पूर्व लडाकु महराले जितेको वडामा जनसत्ताको अभ्यास
धनगढी। रातो हाप टिसर्ट र कट्टुमा भेटिएका थिए, वडा अध्यक्ष बहादुर सिं महरा । अनि बसेका थिए रातै डल्फीन कुर्चीमा । उनको हातमा थियो,जरिवाना रसिदको ठेली पनि । उनी एक अद्बैसे महिलालाई वडा कार्यालयको नियम बारे बुझाउँदै थिए । उनको हातमा थमाउँदै थिए जरिवाना रसिद पनि । तर ती महिला भने अटेर गरी रहेकी थिइन् । दुबै जनाबीच एकछिन चर्को भनाभननै चल्यो ।
नियम सबैका लागि समान हुन्छ,नियम मिच्ने जो सुकैलाई पनि कारबाही गरिन्छ भन्दै अन्तः जरिवाना रसिद थमाएरै छोडे । जंगल क्षेत्रमा गाई छाडा छोडे बाफत बयस्क गाईको १५ सय र सानोको एक हजार रुपैयाँ जरिवाना लिने नियम अनुसार रु २५ सय वडा अध्यक्ष महराले जरिवाना गराएका हुन् ।
जरिवाना नर्तिर्ने ढिपी गरि रहेकी महिला अन्तिममा स्थानीय तहको निर्वाचनमा आफुले भोट नहालेका कारण वडा अध्यक्षले आफुलाई जर्वजस्त जरिवाना गराएको र नमस्कार पनि नगरेको भन्दै रिसाएर घरतिर लागिन् । शुक्लाफाँटा नगरपालिका छाडा पशु चौपाया व्यवस्थापन सम्बन्धी कार्यबिधी २०७५ अनुसार उनलाई जरिवाना गरिएको अध्यक्ष महराले बताए ।
शुक्लाफाँटा नगरपालिका-८ फुलेली वडापालिकाले मणीकाधाम जाने बाटो छेउमै बन बातावरण,विपद् व्यवस्थापन तथा बन्यजन्तु सुरक्षा बिशेष युनिट स्थापना गरेको छ । चुरे क्षेत्रसंग जोडिएको ८ नं.वडा आगलागी र नदी कटानयुक्त वडा हो । यहाँ गौडी नदी,घरकटुवा नदी -घर जग्गा कटान गर्ने हुनाले) सुनबरा नदी,बनहरा नदी,धारापानी खोलाले बर्षेनी कटान गर्नाले बस्तीनै जोखिममा रहेको छ । यहाँ बर्षेनी आगलागी र बाढीले समस्या निम्त्याउँछ ।
यसैलाई मध्यनजर गर्दै ०७५ भदौ १५ गते बिशेष युनिट स्थापना गरिएको हो । अग्नी नियन्त्रण र बाढी पिडित वडाबासीको खोज तथा उद्धारसंगै घाईते बन्यजन्तुको उद्धार तथा उपचारका लागि बिशेष सुरक्षा युनिट स्थापना गरी छाडा गाईबस्तुहरुको व्यवस्थापनका लागि गौशाला निर्माण गरेर अध्यक्ष महराले प्रशंसनीय काम गरेका छन् । शुक्लाफाँटा नगरपालिकाबाट प्राप्त दुई लाख रकममा ४० हजार जनश्रमदान जुटाएर उनले झलारी धारापानी सडकको ट्यांकीदेखी धारापानी लिंगासम्मको ६ मिटर चौडाई भएको ३ किलोमिटर २ सय ६० मिटर लामो बनपथ निर्माण गरेर उदाहरणीय काम समेत गरेका छन् ।
बिशेष सुरक्षा युनिटले ६० हजार हेक्टर बनक्षेत्रको सुरक्षा गर्दै आएको छ । सामुदायिक बन उपभोक्ता समितिको तीन बिघा क्षेत्रफल जमिनमा माटोले पोतेको आकर्षक टहरो निर्माण गरिएको छ । टहरोमा सभाहल,पशु स्वास्थ्य सेवा केन्द्र,उद्धार सामाग्री स्टोर,खाधान्न स्टोर,सुत्ने र भान्सा गरी ३ वटा टहरो र एउटा पक्की सौचालय निर्माण गरिएको छ । आकस्मिक आईपर्ने विपद्का लागि पूर्व तयारीको रुपमा अग्नी नियन्त्रण सामाग्री,बाढी पिडित उद्धार सामाग्री,सवारी साधन,प्राथमिक उपचार लगायत आबश्यक सामाग्रीहरु रहेका छन् ।
यहाँ अध्यक्ष महरासहित २५ जना तालिम प्राप्त उद्धारकर्ताहरु २४ सै घण्टा उद्धार कार्यमा खटिरहेका हुन्छन् । उद्धार दस्ता दैनिक विपद् व्यवस्थापन प्रतिकार्य अभ्यासमै व्यस्त रहनछन् । विहान बेलुका आलोपालो भान्साको काम गर्छन् । दैनिक भान्सामा मोटो चामल र दाल पाक्छ । पालैपालो आफै भात पस्केर सामुहिक रुपमा एकै थलोमा बसेर भोजन गर्छन् । जिम्मेवारी अनुसारको कार्य सम्पादन गर्न जंगल क्षेत्रमा परिचालन हुन्छन् । छाडा बस्तु चौपायाको रेखदेख,मलमुत्र संकलन,घाईते जंगली जनावरको उद्धार,चोरी सिकारी,काठ तस्करी नियन्त्रण गर्नु सुरक्षा दस्ताको दैनिकी हो । सबैले पालैपालो जंगलमा ड्युटी गर्ने नियम बसालिएको छ ।
घना जंगलबीचमा तीन ठाउँमा खरले छाएको सेन्ट्री निर्माण गरिएको छ । सेन्ट्रीमा सुरक्षा दस्ताले विहानदेखी बेलुकीसम्म पहरा दिई रहेका हुन्छन् । सुरक्षा दस्ताले पहरा दिन थालेपछि लुटपाट पूर्ण रुपमा अन्त्य भएको छ । यसअघि घासदाउरा लिन आउने र बाटो हिडेने महिलाहरु अपरीचित पुरुषहरुबाट लुटिने गरेका थिए । हातमा चक्कु बोकेर बसेकाहरुले महिलाहरुको सुनका गरगहनाहरु लुट्ने गरेको स्थानीयहरु बताउँछन् ।
युद्धकालमा जनमुक्ति सेनाले जे गर्ने गरेका थिए । त्यही अभ्यास महराले यहाँ पनि पालना गरेका छन् । समान काम समान व्यवहारको निति यहाँ लागु गरेका छन् । खाना,बासको व्यवस्था गरेर प्रति जनाले दैनिक ४ सय पचास रुपैयाँ पारिश्रमिक पाउँछन् । काम परेका बेला मात्र घर जाने महरा २४ सैं घण्टा यही युनिटमा बिताउँछन् ।
कार्यालय समयमा सेवाग्राहीको सेवाका लागि वडा कार्यालयमा रहने वडा अध्यक्ष महरा त्यसपछिको पुरै समय भने बिशेष सुरक्षा युनिटमै बिताउने गर्छन् । विहान सबेरै उठेर हाप टिसर्ट र कट्टुमा उनी दैनिक कार्य योजना अनुसारको जिम्मेवारी पुरा गर्नु र अन्य साथीहरुलाई पनि जिम्मेवारी अनुसारको खटनपटन गर्नमै व्यस्त रहन्छन् ।
जंगलभित्र ३ ठाउँमा गौशाला निर्माण गरिएको छ । पशु चौपायाका लागि ठाउँठाउँमा पानी खाने खाल्डो स्थल निर्माण गरिएको छ । छाडा छोडिएका पशुचौपायाको ब्यबस्थापन गर्न पटकपटक असफल भएपछि २०७५ साउन २६ गते शुक्लाफाँटा नगरपालिकाभरीका जनताले आन्दोलन गरि नगरपालिकाभित्र छाडा पशुचौपाया हुलेपछि छाडा पशुचौपायाको ब्यबस्थापन गर्न चुनौतीपूर्ण कदम उठाएको अध्यक्ष महराले बताए । उनले भने, गौशालाबाट संकलन गरिएको गौबर बिक्रि गरेर डेढ लाख रुपैयाँ आम्दानी समेत गरिएको छ । बहुउदेश्यिक छाला प्रशोधन उधोग स्थापना गर्न सके स्वरोजगार सृजना गर्न सकिने समेत उनले बताए ।
को हुन महरा ?
२०४३ साल भदौ ८ गते मार्मा गाउँपालिका ८ दार्चुलामा वुवा अमर सिंह र आमा द्रोपतीदेबी महराका आठौं सन्तानको रुपमा जन्मिएका ३३ बर्षिय बहादुर सिं महरा तत्कालिन नेकपा माओबादीले संचालन गरेको महान जनयुद्धमा होमिएका थिए । २०५८ पौष महिनामा वडा प्रमुखको जिम्मेवारी पाएर पूर्णकालिन बनेका उनी ०५९ सालमा जिल्ला मिलिसिया ०६१ साल असोज १५ गते जनमुक्ति सेनामा आबद्ध भए ।
जनमुक्ति सेनामा आबद्ध उनी फन्ट गार्ड लिडर,सेक्सन सहायक कमाण्डर सेक्सन कमाण्डर प्लाटुन सहायक कमाण्डर प्लाटुन कमाण्डर जिम्मेवारी सम्हाल्दै तत्कालिन शाही नेपाली सेनासंगको समायोजन प्रकियामा कैलाली जिल्लाको बडैपुरमा रहेका जनमुक्ति सेनाको सातौ डिभिजनबाट ०६९ असारमा स्वच्छीक अबकास लिएर फर्केका हुन् ।
०७२ असोज १० गते दार्चुलाबाट शुक्लाफाँटा नगरपालिका ८ फुलेलीमा बसाई सरी आएका महरा बसाई सरी आएको ६ महिनामै स्थानीयको साथ पाएर ०७२ चैत्र १२ गते श्री बैजनाथ सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भए । सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष निर्वाचित भएको १६ महिनामै स्थानीयको मनमनमा बस्न सफल भएका महरा स्थानीयकै अनुरोधमा ०७४ असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ६४१ मत प्राप्त गरी वडा अध्यक्ष निर्वाचित भएका हुन् ।
सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष भएपछि उनले यसअघि समितिमा हुदै आएको आर्थिक अनियमितता, अत्याचार, बन्यजन्तुको चोरी सिकारी, काठ तस्करी निर्मल पार्नुका साथै राजनीतिक पूर्वाग्रहका आधारमा उपभोक्ताहरुलाई बन पैदावार उपभोगबाट बंचित गरिनु लगायतका समस्याहरु हटाएपछि उनीप्रति एकाएक स्थानीयको बिश्वास बढेपछि उनी वडा अध्यक्ष निर्वाचित हुन सफल भएका हुन् ।
शासन व्यवस्था परिवर्तनका लागि नेकपा माओबादीले संचालन गरेको जनयुद्धमा अन्याय र अत्याचारका बिरुद्ध लड्न जनयुद्धमा होमिएका उनीसंग जनमुक्ती सेनाको कठोर अनुशासन पालना गरेको अनुभव छ । यही अनुभवले उनलाई छोटो अबधीमै चूनौतीको पहाड चड्न र सामना गर्न सिकायो । अन्तः उनले युद्धकालिन अनुभवलाई आफ्नो कार्यशैली मार्फत देखाउन सफल भएका छन् ।
जनमुक्ति सेनाको कठोर अनुशासनबाट खुल्ला जीवनमा आएको मेरा लागि नयाँ ठाउँमा चुनाव लडेर सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष बन्नु नौलो अभ्यास थियो तर पनि यहाँका जनताको साथ र बिश्वासले गर्दा अध्यक्ष बन्न सफल भएको उनले बताए ।
निकै चुनौतीकाबीच अध्यक्षको जिम्मेवारी सम्हालेको थिए,केही गरेर देखाउ भन्ने युवा जोस पनि थियो जनताले साथ दिए,रातदिन खटेर काम गरे अहिले पुरै सिस्टम परिवर्तन गर्न सफल भएको छु उनले छोटो अबधीमै सफल हुनुको अनुभव सुनाए ।
घना जंगल एरियामा बस्ती भएकाले युवाहरु दिउँसै कुखुरी बोकेर हिड्ने,जंगलमा घासदाउरा गर्ने महिलालाई लुटपाट गर्ने,पुरुषहरु दिनभर जुवातास खेल्ने साझ मदिरा सेवन गरेर श्रीमती कुट्ने लगायतका क्रियाकलापले वडानै बदनामीत भएको रहेछ । त्यसलाई पूर्ण रुपमा बन्द गर्न सफल भए । छोटो अबधीमै मेरो कामको मूल्यांकन गर्दै यहाँका जनताले वडा अध्यक्षको चुनाव लड्न आग्रह गरेपछि उम्मेदवारी दिए र बिजयी भए उनले भने,टिकटका लागि २८ जना दावेदार थिए मध्ये स्थानीयकै पहलमा आफुले टिकट पाएको बताए ।
जाड,रक्सी सेवन गर्ने,जुवातास खेल्ने,छाउपडी प्रथा,छुवाछुत,बहुविवाह गर्नेलाई वडाको सेवा सुबिधामा रोक लगाउने,जनताको जिउधनको सुरक्षा जनता आफैले गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्न जनताको सुरक्षा जनताबाटै कार्यक्रम संचालन,प्रत्येक घरहरु राष्ट्रिय सडक संजालसंग जोडिनु,श्री सिद्धनाथ मा।वि।श्री बैजनाथ आधारभुत बिद्यालय,श्री पंचकोटी आधारभुत विद्यालय र श्री जनभावना आधारभुत बिद्यालयमा आबश्यक भौतिक पूर्वाधार निर्माण,नदी कटान रोक्न जैविक तटबन्धनको प्रयोग,यस क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुमा सडक विस्तार,पदमार्ग निर्माण र प्रचार,प्रचार लगायतका जनतासंग प्रत्यक्ष जोडिका कार्यक्रमहरु संचालन गरिनु नै मेरो दुई बर्षे कार्यकालको महत्वपूर्ण उपलब्धी हो अध्यक्ष महराले सुनाए । कट्वाल खबरबाट
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

