पूर्वविद्यार्थीको पुनर्मिलनबाट एक करोड संकलन

पूर्वविद्यार्थीको पुनर्मिलनबाट एक करोड संकलन

म्याग्दी, पुस १० । धार्मिक क्षेत्रमा जस्तै सामुदायिक विद्यालयको स्तरवृद्धिका लागि पनि महायज्ञ आयोजना गर्ने होड म्याग्दीमा निकै पुरानो हो । जिल्लाका दर्जनौँ शैक्षिक संस्थामा शैक्षिक तथा भौतिक विकासका निमित्त महायज्ञ सम्पन्न भइसकेका छन् । सामुदायिक विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेको महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च कटाउँदा न्यून बचत हुने गरेको सन्दर्भमा यहाँको एक विद्यालयले फरक शैली अपनाएर करोडौँ रकम संकलन गरेको छ ।

बेनी नगरपालिका–४ सिंगामा रहेको धौलागिरि माध्यमिक विद्यालयले विद्यालयको चौतर्फी विकासमा सहयोग जुटाउन विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकको पुनर्मिलन कार्यक्रममार्फत रु एक करोड भन्दा बढी सहयोग जुटाएको हो । पुस ७ र ८ गते विद्यालयमा आयोजना गरिएको सो कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर जुरेको थियो ।

सो अवसरमा विद्यालयका पूर्वविद्यार्थी, शिक्षक र शुभचिन्तकले खुशी साटासाट मात्रै गरेनन्, उनीहरुले विद्यालयका लागि रु एक करोड ११ लाख सहयोग रकम समेत जुटाए । जिल्लामा एकमात्रै बहिरा स्रोत कक्षा सञ्चालन गरेको विद्यालयले चालू शैक्षिक सत्रदेखि शुरु गरेको कक्षा ११ र आगामी वर्ष शुरु हुने कक्षा १२ को पठनपाठनलाई व्यवस्थित गर्न र प्राविधिक शिक्षासमेत थाल्न आर्थिक संकलन गर्ने उद्देश्यले पुनर्मिलनको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अणबहादुर खड्काले बताउनुभयो ।

“पूर्वविद्यार्थीबाट उत्साहपूर्णरुपमा सहयोग प्राप्त भयो, अभिभावक, शुभचिन्तक र पूर्वशिक्षकले समेत विद्यालयको भौतिक र शैक्षिक विकासका निम्ति खुलेरै सहयोग गरेका छन्, यो सहयोग रकमलाई कोषको रुपमा स्थापित गर्छौं, आगामी दुई÷दुई वर्षमा समेत यस्तै पुनर्मिलन कार्यक्रम गर्ने हाम्रो योजना छ” – विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्काले भन्नुभयो । विसं २०१८ मा स्थापना भएको यस विद्यालयबाट अहिलेसम्म करिब तीन हजार विद्यार्थीले अध्ययन सक्याए । उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजनाअनुसार पुनर्मिलन कार्यक्रमलाई निरन्तरता दिन दिएको मूल संयोजक मोहनप्रसाद रेग्मीले बताउनुभयो ।

समुदायको आवश्यकतालाई ध्यानमा राख्दै विद्यालयले यसै वर्षदेखि कक्षा ११ को पठनपाठन शुरु गरिसकेको छ । आगामी वर्ष कक्षा १२ र निकट भविष्यमै प्राविधिक शिक्षासमेत सञ्चालन गर्ने विद्यालयको योजना छ । कक्षा ११ र १२ सञ्चालन गर्न मासिक रु दुई लाख खर्च हुने भएपछि विद्यालयले अक्षय कोषको रुपमा राखेर ब्याज रकमबाट खर्च जुटाउन न्यूनतम रु दुई करोडको कोष बनाउने योजना अघि सारेको हो ।

विद्यालयको स्तरवृद्धि गर्दै जाँदा आइपरेको आर्थिक संकटलाई समाधान गर्न विद्यालयकै शैक्षिक उत्पादनलाई सदुपयोग गर्ने नीति अवलम्बन गरिएको प्रधानाध्यापक डण्डपाणि सापकोटाले बताउनुभयो । “सरकारी तवरबाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्व विद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै उहाँहरुबाट सहयोग जुटाउन थालेका हौँ”– प्रअ सापकोटाले भन्नुभयो ।

विद्यालयमा दुई दिनसम्म सञ्चालन भएको पुनर्मिलन कार्यक्रममा विविध कारण स्वदेश तथा विदेशका विभिन्न ठाउँमा पुगेका पूर्व विद्यार्थी, शिक्षक तथा विद्यालयका शुभचिन्तकले विद्यालयको चौतर्फी विकासका बारेमा समेत छलफल गरे । सो अवसरमा विद्यावारिधि गर्न सफल विद्यालयका पूर्व विद्यार्थी डा मीनबहादुर श्रेष्ठ, डा टीकाबहादुर कार्की, डा जीवन बानियाँ र डा चक्रबहादुर बुढाथोकीलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्व विद्यार्थीले उदार मनले सहयोग गरेको छ ।

पुनर्मिलन कार्यक्रममा विद्यालयलाई आफ्नो परिवारका तर्फबाट रु तीन लाख तीन हजार ३३३ आर्थिक सहयोग गरेका विद्यालयका पूर्व विद्यार्थी डा जीवन बानियाँले जीवनको शुरुवातमा शिक्षा दिने विद्यालयप्रति आफूहरुको उत्तरदायित्व कहिल्यै पूरा नहुने बताउनुभयो । विद्यालयले अभियान सञ्चालन गरेदेखि नै आर्थिक संकलन जुट्न थालेको थियो । सो अभियानमा हाल न्यूजिल्याण्डमा रहनुभएका बेनी नगरपालिका–४ बास्कुना निवासी पूर्वविद्यार्थी लालबहादुर केसीले आफ्नो हजुरआमा गौमती केसीको नाममा रु २५ लाखको अक्षयकोष स्थापनाको घोषणा गर्नुभयो । सो कार्यक्रममा दाता केसीको हजुरआमा गौमतीसहित उहाँको परिवारलाई विद्यालयले भव्य स्वागत तथा सम्मान गरेको थियो ।

त्यस्तै, सिंगा निवासी लालबहादुर खत्री र कमलकुमारी भट्टचनको परिवारले रु पाँच लाख ५५ हजार ५५५ को दरले आर्थिक सहयोग गरेका छन् । त्यसैगरी, चन्द्रबहादुर बानियाँको परिवारबाट रु तीन लाख तीन हजार ३३३, लक्ष्मीदेवी श्रेष्ठको परिवारबाट रु तीन लाख ३० हजार, जितबहादुर बुढाथोकीबाट रु दुई लाख २२ हजार २२२, दिलकुमारी सापकोटाबाट रु दुई लाख प्राप्त भएको छ । कार्यक्रममा अन्य पूर्वविद्यार्थी, शिक्षक तथा अभिभावकबाट समेत लाखौँ आर्थिक सहयोग भएको थियो । विद्यालयले आर्थिक सहयोग गर्ने दातालाई भव्य सम्मानसमेत गरेको थियो । सामुदायिक विद्यालय सञ्चालनमा आर्थिक स्रोत जुटाउन धौलागिरि माविले गरेको प्रयास अनुकरणीय देखिएको विद्यालयका पूर्व विद्यार्थीसमेत रहेका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले बताउनुभयो ।

“यो विद्यालयकै कारण हामीले शिक्षाको भविष्य देखेका हौँ, यसको विकासका निम्ति हामी सबैको दायित्व हुन्छ, विद्यालयले आयोजना गरेको पुनर्मिलन कार्यक्रमले पूर्व विद्यार्थी र शिक्षकमा विद्यालयप्रतिको उत्तरदायित्व बढाएको छ”– कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा श्रेष्ठ भन्नुभयो । धौलागिरि माविले गरेको यस कार्यक्रमले पर्याप्त सरकारी अनुदान नपाएर आर्थिक संकट झेल्दै आएका सामुदायिक विद्यालयका लागि आपनै विद्यार्थी भरपर्दा सहयोगी हुनसक्छन् भन्ने प्रमाणित गरिदिएको छ ।

माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिद्वारा दश लाख सहयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको पश्चिम उपमहादेशीय संगठन समितिले बाढीपहिरोपीडितका लागि दश लाख रुपैयाँ सहयोग गरेको छ। नेकपा माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा सो समितिले सहयोग हस्तान्तरण गरेको हो। समितिका सचिव तिलक केसी र प्रवास कार्यालयका मुख्य सचिव टिबी पाठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दश लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो। सहयोग ग्रहण गर्दै अध्यक्ष प्रचण्डले पश्चिम उपमहादेशीय संगठन समितिलाई धन्यवाद दिनुभयो। उहाँले हिजो बसेको पदाधिकारी बैठकको निर्णयअनुसार आज केन्द्रीय राहत कोष स्थापना गरिएको उल्लेख गर्दै यसमा पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिलगायत इच्छुक सबैलाई सहयोगका लागि आह्वान गरिएको जानकारी दिनुभयो । उहाँले घटनालगत्तै सम्बन्धित क्षेत्रमा रहेका नेता कार्यकर्ता उद्धारमा परिचालित भएको जानकारी दिंदै सबै जवस र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिइएको बताउनुभयो । प्रसावमा रहेका पार्टी कमिटीहरुले पनि सहयोग पठाउने कार्य सुरु गरकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अध्यक्ष प्रचण्डले जनताको दुःखपीडालाई सम्बोधन गर्नु नै राजनीतिको मुख्य अभिष्ट भएकाले संकटको बेलामा जनताको सेवामा जुट्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभयो। यसअघि हिजो माओवादी केन्द्रको एसिया संगठन समितिले पाँच लाख सहयोग हस्तान्तरण गरेको थियो । त्यस्तै आज माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोप कमिटीले दुई लाख लाख रुपैयाँ सहयोग नेपाल पठाएको जनाएको छ । मञ्चका अध्यक्ष चित्र सुवेदी र महासचिव धर्मराज खतिवडाले विज्ञप्तिमार्फत सहयोग पठाएको जानकारी गराउँदै राष्ट्रिय कमिटीहरू, पदाधिकारी, सल्लाहकारलगायतलाई स्वैच्छिक रूपमा आर्थिक सङ्कलनका लागि अपिल गर्नुभएको छ ।

पत्रकारलाई कैद सजाय प्रकरणः पत्रकार महासंघले उठायो आदेशमाथि प्रश्न

काठमाडौं ।  अनलाइन न्युज पोर्टल सिधा कुरा डटकमका कार्यकारी सम्पादक नवीन ढुंगाना र प्रकाशक युवराज कँडेललाई सर्वोच्च अदालतले जेल सुनाएपछि नेपाल पत्रकार महासंघले चासो जनाएको छ । सोमबार महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै सर्वोच्चबाट भएको फैसलाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन-प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको थियो’, उनले भनेका छन्, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्च्याउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’ सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्ने मान्यता महासंघले राखेको उनलले बताएका छन् । महासंघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने पनि भनेको छ । ‘सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइसकेको अवस्थामा सर्वोच्च अदालतले आफैंले प्रतिवेदन उठान गरेर, निवेदन दर्ता गरी आफैंले पत्रकारलाई जेल पठाउने फैसला गरेकोमा महासंघको गम्भीर चासो र चिन्ता छ । महासंघ कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ उनले भनेका छन् ‘संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघ आग्रह गर्दछ ।’ सर्वोच्चका प्रधानन्यायाधीश विश्वम्भवरप्रसाद श्रेष्ठसहित ९ न्यायाधीश संलग्न बृहत् पूर्ण इजलासले आइतबार निर्णय सुनाउँदै विवादित अडियो रेकर्ड गर्ने राजकुमार तिम्सिनालाई पनि ६ महिना कैद सजाय सुनाएको थियो । त्ययसैगरी सिधाकुराका कँडेल र ढुंगानालाई जनही ३ महिना कैद सजाय सुनाएको थियो । यद्यपि, माफी मागे ७ दिन मात्रै कैद बस्नुपर्ने कुरा फैसलामा उल्लेख छ ।

माओवादी केन्द्रद्वारा केन्द्रीय राहतकोष स्थापना, सांसदहरुले दश/दश दिनको पारिश्रमिक दिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले बाढीपहिरो पीडितका लागि केन्द्रीय राहत कोष स्थापना गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को नाममा रहेको ग्लोवल आइएमई बैंक कोटेश्वर शाखामा रहेको ३६०१०१०००००४५ नम्बरको खातामा रकम जम्मा गर्न सकिने गरी केन्द्रीय राहत कोष स्थापना गरिएको हो। हिजो बसेको कार्यालय (पदाधिकारी) बैठकको निर्णयअनुसार राहतकोष स्थापना गरेर माओवादी केन्द्रले माताहतका कमिटीहरुलाई राहत जम्मा गर्न परिपत्र पनि गरिसकेको छ। सो केन्द्रीय राहतकोषमा संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुले दश दश दिनको पारिश्रमिक जम्मा गर्ने छन् भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई स्वैच्छिक सहयोग गर्न माओवादी केन्द्रले परिपत्र गरेको छ । त्यस्तै पार्टीका प्रदेश समितिहरुले पनि राहत रकम संकलन गरी केन्द्रीय राहतकोषमा रकम जम्मा गर्ने व्यवस्था मिलाइएको माओवादी केन्द्रको केन्द्रीय कार्यालयले जनाएको छ । पदाधिकारी बैठकको निर्णयअनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको विपत व्यवस्थापन विभागले हेल्प डेस्क स्थापना गरेर दैनिक विपतको स्थिति अद्यावधिक गर्ने व्यवस्था मिलाइएको छ। विपतको सामना गर्न पार्टी पंक्ति, जबस र मोर्चाहरुलाई विपत् क्षेत्रमा स्वयंसेवक खटाउन, खोज, उद्धार, राहत र पुनर्स्थापनामा जुट्न पनि माओवादी केन्द्रले माताहतका कमिटीलाई परिपत्र गरिसकेको जनाएको छ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

लोकप्रिय