चितवनमा प्रचण्डका लागि मैदान खाली गर्न कांग्रेस–एमाले समर्थकहरूको जोड

चितवनमा प्रचण्डका लागि मैदान खाली गर्न कांग्रेस–एमाले समर्थकहरूको जोड

गोकर्ण भट्ट
चितवन, असोज ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी केन्द्रीय व्यवस्थापिका संसदको निर्वाचनमा चितवनबाट उम्मेदवारी दिने घोषणा गरेपछि अन्य प्रतिष्पर्धी दलहरूबीच ठूलो तरंग सिर्जना भएको छ ।

प्रचण्डले चितवनको कुन क्षेत्रबाट निर्वाचन लड्ने भन्ने निर्णय नभए पनि उनको उम्मेदवारी घोषणाले जिल्लामा बलियो प्रभाव राख्ने कांग्रेस एमालेभित्र निर्वाचन रणनीतिको चर्चा शुरू भएको हो ।

चितवनको चर्चित माडी नगरपालिकाका मेयर ठाकुर ढकालका अनुसार कांग्रेस र एमालेका स्थानीय नेता तथा समर्थकहरूले प्रचण्डको उम्मेदवारीको स्वागत गरेका छन् । ‘पञ्चायतदेखि बहुदल र गणतन्त्रसम्म चितवनका जनताले धेरैलाई सांसदमा जिताए’, ढकालले भने, ‘तर चितवनको समग्र विकासमा निर्णायक भूमिका खेल्ने नेताको अभाव जहिले पनि खड्की रह्यो । प्रचण्डले चितवनबाट लड्ने घोषणा गरेपछि अरु दलका स्थानीय नेता र कार्यकर्ता समेत उत्साहित बनेका छन ।’

ढकालका अनुसार स्थानीय स्तरमा उम्मेदवारी घोषणाले ठूलो तरंग ल्याएको छ । दोश्रो संबिधान सभाको निर्वाचनमा अर्को क्षेत्रबाट जिते पनि सांसद र पछि प्रधानमन्त्री भएको बेला चितवनको बिकासमा प्रचण्डले उल्लेख्य भूमिका खेलेका कारण समेत उनीप्रतिको आकर्षण बढेको हो ।

चितवनको आर्थिक र सामाजिक विकासमा प्रचण्डले कैयन योजना भित्र्याएको बताउँदै ढकालले भने, ‘कांग्रेस एमालेले सोझै समर्थन गरेर या कमजोर उम्मेदवार उठाएर प्रचण्डलाई जिताउनु पर्ने कुरा अन्य दलका साथीहरूले गरे । झन माडीका जनता त उत्साहित नै भएका छन् । मेयर तपाई र प्रचण्ड यताबाट सांसद हुनु माडीको बिकासका लागि भाग्य खुलेको समेत भन्न थालेका छन ।’

संगठनात्मक प्रभावका हिसाबले ३ नम्बर निर्वाचन क्षेत्रमा माओवादीको बलियो प्रभाव छ । ‘हाम्रो जोड चाहीँ अध्यक्ष कमरेड ३ नम्बरबाट नै चुनाव लड्नु भन्ने हो’ ढकालले भने, ‘पार्टीको व्हिप मान्ने बाहेक अरु सबै प्रचण्डकै पक्षमा छन ।’

स्थानीय तहको निर्वाचनमा चितवनका ३ वटा निर्वाचन क्षेत्रमा ३ लाख १५ हजार ९३९ मतदाता रहेका थिए । यसअघि संविधानसभाको दोस्रो निर्वाचनमा जिल्लामा दुई लाख ७३ हजार ८०३ जना मतदाता थिए ।

२४ राजनीतिक दलले निर्वाचन कार्यालयमा नाम दर्ता गराए पनि मुख्य प्रतिष्पर्धा भने कांग्रेस, एमाले र माओवादीबीच नै हुने देखिन्छ । क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेको प्रभाव केही देखिए पनि प्रचण्डले त्यहाँबाट उम्मेदवारी घोषणा गरे राप्रपाको अधिकांश मत प्रचण्डले पाउने चर्चा माडीमा सुनिन्छ ।

त्यसो त दलहरूले उम्मेदवारी घोषणा नगरेका कारण निर्वाचनको माहौल नै भने बनिसकेको छैन । तर प्रचण्डको उम्मेदवारी घोषणाले अन्य दललाई उम्मेदवार छनोटमा आप्ठ्यारो भने पारेको ढकाल बताउँछन् । ‘कांग्रेसभित्र तालमेलको चर्चा सुरु भएको छ । एमालेभित्र कमज़ोर उम्मेदवार उठाएर प्रचण्डलाई जिताउन सहयोग गर्नु पर्छ भन्ने आवाज सुनिन थालेको छ’ ढक़ालले भने, ‘भोली अन्य पार्टीले उम्मेदवार उठाए पनि आम मनोबिज्ञान भने प्रचण्डलाई जिताऊँ भन्ने छ ।’

प्रचण्डको राष्ट्रिय व्यक्तित्वका कारण चितवनको विकासमा नाटकीय परिवर्तन आऊन सक्ने चर्चा चिया पसलहरूमा नी चल्न थालेको देखिन्छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि चितवन जिल्लालाई मात्र केन्द्रित गरेर १ अर्ब ५२ करोड रुपियाँको बजेट घोषणा गरेका थिए । यो बजेट जिल्लाका बिभिन्न योजनाका लागि प्याकेज कार्यक्रमका लागि बिनियोजित गरिएको थियो ।

प्रधानमन्त्री हुँदा उनले प्याकेज कार्यक्रम अन्तर्गत चितवनमा औद्योगिक प्रदर्शनी केन्द्र स्थापनाका लागि १५ करोड, रंगशाला निर्माणका लागि ५० करोडको भरतपुर र पर्सामा चार–चार करोड रुपियाँको लगानीमा कभर्ड हल निर्माण, नारायणी नदी तटबन्धन गरी चक्रपथसहितको सडक निर्माण, भरतपुर उप महानगरपालिकाको जग्गामा सिटी हल, ल्यान्डफिल्ड साइट, भरतपुर महानगरपालिकाको–४ मा अन्डरग्राउन्ड पार्किङसहितको बहुतले सब्जीमन्डी निर्माण, जगतपुर हुँदै राप्ती पुल हुलाकी सडक कालोपत्रे गर्ने कार्यका लागि १ करोड ९९ लाख, चनौटे हुँदै गोलाघाट सडक कालोपत्रे गर्न १ करोड ५० लाख, मंगलपुर–शिवनगर सडकको स्तरोन्नतिका निम्ति १ करोड ८० लाख र शुक्रनगर–मेघौली सडक कालोपत्रे गर्न १ करोड ९९ लाख, गीतानगर बजारबाट शिवनगर बरको बोट हुँदै चनौलीसम्मको सडकका लागि १ करोड ५० लाख, माडी–खैरहनीपुर र शीतलपुरमा एकता स्तम्भ निर्माणलाई ५०÷५० लाख बजेट व्यवस्था गरेका थिए ।

‘९÷१० महिना सरकारको नेतृत्वमा रहदा दीर्घकालिन र अल्पकालिन विकासको नमूना प्रचण्डले देखाएका छन ।’ स्थानीय व्यवसायी बसन्त खरेलले भने, ‘यसले पनि सबै दलभित्र प्रचण्डको पक्षमा मत देखिएको हो । चितवनको विकास चाहने सबै वहाँको उम्मेदवारी घोषणाबाट खुशी र उत्साहित भएका छन् ।’

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय