पाँच वर्षमुनिका बच्चामा हुने रेटिनो ब्लाष्टोमा बारे जानौँ

पाँच वर्षमुनिका बच्चामा हुने रेटिनो ब्लाष्टोमा बारे जानौँ

काठमाडौँ, पुस १२ । के तपाईंले पाँच वर्षमुनिका बालबालिकाको आँखाको नानीमा अस्वाभाविक टल्कने थोप्लो, आँखा असामान्यरुपमा रातो भएको, बिस्तारै बाङ्गो अर्थात् डेडो हुँदै गएको देख्नुभएको छ ?

कहिलेकाहीँ सामान्य समस्याले यस्ता लक्षण देखिएको भए पनि यो पाँचवर्षमुनिका बच्चालाई मात्र देखिने आँखाको पर्दामा हुने एक प्रकारको क्यान्सर रेष्टिनोब्लाष्टोमाको कारण पनि हुनसक्छ ।

पाँच वर्षमुनिका बालबालिकाका आँखामा हुने विभिन्न रोगमध्ये देखिने रेटिनोब्लास्टोमा पनि एक हो ।

तिलगंगा आँखा प्रतिष्ठानका आँखा क्यान्सर विशेषज्ञ डा पूर्णिमा राजकर्णिकार स्थापितले यो रोग निकै कम मात्रा देखिए पनि यसबाट आँखाको ज्योति गुमेर आँखै फाल्नुपर्ने वा रोग पुरानो भएर ज्यानै जानसक्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो, “रेटिनोब्लास्टोमा जटिल रोग भए पनि समयमै पत्ता लगाउन सकेमा आँखाको ज्योति बचाउनाका साथै रोग निको पार्न पनि सकिन्छ ।”

तिलगंगामा अघिल्लो वर्ष आएका ४० भन्दा बढी बच्चामा आँखाको क्यान्सर अर्थात् रेटिनोब्लाष्टोमा देखिएको थियो ।

बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र महाराजगञ्जका बाल नेत्र रोग विशेषज्ञ डा ज्योति श्रेष्ठका अनुसार सुरुवात्का दिनमा आँखामा यस्ता परिवर्तनहरु देखिन थाले पनि बच्चा स्वस्थ नै देखिन्छ, तर विस्तारै देख्नसक्ने क्षमतामा भने कमी आइरहेको हुन्छ ।

बच्चाको आँखा रातो हुँदा उनीहरुमा दुखाई हुने, चिडचिडावट हुने र झगडालु पनि हुनसक्छन तर त्यसबारे आमालाई वा परिवारका अरुलाई थाहा नै हुँदैन । त्यसै शुरुवाती दिनमा रोग पत्ता नलाग्दा उपचार गर्न ढिला भइसक्ने चिकित्सकको अनुभव छ ।

नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठले फ्ल्यास क्यामेराले फोटो खिच्दा बच्चाको आँखाको नानीमा सेतो थोप्लो भए प्रष्ट देखिने भएकाले थाहा पाउन सजिलो हुने बताउनुभयो ।

उपचारमा ढिलाइ हुँदै जाँदा वा उपचार नभएमा नानीमा देखिएको सेतो भाग फैलिएर विस्तारै डल्लो बाहिर निस्कने तथा आँखाको आकार असामान्यरुपमा ठूलो हुँदै जान्छ ।

यसरी आँखा बाहिर निस्किएपछि त्यसको असर (क्यान्सर) आँखाको बाहिर तथा शरीरको अन्य अङ्ग जस्तै मस्तिष्क, कलेजो, बोनम्यारो आदिमा फैलिएर अरु समस्या देखिन्छ । यसले बच्चाको ज्यान जोखिममा पर्ने डा श्रेष्ठले बताउनुभयो ।

अमेरिकामा हरेक २० हजार बच्चामध्ये एकजनामा यो रोग देखिन्छ । सबैभन्दा हाइटीका १० हजार बच्चामध्ये एकजनामा यस्तो समस्या देखिएको पाइएको छ । सबैभन्दा कम नेदरल्याण्डमा ३५ हजार बच्चामध्ये एकजनामा मात्र यस्तो समस्या देखिएको छ तर नेपालमा भने अहिलेसम्म यसबारे कुनै तथ्यांक राखिएको पाइएको छैन ।

चिकित्सकका अनुसार यो रोगको बाहिरी कारण नभएर वंशाणुगत कारणले देखिन्छ । परिवारका कुनै सदस्यलाई रेटिनोब्लाष्टोमा भएमा तीन पुस्तासम्मका बच्चालाई यो रोगको जोखिम रहन्छ ।

परिवारमा पहिले नै यो रोग देखिए गर्भावस्थामा पनि जाँच गर्न चिकित्सकले सुझाव दिने गरेका छन् ।

आँखाको भिडियो एक्सरे, सिटी स्क्यान, एमआरआईजस्ता जाँचबाट यो रोग पत्ता लगाउन सकिन्छ ।

बच्चामा रेटिनोब्लाष्टामा शुरुकै अवस्थामा पत्ता लागेमा भने औषधि, लेजरप्रविधि वा केमो दिएर पनि निको पार्न सकिने डा स्थापितले बताउनुभयो ।

“रोग देखिएपछि केमोथेरापी दिएर उपचार गरिन्छ तर निकै ढिला भएमा वा आँखा बाहिर निस्केको अवस्थामा भने शल्यक्रिया गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

आखाँको ट्युमर सानो वा पहिल्यै थाहा भएमा ठूलो हानि नहुने गरी लेजरजस्ता साधारण प्रक्रियाद्वारा उपचार गर्ने गरिन्छ ।

डा स्थापितका अनुसार रोग ढिला भइसकेपछि भने आँखाको डल्लो निकाल्ने तथा आँखा वरिपरिका भाग र जटिल हड्डी निकाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा आँखाका ज्योति गुम्छ ।

काठमाडाँैका आँखाका प्रमुख अस्पताल जस्तोः बिपी कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र, तिलगंगा आँखा अस्पताल र नेपाल आँखा अस्पतालमा रेटिनोब्लाष्टोमाको उपचार हुन्छ ।

नेपालमा आँखाका सबै प्रकारको रोगका लागि राम्रो र सुलभ उपचार सेवा पाइने बताइन्छ ।

त्यसैले आफ्नो र आफ्ना साना नानीहरुको आँखाको जाँच हरेक छ महिनामा गर्ने बानी बसाल्न सके राम्रो हुन्छ ।

वर्षमा एकपटक भने अवश्य चिकित्सकलाई देखाउन बाल नेत्रविशेषज्ञ डा सविना श्रेष्ठको सुझाव छ ।

अझै तीन हप्ता डेंगुको जोखिम कायमै

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका ७५ जिल्लामा फैलिएको डेंगुको जोखिम अझै केही दिन कायम रहने देखिएको छ ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार पुसदेखि हालसम्म देशभर ११ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने छ जना सङ्क्रमितको मृत्यु भएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढी कास्की जिल्लामा पुष्टि भएको छ । डेंगुको सङ्क्रमणको खतरा कायमै रहेकाले थप सजकता अपनाउन चिकित्सकको आग्रह छ । यही तरिकाले बढ्दै गएमा दशैँमा डेंगु भयावह हुन सक्ने विज्ञको आकलन छ । लामखुट्टे वयस्क भइसकेकाले लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन चिकित्सकहरुको सुझाव छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले अझै २०/२२ दिन डेंगुको जोखिम कायमै रहने हुँदा सचेत रहन आग्रह गर्नुभयो    उहाँ भन्नुहुन्छ,“अबको २०-२२ दिनसम्म डेंगुको जोखिम कायमै रहन्छ, त्यसपछि बिस्तारै यसको जोखिम कम हुँदै जानेछ । त्यसैले यो समयमा सचेत रहन सबैलाई आग्रह छ ।”

थप ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ५४ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा गरिएको परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ३७० जना सक्रिय संक्रमित रहेका छन् भने काठमाडौँमा १ जना संक्रमित भेन्टिलेटरमा रहेका छन् । यस्तै आईसीयूमा ३ जना उपचाररत छन् ।

कोरोनो सङ्क्रमण देखिएमा अनिवार्य आइसोलेशनमा बस्न मन्त्रालयको आग्रह

काठमाडौं । देशभर हरेक दिन कोरोना भाइरस संक्रिमतहरुको संख्या बढ्दै गएकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको हो । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाई नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्केपनि अरु मानिसको सम्पर्कमा नजानसमेत आग्रह गरिएको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुन आग्रह गरेको छ ।  

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल

पुरुषका लागि गर्भनिरोधक चक्की बनाउने प्रयास सफल भएको छ । विशेषज्ञहरुले पुरुषले प्रयोग गर्न मिल्ने गर्भनिरोधक चक्की प्रारम्भिक मानवीय सुरक्षा परीक्षणमा पहिलो सफलता प्राप्त भएको जनाएका छन् । दिनको एकपटक खानु पर्ने चक्कीमा शुक्राणु उत्पादन बन्द गर्ने हर्मोन राखिएको छ । अहिलेसम्म पुरुषका लागि कण्डम वा भ्यासेक्टोमी मात्रै गर्भनिरोधक साधनका रुपमा उपलब्ध छन् । विशेषज्ञहरुले यो चक्कीको प्रयोग हुन थालेपछि पुरुषका लागि तेस्रो विकल्प बन्ने जनाएका छन् । तर, डाक्टरहरुले यो चक्की बजारमा आउन अझै एक दशक लाग्ने जनाएका छन् । एलए बायो मेड तथा युनिभर्सिटी अफ वासिङ्गटनका अनुसन्धानकर्ताका अनुसार गर्भनिरोधक चक्की खान छोडेपछि शुक्राणुको उत्पादन पूर्ववत् अवस्थामा फर्किने देखिएको जनाएका छन् । स्वस्थ पुरुषमा हरेक समय नयाँ शुक्राणुहरु उत्पादन भइरहेका हुन्छन् । यसको उत्पादनलाई रोक्नका लागि हर्मोनकै प्रयोग गर्नुपर्ने हुन्छ । तयार पारिएको चक्कीले शुक्राणुको उत्पादन त्यसको डोजले कायम रहुन्जेल मात्रै रोकिने विज्ञले बताएका छन् । महिलाका लागि भने ५० वर्षअघि देखि गर्भनिरोधक चक्की प्रयोग हुँदै आएको छ । तर पुरुषका लागि चक्की बनाउँदा त्यसका कारण यौन चाहना र लिंगको उत्तेजनामा कमी आउने समस्या मुक्त बनाउनु पर्ने भएकाले समय लागेको विशेषज्ञहरुले बताएका छन् ।

लोकप्रिय