कतारमा नेपाल पत्रकार महासंघको स्थापना दिवस मनाईयो
घनश्याम पराजुली, दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाले दोश्रो परिषद भेला २०१७ र महासंघको ६२ औं स्थापना दिवस एकैसाथ सम्पन्न गरेको छ । दोहाको मुन्ताजा स्थित नेपाली आँगन रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघको ६२ औं स्थापना दिवस मनाईएको हो । नेपाल पत्रकार महासंघले गत बुधबार देशभर आफ्नो स्थापना मनाएको थियो ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथी संस्थाका सल्लाहकार कुमार कार्कीले ८ हजार क्रियाशिल पत्रकार रहेको बताउदै संस्थाको विगत र वर्तमान अवस्था बारे प्रष्ट पारे । ‘विदेशमा नेपालीहरुको संख्या बढ्दै जादा नेपाली पत्रकारीताले समेत गति लिएको छ’ उनले भने ‘समाजका नकरात्मक कुराहरुलाई निस्तेज पार्दै पत्रकारहरुले सकरात्मक भुमिका खेल्नुपर्दछ ।’ कतार शाखाले केन्द्रमा बैदेशिक विभागको अधिकार , हक अधिकार र सुरक्षाको लागी पहल गर्नु पर्ने भन्दै स्थापना दिवसको शुभकामना दिए ।
कार्यक्रममा विशेष अतिथी तथा सल्लाहकार क्रान्ती सिंले कतारमा सन् २००३ देखी पत्रकारीताको शुरु भएको स्मरण गर्दै सन् २००६ मा बैदेशिक शाखा अन्तरगत कतार शाखा स्थापना भएको बताए । उनले पत्रकारीता जगतको बारेमा प्रष्ट पार्दै कतारमा नेपाली पत्रकारहरु अरु देशमा भन्दा अग्रसर रहेको बताए ।
व्यानर अनावरण , राष्ट्रिय गान र मौन धारणसँगै शुरु भएको कार्यक्रमलाई सचिव नवराज विकले सन्चालन गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेले स्थापना दिवसको शुभकामना दिए । कार्यक्रमको समापन गर्दै उनले प्रवासको ठाउमा रहेर पत्रकारिता गर्न सहज नभएको बताउदै सजक भएर सकृय रहन सबैलाई आग्रह गरे । ‘प्रवासमा छौं संबेदनशिल बनेर पत्रकारीता गरौ’उनले भने ।
दुई लाखको अक्षयकोष स्थापना गर्ने
नेपाल पत्रकार महासंघ कतार शाखाले नेपालमा २ लाख बराबरको स्थापना गर्ने भएको छ । शुक्रबार आयोजित कार्यक्रममा कार्यसमितीले गरेको निर्णय उपर छलफल गर्दै नेपालमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको हो । अक्षयकोष स्थापनाका लागी महासंघमा आवद्घ परिषद सदस्यहरुसँग सहयोगको लागी आवहन गरिएको छ ।
अक्षयकोषको नियमावली बनाउने जिम्मेवारी कार्यसमितीलाई दिईएको छ । अक्षयकोषको रकमबाट हरेक बर्ष पुरस्कार प्रदान गरिने छ । कुन विद्याको पत्रकारलाई पुरस्कार दिने बारेमा नियमावली बनेपछी स्पष्ट हुने बताईएको छ । अक्षयकोष स्थापना गर्नका लागी परिषद सदस्यहरुबाट सल्लाह सुझाव मागीएको थियो । परिषद सदस्य सिताराम थापाले कतारको कानुनको बारेमा नेपाली कामदारहरु माझ चेतनामुलक कार्यक्रम गर्न सकिने सुझाव दिएका थिए ।
दोश्रो परिषद भेला
नेपाल पत्रकार महासंघ कतार शाखाको वर्तमान कार्यकालको दोश्रो परिषद भेला सम्पन्न भएको । शुक्रबार स्थापना दिवस र दोश्रो परिषद भेला एकै साथ सम्पन्न भएको थियो । कतार शाखामा २९ जना सदस्यहरु रहेका छन । कार्यक्रममा पार्षदहरुले प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर छलफल गरेका थिए ।
सचिव नवराज विकले प्रगती प्रतिबेदन पेश गरेका थिए भने कोषाध्यक्ष घनश्याम पराजुलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै उपाध्यक्ष दिपक पुडासैनीले पत्रकारीता गर्नेहरुले राजनिती विचारधारा त्यागेर अघाडी बढ्नुपर्र्ने बताउदै स्थापना दिवसको शुभकामना दिए । कार्यसमिती सदस्य करिमबक्स मियाँले मध्यपुर्व सम्मेलनको बारेमा जानकारी दिएका थिए । प्राविधिक कारणवस तोकिएको समयमा मध्यपुर्व सम्मेलन गर्न असम्भव रहेको उनले बताए ।
कार्यक्रममा कार्यसमिती सदस्य महेन्द्र प्रसाद पोखरेलले कतारको नियम कानुनलाई उल्लंघन नगरी पत्रकारीताको धर्म निभाउनु पर्ने बताए । यहाँका समस्याहरुलाई सम्बन्धीत निकायसम्म पुर्याउने भुमिका निर्वाह गर्नु पर्ने भन्दै खादा ओढ्नकै लागी कार्यक्रममा सहभागी हुने समाजसेवीहरुको बारेमा भन्दा यहाँ समस्यामा परेका नेपालीहरुको बारेमा पत्रकारहरुले कलम चलाउनुपर्ने बताए । परिषद सदस्यहरुको तर्फबाट भानु सुनुवारले शुभकामना मन्तव्य राखेका थिए ।
अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए
काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।
यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।
कम्बोडियाबाट १२ नेपालीको उद्दार
काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।
डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन
काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

