कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले पर्ख र हेर, पछि आक्रामक हुने

कांग्रेस–माओवादी गठबन्धनविरुद्ध एमाले पर्ख र हेर, पछि आक्रामक हुने
काठमाडौं, भदौ २८ । कांग्रेस र माओवादी केन्द्रको गठबन्धनविरुद्ध एमालेले तत्काल ‘आक्रामक प्रतिवाद’ नगरी ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको छ । सत्ता सहकार्यसँगै एक वर्षदेखि सुरु भएको गठबन्धनलाई दुई दलले स्थानीय निर्वाचन हुँदै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समेत निरन्तरता दिने गृहकार्य गरिरहेका वेला एमालेले ‘पर्ख र हेर’को रणनीति अख्तियार गर्ने भएको हो । यद्यपि, चुनाव सकिएपछि भने आक्रामक प्रतिवाद गर्ने एमालेको तयारी छ ।

एक वर्षअघि वाम गठबन्धन टुटेपछि एमाले र माओवादी केन्द्रका नेताहरूले तिक्तता पोखिरहेका छन् । तर, माओवादी केन्द्रले कांग्रेससँगकै गठबन्धन रुचाए पनि एमालेले भने उसका विरुद्ध तत्काल आक्रामक प्रतिवादमा नजाने नीति अख्तियार गरेको हो । उदार पुँजीवादी कार्यक्रम बोकेको कांग्रेस र समाजवादी कार्यक्रमको नीति अख्तियार गरिरहेको माओवादी केन्द्रको दुई परस्परविरोधी नीति र दलको गैरराजनीतिक गठबन्धन भएकाले कुनै पनि वेला तिक्तता बढ्ने र सरकारको कार्यशैलीले गठबन्धन भत्किन सक्ने आसमा एमाले देखिएको छ । विदेशी शक्तिको इसारामा आफूविरुद्ध दुई दलले मधेसकेन्द्रित दललाईसमेत मिलाएर निर्वाचनलक्षित बृहत् मोर्चाबन्दीको प्रयास गरिरहेको बुझाईमा एमालेले कार्यकर्तालाई एकताका साथ सामना गर्ने गरी तयारी थाल्न निर्देशन दिँदै आएको छ ।

‘एक साताकै बीचमा प्रचण्डका विभिन्न खाले अभिव्यक्तिहरू आइरहे पनि हामी प्रतिक्रियात्मक हुने पक्षमा छैनौँ । आवश्यकता परे चुनावी प्रक्रिया सुरु भएपछि जवाफ दिन्छौँ,’ एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘माइन्डसेट नै अर्कै भएकाले आफ्ना कर्मका निम्ति माओवादी साथीहरूले भित्तामा बेस्सरी टाउको ठोक्काएर नोक्सानी नबेहोरुन्जेल गठबन्धनमा पुर्नविचार गरिहाल्नुहोलाजस्तो पनि देखिन्न ।’ उनले माओवादी केन्द्र सोचमा पुनर्विचार गर्न तयार नभएसम्म सहकार्यका लागि एमाले औपचारिक संवाद गर्ने पक्षमा पनि नरहेको स्पष्ट पारे ।

एक्लै प्रतिस्पर्धा, तालमेलको ढोका खुल्ला
कांग्रेसलाई मुख्य चुनावी प्रतिस्पर्धी ठानिरहेको एमालेले ऊबाहेकका दलसँग स्थानीय, प्रदेश र प्रतिनिधिसभामा हुन सक्ने तालमेलको ढोका खुल्ला राखेको छ । ‘हामी मूलतः आफ्नै खुट्टामा उभिएर प्रतिस्पर्धा गर्छौं । तर, स्थानीय आवश्यकताअनुसार तालमेलकोे ढोका खुल्लै राख्छौँ,’ ज्ञवालीले भने, ‘तालमेलबाटै चुनाव जित्ने र कुनै दलविरुद्ध मोर्चाबन्दी गर्ने हाम्रो नीति छैन ।’

गठबन्धनको धरातलमाथि प्रश्नै–प्रश्न
एमालेले माओवादी केन्द्रलाई चिढ्याइहाल्ने नीति नलिए पनि सत्तापक्षको गठबन्धनको सैद्धान्तिक पक्षमाथि भने दर्जनौँ प्रश्न उठाउँदै प्रचार गर्ने नीति अख्तियार गरेको छ । विदेशीको दबाबमा राष्ट्रिय हित र लोकतन्त्रविरुद्ध दुई दलको गठबन्धन बनेको, अपवित्र गठबन्धनमार्फत माओवादी केन्द्रले सैद्धान्तिक, वैचारिक धरातल समाप्त पारेकोजस्ता प्रश्न उठाएर एमालेले प्राथमिकताका साथ प्रचार गरिरहेको छ । एमालेले आफूविरुद्ध लक्षित बृहत् मोर्चाबन्दीले कुनै पनि दलसँग एक्लै निर्वाचन लड्ने सामथ्र्य नरहेको प्रचार गरेर कार्यकर्ता र जनताको ‘सेन्टिमेन्ट’ जित्ने प्रयासलाई प्राथमिकता दिएको छ । विदेशी शक्ति, सत्ता, संसद्, संवैधानिक अंग, प्रशासनिक संयन्त्र आफूविरुद्ध रहेको जनाएर कार्यकर्तालाई मिहिनेतका साथ खट्न एमालेले उत्साहित गरिरहेको छ । -नयाँ पत्रिकाबाट

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय