रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?

रक्सी खाएपछि किन हुन्छ ह्याङओभर, कसरी पाउने छुटकारा ?

नयाँ वर्ष आइसकेको छ। पार्टीहरू अझै चल्दैछन्। रक्सीका गिलासहरू एक अर्कासँग ठोक्किँदैछन्। कुनै आफन्तसँग त कुनै साथीहरूसँग। अलिकति धेरै नै पिइँदैछ।

तर नतिजा, रातिको पार्टी सकिएपछि टाउको भारी हुन थाल्छ, बान्ता र रिँगटा लाग्न थाल्छ। थकाइ अनुभव हुन्छ।

मानिसहरू यसलाई धेरै पिएपछि भएको ‘ह्याङ्गओभर’ हो भन्छन्। हिलसा माछाको अचार खानु, अण्डा खानु वा ओएस्टर खानु, ह्याङ्गओभर हट्छ भन्छन्। अधिक रक्सी पिएपछि प्राय: मानिसहरू ह्याङ्गओभर भएको बताउँछन्। फेरि जो साथीले अघिल्लो दिन धेरै पिउन बल गरेको थियो उसैले भोलिपल्ट ह्याङ्गओभर हटाउने उपायहरू पनि बताइरहेको हुन्छ। तर कुन उपायले तपाईँलाई ताजा बनाउला? त्यस्तो कुनै उपाय छ कि छैन?

ह्याङ्गओभरबाट कसरी छुट्कारा पाउने भन्ने समस्या आजको होइन। मिश्रमा भेटिएको १९०० वर्ष पुरानो एउटा भोजपत्रमा यसबाट मुक्ति पाउने उपाय लेखिएको थियो। अर्थात् उसबेला पनि मानिसहरू रक्सी धेरै पिएपछि त्यसले निम्तिने समस्याबाट हैरान थिए र त्यसको समाधान खोजिरहेका थिए। त्यो भोजपत्रमा जुन उपायहरू सुझाइएको थियो, त्यो आजको दिनमा व्यवहारमा लागु गर्न कठिन छ।

तर आज पनि ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू बताइन्छ। जस्तै क्यानरी भनिने चराको भुटेको मासु खानु, काँचो अण्डा खानु, गोलभेँडाको रस पिउनु, सस वा त्यस्तै चिज मिलाएर तयार पारिएको ओइस्टर खानु – आदि।

रमाइलो कुरा के छ भने यीमध्ये कुनै पनि उपायले धेरै रक्सी पिएर तपाईँले भोगिरहनु भएको ह्याङ्गओभर समस्याको समाधान गर्ने निश्चित छैन। निश्चित समयपछि यो समस्या आफै हराउँछ। त्यसअर्थमा समयसँगै ह्याङ्गओभर हटेर जान्छ।

यसको मुख्य कारण के हो भने आजको दिनसम्म ह्याङ्गओभर किन हुन्छ भन्ने स्पष्ट थाहा भइसकेको छैन।

किन हुन्छ त ह्याङ्गओभर

विज्ञानले के भन्छ भने जब अधिक रक्सी पिएर हामीलाई ह्याङ्गओभर भएको अनुभव हुन्छ या भनौँ जब टाउको भारी भएर दुख्न थाल्छ, रिंगटा लाग्छ तबसम्म हाम्रो शरीरमा रक्सीको अंश बाँकी नै हुँदैन।

त्यसो भए ह्याङ्गओभर किन हुन्छ?

रक्सी इथानोलबाट बन्छ। यसलाई हाम्रो शरीरमा भएको इन्जाइमले टुक्रा टुक्रा पारेर अन्य विभिन्न रसायनमा परिणत गरिदिन्छ। यीमध्यै सबैभन्दा महत्त्वपूर्ण एसिटेल्डिहाइड हो। यसलाई थप टुक्रा गरेर इन्जाइमले अर्को रसायन एसिटेटमा परिणत गरिदिन्छ। यही एसिटेट रसायन फ्याट्टि एसिड र पानीमा परिणत हुन्छ। केही वैज्ञानिकहरू ह्याङ्गओभर यही एसिटेल्डिहाइडका कारण भएको विश्वास गर्छन्। तर केही अध्ययनहरूले यो रसायनको ह्याङ्गओभरसँग प्रस्ट सम्बन्ध नहुने देखाएको छ।

केही जानकारहरू भने रक्सीमा मिसाइने अरु नै रसायनका कारण ह्याङ्गओभर हुने बताउँछन्। तिनलाई कन्जेनर्स भनिन्छ। ह्विस्की बनाउँदा अन्य धेरै किसिमका तत्वपनि निस्किन्छन्। धेरै पिएपछि मात्र मानिसहरूले तिनको उपस्थिति अनुभव गर्छन्।

कडा रङ्गका रक्सीमा यसको मात्रा बढी हुन्छ। त्यसैले बर्बन पिउँदा उत्तिकै भोड्का पिएभन्दा बढी ह्याङ्गओभरको अनुभूति हुन्छ। तर यसको असर व्यक्तिपिच्छे फरक फरक हुन्छ। साथै पिउनुको असर वा ह्याङ्गओभर पनि पिउने मानिसको उमेर र पिएको मात्रा अनुसार भिन्न हुन्छ।

थकाइलागेको अनुभव किन हुन्छ

वास्तवमा कुनै एक कारणले ह्याङ्गओभर हुँदैन। यसका विविध कारणहरू हुन्छन्। रक्सी पिउँदा हाम्रो शरीरमा हर्मोनको सन्तुलन खलबलिन्छ।

यसबेला मानिसहरू अरुबेलाभन्दा धेरै पिसाब गर्न थाल्छन्। यसले उनीहरूको शरीरमा पानीको मात्रा कम हुन पुग्छ। टाउको भारी हुनु वा दुख्नु योसँग पनि सम्बन्धित छ। रक्सी सेवनले निद्रामा पनि असर गर्छ। प्राय: मानिसहरू राति अबेरसम्म रक्सी पिउँछन्। जसको परिणाम स्वरूप उनीहरू पर्याप्त सुत्न पाउँदैनन्। यसैकारण पनि उनीहरू थकान अनुभव गर्छन्।

नेदरल्याण्ड्सको उत्रेख्त विश्वविद्यालयका प्राध्यापक योरिस सी वेर्सटर भन्छन्,”धेरै रक्सी सेवन गरेपछि हाम्रो शरीर त्यससँग लड्न थाल्छ ताकि त्यसले हाम्रो शरीरमा धेरै खराबी नगरोस्। त्यसै कारण पनि मानिसहरू धेरै पिएपछि अल्मलिएको जस्तो देखिन्छन्।”

इन्टरनेटमा ह्याङ्गओभर हटाउने अनेकौँ उपायहरू लेखिएका भेटिन्छन्। कसैले केरा खाए राहत हुन्छ भन्छन्। किनकि रक्सी पिउनाले शरीरमा भएको पोटासियम नष्ट हुन्छ र केरा खाए त्यसमा भएको पोटासियमले शरीरमा त्यसको कमी पूरा हुन्छ। तर पोटासियमको कमी एक रात रक्सी खाँदैमा हुँदैन, जुन केरा खाएर तुरुन्तै पूर्ति होस्।

कोही मानिसहरू ह्याङ्गओभर हटाउन बिहान चिल्लोयुक्त नास्ता खानु पर्ने सुझाउँछन्। कोही भने पिउनु पहिल्यै पेटभरि खानु पर्ने बताउँछन्।

केही मानिसहरू अण्डा खाने सल्लाह दिन्छन्। अण्डामा हुने एमिनो एसिड भनिने रसायन एसिटेल्डिहाइड टुक्र्याउन प्रयोग हुन्छ। त्यसैले अण्डा खाएर राहत मिल्छ भनिन्छ। तर त्यस्तो तत्व त अन्य खानामा पनि पाइन्छ।

अहिलेको लागि भने रक्सी धेरै पिएर हुने समस्याबाट छुट्कारा पाउने सबैभन्दा राम्रो उपाय भनेको आराम गर्नु, धेरै पानी पिउनु र एक चक्की एस्पिरिन लिनु हो। रक्सी पिउनुपूर्व राम्रोसँग खानेकुरा खानु र रक्सी पनि विस्तारै विस्तारै पिए ह्याङ्गओभर कम हुन्छ।

र, सबभन्दा राम्रो उपाय त धेरै रक्सी नपिउनु नै हो।

बागलुङमा ४५ हजार परिवार स्वास्थ्य बिमामा सूचीकृत

बागलुङ । जिल्लामा ४५ हजार ३९५ परिवार स्वास्थ्य बिमा कार्यक्रममा सूचीकृत भएका छन् । यहाँ ती परिवारका एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका छन् । विसं २०७३ असारदेखि जिल्लामा लागू गरिएको हो । गत वर्ष एक लाख २६ हजार बिमामा आबद्ध भएकामा हाल १५ हजार बढेर एक लाख ४१ हजार ५०९ जना पुगेका छन् । नौ वर्षअघि सुरु भएको स्वास्थ्य बिमामा आबद्ध हुनेको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ ।  जिल्लाको धौलागिरि अस्पताल, बागलुङ नगर अस्पताल, गलकोट नगर अस्पताल, जैमिनी नगर अस्पताल र ढोरपाटन नगर अस्पतालबाट स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु दिइरहेका छन् । बिमामा आबद्ध हुनेको सङ्ख्या बढ्दै गएपछि हाल बडिगाड आधारभूत अस्पताल प्रथम सेवा विन्दुमा थालिएको स्वास्थ्य बिमा बोर्ड बागलुङका संयोजक नारायणप्रसाद पौडेलले बताए ।  उनका अनुसार एक लाख ४१ हजार ५०९ जना आबद्ध भएका मध्ये ७४ हजार ६०२ महिला र ६६ हजार ९०३ पुरुष रहेका छन् । “स्वास्थ्य बिमामा आबद्ध भएपछि निःशुल्क एक लाखसम्मको स्वास्थ्य उपचार पाइने भएकाले नागरिक यसमा आबद्ध भएका छन्”, पौडेलले भने, “क्रमशः स्वास्थ्य बिमा गराउनेको सङ्ख्या बढिरहेको छ, यो वर्ष मात्रै १६ हजार नागरिक स्वास्थ्य बिमामा आबद्ध भएका छन् । वर्षमा एकपटक प्रिमियम तिरेपछि वर्षभरि सरकारी अस्पतालमा उपचार पाइने भएकाले अधिकांशले स्वास्थ्य बिमा गर्न थालेका हुन् ।”  दुई लाख ४९ हजार २११ जनसङ्ख्या रहेको बागलुङमा ५० प्रतिशतभन्दा बढीले स्वास्थ्य बिमा गरिसकेका छन् । जनसङ्ख्या धेरै भए पनि रोजगारी र अन्य कारणले विदेश पलायन दर तीव्र बढिरहेकाले यहाँ बस्ने अधिकांशले स्वास्थ्य बिमा गर्न थालेको पौडेलको भनाइ छ ।  स्वास्थ्य बिमा कार्यक्रमअनुसार पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक रु तीन हजार ५०० तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्य भएकाको हकमा प्रतिसदस्य रु ७०० का दरले शुल्क बुझाइ एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक रु एक लाखसम्म निःशुल्क उपचार खर्च हुने व्यवस्था छ । बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्य चौकी जाने प्रचलनसमेत बढेको स्वास्थ्य बिमा दर्तामा आबद्ध कर्मचारी सरिता शर्माले बताइन् । 

स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने

काठमाडौं । रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जेनजी प्रदर्शनका क्रममा भएको आगलागीले क्षतिग्रस्त भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को नयाँ भवनबाट अस्थायी रूपमा काम थालिने भएको छ । मन्त्रालय परिसरमा रहेको एनएचआरसीको पूरानो भवनमा आंशिक क्षति हुन पुगे पनि नयाँ भवन भने जोगिएको छ । स्वास्थ्य मन्त्रालयको चार तल्ले भवनसँगै फर्निचर, महत्त्वपूर्ण कागज तथा फाइल, कम्प्युटरलगायत परिसरमा रहेका सवारी साधन पूर्णरूपमा जलेर नष्ट भएका छन् । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हाललाई एनएचआरसीको नयाँ भवनबाट अस्थायी रूपमा काम गर्ने योजना रहेको बताए । उनले भने, “सोही भवनबाट नियमित काम थाल्छौँ । हाललाई मन्त्रीका लागि भनेर कोठा तयार पारिँदैछ । पछि सिंहदरबारभित्रै सर्ने योजना हो ।” भवन जलेर नष्ट हुँदा दैनिक कामकाजमा समस्या भएको सचिव देवकोटाले बताए । हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने काम गरिरहेको छ भने कमर्चारीहरूले रजिष्टरमा हाजिरी गरिरहेका छन् । उनका अनुसार मन्त्रालय परिसरमा रहेको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन एकाइ अहिले वीर अस्पतालको एउटा भवनबाट सञ्चालन भइरहेको छ । 

वीरगन्जमा ९३ जनामा देखियो हैजा

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन ।  आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित फेला पारेको जानकारी दिए। उनका अनुसार हालसम्म वीरगन्जका विभिन्न अस्पतालमा १६६ जना हैजाका बिरामी उपचाररत रहेको र १७८ जना उपचारपछि घर फर्किएका छन् ।  नारायणी अस्पतालमा आरडिटी जाँचमा ३२ जना बिरामीमा कलेरा सङ्क्रमण भेटिएको छ । साथै तराई अस्पतालमा ३२ जना, नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पतालमा, वीरगन्ज हेल्थ केयर, मङ्गलम प्याथोलोजीमा तीन–तीन जनामा हैजाको सङ्क्रमण देखिएको छ ।  अर्ली अर्थो अस्पतालमा भने दुई जना हैजाका बिरामी भेटिएका छन् । त्यस्तैगरी, नारायणी सेन्ट्रल अस्पताल, एड्भान्स मेडिकेयर, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल, सर्वोत्तम अस्पतालमा पनि हाल एकरएक जना हैजाका बिरामी भेटिएका छन् । अहिलेसम्म अस्पताल आइपुगेका झाडापखाला र हैजाका बिरामीको सङ्ख्या ३४४ रहेको छ । जसमध्ये २७ जना आइसियुमा, छ जना एचडिसियु र १२२ जनाको जनरल वार्डमा उपचार भइरहेको छ । 

विश्व थाइराइड दिवस : ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

चितवन । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा.सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउछन्। उनले भने, “समयमा उपचार गरेर थाइराइडलाई नियन्त्रणमा राख्न सकिन्छ”, भारतको नयाँदिल्लीस्थित एम्स्बाट इण्डोक्राइनोलोजिमा डिएम गरेका खतिवडा कुनै खानेकुराले थाइराइड बनाउने नभई शरीरको ‘एन्टीबडी’का कारणले हुने बताउछन् । उनले भने, “थाइराइड कुनै भाइरल इन्फेक्सनपछि दुख्ने हुन्छ । कुनै जेनेटिक कारणले हुन्छ । थाइराईडको परीक्षण र उपचार पद्धति राम्रोसँग विकास भएको छ ।” चितवन मेडिकल कलेजमा कार्यरत खतिवडा थाइराइडका कारण क्यान्सर नै भए पनि यसले मानिसको आयु नघटाउने बताउछन्। उनले भने , “थाइराइडका अरु समस्या त झनै सजिलै समाधान गर्न सकिन्छ । चिकित्सकको सल्लाहबमोजिम गर्नुपर्छ । औषधि आफैँ खान बन्द गर्नुहुँदैन । खानपान चिकित्सकले भनेमा मात्रै बार्ने गर्नुहोला ।” उनले थाइराइडका बिरामीले खानेकुरा बार्नु नपर्ने बताए । उनले समयसँगै थाइराइडसम्बन्धी रोग परिवर्तन भएको बताउँदै भने, “अहिले थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने गर्दछ । त्यसकारण कुनै खानेकुराका कारण हुने होइन”, चिकित्सकको सल्लाहबमोजिम औषधि सेवन गर्नु नै उत्तम उपाय भएको उनको भनाइ छ । उनका अनुसार घाँटीको अगाडि तलपट्टी हुने सानो ग्रन्थीलाई थाइराइड भनिन्छ । यसमा दुई वटा भाग हुन्छन् । यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्मोन उत्पादन गर्दछ । उक्त हर्मोन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ । यो हर्मोनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्छ। थाइराइड हर्मोन कमी वा बढी भएमा फरक फरक लक्षण देखिने डा.खतिवडा बताउछन् । उनले भने , “थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरमध्येमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो । यस्तो ट्युमरको उपचार गर्दा बिरामीको आयु पनि घट्दैन ।” साधारणतया मानिसलाई थाइराइड हर्मोन घट्दा थकाइ लाग्ने, कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्नेजस्ता लक्षण देखिने उनको भनाई छ । यस्तै बढ्दा आत्तिने, हात काप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुनेजस्ता लक्षण देखिन्छन् । थाइराइडको उपचार तीन किसिमले गरिने उनले बताए । एउटा औषधिको सेवन, दोस्रोमा झोल औषधिको प्रयोग गरेर ग्रन्थी सुकाउने र तेस्रो शल्यक्रिया गर्नुपर्ने उनी बताउछन् । तर पछिल्लो समय शल्यक्रियाभन्दा झोल औषधिको प्रयोग गरेर सुकाउने विधि धेरै प्रयोगमा आउने गरेको उनको भनाइ छ । घाँटी दुख्दैमा थाइराइड नहुने बताउँदै बताउदै उनले भने, “घाँटी दुखेमा कहिलेकाहीँ मात्रै थाइराइड हुन सक्छ । त्यसैले घाँटी दुख्दा भेट्ने भनेको नाक, कान घाँटी विशेषज्ञ चिकित्सकलाई हो ।” कहिलेकाहीँ थाइराइडबाट क्यान्सरमा परिणत हुन सक्ने उनको भनाइ छ । उनले भने “घाँटीमा गाँठागुँठीजस्ता लाग्यो भने त्यसको अल्ट्रासाउण्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउँछौँ । कहिलेकाहीँ ट्स्यिुको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउँछौँ ।” क्यान्सर पहिचान भयो भने पनि शल्यक्रिया र रेडियोथेरापी गरेर सजिलै निको पार्न सकिने उनको भनाइ छ । थाइराइड भएको बिरामीले के खान हुन्छ, के खानु हुँदैन भन्ने धेरैलाई जिज्ञासा हुने उनको अनुभव छ । उनले भने , “समयसँग थाइराइडसम्बन्धी रोग परिवर्तन भएको छ । पहिला पहिला गलगाँडको धेरै समस्या हुन्थ्यो, त्यो समयमा काउली, बन्दा, तरुललगायतका तरकारी कम प्रयोग गर्नुपर्छ भन्ने चलन आएको थियो ।” पछिल्लो समय थाइराइड हर्मोन घट्ने वा बढ्ने शरीरको एन्टीबडीका कारणले हुने भन्दै उनले कुनै खानेकुराका कारण थाइराइड नहुने बताए । रासस

लोकप्रिय