ऐतिहासिक एकलौटी जित निकाल्दै वामगठबन्धन

ऐतिहासिक एकलौटी जित निकाल्दै वामगठबन्धन

चितवन, मङ्सिर २६ । ऐतिहासिक एकलौटी जित निकाल्दै वाम गठबन्धनका उम्मेदवारले चितवन जिल्लालाई लाल किल्ला बनाएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएसँगै चितवन जिल्ला लाल किल्ला बनेको हो ।

अन्तिम मतपरिणाम यस्तो छः

क्षेत्र नम्बर एक

निर्वाचत क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र पाण्डे विजयी भएका छन् । पूर्वअर्थमन्त्री पाण्डेले नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १४ हजार ४ सय ४३ मतको फराकिलो मतान्तरले पराजित गरे । एमालेका पाण्डेले ५० हजार ८ सय ९७ मत पाउँदा बुर्लाकोटीले ३६ हजार ४ सय ५४ मत पाए ।
यस क्षेत्रबाट पाण्डे दोस्रोपल्ट निर्वाचित भएका हुन् । यसअघि पाण्डेले यो क्षेत्रमा गरेको विकास निर्माणका कामको सबैले प्रशंसा गरेका छन् । यसअघि संविधान निर्माणमा समय खर्चिएर पनि भौतिक निर्माणका काम गर्न सफल भएको बताउँदै पाण्डेले अब सबै ध्यान समृद्धिमा दिने प्रतिवद्धता जनाएका छन् ।
निर्वाचन क्षेत्र नं। एकको प्रदेश सभा क मा वाम गठबन्धनका उम्मेदवार दावा लामा विजयी भएका छन् । लामाले कांग्रेसका धनबहादुर गुरुङलाई ७ हजार २९ मतले पराजित गरे । लामाले २३ हजार २३ मत पाउँदा गुरुङले १५ हजार ९ सय ९४ मत पाए ।
क्षेत्र नं। एककै प्रदेश सभा ख मा वाम उम्मेदवार कृष्णप्रसाद खनाल २७ हजार २ सय ३१ मतका साथ विजयी भएका छन् । उनले कांग्रेसका उत्तम आचार्यलाई ८ हजार ७ सय २१ मतले पराजित गरे । आचार्यले १८ हजार ५ सय मत पाएका छन् ।

क्षेत्र नम्बर दुई

निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठबन्धनकै कृष्णभक्त पोख्रेल विजयी भएका छन् । शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीलाई १७ हजार ३ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै पोख्रेल विजयी भएका हुन् । एमालेका पोख्रेलले ४४ हजार ६ सय ७० मत पाउँदा काँग्रेसकय अधिकारीले २७ हजार ३ सय १४ मत पाए । नवनिर्वाचित पोख्रेलले सबैसँग मिलेर समृद्धिको बाटोमा सँगै हिँड्ने बताएका छन् ।

यस क्षेत्रको प्रदेश सभा क मा माओवादी नेता घनश्याम दाहाल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसका जिल्ला सभापति जीतनारयण श्रेष्ठलाई ४ हजार ७ सय १८ मतान्तरले पराजित गरे । वाम गठबन्धनका दाहालले २० हजार ३ सय ७१ मत पाउँदा श्रेष्ठको पक्षमा १५ हजार ३ सय ६३ मत खस्यो ।

शीर्ष नेतृत्व नै यसपटक पराजयको शिकार भइरहेका बेला आफूलाई खासै अनौठो नलागेको बताउने श्रेष्ठले यसबाट केन्द्रदेखि स्थानीयस्तरसम्म समीक्षा गर्दै आगामी दिनमा अघि बढ्ने बताए ।

क्षेत्र नं.दुईको प्रदेश सभा ख मा निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रकाश अधिकारीलाई ८ हजार ९ सय २ मतले पराजित गर्दै एमालेका विजय सुवेदी विजयी भएका छन् । सुवेदीले २१ हजार ५ सय ७२ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत पाए ।

क्षेत्र नम्बर तीन

क्षेत्र नम्बर तीनबाट वाम गठबन्धनका उम्मेदवार पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डेलाई नौ हजार तीन सय ४१ मतको फराकिलो मतान्तरले पराजित गर्दै प्रचण्ड विजयी भएका हुन् ।

पूर्वप्रधानमन्त्री प्रचण्डले ४८ हजार २ सय ७८ मत पाउँदा पाण्डेले ३८ हजार ९ सय ३५ मत पाए । प्रचण्ड वाम गठबन्धनको साझा उम्मेदवार बनेर निर्वाचनमा होमिएसँगै चितवन क्षेत्र नम्बर तीनको चुनावी सरगर्मी ह्वात्तै बढेको थियो ।
प्रदेश सभा क मा वाम उम्मेदवार कृष्ण भुर्तेल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका दिनेश कोइरालालाई १ हजार ७ सय ४० मतको अन्तरले पराजित गर्दै एमालेका भुर्तेल विजयी भए । चितवनका ९ वटा क्षेत्रमध्ये अन्य क्षेत्रमा भन्दा कम मतान्तरले विजयी हुनु भएका भुर्तेलले २४ हजार ७ सय ८५ मत पाउँदा काँग्रेसका कोइरालाले २३ हजार ४५ मत पाए ।
क्षेत्र नम्बर तीनको प्रदेश सभा ख मा वाम उम्मेदवार रामलाल महतो लोकतान्त्रिक गठबन्धनका साजनकुमार महतोलाई ९ हजार १ सय १६ मतान्तरले पराजित गर्दै विजयी भएका छन् । रामलालले २५ हजार ६१ मत पाउँदा साजनले १५ हजार ९ सय ४५ मत पाए । रामलाल र साजन मामाभाञ्जा हुन् ।
प्रदेश सभा सदस्य पदमा निर्वाचित भएपछि रामलालले मामाभाञ्जाको सम्बन्धमा अलिकति पनि चिसोपना नआउने बताए । ‘हिजोदेखिको सम्बन्ध आज पनि छ, भोलि पनि रहिरहन्छ’ रामलालले भने, ‘यो राजनीतिक प्रतिस्पर्धामात्रै हो । हामी मिलेर अघि बढ्छौँ । भाञ्जाले मलाई बधाई पनि दिनु भएको छ ।’

समृद्धिको सपना अब पूरा हुने

पहिलोपल्ट गृहजिल्लाबाट उम्मेदवारी दिनु भएका प्रचण्डले अब नेपाल इतिहासको नयाँ युगतर्फ प्रवेश गरेको बताएका छन् । धेरै वर्षदेखिको समृद्धिको सपना अब पूरा हुने पनि दाबी गरे । उहाँ यसअघि रोल्पा–काठमाण्डौँ र सिरहाबाट चुनाव लडेका थिए ।

प्रचण्डको जितसँगै चितवनको सबै स्थानमा वाम गठबन्धनले जितेको छ । जिल्लामा रहेको ३ वटा प्रतिनिधि सभा र ६ वटा प्रदेश सभा सदस्य गरी ९ वटै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् ।
विजयी उम्मेदवारलाई सबैजसो पराजित उम्मेदवारले भेटेरै खादा र अबिर लगाई बधाई दिएर सौहाद्र्रता देखाएका छन् । यसलाई सबैले राम्रो राजनीतिक संस्कार बसालेको भन्दै प्रशंसा गरेका छन् ।

तीन लाख ५४ हजार ३६ मतदाता रहेको चितवनमा ७३ प्रतिशत मत खसेको थियो । प्रचण्डसहित सबै नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार एक समारोहबीच विजयी भएको प्रमाणपत्र वितरण गरेको छ । सफलखबरबाट साभार

उपनिर्वाचन : भोलिबाट मौन अवधि

काठमाडौं । बुधबार (भोलि) राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने (मौन) अवधि सुरु हुने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बुधबार राति १२ बजेबाट प्रचार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आचारसंहिताअनुसार निर्वाचन हुने ४८ घण्टाअघिदेखि चुनावको प्रचारप्रसार गर्न पाइँदैन ।वैशाख १५ गते प्रतिनिधिसभातर्फ इलाम–२ र प्रदेशतर्फ बझाङ १ को १ मा उपनिर्वाचन हुँदै छ । इलाममा १९ र बझाङमा ११ उमेदवार चुनावी मैदानमा छन् ।

रिक्त २३ पदहरूमा उपनिर्वाचनको तयारी, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम छुटेकालाई नाम दर्ता गर्न आह्वान गरेको छ । आयोगले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गर्न आह्वान गरेको हो । आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ, “मतदाता दर्तासम्बन्धी विद्यमान व्यवस्था बमोजिम देशभरका योग्यता पुगेका सबै नेपाली नागरिकहरूको मतदाता नामावलीमा नाम दर्ता भएकै छ भन्नेमा आयोग विश्वस्त छ । तथापि, विभिन्न कारणले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका देशभरका र विशेषतः पद रिक्त भएका देहायका स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्र र प्रतिनिधिण्सभा निर्वाचन क्षेत्रभित्रका योग्यता पुगेका नेपाली नागरिकलाई उपनिर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम दर्ता गर्न आयोग आह्वान गर्दछ,” मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य स्थगित गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । ०७९ वैशाख १० गते स्थानीय तह निर्वाचन र मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भएपछि रिक्त पदहरूमा उपनिर्वाचन गर्ने तयारी आयोगले गरेको छ । स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका २३ पदहरू रिक्त रहेकाले उपनिर्वाचन गर्नुपर्ने आयोगले जनाएको छ । उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी प्रारम्भ गरिएको आयोगले जनाएको छ ।

आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रिय सभा चुनावको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा चुनावको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार शितल निवासमा राष्ट्रपति पौडेललाई चुनाव प्रतिवेदन बुझाएका हुन्। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० को निर्वाचन परिणाम सहितको प्रतिवेदन थपलियाले राष्ट्रपति पौडेललाई पेश गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। १९ सदस्यका लागि गत माघ ११ गते राष्ट्रिय सभा चुनाव भएको थियो। जसमा विभिन्न ८ दलका ५१ जना उम्मेदवार थिए। सत्ता गठबन्धनका विभिन्न दलबाट १८ र नेकपा (एमाले) बाट एक जना राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

राष्ट्रिय सभा निर्वाचन सत्ता गठबन्धन १८ र १ सिटमा एमाले विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा सत्ता गठबन्धन १८ सिटमा विजयी हुँदा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले एक सिटमा विजयी भएको छ । बिहीबार बिहान ९ बजेदेखि शुरु भएको निर्वाचनमा सात प्रदेशमध्ये कोशी प्रदेशको एक सिटमा कांग्रेसले माओवादी केन्द्रलाई घात गरेका कारण एमालले माओवादी केन्द्रबाट एक सिट खोस्न सफल भएको छ । राष्ट्रिय सभा सदस्यका लागि कोशीमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र नेकपा एमालेकी रुक्मणि कोईराला, मधेस प्रदेशबाट गठबन्धबाट नेपाली काँग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टी, नेपालकी पूजा चौधरी, बागमती प्रदेशबाट गठबन्धनबाट नेपाली कांग्रेसका विष्णुकुमारी पुडासैनी, नेपाली कांग्रेसकै जितजंग बस्नेत, नेकपा (माओवादी केन्द्र) का श्रीकृष्ण अधिकारी, नेकपा (एकीकृत समाजवादी) का घनश्याम रिजाल निर्वाचित भए । त्यस्तै, गण्डकी प्रदेशबाट सत्ता गठबन्धनकै कांग्रेसका पदमबहादुर परियार, कांग्रेसका किरणबाबु श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा निर्वाचित भए। लुम्बिनी प्रदेशबाट गठबन्धनकै नेपाली कांग्रेसका विष्णुकुमारी सापकोटा र नेकपा (माओवादी केन्द्र) का झक्कु सुवेदी निर्वाचित भए । कर्णाली प्रदेशमा गठबन्धनबाट नेपाली कंँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा (एकीकृत समावादी) का सावित्री मल्ल, नेकपा (माओवादी केन्द्र) का विष्णुबहादुर विश्वकर्मा निर्वाचित भए। सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नरायणदत्त भट्ट तथा नेकपा (माओवादी केन्द्र)का रेणु चन्द निर्वाचित भए । राष्ट्रिय सभामा १९ सिटका लागि बिहीबार मतदान भएको हो । जसमा नेपाली कांग्रेस १० सिटमा विजयी भएको छ भने सत्ता गठबन्धनबाटै नेकपा (माओवादी केन्द्र) ५ सिट र नेकपा (एकीकृत समाजवादी) ले दुई सिट जितेको छ । त्यस्तै, जनता समाजवादी पार्टीले एक सिट जितेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले १ सिट जितेको छ ।

लोकप्रिय