दलहरुलार्इ मुख्यमन्त्री छान्ने चटारो, यी हुन चर्चाका उम्मेदवार !

दलहरुलार्इ मुख्यमन्त्री छान्ने चटारो, यी हुन चर्चाका उम्मेदवार !

काठमाडौं, ८ असोज । स्थानीय तहको निर्वाचन सकिएपछि मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तर्फ सबैको ध्यान केन्द्रीत भएको छ । दलहरुले मंसिरमा हुने चुनावका लागि सातवटै प्रदेशका मुख्य मन्त्रीको उम्मेदवार छनौटको गृहकार्य शुरु गरेका छन् । मुलुकमा पहिलो पटक कार्यान्वयन हुन लागेको मुख्यमन्त्रीको पदका लागि दलका युवा नेताहरु आकाक्षी देखिएका छन् ।

प्रमुख दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्रका युवा नेताहरु मुख्यमन्त्रीको दौडमा लागेका हुन् । प्रदेश सरकार प्रमुखको रुपमा काम गर्नका लागि सक्षम उम्मेदवारहरुको चर्चा पनि सुरु भएको छ । माओवादी केन्द्रले प्रदेश नम्बर एकका लागि मुख्य मन्त्रीमा गोपाल किँरातीलाई उठाउने तयारी गरेको छ भने अन्यमा गृहकार्य भइरहेको छैन् ।

प्रदेश नम्बर २ मा मात्रिका यादवको चर्चा भएपनि अन्य प्रदेशहरुमा माओवादीका मुख्य मन्त्रीको उम्मेदवार छान्न सकेको छैन् । माओवादीले दशैं लगत्तै मुख्य मन्त्रीका उम्मेदवारहरुको टुंगो लगाउने बताएको छ ।
कांग्रेस र एमालेभित्र ठूलादेखि युवा नेतालाई मुख्यमन्त्रीमा उठाउने चर्चा सुरु भएको छ । पूर्व मन्त्रीहरुदेखि लिएर हालका सांसदहरुसम्मले मुख्यमन्त्री बन्न रुची देखाएका छन् ।

प्रदेश नम्बर एक

प्रदेश नम्बर एकमा नेपाली कांग्रेसले युवा नेता विश्वप्रकाश शर्मालाई मुख्य मन्त्री उठाउने सम्भावना रहेको छ । नेविसंघका पूर्व अध्यक्ष शर्मा कांग्रेसका निर्वाचित केन्द्रीय सदस्य समेत हुन् । गत संविधानसभा निर्वाचनमा उनी झापा १ बाट झिनो मतले पराजीत भएका थिए ।

एक नम्बर प्रदेशमा कांग्रेसको तर्फबाट अमृत अर्यालको पनि चर्चा छ । उनी मोरङ कांग्रेसका पूर्व सभापति हुन् । एक नम्बर प्रदेशको मुख्य मन्त्री छनौटमा नेता कृष्ण प्रसाद सिटौलाको भूमिका रहने देखिन्छ । सिटौला कांग्रेस भित्र आफ्नै गुट निर्माणमा जुटेका छन् ।

तर अहिले सिटौला रामचन्द्र पौडल गुटसँगनै नजिक भएका छन् । विश्वप्रकाश शर्मा कांग्रेस महाधिवेशनको समयमा पौडेल गुटबाट देउवा गुटमा लागेका थिए । विराटनगरका नेता अर्याल चाहिँ कांग्रेसमा कोइराला परिवार निकट मानिन्छन् ।

प्रदेश नम्बर एकमा एमालेबाट भीम आचार्य, योगेश भट्टराई, हिक्मत कार्की र शेरधन राइको चर्चा छ । हिकमत कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीका नजिकका पात्र हुन् । शेरधन राई चाहिँ एमालेमा छिटो पदमा पुगेका नेता हुन् । एमालेबाट अशोक राई संघीय समाजवादी पार्टी गठन गरेपछि शेरधनले जनजाती समुहमा ठाउँ पाएका हुन् । उनी अहिले पोलिटव्युरो सदस्य छन् ।

आचार्य र भट्टराई चाहिँ एमाले भित्रकै हाइ प्रोफाइल नेता हुन् । अखिलका पूर्व अध्यक्ष भट्टराई काठमाडौंको ६ नम्बर निर्वाचन क्षेत्रबाट दुई पटक सम्म चुनाव हार्ने नेता हुन् । यसपटक उनले मतदाता नामावली ताप्लेजुङमा सारेका छन् । कुनै बेला बामदेव गौतमको समुहमा भट्टराई अहिले चाहिँ माधव नेपालको कोर टिममा छन् । झलनाथ खनाल निकट आचार्य दुई पटक सम्म सुनसरीबाट संविधानसभा चुनाव जितेका सांसद हुन् । संविधानसभामा एमालेको प्रमुख सचेतक र संस्कृति पर्यटन मन्त्री बनेका आचार्य एमाले सचिव हुन् ।

प्रदेश नम्बर दुई

प्रदेश नम्बर दुईमा कांग्रेसबाट आनन्द ढुंगाना, फरमुल्लाह मन्सुर र महेन्द्र यादवको चर्चा चलेको छ । यादव अहिले खानेपानी मन्त्री छन् । कांग्रेस नेता विमलेन्द्र निधिका नजिकका पात्र यादव तरुण दलको पूर्व अध्यक्ष पनि हुन् । मुख्यमन्त्रीको चुनावलाई लक्षित गरेर पर्वतका अर्जुन जोशीको नाम काटेर देउवा सरकारमा यादवलाई मन्त्री बनाइएको थियो । कतिपयले कांग्रेस सांसद अमरेश कुमार सिंहलाई मन्त्री मुख्यमन्त्रीको उम्मेदवारको रुपमा चर्चा गरेका छन् ।

फर्मुल्लाह मन्सुर अहिले श्रम मन्त्री हुन् । कोइराला परिवार नजिक भएर राजनीति गरेका मन्सुर कांग्रेस महाधिवेशनको पूर्वसन्ध्यामा देउवा गुटमा छिरेका हुन् । धनुषाबाट राजनीति गर्ने ढुंगाना कोइराला परिवार निकट रहेर राजनीति गरेका थिए । सुशील कोइरालाको निधनपछि उनी कर्नरमा छन् । पहिले निर्वाचित सांसद रहेका उनी अहिले समानुपाती सांसद हुन् ।

कांग्रेस भित्रको व्यवस्थापकिय क्रियाकलापमा उनी सक्रिय छन् । देउवाको टिमबाट उम्मेदवार बन्ने भएमा यादवको सम्भावना छ भने पौडल समुहले पाएमा चाहिँ ढुंगाना उम्मेदवार बन्ने सम्भावना रहेको छ ।

एमालेबाट स्थायी कमिटि सदस्य सत्यनारायण मण्डल, नागेन्द्र चौधरी र रघुवीर महासेठको चर्चा दुई नम्बरको मुख्य मन्त्री उम्मेदवारको रुपमा छ । स्थानीय चुनावमा दुई नम्बर प्रदेशमा एमाले कमजोर शक्ति हो । कुनै पार्टीसँग चुनावी तालमेल गरेमा मात्रै एमालेले मुख्य मन्त्री जित्ने सम्भावना रहने नेताहरु बताउँछन् ।

महासेठ धनुषामा २०६५ सालमा भएको उपचुनावमा उनी पूर्वराष्ट्रपति डा रामवरण यादवको ठाउबाट सांसद बनेका थिए । महासेठ एनआरएनएका पूर्व अध्यक्ष उपेन्द्र महतोका ज्वाईं समेत हुन् । दुई नम्बरमा महासेठले नै टिकट पाउने सम्भावना धेरै रहेको नेताहरु बताउँछन् ।

प्रदेश नम्बर तीन

प्रदेश नम्बर तीनमा कांग्रेसको तर्फबाट पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा र पूर्व उद्योगमन्त्री नवीन्द्रराज जोशीको नाम मुख्य मन्त्रीको रुपमा चर्चामा छ । दुवैले गत संविधानसभा चुनावमा काठमाडौंबाट प्रत्यक्ष चुनाव जितेका थिए । प्रचण्ड सरकारमा सहभागि यी दुइ नेता कांग्रेसका प्रभावशाली युवा नेता हुन् ।

जोशी रामचन्द्र पौडेलका विश्वासपात्र मानिन्छन भने थापा सिटौला समूहबाट महामन्त्रीमा लडेर पराजित भएका थिए । उद्योग मन्त्रीको रुपमा गरेका कामका कारण जोशीलाई मुख्यमन्त्रीको रुपमा अगाडी सार्ने पौडेल समूहको तयारी छ ।

तीन नम्बर प्रदेशमा एमाले बलियो शक्ति मानिन्छ । तीन नम्बरमा एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र शेरबहादुर तामाङको चर्चा छ । सबै प्रभावशाली नेता नै भएकोले कसले टिकट पाउँछ भन्नेमा अनुमान गर्न गाह्रो ठानिएको छ । शाक्य र तामाङको बढी सम्भावना छ । तीन नम्बर प्रदेश तामसालिङ क्षेत्र भएकोले शेरबहादुर तामाङलाई एमालेले अगाडी सार्ने सम्भावना रहेको एमाले स्रोतहरु बताउछन । ०७० को चुनावमा उनले सिन्दुपाल्चोकमा राप्रपा नेता पशुशपति शम्शेर राणालाई पराजीत गरेका थिए ।

पूर्व मन्त्री समेत रहेकी शाक्य कम्युनिष्ट आन्दोलनकी पुरानी नेत्री हुन् । काठमाडौं उपत्याकाको नेवार समूदायको समेत सहानुभूतिका लागि एमालेले शाक्यलाई अगाडी सार्ने सम्भावना रहेको एमाले बृत्तमा चर्चा छ ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर चारमा कांग्रेस नेताहरु धनराज गुरुङ, शंकर भण्डारी र ध्रुव वाग्लेको नाम मुख्य मन्त्रीको रुपमा चर्चामा छ । प्रदेश नम्बर चार कांग्रेस बलियो भएको प्रदेश हो । नेविसंघ र तरुण दलका पूर्व अध्यक्ष गुरुङ कांग्रेस भित्र स्पष्ट वक्ताको रुपमा चिनिन्छन् ।

प्रशिक्षण विभागमा रहेका गुरुङलाई गुरुङ बाहुल्यता रहेको प्रदेशको मुख्यमन्त्रीको रुपमा कांग्रेसले अगाडी सार्ने तयारी गरेको छ । खुम बहादुर खड्काको छत्रछायाँमा रहेका शंकर भण्डारी पनि मुख्य मन्त्रीका दावेदार हुन् । कांग्रेसका युवा नेता धुर्व वाग्लेको पनि मुख्यमन्त्रीको आकाक्षी उम्मेदवार हुन् ।

एमालेबाट रवीन्द्र अधिकारी, पृथ्वीसुब्बा गुरुङ, किरण गुरुङ र खगराज अधिकारीको नाम चर्चामा छ । कास्कीबाट संविधानसभा चुनावमा दुइपटक प्रत्यक्ष निर्वाचित रवीन्द्र संसदको विकास समितिका सभापति हुन् । अखिलका पूर्वअध्यक्ष समेत रहेका अधिकारी मुख्यमन्त्रीका बलिया उम्मेदवार हुन् । पृथ्वीसुब्ब एमाले संगठन विभाग प्रमुख हुन् । प्रदेश संयोजक किरण गुरुङ पनि मुख्यमन्त्रीका प्रतिस्पर्धीको रुपमा देखिएका छन् ।

प्रदेश नम्बर पाँच

पाँच नम्बरमा बालकृष्ण खाँण, चन्द्र भण्डारी, देवेन्द्रराज कंडेल र पुषा भुसालको नाम कांग्रेसमा चर्चा छ । तरुण दलका पूर्वअध्यक्ष खाँण देउवाका प्रिय पात्र हुन् । दुवै संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित खाँणले उम्मेदवार बन्न खोजेमा अरुको सम्भावना कम छ । पाँच नम्बरमा कांग्रेस कमजोर शक्ति हो ।

पाँच नम्बर प्रदेशमा एमालेका धेरै नेताले आँखा लगाएका छन् । एमाले उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय प्रदीव ज्ञवाली, गोकर्ण विष्ट, स्थायी कमिटि सदस्य शंकर पोखरेल र छबिलाल विश्वकर्मा समेतलाई उम्मेदवारको रुपमा हेरिएको छ ।

तर एमाले उपाध्य बामदेव गौतम, युवराज ज्ञवाली र पूर्व अर्थ मन्त्री विष्णु पौडेलको रुची पनि उम्मेदवार छनौटमा देखिनेछ । पाँच नम्बर प्रदेशको मुख्यमन्त्रीका रुपमा एमालेमा विष्टको ज्यादा चर्चा छ । उर्जामन्त्री रहेको समयमा उनले उल्लेख्य काम गरेका थिए ।

प्रदेश नम्बर ५ मा माओवादी केन्द्रबाट टोपबहादर रायमाझीको समेत चर्चा छ ।

प्रदेश नम्बर ६

प्रदेश नम्बर ६ मा कांग्रेस नेता जीवनबहादुर शाहीलाई मुख्य मन्त्रीको उम्मेदवारका रुपमा हेरिएको छ । सुर्खेतका हृदयराम थानीपनि मुख्य मन्त्रीको उम्मेदवार बन्ने सम्भावना रहेको छ । ६ नम्बर प्रदेशमा तीन वटै ठूला दलको बराबर जस्तै प्रभाव रहेको छ । शाही देउवा समूहका हुन भने थानी पौडेल समूहका ।

एमालेबाट प्रकाश ज्वाला, यमलाल कंडेल र गोरखबहादुर बोगटीको चर्चा छ । ६ नम्बर प्रदेशमा एमाले थोरै सिटकासाथ स्थानीय निर्वाचनमा अघि छ । तर यहाँ माओवादीको प्रभाव पनि राम्रो छ । माओवादी र कांग्रेसका बीचमा चुनावी एकता हुने सम्भावना पनि रहेको छ । पहिलो संविधानसभा चुनावमा प्रत्यक्ष जितेका कडेल दोस्रो संविधानसभा चुनावमा कांग्रेसका थानीसंग पराजीत भएका थिए ।

प्रदेश नम्बर ७

प्रदेश नम्बर सातमा कांग्रेस नेता रमेश लेखक, एनपी साउद र बिरबहादुर बलायरको नाम चर्चा छ । देउवाका विश्वासपात्र लेखक प्रदेशमा जान चाहेमा उनले टिकट पाउने सम्भावना रहन्छ । यदि उनी प्रदेशमा जान नचाहेमा चाहिँ बलायरले टिकट पाउने सम्भावना रहेको छ । सावदपनि एकजना उम्मेदवार हुन् ।


प्रदेश नम्बर ७ मा एमालेले कर्णबहादुर थापा र भानुभक्त जोशी मध्ये एक जनालाई उठाउने सम्भावना रहेको छ । तर प्रदेश नम्बर ७ मा एमालेको तुलनामा कांग्रेस बलियो शक्ति हो । प्रदेश नम्बर ७ को मुख्य मन्त्री उम्मेदवार छनौटमा एमाले नेता भीम रावलको हात रहने सम्भावना छ । माओवादी केन्द्रले लेखराज भट्टलाई अगाडि सार्ने सम्भावना रहेको माओवादी केन्द्रका एक नेताले बताए ।

अखिल क्रान्तिकारीको बन्दसत्र सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको बन्दसत्र सुरु भएको छ ।  विहान ८ बजेदेखि बन्दसत्र सुरु गर्ने कार्यतालिका निर्धारण गरेको भए पनि प्रतिनिधि टुंगो लाग्न समय लागेको र झरीका कारण साँझ पौने ५ बजे मात्रै बन्दसत्र सुरु भएको हो । बन्दसत्रले अध्यक्ष पञ्चा सिंह नेतृत्वको कार्यसमिति भंग गरी अध्यक्षता मण्डल गठन गरेको छ । बन्दसत्रमा राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको छ। अब बन्दसत्रको सबै काम बीरबहादुर थापाको अध्यक्षतामा रहेको ७ सदस्यीय अध्यक्ष मण्डलले गर्नेछ भने विधान र प्रतिवेदन पारित भएपछि निर्वाचन समितिले नेतृत्व चयनको प्रक्रिया सुरु गर्ने छ । नेतृत्व सहमतिबाट चयन गर्न पार्टी नेताहरुले प्रयास जारी राखेका छन्, सहमति नभएको खण्डमा प्रत्यक्ष निर्वाचनबाट नै सम्पूर्ण पदाधिकारी र केन्द्रीय सदस्यहरु निर्वाचित हुनेछन् ।   नेतृत्व चयनका लागि पार्टीको केन्द्रीय निर्वाचन आयोगले अधिवक्ता मुक्ति प्रधानको संयोजकत्वमा निर्वाचन समिति खटाएको छ । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिहरुले ३३ सदस्यीय पदाधिकारी र २४३ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछन् । पदाधिकारीमा खुल्लाबाट एक अध्यक्ष, खुल्ला ४, समावेशी ५ सहित ९ जना उपाध्यक्ष, खुल्लाबाट १ महासचिव, ९ उपमहासचिव, १२ सचिव र १ कोषाध्यक्ष रहनेछन् । एकता प्रक्रिया, राष्ट्रिय सम्मेलन आयोजक समिति वा अन्य कुनै विशेष अवस्थामा केन्द्रीय समितिको संख्या थपघट गर्न सकिने प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटीको एक तिहाइ नबढ्ने गरी ४८ सदस्यीय केन्द्रीय सचिवालयको प्रस्ताव विधानमा गरिएको छ ।

पर्यटन आर्थिक रुपान्तरणको महत्वपूर्ण क्षेत्रः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक रुपान्तरणका लागि पर्यटन महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । आज परेको ४५औं विश्व पर्यटन दिवसको अवसरमा शुभकामना दिंदै उहाँले यस्तो बताउनुभएको हो । ‘नेपाल प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनका दृष्टिले आकर्षक गन्तव्य हो। पछिल्ला वर्षहरुमा बाह्य पर्यटकको संख्या बढिरहेको छ भने आन्तरिक रुपमा पनि पर्यटन संस्कृति वृद्धि भएको छ’– उहाँले भन्नुभयो– ‘मेरो नेतृत्वको सरकारले पर्यटन क्षेत्रको पुरुत्थानका लागि लिएको नीति, कार्यक्रम र प्रयासको परिणामस्वरुप गत वर्ष सन् २०२३ मा लक्ष्यभन्दा बढी १० लाख १४ हजार पर्यटन भित्रिएका थिए र सन् २०२४ को आठ महिनामै ७ लाख २२ हजार पर्यटक भित्रिएको सुन्दा खुशी लागेको छ।’ चालु आर्थिक वर्षको बजेटका पाँच प्राथमिकताभित्र पर्यटन प्रवर्धनलाई महत्वपूर्ण क्षेत्रको रुपमा राखिएको उल्लेख गर्दै उहाँले यसको कार्यान्वयनमार्फत पर्यटन प्रवर्धनमा उल्लेख्य सुधार आउने र अर्थतन्त्रलाई सबल बनाउन थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै उहाँले विसं २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल शान्ति प्रक्रियालाई चाँडो पूरा गर्न दृढ रहेको बताउनुभयो । सङ्घर्षबाट उदाएको राष्ट्रको रूपमा नेपालले शान्ति र राजनीतिक स्थायित्वको महत्व बुझेको बताउँदै उहाँले आफ्नो नेतृत्वमा वर्तमान सरकार गठन भएपछि संसद्ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गरिसकेको जानकारी दिनुभयो । सङ्क्रमणकालीन न्यायसम्बन्धी सबै मुद्दालाई सधैँका लागि समाधान गर्न आफू प्रतिबद्ध रहेको स्पष्ट गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘हामी कानुन कार्यान्वयन गर्दा सत्य र न्यायसहित पीडितहरूको अधिकारको रक्षालाई प्राथमिकता दिनेछौँ। द्वन्द्वकालका पीडामा मल्हम लगाउने प्रयासस्वरुप क्षतिपूर्ति उपलब्ध गराउनका साथै मेलमिलापमा जोड दिनेछौँ।’ उहाँले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन संयुक्त राष्ट्रसङ्घसहित अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

देशब्यापी भारी वर्षा सुरु, आज र भोलि रात्री बस नचल्ने

काठमाडौं । पूर्वीकेन्द्रित वर्षा देशभर फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशभर सिमसिमदेखि भीषण वर्षाको सम्भावना छ । केही ठाउँमा त अत्यधिक वर्षाको चेतावनी दिइएको छ । मनसुनी वायु कायमै रहेका वेला बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीले देशभर वर्षा हुन थालेपछि सरकारले पहिरोको जोखिम रहेका क्षेत्रमा रात्रिबस चलाउन रोक लगाएको छ । गृह मन्त्रालयको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्डले भीषण वर्षाको आकलन भइ रेडअलर्ट (उच्च जोखिम) जारी भएकामध्ये ४२ पहाडी र हिमाली जिल्लामा शुक्रबार र शनिबार रात्रिबस चलाउन रोक लगाएको हो । कोशीका धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम र पाँचथर तथा बागमतीका मकवानपुर, धादिङ, नुवाकोट, रसुवा, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा दुई दिन रात्रिबस चल्न पाउने छैनन् । त्यस्तै, गण्डकीका म्याग्दी, बागलुङ, तनहुँ, स्याङ्जा, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ तथा लुम्बिनीका रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा र दाङमा रात्रिबस गुडाउन रोक लगाइएको छ । कर्णालीका जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुुदूरपश्चिमका डोटी र अछाममा पनि रात्रीबस चलाउन रोक लगाइएको छ । कोशीदेखि लुम्बिनीसम्मका धेरै स्थानमा वर्षा हुने, राति पश्चिममा पनि मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशीदेखि पश्चिममा लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा हुनेछ । त्यहाँदेखि पश्चिमी क्षेत्रमा भने केही स्थानमा वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही तथा सुदूरपश्चिम र  कर्णालीका थोरै स्थानमा भने भीषण वर्षाको चेतावनी दिइएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक वर्षाको आकलन छ । तराई हावाहुरी चल्नेछ ।  शुक्रबार राति भने  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका धेरै स्थानमा वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थान पानी पर्ने देखिएको छ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा भीषण तथा बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा  अत्यधिक वर्षाको पनि सम्भावना छ । शनिबार भने बागमतीदेखि पश्चिममा लुम्बिनी (मधेशबाहेक) का धेरै क्षेत्रमा वर्षाको सम्भावना  छ । तर, बाँकी प्रदेशका भने केही स्थानमा वर्षा हुनेछ । बागमती, गण्डकी र लुम्बिनीका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भीषण तथा  गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा अत्यधिक वर्षाको पनि चेतावनी दिइएको छ । राति गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने देखिन्छ ।  

लोकप्रिय