कथाः छ आँशुको कथा

कथाः छ आँशुको कथा

पोखरा पुगेको भोलिपल्ट शनिबार, सराङकोटको गुम्बामा गुफा बसेर लामा पढ्दै गरेका सोल्टीलाई भेट्न गयौं । पर्दाले छेलिएर सोल्टीसँग भेटघाट, कुराकानी भयो तर देखादेख भएन। एकआपसमा हेर्न नहुने रहेछ।

हुस्सु र कुइरोले डम्म ढाकिएको सराङकोट डाँडामा अलि परको वस्तुलाई आँखाले ठम्याउँदैनथ्यो, जाडो उस्तै बढेर आएको थियो। दिन उघ्रेको बेला त प्याराग्लाइडिङ गर्नेहरूको सराङकोटमा लर्को लागेको हुन्छ रे ! तर, त्यो दिन त्यस्तो केही थिएन।

गुम्बा परिसरमा एउटा अजंगको लिचीको रूख देखेर चकित भएँ किनकि मधेसको हाम्रो गाउँमा मात्र तेत्रो ठूलो लिचीको रूख देखेकी थिएँ अहिलेसम्म। त्यति अग्लो ठाउँमा त्यो बडेमानको लिचीको रूख ! गज्जब लाग्यो। थाहा भो सिजनमा खुब मज्जाले त्यो रूखमा लिची फल्छ रे ! दुई घन्टाजति त्यहाँ बसेर फर्कियौं।

बडादसैंको दिन, मामाले आसिकसहित अबिरको टीका र पवित्र बौद्ध मन्त्रले अभिमन्त्रित रच्छेडोरो घाँटीमा लाइदिनुभो । सधैं मानिआएको भन्दा बेग्लै किसिमको त्यो नौलो र रमाइलो दसैंले मन प्रफुल्ल भयो। मामाले म मरेर गयो भने पनि यो रच्छेडोरी मेरो दाजुले लाइदिएको भनेर सम्झिनु भन्दै आमालाई आसिक दिइरहनु हुँदा आमाका आँखाबाट बर्बर्ती आँसु खसेका थिए। मेरो पनि घाँटीमा के के अड्किएजस्तो भएको थियो त्यो बेला।

टीकापछि खानपिन भो, सबैले खाइसकेपछि मेरो दाजुको जुठो खान्छु, मरेपछि गति पर्छु होला भन्दै मामाको थालमा उब्रेको बटुकाको दाल एक चम्चा उघाएर खानुभो आमाले। अरू कसैले याद गरे गरेनन् तर मेरो मनमा चसक्क बिझ्यो आमाको त्यो व्यवहार।

टीकाको रात अर्थात् हामी काठमाडौं फर्किने अघिल्लो रात। भात भान्सा सकिएपछि माइजु पनि हामी सुत्ने गरेको पाहुना कोठामा आएर बस्नुभो। अरू बेला त उहाँलाई जहिल्यै कामको चटारो हुन्थ्यो।

बिहान-बेलुका गुम्बामा पूजाआजा गर्नै एकढेड घन्टा लाग्थ्यो, दिउँसो खेतबारीका झिनामसिना काममा अल्झिनुहुन्थ्यो। लौ त भनूँ भने हामीले राम्ररी माइजूसँग बात मार्न पाएकै थिएनौं। सानो काँटकी, खिरिलो ज्यानकी फूर्तिली हाम्री माइजू दिनभरि फिटिक् फिटिक् चप्पल पड्काउँदै यता र उता कुदिरहनुहुन्थ्यो।

‘डाग्दरले चिसो नखा, निमोनिया होला भन्छ। तर, मो ता चिसो कोकोकोला भनेपछि हुरुक्कै। चुरुट खानेले चुरुट छाड्न नसकेजस्तै मैले नि फ्रिजको कोक छाड्न सकेन। जाडो होस् कि गर्मी, एउटा जम्बो बोतलको कोक मैले दिनैपिच्छे सक्छ। मामा रिसाउँछ तर मो ता नखाई बस्न सक्दैन, लुकाएर भए पनि खान्छ।’ स्वाइँय्य खोक्दै माइजूले कुरा थाल्नुभो । सबै कुरा बुझेर पनि लतै बसिसकेको मान्छेलाई हामीले सम्झाउने कुरा के बाँकी रह्यो र ! चुपै बस्यौं।

आमा र मामाको ज्यान त उस्तै खाइलाग्दो रैछ है माइजूरु आमालाई थोरै दुब्लाउनु पर्‍यो, घुँडा दुखाइ अलि कम हुन्थ्यो कि भन्यो भने ‘म मोटाको कहाँ हो र ! हाम्रो त बाबुबाजेदेखिको ज्यानै यस्तो, ठूलो दारका मान्छे हामी, हाम्रो हड्डी नै ठूलो’ भन्नुहुन्छ। मामालाई देख्दा आमाको कुरा सोरै आना सही लाग्यो। भाइले कुरा अघि बढायो।

‘तिमीहरुको मामा त अहिले दुब्लाएर यत्तिको देखिएको। एकताका त मामा मोटाएर उसको नारीमा घडीको पूरै चेन खोलेर लाउँदा पनि टाइट हुन्थ्यो। भुँडी ठूलो भएर खुट्टाको नङ आफैंले काट्न सक्तैनथ्यो। पछि त सारै बिमार भयो। त्यसपछि दुब्लाएर बल्ल यतिको भाको मामा त !’, माइजूले बताउनुभो।

कुरा जारी राख्दै माइजूले भन्नुभयो, ‘सुरुमा मामा बिमार हुँदा मैले हेल्पोस् लिएर गयो। हेल्पोस् पनि उतिखेर घरदेखि निकै टाढा थ्यो, झन्डै दिनभरिको बाटो। बिहानै मामालाई बिस्तारो हिँडाउँदै लिएर गयो, दिउँसोतिर हेल्पोस् पुगेपछि त्यहाँ मामालाई सलाइन लाइदियो। मामाको जीले त्यै सलाइन खायो, मैले चाहिँ घर लान भनेर किनेको चालीस रुप्पेको झन्डै आधा डोकोजति सुन्तलामध्ये दुइचारवटा सुन्तला खाएर बस्यो। पाँच बोतल सलाइन लाइसक्दा झमक्क साँझ परेको थियो।’

हेल्पोस्ले ‘लु अब ! तिम्रो बिरामी जाति भयो, घर लैजा !’ भन्यो ।

त्यसपछि अँध्यारोमा मामाको हात समाएर डोस्याउँदै म घरको बाटो लाग्यो। बीच बाटोमा पुगेपछि त मामा फेरि लल्याकलुलुक परेर त्यहीँ बाटोमा थुप्रियो। हे भगमान् ! एकलासको खोलाको बाटो, निष्पट्ट अँध्यारो। मेरो हातमा टच्लाइट छ, तर मान्छेको नाउँमा हामी दुईबाहेक त्यहाँ अरू कोही छैन । म त बेस्सरी आत्तियो। के गरूँ र कसो गरूँ भयो। मेरो पालो मामालाई बाटो छेउको अग्लो ढुंगामा अडेसा लाएर भुइँमा बसायो र त्यही आफूले बोकेको सुन्तला छोडाउँदै मामाको मुखमा कोच्याउँदै गर्‍यो। धन्न ! दस बाह्र वटा सुन्तला खुवाइसकेपछि पो मामा बोल्यो, ‘ए कान्छी, मो काँ छ हँरु’

रातको अन्धकारमा सारै कष्टले मामालाई घर पुर्‍यायो मैले। भोकले मर्नु भाकोथ्यो, घर पुगेर टन्न भात खाएर सुतौंला भन्ने सोचेको थ्यो तर घरमा त हामीलाई खानै नराखी छोरीबुहारीहरू सुतिसकेको रैछ। रिसले आँखा देखेन मैले र मारी करायो तिनीहरूलाई। अनि त, हत्त न पत्त चुलोमा हुरुरु आगो बालेर एकैछिनमा भात तरकारी पकायो बुहारीले। अहो १ अहिले त्यो कुराहरू सम्झँदा हाँस उठ्छ तर त्यतिखेर त मलाई मर्नु भाकोथ्यो नि १

एक चरण बोलिसकेर माइजू गलल हाँस्नुभो, माइजूसँगै हामी पनि धक फुकाएर हाँस्यौं।

तिमेर्को मामाको बिमारमा मैले खप्नसम्म सास्ती खपेको छ। उता छोरा छम् पसेको ९गुम्बामा बसेर लामा पढ्दै गरेको०, यता मामा बिमार भइराख्ने। अरूलाई झारफुक गरेर, जडीबुटी दिएर निको पार्ने तिमर्को मामाले आफूलाई चाहिँ जाती पार्न सकेन।

आफ्नो मन्त्र आफ्नै जीउमा बेकामे हुँदोरैछ। मेरा मीतदाजु पर्ने धामीको बाउछोराले माथि गाउँबाट आएर मामालाई घरमै दिनरात फुकिदियो। तर, आफ्नो बिरामी निको हुनु त कता हो कता, त्यो दुई बाउछोरालाई पाल्न पो धौधौ पर्‍यो मलाई। बाउ चाहिँलाई छिनको छिनमा रक्सी र कुखुराको मासु चाहिने, छोराचाहिँ फुकेपिच्छे नयाँ झर्के थालमा चामल र पैसा माग्ने। अहिले बाउचाहिँलाई एक गिलास रक्सी दियो, अहिल्यै ‘ए कान्छी !

हेर् त ! यो गिलासको पिँध चुहिने रैछ, सप्पै रक्सी त चुहेर सकिएछ’ भन्ने। त्यो बाउछोराले हैरान खेलाएपछि दुई दिनमै भो अब नफुक्ने भनेर तिनीहरूलाई धपाइदियो मैले। जाने बेलामा ‘हेर् कान्छी १ जुवाइँलाई पूरापूर तीन दिन फुक्नुपर्यो, फेरिफेरि पनि बोलाएस् है !’ भन्दै गयो मेरो मीतदाजु।

अनि कसरी निको हुनुभो त मामारु मैले सोधेँ। माइजूको निर्दोष व्याख्यान शैली रोचक लागिरहेको थियो।

अहो ! मामाको बिमारको कुरा गरेर साध्ये छैन नानी ! पोखरामा कति डाग्दरलाई देखायो, घरमा कतिपल्ट धामी बसायो। तर, मामाको दाहिने कोखा हान्ने, कोखामा सरर केही हिँडेजस्तो लाग्ने । बिमार केही गर्दा पनि बिसेक भएन।

अनि त, त्यहीताका जेठो छोरो देउलामा इन्डियाबाट घर आएको थियो, उसैले ‘बा ! अब एकबाजी इन्डिया गएर इलाज गरौं’ भन्यो। देउलामा इन्डिया आर्मीको पेन्सन थाप्छ, उसका हुर्केका छोराछोरीको पढाइ बिग्रन्छ भनेर उतिखेर उतै बस्थ्यो।

मामाले इन्डिया त मो जाँदै जाँदैनु भनेर ढिपि कस्यो, देउलामा बाबुको मायाले रोयो। ‘के म तिम्रो छोरा हैनरु मसँग एकफेरा इन्डियामा गएर जँचाउन तिमीलाई कुन बातको अप्ठेरोरु’ भनेर देउलामाले रोइकराइ गरेपछि छोराको वचन हार्न नसकेर मामा बल्ल इन्डिया जान मान्यो।

गोरखपुरको रेलको टिसनमा बाबुचाहिँ र मलाई छाडिराखेर देउलामाको बाउछोरा ‘एकछिन यहाँ बस्दै गर है आमा १, हामी टिकस काटेर आउँछु’ भनेर हरायो। अहिले आउला भरे आउला भन्यो, मध्यरातमा छोरा र नातिको बाटो हेर्‍यो, तर दुई घन्टासम्म कुर्दा पनि तिनीहरू आएन। परदेशको बिरानो ठाउँ, बिरामी लोग्ने छ साथमा, मो ता बेस्सरी आत्तिँदैथ्यो।

उत्निखेरै मामा त हातखुट्टा अररो पारेर, दाँत टम्म बाँधेर थरर काम्न थाल्यो । हे दैव ! अब के गर्ने होला भनेर डरले मो पनि काम्यो एकचोटि त ! रातको २ बजेको छ, यसो वरपर हेर्‍यो, टिसनमा मान्छेहरू सिलको माछाजस्तो भएर लहरै सुतेको छ। चारैतिर चकमन्न। त्यै एउटा मान्छे ‘गरम चाय १ गरम चाय’ भन्दै यताउता डुलिहिँड्दैछ। मो ता न आफैं हुरुक्क भएर त्यहीँ मरिजानु, न केही गर्न सक्नु भएर सारै छटपटियो।

त्यत्तिकैमा देउलामाको बाउछोरा टुप्लुक्क आइपुग्यो र मैले बल्ल आफूले सास फेरेको चाल पायो। त्यसपछि त्यही गरम चाय भन्नेसँग चिया र मसिनो रोटी किनेर चियामा रोटी चोब्दै जबर्जस्ती फट्याएर मामाको मुखमा छिराउँदै गर्‍यो।

त्यसरी आठदसवटा रोटी मुखबाट छिराएपछि बल्ल मामाले आँखा खोल्यो। अनि त, त्यही बेला टिसनमा आइपुगेको रेलमा मामालाई दुई पट्टिबाट समाएर तुर्लुंग झुन्ड्याउँदै सारै मुस्किलले रेलमा चढायो हामीले।

माइजूले कुरा सक्नै नपाई हामी सबै मरीमरी हाँस्दै थियौं। उति बेला माइजूलाई कत्रो महाभारत आइपरेको थियो तर बितिसकेपछि भने त्यो दु:खको क्षण हामीलाई मरुन्जेल हँसाउने कारण बनेको थियो।

ग्वालियर पुगेपछि बिहान बुहारीले सोध्यो, ‘आमा ! मो बैगुनको भात बनाउँछ है ?’

मैले भन्यो, ‘भो ! मो ता खाँदैन त्यो बैगुनको भात, तिमेरु खाओ। मलाई त चामलकै भात पकाइदे !’

पछि खाने बेला पो थाहा पायो, भान्टा पोलेर साँधेको चटनीलाई बैगुनको भर्ता भन्दोरैछ उता। भोकको झोंकमा त्यो बिहान खुब मीठो लाग्यो बैगुनको भात‘ हा हा हा।’ माइजूको इन्डिया बसाइको बखानले फेरि मज्जाले हँसायो।

अनि मामालाई सन्चो भयो त माइजूरु मैले सोधेँ ।

त्यति सजिलै काँ निको हुनु र १ ग्वालियर पुगेको दिन थकाइ मारेर भोलिपल्टै सहरको नाम चलेको डाग्दरकोमा गयो। यता हाम्रोतिरको कालो तीनपांग्रे डल्ले टेम्पोलाई उता अटो भन्दोरैछ, त्यसैमा चढाएर लग्यो देउलामाले हामीलाई। बुहारीले ‘सारीचोलो लाएर जाऊ आमा, गुन्यूचोलो र पटुकी लाको मान्छे देखेर यताको मान्छे हाँस्छ’ भन्यो। तर, मो ता मानेन। हाँसे हाँसोस् भनेर गुन्यूचोलो, पटुका र टाउकामा मजेत्रो ओढेरै गयो।

सेतै फुलेको डाग्दरले मामालाई एकसरो जाँचेर ओखती लेखिदियो, अनि मतिर हेरेर ‘कान्छी हो ?’ भन्यो।

मैले ‘हो’ भन्यो र मनमनै सोच्यो, मलाई घरमा(गाउँमा सबैतिर कान्छी नै भनेर बोलाउँछ, तर यो यति टाढाको डाग्दरले मेरो नाउँ कान्छी हो भनेर कसरी थाहा पायोरु भनेपछिलाई यो डाग्दर साँच्चैको जान्ने रैछ। लु आज भने देउलामाले गज्जपको डाग्दर भएठाउँ ल्याएछ बाउलाई इलाज गराउन।

घर फिरेपछि मैले बुहारीलाई पनि सुनायो, ‘बुहारी अब बाउलाई चाँडै जाति हुन्छ, डाग्दर बडो जान्ने रैछ, मलाई फ्याट्ट कान्छी होरु भनेर सोध्यो।’

अचम्म १ बुहारी त मेरो कुरा सुनेर मरुन्जेल हाँस्यो र भन्यो, ‘आमा डाग्दर जान्ने भएर तिमीलाई कान्छी हो भनेको हैन, यहाँकाले त पहाडे अनुहार परेका जति छोरामान्छेलाई कान्छा भन्छ र आइमाई मान्छेलाई कान्छी भन्छ।’

हत्तेरी कस्तो हुस्सु भइएछ भनेर पछि ता मो पनि खुब हाँस्यो।

हा हा हा‘ हामी मध्यरातमा कोठै थर्काएर स्याल सिँगान हुने गरी हाँस्यौं।

अनि माइजूरु के भयोरु मैले माइजूलाई कुराको गति बढाउन उक्साएँ।

त्यसपछि त, त्यो डाग्दरको ओखती दुई हप्तासम्म खाँदा पनि मामालाई केही फाइदा भएन। देउलामाले कताबाट एउटा डन्ठेबाबा भन्ने बाबाजीले यस्तो बिमारीलाई निको पार्छ रे भन्ने सुनेछ र त्यै अटो भन्नेमा एकतर्फी बाटोको भाडामात्रै एक सय ५० रुपैयाँ भारु तिरेर त्यो डन्ठे बाबाकोमा हामीलाई लग्यो। सारै टाढा रैछ त्यो ठाउँ।

मान्छेहरूको ससानो भीड नै थियो त्यो बाबाको कोठाबाहिर। हामी निकै बेर कोठाबाहिर बसेर भित्र पस्ने पालो पख्र्यो। पालो आएपछि एउटा मान्छे हातमा ओखती बोकेर हामी भएठाउँ आयो र हामी बूढाबूढीको आँखामा त्यो झोल ओखती जबर्जस्ती लाइदियो। ए १ ए १ क्या करता है‘ भन्दाभन्दै त्यो ओखती लाइदी त हाल्यो।

आमा हो ! त्यसपछि त आँखा भतभती पोलेर खपिनसक्नु भयो। आँखा खोल्नै सकेन, त्यसमाथि त्यो मान्छेले मामा र मलाई भित्र कोठामा धकेलिदियो । आँखा पोलेर केही देख्न सकेको छैन, डन्ठेबाबा कता हो हामी कता हो, केही शुद्धि छैन।

त्यसरी हामी अत्तालिएकै बेला, खै त्यो बाबा हो कि कल्ले हो हामी बूढाबूढीको जीउमा लौरोले जथाभावी ठ्याङठ्याङ र ठुङठुङ हान्न थाल्यो। टाउकामा, कुमको हड्डीहुँदी लौरो बजारिँदा मैले त तिरिमिरी झ्याइँ देख्यो । एेय्या र आत्थु गर्दै एकछिन त्यहीँ उफ्रिँदै बस्यो हामी, र केही बेरपछि कोही मान्छेले हातमा समाएर दैलोबाहिर धकेलिदियो हामीलाई।

एेय्यु‘ हाँसेर हाम्रो त बेहाल भयो।

दुई सातासम्म देउलामाले बाउलाई त्यो डन्ठे बाबाकोमा लग्यो। अचम्म तालले मामालाई त निको पो हुँदै आयो र मामालाई बिसेक भएपछि हामी नेपाल फिस्यो। त्यहाँ बसुन्जेल नेपालीको दुस्खलाई नजिकबाट चिन्यो हामीले। के गर्ने, छुट्टीमा घर फिरेको लाहुरेले एक खिल्ली चुरुट पनि खान दिएन भनेर यता गाउँघरमा मान्छेले कुरा काट्छ तर उता उनीहरू कस्तो दुस्खले बसेको छ भन्ने कुरा यताको मान्छेलाई थाहै छैन।

नाति केटोचाहिँ आइसक्रिम खाने बजैरु भन्दै भट्भटेमा चढेर त्यो आइसक्रिम भन्ने गुलियो जिनिस किनेर ल्याउँथ्यो र हामीलाई खुवाउँथ्यो। उता उसको बाबु देउलामाचाहिँ पसिनाले लछप्पै भिजेको बन्डी लाएर एउटा फ्याङ्टे साइकलमा किर्लिङ किर्लिङ घन्टी बजाउँदै साँझमा घर फिर्थ्यो र लखतरान ज्यानलाई आँगनको चारपाईमा लडाउँथ्यो ।

त्यहाँका धेरैजसो नेपाली देउलामा जसरी नै घर फिथ्योर् मैले त देउलामालाई भन्यो पनि, ‘आफ्नो खेतबारीमा पसिना चुहायो भने हाम्रो परिवारले भोकै बस्नुपर्दैन, देश फर्किहाल्।’ तर त्यो मानेन, दुई वर्षपछि छोराछोरी कलेज पढ्ने भएपछिमात्र फिर्छु भन्यो।

माइजूले सोझो पारामा परदेशी नेपालीको दुस्खी जिन्दगीको बखान गरिरहनुहुँदा सुन्ने हामी सबैको मन अमिलिएर आएको थियो।

साढे ११ बजिसकेछ, अब सुतौं। फेरि भोलि सबेरै बाटो लाग्नु छ। भाइ बोल्यो।

मेरो आँखामा भने तुरुन्तै निद्रा आएन, समयको चेपुवामा परेर मेरा त्यस्ता ज्ञानीगुनी मामाले पनि कस्तोकस्तो दुस्ख बेहोर्नु परेछ भनेर सोचिरहेँ। उमेरदार हुँदा यिनै मामामा उडेको चरा खसाल्ने हिम्मत थियो रे १

मामालाई छम (लामा अध्ययनको अन्तिम प्रक्रिया जसमा उबेला च्यानघारीनजिकै महिनौं गुफा बसेर पढ्न पथ्र्यो) बाट निकाल्दा गाउँलेहरूले माया गरेर उनलाई काँधमा बोकेर, अबिरजात्रा गरेर घरसम्म ल्याएका थिए रे ! उबेला मामाका रुपलछिनले लठ्ठिएका उनका दौंतरीहरू गीतै कथेर गाउँथे रे, पाटीमारा चुरुस, लम्मई साइँला स्यानलामा (लामाका साइँला छोरा श्यामलामा) किस्नजी दुरुस्त‘ बन्दीपुरे चौतारा, लम्मई साइँला स्यानलामा किस्नजी औतार‘

उफ ! यौवनकालमा कृष्णजीका अवतारजस्ता मेरा मामाले बुढेसकालमा कस्तरी हन्डर खानु परेछ ! मामाले खेपेका सास्तीहरूले ननिदाउन्जेल मलाई भित्रसम्म घोचिरहे। आमाले बारम्बार बोलिरहनुहुने तुक्का सम्झँदै निदाउने कोसिस गरेँ, कहिलेको कस्तो कहिलेको सस्तो‘।

भोलिपल्ट बिहानै भारी मनले मामामाइजूसँग बिदा माग्यौं । आमाले आफूले टेक्ने गरेको लौरो मामालाई छाड्दिन मन गर्नु भो, मामाले पनि लौ ठीकै छ त, हुन त मलाई लौरोको जरुरत छैन, तर पनि बैनीको सम्झना चिनो राख्छ भनेर राख्नुभो। मावलको मीठो सम्झना मनभरि-आँखाभरि सँगालेर काठमाडौं फिरियो।

काठमाडौं फर्केपछि पापी पेटका खातिर फेरि उही दिनरातको दौडधुपमा सामेल हुन करै लाग्यो। पोखरा, अब धर्तीको सुन्दर टुक्रामात्र हैन, मेरो प्यारो मावल पनि भयो भन्ने सोचेर दंग पर्थें। पोखरा सम्झ्यो कि त मन त्यसैत्यसै फुरुंग हुन्थ्यो। पोखराबाट फिरेको धेरै दिनसम्म पनि हाम्रो घरमा कसैले न कसैले दिनमा एकदुईपटक कान्छी होरु भनेकै हुन्थ्यो, अनि त्यो सुन्यो कि त हामी सबैजना मुर्छा परेर हाँस्थ्यौं।

केही दिनपछिको एक साँझ, भाइले मावलमा फोन गस्यो। मामामाइजू त्यतिखेर गुम्बामा जानुभएको रहेछ। फोन उठाउने शर्मिला बहिनीबाट थाहा भो, हामी काठमाडौं फर्कने बेला गाडी चढेर मामाघरबाट निस्केपछि मामा त माथि गुम्बा जाने खुड्किलामा बसेर बरर आँसु खसाउँदै रुनुभयो रे ! निकै बेरसम्म आँसु पुछ्दै, सिँगान पुछ्दै गर्नु भो रे ! मामा त्यसरी चुपचाप रुँदै बस्नुभ’ को देखेर माइजूले सोध्नुभएछ- हैन, आज तिमीलाई के भयोरु तिमी किन यसरी रुन्छ ?

मामाले भन्नुभएछ- हैन, आज मलाई एकदम उच्चाट लागेको छ। कति वर्षपछि मर्ने बेलामा बैनी, भान्जाभान्जीलाई भेटेर मन खुसी भयो। तिनीहरू बसुन्जेल घरै उजेलो भाकोथ्यो। बैनीले दसैंको दिन मेरो जुठो पनि खायो, त्यसले त्यसो गर्दा मेरो छाती भारी भाकोथ्यो। मान्छेको जिन्दगी कसले के भन्न सक्छ र १ फेरि कहिले भेट हुने हो। निकै दिन बस्ला भन्ने सोचेको थ्यो तर तिनीहरू त आगो लिन आएकोझैं गरेर फिस्यो। त्यत्रो धान कुटेर राख्यो, अब हामी बूढाबूढीले मात्र खाएर कहिले सक्ने ? तिनीहरूले चटक्कै छाडेर जाँदा मलाई त एकतमासले नरमाइलो लागिरछ कान्छी !

शर्मिला बहिनीले यी सब कुरा फोनमा भनिरहँदा भाइको पनि गह भरिएको थियो। भाइले आमा र मलाई मामाको आँसुको कथा सुनाएपछि हामी त अवाक् भयौं। हामीले अजंगको कठोर पहरोझैं ठानेको मामाको छातीको काप फोरेर माया र स्नेहको पीपल त उहिल्यै पलाइसकेको रहेछ।’

साहित्य सङ्ग्रहालयबाट

वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा

उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ।  त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ। यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ। लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ। लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए। लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ। पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ। पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ। लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्। मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ। स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्‍याई पुनः तमारी हुँदै गःहिटीमा पुर्‍याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनु पूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठुलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठुलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्ति योग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

लोकप्रिय