महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?

महिनावारीमा धेरै पेट दुख्ने केटीको बच्चा हुँदैन ?

म १८ वर्षीया युवती हुँ । महिनावारी हुँदा मेरो पेट निकै दुख्छ । गाउँघरका जेठाबाठाहरू भन्नुहुन्छ, महिनावारीमा धेरै पेट दुख्ने केटीको शिशु हुँदैन । के यो सत्य हो ? मेरो पनि शिशु हुँदैन त ? यसको समाधान के होला ?

पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निनेजस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई  Premenstrual Tension Syndrome भनिन्छ ।

महिनावारी हुँदा किन पेट दुख्छ ?

प्राय: सबैजसो किशोरीले महिनावारी हुँदा धेरथोर पीडाको अनुभव गरेकै हुुन्छन् । आधाजसो महिलाले त बेस्सरी नै पेट दुखेको गुनासो गर्छन् । महिनावारीको यस्तो पेट दुखाइलाई dysmenorrhea भनिन्छ । यस्तो किसिमको पीडा तल्लोपेट, pelvic area कम्मर, ढाडको तल्लो भाग वा तिघ्रातिर समेत सर्न सक्छ । महिनावारीमा तल्लो पेट दुख्दा सामान्य दैनिक जीवन नै खलबलिन सक्छ ।

महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन–छिनमा संकुचन आउँछ र पीडा अनुभव हुन्छ । किशोरावस्थामा पाठेघरको मुख केही खुले पनि तुलनात्मक रूपमा सानै हुने भएकाले वयस्क अवस्थाको भन्दा बढी दुख्छ । समय बित्दै गएपछि वा शिशु जन्माइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा ठूलो हुने भएकाले त्यति धेरै पीडा महसुस हुँदैन ।

महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा prostaglandin भनिने रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरलाई आवश्यक रक्तप्रवाहमा कमी आई अक्सिजनको मात्रामा कमी आउँछ । यो प्रक्रियाले पनि पीडा दिन्छ । यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरङ्ग प्रक्रिया भएकाले यसलाई प्राकृतिक नै मानिन्छ । यस्तो स्थितिलाई Primary Dysmenorrhea भनिन्छ ।

तपार्इंले आफ्नो महिनावारी चक्रका बारेमा केही लेख्नुभएको छैन । स्वस्थ महिलामा यस्तै ३ देखि ५ दिनसम्म योनिबाट रगत आउने र २८–३० दिनको चक्रीय रूपमा अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै होला । यस्तो चक्र केही चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिन सम्म हुनुलाई सामान्य नै मानिन्छ ।

तपाईंले पनि अनुभव गर्नुभएकै होला, पहिलो पटक महिनावारी भएपछि केही समयसम्म यो नियमित नहुन सक्छ । त्यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षण देखिन्छन्, जस्तो कि पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने वा भारी हुने, रुन मन लाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन, प्यास लाग्ने, खानपिनसम्बन्धी रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने जस्ता कुरा हुन सक्छन् र यस्तो स्थितिलाई Premenstrual Tension Syndrome भनिन्छ ।

किशोरावस्थामा तल्लो पेटको पीडा कम गर्न के गर्ने ?

पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ, त्यसैले थप आराम गर्ने अर्थात् सुत्ने प्रयास नै गर्नुभए हुन्छ, तर पेट नदुखेका बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा अध्ययनमा व्यस्त रहनुपर्छ । व्यक्तिगत सरसफाइ तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ । नुनको सेवन कम गर्दा शरीरमा जम्मा हुने पानी कम हुने भएकाले पनि केही सजिलो हुने कुरा बताइन्छ ।

पीडा कम गर्न तातो वस्तु जस्तै : hot water bottle वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ । तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न मद्दत मिल्छ । कुनै तातो पेय पिउन सकिन्छ वा वा पेटमा हल्का मालिस गर्दा पनि पीडा कम गर्न सकिन्छ । महिनावारी भएका बेला कसरत वा व्यायामले पनि पीडा कम गर्न सकिन्छ । औषधीको सेवन गरेर पनि यस्तो पीडा कम गर्न सकिन्छ ।

अति नै दुखेको स्थितिमा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन  सक्छ । त्यस्तो अवस्थामा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ । आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन् ।

पाठेघरको मुखलाई ठूलो पारेर गरिने उपचार किशोरीहरूमा प्रयोग गरिंदैन । कतिपय महिलामा गर्भधारण गरेर सामान्य रुपमा (योनिमार्गबाट नै) सन्तान जन्माउँदा यो समस्या पूर्ण रुपमा समाधान भएको पाइएको छ ।

के शिशु जन्माउन सकिँदैन ?

किशोरीहरूमा पेट दुख्ने प्रमुख कारण Primary Dysmenorhea हुन्छ । यस किसिमको स्थितिमा शिशु जन्माउन सक्ने अर्थात् भनौं प्रजनन क्षमतामा कुनै नकारात्मक असर पर्दैन ।

किशोरावस्थामा विरलै मात्र हुने भए पनि पाठेघर वा त्यसवरिपरिका अङ्गमा कुनै रोग वा विकार भएको अवस्थामा तल्लो पेट दुख्नुलाई Secondary Dysmenorrhea भनिन्छ । पाठेघरको टयुमर, पाठेघर तथा वरिपरिको अङ्गको सक्रमण एवं इन्डोमेट्रियोसिसजस्ता स्थिति पीडाका कारण हुन सक्छन् ।

यस्तो स्थितीमा भने प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्छ । त्यसैले तपाईंले उल्लेख गर्नुभएजस्तो जेठाबाठाहरूले भनेको कुरामा पूरै सत्यता नभए पनि केही हदसम्म सत्यता छ ।

समाधानका लागि तपाईंको पीडाको प्रमुख कारण निक्र्यौल गर्नुपर्छ । यसका लागि तपाईंले स्त्रीरोग विशेषज्ञको सहायता लिनुपर्ने हुन्छ । स्त्रीरोग विशेषज्ञको सल्लाहमा विभिन्न किसिमको परीक्षण गराउनुपर्ने हुन सक्छ । कुनै खराबी नभए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन । केही खराबी देखिएको स्थितिमा

भने खराबीअनुसार उपचार गराउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई स्त्रीरोग विशेषज्ञले नै सहयोग गर्नुहुनेछ । साप्ताहिकबाट

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय