भरतपुर मेट्रो प्लाजाको काम शुरु हुँदै, ५ तारे होटलदेखि बैंक, बजार र पार्कसम्म एउटै ठाउँमा

भरतपुर मेट्रो प्लाजाको काम शुरु हुँदै, ५ तारे होटलदेखि बैंक, बजार र पार्कसम्म एउटै ठाउँमा

जिल्लाको प्रमुख शहर नारायणगढमा बहुउद्देश्यीय व्यावसायिक भवन (भरतपुर मेट्रो प्लाजा) बनाइने भएको छ । सिङ्गो शहरको जति सुविधा हुने गरी निजी क्षेत्रमार्फत व्यावसायिक भवन बनाउन लागिएको हो ।

भरतपुर महानगरपालिका–३ मा पर्ने लायन्स चोकमा रहेको ११ कट्ठा सात धुर जमिनमा ५० मिटर अग्लो व्यावसायिक भवन बनाइँदै छ । महानगरपालिकाले सार्वजनिक निजी साझेदारी अवधारणाबमोजीम निजी क्षेत्रबाट नक्साङ्कन, निर्माण, वित्त, सञ्चालन एवं हस्तान्तरण विधिबाट भवन बनाउँदै छ । महानगरपालिका प्रमुख रेनु दाहालका अनुसार आउँदो चैत महिनाभित्रमा निर्माणको सम्झौता हुने गरी काम अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाले सार्वजनिक निजी साझेदारी ऐन, नियमावली बनाएर राजपत्रमा प्रकाशित गरी व्यावसायिक भवन बनाउन लागेको हो । दाहालको भनाइमा भवन निर्माणका लागि निजी क्षेत्रबाट सातवटा कम्पनीले मनसाय पत्र पेश गरेका थिए । जसमध्ये चारवटाको मनसाय पत्र स्वीकृत भएको थियो । तीमध्ये तीन वटा कम्पनीले प्रस्ताव पत्र पेश गरेका छन् । प्राविधिक मूल्याङ्कनको काम अन्तिम चरणमा पुगेको छ ।

महानगरपालिकाको सार्वजनिक निजी साझेदारी ऐन, नियमावलीबमोजीम एकाइ प्रवद्र्धन समिति गठन गरी काम अघि बढाइएको छ । समितिको अध्यक्ष प्रमुख दाहाल हुनुहुन्छ भने सदस्य सचिवमा महानगरकै वरिष्ठ इ भरतकुमार आचार्य हुनुहुन्छ । आचार्यका अनुसार हाल प्रस्ताव पत्र पेश गरेका पिजन इञ्जिनीयरिङ, आर्य विल्डर्स र इनोभेटीव इञ्जिनीयरिङमध्येका एउटा कम्पनी छनोटमा परी चैत महिनाभित्रमा ठेक्का सम्झौता हुने छ । तीमध्ये छनोटमा परेका कम्पनीले करिब रु दुई अर्ब लगानी गरेर भवन बनाउने छन् । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ भने उनीहरुले निर्माण पछि उपयोग गर्ने अवधि २७ वर्ष पाउने छन् ।

प्रस्ताव पेश गर्ने कम्पनीले १२ देखि १४ तल्ला बनाउने प्रस्ताव गरेका छन् । दुई तला भूमिगत पार्किङ हुनेछ । आचार्यका अनुसार कम्तीमा २५ लाख वर्ग फिटको भवन बन्ने छ । जहाँ २०० भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने छ भने २०० भन्दा बढी दुई पाङ्ग्रे सवारी पार्किङ गर्न सकिने छ । पेश भएका प्रस्तावमा पाँच तारे होटलसमेत उल्लेख छन् । महानगरपालिकाले नै कम्तीमा तीन तारे होटल हुनैपर्ने उल्लेख गरेको छ ।

महानगरले मानव केन्द्रित अवधारणामा निर्मित खुला स्थान, कार्यालय तथा बैंकिङ सेवाका लागि पर्याप्त सुविधा, होटल, बालबालिका खेल्ने क्षेत्र, रेष्टुराँ तथा खाद्य सूविधा, सिनेमाहल तथा मनोरञ्जन केन्द्र बनाउनु पर्ने गरी प्रस्ताव माग गरेको दाहालले जानकारी दिनुभयो । शुरुमा आफैँ निर्माण गर्ने भनिएकोमा पछि सार्वजनिक निजी साझेदारी अवधारणाबमोजिम भवन बनाउन लागिएको हो ।

महानगरपालिकाले नागरिक उड्डयन प्राधिकरणसँग राय लिएर भवनको उचाइ तय गरेको हो । दाहालका अनुसार कूल जग्गाको क्षेत्रफलमध्ये आधा भागमा भवन बन्नेछ । उहाँले भन्नुभयो, “यो भरतपुर महानगरको गहना हुनेछ ।” जिल्लाको प्रमुख शहर नारायणगढमा पार्किङको अभावमा व्यवसाय प्रभावित भएको छ । यो भवन बनेसँगै महानगरवासी पूर्णरुपमा लाभान्वित हुने दाहालको भनाइ छ । नेपालमा ऐन नियमावली बनाएर निजी क्षेत्रको सहकार्यमा बनाउन लागिएको यो पहिलो र ठूलो परियोजना हो । उहाँले भन्नुभयो, “यो परियोजना देशकै नमूना बन्ने छ ।”

एउटै भवनभित्र सबै खालका सुविधा प्राप्त गर्ने भएकाले भरतपुर महानगरको शहरभित्रको एउटा महत्वपूर्ण शहरको रुपमा व्यावसायिक भवन बन्ने अपेक्षा गरिएको छ । भरतपुर महानगरपालिका–३ का अध्यक्ष चन्द्रमित्र पण्डित नारायणगढ बजारको सुन्दरता भवनले बढाउने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नारायणगढको भविष्यसँग जोडिने गरी हामी भवन बनाउँदै छौँ ।” देशकै मध्यभागमा रहेको नारायणगढ बजार राजधानी बाहिरका ठूलो बजारमध्येको एक हो ।

स्थान अभावका कारण सङ्कटमा पर्दै गएको अवस्थामा महानगरपालिकाले बेलैमा दीर्घकालीन सोचका साथ भवन बनाउन लागेको पण्डितको भनाइ छ । उपयुक्त प्रस्ताव छनोटका लागि महानगरपालिकाले मूल्याङ्कन समितिमा विरोक एण्ड कम्पनीका अध्यक्ष राधेश पन्तसहित चार जना विषय विज्ञलाई आमन्त्रण गरी काम गरिरहेको छ । पन्तले विगत तीन वर्षयता सार्वजनिक निजी साझेदारीसम्बन्धी कानून निर्माण र परियोजना सहजीकरणमा सहयोग गर्दै आउनुभएको छ । महानगरका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारी कहिल्यै पुरानो नहुने गरी आधुनिक र सुविधा सम्पन्न व्यावसायिक भवन बन्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “प्रमुख दाहालले दीर्घकालीन सोचका साथ नारायणगढ बजारलाई जीवन्त राख्ने गरी यो महत्वपूर्ण योजना ल्याउनुभएको हो ।”

भैरहवाबाट अब हरेक दिन अन्तर्राष्ट्रिय उडान

भैरहवा । कतारको राजधानी दोहाबाट विश्वका १ सय ७० भन्दा बढी गन्तव्यमा उडान भर्ने अनि आठ वर्षदेखि विश्वमै उत्कृष्ट एयरलाइन्समा आफ्नो स्थान बनाएको कतार एयरवेजले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दै छ । योसहित अब भैरहवामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ ।  ३५ अर्ब ६६ करोड लगानी भएको भैरहवामा उडान गर्न एक साताअघि नेपाल नागरिक उडान प्राधिकरणमा अनुमतिका लागि पठाएको कतारको शीतकालीन उडान तालिकाको प्रस्तावलाई आइतबार स्वीकृति प्रदान गरिएको हो । प्राधिकरणको एयर ट्रान्सपोर्ट डिभिजनले कतारलाई दैनिक उडान अनुमति दिएको छ । ०७९ जेठदेखि अन्तर्राष्ट्रिय वायुसेवाका लागि धावनमार्ग खुला भए पनि यस वर्षको भाइटीकाको दिनदेखि भैरहवा विमानस्थल चलयमान भएको हो । त्यस दिन बैंककबाट थाई एयर एसियाले सातामा दुई दिन सोमबार र बिहीबारका लागि उडान थालेको थियो । यसपछि दोस्रोमा शनिबार बिहान ७:३० बजे कुबेतबाट जजिरा एयरवेजले उडान गरेको थियो । विमानस्थल उद्घाटनपछि अन्तर्राष्ट्रिय वायुसेवातर्फ पहिलो उडान गर्दै आएको जजिराले ०८१ वैशाखसम्म १ सय १० वटा उडान गरेर त्यहाँको स्टेसन बन्द गरेर काठमाडौं फर्किएको थियो । यसले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान गर्ने अनुमति पाएको छ । शनिबारैदेखि फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं उडान थालेको छ । यसले भैरहवामा हरेक दिन उडान अनुमति पाएको छ । नेपाल वायुसेवा निगमले पनि भैरहवाका लागि उडान अनमति पाएको छ । शनिबारैदेखि यसले सातामा पाँच दिन काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान थालेको छ । यसले गत जेठअघिसम्म करिब एक वर्ष सातामा एक दिन मंगलबार मलेसियाबाट फर्किंदा भैरहवा हुँदै उडान गरेर त्यो सेक्टर बन्द गरेको थियो । अब भैरहवामा ५ वटा वायुसेवाले एक सातामा २४ वटा उडान गर्नेछन् ।  

इजरायललाई युद्ध रोक्न आह्वान गर्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्यालिस्टिनीमाथि इजरायलबाट भएको नरसंहारविरुद्ध नेपालका राजनीतिक दल, बृहत् नागरिक आन्दोलन, पेसागत संगठनहरू, मजदुर सङ्घहरू, विद्यार्थी र युवा संगठनका प्रतिनिधिहरूले संयुक्तरुपमा सोमबार नेपालस्थित इजरायली दूतावासमा विरोधपत्र बुझाएका छन् ।  इजरायली राजदूत स्मुलिम एरी बासलाई हस्तान्तरण गरिएको विरोधपत्रमा इजरायली सरकारले गाजाक्षेत्र र लेबनानमा गरेको जनसंहार र जातीय सफायाको भर्त्सनासहित सशक्त प्रतिवाद र असहमति प्रकट गरिएको छ । ‘हाम्रो मानवीय विवेकले हामीलाई यो विरोधपत्र प्रस्तुत गर्न एवं हाम्रा आवाजहरू सशक्तताका साथ राख्न बाध्य बनाएको छ’, विरोधपत्रमा भनिएको छ, ‘किनभने जब कुनै सरकारले एक वर्षको बिचमा नियतपूर्वक ४४ हजारभन्दा ज्यादा निर्दोष प्यालिस्टिीनीको निर्मम हत्या गर्दछ, जसमध्ये झन्डै ७० प्रतिशत त बालबालिका र महिला हुन्छन्, कुनै पनि मानिस चुप लागेर बस्न सक्दैन।’  त्यसमाथि  गाजा क्षेत्रको आधा भन्दा ज्यादा घर र अस्पतालहरू तथा दशमा आठ विद्यालयहरूलाई भग्नावशेषमा बदल्ने कार्य भएको विरोधपत्रमा उल्लेख छ । ‘यिनै कार्यहरूको फलस्वरूप भय र आतङ्कका तथ्यका कारण १९ लाखभन्दा ज्यादा प्यालिस्टिनीहरू आफ्नो भूमि र बासस्थानबाट विस्थापित भएका छन्’, विरोधपत्रमा भनिएको छ, ‘विश्वको कुनै पनि अन्तर्राष्ट्रिय मानवीय ऐन र मानवतावादी तुलोबाट जोखेपनि तपाईंको सेनाले गरेका यी गतिविधिलाई निर्विवाद रुपमा जनसंहार र युद्ध अपराध भनेर नामाकरण गर्न सकिन्छ । अतः हामी यसको घोर भर्त्सना गर्दछौं ।’ यस्तै इजरायलबाट बेपत्ता भएका विपिन जोशीको यथाशक्य रिहाइका लागि प्रभावकारी कूटनीतिक पहल गर्नु इजरायल सरकारको नैतिक दायित्व भएको पनि उल्लेख गरिएको छ । 

बक्यौता नबुझाउँदै लाइन जोड्न सरकारको निर्देशन, कर्मचारीहरू भन्छन् 'जोड्न सकिदैन'

काठमाडौँ । सरकारले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएका उद्योगमा तत्काल जोड्न नेपाल विद्युत प्राधिकरणका निर्देशन सहितको निर्णय गरेको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइन विवादका सम्बन्धमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आफूलाई आइनसकेको बताएका छन् ।  ‘मलाई निर्णय आइपुगेको छैन । सञ्चारमाध्यममार्फत सुनेका चाहिँ छु  । निर्णय अब लिखितमा मन्त्रालयमा आएपछि यसबारेमा छलफल होला’ घिसिङले भनेका छन् । सरकारको उक्त निर्णय पछि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले भने औद्योगिक ग्राहकले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाएसम्म लाइन जोड्ने सरकारको निर्णय कार्यान्वयन हुन नसक्ने बताएका छन् ।  सोमबार नेपाल विद्युत् प्राधिकरण कर्मचारी कल्याण परिषद् र राष्ट्रिय कर्मचारी युनियनले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै जबरजस्ती लाइन जोडिए आम जनतालाई सुसूचित गर्दै सङ्घर्षका कार्यक्रम गर्ने जनाएका हुन् ।  आम उपभोक्ताले ६० दिनभित्र महसुल नबुझाए लाइन काट्ने व्यवस्था स्मरण गराउँदै औद्योगिक ग्राहकलाई छुट्टै व्यवहार गर्न नहुने बताएका छन् ।  सबैलाई समान व्यवहार गर्नुपर्नेमा सरकारले अर्बौँ बक्यौता नतिरेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेर ठुलालाई चैन, सानालाई ऐन उक्ति चरितार्थ गरेको कर्मचारीको भनाइ छ ।  कर्मचारीहरूले महसुल उठाउने प्रचलित ऐन, नियम तथा विनियमावलीमा रहेका व्यवस्थाअनुरूप प्राधिकरणले काम गरेको भन्दै त्यस विपरीत जान नहुने भन्दै सरकारलाई सचेत गराएका छन् ।  आइतबार बसेको मन्त्रिपरिषद्को निर्णयले विद्युत् महसुल नतिरेर काटिएका उद्योगमा सोमबार १२ बजेभित्रै लाइन जोड्ने निर्णय गरेको थियो । यस्तै बैठकले टाइम अफ डे (टीओडी) मिटरका आधारमा १५ दिनभित्र बक्यौता उठाउने निर्णय पनि गरेको थियो।   

माओवादी केन्द्रले मंसिर मसान्तसम्म सबै पालिकामा सम्मेलन र खबरदारी सभा गर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले मंसिर मसान्तसम्म सबै स्थानीय तहमा पार्टीको सम्मेलन र खबरदारीसभा गर्ने निर्णय गरेको छ । आज बसेको केन्द्रीय कार्यालयको बैठकले सरकारले गरिरहेका बेथितिविरुद्ध खबरदारी गर्न जनपरिचालन गर्दै मंसिर मसान्तसम्म पालिका सम्मेलन र खबरदारी सभा एकैसाथ गर्ने निर्णय निर्णय गरेको हो । बैठकले पुस २ गते केन्द्रीय समितिको बैठक बोलाइएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकले आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा सफलता हासिल गर्ने कार्ययोजना पनि बनाएको छ । खबरदारी सभामार्फत सरकारका बेथिति जनताको बीचमा लैजाने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ण्àराम्रो काम गर्ने मानिसहरूलाई सरकारले हटाइरहेको छ । यसले गर्दा देशमा असाधारण परिस्थिति बन्दैछ । यस्तो अवस्थामा सबै पार्टीहरूबिच एकरूप समझदारी हुनुपर्ने र राष्ट्रिय दृष्टिकोण बन्नुपर्ने बेलामा पार्टीहरू फुटाउने चर्चा पनि चलेको छ ।’ उहाँले संविधान संशोधनको कुरा गरेर कांग्रेस र एमाले सत्तामा गएको तर अहिले फेरि उक्त विषय सेलाएको उल्लेख गर्दै संविधान संशोधन गर्ने भए अग्रगमन र परिवर्तनको पक्षमा हुनुपर्ने बताउनुभयो । माओवादी केन्द्रले देशको प्रमुख कार्यकारीको निर्वाचन प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने पनि बताएको छ । त्यो निर्वाचन प्रणालीमा गएपछि मात्र अहिले देखिएका विकृति र विसंगतिको अन्त्यका साथै राजनीतिक अस्थिरता पनि हट्ने उसको भनाइ छ ।   

लोकप्रिय