नबिना लामाजी, आउनुस् ५ मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुस्

नबिना लामाजी, आउनुस् ५ मिनेट समय दिएर प्रचण्डको हैसियत जान्नुस्

नबिना लामाजी, नमस्कार

तपाईँले एक निजी टेलिभिजनमा अन्तर्वार्ताको क्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हैसियत के हो ? भनेर सोध्नुभएको रहेछ । प्रचण्डलाई आफ्नो हैसियत सुनाउने फुर्सद नभएका कारण मैले उहाँका केही हैसियतहरु तपाईँसमक्ष राख्ने अनुमति चाहान्छु ।

नम्बर १.  नबिना लामाजी, प्रचण्ड तपाईँ सांसद रहेको पार्टी नेकपाको अध्यक्ष हुनुहुन्छ। दुई–दुई पटकसम्म यो देशको प्रधानमन्त्री बन्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि १२ वर्षसम्म भूमिगत भएर जनयुद्ध सञ्चालन गर्नुभएको छ । विएस्सीसम्मको अध्ययन गर्नुभएको छ । चुनाव जितेको हालको सांसद पनि हुनुहुन्छ । हरेक बिहान दुई घण्टा कसरत गर्नुहुन्छ । यस्तो छ नबिना लामाजी प्रचण्डको हैसियत ।

नम्बर २. बरु तपाईँको हैसियतचाँही के हो नबिना लामाजी ? कहाँबाट चुनाव लड्नुभएको हो ? कति मत लिएर जित्नुभएको हो ? संसदमा कसरी छिर्नुभएको हो ? म यस्तो प्रश्न तपाईलाई गर्दिन । म यहाँ प्रश्न गर्न उपस्थित भएको हैन । जम्माजम्मी तपाईँ सांसद जस्तो मान्छेलाई पनि प्रचण्डको हैसियत थाहा नभएका कारण बुझाउन आएको हो । बुझे बुझ्नुहोस्, नबुझे थाहा नपाए जस्तो गर्नुहोस् ।

नम्बर ३. अचम्म के भने गणतन्त्र विरोधी, संविधानसभा बिरोधी, संघीयता विरोधी, समावेशी-समानुपातिक नेपाल विरोधी, धर्मनिरपेक्षका विरोधी, राजतन्त्र अन्त्यका विरोधीले प्रचण्डको हैसियतका बारेमा चासो राख्नु त स्वभाविक थियो, तर सयौं वर्षदेखि उत्पीडनमा परेको एउटा निम्छरो समुदायको समानुपातिक सांसदले प्रचण्डको हैसियतमाथि प्रश्न उठाएको देख्दा नरमाइलो लाग्यो । यो त ‘सौतेनी आमालाई खुसी पार्न आफ्नै आमालाई पिटे’ जस्तो भयो । नबिनाजी, प्रचण्ड तपाईँलाई सांसद बनाउने समावेशी/समानुपातिक एजेण्डाको जननी हो, आमा हो । के कुरा बुझ्नुभयो ?

नम्बर ४.  नबिना लामाजी, तपाईँ सांसद भएर पनि कस्तो थाहा नपाएको गाँठे ! प्रचण्डको हैसियत संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । प्रचण्डको हैसियत संविधानसभा हो। प्रचण्डको हैसियत संघीयता हो । प्रचण्डको हैसियत समावेशी नेपाल हो । प्रचण्डको हैसियत समानुपातिक राज्य हो । प्रचण्डको हैसियत धर्मनिरपेक्ष नेपाल हो । बयलगाढा चढेर अमेरिका पुगिँदैन भन्ने को हो नबिनाजी ? गुलेली चलाएर संघीयता आउँदैन भन्ने पनि जान्नुभएकै होला ।

नम्बर ५. नबिनाजीलाई प्रचण्डको हैसियत थाहा छैन भनौ भने पनि समानुपातिक, समावेशी कोटाबाट सांसदको टिका लगाउनुभएको छ । उहाँले सोच्नुभएको होला, केपी ओलीबाले मलाई यो सांसदको पद छोरी समान मानेर दाइजो जस्तो उपहार दिनुभएको हो, त्यसैले बाको खातिरदारी गर्नुपर्छ। तर गलत नबिना जी, गलत । यो समावेशी, समानुपातिक कोटा माग्दा हजारौले बलिदानी दिनुपरेको छ । समावेशी राज्य बनाउँदा हजुरका बाहरुले त देश टुक्रिन्छ पो भन्थे । तर, प्रचण्डले गोरु जस्तो जोतिएरै भए पनि उत्पीडनमा परेका समुदायको लागि समावेशी ब्यवस्था ल्याएरै छाडे । प्रचण्डको हैसियत तपाईँको पदसँग गाँसिएको छ। बुझ्नुभयो ?

नम्बर ६. प्रचण्डको हैसियत भनेको २/२ ठाउँबाट चुनाव हारेका तत्कालीन एमाले नेता माधव कुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाउनु हो नबिना जी । किनकी उनीहरु फरक पार्टीका नेता त थिए तर समान उदेश्यका लागि हिँडिरहेका थिए । संसारमा यस्ता हैसियत भएका नेता बिरलै पाइन्छन्, जसले आफू आलोचना सहेरै भएपनि राजनीतिक सहयात्रीको गुण इमान्दारिताका साथ तिर्छ । त्यतिखेर सायद तपाई काभ्रेतिर मकै खन्दै हुनुहुन्थ्यो होला ।

नम्बर ७. प्रचण्ड प्रधानमन्त्रीको कारखाना त हैनन् तर पहिलो पटक पनि दोश्रो पटक पनि केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको ठूलो भूमिका छ। त्यतिबेला चुनाव गठबन्धन बनेकाे थियो, एक्लै एमाले लडेको थिएन । यसकारण केपी ओलीको मुख हेरेर जनताले दुई तिहाई मत झण्डै दिए भन्नु दिवा सपना हो। अब पार्टी एकता कुन दु:खको साथ भएको थियो, पार्टी एकताको मूख्य बिरोधी को थियो त्यो वामदेव गौतमलाई थाहा होला, अनि अकास्मात अध्यादेश किन ल्याईयो त्यो तपाईँलाई नै थाहा होला। यस्ता नाथे पुराना कुरा गर्यो निशानीले भन्नुहोला नबिनाजी, तर मैले तपाईँलाई प्रचण्डकै हैसियत बुझाउन यस्सो छिर्के मात्र हानेको हो।

नम्बर ८. नबिना लामाजी, जतिखेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रको संखघोष गरेर जनतालाई युद्ध र आन्दोलनका लागि सार्वजनिक आह्वान गरेका थिए, ठीक त्यतिखेर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बयलगाढा चढेर अमेरिका पुगिँदैन’ भन्दै गणतन्त्रको बिरोधमा दैनिकजसो भाषणबाजी गर्थे । गणतन्त्र बिरोधीहरुसँग चोचोमोचो मिलाउँदै आफूहरुलाई कम्युनिस्ट भन्ने तर व्यवहारमा बिग्रेका पञ्चायती मण्डलेभन्दा नि गुज्रिएको अभिव्यक्ति दिने गर्थे । तर पनि प्रचण्डले अनेक दुःखकष्ट सहेर, युद्ध आन्दोलनको फ्यूजन निर्माण गरेर गणतन्त्रको घोषणा गराइछाडे । हो यो हो प्रचण्डको हैसियत नबिना जी । गणतन्त्रको जग, गणतन्त्रको आधार, गणतन्त्रको मूलमर्म नै प्रचण्डको हैसियत हो ।

नम्बर ९. देशमा तानाशाहीहरुको थिचमिचो थियो । विभिन्न जात, धर्म, पेशा, वर्ण र समुदायका मानिसहरुमाथि विभेद थियो । देशमा अन्याय अत्याचार थियो । त्यो सबै सहन नसकेर प्रचण्डले संविधानसभाको कुरा गरे, राजतन्त्र अन्त्यको कुरा गरे, समानुपातिक, समावेशी, धर्म निरपेक्षता एजेण्डा उठाए । जसका निम्ति हजारौ शहीदहरुको बलिदानी हुनपर्यो । त्यतिखेर तपाईको ‘बा’ केपी ओलीले गुलेली खेलाएर नयाँ संबिधान बन्दैन भन्नुभएको हो । तर जे खेलाएर भएपनि नयाँ संविधान बनेरै छाड्यो । अब तपाईँलाई यस्तो समावेशी नयाँ संविधानको अन्तिमसम्म बिरोधी को थियो, त्यो भनिरहनु परेन । अब तपाईँ आफै थाहा पाउनुहोस् प्रचण्डको हैसियत ।

नम्बर १०. नबिनाजी, जंगबहादुर राणाको समयदेखि यो भूमिमा चलिआएको ‘भोटे मासिने जाति-समुदाय’ तपाईँ तामाङको छोरी आज समावेशी कोटाबाट सिंहदरबार छिर्नुभएको छ । सांसद हुनुभएको छ । तपाईँलाई लागेको होला, आफू एकदम क्षमतावान भएर सांसद भएँ । अथवा यस्तो पनि लागेको होला मेलै राम्रो काम गरेकाले मलाई पार्टीले मूल्यांकन गर्यों । तर त्यस्तो केही हैन, त्यो भ्रम मात्र हो । विश्वास नलागे पूर्वमन्त्री शेरबहादुर तामाङलाई सोध्नुहोला । तपाईँ त प्रचण्ड विचारले लडेर ल्याएको राज्यमा समान प्रतिनिधित्व समावेशी तथा समानुपातिक कोटामा सांसद बन्नुभएको हो । यसका लागि तपाईँले प्रचण्ड र प्रचण्डको विचारलाई धन्यबाद दिनुपर्छ । ल धन्यबाद दिन सक्नुभएन, तर हैसियतमाथि प्रश्न नउठाउनुहोस् । किनकि, त्यो त लाजमर्दो हुन्छ । उत्पीडनमा परेकाहरुलाई समावेशी अधिकार दिँदा देश टुक्रिन्छ भन्ने मान्छे तपाईँको लागि राजनेता तर देश निर्माणको लागि समावेशी राज्य हुनुपर्छ भन्ने प्रचण्डको हैसियतमाथि प्रश्न ?

नम्बर ११. नबिनाजी तपाईलाई थाहा नै होला कि नेपालमा गणतन्त्र आउनु अगावै राष्ट्रप्रमुख हुनका लागि राजपरिवारमै जन्मिएका ब्यक्ति अर्थात् राजाका छोराछोरी, राजपाठमा हुर्किएका शाही सदस्य मात्र हुन पाउने व्यवस्था थियो । विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभएको छ । भोलि त्यो स्थानमा तपाई तपाईँ पनि पुग्नसक्नुपर्छ । तर आज हेर्नुहोस् गणतान्त्रिक नेपालमा हरेक नागरिकले आफ्नो स्वतन्त्रता, राष्ट्रप्रेम अनि स्वछन्दताका आधारमा भविष्यको राष्ट्रपति हुने सम्भावना बोकेर जन्मिएका छन् । प्रचण्ड नेतृत्वमा १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलको बलमा स्थापित जहानियाँ राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । हुनसक्छ तपाईले पनि दुईचार वटा ढुंगा प्रहरीलाई हान्नुभएको होला । केही दिन सडकमा उफ्रिनुभएको पनि होला । त्यो गरे भन्दैमा प्रचण्डको हैसियत नै सोध्न भ्याएको ? यो त अति नै लज्जास्पद पो भयो । यो त बयलगाढा चढेर अमेरिका पुगे जस्तो पो भयो ।

नम्बर १२. नबिनाजी, इतिहास साँची नै छ। राजालाई पैसा चढाउन को–को गए र जान तयारी थिए भनेर । तर जतिसुकै चलखेल भएपनि जनयुद्धको जगमा अगाडि बढेको दोस्रो जनआन्दोलनपश्चात पुनः स्थापना भएको व्यवस्थापिका संसद्ले २०६३ जेठ ४ गते ‘संसद्को घोषणा’ जारी गरेको थियो । जसले निरंकुश राजतन्त्रका सबै प्रचलन र परम्परा हटाउँदै राजाका विशेषाधिकारसमेत निलम्बन गरेको थियो । श्री ५ को सरकारको सट्टा ‘नेपाल सरकार’ लेख्ने, शाही नेपाली सेनालाई ‘नेपाली सेना’ बनाउने, राष्ट्रिय गान फेर्ने निर्णय गरेको थियो । तपाईँलाई थाहा छ नबिनाजी, यस्ता निर्णयहरुको ‘डिजाइन’ प्रचण्डले गरेका थिए । तपाईँ प्रचण्डको हैसियत सोध्नुहुन्छ ?

नम्बर १३, तपाईँ प्रचण्डको अर्को हैसियत पनि जान्नुहोस् नबिनाजी, कि तपाईका बा’हरुले अन्तिमसम्म बिरोध गरेको, सकभर घोषणा नगर्न षड्यन्त्र गरिरहेको संविधानसभाले गणतन्त्र घोषणा गर्दा १५ दिनभित्र तत्कालीन राजालाई नारायणहिटी दरबार छाड्न निर्देशन दिएको थियो । जेठ २९ गते राजाले नारायणहिटी छाडेपछि नारायणहिटी दरबार सर्वसाधारणका लागि खुला भयो । मूलभूत रुपमा जनयुद्ध र जनआन्दोलन अनि प्रचण्डको विचारका कारण २७० वर्षदेखि राज गर्दै आएको राजतन्त्रको अन्त्येष्टि भयो । नबिनाजी, आज तपाईँ भन्नुहुन्छ, प्रधानमन्त्री ओलीलाई केही माईकालालले राजीनामा गराउन सक्दैन । यति मात्रै भनेको भए त हुन्थ्यो नि, प्रचण्डको हैसियत पनि सोध्नुहुन्छ । प्रचण्डको हैसियत के हो, जानुहोस् पूर्वराजा ज्ञानेन्द्रलाई सोध्नुहोस् ।

नम्बर १४, नबिनाजी, मैले सुरुमा पनि भनेकि, यो राज्यलाई समावेशी, समानुपातिक बनाउनुमा प्रचण्डको ठूलो हात छ । प्रचण्ड विचारको योगदान छ । हाम्रो देश नेपाल हिजोसम्म सयौँ फूलहरु मिलेर बनेको थियो तर राज्यमा ती फूलहरु फुल्न पाएका थिएनन् । यो वा त्यो बहानामा विभिन्न जातजाति, धर्महरु उत्पीडनमा परेका थिए । तर प्रचण्डले गणतन्त्र नेपालका परिकल्पना गरे । आज नेपालको संविधान २०७२ को भाग १ को ३ र ४ मा भनेको नेपाल राष्ट्र बहुजातीय, बहुभाषिक , बहुधार्मिक, बहुसांस्कृतिक, विशेषतायुक्त, भौगोलिक विविधतामा रहेको देशका रुपमा स्वीकार गरिएको छ । र, यिनै स्वीकारहरुमा प्रचण्डको हैसियत घाम जस्तै छर्लंग देखिएको छ ।

बरु तपाईँले प्रचण्डको जस्तै हैसियत कहिले बनाउने हो नबिनाजी ? कि केपी ओलीबाकै चाकडी गरेर जीवन बिताउने हो ? नागरिक खबरबाट

 

'केपी ओली प्रधानमन्त्री बन्नु देशका लागि दुर्भाग्य'

नेकपा (मसाल) पार्टीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेसँगै आफ्नो पार्टीको धारणा सार्वजनिक गरेको छ । मसालले ओली प्रधानमन्त्री हुनु दुर्भाग्यपूर्ण बताएको छ।ओलीको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने मसालले बताएको छ । महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री ओली अधिनायकवादी, स्वेच्छाचारी स्वभाव र हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम रहेको भन्दै उनमा इमानदारिताको अत्यन्त अभाव रहेको बताएको छ। यस्तो छ मसालको विज्ञप्तिमार्फत सार्वजनिक गरिएको विचार  मोहनविक्रम सिंह/राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। ओली आफ्नो अधिनायकवादी, स्वेच्छाचारी स्वभाव, हद दर्जाको भ्रष्टाचार र प्रतिगामी सोचाइका लागि बदनाम छन्। त्यसकारण उनको नेतृत्वमा सरकार बन्नु नेपालका लागि तात्कालिक र दीर्घकालीन दृष्टिले समेत दुर्भाग्यपूर्ण हुने छ। त्यसैले हाम्रो पार्टीले उनको नेतृत्वमा बनेको सरकारको कडा विरोध गर्दछ र उनका सबै गलत नीति र कार्यको सम्झौताहीन प्रकारले विरोध वा सङ्घर्ष गर्ने प्रतिबद्धता प्रकट गर्दछ। अहिले एमाले र नेकाबिचमा संविधानमा समेत संशोधनका लागि सहमति भएको कुरा बाहिर आएको छ तर उनीहरूले संविधानमा के कस्ता संशोधन गर्न थालेका छन्, त्यो कुरा गोप्य नै राखेका छन्। संसद्मा अहिलेको समीकरणको पक्षमा संसदमा विचार प्रकट गर्ने सांसदहरूले पनि संविधानमा कुन प्रकारको संशोधन गरिँदै छ, त्यसबारे उनीहरू अनविज्ञ भएको बताएका छन्। आश्चर्यको कुरा हो कि त्यस प्रकारको अनविज्ञता प्रकट गर्दागर्दै पनि उनीहरूले नयाँ समीकरणबाट बन्ने सरकारप्रति आफ्नो समर्थन प्रकट गरेका छन्। त्यसले नेपालको राजनीतिमा भएको गम्भीर प्रकारको दिवालियापनलाई नै बताउँछ। यदि उनीहरूले देश र जनताको हितमा संविधानमा संशोधन गर्ने समझदारी बनाएको भए त्यसलाई गोप्य राख्नुपर्ने आवश्यकता हुँदैनथ्यो तर त्यसलाई गोप्य राखिएको कुराबाट उनीहरूले संविधानमा गर्न लागेको संशोधन देश र जनता तथा संविधानमा स्वीकार गरिएका सकारात्मक व्यवस्थाका पक्षमा नभएको कुरा बुझ्न गाह्रो पर्दैन। राजावादीले पनि संविधानमा संशोधन गर्ने कुरालाई जोडदार प्रकारले समर्थन गरेका छन्। त्यसबाट जनताको महान् आन्दोलनद्वारा प्राप्त उपलब्धिहरू मुख्यतः गणतन्त्र र धर्मनिरपेक्षतामाथि पनि प्रहार गर्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। ओलीको प्रतिगामी, अधिनायकवादी वा स्वेच्छाचारी चरित्र भएको कुराको इतिहास साक्षी छ। एमालेले गणतन्त्रको लागि सङ्घर्ष गर्ने निर्णय गरेको बेलामा नै उनले गणतन्त्रको नाराप्रति आफ्नो विरोध प्रकट गरेका थिए। उनले संसद्लाई २र२ पल्ट विघटन गरेका थिए। सर्वोच्चले विघटित संसद्को पुनर्स्थापना गरिसकेपछि पनि उनले त्यसलाई ९ महिनासम्म अवरुद्ध गरेका थिए। एमालेभित्र मतभेद चल्दा उनले बहुमतको निर्णय नमान्ने घोषणा गरेका थिए। प्रचण्डसित प्रधानमन्त्रीको आलोपालो गर्ने सहमति भएको भए पनि उनले त्यो सहमतिलाई पालन गरेका थिएनन्। केही दिनपहिले उनी सत्तामा आएपछि ९प्रचण्ड प्रधानमन्त्री भए पनि सत्ताको केन्द्रमा उनी नै थिए० उनले भूमि आयोगलाई विघटन मात्र गरेका थिएनन्, सर्वोच्चले त्यसको पुनर्स्थापना गरेपछि पनि उनले त्यसलाई काम गर्न दिएका थिएनन्। गिरिबन्धु टी स्टेटबारे सर्वोच्चले फैसला गरेपछि पनि उनले त्यो फैसलाका विरुद्ध सार्वजनिक रूपमा नै आलोचना गरेका थिए। यी केही उदाहरणबाट प्रष्ट हुन्छ, उनी संविधान, कानुन, अदालत र बहुमतका निर्णयको अतिक्रमण गर्न अलिकति पनि हिच्किचाउन्नन्। काङ्ग्रेसभित्र पनि गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध ठुलो जनमत छ। ओलीसितको उनीहरूको समीकरणबाट प्रतिगमनलाई मदत पुग्ने सम्भावनातिर पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ। यो कुरामा पनि कुनै शङ्का छैन कि उनमा निम्नस्तरको राजनीतिक इमानदारिता पनि छैन। जुन राति उनले नेकासित नयाँ समीकरण गर्ने सहमति गरे, त्यही दिनको दिउँसो नै उनले प्रचण्डसित स्वर्ग वा नर्क जहाँ गए पनि सँगै जाने प्रतिबद्धता प्रकट गरेका थिए। त्यही राति उनी आफ्नो प्रतिबद्धताका विरुद्ध गएर नेकासित प्रचण्डको सरकारलाई अपदस्त गर्ने सम्झौता गरे। त्यसबाट उनी कुनै सिद्धान्त वा नीति मानेर काम गर्ने मान्छे नभएको र उनी विश्वसनीय राजनीतिज्ञ नभएको कुरा पनि प्रष्ट हुन्छ। त्यस प्रकारको अविश्वसनीय चरित्रले गर्दा देश र जनताप्रति पनि उनी इमानदार नहुने र कुनै पनि बेला कुनै पनि प्रकारको धोका दिन सक्ने सम्भावनालाई अस्वीकार गर्न सकिन्न। त्यस्तो व्यक्तिको नेतृत्वमा बनेको सरकारले देशलाई कहाँ पुर्‍याउने छ रु त्यो कुराको कसैले पनि सजिलैसित अनुमान गर्न सक्दछ। अहिले एमाले र नेपाली काङ्ग्रेसको गठबन्धन बनेको छ। कमसेकम यस अर्थमा नेकाका सभापति शेरबहादुरलाई इमानदार भन्न सकिन्छ कि जस्तो कि स्वयम् ओलीले पहिले संसद्मा दिएको वक्तव्यबाट प्रष्ट हुन्छ, ओलीले शेरबहादुरलाई पनि आफ्नो पक्षमा मिलाएर माओवादी र काङ्ग्रेससमेतको गठबन्धनमा फुट पार्ने प्रयत्न गरेका थिए तर देउवा त्यसरी बेइमानी गर्न तयार नभएको हुनाले प्रचण्डलाई फुटाउने प्रयत्न गरेका थिए र त्यसमा उनी सफल पनि भएका थिए। त्यसबाट तुलनात्मक रूपले देउवा बढी इमानदार भएको देखिन्छ तर आफ्नो अविश्वसनीय चरित्रका कारणले ओली नेपाली काङ्ग्रेसप्रति पनि के इमान्दार रहने छन् रु त्यो प्रश्न उठाउने ठाउँ छ। आउने दिनमा त्यो कुरा प्रष्ट हुँदै जाने छ। नेपाली काङ्ग्रेसले संसद्मा कथित स्वतन्त्र पार्टीका अध्यक्षले सहकारी रकममा गरेको अपचलनको कडा प्रतिरोध गरेको थियो। उनीहरूको त्यो अडान सही थियो र हामीले पनि त्यसलाई समर्थन गरेका थियौँ। अब गृहमन्त्रालय नेपाली काङ्ग्रेसको हातमा नै जाँदै छ। के उनीहरूले सहकारी अपचलनको मुद्दामा पहिले उनीहरूले संसद्मा आवाज उठाए जस्तै इमानदारिता र दृढतापूर्वक कार्य गर्ने छन् रु उनीहरूले आफ्नै अडानका विरुद्ध गएर सहकारी रकम अपचलनको विषयमा कमजोर र सम्झौतापरस्त नीति अपनाए भने जनताले त्यसको कडा विरोध गर्ने छन् र गर्नु पनि पर्दछ। त्यो प्रश्न लाखौँ जनतासित सम्बन्धित प्रश्न हो। त्यसकारण त्यसबारे नेपाली काङ्ग्रेसले इमान्दारिता र दृढतापूर्वक कारबाही गरेर अपराधीलाई सजाय गर्ने तथा जनताको पैसा फिर्ता गर्ने जिम्मेवारी पूरा गर्‍यो भने त्यो स्वागतयोग्य कुरा हुने छ। अहिले कथित स्वतन्त्र पार्टीभित्रका विवाद सार्वजनिक रूपले नै बाहिर आइरहेका छन्। त्यसबाट प्रथमतः जुन उद्घोषका साथ उनीहरूले नेपालको राजनीतिमा प्रवेश गरेका थिए, उनीहरूको त्यो दाबी खालि जनतालाई झुक्याउने चालबाजी मात्र थियो भन्ने कुरा प्रष्ट भएको छ। नेपालको राजनीतिमा प्रायशः जनविरोधी तत्त्वले पनि विभिन्न प्रकारका भ्रम वा प्रलोभन दिएर तथा ठुलो पैमानामा पैसा बाँडेर चुनाव जित्ने गरेका छन्। जबसम्म जनता त्यस प्रकारका भ्रमबाट मुक्त हुने छैनन्† देशमा जनताको सरकारको स्थापना हुन सक्ने छैन तथा जनताका समस्याको समाधान र देशको विकास पनि हुन सक्ने छैन। हामीले त्यो वास्तविकताप्रति सम्पूर्ण जनाताको ध्यान आकर्षित गराउन चाहन्छौँ। देशको विकास हुन्छ वा उन्नति रु त्यसको फैसला अन्तमा जनताको चेतनामाथि नै निर्भर गर्दछ। अहिले पनि हाम्रो यो मत छ कि देशमा प्रतिगमन र साम्राज्यवाद दुवैको खतरा बढेर गएको छ। अहिलेको सरकार बनेपछि र उनीहरूले संविधानमा संशोधन गर्ने भनेपछि राजावादीहरू धेरै नै उत्साहित भएका छन्। नेपालको राजनीतिमा साम्राज्यवादी शक्तिहरू मुख्यतः अमेरिकन र भारतीय साम्राज्यवादको षड्यन्त्रकारी भूमिकाबारे पनि हामी अत्यन्त सावधान हुनुपर्ने आवश्यकता छ। जुन कुराले उनीहरूको खतरालाई गम्भीर बनाइदिन्छ, यो हो कि देशका कैयौँ राजनीतिक शक्तिले साम्राज्यवादपरस्त नीति अपनाउँछन्। विभिन्न साम्राज्यवादपरस्त एनजिओ र आइएनजिओले पनि साम्राज्यवादको पक्षमा देशमा जनमत तयार पार्ने काम गरिरहेका छन्। ठुलो सङ्ख्यामा बुद्धिजीवीमा पनि प्रतिगमन वा साम्राज्यवादपरस्त सोचाइ पाइन्छन्। यी सबै कारणले नेपाल गम्भीर सङ्कटको मुखमा उभिएको छ। त्यो अवस्थामा त्यस प्रकारका सबै खतराका विरुद्ध उच्च सतर्कता अपनाउनु, जनताको उच्च चेतना उठाउनु र सङ्घर्ष सङ्गठित गर्नु पनि हाम्रो जिम्मेवारी हुन्छ। हाम्रो पार्टीले अवश्य पनि त्यस प्रकारको जिम्मेवारी पूरा गर्न प्रयत्न गर्ने छ र सम्पूर्ण जनतालाई पनि हामीले त्यसका लागि आह्वान गर्दछौँ। अन्तमा जनता नै अजेय शक्ति हुन् र उनीहरूको चेतना र भूमिकामाथि नै देशको भविष्य निर्भर गर्दछ। अहिले माओवादी र उनीहरूको पक्षमा भएका कतिपय राजनीतिक सङ्गठनले ओलीका प्रतिगामी प्रकारका नीति र कार्यको विरोध गर्ने विचार प्रकट गरिरहेका छन् तर स्वयम् माओवादी नै अविश्वसनीय र अवसरवादी राजनीतिक शक्ति हो। आफ्नो स्थापना कालदेखि नै आधारभूत सैद्धान्तिक प्रश्नमा त्यसले बारम्बार गर्दै आएका परिवर्तन, जसलाई त्यसले ‘क्रमभङ्गता र गतिशीलता’ बताउने गरेको छ वा प्रधानमन्त्री पदका लागि त्यसले बारम्बार सिद्धान्तहीन र अराजनीतिक प्रकारले गरेको हेराफेरीबाट त्यसलाई विश्वास गर्न सकिने अवस्था छैन। जसरी ओलीमा इमानदारिताको चरम प्रकारको अभाव छ, प्रचण्डमा पनि त्यही प्रकारको प्रवृत्ति पाइन्छ यद्यपि पछिल्लो समयमा ओलीले प्रचण्डलाई मात दिएका छन्। सिद्धान्त र राजनीतिको प्रश्नमा पनि प्रचण्ड हदभन्दा बढी अवसरवादी रहेका छन्। उनले आफ्नो विचारमा कसरी बारम्बार परिवर्तन गरेका छन्, त्यसको एउटा लामो सूची छ। त्यो अवस्थामा उनले देश र जनताको हितका लागि कुनै ठोस, सकारात्मक वा विश्वसनीय भूमिका खेल्न सक्ने सम्भावनाको कमै आशा गर्न सकिन्छ। देशका प्रमुख राजनीतिक शक्तिको त्यस प्रकारको चरित्रले देशलाई अत्यन्त गम्भीर अवस्थामा पुर्‍याएको छ। त्यो समस्यालाई पनि खालि जनताको उच्च चेतनाले नै समाधान गर्न सक्ने छ। अहिले प्रधानमन्त्रीको भर्खर नियुक्ति भएको छ। अब तुरुन्तै मन्त्रिपरिषद् पनि बन्ने छ। अहिले नयाँ बनेको समीकरणलाई खास गरेर उनीहरूले संविधानमा गर्ने भनेको संशोधनप्रति राजावादीहरूले ठुलो उत्साह प्रकट गरेका छन्। त्यसबाट अहिलेको समीकरणले संविधानमा गर्ने भनेको संशोधनको प्रकृति अर्थात गणतन्त्र र धर्मनिरपेक्षतासमेतका विरुद्ध लक्षित हुने त होइन रु त्यसबारे पनि शङ्का गर्नका लागि ठाउँ छ। ओली सुरुदेखि नै गणतन्त्रको विरुद्ध भएको कुरा आधिकारिक रूपमा नै बाहिर आएको छ। त्यसका साथै पशुपतिनाथको मन्दिरमा सुनको जलप चढाएर तथा चितवनमा राममन्दिर निर्माणको कुरा गरेर उनी धर्मनिरपेक्षताको विरुद्ध भएको कुरा पनि बताइसकेका छन्। नेकाभित्र पनि एउटा ठुलो पङ्क्ति राजतन्त्रको पुनर्स्थापनाको पक्षमा र धर्मनिरपेक्षताका विरुद्ध छ। त्यो अवस्थामा अहिले बनेको गठबन्धन सरकारले देशलाई प्रतिगमनतिर लैजाने खतराप्रति हाम्रो गम्भीर ध्यान जानुपर्ने आवश्यकता छ र त्यसप्रति हामीले सम्पूर्ण जनताको ध्यान आकर्षित गर्न चाहान्छौँ। अहिले नेपालमा भएको सत्ताको अदलाबदलीमा विदेशी शक्तिको पनि भूमिका रहेको कुरा आइरहेको छ तर त्यसबारे आधिकारिक रूपले हामीलाई केही थाहा नभएकाले त्यसबारे तत्काल कुनै टिप्पणी गर्नेतिर हामी लाग्दैनौँ। अन्तमा, आउने दिनमा सरकारले अपनाउने नीतिका आधारमा हामीले आवश्यकताअनुसार आफ्ना अरू ठोस नीति र कार्यक्रम निश्चित गर्दै जाने छौँ। त्यस सन्दर्भमा देशको राजनीतिक आवश्यकतानुसार पारस्पारिक समझदारी वा सहमतिका आधारमा संयुक्त मोर्चा वा कार्यगत एकता गर्ने हाम्रो नीति पनि कायम रहने छ।

लोकतन्त्रको १८ वर्षः सकारात्मक चिन्तनमा खडेरी

कृषि क्षेत्र सुधारका लागि भन्दै बैशाख एक गते देखि युवा किसान श्रीराम घिमिरे काठमाडौंको शान्ति वाटिकामा अनसन बसे । उनलाई एक्यबद्वता जनाउन पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुँदा अनसनरत घिमिरेसँगै रहेका एक सहयोगीले चार मिनेट नौ सेकेण्ड बोलेको भिडियो सामाजिक सञ्जालमा भाइरले बन्यो । ४१ सय भन्दा बढिले सेयर गरेको यो भिडियोमा उनले बाबुराम भट्टराईलाई हेर्दै सबै गलत तथ्याङ्क सहित निराशामात्रै बाँडेको देखिन्छ ।  उनले भनेका छन्, ‘५० अगाडि मेरो गाउँमा २ लाख ४० हजार जनसंख्या थियो, कोही विदेश जानुपर्थेन, कोही बेरोजगार थिएन । २०४० सम्म नेपाल संसारकै धनि देश थियो...  अहिले दिनको २० हजार महिला विदेश जान्छन्...’ भिडियोमा ति युवा लगातार बोलिरहेपछि डाक्टर बाबुराम भट्टराईले यस्तो ठाउँमा बहस नगरौं भन्दै रोकेको देखिन्छ ।  यो एउटा उदाहरण भिडियो मात्रै हो, ‘नेता खराब’ भनिएका वा ‘नेपालमा केही छैन’ भनेर निराशा बाँडिएका वा नकारात्मक चिन्तन भएका सामाग्रीहरु नै अहिले नेपालीहरुले बढि रुचाएको पाइन्छ ।  त्यसो त असन्तुष्टी जनाउनु मानवीय स्वभाव हो । विश्वमै पनि असन्तुष्टी जनाउने सामाग्रीहरु बढि रुचाइएको पाइन्छ । त्यही आधारमा मिडिया वा सामाजिक सञ्जालमा पनि नकारात्मक चिजहरुको बढि चर्चा हुने गरेको छ । यही सन्दर्भमा विश्वकै धनि इलन मस्कले एउटा अन्तरवार्तामा भनेका छन्, ‘मैले पत्रिका वा सामाजिक सञ्जाल धेरै हेर्दिन, किनभने त्यसले मलाई नकारात्मक सोच बढाउँछ र मेरो उर्जा घटाउँछ ।’  मानव स्वभावमा देखिने असन्तुष्टीलाई कुन तहमा जनाउने र त्यसको प्रतिक्रिया वा समाधानमा कति चाँसो दिने भन्ने कुरा मुख्य हुन्छ । अहिलेको मुख्य समस्या भनेको कुनै पनि समस्यामा आफ्नो गल्ती नदेख्नु र अर्को पक्षको मात्र दोषी देख्नु हो । जीवनलाई सकारात्मक बनाउनका लागि विश्वव्यापी चलनमा आएको पाँच वटा स्वर्ण नियम (गोल्डेन रुल) यसमा पनि लागू हुन्छ । यस नियमको पहिलो बुँदामा रहेको कुनै पनि समस्या हुनुमा दुबै पक्षको दोष हुन्छ । जस्तैः देश सोचेजस्तो नबन्नुमा देशको नेतृत्वकर्ता नेताहरुको आधा दोष हुन्छ भने जनताको आधा दोष हुन्छ । नेता वा जनप्रतिनिधिहरु जनताबाट निर्वाचित छन् । तिनै जनप्रतिनिधिबाट सरकार बनेको छ । उनीहरुलाई निर्वाचित गर्ने जनता हुन् । त्यसकारण सरकारको कमजोरी छ भने जनताको पनि कमजोरी छ । २०६२/६३ पछि देशमा कुनै पनि पार्टीको बहुमत आउन सकेन । अर्थात जनताले एक पटक विचार गरौं भनेर एउटै पार्टीलाई पूर्ण बहुमत दिएन । फलस्वरुप अस्थिरता कायम रह्यो । जनताकै प्रतिनिधिले बनाएको संविधानले व्यवस्था गरे अनुसारको मिश्रीत निर्वाचन प्रणालीमा एउटा पार्टीको बहुमत आउन कठिन हुन्छ, तर असम्भव हुँदैन । यसो नहुँदै गर्दा पनि लोकतन्त्रको १८ वर्ष पछि केहि पनि नभएको भनेर जसरी नकारात्मक चिन्तन सहित प्रचार हुने गरेको छ र बौद्विक भनिनेहरुबाट समेत यस्तै सामाग्री पस्किने गरिएको छ यो नै नेपालका लागि खतरनाक सोच छ ।  के गणतन्त्रपछि नेपाल अझै बढि ओरोलो लागेकै हो त ? सामान्य हिसाबले पहिलेको अर्थात् हाम्रो बुवा पुस्ताको अवस्था र अहिलेको अवस्था तुलना गरे पुग्छ । त्यतिबेलाको समाजको दैनिकी र अहिलेको समाजको दैनिकीमा कति फरक छ, त्यसको तुलना गरे पुग्छ । शिक्षा, स्वास्थ्य, सडक सहितका पूर्वाधार निर्माण, कृषिमा आधुनिकीकरण सहितका भएका कुराहरुमा तुलना गरे पुग्छ । नभएको एउटै मात्रै हो सकारात्मक चिन्तन ।  सरकारले गरिरहेका राम्रा कामको प्रशंसा गर्न नसक्नु आलोचना मात्रै गर्न सक्नुले फाइदा कसैलाई हुँदैन । व्यवस्था फेरियो, अवस्था फेरिएन होइन, अवस्था पनि फेरियो तर चिन्तन फेरिएन । ‘आधा भरिएको गिलास’ लाई ‘आधा खाली’ देख्नु अहिलेको समस्या हो । ‘वल्र्ड पपुलेसन रिभ्यु’ ले १५ फेब्रुअरी २०२४ मा सार्बजनिक गरेको सूचीमा नेपाली जनताको आइक्यु विश्वमै सबैभन्दा कम ४२.९९ सहित १९९औं स्थानमा राखेको छ । यसको मुख्य कारण नै नेपालीहरुमा असन्तुष्टी बढ्नु र सकारात्मक चिन्तनको कमी हुनु नै हो ।  मानवीय चिन्तन र सोचलाई बदल्नका लागि आफु बदलिन कति प्रयास गरेको छ भन्ने कुराले समग्र कुरामा सकारात्मक वा नकारात्मक असर पर्छ ।  मान्छेलाई चाहिएको खुशी हो की सुख ? यो प्रश्न अहिलेको मुख्य प्रश्न बनेको छ । पद, पैसा र प्रतिष्ठा सहित भौतिक सुख हुँदाहुँदै पनि मानसिक सुख वा खुशी हुन सकेन भने यसले ल्याउने भनेको वितृष्णा र संकट मात्रै हो । अहिलेको समाजले आफु खुशी भएर अरुलाई खुशी बनाउन लाग्ने कि मानसिक दुःख सहित समाजलाई पनि नकारात्मक बनाउन भूमिका खेल्ने भन्ने अहिलेको प्रश्न बनेको छ । यो समाजमा एउटा मान्छे गतिलो छैन, भनिरहँदा त्यो ‘एउटा’ भित्र आफु पनि पर्छु भन्ने मानिसले विर्सिरहेको छ । देशमा कोही एक जना ठिक छैन भनिरहँदा आफुलाई विर्सिरहेको छ । गतिलो र ठिक बनाउन आफुलाई विर्सिरहेको मानिसले अरुलाई खुशी र सन्तुष्टी दिन सक्दैन । त्यसैले पहिलो काम भनेको मान्छेले आफ्नो चिन्तनलाई फेर्न सक्नुपर्छ ।  यसका लागि आवश्यक नैतिक शिक्षा र ज्ञानको विकासमा सबै लाग्नुपर्ने बेला भएको छ ।

गगनको म्याद गुज्रेको गनगन

नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले बुधबार साँझ १९ मिनेट ४० सेकेण्डको एउटा भिडियो सन्देश सामाजिक सञ्जालमा सार्बजनिक गरे । पार्टीका नेता कार्यकर्तालाई आश्वस्त पार्न र विचलित नहुनका लागि प्रयास गरिएको यो भिडियो सन्देशमा गठबन्धन भत्किनु र नयाँ बन्नुमा नेकपा माओवादी केन्द्र र उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्पूर्ण रुपले दोश थोपरिएको छ । कुनै फरक परिस्थिति वा संकटको समयमा सामान्यतयाः पार्टी प्रमुखले जनतासामु वा कार्यकर्तासामु आफ्ना विषयवस्तु राख्ने चलन भएपनि यहाँ थापा पार्टी सभापति भन्दा एक कदम अगाडि बढेर भिडियो सन्देश जारी गरेका थिए ।  भिडियो सन्देशमा माओवादी र अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउन बहानाबाजी मात्रै गरेको र अहिले गठबन्धन नटुटेको भए अर्को महिना, नभए अझै अर्को महिना गठबन्धन टुट्ने उनले भविश्यवाणी पनि गरेका छन् ।  व्यवस्थापिका संसदको बिहीबारको बैठकमा पनि महामन्त्री थापाले प्रमुख सचेतक रमेश लेखकले रोष्टमबाट बोलिरहँदा अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगै बसेर सबैभन्दा बढि टेबुल ठोकेको देखिन्थ्यो । संसद सकिएर बाहिरिदै गर्दा पनि थापाले पत्रकारहरुसँगको कुराकानीमा माओवादीले बहानाबाजी गरेर गठबन्धन तोडेको आरोप लगाए ।  महामन्त्री थापा नेपाली काङ्ग्रेसका तिनै पात्र हुन्, जसले नेपाली काङ्ग्रेस र माओवादीबीचमा गठबन्धन बन्दै गर्दा पनि विरोध गरे । र बनेपछि पनि निरन्तर गठबन्धन विरोधी कित्तामा उभिएर त्यसको नेतृत्व गरिरहे ।  २०७९ को निर्वाचन अघि गठबन्धन नगर्नका लागि सभापति शेरबहादुर देउवालाई निरन्तर दवाब दिइरहेका थापा केन्द्रीय समितिमा अल्पमतमा परेपछि विरोध सहित सम्झौता गर्न बाध्य त भए तर त्यसपछि पनि उनि निरन्तर यो वा त्यो बहानामा गठबन्धन विरुद्वमा सक्रिय रहिरहे । आफु निकटकाहरुलाई स्थानीय स्तरमा पनि माओवादीसँग सहकार्य र समन्वय नगर्न निरन्तर दवाब दिइरहे । गठबन्धन विरुद्वको उनको रबैया यत्तिकै रोकिएन । विभिन्न उपनिर्वाचनहरु र पछिल्लो समय भएको राष्ट्रिय सभाको निर्वाचनमा पनि गठबन्धन विरोधी मोर्चा बनाउन सफल भए । गठबन्धन विरोधी क्रियाकलापको उत्कर्षको रुपमा महामन्त्री थापाले फागुन ७ देखि १० सम्म गोदावरीमा भएको नेपाली काङ्ग्रेसको महासमिति बैठकमा अब गठबन्धन नगर्ने प्रस्ताव ल्याए । सभापति शेरबहादुर देउवाको अनिच्छाका बीचमा महासमिति बैठकले यो प्रस्ताव पारित गरेको थियो । जबकी महासमिति बैठकको उद्घाटनको अवसरमा नै सभापति देउवाले विद्यमान निर्वाचन प्रणालीप्रति स्मरण गराउँदै गठबन्धन गर्ने वा नगर्ने तत्कालिन परिस्थितिमा निर्भर हुनुपर्ने बताएका थिए । सुरु देखि अन्तिमसम्म गठबन्धनको विरुद्वमा सक्रिय थापा गठबन्धन टुटाउन सफल भएकोमा खुशी हुनुपर्नेमा बोलीमा ठीक उल्टो गरिहेका छन् । काङ्ग्रेसको संस्थापन विरुद्वको प्रस्ताव पारित गराउन सफल गगन थापा अहिले गठबन्धन निकै प्यारो लागेको जस्तो बोलिरहेका छन् । माओवादी र माओवादी अध्यक्ष प्रचण्डकै कारण गठबन्धन भत्किएको भनिरहेर आफु चोखो बन्ने प्रयास गरिरहेका छन् । पुराना उनका गतिविधि र गठबन्धन विरुद्व तथा माओवादी जनयुद्व विरुद्व उनको निरन्तरको विषबमन नभएको भए सायद उनले अहिले भिडियो सन्देशमा बोलेको वा बाहिर बोलेका कुराहरु पत्याउन कर लाग्थ्यो । तर काङ्ग्रेसकै देउवा पक्षका नेताहरुलाई सुहाउने तर्क थापाले गरिरहँदा पटक्कै नसुहाएको देखिएको छ । त्यस अर्थमा थापाले अहिले बोलिरहेको कुरा म्याद गुज्रेको गनगन को रुपमा बुझ्न सकिन्छ । थापाले बाँडिचुडी खानका लागि अवसरबादी गठबन्धन बनेको भन्दै सरकारको आयु र भविश्यका बारेमा समेत ठोकुवा गर्न भ्याएका छन् । काङ्ग्रेससँग गठबन्धन गर्दा बाँडिचुडी खानका लागि अवसरबाद नहुने अरुसँग गठबन्धन गर्दा बाँडिचुडी खानकै लागि अवसरबाद हुने उनको तर्कमा कुनै दम देखिदैन ।  नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच यसअघि २०७४ देखि नै गठबन्धनको अभ्यास, पार्टी एकताको अभ्यास र फुटको अनुभव समेत देखिन्छ ।  अहिलेको यि पार्टीबीचको गठबन्धन हुँदै गर्दा ती अभ्यास र अनुभवले दुबै पार्टीका शीर्ष नेताहरुलाई अबको गठबन्धन र एकता प्रक्रियाका धेरै कुरामा सोच्न बाध्य बनाएकै हुनुपर्छ । त्यस अर्थमा यो गठबन्धन यत्तिकै र सजिलै बनेको पनि देखिदैन । त्यसैले काङ्ग्रेस महामन्त्री थापाले भनेजस्तो गठबन्धनको आयु पहिले जस्तो छोटो र सरकार परिवर्तन जस्ता कुरामा त्यसको प्रभाव तत्काल पर्ने अवस्था पनि देखिदैन । स्पष्ट बत्ताका रुपमा चिनिएका गगन थापाले अहिले बोलिरहेका कुरा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बिहीबार संसदमा भनेजस्तै ‘बेचैनी र छटपटाहट’को रुपमा बुझ्न धेरै बेर सोच्नु पर्दैन ।  काङ्ग्रेस र माओवादी केन्द्रको गठबन्धन टुट्नुमा काङ्ग्रेसमा बढ्दै गएको गगन थापा प्रबृत्ति नै मुख्य जिम्मेवार देखिन्छ । जनतामा बढेको निराशालाई आशामा परिणत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै शब्दमा औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिवद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? भन्नेमा प्रचण्डले रोजेको दोस्रो विकल्प नै अहिलेका लागि सबैभन्दा उत्तम विकल्प हो । जनचाहना अनुसार बेलैमा उचित निर्णय गर्नुपर्नेमा सरकार बाहिर हुनुपरेपछि अनावश्यक टिप्पणी गर्नुको अर्थ हुँदैन । प्रतिपक्षमा नै रहेर जनताका जनजिबिका र सुशासनका पक्षमा निरन्तर आवाज उठाउन सकेमा काङ्ग्रेसकै लागि हितकर हुनेछ ।  

नेपालको शान्ति प्रक्रिया, सक्रमणकालीन न्याय र प्रचण्डविरुद्धको मुद्धा

नेपालमा सञ्चालित माओवादी जनयुद्धका क्रममा भएका घटनामा नियमित अदालतमा मुद्धा चलाउने वा सक्रमणकालीन न्यायको वाटोवाट न्याय निरुपण गर्ने भन्ने विषयमा फेरि बहस सुरु भएको छ । यही फागुन १९ गते सर्वोच्च अदालतले माओवादी जनयुद्धका प्रमुख कमाण्डर रहेका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' विरुद्ध जनयुद्धकालका घटनामा रिट दर्ता गर्न अनुमति दिएपछि सर्वोच्च अदालतवाटै बिस्तृत शान्ति सम्झौता र संविधानको भावना कुल्चने काम भएको महशुस हुँदैछ । कानूनतः सर्वोच्च अदालतको क्षेत्राधिकारभित्र नरहेको र उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् टुंगो लगाउनुपर्ने विषयमा सर्वोच्चले आदेश जारी गरेको धारणा सरकार र माओवादी दुवै पक्षले सार्वजनिक गरिसकेको छ ।यो आदेशपछि नेपालको शान्ति प्रक्रियामा सहभागी विभिन्न पक्षकोसमेत ध्यान तानिएको छ । सर्वोच्चको आदेश लगत्तै फागुन २१ गते बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, एकीकृत समाजवादी, राजमो, नेसपासहित ९ दलको बैठकले संविधान र बृहद शान्ति सम्झौता अनुसार सक्रमणकालका घटनाको टुंगो सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोगमार्फत् लगाइने वताउँदै यससम्वन्धमा संसदवाटसमेत आवश्यक कानून बनाउने प्रतिवद्धता सार्वजनिक गरेको छ । २०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र जनयुद्धरत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौताको बुँदा नम्बर ५.२.५ मा भनिएको छ “सशस्त्र द्वन्द्वका क्रममा गम्भीर मानवअधिकार उल्लङ्घन गर्ने र मानवताविरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्यतथ्य छानबिन गर्न र समाजमा मेलमिलापको वातावरण सिर्जना गर्न आपसी सहमतिबाट उच्चस्तरीय सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्न दुवै पक्ष सहमत छन् ।” यसैगरी उक्त सम्झौताको बुँदा ५.२.७ मा दुवै पक्षले राजनीतिक कारण र विचाराधीन मुद्दाका आधारमा लगाइएका सबै आरोप, अभियोग र उजुरी फिर्ता लिने र राजनीतिक बन्दीहरूलाई तत्काल रिहा गर्ने ग्यारेन्टी गरिएको छ । नेपाल सरकार र माओवादीबीच भएको सोही बृहद शान्ति सम्झौताका आधारमा देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना हुनुका साथै संविधानसभाको चुनाव सम्पन्न भई संविधानसभाले नयाँ संविधान जारी गरिसकेको छ । बिस्तृत शान्ति सम्झौतालाई अन्तरिम संविधानको अंग बनाइएको र सोही सम्झौताअनुसार देश राजनीतिक, आर्थिक, सामाजिक रुपान्तरणको वाटोमा अघि बढिसकेको अवस्थामा अहिले फेरि जनयुद्धकालीन घटनालाई परम्परागतढंगले अदालती प्रक्रियावाटै टुंगो लगाउन खोज्नु नेपालको शान्ति प्रक्रिया र राजनीतिक परिवर्तनलाई नजर अन्दाज गर्नु हो । सर्वोच्च अदालतवाट आदेश जारी गर्ने न्यायधिशद्वय मध्ये न्यायधिश हरिप्रसाद फूयाल् सर्वोच्च अदालत प्रवेश गर्नुपूर्व कानून व्यवसायीकारुपमा अग्नी सापकोटासहित विभिन्न माओवादी नेताको द्धन्द्धकालीन मुदामा नियमित अदालतवाटै कारवाही हुनुपर्छ भन्ने मान्यताका साथ एनजिओ आइएनजिओमार्फत् अभियान चलाउनुका साथै अदालतमासमेत बहस पैरवी गर्दै आएको कुरा कसैवाट छिपेको छैन । साथै हालको प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री रहँदा विगतमा महान्यायधिवक्ता रहीसकेको र एमालेमा केन्द्रीय लेखा आयोगको सदस्य भइसकेकाले पनि न्यायधिश हरि फूयालवाट प्रधानमन्त्री प्रचण्डविरुद्धको उजुरीमा सुनुवाई गरिँदा निष्पक्षताको सिद्धान्तको बर्खिलाप हुनुका साथै राजनीतिक स्वार्थ प्रेरित हुनसक्ने देखिन्छ । अदालतवाट आएको यस किसिमको विवादास्पद आदेशले विषयलाई थप गम्भीर बनाएको छ । हामी सबैलाई थाहा छ, नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक र अनुकरणीय छ । नेकपा (माओवादी)का प्रमुख नेता प्रचण्डको नेतृत्वमा ०५२ फागुन १ देखि सुरु गरेको जनयुद्धको मुख्य उद्देश्य राजतन्त्रात्मक संसदीय व्यवस्थाको अन्त्य गरी जनगणतन्त्र स्थापना गर्ने रहेको थियो । २०६३ मंसिर ५ गते तत्कालिन सरकारका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” बीच भएको बिस्तृत शान्ति सम्झौता बमोजिम देशमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको हो । सोही सम्झौताका आधारमा संविधानसभाको चुनाव भएर नयाँ संविधान जारी गरिएको हो । पहिलो संविधानसभामा सबैभन्दा ठूलो दलको हैसियतले गणतन्त्रात्मक सरकारको पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्ने हैसियत माओवादी अध्यक्ष प्रचण्डलाई प्राप्त भएको हो । नयाँ संविधान जारी भएपछि दोस्रो पटक २०७३ सालमा र तेस्रो पटक हाल २०७९ सालमा प्रचण्ड प्रधानमन्त्री बन्नु भयो । अहिले पनि प्रचण्ड प्रधानमन्त्री नै हुनुहुन्छ । नेपालको वर्तमान संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हालका प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा सञ्चालित माओवादी जनयुद्धकै कारण संभव भएको हो । प्रचण्डको नेतृत्वमा जनयुद्ध नभएको भए नेपालमा न त संविधानसभावाट नयाँ संविधान बन्दथ्यो, न गणतन्त्र नै संभव थियो । माओवादीकै कारण समावेशिता, समानुपातिक सहभागिता, महिला, दलित, आदिवासी, जनजाति, मधेशी, सिमान्तकृतका अधिकार सम्भव भएको हो । यसरी अहिले देशमा भएका राजनीतिक परिवर्तन र उपलब्धीहरुको बास्तविक जन्मदाता रहेका प्रधानमन्त्री प्रचण्डविरुद्ध अमुक राजनीतिक भाषणलाई आधार बनाएर मुद्धा चलाउन अनुमति दिने सर्वोच्चको आदेश मात्र राजनीतिक स्टन्बाजी हो । यसले कुनै संबैधानिक र कानूनी महत्व राख्दैन । तीन वर्ष अघि पनि द्वन्दकालीन घटनाका सम्वन्धमा अदालती प्रक्रियावाट माओवादीका नेता कार्यकर्तामाथि मुद्धा चलाइन थालेपछि पार्टी अध्यक्ष प्रचण्डले द्वन्दको समयमा माओवादी पक्षवाट भए गरेका घटनाको नैतिक जिम्मा आफूले लिने राजनीतिक भाषण गर्नुभएको थियो । नेपालमा माओवादी जनयुद्धका क्रममा राज्य र बिद्रोही पक्षवाट करिव १७ हजार मानिस मारिएको तथ्यांक छ । यसमा राज्य पक्षवाट १२ हजारभन्दा बढी र माओवादी पक्षवाट करिव ५ हजार मारिएको अनुमान छ । कहिलेकाही माओवादीमाथि “१७ हजारको हत्यारा” भन्दै गालीगलौच गर्ने गरिएको सन्दर्भमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवाद गर्दै बोलेका शब्दहरुवाट केही शब्दमात्रै टिपेर माओवादीका विरोधीहरुले अनर्गल प्रचार गर्दै मुद्धा मामिला गरेकै भरमा सर्वोच्चले मुद्धा चलाउन अनुमति दिने हो भने नेपालको शान्ति प्रक्रिया निष्कर्षमा पुग्नुको साटो विथोलिदै जाने अवस्था आउन सक्छ । माओवादी जनयुद्धका समयमा भएका एक एक घटनामा सक्रमणकालीन न्यायको साटो नियमित अदालतकै वाटो समात्ने हो भने ०५२ साल फागुन १ गते यता सरकारमा पुगेर माओवादी समाप्त पार्ने नाममा जनतामाथि दमन श्रृंखला चलाएका नेपाली कांग्रेस, एमाले, राप्रपाका नेता र स्वयं राजा ज्ञानेन्द्रमाथिसमेत सयौ ज्यानमुद्धा लाग्न सक्छ । त्यतिमात्रै होइन, २००७ सालको राण शाषन विरुद्धको लडाईमा नेपाली कांग्रेसले हतियार बोकेकै हो र मान्छे मारेकै हो । ०२८ सालको झापा आन्दोलनमा एमलेले व्यक्तिहत्याको वाटो रोजेकै हो । यी घटनामा तत्कालिन पार्टी नेतृत्वले राजनीतिक उद्देश्य प्राप्तिका लागि गरिएको भन्दै नैतिक जिम्मा लिने गरेको थियो । नैतिक जिम्मा लिएकै भरमा मुद्धा चलाउँदै जाने हो भने २००७ साल, २०१७ साल, २०२८ साल र ०४६ साल लगायतका सबै आन्दोलनका क्रममा भएका हिंसा र हत्यामा तत्कालिन नेतृत्वकर्ता विरुद्ध मुद्धा चलाउनु पर्ने हुन्छ । के यसरी राजनीतिक प्रतिशोध साधेर मुद्धा चलाउँदै गएर नेपालमा शान्ति कायम होला त ? अवश्य हुँदैन । तर २०५२ सालको जनयुद्ध, जसका कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव बन्यो, त्यसका अगुवा माथि मुद्धा चलाउनुको अर्थ अहिलेको परिवर्तन र संविधानमाथिकै प्रहार हो । नेपालको विस्तृत शान्ति सम्झौताको मक्सद गम्भीर अपराधमा संलग्नहरुलाई कुनै पनि कारवाही नगर्ने भन्ने हुँदै होइन । राजनीतिक द्वन्दपछि शान्ति प्रक्रियामा सहभागी हुँदा नियमित अदालतभन्दा बेग्लै कार्यादेशसहित बन्ने संयन्त्रहरुवाट न्याय प्रक्रिया अघि बढाउदा समाजमा शान्ति र मेलमिलाप कायम हुनुका साथै द्वन्द अन्त्य गर्न सकिने अन्तराष्ट्रिय अनुभवहरु छन् । विश्वका विभिन्न देशमा भएका राजनीतिक द्वन्द र शान्ति सम्झौताका अनुभवका आधारमा नेपालमा पनि निश्चित विधि, प्रक्रिया र संयन्त्रवाट सक्रमणकालीन न्यायको वाटो तय गरिएको हो । द्वन्दमा दुवै पक्षवाट भएका घटनाको छिटो छानविन गरेर सत्य तथ्य पत्ता लगाउने, गम्भीर र नियतवस भएका घटनामा कारवाहीको शिफारिस गर्ने, परिस्थितिजन्य र अन्य घटनामा एकआपसमा मेलमिलाप गर्न चाहेमा मध्यस्थता गर्ने, क्षतिपूर्ती र राहत उपलब्ध गराउने तथा आममाफी दिन सकिने घटनामा आम माफीको शिफारिस गर्ने जस्ता कार्यहरु सत्य निरुपण तथा मेलमिलाप आयोगले गर्न सक्छ । यी कामका लागि नियमित अदालतको साटो फरक संयन्त्र बनाएर न्याय दिँदा एकातिर सत्य के हो भनेर स्थापित हुन्छ भने अर्कोतिर समाजमा मेलमिलाप र एकले अर्कोलाई स्विकार्ने अवस्था सिर्जना हुन्छ । बास्तविक पीडितले न्याय पाउने, गम्भीर घटनाका दोषीले उन्मुक्ति पनि नपाउने र सामाजिक सम्बन्धहरुमा खलल पैदा नहुने वाटो नै अहिलेका लागि सक्रमणकालीन न्याय निरुपणको बाटो हो ।

लोकप्रिय