछि कतिपयले शंका गरेको उनले बताए । “मान्छेमा शंका छ । घटनाक्रमले त्यो बताइरहेको छ तर, उहाँले पार्टी फुटाउने काम गर्नु भयो भने त्यो भन्दा मुर्खता अरु केही पनि हुँदैन। उहाँको पछि कोही पनि इमान्दार मान्छे लाग्दैन।”

यदि केपी ओलीले पार्टी विभाजन गरे भने उनको पछि निकट समर्थकबाहेक अरु नजाने नेपालको ठहर छ । “उहाँको पछि निष्ठावान कोही पनि लाग्दैनन् उहाँका भक्तहरु, भजनमण्डलीका केही मान्छेहरु लाग्लान।” उनले भने, “कम्युनिष्ट पार्टीमा नीति प्रधान हुन्छ। व्यक्ति प्रधान हुँदैन । पुष्पलालले प्रष्ट भन्नु भएको छ । कम्युनिष्ट पार्टीमा नीति प्रदान हुन्छ, नेता प्रदान हुँदैन। यो प्रकृयाले जाने हो भने व्यक्ति अपरिहार्य छैन । व्यक्तिहरु आउँछन् जान्छन् ।”

त्याग नै विवादको समाधान

केपी ओली सच्चिनु नै अहिलेको समस्याको समाधान भएको नेपालको तर्क छ । उनले भनेका छनः

उहाँको दिमागलाई परिवर्तन गरौं । सहीबाटो अगाल्न सबैले मेहेनत गरौं।

यही मान्छे सही बाटोमा आएपछि सक्किगो नि, हल भइहाल्यो नि। उहाँले सही बाटो समातेर पाटीलाई सिस्टममा लैजानु भयो भने सकियो। हामी कम्युनिष्ट पार्टीको निर्णयलाई मान्न तयार छौं। हाम्रो विधानको धारा ६० मा भनिएको छ(कमिटीको बहुमतको निर्णय नै पार्टीको निर्णय हुने छ।

बाहिर प्रचार पनि के छ भने, उहाँ त नवौं महाधिवेसनबाट अध्यक्ष चुनिएर आएकोले उहाँले अध्यक्ष छोड्नै मिल्दैन । त्यो होइन, त्यो अध्यक्ष आएको हो भने उपाध्यक्ष खोइ पदमा बस्या, उपमहासचिव खै ? सचिवहरु खै पदमा बस्या ?

त्यागको कुरा हामीले गरेका छौं, त्यो पदको त्याग हो कि, विचारको त्याग हो कि ? आफूलाई केन्द्रमा नराखौं । पार्टीभित्रको कचकचले मैले छोडेको हैन त रु मैले त छोडेँ त । मलाइ २२ वटा पार्टीको समर्थन हुँदा पनि मैले पार्टीभन्दा ठूलो प्रधानमन्त्री पद हैन भनेर छोडेँ । मैले चुनौति दिएको भए ?

नआत्तिन अपील

उनी अन्तमा भन्छनः

म के आह्वान गर्न चाहान्छु भने, यो साना दुःखले आज्र्याको पार्टी हैन, साना दुःखले आज्र्याको गणतन्त्र वा लोकतन्त्र होइन। यसमा हाम्रा पुर्खाहरुले पहिलो पुस्ताका नेताहरुले निकै ठूलो रगत पसिना बगाएका छन् । मेहेनत गरेका छन् । त्यो सबैबाट हामीले एउटा ठूलो उपलब्धी प्राप्त गरेका छौं। संविधान बनाएका छौं।

नेपाललाई विकासको नयाँ चरणमा पु(याएका छौं । आर्थिक, सामाजिक र सांस्कृृतिक रुपान्तरणको महान अभियान पूरा गर्न बाँकी नै छ। पार्टी फुट्दैन, फुट्न दिन हुँदैन। जसले फुट्ने कुरा सोच्छ, फुट्ने काम गर्छ त्यो अपराधि हुन्छ त्यस्ताका पछि कोही पनि जाँदैन।

तिनीहरुलाई इतिहासले धिकार्छ। सबैले थुक्छन्। यो जे जति भएको छ सबै पार्टीको बैठक नबस्दासम्म मात्र हो। बैठक बसेपछि सबै समाधान हुन्छ । उपायको खोजी हुन्छ । विश्वासको नयाँ वातावरण बन्छ । विधिमा पार्टीलाई लिएर जाने काम हुन्छ भन्न चाहन्छु।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।