मनोरम चित्लाङ

मनोरम चित्लाङ

मकवानपुर: ‘कुन मन्दिरमा जान्छौ यात्री ? कुन मन्दिरमा जाने हो ? कुन सामग्री पूजा गर्ने ? साथ कसोरी लाने हो…?’ महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित तथा रञ्जित गजमेरद्वारा सङ्गीतबद्ध र रविन शर्माको आवाजमा स्वराङ्कन भएर आजभन्दा ३६ वर्ष अगाडिको चर्चित चलचित्र ‘वासुदेव’ मा समावेश गरिएको यो मिठो सङ्गीतमा पशुपति बहुमुखी क्याम्पस मित्रपार्क चाबहिलमा स्नातक तहमा अध्ययनरत सर्लाहीकी स्मीता थापा ‘टिकटक भिडियो’ छायाङ्कन गर्दै थिइन्।

त्यहाँ उनी जस्तै भिडियो बनाउने अरु धेरै थिए तर सबैले यही एउटा मात्र गीतमा भिडियो बनाइरहेका थिए। एउटा ढुङ्गेधारा उनीहरुको एकमात्र ‘सुटिङ स्पट’ थियो। धाराको डिलमा बसेर कापी कलम बोकेर केही लेखेजस्तो गरेर फोटो खिच्नेहरु पनि प्रशस्त थिए।

केहीबेर त्यहाँ बसेर त्यो गतिविधि नियाल्ने जो कोहीलाई पनि त्यो धारा र त्यो गीतसँग पक्कै पनि केही न केही अन्तरसम्बन्ध छ भन्ने कुराको भान परिहाल्छ। मनमा पलाएको कौतुहलता मेट्न धारा नजिकै भएको बोर्ड अध्ययन गर्न पनि सकिने रहेछ। बोर्डमा लेखिएको छ, ‘महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘यात्री’ कविताको रचनास्थल ‘गुर्जुधारा’।’

मकवानपुरको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र चित्लाङस्थित ‘गुर्जुधारा’ चन्द्रागिरिको फेदीमा मकवानपुरपट्टि पर्छ। यातायातको विकास हुनुअघि भारत तथा नेपालका विभिन्न क्षेत्रबाट काठमाडौँ प्रवेश गर्ने एक मात्र नाका चित्लाङ भएकोले यही मार्ग भएर आउजाउ गर्नु थुप्रै नेपाली र विदेशीको एकमात्र विकल्प थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यही मार्ग हुँदै कयौँ पटक आवतजावत गर्थे। कुनै कवि सम्मेलनमा सहभागी हुन भारत जान लाग्नुभएका महाकवि देवकोटा एकदिन गुर्जुधारा नजिकै धर्मशालामा बास बस्नुभएको थियो।

बास बस्ने क्रममा उनले पशुपति दर्शनका लागि भारतदेखि आएका तीर्थयात्रु पहाडी बाटोमा हिँड्न नसकेर भरियामार्फत बोकिएर हिँडेको, उनीहरुसँग अशक्त, अपाङ्ग तथा माग्नेले भिखको लागि हारगुहार गरेको तर उनीहरुले बेवास्ता गरेको देखे। हेर्दा निकै नै धनाढ्य देखिने ती यात्रीहरुले धर्मशाला वरिपरि बसेका भिखारीको भिख र सहयोगको अनुरोध भने नसुनेझैँ गरी बेवास्ता गरेकोप्रति भावुक भएर महाकविले ‘यात्री’ कविता लेखेको अग्रजहरुबाट सुनेको बताउँछन् स्थानीय स्वछन्द्र भैरव माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक तथा होमस्टे सङ्घका केन्द्रीय सल्लाहकार बुद्धरत्न मानन्धर। स्थानीय होमस्टे सञ्चालकसमेत रहनुभएका मानन्धरका अनुसार ऐतिहासिक व्यापारिक बाटो (सिल्क रोड) मा रहेको गुर्जुधारा चन्द्रागिरि पर्वतको फेदीमा अवस्थित छ। यहाँ महाकवि देवकोटाले रचना गरेका अनेकौँ रचनामध्ये ‘यात्री’ कविता सुप्रसिद्ध भएको छ र यसै प्रसिद्धिको नाताले मानन्धरले यहाँ एउटा होमस्टे सुरु गरे। जसको नाम ‘गुर्जुधारा होमस्टे’ राखिएको छ।

चित्लाङमा गुर्जुधारा मात्रै हैन थुप्रै पौराणिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदा छन् जसले यहाँ थुप्रै आन्तरिक तथा बाह्य पर्यटकलाई आफूतर्फ आकर्षित गरिरहेका छन्। मानन्धरका अनुसार चित्लाङ नेपालको पुराना शहरमध्ये एक हो। लिच्छवीकालीन राजा अंशुवर्माले सातौँ शताब्दीमा यो शहर बसालेको इतिहासकारलाई उद्धृत गर्दै मानन्धर बताउँछन्। चन्द्रगिरिबाट एक घण्टाको पैदल दूरीमा पर्ने चित्लाङ प्राचीन बस्तीको झल्को दिनेखालका घरले मनमोहक देखिन्छ। सम्राट अशोकको प्रतिबद्धताअनुसार उनकी छोरी चारुमतीले बनाएको अशोक चैत्य अर्थात चारुमती बिहार यहाँको प्रमुख पर्यटकीय गन्तव्यअन्तर्गत पर्दछ। तीनवटा गजुर भएको ढुङ्गैैढुङ्गाले बनेको पौराणिक शिव मन्दिर पनि यहाँको अर्को आकर्षक गन्तव्य हो। मानन्धरका अनुसार चित्लाङको प्राचीन नाम चित्रापुर हो।

उसबेला थानकोटको नाम शोणितपुर थियो। त्यहाँका राजा बाणासुरको पुत्री राजकुमारी उषामैयाको सहेली ‘चित्रा’ ले यहाँको प्राकृतिक सुन्दरतालाइ मन पराएर दैनिक आउने गरेकीले यो ठाउँको नाम चित्रापुर रहन गयो। पछि भारतका सम्राट अशोकपुत्री चारुमती स्वयम्भूको दर्शनार्थ आउँदा चित्रापुरको बाटो हुँदै स्वयम्भूको दर्शन गरिन् र काष्ठमण्डपको उत्तरको विशाल मैदानबीचमा एउटा बौद्ध बिहार बनाइन् जसको नाम क्रमशः चाबहीर चाबहिल र चाबेल रहन गयो। यो घटनाक्रम २२ सय वर्ष अघिको थियो र सोही बखत चारुमतीको सहयोगमा यता चित्रापुरमा पनि एउटा ‘चैत्य’ निर्माण भयो जसलाई अशोक चैत्य भनिन थालियो। चारैतिरका मान्छेहरुले चैत्य दर्शन गर्न आउन थाले। नेवारहरुले चैत्य आउँदा प्रयोग गरेको यहाँको बाटोलाई चैत्य लँ भन्न थाले। लँ को अर्थ बाटो हो। चैत्यलँ भनिँदै जाँदा यो चित्रापुर भन्ने ठाउँको नाम नै चैत्यलँ बाट चैत्यलङ चेतलङ हुँदै चित्लाङ हुन गएको बताइन्छ। यस ठाउँको नाम चित्लाङ नामकरण भएको करिब दुई हजार दुई सय वर्ष जति भएको मानन्धर बताउँछन्।

समुन्द्री सतहबाट दुई ५०० मिटरको उचाइमा रहेको चन्द्रागिरि पर्वतको दक्षिणी पानीढलोपट्टिको भाग चित्लाङमा पर्छ। ऐतिहासिक भालेश्वर महादेवको प्राचीन मन्दिर चित्लाङतिर पर्छ तर हाल नयाँ विशाल मन्दिर बनेपछि पुरानो मन्दिरको भने बेवास्ता भएको पाइन्छ। चित्लाङको मुख्यबस्ती समुन्द्री सतहबाट एक हजार ७५० मिटरको उचाइमा पर्दछ। दक्षिणमा देशकै ठूलो मानव निर्मित ताल इन्द्रसरोवर, पूर्वमा दामन, पालुङ र उत्तरमा काठमाडौँसँग जोडिएको यस क्षेत्र सुन्दरताले भरिपूर्ण छ। देशकै सबैभन्दा ठूलो चरनक्षेत्र भएको पहाडी चउर चित्लाङमै पर्दछ। यहाँ सरकारले विगतमा सञ्चालन गरेको भेडा फार्म र प्रदेश सरकारले बाख्रा विकास फार्मको रुपमा सञ्चालन गरिरहेको छ। बाख्राको दूध र त्यसबाट बनेको ‘चिज’ का लागि पनि चित्लाङ प्रसिद्ध छ। विगतमा मुलाको लागि प्रसिद्ध चित्लाङ खुर्सानीका लागि पनि उत्तिकै परिचित छ।

यहाँ दुईवटा सुविधा सम्पन्न रिसोर्ट र २० वटा होमस्टे सञ्चालित रहेको र हप्तामा ७०० देखि एक हजारसम्मले बास बस्ने गरेको बताउनुहुन्छ चित्लाङ रिसोर्ट प्रालिका सञ्चालक रामशरण नेपाल। नेपालका अनुसार यहाँ दैनिक मोटरसाइकल वा गाडीमा घुम्न आउने र फर्कनेको सङ्ख्या सयौँ छ। केही विदेशी तथा अधिकांश नेपाली पर्यटकले भरिभराउ रहने चित्लाङमा एकरात बस्नेगरी जानेको सङ्ख्या बढी हुने होटल व्यवसायी बताउँछन्। शुक्रबार यहाँका अधिकांश होमस्टे र रिसोर्ट भरिभराउ हुन्छन्।

एशियामा नेपालमा मात्रै पाइने उँटे भेडा (अल्पाका) पनि चित्लाङमा पालिएको छ। रिस उठ्यो भने थुकेर रिस मार्ने यो प्रजातिको ऊन संसारमा सबैभन्दा महङ्गोे ऊन हो। यही जनावरलाई हेर्नका लागि मात्रै बर्सेनि यहाँ हजारौँ मानिस आउँछन्। यहाँको अर्को आकर्षण हो, जैतुन खेती। जैतुन स्वास्थ्यवद्र्धक तेलका लागि विश्व प्रसिद्ध छ। अत्यन्तै महङ्गाे मूल्यमा बिक्री हुने तेल उत्पादन हुने जैतुन वातावरणमा सबैभन्दा अक्सिजन फाल्ने वनस्पती मध्ये पर्दछ। चित्लाङमा विदेशको मरुभूमिमा मात्र देख्न पाइने क्वाड बाइक भनिने चारपाङ्ग्रे मोटरसाइकलको मज्जा पनि लिन सकिन्छ।

यहाँ आउने पर्यटकले भरपुर आनन्द लिएको पाइन्छ। काठमाडौँको थानकोटबाट एक दिनका लागि यहाँ आएकी सम्झना कोइराला चित्लाङको चित्ताकर्षणले लोभ्याएको बताउँछिन्। ग्रामीण स्वच्छ वातावरण, पौराणिक चिजबिज, बगान ऐतिहासिकस्थल आदिले उनलाई आनन्दित पारेको छ। ‘यो पटक साथीसँग आएँ अब परिवारसँग चाँडै आउँछु’, उनले बताइन्।

हेटौँडाको भुटनदेवी माध्यमिक विद्यालयकी शिक्षिका कुशुम थापालाई पनि चित्लाङ साह्रै मन पर्यो। सहकर्मीहरुसँग घुम्न आउनुभएकी उनलाई जैविक खेती, ऐतिहासिक सातधारा, गुर्जुधारा, चन्द्र दरबार, पौराणिक वस्तुहरु आदिको भ्रमणले आनन्दित बनाएको बताउनुहुन्छ। चित्लाङको विकास र पर्यटकीय प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकार लागि परेको थाहानगरका प्रमुख लवशेर विष्ट बताउँछन्। ‘हामीले सङ्घीय सरकार तथा प्रदेश सरकारसँग समन्वय गरेर चित्लाङको विकासका लागि थुप्रै योजना बनाएका छौँ, कतिपय काम भइरहेका छन् कतिपय हुँदैछन्’, उनले बताए।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।