बुधबारदेखि नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालनमा

बुधबारदेखि नारायणगढ–मुग्लिन सडक चौबीसै घण्टा सञ्चालनमा

चितवन, भदौ २७ । दशैँ, तिहार र छठ पर्वलाई लक्ष्य गरेर नारायणगढ–मुग्लिन सडक बुधबारदेखि चौबीसै घण्टा सञ्चालन हुने भएको छ ।

विस्तारका क्रममा रहेको सो सडकमा पहिरो खस्ने समस्या बढेपछि सुरक्षाका कारण गत असार २५ गतेदेखि रातका समयमा सडक रोकिँदै आएको छ । मुग्लिनतर्फबाट आउने सवारीलाई साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म तथा नारायणगढतर्फबाट जाने सवारीलाई दासढुंगामा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म रोकिँदै आएको छ ।

मौसममा सुधार आएसँगै चाडपर्वलाई ध्यानमा राखी रात समयमा पनि सडक खुला गर्ने निर्णय गरिएको प्रजिअ नारायणप्रसाद भट्टले बताउनुभयो । यात्रुवाहक सवारी साधनको चाप हुने समयमा मालवाहक सवारीलाई रोकेर यात्रुवाहकलाई प्राथमिकताका साथ सडक पार गराइने पनि उहाँले बताउनुभयो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तका अनुसार राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालवाहक ट्रकलाई रामनगर नजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबरटारमा रोकिने भएको छ ।

यसबाट यात्रुवाहक सवारी साधनलाई रातका समयमा सडक पार गर्न सहज हुने छ । राति पनि पहिरो खस्न सक्ने भएकाले तत्काल सहयोगका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, आयोजना र ठेकेदार कम्पनीका प्रतिनिधिलाई तयारी अवस्थामा राखिने भएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार सो सडकमा मात्र तत्काल परिचालन हुनका लागि ५० नेपाल प्रहरी परिचालन गरिएको छ । मुग्लिनमा प्रहरी निरीक्षकको नेतृत्वमा इलाका प्रहरी कार्यालय तथा सिमलताल, जुगेडी र रामनगरमा प्रहरी चौकी छन् । सडक जाम हुँदा छिटो खुलाउनका लागि चार मोटरसाइकलमा आठ प्रहरी परिचालन गरिएको छ ।

समग्र सडकको अवस्थाबारे अनुगमन गर्न नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी सम्मिलित टोलीसमेत गठन गरिएको थापाले बताउनुभयो । कुरिनटारमा रहेको सशस्त्र प्रहरीले पनि सडकको सुरक्षाका साथै आवश्यक परेमा उद्धार गर्न तयारी हालतमा टोली राखेको छ । राजधानीबाट दशै‌ँ, तिहारसहितका चाडपर्वमा ३० लाख यात्रु बाहिरिने अनुमान छ । अधिकांशले यही बाटो प्रयोग गर्नुपर्ने हुन्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय