दुई सय दुई पटक रक्तदान गरेका मैनालीद्धारा अमेरिकामा आत्मदाह
काठमाडौं, २९ माघ । दुई सय दुई पटक रक्तदान गरेका अर्जुन प्रसाद मैनालीले अमेरिकामा आत्मदाह गरेका छन् । अमेरिकाको नर्थ क्यारोलिनास्थित लट्टा नेचर प्रिजर्भस्थित पार्कमा उनको शव कार भित्र जलेको अवस्थामा फेला परेको छ ।
अमेरिका निवासी पुरुषोत्तम ढकालले दिएको जानकारी अनुसार प्रहरीले पूर्ण रुपमा जलेको अवस्थामा शव भेट्टाएको हो । उनी एउटा भाडाको कार लिएर सो पार्कमा पुगेका थिए । उनी चढेको कार पनि जलेको छ । कारमा आगो लगाएर आत्महत्या गरेको अनुमान गरिएको छ ।
मैनालीको शव अहिले नर्थ क्यारोलिना प्रहरीको प्यारामेडिकल टिमले अनुसन्धानका लागि लगेको ढकालले बताए । परिवारलाई प्रहरीले निधन पुष्टि गर्दै पत्र दिइसकेको पनि उनको भनाइ छ ।
मैनालीले फेसबुकमा लामो स्टाटस लेख्दै आफूले आत्महत्या गर्न लागेको बताएका थिए । सो स्टाटसबारे बेल्जियमबाट एकजनाले फोन गरेर आफूलाई सुनाएपछि आफूले पढेर नर्थ क्यारोलिना प्रहरीलाई जानकारी दिएको ढकालले बताए ।
‘मैले जानकारी दिएपछि प्रहरीले खोजिनिति सुरु गर्यो । डेढ घण्टापछि शव फेला परेको जानकारी आयो,’ उनले भने ।
काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७/०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन् । सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवार सहित बसिरहेका थिए । उनको परिवारमा श्रीमती एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ भने छोरा सानै छन् ।
मैनालीका साला र उनको परिवार पनि नर्थ क्यारोलिनामै बस्छन् । मैनालीले आफ्नो स्टाटसमा आत्महत्या गर्नुको कारण साला र सालाकी पत्नीलाई लगाएका छन् ।
आफ्नो स्टाटसमा मैनालीले ‘अग्नीको बाटोबाट परलोक जान लागेको’ लेखेका छन् । यसका लागि आफूले ४ दिन अगाडि सेतो कार भाडामा लिएर आएको स्टाटसमा उल्लेख छ । उनले लेखेका छन्, ‘४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, यो कारमा को आएको छ ? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरि उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवान्ले साथ दिउँन् ।’
मैनालीको स्टाटस जस्ताको तस्तैः
प्यारी श्रीमती तारा,
धेरै धेरै माया!
आज म परलोक जादै छु । सालो रमेश र उसकी श्रीमती अस्मिताले मलाई गत अप्रिलमा तिम्रै अगाडि शब्दबाटै मार्न प्रयास गरेको तिमीलाई थाहै छ । मानिसलाइ मार्न हतियार चाहिदो रहेनछ, शब्द पनि काफी हुदो रहेछ । जीवनभरी सँगै बस्ने प्यारी श्रीमतीको आफन्तसँग के झगडा गर्नु भनेर शान्त रहेँ । मेरो आफ्नै स्वास्निको सामुन्ने तात्व न छारोको कुरामा नामर्द, निच, खत्तम परिवारको मानिस, सँस्कार नभएको मानिस जस्ता शब्दले प्रहार गर्दा तिम्रो (मेरो श्रीमतीको) मनमा के भयो होला! यसरी उसले आफु असल परिवार र सँस्कार भएको उदाहरण पनि दियो । त्यो पनि हामी सुत्न लागि रहेको समयमा रातको १०:१५ बजे तिनिहरुका ९-१० बर्षकी छोरी, १३-१४ बर्षका छोरा सहित हाम्रो घरमा आयर गरेको झगडाको दुरगामी असर दुई तीन पुस्तासम्म त पुग्ने नै भई हाल्यो। अझ मेरो छोरो सुत्न लागि सकेकोलाई समेत उठाएर झगडा गर्दा उसको मनमा के भयो होला! त्यो झगडाले छोरोको भोलिपल्टको जाँचमा सहभागी हुन नसकेको तिमीलाई थाहा नै छ । रमेश ग्रिडी र सेल्फिस त छँदै थिय, तर यसरी क्राइम नै गर्ला जस्तो लागेको थियन । उसले आफ्नो स्वास्निको गर्मीलाई शितल बनाउन तिम्रो घरबार बिग्यारो, बिधुवा बनायो, छोरोलाई टुहुरो बनायो, मेरो आमाको काख रित्यायो । यत्रो ठुलो नोक्सन बनाएर उसले के जित्यो? के पायो? अब तिम्रो क्षतिलाइ उसले सुनकै घर बनाएर दिय पनि पुर्ती हुन सक्ला त?
छोरीको बिहे सकिन्जेलसम्म म घाइते भई बाँची रहेको थिएँ । मेरो कारणले छोरीको बिहे १ बर्ष ढिलो नहोस भन्नेमा पनि सचेत थिएँ । बिहे सम्पन्न भयो । ४ दिन अगाडि अग्निको बाटोबाट म परलोक जान सेतो कार भाडामा लिएँ । कारलाई कतै लुकाएर राख्न भुलेछु । छोराले सोध्यो, ‘यो कारमा को आएको छ’? त्यसपछी यो कार लुकाएँ । जब परलोकको लागि घरबाट बाहिर निस्कन खोज्छु तब झलक्क तिम्रो मलिन अनुहार आँखा अगाडि देख्थेँ । अनी मेरो आँखा रसाउथे । मन रुन्थ्यो । हरेक पल बाहिर निस्कन खोज्थेँ । फेरी उही हुन्थ्यो । आज मनलाई बेसमारी बाँधेर निस्केँ । अब म केही बेरमा परमधाम पुग्नेछु । घरमा तिमी र छोरोमात्रै हुनेछ्यौ । केही दिन तिमीलाई धेरै गाह्रो हुनेछ । न आत्तिनु । तिम्रो पिडालाई शक्तिमा बदल्न भगवानले साथ दिउन ।
गतबर्ष अमेरिकामा ५० हजारजना राजिखुशी परलोक गएछन । अग्निकोबाटोबाट १ प्रतिशत भन्दा कम गएका रहेछन । यो बाटो ज्यादै नै पिडादायक छ । आज म यही बाटो जाँदै गर्दा मेरो अकल्पनिय चित्कार, दु:खले रमेश अस्मिताको मनलाई धेरै शितल र शुखानुभुती हुन्छ नै होला । त्यहिनै घडीमा मेरो शुभचिन्तकहरुलाई धेरै नराम्रो लाग्नुको साथै शोकमा हुनुहुनेछ । मेरो दु:खत निधन भएतापनी मेरा शुभचिन्तकज्युहरुले रक्तदान, रक्तदान उत्प्रेरणा, रक्तदान कार्यक्रम, रक्तदाता संगठन जस्ता कुरालाई निरन्तरता दीइ रहनुहुनेछ भन्ने लागेको छ । ता कि समुदायमा कोही पनि बिरामीहरु रगत अभावले नमरुन । मैले बिगत ३६ सम्म गरेका कर्म-धर्मलाई ब्लड डोनर्स एसोसिएसन नेपालले ‘द गिफ्ट अफ लाइफ’ प्रकाशित गरेको छ । सायद त्यस पुस्तकबाट रक्तदानकाबारेमा केही सिकुन । प्रेरित हुन । अरु के भनम! मसँग यत्रो पिडा रहँदै गर्दा समुदायका हरेक सामाजिक कार्यमा लागि रहेँ । दुखेको मनलाई लुकाइ राखेँ । आज बिगत १ बर्षदेखिको दु:ख सकिदै छ ।
म, तिमी, छोरा-छोरी (अमुन-अमित) र आमामा धेरै क्रितग्य छु । तिमी धेरै असल श्रीमती रह्यौ । छोरा-छोरी पनि असल नै भए । घर, जागिर पनि राम्रै थियो । नराम्रो मानिसको कु द्रिष्ट्री पर्यो । सबै सत्यनास भयो । अब मैले बारबार जन्म लिनु नपरोस । यदी परेमा फेरिपनी तिमीलाई नै पाउँ । जस्तो सुकै गाह्रो परिस्थिती आय पनि हतोत्साहित नहुनु । तिमीलाई धैर्य धारणा गर्न सक्ने शक्ती मिलोस । तिम्रो श्रीमान । ॐ नम शिवाय !
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं
भर्गो देवस्य धीमहि
धियो यो नः प्रचोदयात॥
प्रहरी आन्तरिक प्रतिवेदन: जेनजी प्रदर्शनपछि ९८ हजार भन्दा बढी गोली हराएको पुष्टि
काठमाडौं । भदौ २३–२४ मा काठमाडौं उपत्यका र उपत्यका बाहिर भएको जेनजी प्रदर्शनपछि प्रहरीले ठूलो मात्रामा गोली र हतियार हराएको आन्तरिक छानबिनमा पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समिति द्वारा तयार गरिएको प्रतिवेदन आईजीपी चन्द्रकुवेर खापुङलाई बुझाइएको छ । छानबिन अनुसार, जेनजी प्रदर्शनपछि करिब ९८ हजार धातुको राउण्ड (जङ्ग्री राउण्ड) रेकर्डमा नभेटिएको देखिएको छ। काठमाडौं उपत्यकाबाट मात्र करिब ६ सय राउण्ड गोली हराएको प्रतिवेदनमा उल्लेख छ । प्रदर्शनकारीले डमी राउण्ड समेत लुटेको पाइएको छ। करिब २ हजार २०० डमी राउण्ड रेकर्डमा छैन । त्यस्तै, जेनजी आन्दोलनपछि फायर गरिएको बाहेक १३ सय रबर बुलेट, २ हजार ८ सय अश्रुग्याँस सेल, र १७ सय म्याग्जिन (गोली राख्ने भाँडो) हराएको विवरण प्रतिवेदनमा संकलन गरिएको छ । प्रहरीले प्रदर्शन नियन्त्रणका लागि करिब ६५ सय राउण्ड गोली, २५ सयभन्दा बढी रबर बुलेट, २५ सय भन्दा बढी ब्ल्याङ्क राउन्ड, र ८ हजार अश्रुग्याँस सेल प्रहार गरेको छ । काठमाडौं उपत्यकामा मात्र ४ हजार अश्रुग्याँस सेल प्रहार भएको थियो । प्रदर्शनपछि करिब ३५ सय राउण्ड गोली र २ सय अश्रुग्याँस सेल बरामद भएको छ । आन्तरिक प्रतिवेदन अनुसार करिब १२ सय हतियार हराएकोमा ७४७ थान भेटिएको छ । तर, प्रहरीका अनुसार अझै ४५३ हतियार बाहिर रहेका छन् । एकजना उच्च प्रहरी अधिकृतका अनुसार, बानेश्वरसहित देशभर प्रदर्शनकारी भगाउन प्रयोग भएका सामग्रीहरूमा ठूलो मात्रा हराइरहेको अवस्था छ ।
बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ
ललितपुर । नेपाल प्रहरीले ललितपुरको बिएन्डबी अस्पताल नजिकैबाट चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक चक्र जोशीका अनुसार बिहीबार ललितपुर महानगरपालिका–१७ स्थित बिएन्डबी अस्पताल ग्वार्को छेउमा रहेको आगमन थकाली चुलो एन्ड क्याफेबाट अवैध रूपमा लुकाइछिपाई राखेको चितुवाको छालासहित दुई जनालाई पक्राउ गरिएको हो । “नेपाल सरकार वन तथा संरक्षण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको संरक्षित जीवहरूको सूचीमा रहेको चितुवाको छाला अवैध रूपमा लुकाइछिपाई कारोबार हुँदैछ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी बृत्त सातदोबाटोबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा पुग्यो, त्यहाँ भेटिएका शङ्कास्पद व्यक्तिहरू जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका–५ का वर्ष ४६ की मथुरा विक र जिल्ला काठमाडौँ शङ्खरापुर नगरपालिका–६ का वर्ष ४० की रामदेवी श्रेष्ठलाई चेकजाँच र खानतलासी गर्दा निजहरूमध्ये रामदेवी श्रेष्ठले बोकेको सेतो हातेझोलाभित्र चितुवाको छालाजस्तो देखिने ओखेटो पहार एक थान फेला परेको छ,” उनले भने, “उनीहरूबाट कलर्स कम्पनीको किप्याड मोबाइल एक थान र आइटेल कम्पनीको एन्डरोइड फोन एक थान फेला पारिएको छ, प्रहरीले नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।”
गुल्मी कारागारकाे क्षमता २५, कैदीबन्दी १०८ जना
गुल्मी । गुल्मीस्थित कारागार कार्यालयमा २५ जना मात्र कैदीबन्दी राख्ने क्षमता भए पनि हाल १०८ जना कैदीबन्दी रहेका छन् । विसं २०२४ सालमा स्थापना भएको तम्घासस्थित उक्त कारागारमा २० जना पुरुष र पाँच जना महिला गरी २५ जनाको क्षमता रहेको जेलर रेश्मीराज पन्थीले जानकारी दिए । हाल कारागारमा १०२ जना पुरुष, पाँच जना महिला र एक जना आश्रित रहेका छन् । तीमध्ये पुरुष कैदी ७१ जना र थुनुवा ३१ जना छन् भने महिला कैदी चार र थुनुवा एक जना छन् । जेलर पन्थीका अनुसार यहाँ रहेका कैदीबन्दीमध्ये कर्तव्य ज्यानसम्बन्धी १८, जबरजस्ती करणी ५९, सवारी ज्यान ३, चोरी ११, बहुविवाह ५, अभद्र व्यवहार १, हातहतियार खरखजाना १, ज्यान मार्ने उद्योग ३, आपराधिक उपद्रव (आगोलागी) १, अप्राकृतिक मैथुन १, भ्रष्टाचार २, कुटपिट १ र अन्य ज्यानसम्बन्धी कसुरमा २ जना रहेका छन् । क्षमता भन्दा धेरै कैदीबन्दी भएकाले आवास र सुरक्षासम्बन्धी समस्या देखिएको जेलर पन्थीले बताए । “तारबार निर्माण गर्न जरुरी छ । सुरक्षाकर्मीका आवास गृह जीर्ण छन् र कर्मचारीलाई समेत आवासको अभाव छ,” उनले भने । विभिन्न अपराधमा सजाय भुक्तान गरिरहेका कैदीबन्दीलाई सिप सिकाएर आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ । हाल कारागारमा बाँसका मुढा, फर्निचर र ढाकाका कपडा उत्पादन हुँदै आएका छन् । फर्निचर निर्माणमा ५० जना, मुढा उत्पादनमा ३५ जना, ढाकाका सल बुन्नेमा १५ जना र स्वेटर बुन्नेमा ६ जना कैदीबन्दी संलग्न छन् । कारागारलाई सानो औद्योगिक ग्रामको रूप दिन खोजिए पनि तालिम र काम गर्ने स्थानको अभाव रहेको जेलर पन्थीले बताए । तयार सामग्रीको बजार व्यवस्थापनमा पनि कठिनाइ देखिएको छ । शिक्षा र मनोपरिवर्तनका लागि कारागारमा पुस्तकालय स्थापना गरिएको छ तर नयाँ पुस्तकको अभाव छ । खेलकुदतर्फ कैदीबन्दीले भलिबल, ब्याडमिन्टन, चेस, क्यारेमबोर्ड र लुडोमा रुचि देखाएका छन् । पछिल्लो समय उनीहरू तरकारी खेतीतर्फ पनि आकर्षित भएका छन् । कारागार परिसरमा मौसमअनुसारका तरकारी—जस्तै खुर्सानी, भान्टा, स्क्वास, फर्सी, घिरौंला, भिन्डी, काउली आदि—खेती भइरहेको छ । जीर्ण भवनको भित्री र बाहिरी भागमा रङरोगन, कार्पेटिङ र ढलान गरी वातावरण सुधार गरिएको जेलर पन्थीले जानकारी दिए । पुरुष र महिला कैदीबन्दीका लागि सुताइ व्यवस्था सहज बनाउन डबल टेकर खाटको व्यवस्था गरिएको छ ।
कुटपिट गरी नगद र सुन लुटपाट गर्ने गिरोह पक्राउ
काठमाडौँ । कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपालिका–२७ जमलस्थित सडकपेटीमा पैदल हिँड्दै गरेका व्यक्तिलाई कुटपिट गरी नगद र सुनको सिक्री लुटपाट गर्ने तीन जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा घर भई हाल चन्द्रागिरि बस्ने २१ वर्षीय अर्जुन श्रेष्ठ, झापाको झिलझिले घर भई काठमाडौँको नैकाप बस्ने २० वर्षीया सिर्जना राई र रामेछाप घर भई काठमाडौँको डल्लु बस्ने २२ वर्षीया विनिता मगर रहेका छन् । परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पैदल हिँडेका व्यक्तिलाई कुटपिट गरेर सामान लुट्ने गिरोहमाथि जिल्ला अदालत काठमाडौँबाट ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । उनीहरुले पैदल हिँड्ने व्यक्तिसँग २३।३० ग्राम सुनको सिक्री, एक थान मोबाइल र रु दुई हजार २३५ नगद लुटपाट गरेका थिए ।

