विश्वकपको पहिलो चरण सकियो, उपाधिका दाबेदार राष्ट्र नै दबाबमा

विश्वकपको पहिलो चरण सकियो, उपाधिका दाबेदार राष्ट्र नै दबाबमा

मस्को । रसियामा जारी २१औं विश्वकप फुटबल अन्तर्गत समूह चरणका पहिलो खेल सकिएका छन् । उपाधिका बलिया दावेदार भनिएका अधिकांश देशका निम्ति पहिलो चरण सुखद बन्न सकेन ।

उपाधिको प्रमुख दाबेदार साविक विजेता जर्मनी मेसिक्कोसँग १-० ले पराजित भयो । त्यस्तै, उपाधिका दावेदार ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल आ-आफ्नो पहिलो खेलमा बराबरीमै चित्त बुझाउन बाध्य भए ।

फ्रान्स भने संघर्षपूर्ण खेलमा २-१ ले विजयी भयो । तर, त्यसले फ्रान्सेली समर्थकमा उत्साह भर्न सकेन । समूह चरणका ११ खेलमध्ये रुस-साउदी अरेबिया र स्पेन-पोर्चुगलबीचको खेलबाहेक सबै खेलमा स्ट्राइकर फिनिसिङमा चुकिरहेका छन् । यहीकारण ठूला राष्ट्र दबाबमा परेका हुन् ।

जर्मनीलाई समूह चरणबाटै बाहिरिने डर
पछिल्ला चार विश्वकपमा तीनपटक साविक विजेता समूह चरणबाटै बाहिरिएका छन् । आइतबार राति भएको खेलमा मेक्सिकोसँग १ ० ले पराजित भएपछि साविक विजेता जर्मनी पनि समूह चरणबाटै बाहिरिने भयबाट मुक्त हुन सकेन ।

सन् १९९८ को विजेता फ्रान्स सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेको १७औँ विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । सन् २००६ को विजेता इटाली पनि सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजना भएको १९औं विश्वकपको समूह चरणबाटै बाहिरियो ।

त्यसैगरी, सन् २००८ को युरोकप र २०१० को विश्वकप उपाधि लगातार जितेको स्पेन २०१४ मा ब्राजिलमा आयोजनाभएको २०औं विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । सन् २००२ मा फ्रान्स सेनेगलसँग र सन् २०१४ मा स्पेन नेदरल्यान्ड्ससँग समूह चरणको पहिलो खेलमै पराजित भएका थिए ।

किन चुक्यो जर्मनी ?
साविक विजेता जर्मनीलाई १–० ले पराजित गर्दै उपाधि रक्षाको अभियानमा मेक्सिकोले धक्का दिएको । ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा बनाएको जर्मनीले २५ पटक गोलका लागि प्रयास गरेको थियो । तर, त्यस अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो खेलमै पराजय बेहोर्न बाध्य भयो ।

थोमस मुलर, मेसुट ओजिल, मार्को रिउस, टोनी क्रुस जस्ता स्टार फरवार्ड र मिडफिल्डर हुँदा पनि जर्मनीले काउन्टरमा विपक्षीमाथि दबाब बनाउन सकेन । यो सिजन म्यान्चेस्टर सिटीलाई प्रिमियर लिग उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका एट्याटिङ मिडफिल्डर लेरोय सानेको अभाव जर्मनी टिममा स्पष्ट खड्कियो ।

जर्मनीले विश्वकपका लागि घोषणा गरिएको अन्तिम टोलीमा साने नपरेपछि प्रशिक्षक जोचिम लोको निर्णयको विरोध भयो । तर, उनले निर्णय सच्याएनन् । काउन्टर एट्याकमा जर्मनीलाई पटक-पटक मेक्सिकोले दबाब दियो भने खेलमा जर्मनीले एक पटक पनि काउन्टर दिन सकेन् । तीव्रगतिमा बलमा अघि बढाएर विपक्षी डिफेन्सलाई दबाबमा राख्नसक्ने साने टोलीमा नहुँदाको मूल्य जर्मनीले चुकायो । जर्मनीको यो प्रदर्शनसँगै प्रशिक्षक लोको आलोचना झन बढेको छ ।

ब्राजिल, अर्जेन्टिना, स्पेन र पोर्चुगल पनि दबाबमा
विश्वकप सुरु हुनुअघि उपाधि दावेदारका रुपमा हेरिएका पाँचपटकको विजेता ब्राजिल, दुईपटकको विजेता अर्जेन्टिना, एकपटकको विजेता स्पेन र भर्खरै युरोकप जितेको पोर्चुगल पनि पहिलो खेलमा अंक बाँड्न बाध्य भएका छन् । यसले ठूला टिममाथि मानसिक दबाब पनि थपिएको छ ।

विश्वकपअघि उत्कृष्ट प्रदर्शन गरेको ब्राजिललाई उपाधिको प्रमुख दाबेदारको रूपमा हेरिएको थियो । आइतबार स्वीट्जरल्यान्डविरुद्धको खेलमा भने उसको प्रदर्शन त्यसअनुरूपको हुन सकेन । खेलमा बल पोजिसन राम्रो थियो । गोलका लागि थुप्रै प्रहार भए । स्टार खेलाडी फिनिसिङमा चुके । ब्राजिललाई स्वीट्जरल्यान्डले १–१ को बराबरीमा रोक्दै अंक बाँड्न बाध्य बनायो ।

त्यसैगरी, उपाधि दावेदार मानिएको लिओनल मेसीको टिम अर्जेन्टिना तुलनात्मक रूपमा कमजोर आइसल्यान्डसँग १-१ को बराबरीमा रोकियो । डिफेन्सिभ र काउन्टरमा जोड दिएको आइसल्यान्ड आफ्नो रणनीतिमा सफल भयो । तर, अधिकांश समय बल आफ्नो नियन्त्रणमा लिएर पनि अर्जेन्टिना ३ अंक खोस्न असफल बन्यो ।

पटक-पटक डिबक्सभित्र बल छिराउने अर्जेन्टिनाको प्रयास आइसल्यान्डको डिफेन्स लाइनअपले असफल तुल्याइरहेको थियो । डिबक्स भित्र बल पुर्याउन निरन्तर असफल भइरहँदा पनि अर्जेन्टिनाले आफ्नो रणनीति परिवर्तन गरेन । जसका कारणआइसल्यान्डको डिफेन्स अर्जेन्टिनामाथि हावी भइरह्यो । अर्जेटिनाले डिबक्स बाहिरबाटै पोष्टमा प्रहार गर्ने रणनीति लिएको भए गोल हुन सक्थ्यो ।

लियोनल मेसी र सर्जियो अगुएरोलाई प्रसस्त मार्किङ गरिएको अवस्थामा दोस्रो हाफमा आफ्ना दुई स्ट्राइकर गोन्जालो हिग्वेइन र पाउलो डिबालालाई मैदानमा छिराएको भए मेसी र अगुएरोले खुलेर खेल्न पाउने अवस्था सिर्जना हुन सक्थ्यो । त्यसो हुन नसक्दा दाबेदार अर्जेन्टिना पनि दबाबमा रहन बाध्य भयो ।

एउटै समूहमा रहका दुई ठूला टिम स्पेन र पोर्चुगल पहिलो खेलमै एकआपसमा भिडे । दुवैले ३-३ को बराबरी खेले । त्यही समूहकै अर्को खेलमा इरानले मोरक्कोलाई १–० ले पराजित गरेपछि स्पेन र पोर्चुगललाई दबाब थपिएको छ । डिफेन्सिभ खेल्ने इरान उनीहरूका लागि टाउको दुखाई बन्न सक्छ ।

जितपछि पनि दबाबमा फ्रान्स
विश्वपककै युवा टोली रुसमा उतारेको फ्रान्सलाई पनि फुटबल पण्डितले उपाधिको बलियो दाबेदार मानेको फ्रान्सले पनि सो अनुरुपको खेल प्रदर्शन गर्न सकेन । फ्रान्सले अष्ट्रेलियालाई २-१ पराजित गरेपनि स्वभाविक खेल पस्कन भने सकेन ।

फ्रान्सका मुख्य स्ट्राइकर अनुभवी एन्टोइन ग्रिजम्यान, युवा किलियन एमबाप्पे, ओसमान डेम्बेले फिनिसिङमा चुक्दा फ्रान्स दबाबमा प¥यो । फ्रान्सलाई अघिल्लो चरण पुग्न अझ सुधारिएको खेल प्रदर्शन गर्नु आवश्यक छ । –नयाँ पत्रिकामा खबर छ ।

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय