गौरीफन्टाका साहुजीले दिएको एक चड्कन !

गौरीफन्टाका साहुजीले दिएको एक चड्कन !

एल.बुङ्ली

अनुभूति

गौरीफन्टा कैलालीको सिमावर्ती बजार हो । घरायसी सामाग्री खरिद गर्न अधिकांश नेपाली त्यहाँ जाने गर्दछन् । धनगढी बजारबाट झण्डै ४ कि.मि टाढामात्रै छ गौरीफन्टा । नेपाली ग्राहकले धानेको छ गौरीफन्टा बजार । नेपाली ग्राहकले धानेको भएपनि व्यवसायीले ग्राहकमाथि गर्ने व्यवहार चाहिँ राम्रो छैन । सुरुमा निकै मिठो शब्दले स्वागत गरे पनि अन्तिममा न्यू पारेर दुव्र्यवहार गर्न पनि खप्पिस छन्, गौरीफन्टाका व्यवसायी ।

हात नै समातेर सामान खरिद गर्न लगाउने, खरिद नगरेमा तथानाम गाली गर्ने गर्दछन् । त्यतिमात्रै होइन, दुर्व्यवहार नै गर्छन् । कतिपय व्यवसायी त हातपात नै गर्न पनि पछि हट्दैनन् । यस्ता दुव्र्यवहार दैनिक कयौं नेपाली ग्राहकले खेपिरहेका छन् ।

एकदिन स्वयं नै गौरीफन्टा गएको बेला अचम्मको दृष्य देख्न पाए । एकजना नेपाली ग्राहकलाई सामान खरिद गर्न व्यापारीले बिन्ती गर्दै पसलमा बोलाए । कुन सामान आवश्यक प¥यो भन्दै सोधे । ग्राहकले जवाफमा साइकल भन्यो । रकमको कुरा शुरु भयो । साहुजीले ५ हजार ६ सय भन्यो । ग्राहकले यति महंगो त हुन्न भन्यो । साहुजीले फेरि १ सय घटाउँदै ५५ सय रुपैयाँ दिनुहोस् त भन्यो । ग्राहकले फेरि मूल्य कटाउन आग्रह गर्यो । साहुजीले ल अन्तिम रेट ५४ सय नै भयो भन्यो । ग्राहकले पनि अन्तिम रेट ५३ सय दिन्छु भन्यो । साहुजीले पनि सहमति जनायो । बिहानको समय थियो । बजारमा त्यति चहलपहल थिएन । बरु बाँदरको हल्लाखल्ला बढी थियो । यहाँका बाँदरले व्यवसायीदेखि उपभोक्ता सबैलाई आजित बनाएका छन् ।

नेपाली ग्राहकले खल्तीबाट पैसा निकाल्यो । उसँग जम्मा ६ हजार नेपाली रुपैयाँ थियो । उसले सबै निकाल्यो । अनि खनखनी साहुजीको हातमा थमायो । साहुजीले पनि हातको औंलामा पानी लगाउँदै पैसा गन्यो । उसले पनि गनेर जम्मा ६ हजार पु¥यायो । व्यापारीले पसल छेउमा राखेको साइकल पार्किङबाट साइकल उठाउन भन्दै आफ्नै लवजमा उसले भन्यो– साइकल लेके आना भैया । ग्राहकले साइकल समात्यो । अनि साहुजीलाई भन्यो– दाई बाँकी पैसा पाउँ त ? साहुजीले जवाफमा कति बेलाको बाँकी पैसा ? ग्राहक अलि ठूलो स्वरमा बोल्छ– अरे… दाई के भन्नुहुन्छ ? अघिको नि ! मैले तपाईको हातमा ६ हजार दिएको बिर्सिनुभयो ? साहुजी प्रश्नको जवाफ फर्काउँदै भन्छ– अरे भैय्या मैले त ६ हजार नै भनेको हो त । ग्राहक निराश हुँदै भन्छ– दाई झूठ नबोल्नु न ? साहुजी चर्को स्वरमा बोल्छ बिहान–बिहान दिमाग नखाउँ न भैय्या । ग्राहक र साहुजीबीच चर्काचर्की सुरु हुन थाल्छ ।

ग्राहकः दाई बेइमानी नगर्नुहोस् न खुरुखुरु बाँकी रुपैयाँ पाउँ ?

साहुजीः अरे भैय्या, कति चोटी भनुँ तिमीलाई ६ हजारमा नै कुरो फिक्स भएको होइन ?

ग्राहकः दाई ५३ सयमा मात्रै फिक्स भएको हो । बाँकि सात सय रुपैयाँ बरु छिटो पाउँ ।

साहुजीः ए… भाई खुरुखुरु साइकल लग्छौं कि ? साइकल पनि भित्र राखिदिऔं ।

ग्राहकः तपार्इंले अति गर्नुभयो दाई । म प्रहरी कहाँ जान्छु ।

साहुजीः सुरुमा साइकल पार्किङमा अड्याउँछ, अनि जाउँजाउँ भन्दै चाखमा दुइ लात र गालमा एक चड्कन हिर्काउछ ।

ग्राहकः निराश हुँदै पसलबाट निस्किन्छ ।

ग्राहकः भारतीय प्रहरी कस्टम कहाँ जान्छ । कस्टमले गौरीफन्टामा रहेको प्रहरी पोष्टमा जान आग्रह गर्छ । ग्राहक जाँदैन । उसले हिन्दी भाषा बुझ्दछ । तर, बोल्न आउँदैन । भयो फसाद ! अनि ग्राहकले अब घर फर्किनुको विकल्प छैन भन्दै धनगढी आउने निधो गर्छ । आउँदा–आउँदै एउटा आइडिया फुर्छ– नेपाल प्रहरी कहाँ जाने अनि समस्या बताउने । ग्राहक सीमानामा रहेको त्रिनगर प्रहरी चौकी कहाँ जान्छ । तर, पहिले बोर्डर चेकिङमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समस्याको फेहरिस्त सुनाउँछ ।

ग्राहकले सम्पूर्ण समस्या बताउँछ । प्रहरीले भन्छ– हेर भाई तिमी चिन्ता नगर । अस्ति पनि त्यहाँका साहुजीहरुले नेपाली ग्राहकमाथि दुव्र्यवहार गरेका थिए । आज पनि गरे । तर, आज चाहिँ त्यस्तो गर्ने साहुजीले कारबाही भोग्छ । यति भन्दै एकजना प्रहरी र ग्राहक गौरीफन्टाको प्रहरी चौकीमा जान्छन् । चौकीमा पुगेपछि सबैकुरा त्यहाँ भएका चौकी प्रमुखलाई बताउँछन् । ग्राहकले हिन्दी भाषा नजान्ने भएका कारण नेपाली प्रहरीले उल्था गर्दै ग्राहकको समस्या सुनाउँछ । चौकी प्रमुख पनि भर्खरै सरुवा भएर आएकाले नेपाली भाषा त्यति राम्ररी बुझ्दैन्थ्यो ।

साहुजीका विरुद्ध निवेदन पनि एकजना नेपाली नागरिकले हिन्दीमा भन्दै ग्राहकले लेखेको थियो । यति गरेपछि ग्राहकसँगै केही जना भारतीय र एक जना नेपाल प्रहरी दुव्र्यवहार गर्ने व्यापारीको पसलमा गए । अनि दुव्र्यवहार गर्ने साहुजीलाई चौकीमा ल्याइयो । अनि चौकी प्रमुखले सोध्यो– किन दुर्व्यवहार गरेको ? उल्टा व्यापारीले भन्यो– कसले दुर्व्यवहार गरेको ? उसले ग्राहकलाई इङ्गित गर्दै अगाडि थप्यो– उनले नै सामान लैजाउँ भनेर लगेका हुन् । व्यापारीले झूठ बोलेको मबाहेक अरु केही प्रमाण थिएन । तर, उसको झूठ उसको चेहराबाट प्रष्ट देखिन्थ्यो । साहुजीले खल्तीबाट पैसा निकाल्दै ग्राहकको हातमा थमायो । आइन्दा ग्राहकसँग यस्तो व्यवहार नगर्ने सर्तमा बिना कागज साहुजीलाई पनि छोडियो । अनि ग्राहक पनि प्रहरीलाई धन्यवाद भन्दै धनगढी फिर्यो ।

यो त प्रतिनिधि घटनामात्रै हो । यस्ता घटना दिनहुँ भइरहेका छन् । तर, यसको नियन्त्रणका लागि न नेपालबाट पहल हुन सकेको छ, न त भारतबाट नै । नेपाली ग्राहक पनि मूर्ख नै हुन, पाँच–दश रुपैयाँ सस्तोका लागि भारतको बजारमा गएर सामान खरिद गर्छन् ।

वरिष्ठ पत्रकार कौशल चेम्जोङको ‘नेपालको इतिहासमा उदयपुर’ पाठककाे हातमा

उदयपुर । वरिष्ठ पत्रकार तथा अनुसन्धानकर्ता कौशल चेम्जोङको नयाँ कृति ‘नेपालको इतिहासमा उदयपुर (वि.सं. १९००–२००७)’ शुक्रबार लोकार्पण गरिएको छ।  त्रियुगा नगरपालिका कार्यालय, गाईघाटमा आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वि.सं. १९०० देखि २००७ सम्मको १०७ वर्षे ऐतिहासिक कालखण्डलाई केन्द्रमा राखेर तयार गरिएको ३६८ पृष्ठको यो पुस्तक सात अध्यायमा विभाजित छ। पुस्तकले उदयपुरको राजनीतिक विकासक्रम, प्रशासनिक संरचना, सामाजिक परिवर्तन, आर्थिक अवस्था र सांस्कृतिक रूपान्तरणलाई तथ्यपरक ढंगले प्रस्तुत गरेको प्रकाशक उदयपुर अनुसन्धान केन्द्र ले जनाएको छ। यसअघि ‘उदयपुरको इतिहास’ मार्फत प्रागैतिहासिक कालदेखि वि.सं. १९०० सम्मको इतिहास दस्तावेजीकरण गरिसकेका लेखक चेम्जोङले यो पुस्तकलाई त्यसै अनुसन्धान यात्राको दोस्रो खण्डका रूपमा प्रस्तुत गरेका हुन्। पुस्तकमा विशेषतः राणाकालीन शासन व्यवस्था, स्थानीय प्रशासनिक संरचना, सामाजिक विभाजन, शिक्षा, आर्थिक गतिविधि तथा राजनीतिक चेतनाको विकासलाई ऐतिहासिक प्रमाणका आधारमा विश्लेषण गरिएको छ। लोकापर्ण कार्यक्रममा पुस्तकका टिप्पणीकार तथा त्रियुगा जनता बहुमुखी क्याम्पस का प्रमुख प्राध्यापक डा. कैलाशकुमार राई ले केही भाषागत कमजोरी भए पनि उदयपुरको १०७ वर्षे इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण गर्नु पुस्तकको ठूलो उपलब्धि भएको बताए। उनका अनुसार इतिहासका विद्यार्थी, शोधकर्ता तथा स्थानीय इतिहासमा रुचि राख्ने पाठकका लागि यो कृति उपयोगी दस्तावेज बन्नेछ। लेखक चेम्जोङले झण्डै दुई दशकको अध्ययन, अभिलेख संकलन र क्षेत्रीय अनुसन्धानपछि पुस्तक तयार पारेको बताए। उनले अनुसन्धान क्रममा प्राप्त सामग्रीमा त्रुटि वा कमी देखिए आगामी संस्करणमा सुधार गर्दै जाने प्रतिबद्धता जनाए। साथै, पाठक र अनुसन्धानकर्ताबाट सुझावको अपेक्षा पनि व्यक्त गरे। चेम्जोङले अब वि.सं. २००७ देखि २०४६ सम्मको उदयपुरको राजनीतिक–सामाजिक इतिहास समेट्ने अर्को पुस्तक तयार पार्ने जानकारी पनि दिए। लेखकका अनुसार पुस्तक तयार गर्ने क्रममा प्रकाशित तथा अप्रकाशित पुस्तक, पुराना पत्रपत्रिका, सरकारी अभिलेख, स्थानीय दस्तावेज, अनलाइन स्रोत तथा पुरातात्त्विक सामग्रीको गहिरो अध्ययन गरिएको छ। यससँगै स्थानीय ज्येष्ठ नागरिक, सामाजिक अगुवा, पूर्वकर्मी, क्रान्तिकारी मुक्ति योद्धा तथा अनुसन्धानसँग सम्बन्धित व्यक्तिहरूसँग अन्तरक्रिया गरी मौखिक इतिहास पनि संकलन गरिएको छ। यसले पुस्तकलाई केवल लिखित सामग्रीमा सीमित नराखी बहुआयामिक बनाएको लेखकको भनाइ छ। पाण्डुलिपि अध्ययन तथा सुधार प्रक्रियामा त्रिभुवन विश्वविद्यालय इतिहास विभागका सह–प्राध्यापक डा. विजय मिश्र बाट महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको लेखकले उल्लेख गरेका छन्। स्थानीय तहबाट प्राप्त सहयोगले पनि पुस्तक प्रकाशनमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ। प्रकाशकीयमा उदयपुर अनुसन्धान केन्द्रले काठमाडौं–केन्द्रित इतिहासले नेपालको समग्र यथार्थ चित्रण गर्न नसक्ने उल्लेख गर्दै क्षेत्रीय तथा स्थानीय इतिहास लेखनलाई राष्ट्रिय आवश्यकता भएको स्पष्ट पारेको छ। केन्द्रका अनुसार वि.सं. १९०० देखि २००७ सम्मको अवधि नेपालको इतिहासमा राजनीतिक उतारचढाव, सामाजिक परिवर्तन र शासन व्यवस्थाको संक्रमणकालका रूपमा महत्वपूर्ण मानिन्छ। यही अवधिमा उदयपुरले भोगेका प्रशासनिक संरचना, आर्थिक सम्बन्ध, सामाजिक रूपान्तरण र राजनीतिक चेतनाको विकासलाई पुस्तकले ऐतिहासिक तथ्यका आधारमा उजागर गरेको दाबी गरिएको छ। पुस्तक सात अध्यायमा संरचित छ। पहिलो अध्यायमा अनुसन्धान पद्धति, स्रोत तथा पूर्वकार्यको समीक्षा समेटिएको छ। दोस्रो अध्यायमा नेपालको राष्ट्रिय राजनीतिक इतिहाससँग उदयपुरको सम्बन्ध र प्रभावबारे चर्चा गरिएको छ। तेस्रो अध्यायमा प्रशासनिक, न्यायिक र सैनिक संरचनाको अध्ययन गरिएको छ भने चौथो अध्यायमा सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थाको चित्रण गरिएको छ। पाँचौं अध्यायमा वि.सं. १९००–२००७ सम्मका महत्वपूर्ण घटनावली तथा २००७ सालको जनक्रान्तिमा उदयपुरको भूमिकालाई समेटिएको छ। छैटौं अध्यायमा निष्कर्ष र सातौं अध्यायमा स्रोत सामग्री तथा अनुसन्धान प्रक्रिया समावेश गरिएको छ। लेखक चेम्जोङका यसअघि ‘भूत लघुकथा संग्रह’, ‘उदयपुरको पर्यटन विकास, सम्भावना र चुनौती’, ‘जीवनका रङ्गहरू’, ‘उदयपुरको इतिहास’ र ‘उदयपुरको साहित्य’ लगायत कृतिहरू प्रकाशित छन्। लामो समयदेखि आख्यान र गैर–आख्यान दुवै विधामा सक्रिय उनी अनुसन्धानमूलक लेखनका परिचित नाम मानिन्छन्। मोफसलमा बसेर अनुसन्धान र प्रकाशन गर्नुपर्ने चुनौतीबारे बोल्दै लेखकले स्रोत अभाव, आर्थिक कठिनाइ, अभिलेखीय समस्या तथा संस्थागत सहयोगको कमीले अनुसन्धानमूलक लेखन कठिन बनेको बताए। उनका अनुसार स्थानीय इतिहास संरक्षण र अभिलेखीकरणका लागि राज्यले थप सहयोग गर्न आवश्यक छ। स्थानीय इतिहासलाई राष्ट्रिय विमर्शसँग जोड्ने उद्देश्य बोकेको ‘नेपालको इतिहासमा उदयपुर’ उदयपुरको ऐतिहासिक पहिचान उजागर गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ। इतिहास अध्ययनमा रुचि राख्ने पाठक, विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि यो पुस्तक उपयोगी सन्दर्भ सामग्री बन्ने अपेक्षा गरिएको छ।

भक्तपुरमा आजदेखि प्रसिद्ध बिस्का जात्रा सुरु

भक्तपुर । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिरअगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्‍याई भैरवनाथ (भैलखः) को रथ तानातान गर्दै जात्राको औपचारिक सुरुआत हुनेछ । यससँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्नेछ । जात्राको मुख्य आकर्षण भैलखः रथ तानातान हो । पहिलो दिन पाँचतल्ले मन्दिरबाट भैलखःलाई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका स्थानीयले डोरी तानेर आ–आफ्नो टोलतर्फ लगिन्छ । यस क्रममा दत्तात्रेयसम्म पुर्‍याई पुनः तमारी हुँदै गःहिटीमा पुर्‍याएर पहिलो दिनको जात्रा सम्पन्न गरिन्छ । जात्राको चौथो दिन ल्यसिङखेलमा ५५ हात लामो यसींद्यो (लिङ्गो) उठाइन्छ भने पाँचौं दिन नयाँ वर्षको दिन भैरवनाथ र भद्रकालीको रथलाई जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ । अन्तिम दिन भैलखःलाई पुनः तानातान गरी जात्रा समापन गरिन्छ । संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित छ । यसलाई प्रचलित ‘सर्प मार्ने’ किंवदन्ती गलत भएको उहाँको भनाइ छ । जात्रालाई मर्यादित र शान्तिपूर्ण बनाउन प्रशासनले विशेष सुरक्षा व्यवस्था गरेको छ । पहिलो र अन्तिम दिन भैलखः तान्ने समय दिउँसो ३ बजेदेखि ५ बजेसम्म मात्र सीमित गरिएको छ । रथमा निश्चित व्यक्तिबाहेक अरूलाई चढ्न नदिने, नाङ्गो खुट्टा राख्ने व्यवस्था मिलाइएको छ । करिब २ हजार प्रहरी परिचालन गरिने र चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

आज हनुमान जन्मजयन्ती मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने रामभक्त हनुमान जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानको पूजाआराधना गरेमा बल, बुद्धि, विद्या मिल्ने, दुःख र सङ्कटबाट मुक्ति पाइने विश्वास छ । यस अवसरमा हनुमानढोकास्थित हनुमानको मूर्ति, पशुपतिस्थित हनुमान मन्दिर, गोकर्णेश्वर नगरपालिकामा रहेको पञ्चमुखी हनुमानलगायत देशभरका हनुमान मन्दिरमा विशेष पूजाआराधना गरिन्छ । हनुमानढोका दरबारको नासलचोकनजिकै रहेको पञ्चमुखी हनुमान मन्दिरमा भने पुजारीले मात्र पूजाआराधना गर्ने चलन छ । संस्कृत व्याकरणअनुसार ‘हनु’ धातुमा ‘मतुप’ प्रत्यय लागेर हनुमान शब्द बनेको छ । हनुको अर्थ चिउँडो हो । यो हन् धातुबाट बनेको छ । ‘हन्’ धातुको अर्थ हिंसा अथवा गति भन्ने हुन्छ । अतः हनुमान शब्दको अर्थ वेगवान् गतियुक्त शक्ति भन्ने हुन्छ । हनुको अर्को अर्थ आज्ञापालक पनि भनिएको छ । त्यसैले पनि हनुमान भगवान् रामभक्त थिए भनिन्छ । भगवान् रामको जीवनमा भएका घटनाले हनुमानको व्यक्तित्वलाई सर्व प्रतिष्ठित ‘देव’ बनाइदिएको शास्त्रमा उल्लेख छ । भय मनुष्यको मूलभूत प्रवृत्ति हो । दुष्ट आत्माको प्रकोपबाट बचाउने वाला शक्तिको नाम हनुमान हो । पहिले बाँदरको नाम स्मरण वा दर्शन अशुभ मानिन्थ्यो । हात्तीलाई शुभ मानिन्थ्यो । हनुमानलाई ‘मङ्गलमूरत’का रूपमा अथवा सङ्कट मोचकको रूपमा पूजन गर्न थालियो । त्यसकारण बच्चादेखि बूढासम्म सबैले भयबाट मुक्तिका लागि ‘हनुमान चालिसा’को पाठ गर्ने परम्परा सुरु भएको जानकारहरू बताउँछन् । हनुमानलाई वायुका छोरा मानिन्छ । हनुमानले जुनसुकै रूप धारण गर्न सक्ने विश्वास गरिन्छ । शत्रुद्र संहितामा एकादश रुद्रमध्ये एघारौँ रूप हनुमानको मानिएको छ । रुद्रहरू हनुमान सम्प्रदायको विकास हुनु पूर्व नै अस्तित्वमा आइसकेको बताइन्छ । यसरी रामायणभन्दा पूर्व हनुमानको अस्तित्व रहेको शास्त्रीय मत छ । रामायण नै हनुमानका बारेमा जानकारी दिने सबभन्दा आधिकारिक स्रोत हो । वैदिक शास्त्रीय ग्रन्थमा पनि विष्णु अवतारका रूपमा जन्म लिनुभएका रामचन्द्रलाई सहयोग गर्न शिव अवतारका रूपमा हनुमानले पनि जन्म लिनुभएको वर्णन गरिएको छ । स्कन्द पुराणको अवन्तिखण्डमा हनुमानभन्दा जगत्मा ठुलो प्राणी कोही छैन भन्ने व्याख्या गरिएको छ । परब्रह्म, उत्साह, मति, प्रताप, सुशीलता, माधुर्य, नीति, गाम्भीर्य, चातुर्य, सुवीर्य, धैर्य आदि क्षेत्रमा हनुमानभन्दा अर्को ठुलो कोही पनि छैन भनी वर्णन गरिएको छ । यस अवसरमा आज स्त्री पुरुष बाल वृद्ध सबैले पवित्र नदीमा स्नान गरी व्रत एवं पूजाआराधना गर्दछन् । हनुमानलाई बजरङ्ग बलि पनि भनिन्छ, किनकि हनुमानको शरीर एक वज्रको समान थियो । हनुमान पवन पुत्रका रूपमा चिनिन्छन् । पाँचमुखी, अत्यन्त तेजस्वी पराक्रमी, पञ्चत्व र पञ्चरुद्र स्वरूपी, अति भयानक रौद्ररूपी हनुमानको ध्यान गर्नाले सबै काम पूर्ण हुन्छन् भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पण्डित बालमुकुन्द देवकोटा बताउँछन् । हनुमानको पूजाआराधना गरेमा रोगव्याधि, बाधा, राजाको भय, प्राकृतिक शक्तिको बाधा, पिचासी शक्ति, भूत, नकारात्मक तत्त्व, बतास, खोला, आगो, राक्षसी शक्तिको प्रकोप र बेतालबाट पनि मुक्ति पाइन्छ भन्ने मान्यता छ । हनुमानले भक्ति योग र कर्मयोगद्वारा रामको निकटता प्राप्त गर्नुभएको थियो । वैष्णव सम्प्रदायमा हनुमानलाई विभिन्न यौगिक शक्ति प्राप्तिका लागि पनि पूजा गर्ने चलन छ । आठ प्रकारका यौगिक शक्ति अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्रकाम्य, इशित्व र वशित्व हनुमानमा थिए । हनुमानलाई परब्रह्म र रौद्ररूपमा पनि स्मरण गरिन्छ । हनुमानको मूर्तिमा सिन्दूर लगाइएको हुन्छ । सिन्दूरले हड्डी एवं मांसलाई सुसङ्गठित शरीर निर्माणमा भूमिका खेल्दछ । यस अवसरमा आज देशभरका हनुमान मूर्ति एवं मन्दिरमा पूजाआराधना गर्नाका साथै शोभायात्रा निकाल्ने गरिएको छ । मङ्गलबार र शनिबार हनुमानको विशेष आराधना गर्ने गरिन्छ ।

आज महावीर जैनको २६२५औँ जन्म जयन्ती मनाइँदै

काठमाडौँ । जीवनभर सत्य, अहिंसा, अपरिग्रह, अस्तेय र ब्रह्मचर्यको सन्देश बाँडेका महावीर जैनको २६२५औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ । इसापूर्व ५९९ मा चैत्र शुक्ल त्रयोदशीका दिन भारतको वैशाली नजिकैको ‘कुण्डलग्राम’ नामक गाउँमा राजा सिद्धार्थ र रानी त्रिशूलाबाट उनको जन्म भएको थियो । राजपरिवारमा जन्मिए पनि शान्तिको खोजीका लागि महावीर जैन तपस्यामा निस्कनुभएको विभिन्न जैन ग्रन्थमा उल्लेख गरिएको छ । करिब १२ वर्ष तपस्या गरेपछि उनले मानव समुदायलाई जैन दर्शन बाँडेका हुन् । नेपाल जैन परिषद्का अध्यक्ष सुशीलकुमार जैन शास्त्रीय मान्यताअनुसार २४ वटा तीर्थङ्कर जैन छन् । धर्मको बाटो देखाउने भएकाले तीर्थङ्कर नाम दिइएको हो । हिंसा, सत्य र आफूलाई चाहिनेभन्दा बढी सङ्ग्रह नगर्ने सन्देश महावीरले दिएका थिए । अरूलाई दुःख दिनु पनि हिंसा भएकाले अरूको उपकार गर्नु नै अहिंसा हुने महावीरको विचार छ । उनको उत्तर अध्याय सूत्र कृति चर्चित छ । जसको नेपाली अनुवाद मानव लिन केन्द्रका संस्थापक डा मणिभद्र मुनिजीले गरेका छन् । महावीरको जन्मजयन्तीका अवसरमा नेपाल जैन परिषद्लगायत विभिन्न सङ्घ संस्थाले कार्यक्रम आयोजना गरी यो दिवस मनाउने जनाइएका छन् ।

लोकप्रिय