राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

राष्ट्रियसभा नभई नयाँ सरकार गठन हुनेबारे कानुनविद्हरुबीच मतान्तर

काठमाडौ‌, मंसिर २७ । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट ताजा जनादेश आइसके पनि राष्ट्रिय सभा गठन नभएको स्थितिमा नयाँ सरकार निर्माणका लागि बाधा भए÷नभएका बारेमा वरिष्ठ अधिवक्ता एवं कानूनविद्को मत बाझिएको छ ।

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भए पनि राष्ट्रियसभा गठनसम्बन्धी कानून जारी नभएको र उक्त सभाको निर्वाचन कुन प्रक्रियाबाट गर्ने भन्नेमा दलहरुबीच सहमति भइनसकेको स्थितिमा नयाँ सरकार बन्न सक्दैन भन्ने पनि कतिपय विज्ञहरुको तर्क छ ।

नेपालको संविधान, २०७२ जारीपछि यही मंसिर १० र २१ मा दुई चरणमा गरी सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको छ भने समानुपातिकतर्फको जारी मतगणना यही मसान्तभित्र सकिने निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षको मत परिणाममा वाम गठबन्धनले उल्लेखनीय अग्रता हासिल गरेको छ भने समानुपातिकमा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ ।

संविधानको भाग ८ मा संघीय व्यवस्थापिका–संसद् गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय माथिल्लो संसद् राष्ट्रियसभा गठन हुनेछ ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ तर राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार बन्न नसक्ने भन्ने किटान गरिएको छैन ।

वरिष्ठ अधिवक्ता शम्भू थापाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नेतृत्व गरेको दल नेपाली काँग्रेसले पराजय भोगिसकेको स्थितिमा सत्ता हस्तान्तरण गर्न कुनै कानुनी बाधा नभएको बताए । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्षसमेत रहेका थापाले भने, “संविधान वा कानून त सामान्य बन्धन मात्र हो, विगतको अभ्यास, राजनीतिक नैतिकता र निर्वाचनको जनादेशबमोजिम अघि बढ्न कुनै बाधा छैन ।”

तर अर्का वरिष्ठ अधिवक्ता एवं बार एशोसिएशनका पूर्वअध्यक्ष हरिहर दाहालले प्रतिनिधिसभाको बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने संसदीय परम्परा भए पनि संविधानको धारा ७६ को दफा ८ ले संघीय संसद्का सदस्य मध्येबाट समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन गर्नुपर्ने भन्ने उल्लेख भएकाले मन्त्रिपरिषद् गठनका लागि राष्ट्रिय सभासमेत आवश्यक हुने तर्क गरे ।

उनले संविधानको धारा ८८ बमोजिम दुबै सदनका सदस्यहरुले शपथ लिएपछि मात्र उनीहरुले बैठकमा भाग लिन पाउने व्यवस्थाका कारण पनि नयाँ सरकार गठनपूर्व राष्ट्रियसभा गठन हुनुपर्ने बताए । दाहालले कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा सदनको बैठक नबसी नयाँ प्रधानमन्त्री चयन गर्न नसकिने जनाए ।

अर्का वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले संविधानको सोही धाराको आशय बहुमत प्राप्त दल वा अन्य दलको समर्थनमा बहुमत प्राप्त हुने दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था रहेको दाबी गरे ।

उनले भने, “नयाँ जनादेश आइसकेपछि तोकिएको समयभित्र संसद्को बैठक नबसेको अवस्थामा समेत नयाँ प्रधानमन्त्री नियुक्त गर्न कुनै बाधा छैन ।” त्यसका लागि राष्ट्रपतिले कुन दलले बहुमत जुटाउन सक्ने हो भनी अन्तिम मत परिणामबारे निर्वाचन आयोगले विवरण दिएपछि यथाशक्य छिटो आह्वान गरेर नयाँ सरकार गठन गर्नुपर्ने कार्कीले बताए ।

राष्ट्रिय सभाका सदस्यमध्येबाट पनि मन्त्री चयन गर्ने भन्ने विषय नयाँ सरकारको नेतृत्वकर्ताले पछि विचार गर्ने विषय भएको उनको मत छ ।

अखिल क्रान्तिकारीमा उम्मेदवारको उमेरहद टुंग्याउन मतदान गरिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले नयाँ नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने निर्णय निर्वाचनमार्फत् गर्ने भएको छ । उमेरको हदबन्दी लगाउनुपर्छ भन्ने पक्षमा रहेकालाई मतपत्रमा २८, ३० र ३२ वर्षको उमेर हदको विकल्प दिइएको छ । उमेरको हदबन्दी लागे पनि नलागे पनि नयाँ नेतृत्व चयन प्रक्रिया भने मतदानमार्फत् नै हुने छ । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय टिमले आज विहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको छलफलपछि सो निर्णय गरेको हो । अखिल क्रान्तिकारीका फ्र्याक्सन इन्चार्ज हिमाल शर्माले सुरुमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्नेमा मतदान हुने र लगाउनुपर्छ भन्ने पक्षमा भएकालाई २८, ३० र ३२ वर्षमध्ये कतिमा हदबन्दी लगाउने भन्ने विकल्प दिइने बताउनुभयो । निर्वाचनबाट जे रिजल्ट आउँछ त्यही अनुसार नेतृत्व चयन गर्दा फेरि निर्वाचन गरिने छ ।  अखिल क्रान्तिकारीले यसपटक नेतृत्व चयनमा मात्रै होइन, विधानमै मतदान गर्ने नयाँ अभ्यास गर्ने भएको छ । इञ्चार्ज शर्माले नीति र नेतृत्व चयन दुबै प्रक्रियामा लोकतान्त्रिक विधि अपनाइने बताउनुभयो ।  यत्तिको लोकतान्त्रिक विधि अरु कुनै पनि संगठनमा नभएको उहाँले स्पष्ट गर्नुभयो ।  अध्यक्ष प्रचण्डले पूरै लोकतान्त्रिक विधिबाट नीति र नेतृत्व चयन गर्न निर्देशन दिएको इञ्चार्ज शर्माले जानकारी दिनुभयो । अध्यक्ष प्रचण्डले माथिबाट कुनै निर्णय लाद्ने काम नहुने जानकारी गराउँदै हलले जे भन्छ, त्यही मान्न विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको थियो । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा जारी छ ।

बाढीपहिरो अपडेटः मृतकको संख्या १९२ पुग्यो, ३० जना अझै बेपत्ता

काठमाडौं । गत शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो ।  बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको उहाँको भनाइ छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको बताएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि गृहमन्त्रालयले जनाएको छ । 

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

लोकप्रिय