चुनाव लडन नपाएपछि तनावमा सिटौला

चुनाव लडन नपाएपछि तनावमा सिटौला

झापा, पार्टीले समानुपातिकमा नाम राखेर निर्वाचन आयोगमा बुझाएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला तनावमा परेका छन् ।

उनले समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता गराउन पार्टी सभापति शेरबहादुर देउवामाथि दबाब बढाउँदै लगेका छन् । सिटौला आफ्नो पुरानो क्षेत्र झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।

तर, आइतबार कांग्रेसले सिटौलाको नाम एक नम्बरमा राखेर पार्टीको तर्फबाट समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगलाई बुझाएको थियो ।

आफूहरुसंग सल्लाहनै नगरि समानुपातिकमा नाम राखेको भन्दै सिटौला पक्षीय नेताहरुले सभापतिमाथि दबाब बढाएका हुन् ।

स्रोतका अनुसार सिटौलाले आफू समानुपातिकमा नबस्ने जानकारी सभापति देउवालाई गराइसकेका छन् ।उनले कुनै हालतमा प्रत्यक्षबाटै चुनाव लड्ने कुरा सभापतिलाई अवगत गराएको सिटौला निकट स्रोतको भनाई छ ।

यस विषयमा सिटौलाले सोमबार बिहान आफू पक्षीय नेताहरु रक्षामन्त्री भीमसेनदास प्रधान, गगन थापा, प्रदीप पौडेललगायतसंग छलफल गरेका छन् । स्रोतका अनुसार सिटौला पक्षले अन्तिम समयसम्म नाम फिर्ता लिन सभापतिमाथि दबाब बढाउने छ ।

सभापतिले समानुपातिकबाट नाम फिर्ता गर्न नलगाए सिटौलाले आफै निर्वाचन आयोगमा निवेदन दिएर नाम फिर्ता लिने छन् । ‘त्यस्तो अवस्था आए सभापति देउवालाई अफ्ठ्यारो हुन सक्छ’ एक नेताले भने,‘बन्द सूचीबाट नाम फिर्ता नभए सभापतिविरुद्ध वक्तव्यबाजी गरेर उहाँ (सिटौला) अघि बढ्नुपर्ने अवस्था सिर्जना हुन्छ ।’

उनले नाम फिर्ता गराउनेबारे पार्टीभित्रबाट सभापतिमाथि तीव्र दबाब रहेको बताए । ‘उहाँको नाम समानुपातिकमा राख्नेबारे सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेलसंग छलफल गर्दा, पौडेलले एक पटक सिटौलालाईनै सोध्नुपर्छ भन्नु भएको थियो’ उनले भने,‘तर, सभापतिज्यूले उहाँ (सिटौला) संग सल्लाहनै नगरि नाम बन्द सूचीमा राख्न लगाउनु भएछ ।’

उनका अनुसार सिटौलाले चुनावको तयारी स्वरुप १५ दिनदेखिनै आफू निकटकालाई झापा क्षेत्र नं. ३ मा खटाएका छन् । कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनेपछि सभापति देउवाले सिटौलालाई समानुपातिकमा राख्न चाहेका हुन् ।

गठबन्धनअन्तर्गत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पहिलो नम्बरमा सिटौलाको निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ३ आफूले पाउनुपर्ने प्रस्ताव राखेको थियो । राप्रपाले उक्त क्षेत्रबाट प्रतिनिधिसभाका लागि पार्टी महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने तयारी गरेको छ ।

राप्रपाले उक्त क्षेत्रमा आफूले चुनाव जित्ने दाबी गर्दै आएको छ । उनले भने, ‘राप्रपालाई जसरी पनि गठबन्धनमा ल्याउनुपर्ने थियो । त्यसैले सभापतिज्यूले राप्रपा अध्यक्षलाई सल्लाह गरौला भन्नु भएको थियो ।

तर, उक्त क्षेत्र राप्रपालाई छाड्न सकिन्छ कि सकिदैन भन्ने विषयमा सिटौलासंग कुनै छलफल भएको छैन ।’ स्रोतका अनुसार राप्रपाले क्षेत्र नं. ३ का लागि अन्तिमसम्म अडान राख्ने छ ।

राप्रपा स्रोतका अनुसार ३ नम्बर नपाए झापा क्षेत्र नं. २ दिनुपर्ने प्रस्ताव आउन सक्छ । सिटौलाको नाम समानुपातिकको बन्दसूचीमा राखेको खबर पाएका गृहजिल्लाका कांग्रेस कार्यकर्ता निराश देखिन्छन् ।

कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले स्थानीय तहको मतपरिणाम अनुसार क्षेत्र नं. ३ मा राप्रपाभन्दा कांग्रेस ८ हजार मतले अगाडी रहेको बताए । उनले चार स्थानीय तह रहेको उक्त क्षेत्रमा कांग्रेसको २१ हजार तथा राप्रपाको १३ हजार भोट रहेको बताए ।

जिल्ला सभापति उद्धव थापाले सिटौलालाई समानुपातिकमा राखे कांग्रेस झापालाई दूरगामी असर पर्ने बताए । सिटौलाले उक्त क्षेत्रमा ०४८ सालदेखि नै चुनाव लड्दै आएका छन् । उक्त बर्ष सिटौला एमालेका द्रोणचार्य क्षेत्रीसंग पराजित भएका थिए ।

कार्यकाल नसकिदै उनको निधन भएपछि ०५० मा भएको उपनिर्वाचनमा सिटौला निर्वाचित भएका थिए । ६ महिनापछि भएको मध्यावधिक निर्वाचनमा सिटौला एमालेका पुष्पराज पोखरेलसंग पराजित भएका थिए । त्यसपछि ०५६ र ०७० मा सिटौला निर्वाचित भएका थिए । ०६४ मा माओवादीका पूर्णसिंह राजवंशीसंग पराजित भएका थिए ।

कांग्रेस–एमालेबीच प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा दोस्रो संविधानसभा चुनावमा राप्रपा उदय भयो । उसका लिङदेन एमालेलाई पछि पार्दै सिटौलाका निकटतम् प्रतिस्पर्धी बने । ०७० को चुनावमा पराजित भएपनि लिङदेन उक्त क्षेत्रका बासिन्दासंगै रहे । फलस्वरुप स्थानीय तह चुनावमा राप्रपाले उक्त क्षेत्रभित्र पर्ने कचनकवल र हल्दिबारी गाउँपालिकाको नेतृत्व जित्न सफल भयो ।

यस कारण पनि राप्रपाले आगामी चुनावमा पनि उक्त क्षेत्र आफूले जित्ने दाबी गर्दै आएको छ । तर, झापावासीले एमाले अध्यक्ष केपी ओलीपछि जिल्लाकोतर्फबाट सिटौलालाई राष्ट्रिय राजनीतिमा विकल्पका रुपमा हेरेका छन् ।

क्षेत्रीय सभापति पोखरेलले भने,‘राष्ट्रिय राजनीतिमा उहाँको आवश्यकता अझै प्रमुख छ । जिल्लाको विकासका निम्ति पनि उहाले यस पटक चुनाव लड्नैपर्छ र लड्नु हुन्छ पनि ।’

इकांतिपुर डट कममा अर्जुन राजबंशीको रिपोर्ट साभार गरिएको

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय