‘प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन’

‘प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन’

दिलनिशानी मगर
फिल्मको नाम याद भएन तर हिन्दी फिल्ममा एउटा रोचक दृश्य छ । कुनै सरकारी अड्डामा सेवाग्राहीहरू लाइन बसिरहेका हुन्छन् । लाइन निकै लामो हुन्छ ।

यसैबीच हतारहतार दौडेर आएका एक जना नायक लाइनको बीचमा पुगेर उभिन्छन् र अझै अगाडि बढ्न खोज्छन् । यत्तिकैमा त्यहाँ लामो समयदेखि गर्मीमा लाइन बसिरहेका सेवाग्राहीको विरोध शुरू हुन्छ ।

एक जनाले लाइन यहाँ हैन, ‘तिमी पछाडि जाऊ’ भनेर सिकाउँछन् । सोही बखतमा ती नायक आवेगमा झर्कँदै बोल्छन्, ‘तिनीहरू चुप बस, म जहाँ उभिन्छु लाइन त्यहीँबाट शुरू हुन्छ ।’ अनि सबै जना मुखामुख गरेर चुप बस्छन् ।

नेपाली राजनीतिका शीर्ष व्यक्तित्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिन्दी फिल्मका नायक त होइनन् तर नेपाली राजनीतिका नायक भने पक्कै हुन् ।

हिजो एकात्मक केन्द्रीकृत सामन्ती राज्यसत्ताविरुद्ध, राजतन्त्र अन्त्यका निम्ति युद्ध सञ्चालन गर्नुपर्छ भन्दा ‘हुन्न हुन्न’ भन्नेहरू धेरै थिए । धेरै जना ‘मरिन्छ कि’ भनेर डराएका थिए ।

मोहनविक्रम सिंहहरूसँग सल्लाह गर्दा खिस्सी गरेका थिए । चित्रबहादुरहरू प्रचण्डसँग छलफल गर्नुभन्दा घाम तापेर बस्दा फाइदा हुन्छ भन्ने तर्क गर्ने गर्थे तर प्रचण्ड हतियार सहितको राजनीतिक संघर्षको लाइनमा खडा भए । अनि त्यहीँ लाइनदेखि शुरू भयो महान् जनयुद्धको नयाँ लाइन, जसलाई प्रचण्डपथका रुपमा परिभाषित गरियो ।

जनयुद्ध जारी थियो । तात्कालिक शाही नेपाली सेना र जनमुक्ति सेनाबीच लडाइँ जारी थियो । कांग्रेस, तत्कालीन एमाले र एक हदसम्म दरबारसँग वार्ता जारी थियो । पक्कै पनि यी वार्तामा दिल्ली साक्षी बसिरहेको थियो वा दिल्ली भूराजनीतिक दृष्टिकोणले चनाखो थियो । अचानक प्रचण्डले शान्ति प्रक्रियाको मोडल ल्याए । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मुहारचित्र कोरे । धेरैले यसको विरोध गरे । धेरै पाखा लागे ।

तत्कालीन एमाले नेता केपी ओलीले खिस्सी गरे । जंगलीदेखि लिएर गुलेलीसम्मका उखानहरू सुनिए तर नरम धारका मानिएका माधवकुमार नेपाल, वामदेव गौतम लगायतको प्रयास तथा स्व. गिरिजाप्रसाद कोइरालाको त्यागका कारण देश प्रचण्डको उभिएको लाइनमा गयो । ती दिनहरूमा प्रचण्ड उभिएको लाइनमा केपी ओली उभिन सकेका थिएनन् । हिजो उभिन नसकेका ओलीलाई अहिले उभिन लाज लागेको पनि हुनसक्छ ।

त्यसयता प्रचण्डले पछाडि फर्केर हेरेका छैनन् । उनी जहाँ उभिन्छन्, त्यहीबाट चिजको विकास भएको छ, चिजको निर्माण भएको छ । एउटै पार्टीमा बसिरहनु, पार्टी नफुट्नु, ठूलो पार्टी मात्र भइरहनु खासै मुख्य कुरा होइन, मुख्य कुरा विचार र परिवर्तन साँचो अर्थमा आयो कि आएन भन्ने हो ।

यहाँ जुलुस त दरबारको पक्षमा पनि निस्किन्छन्, पञ्चायती शासनको पक्षमा पनि निस्कनसक्छ तर मुख्य कुरा त्यो जनताको हितमा छ कि छैन भन्ने कुरा प्रधान हो ।

केपी ओली आफू बालुवाटारमा प्रधानमन्त्रीको कुर्चीमा बसेर सडकमा २०–४० जना केटाहरू नचाउनु कत्तिको जायज हो ? यदि जायज हो भने ओली सरकारका समर्थकभन्दा तेब्बर बढी संख्यामा जनताहरू विरोधमा दिनहुँ जस्तो सडकमा निस्किएका छन् । केपी ओली किन राजीनामा दिँदैनन् त ?

किन दिँदैनन् भने केपी ओली निकै जब्बर छन् । हिजो नेपालमा गणतन्त्र सम्भव नै छैन भनेर हालका प्रधानमन्त्री केपी ओली समेतले प्रचण्डको खिस्सी गरे र गणतन्त्रको सपनालाई बलयगाढा चढेर अमेरिका जाने सपनासँग तुलना गरे तर प्रचण्ड गणतन्त्रकै पक्षमा उभिए ।

प्रचण्ड जहाँ उभिए, त्यहीँबाट शुरू भयो गणतन्त्रको बीजारोपण । हिजो अन्तिमसम्म र अझै पनि राजतन्त्रलाई स्पेस दिन सकिन्छ कि भनेर बेबी किङको चर्चाहरू गरिए, प्रयासहरू भए तर ती सबै प्रयासलाई प्रचण्डले निस्तेज पार्दै आए । यसरी संघीयता होस् वा समावेशी नेपाल होस् वा राजतन्त्रको अन्त्य नै किन नहोस्, प्रचण्ड जहाँ उभिए त्यहीँबाट शुरू भए परिवर्तनका यात्राहरू ।

यदि साधारण गाउँको जनताको छोरी हुन् भने यो कुरा त राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि थाहा हुनुपर्ने हो ।

आज धेरैलाई भ्रम छ प्रचण्ड सकिएको थियो, एमालेले साथ दियो, एमाले नभएको भए प्रचण्ड हुने थिएनन् । यस्तै सोचका कारण केपी ओलीमा अहंकार पलाएको प्रस्ट छ तर उनीहरूलाई के थाहा छैन भने पार्टी हुनका लागि विचार हुनुपर्छ, पार्टी हुनका लागि एउटा उद्देश्य हुनुपर्छ । आजको मितिमा केपी ओलीको उद्देश्य के हो ? उनको राजनीतिक विचारधारा के हो ?

केपी ओलीको राजनीतिक विचार नै छैन । न उनी समाजवादी हुन्, न उनी मार्क्सवादी र साम्यवादी । उनी त केही पनि हैनन् । त्यही एउटा गुट छ, ओली गुट, जुन निकै बलियो छ । बलियो पनि कसरी भएको भने ओलीले मौकामा आफ्ना भारदारहरूमाथि राम्रै लगानी गरेका छन् । उनले हाससालै गरेका राजनीतिक नियुक्तिहरू हेर्नुहोस्, चिज क्लियर छ ।

यो बीचमा केपी ओलीले आफूलाई निकै ठूलो राष्ट्रवादी नेताका रुपमा पुष्टि गर्न खोजे तर महाकाली नदीको श्राप उनले बिर्सनु हुँदैन । नयाँ नक्सा जारी भएको उनको कारण मात्र होइन । समाजवादी दलको समेत समर्थन छ यो कुरामा । ‘एक्सिडेन्टल हिरो’ भएको जस्तै ‘एक्सिडेन्टल राष्ट्रवादी’ हुन जति सजिलो छ, त्यति सजिलो छैन त्यसलाई पुष्टि गर्न ।

ओलीले आफूलाई श्रीपेचविनाको राजाको रुपमा लिए । राष्ट्रपतिलाई समेत विवादमा ल्याए । गलत सूचना विश्वास गरेर उनले संकटकालै लगाएको भए पनि के गर्न सक्थे र ? प्रचण्डलाई जेलमा थुन्थे ? नारायणहिटी दरबार र रुक्माङ्गत कटवालले थुन्न नसकेको प्रचण्डलाई झापा जिल्लाका नागरिक केपी ओलीले थुन्न सक्लान् र ?

संघीय लोकतान्त्रिक गणतन्त्र केपी ओलीलाई खासै मन नपरेको सत्य हो । उनलाई प्रचण्ड मनपर्ने त कुनै कारण नै छैन । पद र कुर्चीका लागि पार्टी जुटाए र फुटाउलान् । बिरामी शरीर, विभिन्न औषधिको ‘साइड इफेक्ट’का कारण होला केपी ओलीले आफूलाई गणतन्त्र नेपालको प्रधानमन्त्री हुँ भन्ने कुरा बिर्सेका छन् ।

हुन त संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसँग उनको कुनै साइनो छैन । समावेशी नेपालका निम्ति यिनको योगदान पनि छैन । अरुले ठिक्क पारेको खीर कपाकप खान सजिलो छ ।

अरूले जतनका साथ निर्माण गरेको बगैँचामा गएर सुगन्ध लिन पनि सजिलो छ तर गाह्रो छ भैसी पाल्न, फूलहरू उमार्न । हिजो नारायणहिटी दरबारको गेटमा असिना र पसिना हुँदै टीका थाप्न बिहान ७ बजेदेखि लाइनमा बस्नेहरूले आज शितल निवासमा ब्रेकफास्ट खाने पहुँच पाएका छन् । यो कुरा केपी ओलीइतरका मानिसहरूले बुझ्नुपर्छ ।

जनतामा केपी ओली सरकार कति अलोकप्रिय छ । त्यो केटाकेटीलाई पनि थाहा छ । नयाँ संविधानले प्रत्याभूत गरेको संघीय व्यवस्थालाई कार्यान्वयन गर्ने मुख्य जिम्मेवारी पाएको ओली सरकारले त्यसलाई प्रभावकारी ढंगले निभाउन नसक्दा धेरै खाले जटिलता उत्पन्न भए । भूकम्पपछिको पुनर्निर्माणले गति नलिनु, ३३ किलो सुन तस्करी काण्डका मुख्य दोषी र सुन पत्ता नलाग्नु, मूल्यवृद्धि र व्यापार घाटा बढ्नु, नेपाल वायुसेवा निगमको जहाज खरिदमा अनियमितताको आरोप लाग्नु ओली सरकारको चिनारी नै बन्यो ।

ओम्नीदेखि के–के अनेकौं काण्डहरू भए । बिमस्टेकको संयुक्त सैन्य अभ्यास सम्बन्धी विवादमा ओली सरकार फस्यो र एसिया प्यासिफिक समिटमा सहभागी भएपछि त कूटनीतिक रूपले थप विवादित बन्न पुग्यो ।

यस्ता सयौँ उदाहरण छन्, जो केपी ओलीले देशको अहित हुने गरी गरे तर पनि केपी ओलीलाई यो सबै कमजोरी हुनुमा आफ्नोभन्दा पनि प्रचण्डको हात रहेको अनुभूति हुने गर्छ र सरकारलाई असफल गराउन आफ्नै पार्टी लागेको भनेर उनी भाषण गर्छन् ।

एक उदाहरण पेश गरूँ ? सर्वहारा वर्गका महान् नेता एवं मार्क्सवादका प्रवर्तक कार्ल मार्क्सको निधन सन् १८८३ मार्च १४ मा भएको थियो । मार्क्सको निधनपछि १७ मार्चमा उनको अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टिका क्रममा अनन्य मित्र फ्रेडरिक एंगेल्सले कार्ल मार्क्सका योगदानबारे गहन मन्तव्य प्रस्तुत गरेका थिए ।

उनले भनेका थिए, ‘मार्क्स आफ्नो समयमा सर्वाधिक घृणित र छोडिएको मानिस थिए । निरंकुश र गणतान्त्रिक दुवै सत्ताले, उनलाई आफ्नो क्षेत्रमा निर्वासित गरेको थियो । उहाँमाथि निरन्तर हमलाको दौरान कन्जरभेटिभ र अतिजनवादी बुर्जुवा सहयोद्धा बने । उहाँले यो कुराको कहिल्यै पर्वाह गर्नु भएन र यसलाई निरर्थक सम्झिँदै नजरअन्दाज गर्नु हुन्थ्यो । अत्यावश्यक पर्दा मात्र जवाफ दिन उचित ठान्नुहुन्थ्यो ।’

आज प्रचण्ड जीवितै छन् तर उनलाई कार्ल मार्क्सलाई भन्दा धेरै ठूला आरोपहरू लगाइन्छन्, लगाइने पनि छन् तर ती सबै कन्जरभेटिभ र अतिजनवादी बुर्जुवा तत्वहरू छन् । जस्तो कि केपी ओली गुट । यिनीहरू निरंकुशतालाई प्रेम गर्छन् । यिनीहरू गणतन्त्रको लागि सुहाउने पात्र होइनन् ।

यसर्थ पार्टी फुटिहाल्यो भने पनि प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ गणतन्त्रको लाइन, विचार र सिद्धान्तको लाइन अनि विपरीततर्फ हुनेछ केवल भ्रम, अहंकार र निरंकुशताको लाइन ।

राजनीतिक रस्साकस्सीबीच शनिबार साँझ मन्त्री तथा राज्यमन्त्रीलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले आफू र राष्ट्रपतिलाई हटाउने षड्यन्त्र भइरहेको ब्रिफिङ गरेका थिए । उनले राष्ट्रपतिजस्तो सम्मानित संस्थालाई विवादमा ल्याउन खोजेका थिए । राष्ट्रपति समेत भ्रममा पर्ने गरेर बालुवाटार जे–जे भन्छ, शितलनिवास त्यही–त्यही गर्दै थियो । यो सही थिएन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिवाद गरेका थिए ।

उनले ‘हाम्रो राष्ट्राध्यक्ष राष्ट्रपति सम्मानित संस्था हो, यो गरिमामय संस्थालाई कसैले पनि आ–आफ्नो स्वार्थका लागि विवादमा नतानौँ’ भनेर प्रधानमन्त्रीको भ्रमको निवारण गरेका थिए । प्रचण्ड र माधवकुमार नेपाल समेत शितलनिवास पुगेका थिए । यसरी बालुवाटार भ्रमको खेतीमा कसरी रमाएको छ त्यो प्रतीत हुन्छ ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग नयाँ सरकार गठनबारे शेरबहादुर देउवासँग कुराकानी अगाडि बढाइसकेका थिए । एकदमै आक्रमक रुपमा अगाडि बढेका थिए ओली । केपी शर्मा ओली संसदमा विचाराधीन अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई पारित गर्ने पक्षमा देखिएका छन् । एमसीसी सम्झौता अध्ययन गरेका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले पनि ‘संशोधन विना सम्झौता लागू गर्न हुन्न’ भन्ने प्रतिवेदन पाएका ओली खनालसँग पनि रुष्ट छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा अमेरिकासँग २०७४ भदौमा पूर्वाधार विकासमा खर्च गर्ने गरी एमसीसी सम्झौता भएको थियो । यही एमसीसी पास गर्नका लागि पनि केपी ओली र देउवाको गठजोड भएको हुनसक्छ । अमेरिकाको चलखेल पनि देखिएको छ । एमसीसी कार्यान्वयनमा आउन संसदबाट अनुमोदन हुनुपर्छ । यो रकम ट्रान्समिसन लाइन र सडक मर्मत–सम्भारमा खर्च गर्ने सहमति छ ।

हिजो महाकाली नदी बेच्ने बेलामा पनि केपी शर्मा ओली र शेरबहादुर देउवा एकमतका साथ मिलेर अगाडि बढेका थिए । अहिले यति हतारोका साथ देउवाको साथ खोज्नुमा अर्थमन्त्री युवराज खतिवडाले होल्डमा राखेको एमसीसी संसदबाट पास गर्न त होइन भन्ने शंका उत्पन्न भएको छ ।

देउवासँग सहकार्य गर्ने ओलीको इच्छा र प्रचण्ड, माधवसँग टाढिने रणनीति केपी ओलीको नयाँ होइन । जनताको भावना विपरीत पार्टी फुटाउन मिल्ने गरी केपी ओलीले कसैसँग सल्लाह नै नगरी अध्यादेश ल्याए । राष्ट्रपति दाहिना भइन् । प्रधानमन्त्रीले आफ्नो पार्टीसँग सल्लाह गर्नुपर्ने आवश्यकता महसूस नै गरेनन् तर चौतर्फी विरोधपछि सरकारले अत्यावश्यक भन्दै आएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन अध्यादेश २०७७) र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ खारेजका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गर्‍यो । पूर्व आईजीपी र सांसदहरू लगाएर संसद नै अपहरणको आरोपलाई ओलीले ‘डिफेन्स’ गर्न सकेनन् ।

हालसालै फेरि त्यस्तै अलोकप्रिय कदम चालिएको छ । सत्तारुढ दलका प्रमुख नेता र सभामुख समेतलाई जानकारी नदिई अचानक संघीय संसदको छैठौं अधिवेशन अन्त्य भयो । संसदको कामकारबाही बन्द गरियो । भनियो कि राष्ट्रपतिलाई महाअभियोग लगाइँदैछ । के राष्ट्रपतिलाई महाअभियोगबाट बचाउने काम सरकारको हो ? यसरी निरंकुश ढंगले संसदको कारबाही बन्द हुँदा संसद सचिवालयमा दर्ता भएका १३ वटा प्रस्ताव औचित्यहीन बन्न पुगेका छन् तर भूमिमन्त्री पदमा अर्यालले ‘बिजनेस’ नहुँदा अधिवेशन अन्त्य भएको भन्दै ‘संसदलाई रत्यौली खेल्ने थलो’ बनाउन नहुने सार्वजनिक लज्जास्पद टिप्पणी गरिन् ।

साँचो कुरा त के हो भने संसद सचिवालयका अनुसार २६ वैशाखदेखि १८ असारसम्म चलेको अधिवेशनमा दर्ता भएका २ वटा सार्वजनिक महत्त्वका प्रस्ताव, २ वटा ध्यानाकर्षण प्रस्ताव र ९ वटा संकल्प प्रस्तावमाथि छलफल हुन बाँकी थियो । संघीय संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाका अनुसार हाल संसदमा ५३ वटा विधेयक छन् ।

यीमध्ये १९ वटा छैठौं अधिवेशनमै दर्ता भएका हुन् । संसदमा प्रस्तुत भएर संसदीय विषयगत समितिमा छलफलमा रहेका विधेयकको संख्या २० वटा छ । संसदमा दर्ता भएर पनि संसदमा टेबुल हुन बाँकी विधेयकको संख्या १३ वटा छ । कतिपय विधेयक समितिबाट पारित भएर संसदमा प्रस्तुत हुन बाँकी छन् । यो कुरा केपी ओलीलाई कसले बुझाइदिने ?

आफ्नै अलोकप्रिय कदमका कारण सत्ता छाड्न दबाब बढेपछि ओलीले राष्ट्रपतिलाई संकटकाल घोषणा गर्न लगाउने, मध्यावधि चुनाव घोषणा गर्ने, नेकपा विघटनको निर्णय लिएर नेकपा एमाले ब्युँताउनेसम्मको विकल्पबारे छलफल बढाएको रहस्य खुलेको छ । यी विकल्पमध्येमै जाने तयारीका साथ निर्वाचन आयोगमा सन्ध्या तिवारीमार्फत् ओलीले नेकपा एमाले पार्टी दर्ता गर्न प्रक्रिया अघि बढाएको वामदेव गौतमले खुलासा गरिसकेका छन् ।

पार्टीको निर्णय थियो – अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारको काम मात्र हेर्नेछन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सम्पूर्ण काम हेर्नेछन् तर केपी ओलीले कहिल्यै सल्लाह गरेनन् ।

दुवै अध्यक्षको वरियताक्रम यथावत रहने तर आमरूपमा बैठकको अध्यक्षता र सञ्चालन प्रचण्डले गर्न, प्रतिनिधि सभाको यस कार्यकालमा सरकारको नेतृत्व केपी ओलीले गर्ने र त्यसले राजनीतिक स्थायित्वको सन्देश दिने, पार्टी र सरकार सञ्चालन २ अध्यक्षबीचको आपसी सल्लाहमा गरिने ।

पार्टी सञ्चालनका क्रममा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने तर हुन सकेन । बरु जानाजान कुर्ची नै फरक–फरक स्थानमा राखेर प्रचण्डको अपमान गर्ने काम भइरह्यो ।

प्रचण्डलाई कुर्चीसँग कुनै सरोकार थिएन, छैन तर गणतन्त्र नै खतरामा पार्ने गरी जसरी सरकारले दिनप्रतिदिन आफ्नो नुर गिराइरहेको छ, त्यो प्रचण्डको सरोकारको विषय थियो र छ । पार्टी भन्ने कुरा त त्यस्तै हो । कतिपयले प्रचण्डलाई तनाव छ भन्छन्, पद पाएन त्यही भएर ओलीको विरोध गर्छ भन्छन् तर त्यसो होइन । प्रचण्डलाई व्यक्तिगत लाभका लागि कुनै तनाव छैन ।

विक्रम संवत् २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी भूमिगत जीवनबाट काठमाडौंमा सार्वजनिक भएका थिए । २०६५ साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यतिखेर पनि प्रचण्ड न तनावमा थिए, न चरम खुशीमा । बरु प्रचण्ड गणतन्त्र नेपालको रक्षाका निम्ति गम्भीर थिए ।

प्रचण्डको राजनीतिक जीवन अनवरत रुपमा चलिरहेको छ । कहिले एकता त कहिले विघटन तर उनले जे जस्ता निर्णयहरू चालेका छन्, ती परिवर्तनका निम्ति चालेका छन् । २०४६ सालको जनआन्दोलनपछि तत्कालीन ४ कम्युनिस्ट पार्टीहरू ‘मशाल’, चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक संगठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि २०५१ सालमा फेरि एकता केन्द्र छुट्टिएर २ चिरा भएपछि प्रचण्ड समूह चाहिँ नेकपा माओवादीका रूपमा देखापर्‍यो, जसले १ वर्षपछि सशस्त्र विद्रोह थाल्यो ।

२०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालिम दिएका थिए । २०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादलसहित बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा बाँचियो । त्यो समूहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन् । त्यसपछि २०५२ सालमा ‘जनयुद्ध’ थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालिम दिए प्रचण्डले । अहिले पनि प्रचण्डको संघर्ष जारी नै छ । पार्टी फरक होला तर विचार र चिन्ता उहीँ छ ।

हामी प्रचण्डको लिगेसी हेरौं । विक्रम संवत् २०६५ असारमा प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बने । प्रधानमन्त्री बनेपछि उनको ध्यान स्वाधिनताको रक्षार्थ बित्यो । चुनौतिपूर्ण छ भन्ने जान्दाजान्दै प्रचण्डले स्वाभिमानका पक्षमा उभिने निर्णय लिए । पशुपतिमा नेपाली पुजारी र सेनापति प्रकरणमा दिल्लीको जुन दबाबको सामना गरे, त्यो स्वाधीनताकै लडाइँ थियो ।

उनको पहिलो प्रधानमन्त्रीकालमा देशको स्वाधिनतामा आँच आउने कुनै निर्णय वा सम्झौता भएनन् । बरु, ‘प्रभुसामु नझुक्ने’ संकल्पसहित उनले स्वेच्छाले प्रधानमन्त्री पद त्यागिदिए ।

शान्ति प्रक्रिया, संविधान निर्माण, समावेशी, समानुपातिक राज्य, संघीयता, गणतन्त्र नेपाल यी सबै प्रचण्डको निर्णयबाट सम्भव थियो । लोडसेडिङ अन्त्य गर्ने प्रचण्ड । भारतलाई सुम्पेको फास्ट ट्रयाक सेनालाई बनाउन दिने निर्णय गर्ने प्रचण्ड । स्थानिय चुनाब गराउने निर्णय गर्ने प्रचण्ड । चीनसँग ‘वान बेल्ट वान रोड’ समझदारीमा हस्ताक्षर गर्ने प्रचण्ड । भारत र चीनसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गर्ने प्रचण्ड ।

मधेशीलाई सहमतिमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने प्रचण्ड । आर्थिक वृद्धिदर इतिहासकै उच्च ७.५ प्रतिशत पुर्‍याउने प्रचण्ड । यसकारण गतिशील प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ गणतन्त्रको जग अनि नेकपाको लाइन ।

यसरी दक्षिण एसियामा नै प्रचण्डको राजनीतिक प्रभाव र पृष्ठभूमि एकप्रकारको उदाहरणीय छ । विदेशीहरूले पत्याउने नेपालको एक मात्र नेता प्रचण्ड नै हुन् भन्ने कुरा आम जनता, वुद्धिजीवी वर्ग, पत्रकार, नागरिक समाजले स्वीकार गरेको कुरा हो । जस्तोसुकै जोखिमयुक्त परिस्थितिमा पनि निरन्तरता, क्रमभंगता गर्दै, फुट्दै फेरि जुट्दै प्रचण्डको राजनीति यहाँसम्म आइपुगेको छ । प्रचण्डको नक्कल गर्न खोज्नेहरू सखाप वा पलायन भइसकेका छन् ।

प्रचण्ड आज पनि प्रचण्ड गर्जनका साथ नेपाली राजनीतिमा उपस्थित छन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जननीका रुपमा प्रचण्ड परिचित छन् । केपी ओलीहरूले यो कुरा राम्रोसँग बुझ्नुपर्छ कि प्रचण्ड जहाँ उभिन्छन्, त्यहीँबाट शुरू हुन्छ नेकपाको लाइन । लोकान्तर डटकमबाट साभार

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता : संयोग वा राजनीतिक सन्देश ?

पूर्ण घर्ति गणतन्त्र कुनै औपचारिक शब्द होइन। यो नेपाली जनताले दशकौंको संघर्ष, जनआन्दोलन, बलिदान र राजनीतिक रूपान्तरणको प्रक्रियाबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि हो। त्यसैले जेठ १५ केवल क्यालेन्डरको एउटा मिति मात्र होइन, यो नेपाली राज्यको चरित्र र शासन व्यवस्थामा आधारभूत परिवर्तन भएको दिन हो। यही दिनमा राष्ट्रको कार्यकारी प्रमुख प्रधानमन्त्री मौन बस्नु सामान्य घटना मान्न सकिँदैन। प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नै सभापतित्वमा सम्पन्न गणतन्त्र दिवसको औपचारिक समारोहमा सम्बोधन नगर्नु त छँदैछ, त्यसबाहेक पनि उनले यस राष्ट्रिय अवसरमा कुनै शुभकामना सन्देश जारी गरेनन्, गणतन्त्रको ऐतिहासिक महत्वबारे कुनै धारणा व्यक्त गरेनन् र जनतालाई सम्बोधन गर्न आवश्यकसमेत ठानेनन्। यसले स्वाभाविक रूपमा एउटा प्रश्न जन्माएको छ—के यो केवल व्यक्तिगत शैली हो, वा गणतन्त्रप्रति रहेको राजनीतिक असहजताको अभिव्यक्ति ? राजनीतिमा मौनता कहिल्यै पूर्णतः तटस्थ हुँदैन। विशेषतः त्यो मौनता राष्ट्रको कार्यकारी प्रमुखबाट आएको हो भने झन् हुँदैन। नयाँ वर्षमा शुभकामना दिने, धार्मिक पर्वमा सन्देश जारी गर्ने, सामाजिक विषयमा निरन्तर अभिव्यक्ति दिने प्रधानमन्त्रीले गणतन्त्र दिवसमा मात्र मौनता रोज्नु संयोगका रूपमा व्याख्या गर्न कठिन छ। गणतन्त्र दिवसमा शुभकामना दिनु कुनै दल वा विचारधाराको समर्थन गर्नु होइन। त्यो संविधानले परिभाषित गरेको राज्य व्यवस्थाप्रति सम्मान व्यक्त गर्नु हो। प्रधानमन्त्रीले संविधानको शपथ खाएर पद ग्रहण गरेका हुन्छन्। त्यसैले गणतन्त्र दिवसमा अभिव्यक्ति दिनु वैकल्पिक सौजन्यको विषय होइन, संवैधानिक संस्कार र राजनीतिक उत्तरदायित्वको विषय हो। कम्तीमा पनि गणतन्त्रप्रति आफ्नो सम्मान सार्वजनिक रूपमा व्यक्त गर्न नसक्ने नेतृत्वमाथि स्वाभाविक रूपमा प्रश्न उठ्छ। यहाँ प्रश्न प्रधानमन्त्रीले विगतमा राजतन्त्रको समर्थन गरे कि गरेनन् भन्ने मात्र होइन। मूल प्रश्न यो हो कि उनले वर्तमान संविधान र गणतान्त्रिक व्यवस्थाप्रति आफ्नो सार्वजनिक प्रतिबद्धता किन प्रष्ट पार्न चाहेनन् रु लोकतान्त्रिक नेतृत्वको दायित्व केवल सरकार सञ्चालनमा सीमित हुँदैनस त्यो राष्ट्रिय मूल्य, संवैधानिक व्यवस्था र ऐतिहासिक उपलब्धिप्रति पनि स्पष्ट अडान राख्नुपर्ने विषय हो। बालेन्द्र शाहको राजनीतिक उदय परम्परागत दलहरूप्रतिको जनअसन्तुष्टिको पृष्ठभूमिबाट भएको हो। उनले भ्रष्टाचार, अकर्मण्यता र राजनीतिक विकृतिविरुद्ध जनमत निर्माण गरे। तर एउटा महत्वपूर्ण तथ्य बिर्सनु हुँदैन—दलहरूको असफलता गणतन्त्रको असफलता होइन। सरकारहरूको कमजोरी संविधानको कमजोरी होइन। संविधानमा रहेका कमी–कमजोरी सुधार्ने, संशोधन गर्ने र समयानुकूल परिमार्जन गर्ने लोकतान्त्रिक बाटो खुला नै छ। यही कारणले गणतन्त्र दिवसमा प्रधानमन्त्रीको मौनता अझ गम्भीर देखिन्छ। किनभने यसले दलविरोध र व्यवस्थाविरोधबीचको सीमारेखालाई धमिलो बनाउने जोखिम पैदा गर्छ। यदि प्रधानमन्त्री गणतन्त्रप्रति असहमत छन् भने त्यसबारे स्पष्ट राजनीतिक बहस गर्न सक्नुपर्छ। यदि उनी गणतन्त्रवादी हुन् भने त्यसको पनि सार्वजनिक अभिव्यक्ति आवश्यक छ। तर संविधानको शपथ खाएर प्रधानमन्त्रीको कुर्सीमा बस्ने, अनि गणतन्त्र दिवसमा मौन बसेर सबै पक्षलाई आफ्नो–आफ्नो व्याख्या गर्ने अवसर दिनु जिम्मेवार राजनीतिक नेतृत्वको शैली मान्न सकिँदैन। नेपालमा गणतन्त्र स्थापनापछि विभिन्न असन्तुष्टि र आलोचना भए पनि समग्र जनमत गणतान्त्रिक व्यवस्थाकै पक्षमा रहेको देखिन्छ। यस्तो अवस्थामा प्रधानमन्त्रीको प्रत्येक सार्वजनिक व्यवहार राजनीतिक सन्देशमा रूपान्तरित हुन्छ। उनले बोलेका शब्दले मात्र होइन, उनले नबोलेका शब्दले पनि राजनीतिक अर्थ निर्माण गर्छन्। त्यसैले उनी गणतन्त्रप्रति कति प्रतिबद्ध छन् भन्ने विषयमा स्वयं उनले स्पष्ट धारणा राख्नु आवश्यक छ। गणतन्त्र दिवसमा देखिएको मौनताले गणतान्त्रिक संस्कारप्रतिको पर्याप्त संवेदनशीलता नदेखिएको संकेत दिएको छ। राष्ट्रको प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिक उपलब्धिप्रति सम्मान व्यक्त गर्न आवश्यक ठानेनन् भने त्यसले नागरिकमा स्वाभाविक रूपमा जिज्ञासा, प्रश्न र शंका जन्माउँछ। लोकतन्त्रमा प्रश्न उठाउनु विरोध होइनस उत्तर खोज्नु नागरिक कर्तव्य हो। त्यसैले आजको मुख्य प्रश्न प्रधानमन्त्री बालेन्द्र शाह गणतन्त्रवादी हुन् कि होइनन् भन्ने मात्र होइन। मुख्य प्रश्न यो हो कि गणतन्त्र दिवसजस्तो ऐतिहासिक अवसरमा उनले किन मौनता रोजे ? जब राष्ट्रको कार्यकारी प्रमुख बोल्नुपर्ने दिनमा मौन बस्छ, त्यो मौनता आफैं एउटा राजनीतिक अभिव्यक्ति बन्छ। इतिहासले प्रायः यस्ता मौनताहरूलाई पनि शब्दसरह गम्भीरताका साथ मूल्याङ्कन गर्ने गर्दछ। प्रधानमन्त्री बालेन्द्र शाहको यो मौनता पनि भविष्यमा नेपालको राजनीतिक इतिहास र गणतान्त्रिक संस्कारको बहसमा एउटा सन्दर्भ बिन्दुका रूपमा स्मरण गरिन सक्नेछ। अन्ततः यसको वास्तविक अर्थ र उद्देश्यको मूल्याङ्कन समयले नै गर्नेछ।

प्रधानन्यायाधीश सिफारिसः वरिष्ठता कि सत्ता इच्छा ?

विदुर कटुवाल काठमाडौं । नेपालको संवैधानिक इतिहासमा विरलै देखिने एक प्रकारको तनाव अहिले संवैधानिक परिषद्को निर्णयसँगै सतहमा आएको छ ।  प्रधानन्यायाधीश नियुक्तिजस्तो संवेदनशील र दूरगामी प्रभाव पार्ने विषयमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले परम्परागत वरिष्ठता क्रमलाई पन्छाउँदै डा. मनोजकुमार शर्माको नाम सिफारिस गरेपछि सत्ता र विपक्षबीचको राजनीतिक दूरी मात्र बढेको छैन, न्यायपालिकाको स्वतन्त्रता, संवैधानिक संस्कार र संस्थागत स्थायित्वबारे गम्भीर बहस पनि सुरु भएको छ । यस विवादलाई अझ विस्फोटक बनाउने काम परिषद्भित्रकै दुई प्रभावशाली सदस्य–राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र प्रमुख विपक्षी दलका नेता भिष्मराज आङ्देम्बेले गरेका छन् ।  उनीहरूले प्रधानमन्त्रीको प्रस्तावविरुद्ध लिखित रूपमा ‘नोट अफ डिसेन्ट’ दर्ता गर्दै खुला असहमति जनाएपछि संवैधानिक परिषद्भित्रै असाधारण दरार देखिएको हो । सामान्यतया परिषद्का निर्णयहरू गोप्य सहमतिका आधारमा टुंग्याइने अभ्यास रहँदै आएको अवस्थामा सार्वजनिक असहमति आफैंमा ठूलो राजनीतिक सन्देश मानिएको छ । राजनीतिक वृत्तमा अहिले सबैभन्दा धेरै उठिरहेको प्रश्न एउटै छ–प्रधानमन्त्री बालेन वास्तवमै ‘नयाँ अभ्यास’ को सुरुवात गर्न खोजिरहेका हुन्, कि न्यायपालिकाभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिमपूर्ण प्रयोग ? प्रधानमन्त्री शाहले परिषद् बैठकमा डा‍‍. शर्मालाई ‘स्वतन्त्र, प्राज्ञिक र अराजनीतिक व्यक्तित्व’ भन्दै प्रस्ताव गरेका थिए । उनी निकट स्रोतहरूका अनुसार बालेनले परम्परागत वरिष्ठता प्रणालीभन्दा ‘मेरिट र कार्यक्षमता’ लाई प्राथमिकता दिनुपर्ने तर्क गरेका थिए । तर परिषद्का विपक्षी सदस्यहरूले भने यो तर्कलाई संवैधानिक अभ्यास तोड्ने खतरनाक बहानाका रूपमा व्याख्या गरेका छन् । नेपालको न्यायपालिकामा वरिष्ठता प्रणाली कुनै लिखित संवैधानिक बाध्यता नभए पनि दशकौंको संस्थागत अभ्यासका रूपमा स्थापित छ । सर्वोच्च अदालतभित्र वरिष्ठ न्यायाधीशलाई प्रधानन्यायाधीश बनाउने परम्पराले न्यायिक स्थायित्व, पूर्वानुमेयता र आन्तरिक विश्वास कायम गर्न सहयोग गरेको मानिन्छ । यही कारण वरिष्ठता तोडिने हरेक प्रयासलाई न्यायपालिकाको स्वतन्त्रतामाथि हस्तक्षेपका रूपमा हेरिने गरिन्छ । यही संवेदनशील बिन्दुमा अहिले विवाद चर्किएको हो । विपक्षी नेता आङ्देम्बे र राष्ट्रियसभा अध्यक्ष दाहालले आफ्नो लिखित असहमतिमा ‘प्रधानन्यायाधीश नियुक्ति कुनै व्यक्तिको इच्छाअनुसार होइन, संवैधानिक संस्कार र विधिसम्मत प्रक्रियाअनुसार हुनुपर्छ’ भन्ने स्पष्ट अडान राखेका छन् । उनीहरूको यो कदमलाई धेरैले संस्थागत पारदर्शिता र लोकतान्त्रिक मूल्यको पक्षमा गरिएको साहसी हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । विशेषगरी प्रमुख विपक्षी नेता आङ्देम्बेले परिषद्भित्रै खुलेर प्रतिरोध जनाउनु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । सत्ता पक्षको निर्णयलाई बैठकमै चुनौती दिनु केवल औपचारिक असहमति होइन, यो सरकारको शैलीप्रतिको प्रत्यक्ष राजनीतिक प्रतिरोध हो । उनले ‘न्यायपालिकाको गरिमामा सम्झौता नगर्ने’ संकेत दिएका छन् । यसले आगामी दिनमा संसद् र सडक दुवैमा यो मुद्दा चर्किन सक्ने संकेत देखिएको छ । राजनीतिक विश्लेषकहरूका अनुसार प्रधानमन्त्री बालेनको यो कदमले दुईवटा सन्देश दिएको छ । पहिलो–उनी पुराना राजनीतिक दलहरूले निर्माण गरेका परम्परागत शक्ति संरचनालाई चुनौती दिन चाहन्छन् । दोस्रो–उनी संस्थागत अभ्यासभन्दा व्यक्तिगत दृष्टिकोणलाई बढी प्राथमिकता दिन तयार छन् । तर यही दोस्रो पक्ष अहिले उनको सबैभन्दा ठूलो आलोचनाको कारण बनेको छ । आलोचकहरूको प्रश्न स्पष्ट छ–यदि प्रत्येक सरकारले आफ्नो राजनीतिक वा वैचारिक सुविधाअनुसार वरिष्ठता तोड्दै ‘योग्य व्यक्ति’ को नाममा नियुक्ति गर्न थाल्यो भने न्यायपालिकाको संस्थागत स्वतन्त्रता कसरी सुरक्षित रहन्छ ? आज एक व्यक्तिलाई ‘योग्य’ भन्दै नियम बदल्ने हो भने भोलि अर्को सरकारले त्यही अभ्यासलाई अझ राजनीतिक रूपमा प्रयोग गर्न सक्दैन ? कानुन व्यवसायीहरू पनि अहिले विभाजित देखिएका छन् । केहीले ‘मेरिट आधारित नियुक्ति’  को बहसलाई स्वागत गरे पनि धेरै वरिष्ठ अधिवक्ताहरूले न्यायालयभित्र राजनीतिक प्रभाव विस्तार गर्ने जोखिम बढेको चेतावनी दिएका छन् । उनीहरूका अनुसार न्यायपालिका केवल दक्ष व्यक्तिको नेतृत्वले मात्र चल्दैन, त्यसको आधार संस्थागत विश्वास, परम्परा र निष्पक्षताको सार्वजनिक अनुभूति पनि हो । यदि त्यो अनुभूति कमजोर भयो भने अदालतको निर्णयप्रतिको सामाजिक विश्वास समेत खस्कन सक्छ । नागरिक समाजका केही प्रतिनिधिहरूले समेत यो घटनालाई गम्भीर रूपमा लिएका छन् । उनीहरूको तर्क छ–लोकतन्त्रमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीचको शक्ति सन्तुलन अत्यन्त संवेदनशील विषय हो । यदि कार्यपालिकाले न्यायपालिकाको नेतृत्व चयनमा अत्यधिक प्रभाव जमाउन थाल्यो भने अन्ततः लोकतान्त्रिक संरचनामै असन्तुलन पैदा हुन सक्छ । यस विवादको अर्को महत्वपूर्ण पक्ष डा. मनोजकुमार शर्माको सम्भावित कार्यकालसँग जोडिएको छ । स्रोतहरूका अनुसार उनी प्रधानन्यायाधीश नियुक्त भएमा करिब ६ वर्षसम्म पदमा रहन सक्नेछन् । नेपालको सन्दर्भमा यो अत्यन्त लामो अवधि मानिन्छ । त्यसैले यो नियुक्ति सामान्य प्रशासनिक निर्णयभन्दा धेरै ठूलो राजनीतिक र संवैधानिक महत्वको विषय बनेको हो । यही कारण अहिलेको बहस केवल ‘को प्रधानन्यायाधीश बन्ने ?’ भन्ने प्रश्नमा सीमित छैन । असली बहस त न्यायपालिकाको भविष्य कस्तो हुने भन्नेमा केन्द्रित हुँदै गएको छ । न्यायालय विधि, परम्परा र संस्थागत सहमतिबाट चल्ने कि राजनीतिक शक्ति केन्द्रहरूको प्राथमिकताबाट ? प्रधानमन्त्री बालेनले आफूलाई ‘पुरानो राजनीतिक संस्कार तोड्ने नेता’ का रूपमा प्रस्तुत गर्दै आएका छन् । उनले परम्परागत दलहरूको आलोचना गर्दै ‘नयाँ राजनीतिक संस्कृति’ को वकालत पनि बारम्बार गरेका छन् । तर आलोचकहरू भन्छन्–संस्कार तोड्ने नाममा संस्थागत सन्तुलन नै भत्काउन थालियो भने त्यो परिवर्तन होइन, अस्थिरताको सुरुवात हुन सक्छ । संवैधानिक परिषद्भित्र सार्वजनिक रूपमा देखिएको यो असहमति आगामी दिनमा अझ ठूलो राजनीतिक संघर्षको संकेत हुन सक्छ । विपक्षी दलहरूले यसलाई ‘संवैधानिक निकायमाथिको सत्ता हस्तक्षेप’ का रूपमा प्रचार गर्ने सम्भावना बलियो देखिएको छ । उता सत्ता पक्ष भने ‘पुरानो शक्ति समूहको प्रतिरोध’ भन्दै आफ्नो कदमलाई सुधारवादी निर्णयका रूपमा प्रस्तुत गर्न प्रयासरत देखिन्छ । तर जे भए पनि एउटा तथ्य स्पष्ट भएको छ–प्रधानन्यायाधीश सिफारिसको यो विवादले नेपालको राजनीतिक बहसलाई गहिरो मोडमा पुर्‍याएको छ । अब यो केवल व्यक्तिको नियुक्तिको प्रश्न रहेन । यो प्रश्न बनेको छ–नेपालको लोकतन्त्र संस्थागत विधि र संवैधानिक संस्कारले चल्ने कि सत्ताको इच्छाअनुसार नयाँ परिभाषा निर्माण हुँदै जाने ? आगामी दिनमा यही प्रश्नले सरकार, विपक्ष, न्यायपालिका र नागरिक समाजबीचको सम्बन्धको दिशा तय गर्नेछ । अनि शायद, यही विवादले भविष्यको नेपालको लोकतान्त्रिक चरित्रसमेत परिभाषित गर्नेछ ।

सुकुमबासीप्रति राज्यको जिम्मेवारी: मानवीयता संवेदना किन जरुरी ?

विदुर कटुवाल काठमाडाैं । काठमाडौं उपत्यकामा नदी किनारका सुकुमबासी बस्ती हटाउने सरकारी अभियान आजदेखि फेरि सुरु भएको छ । वर्षौँदेखि अनौपचारिक रूपमा बसोबास गर्दै आएका हजारौँ परिवारलाई उठीबास लगाउने यो कदम केवल भौतिक संरचना हटाउने प्रशासनिक काम मात्र होइन, यसले समाजको सबैभन्दा कमजोर वर्गमाथि प्रत्यक्ष असर पार्ने मानवीय प्रश्न पनि हो । सरकारले ‘वास्तविक सुकुमबासीको पहिचान गरी उचित व्यवस्थापन गरिने’ आश्वासन दिएको भए पनि व्यवहारमा त्यस्तो संवेदनशीलता कत्तिको देखिन्छ भन्ने गम्भीर प्रश्न उठेको छ ।  सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के हो भने सुकुमबासी समस्या एकरातमा जन्मिएको होइन । यो दशकौँदेखि जमेको सामाजिक–आर्थिक असमानताको परिणाम हो । गाउँमा रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवाको सीमित पहुँच, प्राकृतिक विपत्ति तथा द्वन्द्वका कारण विस्थापित भएका नागरिकहरू बाँच्ने विकल्प खोज्दै सहर पस्छन् । सहरले उनीहरूलाई अवसर त दिन्छ, तर सम्मानजनक आवास दिन सक्दैन । अन्ततः उनीहरू नदी किनार, सार्वजनिक जमिन वा जोखिमयुक्त स्थानमा बस्न बाध्य हुन्छन् । यस्तो यथार्थलाई बेवास्ता गर्दै केवल ‘अवैध संरचना’ भनेर हटाउनु समस्याको समाधान होइन, बरु त्यसलाई झन् जटिल बनाउने कदम हो । सरकारको अहिलेको कदममा सबैभन्दा ठूलो कमजोरी मानवीय दृष्टिकोणको अभाव हो । कुनै पनि नागरिकलाई वैकल्पिक व्यवस्था नगरी जबरजस्ती उठीबास लगाउनु राज्यको दायित्वबाट पन्छिनु हो । विशेषगरी बालबालिका, गर्भवती र सुत्केरी महिला, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकजस्ता संवेदनशील समूहको अवस्थालाई प्राथमिकतामा राखिनुपर्थ्यो । उनीहरूका लागि अस्थायी आवास, स्वास्थ्य सेवा, पोषणयुक्त खाद्य सामग्री र मनोसामाजिक सहयोगको व्यवस्था नगरी गरिएको हटाउने अभियान अमानवीय मात्र होइन, गैरजिम्मेवार पनि देखिन्छ । अर्कोतर्फ, सुकुमबासीको नाममा सार्वजनिक जमिन अतिक्रमण गर्ने र निजी स्वार्थका लागि फाइदा लिने प्रवृत्तिलाई पनि बेवास्ता गर्न मिल्दैन । वास्तवमा सबै सुकुमबासी एउटै प्रकृतिका छैनन् । केहीसँग अन्यत्र घरजग्गा हुन सक्छ, केहीले योजनाबद्ध रूपमा सार्वजनिक जमिन कब्जा गरेका पनि हुन सक्छन् । तर यसै आधारमा सबैलाई एउटै तराजुमा राखेर कारबाही गर्नु न्यायसंगत हुँदैन । राज्यको दायित्व भनेको वास्तविक सुकुमबासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, रोजगारी र सामाजिक सुरक्षाको पहुँच उपलब्ध गराउनु हो, न कि सबैलाई एउटै समूहमा राखेर हटाउनु । सरकारले यस विषयलाई केवल ‘व्यवस्थापन’को समस्या जस्तो देखाउन खोजेको छ, तर यो मूलतः गरिबी, असमानता र विकासको असन्तुलनसँग जोडिएको गहिरो संरचनात्मक समस्या हो । अहिले विश्वव्यापी रूपमा देखिएको आर्थिक अस्थिरता, ऊर्जा संकट र रोजगारीमा आएको गिरावटले गरिब वर्गलाई झन् प्रभावित बनाइरहेको छ । नेपालजस्तो आयातमा निर्भर र विप्रेषणमा आधारित अर्थतन्त्रमा यसको प्रभाव अझ गहिरो हुन्छ । वैदेशिक रोजगारी घट्दा परिवारको आम्दानी घट्छ, उपभोग कम हुन्छ र अन्ततः सहरमा बस्ने न्यून आय भएका वर्गहरू प्रत्यक्ष मारमा पर्छन् । यस्तो अवस्थामा सुकुमबासी हटाउने जस्ता कदमले उनीहरूको जीवन अझ असुरक्षित बनाउँछ । घर मात्र होइन, उनीहरूले सानो–सानो रोजगारीका अवसर पनि गुमाउँछन् । दैनिक ज्याला मजदुरी गर्ने, सडक व्यापार गर्ने वा साना सेवा व्यवसायमा संलग्न मानिसहरूका लागि स्थान परिवर्तन गर्नु भनेको आम्दानीको स्रोत गुमाउनु हो । त्यसपछि उनीहरू अपराध, शोषण वा मानव तस्करी जस्ता जोखिममा पर्न सक्ने सम्भावना बढ्छ । सरकारले यस्ता दीर्घकालीन प्रभावको मूल्याङ्कन गरेको देखिँदैन । सरकारको अर्को आलोचनायोग्य पक्ष भनेको तथ्याङ्क र वास्तविकताको बीचको अन्तर हो । प्रायः सरकारी निकायहरू आर्थिक सूचकहरू राम्रो देखाउनमा केन्द्रित हुन्छन्, तर जमिनस्तरको यथार्थ फरक हुन्छ । गरिबी घटेको, रोजगारी बढेको वा विकास तीव्र भएको दाबी गरिए पनि सहरका झुपडी बस्तीहरू विस्तार हुँदै जानु आफैंमा त्यसको खण्डन हो । यदि नीतिहरू प्रभावकारी हुन्थे भने सुकुमबासीको संख्या घट्नुपर्ने हो, बढ्ने होइन । यसैले, अहिलेको परिस्थितिमा सरकारको प्राथमिकता स्पष्ट हुनुपर्छ । पहिलो, कुनै पनि हटाउने अभियान अघि वैकल्पिक आवासको सुनिश्चितता अनिवार्य हुनुपर्छ । दोस्रो, सुकुमबासीलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । तेस्रो, सामाजिक सुरक्षा सञ्जाललाई विस्तार गरी कमजोर वर्गलाई लक्षित सहायता उपलब्ध गराउनुपर्छ । चौथो, स्वास्थ्य र शिक्षामा सहुलियत दिई उनीहरूको जीवनस्तर सुधार गर्ने प्रयास गर्नुपर्छ । यसका साथै बजार अनुगमन प्रभावकारी बनाउन पनि जरुरी छ । कृत्रिम अभाव, कालोबजारी र अनियन्त्रित मूल्यवृद्धिले गरिब वर्गलाई सबैभन्दा बढी असर गर्छ । सरकारले कर छुट, सहुलियत र नियमनका माध्यमबाट अत्यावश्यक वस्तुको मूल्य नियन्त्रण गर्नुपर्छ । तर यी सबै अल्पकालीन उपाय मात्र हुन्। दीर्घकालीन समाधानका लागि उत्पादन वृद्धि, कृषि आधुनिकीकरण, उद्योग विस्तार र आन्तरिक रोजगारी सिर्जना अपरिहार्य छ । अन्ततः, सुकुमबासी समस्या समाधान गर्न राजनीतिक इच्छाशक्ति र मानवीय संवेदनशीलता दुवै आवश्यक छन् । केवल कानुनी आधारमा संरचना हटाउनु सजिलो छ, तर मानिसको जीवन पुनःस्थापित गर्नु कठिन काम हो । यही कठिन काम गर्न सक्नु नै राज्यको असली परीक्षा हो । यदि सरकारले उठीबास गरिएका नागरिकलाई सम्मानजनक जीवन दिन सक्यो भने मात्र यो अभियान सफल मानिनेछ । अन्यथा, यो केवल गरिबमाथि अर्को अन्यायको अध्याय बन्नेछ । सरकारले अब निर्णय लिनुपर्छ-उसले विकासको नाममा कमजोरलाई विस्थापित गर्ने हो कि समावेशी नीति अपनाएर सबै नागरिकलाई साथ लिएर अघि बढ्ने हो । यही निर्णयले नेपालको सामाजिक न्यायको भविष्य निर्धारण गर्नेछ ।

सत्ताको 'उचाइ' र विधिको 'धरातल':  नयाँ आवरणमा पुरानै प्रवृत्ति

पूर्णबहादुर घर्ती  १. नयाँ आवरणमा पुरानै प्रवृत्ति:  नेपाली राजनीति अहिले एउटा विचित्रको संक्रमणकालबाट गुज्रिरहेको छ। 'पुराना' दलहरूको असफलताको जगमा 'नयाँ' शक्तिहरूको उदय त भयो, तर कार्यशैलीमा भने एउटा साझा र खतरनाक चरित्र हावी हुन थालेको छI  सस्तो लोकप्रियतावाद (Populism) र संस्थागत बेवास्ता। जनअपेक्षालाई सुशासनमा बदल्नुको साटो सत्ताको बागडोर सम्हालेका पात्रहरूले नै राज्यका दुई मुख्य स्तम्भ-  व्यवस्थापिका (सदन) र न्यायपालिका (अदालत) को मर्यादालाई नजरअन्दाज गरिरहेका छन्। २. सैद्धान्तिक विचलन:  लोकतन्त्रको आत्मा भनेको 'बहस' र 'सहमति' हो। तर, वर्तमान परिदृश्यले अर्कै संकेत गरिरहेको छ: * सदनको उपेक्षा: जनप्रतिनिधिहरूको सर्वोच्च थलो 'सदन' लाई जीवन्त बहसको केन्द्र बनाउनुको साटो राष्ट्रपतिलाई आह्वान गर्न लगाईएको सदन  विनाकुनै कारण  स्थगन गरिनुले संसदीय सर्वोच्चताको उपहास र राष्ट्रपतिलाई रबर स्ट्याम्प जस्तो वनाईएको छ । प्रचण्ड बहुमत हुँदाहुँदै पनि जब शासकहरूले अलोकतान्त्रीक र  हुकुमी शासनको बाटो रोज्छन् छिट्टै पतनको दिशामा पुग्छन् ।  * लोकप्रियतावादको पासो: लोकप्रियताका लागि गरिने 'स्टन्ट' हरूले तत्कालका लागि सामाजिक सञ्जालमा ताली त पाउँछन्, तर यसले समाजमा गहिरो विभाजन निम्त्याउँछ। सुकुम्बासी समस्यालाई मानवीय र आर्थिक पाटोबाट हेर्नुको साटो केवल 'अतिक्रमणकारी' को लेभल लगाएर बल प्रयोग गर्नु शासकको अनुदारवादी र निरंकुश चरित्रको उपज हो। ३. कानुनी राज्यको उपहास: नेपालको संविधानले नागरिकको 'आवासको हक' लाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। तर, व्यवहारमा विधिको शासनलाई शक्तिको आडमा थिचिएको देखिन्छ।  * अदालतको अवज्ञा: सर्वोच्च अदालतले २०८० मा दिएको "वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती नहटाउनु" भन्ने आदेशको पालना नगर्नु सिधै अदालतको मानहानि मात्र होइन, बरु लोकतान्त्रिक मूल्यमान्यता माथिको गम्भीर प्रहार हो। * संस्थागत पद्धतिलाई बाइपास: भूमि आयोग जस्ता संवैधानिक र कानुनी संयन्त्रलाई परामर्श र समन्वयमा सामेल नगरी 'डोजर' चलाउने आदेश जारी गर्नुले राज्यका स्थापित संस्थाहरूलाई कमजोर बनाउने र व्यक्तिलाई हाबी गराउने प्रवृत्तिको पुष्टि गर्छ। ४. काँधमा चढेको बच्चाको मनोविज्ञान:  अहिलेको सत्ता सञ्चालनमा एउटा रोचक तर भयावह 'मनोविज्ञान' देखिएको छ। जनमतको काँधमा चढेर शक्तिमा पुगेका पात्रहरूले आफूलाई संसारकै अग्लो ठान्ने भ्रम पालेका छन्। * नयाँ शक्तिको विरोधाभास: 'जान्नेलाई छान्ने' भन्दै आएका शक्तिहरूले 'एकाधिकारवादी' शैलीलाई नै निरन्तरता दिने हो भने, जनतामा "जुन जोगी आए पनि कानै चिरेको" भन्ने निराशा बढ्नु स्वाभाविक छ। * सेलिब्रेटी संस्कृति र पद्धति: राजनीति जब 'सिस्टम' मा भन्दा पनि 'सेलिब्रेटी' र 'फ्यान फलोइङ' मा आधारित हुन्छ, तब संस्थागत जवाफदेहिता हराउँदै जान्छ। यसले बिस्तारै 'निर्वाचित अधिनायकवाद' लाई आमन्त्रण गर्छ। ५. निष्कर्ष र निकासको बाटो शासकले आफ्नो उचाइ आफू उभिएको धरातल (कानुन र संविधान) बाट नाप्नुपर्छ, अरूको काँधबाट होइन। अहिलेको संकटबाट निकासका लागि निम्न बुँदाहरू अनिवार्य छन्: 1.संवैधानिक सम्मान: सरकारले अदालतको आदेश र संविधानको धारा ३७ (आवासको हक) लाई पूर्ण रूपमा पालना गर्नुपर्छ। 2.संसदीय सक्रियता: जटिल मुद्दाहरूलाई सदनमा लगेर व्यापक छलफलबाट मात्र कानुन र नीति निर्माण गरिनुपर्छ। 3. मानवीय व्यवस्थापन: सुकुम्बासी समस्याको समाधान 'डोजर' होइन, 'पुनर्स्थापना' र 'वैज्ञानिक पहिचान' हो। वास्तविक सुकुम्बासी र भू-माफिया छुट्ट्याउने वैज्ञानिक विधि अपनाउनु नै सुशासनको पहिलो कदम हो। अन्त्यमा, जबसम्म पद्धतिलाई व्यक्तिभन्दा माथि राखिँदैन र राज्यका संस्थाहरूलाई खेलौना बनाइन्छ, तबसम्म लोकतन्त्रको आवरणमा अराजकता मात्र मौलाइरहनेछ जो छिट्टै पतनको दिशामा जान्छ । लेखक : नेपाली कम्युनिष्ट पार्टीका नेता तथा प्रतिनिधिसभाका निवर्तमान सांसद हुन् । (२०८३ / ०१ / १२)  

लोकप्रिय