सिनेमाको पोष्टरजस्तो चुनावको मतपत्र

सिनेमाको पोष्टरजस्तो चुनावको मतपत्र

काठमाडौं, जेठ १ । आइतबार वैशाख ३१ गतेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा चलचित्र क्षेत्रका चर्चित कलाकार तथा मोडलसमेतले भाग लिएका छन् ।

भक्तपुरको बालकोट मतदान केन्द्रमा हाँस्यकलाकार हरिवंश आचार्य अनि उनको सपरिवारका साथमा चुनाव क्षेत्रमा मत खसाल्न पुगेका थिए । मतपत्र देख्दा नै उनी तर्र्सिए, मतपत्र त आफूले सोचेभन्दा पनि ठूलो पो रहेछ । सिनेमाको पोष्टर जस्तै ।

हाम्रो देशमा दलहरू पनि धेरै भएर होला मतपत्रमा दलका चिह्न पनि उति नै बढी रैछन्,’ हरिवंशले भने– ‘नेताहरू धेरै भएपछि मतपत्रले पनि आकार ठूलो बनाएछ । पहिलाको निर्वाचनमा दल पनि थोरै थिए । त्यहीअनुसार मतपत्र पनि सानो थियो ।’ उनले मतपत्रमा रहेका दलको चुनाव चिह्नकै कारण धेरै मतपत्र खेर जान सक्ने अनुमान लगाए ।

अघिल्लो स्थानीय निकायको निर्वाचनमा घट्टेकुलोमा मतदान गरेका हरिवंश स्थानीय सरकारलाई संसदभन्दा पनि बलियो संस्था मान्छन् । ‘भूकम्पको समयमा स्थानीय सरकार रहेको भए केन्द्रीय सरकारले भन्दा बढी काम गर्न सक्थ्यो । ढिलै भए पनि हामीले स्थानीय नेतृत्व चुन्दैछौं,’ उनले भने, ‘अबको नेतृत्व बेइमानी नगर्ने किसिमको हुनुपर्छ । फेरि बेइमान गर्ने नेतृत्व आयो भने देशको हित हुँदैन ।’

झण्डै बीस वर्षपछि आइतबार भएको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा सर्वसाधारणझैं कलाकारहरूले पनि उत्साहजनक मतदान गरेका छन् । चर्को घाममा लाइन बसेर मतदान गर्दा उनीहरूमा उत्साह थियो नै, मतदान गर्ने मतपत्र देख्दा अत्यास पनि उस्तै थियो । निर्देशक तथा कलाकार निर्मल शर्माले फेसबुकमा स्ट्याटस लेखेर नै मतपत्रप्रति असन्तुष्टि जनाए । ‘भोट त हालियो तर लामो समयपछिको चुनावको मतपत्र यति गोलमाल रैछ कि मेरो त दिमाग नै चकरायो । ४० प्रतिशत बदर हुने देखें मैले त’ फेसबुकमा तस्बिरसँगै उनले लेखेका थिए ।

मतपत्र, घामपानीको बेवास्ता गर्दै मतदाता नामावलीमा नाम भएका थुप्रै कलाकारले भोट खसाले । केही भोट खसाल्न भनेर राजधानीबाट गाउँसम्म गए भने कोही विदेशबाट नेपाल फर्किए । गायिका आस्था राउतले भोट हाल्नकै लागि विदेश यात्रा छोट्याएको बताइन् ।

शुक्रबारसम्म आस्था राउत सांगीतिक कार्यक्रमको सिलसिलामा अष्ट्रेलियामा थिइन् । २० वर्षपछि चुनाव हुन लागेको थाहा पाएकी आस्था चुनावमा भोट हाल्नकै लागि शनिबार नेपाल आएकी थिइन् । उनले काठमाडौंको थापागाउँस्थित एक विद्यालयको मतदान केन्द्रमा भोट हालेको बताइन् ।
‘मतपत्र पनि ठूलो रहेछ । त्यसैले मैले उम्मेदवार छानेर सात जनालाई भोट हालें । सामाजिक सञ्जालमा मेयर र उपमेयरको मात्र कुरा सुनेको थिएँ । तर, भोट हाल्न जाँदा त वडाध्यक्षदेखि सदस्यसम्म रहेछ,’ आस्थाले भनिन्, ‘मतपत्रमा स्वतन्त्र उम्मेदवार पनि धेरै देखें । उम्मेदवार हुनु राम्रो हो तर धेरै उम्मेदवार हुँदा मतदातालाई अन्योल बनाउँछ ।

सीमित उम्मेदवार भएमा मात्र उपयुक्त व्यक्ति छान्न सजिलो हुन्छ ।’ आस्थाले २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचनमा पनि मत खसाएकी थिइन् ।

अभिनेत्री वर्षा सिवाकोटीले पनि स्थानीय तहको निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गरिन् । दिउँसोको समयमा आमासँग सीतापाइलामा रहेको मतदान केन्द्रमा भोट हाल्न पुगेकी उनले मतपत्र सजिलो लागेको बताइन् । ‘मतपत्र लामो भए पनि त्यहाँ स्वस्तिक चिह्न लगाउने ठाउँ ठूलै रहेछ । यसपटकको निर्वाचन व्यवस्थित किसिमको पाएँ । सुरक्षाको प्रबन्धदेखि मतदानस्थल पनि व्यवस्थित थियो ’उनले भनिन् ।

नायिका रेखा थापाले चाबहिलस्थित पशुपति क्याम्पस, कलाकार दीपकराज गिरीले चन्द्रागिरी, अभिनेता आर्यन सिग्देलले थानकोट, अभिनेत्री सुरबिना कार्कीले सिन्धुलीको सिन्धुलीमाडी, गायक राजेशपायल राईले शान्तिनगर, अभिनेता राजेश हमालले लैनचौर, हास्य कलाकार मनोज गजुरेलले बालकोट, केकी अधिकारीले जोरपाटीको केन्द्रमा मतदान गरे ।

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् । फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् । यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ । यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

‘दुई कदम’ हङकङमा

काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो । उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो । फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले बताए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आज नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत आज नै आउँदैछ । त्यसैले हामीले पनि यही समय रोजेका हौँ ।’ चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

लोकप्रिय