किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?

किन चिलाउँछ गुद्द्वार, के संकेत दिन्छ यसले ?

काठमाडौंः  गुदद्वार चिलाउने समस्या प्रायश: देखिने समस्या हो । गुदद्वार अनि त्यस वरिपरिको छाला चिलाउँछ र कतिपय समयमा त यो यति तीव्र हुन्छ कि नकन्याई बस्नै सकिँदैन । यस्तो स्थितिले असजिलो स्थितिसमेत निम्त्याउन सक्छ । गुदद्वार चिलाउने यस्तो स्थितिलाई Pruritus ani भनिन्छ । चिलाउनुका साथै कतिपय स्थितिमा पोल्ने अनि दुख्ने वा जलन हुने पनि हुन सक्छ ।

कारणअनुसार यी लक्षणमा भिन्नता हुन सक्छन् । यसरी गुदद्वार चिलाउने कतिपय समस्याको चिकित्सकीय उपचार आवश्यक नपर्न सक्छ, तर विशेष गरी कडा किसिमको वा एक महिनाभन्दा बढी समयसम्म निरन्तर यसरी चिलाए वा गुदानलीबाट रगत आए चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ । गुदद्वार चिलाउने प्रमुख कारणहरूका सम्बन्धमा छोटकरीमा चर्चा गरौं ।

१. छालामा विभिन्न कारणले हुने जलनले यस्तो समस्या निम्त्याउन सक्छ । घर्षण अनि बढी कसिलो हुँदा पनि यस्तो हुन सक्छ । सुगन्ध युक्त पदार्थ, रङ्ग वा छालालाई कोमल बनाउने तत्व भएका साबुन, ट्वाइलेट पेपरजस्ता कुराले पनि गुदद्वारमा जलन हुने वा चिलाउने हुनसक्छ । यस्ता सामानको अधिक प्रयोगले समस्यालाई बढाउन सक्छ ।

२. पखाला धेरै लाग्दा पनि यस्तो हुन सक्छ । थाहै नपाई दिसाको केही मात्रा गुदद्वार क्षेत्रमा रहँदा पनि यस्तो समस्या हुन्छ ।

३. गुदद्वार क्षेत्रमा भएका रक्तनशा फुलेर दिसा गर्दा नदुखे पनि रगत देखा पर्ने स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।

४. संक्रमण र कतिपय यौन रोग पनि गुदद्वार चिलाउने कारण हुनसक्छ । बाल्यावस्थामा चुर्ना (pinworm) पर्दा गुदद्वार चिलाउने धेरैले अनुभव गरेका हुन्छन् र एकै घरका वयस्कमा पनि चुर्नाको समस्या हुन सक्छ । ढुसीको संक्रमण, जुन योनि चिलाउने एउटा प्रमुख कारण हो, पनि गुदद्वार चिलाउने कारक हुनसक्छ ।

५. छालाको समस्या जस्तै psoriasis वा contact dermatitis जस्तो स्थितिमा पनि गुदद्वार चिलाउन सक्छ ।

६. अति नै विरलै हुने गुदद्वारको ट्युमर पनि यसको कारण हुन सक्छ ।

समस्या के त ?

अब तपाईंलाई के भएको होला भन्ने मूल प्रश्नमा आऔं । तपाईंले दिनु भएको सीमित जानकारीका आधारमा यसै भन्न सकिने स्थिति छैन । माथि उल्लेख गरिएका गुदद्वार चिलाउने केही स्थिति तपाईंलाई नै थाहा भएकाले त्यसैअनुरूप आफूलाई के भएको हो, अनुमान गर्न अनुरोध गर्छु । गुदामैथुन गर्दा यौनसंक्रमण हुन सक्छ, जसले गर्दा गुदा चिलाउँछ । अब गुदामैथुन र यौन सक्रमणका बारेमा केही कुरा गरौं ।

गुदामैथुन र यौन संक्रमण

धेरैजसोले यौन सम्पर्क भन्नाले योनि–लिङ्ग मैथुनलाई मात्र सम्झन्छन् । यौनसम्पर्क योनि–लिङ्ग मात्र नभई मुख–मैथुन वा गुदा–मैथुन पनि हुनसक्छ । सामान्य रूपमा भन्नुपर्दा आफ्नो यौनसाथीको गुदानलीमा लिङ्ग पसाई गरिने यौनसम्पर्कलाई गुदामैथुन भनिन्छ । धेरै मानिसले गुदामैथुन भनेकै समलिङ्गी यौनव्यवहार हो भन्ने मान्छन् तर वास्तविकता के हो भने यो समान लिङ्गीहरू तथा विपरित लिङ्गी अर्थात् पुरुष तथा महिलाको विच पनि हुन सक्छ । वैवाहिक जोडी बीच पनि यस्तो किसिमको यौनव्यवहार हुने गरेको तथ्य अहिले जग जाहेर छ ।

मानिसले किन गुदामैथन गर्छन् भन्ने कुराको जवाफ पाउन सजिलो भने छैन, तर भिन्न भए पनि यसले प्राकृतिक यौन अभिव्यक्ति वा व्यवहारकै रुपमा मान्यता पाएको छ । फ्रायडले भनेझैं मुख, यौनाङ्ग र गुदा क्षेत्र शरीरका अन्य अङ्गहरूभन्दा बढी यौन संवेदनशील हुन्छन् ।

योनिको बाह्य भागजस्तै गुदद्वारमा पनि प्रशस्त स्नायु हुन्छन्, जुन यौन संवेदनशील हुन्छन् । यी सबै कुराले गुदामैथुनलाई सुखमय बनाउन सहयोग गर्छ । गुदाक्षेत्रबाट यौन उत्तेजना तथा सुख प्राप्त गर्ने कुरालाई anal eroticism भनिन्छ । लिङ्ग ग्रहण गर्ने व्यक्तिले यौन चरमसुख प्राप्त गर्नुलाई anal orgasm भनिन्छ । अर्कातिर कतिपय व्यक्तिले धेरै व्यक्तिले गर्ने कार्य भन्दा फरक किसिमको कार्य गर्दा एउटा विशेष प्रकारको आनन्द एवं रोमाञ्चताको अनुभव गर्छन् । गुदामैथुन गर्दा कुनै वर्जित कार्य गरेको भनी मानसिक रूपमा रोमाञ्चको अनुभव गर्छन्, त्यसैले पनि यस किसिमको यौन सम्पर्कका लागि लालायित हुन्छन् ।

विचार गर्नुपर्ने कुरा के भने योनिको भन्दा गुदद्वारको संरचना निकै फरक हुन्छ । गुदद्वार यौनसम्पर्कका लागि प्राकृतिक रूपमा बनेको अंग होईन । योनिमा यौन उत्तेजना भएपछि यौनसम्पर्कलाई सजिलो बनाउन योनिरस आएजस्तो रस त्यसबाट आउँदैन । गुदद्वारमा यसलाई राम्रोसँग बन्द गर्ने मांसपेशी हुन्छ । बाहिरी मांसपेशीलाई चाहेअनुरूप संकुचित वा खोल्ने (खुकुलो पार्ने) गर्न सकिन्छ भने भित्री मांसपेशीलाई सजिलै त्यसो गर्न सकिँदैन । लामो अभ्यास पछि एक हदसम्म भित्री मांसपेशीलाई खुकुलो तुल्याउन सकिन्छ ।

गुदद्वार वा गुदानलीमा कुनै कुरा प्रवेश गर्न खोजे यो मांसपेशी बेस्सरी संकुचित हुन्छ र जबरजस्ती गर्न खोजे पीडा हुन्छ र चोट पनि लाग्न सक्छ । गुदामैथुन गर्दा पानीमा घुल्ने चिप्लो पदार्थ जस्तै कि K-Y Jelly वा पर्याप्त थुक प्रयोग गर्न सकिन्छ । गुदामैथुन गर्न तपाई आफू मानसिक रूपमा तयार हुनुपर्छ । यसका बारेमा दुवैले राम्रोसँग कुराकानी गरी यौनसुख प्राप्तिमा दुवैको सहभागीता होस् भन्ने कार्यमा लाग्नुपर्छ । यसमा जोर जबरजस्ती गरिनु हुँदैन ।

यदि यौनसाथीमा संक्रमण छ भने कुुनै पनि यौनसम्पर्कमा जस्तै त्यो सर्ने सम्भावना हुन्छ, अर्को शब्दमा यौनरोगहरू गुदामैथुन गर्दा पनि सर्छन् । एचआईभी तथा अन्य यौनरोग सर्ने मामिलामा योनि–लिङ्ग मैथुनको तुलनामा गुदामैथुन बढी जोखिमयुक्त मानिन्छ । यसलाई निदान गर्न चिकित्सकसँग सम्पर्क राख्नुहोला । संक्रमण हुन नदिन कन्डम प्रयोग गर्नु उत्तम उपाय हो ।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय