संविधासभाको छलफल र नेम्वाङको अन्तर्वार्ता प्रस्तुत गर्दै अधिवक्ता दिनमणीको प्रश्नः श्रीमान, तपाईको साटो अरु न्यायाधीशले पेशी सूचि प्रकाशित गरे के होला ?
काठमाडौं । प्रतिनिधि सभा विघटनाबरो सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको छलफलमा अधिवक्ता दिनमणी पोखरेलले संविधान सभामा प्रस्तुत भएका बिभिन्न अवधारणाको फेहरिस्त नै प्रस्तुत गरे ।
सर्वोच्च अदालतले अर्को सरकार बन्ने विकल्प नभएको अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गर्न किन नपाउने ? भन्नेतर्फ बारम्बार प्रश्न गर्दै आएकोमा
अधिवक्ता दिनमणी पोखरेलले कुन अवस्थामा विघटन गर्न मिल्छ भन्ने विषयमा संविधानसभामा प्रस्तुत छलफल नै प्रस्तुत गरेका हुन ।
पहिलो र दोश्रो संविधानसभामा शासकीय प्रणालीका बारेमा भएगरेका छलफल र तिनीहरुको निश्कर्ष उनले प्रस्तुत गरेका थिए ।
यस विषयमा आजको कान्तिपुर दैनिकमा प्रकाशित बिस्तृत समाचार यसप्रकार छ ।
‘प्रधानन्यायाधीशज्यूलाई सर्वोच्च अदालतमा पेसी सूची तोक्ने अधिकार छ । अरू न्यायाधीशहरूले संविधानले त्यो काम गर्न मलाई त रोकेको छैन भनेर पेसी सूची प्रकाशित गरे के होला ?’ बहसका क्रममा उनले भने, ‘जसलाई अधिकार दिएको छ, त्योभन्दा बाहेकलाई अधिकार हुँदैन भन्ने स्वतःसिद्ध कुरा हो ।’ उनका अनुसार अहिले प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन अरू न्यायाधीशले पेसी सूची प्रकाशित गरेसरह हो, जसको कानुनी आधार हुँदैन । उनले प्रधानमन्त्रीलाई यो अधिकार छैन भन्ने संविधानमै भएको व्यवस्थामा ध्यानाकर्षण गराए अनि थप विश्वस्त पार्न संविधान निर्माणका क्रममा भएको छलफल र अवधारणाको फेहरिस्त प्रस्तुत गरे ।
पहिलो संविधानसभाको राज्यको शासकीय स्वरूप निर्धारण समितिले कुन प्रकारको शासकीय स्वरूप अपनाउने भन्ने विषयमा निष्कर्ष दिन सकेको थिएन । दलीय मतभेदका कारण सहमति जुट्न नसक्दा तीन प्रकारको अवधारणासहितको प्रतिवेदन दोस्रो संविधानसभामा पेस गरिएको थियो । तीमध्ये संसदीय व्यवस्थाबाट प्रधानमन्त्री चयन हुने अवधारणामा प्रतिनिधिसभा विघटनको अधिकार हटाइएको थियो ।
संविधानसभामा संविधान निर्माणका क्रममा विज्ञका रूपमा आफू पनि सहभागी हुने मौका पाएको उल्लेख गर्दै अधिवक्ता पोखरेलले पहिलो संविधानसभामा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, संसदीय व्यवस्थाको प्रधानमन्त्री र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अवधारणामा गम्भीर बहस भएको बताए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति वा प्रधानमन्त्री) पदले राजनीतिक स्थिरता सुनिश्चित भए पनि निर्वाचित निरंकुश शासक जन्माउने जोखिम थियो भने संसदीय प्रणाली अपनाउँदा अस्थिरताको जोखिम रहन्थ्यो । ‘प्रधानमन्त्रीले विघटनको विशेषाधिकार पाए अस्थिरता हुने कल्पना नै गरेर प्रतिनिधिसभाले सरकार दिन नसके मात्रै ताजा जनादेशमा जाने विकल्पको व्यवस्था गरिएको हो,’ उनले भने, ‘प्रक्रियाबाट प्रधानमन्त्री चुन्न नसक्ने अवस्था भए त्यस्तो प्रतिनिधिसभा रहनु हुँदैन भन्ने परिकल्पना हो । यहाँ बसेर अदालतले अनुमान गर्न मिल्दैन ।’
तत्कालीन व्यवस्थापिका संसद् सचिवालयले २०७० असारमा संविधानसभा दर्पण नामक पुस्तक प्रकाशन गरेको थियो । पहिलो संविधानसभामा पेस भएका र निष्कर्षमा नपुगेका अवधारणा पनि त्यहाँ संग्रहित छन् । व्यवस्थापकीय अंगको स्वरूप निर्धारण समितिले तयार पारेको प्रतिवेदनमा ‘वैकल्पिक सरकार गठन हुने सम्भावना नरहेमा मात्र निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा विघटन हुन सक्ने प्रावधान राखिएको’ भनी उल्लेख छ ।
उक्त प्रतिवेदनअनुसार २०६६ साउन २३, २६, २७, २८ र ३२ गते भएका छलफलमा १ सय २१ सदस्यले भाग लिएका थिए । २८ घण्टा १० मिनेट लामो छलफलमा उठेको सारांश भनी प्रतिवेदनमा भनिएको छ, ‘कार्यकारी प्रमुखलाई संसद् विघटन गर्ने अधिकार दिनु हुँदैन । यसको गलत प्रयोग हुने सम्भावना रहन्छ ।’
यस्तै, संविधानसभाको संवैधानिक समितिअन्तर्गत गठित विवाद समाधान उपसमितिले निर्माण गरेको कार्यदलले सहमति हुन बाँकी १ सय १७ वटा विवादलाई सम्बोधन गर्न प्रस्तावहरू तयार गरेको थियो । प्रस्तावको आधारमा विवाद समाधान उपसमितिबाट कुनै दलको बहुमत नआए सबैभन्दा बढी सदस्य भएको संसदीय दलको नेता प्रधानमन्त्रीमा नियुक्ति हुने र उसले ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने भनी सहमति गरिएको थियो ।
नेम्वाङको धारणा इजलासमा
प्रतिनिधिसभा विघटनको निर्णयमा मौन बसेका तत्कालीन संविधानसभा अध्यक्ष एवं हाल नेकपाका संसदीय दल उपनेता सुवास नेम्वाङले गत वर्ष बोलेको भिडियो अहिले चर्चामा छ । संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले ‘प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार अहिलेको संविधानमा नरहेको’ भनेका थिए । सोमबारको सुनुवाइमा भने अधिवक्ता पोखरेलले नेम्वाङको पुरानो धारणा इजलासमा पेस गरे । २०७६ सालको संघीय संसद् सेवा स्मारिकामा ‘संविधान निर्माण, संसदीय अभ्यास तथा व्यवस्थापकीय भूमिकाका सम्बन्धमा संविधानसभाका अध्यक्षको अनुभव’ शीर्षकमा नेम्वाङको अन्तर्वार्ता प्रकाशित छ । जहाँ उनले ‘अहिलेको प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको’ बताएका छन् ।
‘अहिलेको संविधानले स्थापित गर्न खोजेको संसदीय प्रणाली विगतको भन्दा फरक छ । अहिलेको संसदीय प्रणालीलाई हामीले सुधारिएको संसदीय प्रणालीका रूपमा ग्रहण गरेका छौं,’ नेम्वाङले अन्तर्वार्तामा भनेका छन्, ‘उदाहरणका लागि हाम्रो संसद्ले प्रधानमन्त्रीको विरुद्धमा दुई वर्ष नपुगीकन अविश्वासको प्रस्ताव राख्न नसक्ने, अविश्वासको प्रस्ताव राखेपछि फेरि एक वर्षभित्र दोहोर्याउन नसक्ने र प्रधानमन्त्रीले संसद्को विघटन गर्न नसक्ने जस्ता प्रावधानहरू अनुभवमा आधारित भएर संविधानमा गरिएका नवीन व्यवस्थाहरू हुन् । यी विषयहरूसमेतको आधारमा हामीले स्थापित गर्न खोजेको संसदीय प्रणालीलाई सुधारिएको संसदीय प्रणाली भनेका छौं ।’
लगत्तै इजलासले संविधान निर्माणका क्रममा सभाध्यक्ष रहेका नेम्वाङले अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई संविधान निर्माणको अवधारणाका रूपमा ग्रहण गर्नुको औचित्यबारे जिज्ञासा राखेको थियो । ‘व्यक्ति सुवास नेम्वाङ होइन, त्यतिबेलाका संविधानसभाका अध्यक्षले के भन्नुभयो भन्ने कुरा हो,’ जवाफमा अधिवक्ता पोखरेलले भने, ‘प्रधानमन्त्रीको कदम ठीक/बेठीक होइन । यो संवैधानिक व्यवस्था रहन्छ कि रहँदैन भन्ने विषय हो ।’ संविधान जारी भएलगत्तै नेम्वाङले दिएको प्रतिक्रिया र त्यसका आधारमा तयार समाचार यसअघि नै प्रकाशित भइसकेका छन् । ‘नेपालको संविधान र संघीयता’ भन्ने लेखहरूको सँगालोमा पनि सभाध्यक्ष नेम्वाङले प्रतिनिधिसभा विघटनको अधिकारलाई संविधानमा हटाइएको भनी आफैं लेखेका छन् । उक्त सँगालो सन् २०२० मे (२०७७ वैशाख/जेठ) मा प्रकाशित भएको थियो ।
‘ जे भए पनि हामीले संसद्बाट निर्वाचित हुने प्रधानमन्त्री र सेरेमोनियल राष्ट्रपति राष्ट्रप्रमुख हुने गरी सुधारिएको संसदीय प्रणाली अपनाएका छौं । यो सुधारिएको संसदीय प्रणालीमा प्रधानमन्त्रीले आफ्नो कार्यभार सम्हालेदेखि दुई वर्षसम्म ऊविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । त्यसपछि यदि अविश्वासको प्रस्ताव दर्ता भयो र प्रस्ताव पराजित भयो भने एकवर्ष नबित्दासम्म पुनः अविश्वासको प्रस्ताव पेस गर्न पाइँदैन । प्रधानमन्त्रीले संसद्को विघटन गर्न र नयाँ निर्वाचनको घोषणा गर्न सक्दैन । एउटा उम्मेदवारले एउटा निर्वाचन क्षेत्र भन्दा बढीमा चुनाव लड्न सक्दैन । वर्षौंको सिकाइ र दलहरुबीचको छलफलको परिणामस्वरुप अबलम्वन गरिएको यो सुधारिएको प्रणाली देशमा अस्थिरतालाई रोक्ने कुरामा लक्षित छ । संविधानको मस्यौदाको क्रममा प्रत्येक पाँच वर्षमा संसदीय चुनाव गर्ने निर्णय लिइएको थियो । कतिपय संविधानसभा सदस्यहरुले संविधानमा नै आवधिक चुनावको मिति तोक्न चाहनुहुन्थ्यो । तथापि त्यो व्यवहारिक नहुने भएकाले लिखित रुपमा नै त्यो राखिएन । (पृष्ठ ३ र ४)
मूल्यमान्यतामा परिवर्तन
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा ‘विभिन्न मुलुकहरूको अभ्यास र हाम्रो आफ्नै अनुभव’ भन्ने तर्क अघि सारेका थिए । तर संसदीय पद्धतिको उद्गमथलो मानिने बेलायतमै प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको विशेषाधिकारलाई संकुचित बनाइएको छ । सर्तरहित अवस्थाको त्यो सुविधामा अहिले बन्देज छ ।
‘फिक्स्ड टर्म पार्लियामेन्ट्स एक्ट २०११’ ले हाउसको पाँचवर्षे अवधि किटान गरिदिएको छ भने त्यसमा दुइटा अवस्थामा मात्रै विघटन गरेर मध्यावधि निर्वाचनमा जान सकिने व्यवस्था छ– पहिलो, ‘हाउस अफ कमन्स’ स्वयंले दुई तिहाइ बहुमतबाट निर्वाचनमा जाने प्रस्ताव पारित गरेमा र अर्को, प्रधानमन्त्रीविरुद्ध हाउसले अविश्वासको प्रस्ताव पारित गरेको १४ दिनभित्र अर्को वैकल्पिक सरकार गठन हुने कुरा निश्चित गर्न नसकेमा ।
‘लिखित संविधान नभएको बेलायतले सन् २०११ मा छाडिसकेको कुरालाई अहिले हाम्रो संविधानमै नभएको अवस्थामा अधिकार छ भन्ने दाबी भइरहेको छ,’ अधिवक्ता पोखरेलले भने, ‘संविधानमा नै लेखिसकेपछि (विघटनको व्यवस्था नभएपछि) त्यसबाट बाहिर जान मिल्दैन ।’ उनले अन्तर्राष्ट्रिय अभ्यास भनेर प्रधानमन्त्रीले दिएको लिखित जवाफलाई विश्वव्यापी सन्दर्भले समर्थन नगर्ने बताए ।
विघटनको दायरा के हो ?
बहस चलिरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अर्को जिज्ञासा अघि सारे ।
उनका अनुसार, २०४७ सालको संविधानको धारा ५३ को उपधारा ४ मा ‘श्री ५ बाट प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभाको विघटन गर्न सकिबक्सनेछ’ भन्ने व्यवस्था थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले यही व्यवस्थामा टेकेर गरेको विघटनलाई सर्वोच्च अदालतले सदर गर्यो । तर २०५२ सालमा मनमोहन अधिकारीले गरेको विघटन भने बदर गर्यो ।
‘त्यतिबेलाको संविधानमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटनको अधिकार दिएको थियो, अदालतले रोक्यो,’ प्रधानन्यायाधीश जबराले भने, ‘अब अहिलेको संविधानमा विघटन गर्न सक्ने व्यवस्था छैन रे । अदालतले (त्यो अधिकार) छ भन्न सक्दैन र ?’
अधिवक्ता पोखरेलले तत्कालीन संविधानमा पनि प्रतिनिधिसभा विघटनको अधिकार निरपेक्ष नभएको भन्दै प्रतिनिधिसभाभित्र अर्को सरकारको विकल्प नभएको अवस्थामा मात्रै ताजा जनादेशमा जाने सुविधा भएको बताए । उनका अनुसार २०५१ सालमा प्रतिनिधिसभाबाट ‘धन्यवादको प्रस्ताव’ असफल भएपछि कोइरालाले सोझै विघटनको निर्णय लिएका थिएनन् । संसदीय दलको बैठकबाट आफूलाई फेरि परीक्षण गरी नेताका रूपमा चुनिएपछि विघटनको निर्णय लिएका थिए ।
त्यसपछिका प्रधानमन्त्री अधिकारीले प्रतिनिधिसभाभित्र आफूलाई परीक्षण नगर्दा विघटनको अधिकार प्रयोग गर्न नपाएको अधिवक्ता पोखरेलको जिकिर थियो । ‘प्रतिनिधिसभाभित्र परीक्षण नभई अनुमानका आधारमा वैकल्पिक सरकारको सम्भावना थियो कि थिएन, अनुमान गर्न मिल्दैन,’ उनले भने, ‘प्रतिनिधिसभाको प्रक्रियामा नछिरी असहयोग भयो भनेर प्रधानमन्त्रीले जनतामा जान्छु भन्न मिल्दैन । यसमा बदनियत छ ।’
संविधानको धारा ७६ मा प्रधानमन्त्री चयनको एकपछि अर्को विकल्प दिइएको उल्लेख गर्दै पोखरेलले विघटनको विकल्प अन्तिममा रहेको बताए । अल्पमतको सरकार (बहुमत नपाए पनि सबैभन्दा ठूलो दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने) समेत बन्ने अवस्था नभएपछि जोकोही सांसदले दाबी लिएपछि पनि उसले विश्वासको मत नपाए मात्रै विघटनको सिफारिस गर्न सक्छ । ‘प्रक्रियामा प्रवेश गरिसकेपछि त्यसबाट प्रधानमन्त्री चयन गर्न नसके मात्रै प्रतिनिधिसभा रहनु हुन्न भन्ने मान्यता धारा ७६ को उपधारा ७ को हो,’ उनले भने, ‘प्रतिनिधिसभाले प्रधानमन्त्री चयन गर्न नसके बल्ल ताजा जनादेशमा जाने हो ।’
प्रधानमन्त्री ओलीले ‘जनतामा जाने विषयमा विरोध किन ?’ भनी बारम्बार प्रश्न गरिरहेका छन् । प्रधानन्यायाधीश जबराले पनि इजलासमा ‘बहुमत प्राप्त दलले अब सरकार चलाउँदिनँ, ताजा जनादेशका लागि निर्वाचनमा जान्छु भन्न पाउँदैन र ?’ भनी जिज्ञासा राखिरहेका छन् । त्यसैलाई संकेत गर्दै अधिवक्ता पोखरेलले ताजा जनादेशको निर्णय पनि ‘संविधानसम्मत हुनुपर्ने’ तर्क गरे । ‘ताजा जनादेश भन्नु राजनीतिक विषय हो,’ उनले भने, ‘तर यो कानुनसम्मत कुरा हो/होइन, विचार गर्नुपर्छ ।’
पोखरेलले श्रीलंकाको संसद् विघटनको उदाहरण दिँदै निर्वाचन संविधानसम्मत हुनुपर्ने भनी व्याख्या गरिएको बताएका थिए । उनका अनुसार २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा पनि सर्वोच्च अदालतले यस्तै मान्यता प्रतिपादन गरेको थियो । ‘राजनीतिक विषयमा जनतामाझ नै जाने हो,’ तत्कालीन नजिर उद्धृत गर्दै अधिवक्ता पोखरेलले भने, ‘जनतामा जाने कुरा राम्रो र सुन्दर हुन्छ तर कानुन र संविधानविपरीत भए प्रणाली नै असफल हुन सक्छ ।’
बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’ सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’ उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’ सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।
प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर
काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।
निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।
गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।

