औषधीको गर्भपतनले यस्तो हुन्छ खतरा, जान्नैपर्ने कुरा
२७ वर्षीया नम्रता १० महिने छोराकी आमा हुन् । पहिलो नानी सानो छँदै उनी गर्भवती भइन् । त्यसैले उनले गर्भपतन गराउने निर्णय लिइन् । गर्भपतनका लागि औषधिहरु पाइन्छ भन्ने कुरा सुनेकी नम्रताले आफूले पनि औषधी सेवन गरेर नै गर्भपतन गराउन पाए हुन्थ्यो भन्ने चाहना राखिन् । उनका श्रीमान्ले उनलाई चिनेको एक औषधि पसलबाट गर्भपतनका लागि केही औषधी ल्याइदिए । उनले सो औषधी तोकिएको विधी अनुरुप नै सेवन गरिन् ।
औषधी सेवन गरेको केही घण्टापछि औषधी पसलेले भनेजस्तै रक्तश्राव हुन थाल्यो । आफ्नो गर्भ खेर गयो भनेर ढुक्क थिइन् उनी । तर, दुर्भाग्य ! लामो समयसम्म पनि रक्तश्राव रोकिएन ।
उनलाई कमजोरी महसुस भयो । रगत पनि अत्यधिक बग्यो । उनी भित्रभित्रै डराउन थालिन् । चिन्तित हुन थालिन् । श्रीमान् लगायत घरका सबै आत्तिए । हतार-हतार उनलाई अस्पताल पुर्याइयो ।
चिकित्सकले प्रारम्भिक परीक्षणपछि उनलाई तुरुन्त रगत दिनु पर्ने तथा गर्भ राम्ररी सफा भइनसकेकाले पाठेघर सफा पनि गर्नुपर्ने सल्लाह दिए । चिकित्सकका अनुसार उनी समयमा अस्पताल नपुगेको भए ज्यानै गुमाउनु पर्ने हुन्थ्यो ।
यो एक प्रतिनिधि घटना हो । गर्भपतनका लागि उपलब्ध औषधी सेवन गरेर त्यसका जोखिम झेल्नेहरु यहाँ हजारौं छन् । उनीहरुमध्ये कतिपय गम्भीर संकटमा समेत फसिसकेका छन् ।
वाध्यता र असावधानी
गर्भपतन रहरले गराउने होइन । यसका निम्ति विभिन्न वाध्यता हुन्छन् । गर्भ रहँदा र त्यस गर्भलाई हुर्कन दिँदा निम्तने सम्भावित जटिलताले गर्दा धेरैले गर्भपतन गराउँछन् । गर्भपतन गराउने केही विधि प्रचलित छन् । ति सुरक्षित विधि हुन् । अहिले औषधी सेवनबाट समेत गर्भपतन गराउन सकिन्छ । तर, यसमा केही सतर्कता अपनाउनुपर्ने हुन्छ ।
गर्भपतन गर्ने चाहना वा बाध्यता धेरैको हुने गर्छ । कसैको बच्चा सानो भएको, कसैको सन्तानको रहर पुगिसकेको त कसैको छोराछोरी हुर्किसकेर ठूला भइसकेको, कसैको अध्ययन पूरा नभएको जस्ता सामाजिक तथा आर्थिक कारणहरुले गर्दा गर्भपतन गराउनु पर्ने हुनसक्छ ।
गर्भनिरोधक साधन असफल भएर रहेको गर्भ तथा सामाजिक मर्यादा तोडेर रहेको गर्भ पनि कतिपले फाल्ने गर्दछन् । तर यसमा असावधानी अपनाउँदा ज्यानै जाने खतरा हुन्छ ।
तीन हजार बढी गर्भपतन सेवा
नेपालमा गर्भवती महिलाको इच्छाले गर्भपतन गर्न पाउने कानुनी मान्यता सन् २००२ मा प्राप्त भयो । सन् २००४ मा नेपालभर गर्भपतन सेवा म्यानुल भ्याकुम एस्पिरेशन (एम.भी.ए.) अर्थात प्लाष्टिकमा क्यानुलाद्वारा खाली पारिएको सिरिन्जको मद्दतले गरिने गर्भपतन सेवामा विस्तार गरियो ।
सन् २००९ मा औषधीले गरिने गर्भपतन सेवा (मेडिकल एबोर्सन- एम.ए.) पनि शुरु गरियो । परिवार महाशाखाको पछिल्लो तथ्यांक अनुसार हाल देशभर वटै जिल्लामा गरेर ३ हजारभन्दा बढी गर्भपतन सेवा दिने स्वास्थ्यकर्मी तथा चिकित्सकहरु छन् ।
यी दुवै सेवाहरु अधिकांश सरकारी अस्पतालहरु तथा केही गैरसरकारी स्वास्थ्य संस्थाहरुमा पनि उपलब्ध छन् ।
कानुनी मापदण्ड के छ ?
गर्भपतन सेवाका लागि कानुनी मापदण्ड पूरा गर्नुपर्ने हुन्छ । गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।
राम्रो कुरा के छ भने, यस्ता सूचीकृत संस्थामा तालिम प्राप्त चिकित्सकबाट गरिएको गर्भपतनबाट हालसम्म एक जनाको पनि मृत्यु भएको छैन । एक प्रतिशतभन्दा पनि कममा मात्र सामान्य समस्या देखिने गरेको तथ्यांक छ ।
गर्भपतन गराउने तरिका
विश्व बजारमा वर्षौंदेखि गर्भपतनका औषधीहरु प्रयोग गरिँदै आएपनि नेपालमा यो भित्रिएको धेरै भएको छैन । नेपालमा पनि आईपास, पी.एस.आई. नेपाल, परिवार महाशाखा लगायतले ६ वटा जिल्लामा गरेको सफल परीक्षण पछि मात्र भित्र्याइएको थियो ।
नेपालमा अपनाइएको पद्दती अनुसार एकथरि औषधी मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्म अर्कोथरिको औषधी योनिमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । सजिलो र घरमा पनि प्रयोग गर्न सकिने भएकाले यसको प्रयोगकर्ता बढीरहेका छन् ।
अत्यन्त प्रभावकारी मानिने यी औषधीहरुको प्रयोगले ९ हप्ता अर्थात ६३ दिनसम्मको गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा प्रयोग गरिएका औषधी करिब ९६ प्रतिशत प्रभाकारी भएको साबित भएको छ । त्यसैले गाउँ-गाउँसम्म यो सेवा बिस्तार गर्ने नेपाल सरकारको लक्ष्य छ । सोही लक्ष्य अनुरुप स्वास्थ्य चौकीसम्म यो सेवा बढाइएको छ ।
गर्भपतन कसले गराउन पाउँछ ?
गर्भ राख्न नचाहने १६ वर्ष पार गरेकी मानसिक सन्तुलन ठीक भएकी हरेक गर्भवतीले आफ्नै मञ्जुरीमा ९ हप्तासम्मको गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थामा गएर आवश्यक परिक्षण र परामर्श गरेर यो औषधिहरु सेवन गर्न सक्छन् । औषधीहरु सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । निजी तर सूचीकृत संस्थामा यसको मूल्य तिर्नुपर्छ ।
यो औषधी पसलमा सोझै खाने औषधी होइन । १६ वर्ष पार नगरेको वा मानसिक अवस्था ठीक नभएको गर्भवतीले आफ्नो नजिकको नातेदारको मञ्जुरीमा यो सेवा लिन पाउँछन् । बिना परामर्श अनाधिकृत ठाउँबाट गर्भपतनको औषधी सेवन गर्नु गैरकानुनी मात्र होइन घातक
पनि हुन सक्छ ।
किन हुन्छ अत्याधिक रक्तश्राव ?
मेडिकल एबोर्सन (औषधिद्वारा गरिने गर्भपतन) ६३ दिनसम्मको गर्भपतनका लागि प्रभावकारी र सफल रहे पनि यसका केही साइड इफेक्टहरु पनि छन् । टाउको दुख्ने, ज्वरो आउला जस्तो हुने, पखाला लाग्ने, वाक्वाक हुने तथा महिनावारीको जस्तो वा केही रगत बग्ने हुन सक्छ । यस्तो असरहरु समान्यता आफै हराएर जान्छ र स्वास्थ्य परामर्शको आवश्यकता नपर्न सक्छ ।
तर, अत्यधिक रक्तश्राव भएमा, बेहोस भएमा, गन्हाउने वा योनीमार्गबाट पिप जस्तो जान थालेमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्ने हुन्छ । तोकिएको अर्थात तालिम प्राप्त स्वास्थ्यकर्मी वा चिकित्सकद्वारा गरिएका मेडिकल एबोर्सनमा यस्ता गम्भीर असरहरु प्रायः देखिँदैन ।
यद्यपी अस्पतालहरुमा यस्ता विरामी घटेका छैनन्, कारण हो अनाधिकृत रुपमा औषधी सेवन ।
औषधी पसलेहरु तथा सम्बन्धित स्वास्थ्यकर्मीहरु बाहेकले यस्ता औषधीहरु बिक्री वितरण गर्न नपाउने नियम छ । तर केही औषधी पसले तथा अनाधिकृत वा अयोग्य स्वास्थ्यकर्मीहरुले क्षणिक आर्थिक मुनाफाका लागि भारतीय बजारबाट ल्याएका कमसल वा औषधीहरु बिक्री वितरण गर्ने गरेको पाइन्छ ।
औषधीद्वारा गरिने गर्भपतनको सफलताको सबभन्दा महत्वपूर्ण पक्ष हो, गर्भको अवधि वा आकारको सही मापन । मेडिकल एबोर्सनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्सरे -अल्ट्रासाउण्ड) गर्नुपर्ने मान्यता छ । मेडिकल एबोर्सनका लागि अर्को महत्वपूर्ण पक्ष हो, गर्भपतन पुर्णरुपले भयो वा भएन भनेर परीक्षण गर्नु ।
समान्यतया औषधी सेवन गरिसकेपछि रक्तश्राव सबैलाई हुन्छ । तर रक्तश्राव हुँदैमा पूर्णरुपमा गर्भपतन नभएको हुन सक्छ । यो अवस्था समान्य पनि हुन सक्छ तर धेरै समयसम्म अत्याधिक रक्तश्राव जोखिमपूर्ण हुन सक्छ ।
यी दुवै अवस्था तथा तथ्यलाई पहिचान गर्न नसक्ने जो कोहि व्यक्तिबाट वा गर्भको स्थितिलाई परीक्षण नगरी एम.ए. अर्थात मेडिकल एबोर्सन गर्नु खतरनाक पनि हुन सक्छ ।
यस बाहेक गर्भपतनका लागि अन्य धेरै कुरामा बिचार पुर्याउनु पर्छ । पहिलेको गर्भ तथा प्रसूति सम्बन्धी समस्याहरु, अन्य दीर्घरोगहरु, बिभिन्न स्वास्थ्य समस्याका लागि औषधीहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा पनि जानकारी लिनु पर्ने हुन्छ । कतिपय यस्ता अवस्थामा गर्भपतनको औषधी सेवन गर्नु हुँदैन ।
समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरेको गर्भपतन सुरक्षित हुन्छ भनेर भन्न सकिँदैन र यसबारे समयमा नै सचेत हुन आवश्यक छ । त्यस कारणले गर्दा पैसा र समय बचाउन तथा गोपनियताको लागि सम्बन्धित स्वास्थ्य केन्द्रमा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन, ज्यानै पनि जान सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।
यसको विकल्प छैन ?
गर्भपतन (औषधि तथा एमभीए) सुरक्षित हुँदाहुँदै पनि यो अन्तिम विकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन र गर्भपतन रोज्नु पर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्न सकिन्छ ।
सबै दम्पत्तिहरुले एकै खालका परिवार नियोजनका साधन प्रयोग गर्नु पर्छ वा उपयुक्त हुन्छ भन्ने छैन । आफूलाई कस्तो साधन राम्रो र प्रभावकारी हुन्छ त्यसबारेमा स्वास्थ्यकर्मीसँग परामर्श गरेर छनोट गर्नु राम्रो हो ।
परिवारको आकार पूरा भएपछि वा सन्तानको रहर पुगिसकेपछि स्थायी बन्ध्याकरण पनि उचित हुन सक्छ । सुरक्षित यौनव्यवहार र राम्रो परिवार नियोजनका साधन रोज्न सके, गर्भपतन गराउनु पर्ने बाध्यात्मक अवस्था नआउन सक्छ भन्ने कुरा सबैले बुझ्नु आवश्यक छ ।
बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत
बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए । उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।” दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् ।
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ ।
वीरगन्जमा ९३ जनामा देखियो हैजा
पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् । नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ । अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ ।
विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

