संस्कृति बचाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

संस्कृति बचाउन अमेरिकामा नेपाली संघसंस्थाहरु सामुदायिक भवन बनाउँदै

मधुकर अधिकारी

अमेरिका । अमेरिकामा रहेका नेपाली संघसंस्था पछिल्ला वर्षमा लाखौं अमेरिकी डलरको सम्पत्ति जोड्न सफल भएका छन् ।

अहिले नेपाली अमेरिकीहरुले आफ्नो उपस्थिति बाक्लो भएको टेक्सास, क्यालिफोर्निया, मेरिल्याण्ड, न्यूयोर्क जस्ता राज्यहरुमा सामुदायिक भवन बनाउने क्रमलाई तीव्रता दिँदै आएका छन् ।

सम्पत्ति जोड्न सकिएबाट यी संस्थाले नेपाली कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिनसक्ने विश्वास गरिएको छ ।
सन् २०११ मा न्यूयोर्कको एल्मस्र्टमा युनाइटेड शेर्पा एशोसियशनले किनेको जग्गा तथा भवनको मूल्य २५ लाख अमेरिकी डलर रहेको अध्यक्ष उर्गेन शेर्पाले राससलाई जानकारी दिनुभयो । शेर्पा भन्नुहुन्छ – “यो भवन खरिद गर्न सकेका कारण केही दिन अगाडि मात्र स्थानीय सडक समेत बन्द गर्ने अनुमति लिएर हामी ल्होसारमा शेबु्र नाच नाच्न सफल भयौं । यो हाम्रो संस्कृति जगेर्नाको महत्वपूर्ण पक्ष हो ।”

“नेपाली मूलका शेर्पा समुदायबाट यो भवनको खरिद तथा सञ्चालन भएबाट अमेरिकाको न्यूयोर्क जस्तो विशाल शहरमा नेपालीहरुलाई एकताबद्ध गर्न सकिएको छ” – शेर्पा अगाडि थप्नुहुन्छ ।

यसैगरी नेपालीहरुको बाहुल्यता रहेको क्यालिफोर्नियामा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिरलाई गत शिवरात्रिको दिन प्राणप्रतिष्ठासहित सञ्चालनमा ल्याइएको छ । करिव १६ लाख अमेरिकी डलरमा खरिद गरिएको उक्त भवन तथा सामुदायिक भवनको मर्मत तथा सम्भारपछि सञ्चालनमा ल्याउने काम भएको हो । समितिका सभापति भक्त थापा समुदायमा रहनुभएका नेपालीहरुको आठ वर्षको अथक प्रयासपछि यो मन्दिरको निर्माण सम्पन्न भएको बताउनुहुन्छ ।

समितिको कार्यसमितिमा रहनुभएका एकराज पाण्डे एक्लैले एकलाख २६ हजार २६६ डलर प्रदान गर्नुभएको थियो । पाण्डे यसरी दान गर्ने नेपालीहरुको सूचीमा शीर्ष स्थानमा रहनुभएको छ ।

पाण्डेले भन्नुभयो – “मातृभूमि छाडेर प्रवासमा जीवन बिताइआए पनि हाम्रो कला, संस्कृति र धर्मको निरन्तर संरक्षण र सम्वद्र्धन गर्न यस्ता भवनहरुले हामीलाई आत्मीयताको भाव दिएका हुन्छन् ।”

टेक्सासमा सन् २००७ मा स्थापना भएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र रहको भवनलाई सन् २०१३ मा ८ लाख अमेरिकी डलरमा खरिद गरिएको महासचिव सुरेश चन्द्र पोख्रेलले राससलाई जानकारी दिनुभयो ।

“सांस्कृतिक र आध्यात्मिक कर्मलाई आत्मसात् गर्दै हामीहरुको भावी पिँढीलाई सही मार्गनिर्देश गर्न यस्ता सांस्कृतिक केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने छ,” पोख्रेलले भन्नुभयो –“यसले सामाजिक रुपमा एकता ल्याउने गरेको छ । हामीहरुबीच विश्वास र पारिवारिक मूल्य मान्यता जगाउँदै अमेरिकाको प्रतिस्पर्धी वातावरणमा भावी पिँढीलाई मजबुत बनाउन यसले बल पु¥याउने मेरो विश्वास छ ।”

यता, मेरिल्याण्डमा बन्दै गरेको नेपाली अमेरिकन कल्चरल सेन्टर अफ बाल्टिमोरले आफ्नो वैधानिक प्रक्रिया पूरा गरेको छ । उक्त भवन खरिद कार्यमा संयोजन गर्दै आउनुभएका कृष घिमिरेका अनुसार करिव १५ लाख अमेरिकी डलरमा खरिद गरिएकोे उक्त सामुदायिक भवन तथा मन्दिर आगामी ६ महिनाभित्र सञ्चालनमा आउने छ ।

बाल्टिमोर एशोसियशन अफ नेप्लीज (वाना) ले हालै मात्र खरिद गरी सञ्चालनमा ल्याएको भवनको मूल्य ३ लाख अमेरिकी डलर रहेको समितिका उपसभापति सुबोध पन्तले जानकारी दिनुभयो ।

अधिकांश नेपाली मन्दिर र भवनको निर्माण भाषा कक्षाको सञ्चालन र विभिन्न रीतिरिवाज तथा चाडपर्वको बेला एकठाउँमा भेला हुने उद्देश्यले गरिएका हुन् ।

अमेरिकामा झण्डै चालीस वर्षदेखि बस्दै आउनुभएका पुराना अभियन्तामध्येका एक डा श्याम कार्की नेपालीहरुबाट भवन खरिद तथा निर्माण हुँदा नेपालका बारेमा सोधखोज गर्ने व्यक्तिहरुलाई सहयोग पुग्ने र नेपालीहरुबीच अपनत्वको भावना विकास हुने बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – “अमेरिकामा जति पनि नेपालीहरुको प्रयासमा साझा सामुदायिक भवन निर्माण भएका छन् यसले भावी पिँढीका लागि धर्म, संस्कृति र भाषाको जगेर्ना गराउन मद्दत पुग्ने छ ।”

नेपाली संघसंस्थाले जग्गा खरिद र सामुदायिक भवन तथा मन्दिर निर्माणका लागि करिव १ करोड डलर खर्च गरिसकेका छन् । मन्दिर बनाउने उद्देश्यसहित गत वर्ष बोस्टन, न्यूयोर्कको रिजऊड लगायतका ठाउँमा महायज्ञ लगाइएको थियो ।

यस्ता सामुदायिक भवन तथा केन्द्रहरुमा चाडवाडका दिन भेला हुने तथा विवाह, व्रतवन्ध जस्ता कर्मकाण्डका कार्य गरिँदै आइएको छ । यसैगरी, नेपाल सम्वत्, दशैं, तिहार, फागु, म्हः पूजा जस्ता कार्यक्रमहरु पनि आयोजना गर्ने गरिएको छ ।

पछिल्ला वर्षहरुमा यहाँ नेपालीहरुको व्यवसाय विस्तार भएसँगै सामुदायिक भवन निर्माणले पनि तीव्रता पाएको बताइन्छ ।

अमेरिकाबाट ४८ जना नेपाली डिपोर्ट, दुई महिनामा २३१ जना फर्काइए

काठमाडौं । अमेरिकाले हालै ४८ जना नेपाली नागरिकलाई देश निकाला गरेको छ । अमेरिकाले अप्रिल ७ मा चार्टर्ड उडानमार्फत यी ४८ जना नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । डिपोर्ट भएकाहरू सबै पुरुष रहेका छन् । प्राप्त तथ्यांकअनुसार सोमबार डिपोर्ट भएकामध्ये २ जना ग्रिन कार्ड बाहक रहेका छन् । यसैगरी, २३ जनासँग कुनै वैध ट्राभल डकुमेन्टसमेत नभएको अध्यागमन विभागका स्रोतले जानकारी दिएका छन् । डिपोर्ट भएका दुई जना ग्रिन कार्डबाहकमध्ये एक जना ‘ड्रिङ्क एन्ड ड्राइभ’ (मापसे) मुद्दामा पक्राउ परेका थिए भने अर्का ग्रिन कार्डबाहक डिपोर्ट हुनुको कारण खुलेको छैन । सन् २०२६ को दुई महिनामा २३१ जना डिपोर्ट अध्यागमन विभागका अनुसार सन् २०२६ को पहिलो दुई महिनामा मात्र २३१ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका छन् । विभागका तथ्यांकअनुसार फेब्रुअरी महिनामा मात्र १३० जना डिपोर्ट भएका थिए । फेब्रुअरीमा डिपोर्ट हुनेमा १२४ जना पुरुष र ६ जना महिला थिए । फेब्रुअरीमा चार्टर विमानमार्फत मात्र ९५ जना फर्काइएका थिए, जसमध्ये ३ जना महिला थिए । त्यस्तै, जनवरी महिनामा १०१ जना डिपोर्ट भएका थिए । जसमध्ये ४ जना महिला र बाँकी सबै पुरुष थिए । जनवरीमा एकै पटक ८० जना नेपाली चार्टर्ड उडानमार्फत काठमाडौं ल्याइएका थिए । डिसेम्बर २०२५ मा एकै दिन ७५ जना (६९ पुरुष र ६ महिला) डिपोर्ट भएका थिए । ट्रम्पको दोस्रो कार्यकालमा ७१८ जना डिपोर्ट राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि हालसम्म कुल ७१८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भइसकेका छन् । डिपोर्टेसन प्रक्रिया तीव्र : नेपाली दूतावास अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत शरदराज आरणले डिपोर्टेसन प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनले ट्राभल डकुमेन्ट नभए पनि विद्युतीय प्रमाणीकरण (इलेक्ट्रोनिक भेरिफिकेशन) मार्फत यात्रा सम्भव रहेको जानकारी दिए । ट्राभल डकुमेन्ट नहुँदा प्रक्रिया कसरी अघि बढ्छ भन्ने प्रश्नमा आरणले भने, “धेरै अवस्थामा डकुमेन्ट नभएको जस्तो देखिए पनि वास्तवमा त्यस्तो हुँदैन । पहिले जारी भएको डकुमेन्टको म्याद सकिएको हुन सक्छ । यस्तो अवस्थामा पनि विद्युतीय प्रमाणीकरणबाट यात्रा गर्न मिल्छ ।” दूतावासले डिपोर्ट हुने व्यक्तिहरूको विवरण प्रमाणित गरी सम्बन्धित मन्त्रालय र अध्यागमन विभागसँग समन्वय गरेर नेपाल पठाउने प्रक्रिया अघि बढाउने गरेको उनले बताए । किन बढ्दै छ डिपोर्टेसन ? कार्यवाहक राजदूत आरणका अनुसार डिपोर्टेसन बढ्नुका मुख्य कारणहरूमा एसाइलम (शरणार्थी) आवेदन अस्वीकृत हुनु, भिसा खारेज हुनु, गैरकानुनी रूपमा काम गर्नु र विभिन्न कानुनी उल्लङ्घन रहेका छन् । “अध्यागमन अदालतले ‘फास्ट ट्र्याक’ मा मुद्दा टुङ्ग्याइरहेको छ । लामो समयदेखि पेन्डिङ रहेका केसहरू छिटो निष्कर्षमा पुग्दा डिपोर्ट हुने संख्या बढेको हो,” उनले भने । उनका अनुसार दक्षिण अमेरिका र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका प्रवेश गर्ने प्रवृत्ति लगभग शून्यमा झरेको छ । यसले नेपालीहरूलाई मानव तस्करी र आर्थिक ठगीबाट जोगाउन सहयोग पुगेको छ । ग्रिन कार्ड वा नागरिकता प्राप्त गरे पनि कानुन उल्लङ्घन गरेमा त्यस्ता सुविधा खारेज गरी डिपोर्ट हुन सक्ने जोखिम रहेको उनले स्पष्ट पारेका छन् । नक्कली विवाह, झुटो विवरण पेस गर्ने जस्ता गतिविधिमा संलग्न भए कडा कारबाही हुने चेतावनीसमेत उनले दिएका छन् ।

यूएईको राजधानी आबुधाबीमा ड्रोन/मिसाइल अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीस्थित अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले अवरोध गरेका ड्रोन र मिसाइलका अवशेष खस्दा ७ जना नेपाली नागरिक घाइते भएका छन्। आबुधाबी मिडिया अफिसका अनुसार घाइतेमध्ये ६ जनाको अवस्था सामान्यदेखि मध्यम रहेको छ भने एक नेपालीको अवस्था गम्भीर रहेको गल्फ न्युजले जनाएको छ। उक्त घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्। घाइते नेपालीहरूको नामावली हालसम्म सार्वजनिक गरिएको छैन। अज्बान क्षेत्र आबुधाबीको अल ऐनको उत्तरतर्फ तथा दुबई–अल ऐन सिमाना नजिक अवस्थित छ। संयुक्त अरब इमिरेट्स रक्षा मन्त्रालय ले हवाई सुरक्षा प्रणालीमार्फत मिसाइल र मानवविहीन ड्रोनहरू सफलतापूर्वक अवरोध गरिएको जनाएको छ। अवरोधका क्रममा खसेका अवशेषहरूले अज्बान क्षेत्रका विभिन्न स्थानमा क्षति पुर्‍याएको बताइएको छ। घटनापछि आपतकालीन उद्धार टोली तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको अधिकारीहरूले जानकारी दिएका छन्।

कम्बोडियाबाट १२ नेपालीको उद्दार

काठमाडौं । कम्बोडियामा गैरकानुनी गतिविधिमा संलग्न गराइएका १२ जना नेपाली नागरिकको उद्दार गरिएको छ। विभिन्न प्रलोभनमा पारेर उनीहरूलाई अनलाइन ठगीलगायत अवैध काममा लगाइएको पाइएको छ। थाइल्याण्डस्थित नेपाली दूतावासले कम्बोडियाली सरकारसँग समन्वय गरेर उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काएको जनाएको छ। दूतावासका अनुसार कम्बोडियामा अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपाली नागरिकको उद्दार तथा स्वदेश फिर्तीका लागि पनि पहल भइरहेको छ। कम्बोडियामा रहेका केही नेपालीलाई जबर्जस्ती स्क्यामिङ (ठगी) केन्द्रहरूमा काम गर्न बाध्य बनाइएको र उनीहरूको राहदानी कम्पनीले जफत गर्ने गरेको गुनासो आएको दूतावासले जनाएको छ। केन्द्र परिवर्तनका क्रममा राहदानी हराएको समस्या पनि धेरैले भोगिरहेका छन्। यस्तो अवस्थामा रहेका नेपाली नागरिकलाई थाइल्याण्डस्थित नेपाली दूतावास वा कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधिसँग सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले समस्यामा परेका नेपालीलाई स्वदेश फर्कनका लागि बिना शुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउँदै आएको पनि जनाएको छ।

डा. हेमराज शर्मा नेतृत्वमा एनआरएनएको नयाँ नेतृत्व सर्वसम्मत चयन

काठमाडौं । विभाजित अवस्थामा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) डा. हेमराज शर्माको नेतृत्वमा पुनः एकीकृत भएको छ। काठमाडौंमा शनिबारदेखि जारी १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनले आइतबार मध्यरात सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। महाधिवेशनको नारा ‘एकता, लगानी र गौरव’ रहेको थियो। विगतमा डा. बद्री केसी र महेश श्रेष्ठ नेतृत्वका दुई अलग-अलग समूह सक्रिय थिए। गत जेनजी आन्दोलनपछि पूर्वअध्यक्षहरूको प्रयास र मंसिरमा भएको १०-बुँदे सहमतिपछि एकता महाधिवेशन सम्भव भएको हो। अध्यक्ष पदमा डा. शर्मा सर्वसम्मत चुनिएका छन्। रोविन शेरचनले वरिष्ठ उपाध्यक्ष र रविन बज्राचार्यले उपाध्यक्षमा उम्मेदवारी फिर्ता लिएपछि एकताको बाटो खुलेको थियो। अन्य प्रमुख पदहरूमा विभिन्न देशबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरू निर्विरोध/सर्वसम्मत चयन भएका छन्। केही प्रमुख पदाधिकारी: वरिष्ठ उपाध्यक्ष: रोविन शेरचन उपाध्यक्षहरू: खगेन्द्र न्यौपाने, रामशरण सिम्खडा, प्रवीन गुरुङ, रोजिना प्रधान राई लगायत महासचिव: गंगाधर गौतम र डा. चिरञ्जीवी खड्का कोषाध्यक्ष: कृष्णप्रसाद तिमल्सिना विधान संशोधनपछि सोमबार नयाँ कार्यसमितिको औपचारिक घोषणा गरी महाधिवेशन सम्पन्न हुने कार्यक्रम छ। यसले एनआरएनएमा लामो समयदेखिको विभाजन अन्त्य गरेको छ।

लोकप्रिय